Category: अर्थतन्त्र

  • उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले

    उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधनको संचालन खुला भएको छ । अब निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चल्न सक्ने भएका हुन् । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । माइक्रो, टेम्पोसहित सानो क्षमताका सार्वजनिक सवाी साधन समेत आजबाट चल्ने भएका हुन् । उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गरि यस्तो जानकारी गराएका हुन् ।

    आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्र्न भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिने व्यवस्था गरिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

    माइक्रोको तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। आजबाट परीक्षाहरु चल्ने छन् । सभा सम्मेलन र पार्टी भोजभतेरमा रोक लगाइएको छ ।

  • जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…

    जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…

    काठमाडौं । नेपालको बैंकिंग प्रणालीमाथि पटक पटक प्रश्न चिन्ह उठ्ने गरेको छ । यस्तै एक रहस्यमय घटना अहिले काठमाडौंमा भएको छ । जहाँ म्याद सकिएको डेबिट कार्डबाट साढे ३४ लाख रुपैयाँ निकालिएको छ । यो आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको ह । गुरुङ पूर्व ब्रिटिस लाहुरे समेत हुन् । उनीहरूले काठमाडौंको चाबाहिल, कालोपुल, हात्तिसार, भाटभटेनी क्षेत्रमा सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका छन् ।

    पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग भएको छ । अघिल्लो बुधबार ३० रकम निकालेका उनीहरुले जब म्याद सकिएको डेबिट कार्डबाट पैसा आउने थाहा पाए, त्यसपछि भने पटक पटक गरि साढे ३४ लाख रुपैयाँ निकालेका छन् । प्रहरीका अनुसार त्यसरी निकालेको रकमध्ये २१ लाख बरामद भएको छ ।

    १० लाख भन्दा बढी सहकारीमा जम्मा गरेको र २ लाख रुपैयाँ आफैले खर्च गरेको पाइएको छ । म्याद गुज्रिएको कार्डबाट पैसा झिकिएको पत्ता पाएपछि भने बैंकले प्रहरीलाई खबर गरेको थियो । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बैंकले भने प्रणालीमा आएको एक दुर्लभ समस्याका कारण यस्तो घटना भएको बताएको छ ।

    सामान्यतया म्याद सकिएको कार्डबाट पैसा आउँदैन । वास्तविक कार्ड होल्डरले नै पैसा झिकेपनि म्याद सकिएको र आफ्नो खातामा भएको भन्दा बढी रकम झिकिएको पत्ता पाएपछि बैंकले प्रणालीमा गडबड भएको पत्ता पाएको थियो । प्रहरीले यो कसरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।

  • २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका

    २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका

    काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले किनेको कोरोना भाइरस विरुद्धको खोप २५ असारबाट काठमाडौं आउन थाल्ने भएको छ । नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याउने प्रयोजनका लागि चीनको राजधानी बेइजिंग जाने छ । २४ असारमा जाने वाइडबडी जहाज २५ असारमा काठमाडौं आउने छ । यो जहाजमा ८ लाखभन्दा माथि डोज एक खेपमा ल्याउने तयारी छ ।

    भेरोसेल खोप आगामी तीन साताभित्रै सरकारले खरीद गरेको परिणाम भित्रै आइपुग्ने छ । सरकारले ४० लाख डोज खोप किनेको बताएको छ । दोस्रो उडान असार ३१ मा हुने छ । यो जहाज १ साउनमा काठमाडौं आउने छ । तेस्रो उडान साउन ७ मा जाने छ । यो जहाज ८ साउनमा नेपाल आउने छ । पटक पटकको प्रयासपछि अन्ततः चीन खोप बिक्रि गर्न तयार भएको हो । अन्य मुलुकबाट भने तत्काल खोप आउने सम्भावना छैन ।

  • तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्ततः तयार भएको छ । आधारभूत काम पुरा भई विजुलीको परीक्षण उत्पादन थाल्ने तयारीसँगै सरकारले सोमबार आयोजनाको औपचारिक उद्घाटन गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा यो आयोजनाका परीक्षण उत्पादन सोमबारबाटै शुरु हुने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिच्ने गरि तयारी गरिएको हो । सोमबारबाट तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । पहिलो १५ दिन परीक्षण उत्पादन अवधि तोकिएको छ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ ।

    व्यवसायिक उत्पादन शुरु भएपछि भने प्राधिकरणले आयोजनालाई बिजुलीबापतको पैसा दिन थाल्ने छ । ७६\७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।

    आयोजनाबाट उत्पादित विद्युत गोंगर खिम्ती ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन बनेको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण सकिएको छ । अहिले आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने तयारी छ ।

  • बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने

    बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने

    काठमाडौं । यस वर्षको बाढीमा फसेका २७८ जनालाई हवाई मार्फत उद्धार गरेको छ । गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका फसेको २७८ जनाको उद्धार गरिएको जनाकारी दिए ।

    सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको बताए । उनले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए।

    यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए।

    मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको बताए । गत वर्षको पहिरो र बाढी प्रभावित १३ जिल्लाका रहेका बस्तीको स्थान्तरण गर्न सुरु भएको उनले जानकारी दिए ।

    विभिन्न जिल्लाका उक्त परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत २ करोड ८६ लाख बढी रकम दिने प्रक्रिया सुरु भएको बताए ।

    गत वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९४९ परिवारलाई प्रति परिवार ५० हजारका दरले १९ करोड ९७ लाख अनुदान दिईएको बताए ।

    यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

    बागमती प्रदेश अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेका मानवीय सहायत स्थलहरुमा खोज उद्धार तथा राहतका सामग्रीहरु भण्डारण गरिएको बताए ।

  • निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण

    निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा तोकेको छ ।

    शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो । जस अनुसार लाभग्राहीहरुले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्नु पर्ने भएको छ ।

    यसअघि, २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कार्तिक मसान्तसम्मलाई निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो ।

    उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणालीउक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।

    बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।

    अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ ।

    लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्मण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नु पर्नेछ ।

    भूकम्पबाट क्षति भएकामध्ये ६ लाखभन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ६ लाख ११ हजार २४१ घर निर्माण सम्पन्न भएको हो ।

    ७ लाख ५७ हजार ३९४ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६५ हजार ४८२ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

    लाभग्राही सूचीमा समावेश भएकामध्ये ६५ हजार ६२ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ८ लाख १४ हजार ३२४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

    जसमा ८ लाख १४ हजार ३२४ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी ७ लाख २२ हजार ४९६ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी ६ लाख ६० हजार २४६ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

  • लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प

    लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प

    काठमाडौं । नेपालमा मध्यमनसुन जारी छ । यसले पछिल्लो तीन दिनयता लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी र पहिरो बढेसँगै देशभर सडक संजालमा असर पुगेको छ । सडक विभागका अनुसार अहिले १४ सडक खण्ड ठप्प छ । यसमा चितवनको नारायणघाट मुग्लिङ सडक खण्ड समेत रहेको छ । सडक विभागका अनुसार ४९ सडक खण्ड भने एकतर्फी रुपमा सञ्चालनमा छन् ।

    अहिले नारायणघाट मुग्लिङ सडकको अवरोध हटाउने प्रयास जारी छ । यहाँ राजमार्गमा भिमकाय ढुंगा खसेर बाटो रोकेको प्रहरीले बताएको छ । पहिरोले मकवानपुरबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौं आउने सडक बन्द भएको छ ।

    ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड समेत ठप्प छ । मनाङको डुम्रे बेसीसहर चामे सडक खण्डमा समेत पहिरोले अवरोध गरेको छ । मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा पहिरोले यात्रा अवरुद्ध छ । अरनिको राजमार्गको खाडीचौर कोदारी सडक खण्ड समेत बन्द छ ।

  • पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन । अविरल वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन-सडकखण्ड अवरुद्ध भएको छ । अहिले देशभर वर्याा जारी छ । यस्तो वर्षा शनिबारसम्म नै रहने छ । पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध हुँदा पश्चिम नेपालको काठमाडौंसँगको सम्पर्क भने अस्थायी रुपमा बन्द भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी रुपमै बन्द भएको हो । अहिले पनि सो भेगमा पानी परिरहेका कारण पहिरो हटाउन सकिएको छैन ।

  • आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै

    आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै

    काठमाडौं । नेपालमा आजबाट आन्तरिक हवाई उडान नियमित हुँदैछ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले २० वैशाखबाट उडानमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला निषेधाज्ञाको बीचमा पनि उडान जारी थियो । तर, आलोचना पछि हवाई उडान समेत बन्द भएको हो । मन्त्रिपरिषद्ले साविकको तुलनामा ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेअनुसार उडान सूचारु भएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरि तालिका मिलाएको छ । आजबाट बुद्ध एयरले दैनिक ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान गर्नेछन् । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ उडानको अनुमति पाएका छन् । हवाई यात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ ।

  • नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने

    नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने

    काठमाडौं । नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेलले अब वीरगन्ज विराटनगरबाट भारतको कलकत्ता र हल्दियासम्म पुगी सामान ढुवानी गर्न सक्ने भएका छन् । नेपाल र भारतबीच रेल सेवा सम्झौतामा संशोधन गरि यस्तो प्रावधान राखिएको हो । यसअघि नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा उपलब्ध हुने भएको छ ।

    नेपाल भारत पारवहन सन्धिमा व्यवस्था भएअनुरुप अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतीका आधारमा रेल सेवा विस्तार हुँदै जाने सहमति समेत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका तर्फबाट १४ असारमा भारत सरकारसँग यस्तो प्रस्ताव गरेको थियो ।

    दुवै मुलुकबीच भएको सहमति अनुसार नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दीनेश कुमार भट्टराईले पठाएको प्रस्तावमा भारतका तर्फबाट मंगलबार भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्त कुमार मिश्राले हस्ताक्षर गरेका छन् । यससँगै दुबै मुलुकबीच रेल सेवा सम्झौता संशोधन भएको मन्त्रालयले जनाएको छ ।

    सन् २०१९ जुन ६–७ मा भारतको नयाँ दिल्लीमा भएको पुनरावलोकन बैठकबाट विद्यमान नेपाल–भारत रेल सेवा सम्झौता गर्न सहमति भएको थियो । मन्त्रालयका अनुसार यो सम्झौतामा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारमा भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतको द्धिपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्न व्यवस्था गरिएको छ ।


    संशोधित प्रावधान अनुसार भारतका निजी रेल सेवा प्रदायकले नेपालका लागि हुने ढुवानी सेवा दिन सक्ने गरि बाटो खुलेको छ । अहिले यस्तो ढुवानी भारतीय कन्टेनर निगम लिमिटेडले उपलब्ध गराइरहेको छ । प्रस्तावित सम्झौतापत्र आदानप्रदान भएपछि भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमति प्राप्त कार्गो ट्रेन अपरेटले नेपालको पारवहनका लागि हुने ढुवानी सेवा दिन सक्ने भएका हुन् । यसले अन्तर्राष्ट्रिय व्यापार सहज हुने मन्त्रालयको भनाई छ ।

    साविकमा नेपालमा हुने आयात–निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क अग्रिम रुपमा कलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैक मार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था समेत भएको छ । यस संशोधनले दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको मन्त्रालयको भनाई छ ।

  • अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)

    अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

    एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो ।

    अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।

  • सबै म्यानपावर कम्पनी नविकरण हुने

    सबै म्यानपावर कम्पनी नविकरण हुने

    काठमाडौं । सरकारले अहिले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसाय कम्पनी नवीकरण गरिदिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको हो । कोरोना महामारीका कारण विदेशमा तोकिएको संख्यामा कामदार पठाउन नपाउँदा ७३१ वटा म्यानपावर कम्पनी खारेज हुने सम्भावन थियो ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अहिले ८५४ वटा कम्पनी सञ्चालनमा छन । नियमित प्रक्रियाबाट नवीकरण गर्न विभागले सूचना प्रकाशन समेत गरेको थियो । यस प्रक्रियाबाट जाँदा कम्पनीले प्रत्येक वर्ष असार मसान्तभित्र नवीकरण गराउनुपर्ने व्यवस्था छ । प्रत्येक महिना दस हजार शुल्क तिरेर असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था समेत छ ।

    नियमित प्रक्रियाबाट जाँदा लगातार दुई आर्थिक वर्षमा २०० श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने थियो । तर, कोरोना महाकारीका कारण ७३१ कम्पनीले उक्त आंकडामा कामदार पठाउन सकेका थिएनन् । वैदेशिक रोजगार ऐन २०६४ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय श्रमिक पनि पठाउन नसकेका कम्पनीको इजाजतपत्र नवीकरण नहुने व्यवस्था छ । सरकारले भने विशेष परिस्थितिका कारण बाधा अड्काउ फुकाउ गरिदिएको छ । यसका लागि व्यवसायीले सरकारसँग लामो समयदेखि लबिंग गरिरहेका थिए ।

  • काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने

    काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधन अब लामो समयसम्म एकै स्थानमा रोकेर राख्न नपाइने भएको छ । उपत्यकामा यसअघि खुल्लामञ्च भित्र बसपार्क बनाएर सवारी साधन रोक्ने गरिएको थियो । अब भने महानगरपालिका भित्र सबै सवारी साधन पिक एण्ड ड्रप प्रणालीमा चल्नुपर्ने छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् ।

    सवारी साधनले यात्रुलाई राखेर गुडिहाल्नु पर्नेछ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गरिरहेको छ । त्यहाँबाट बसहरु खुलामञ्चमा पार्क गर्ने गरिएको थियो । महानगरपालिकाले खुलामञ्चबाट समेत बसपार्क हटाएको छ ।

    महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडि सडकमा पिक एण्ड ड्रप प्रणालीमा सवारी साधन चल्ने निर्णय गरिएको हो । साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा बन्दै गरेको काठमाडौं टावरको काम सकिएपछि भने त्यहाँ बसपार्क समेत बन्ने छ ।

  • नेपाली शेयर बजारमा फेरि गयो पहिरो

    नेपाली शेयर बजारमा फेरि गयो पहिरो

    काठमाडौं । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ४७.५० अंकले घटेर २८२८ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये एक वटामा बढेको छ भने अन्य १२ वटा राताम्मे भएका छन् । लघुवित्त उपसूचक ०.५१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक ४.११ प्रतिशतले घटेको छ ।

    आज नेप्सेमा विकास बैंक उपसूचक ३.९५ प्रतिशत, लगानी उपसूचक ३.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक २.६३ प्रतिशत, अन्य उपसूचक २.३५ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३६ प्रतिशतले वृद्धि भएको छ ।

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । ओरियन्टल होटेलको शेयर मूल्य सर्वाधिक ५.७६ प्रतिशतले वृद्धि हुँदा गुराँस लघुवित्तको ४.२५ प्रतिशतले बढेको छ ।

    यता, प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८.५५ प्रतिशतले गिरावट हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको शेयर मूल्य ८.०७ प्रतिशत र वेस्ट फाइनान्सको शेयर मूल्य ८.०१ प्रतिशतले घटेको छ ।

    त्यसैगरि, आज तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्टोसिटी एउड डेभलपमेन्ट कम्पनी र बेष्ट फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ ।

    यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख ५० हजार र जलविद्युत् लगानी तथा विकास कम्पनीको २९ करोड ६७ लाख ५३ हजारको कारोबार भएको छ ।

  • आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै

    आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै

    काठमाडौं । आज असार १५, नेपालमा राष्ट्रिय धान दिवसका रुपमा मनाइँदैछ । नेपाली कृषकले मानो रोपी मुरी फलाउन मिहेनतसहित खेतमा खटिन्छन् । यो दिन कृषकको सम्मानमा मनाउन शुरु गरिएको हो । परम्परागत रुपमा भने असार १५ दही च्यूरा खाने पर्वका रुपमा स्थापित छ । नेपालमा सरकारले २०६१ मंसीर २९ मा असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेको हो ।

    नेपालमा जनसंख्याको दुई तिहाई हिस्सा कृषिमा आश्रित छ । राष्ट्रिय धान दिवसको अवसर पारि कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । यस दिन सरकारले मेला उत्सव नगर्न भनेको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पुर गरि कृषि कर्म गर्न भने पाइन्छ । सरकारले समेत सांकेतिक रुपमा मात्र यो दिवस मनाउँदैछ ।

  • उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी मंगलबार सकिँदैछ ।

    आजको बैठकले निषेधाज्ञा कम्तिमा एक साता लम्ब्याएर स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि केही क्षेत्रहरु अझ खुकुलो बनाउने तयारी गरेको छ । सरकारले अहिले बार अनुसार पसल खोल्न सकिने गरि तोकेको छ । निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार चल्छन् ।

    नेपालमा लामो सयमदेखि कोरोना भाइरसको संक्रमण स्थीर छ । यसले जोखिम कायम रहेको निष्कर्षमा सरकार पुगेको छ । अहिले दैनिक औसतः ३ हजार माथिको संख्यामा संक्रमित देखिएका छन् । सरकारले असार १७ बाट चल्ने गरि आन्तरिक हवाइ उडान खोलेको छ । अन्तर्राष्ट्रियमा समेत उडान थपिएका छन् ।

  • सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

    सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

    काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड) नेपाली रुपैंयाँ बराबर सहुलियत ऋण सम्झौता भएको छ ।

    नेपाल सरकार र विश्व बैंकबिच कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

    आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

    अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए ।

    चालु आर्थिक वर्षमै विनियोजन गरिएका पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए ।

    कार्यक्रममा माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

    कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए ।

    यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ ।

  • बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

    बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से २७.१७ अंकले बढेर नेप्से २८७०.१८ विन्दुमा पुगेको छ । आज २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा सेञ्चुरी कमर्शियल बैंकको ३७ करोड र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेञ्चुरी कमर्शियल बैंक र माथिल्लो तामाकोशीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    यस्तै, आज युनाइटेड इदी मार्दी हाइड्रोपावर ७.२५ प्रतिशत, रिडी हाइड्रोपावर ६.२५, सिभिल बैंक ६.०९, नेशनल हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

    बढ्दो बजारमा आज गोर्खा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.३७ प्रतिशत गुमाएका छन् ।

  • राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

    राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु

    काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ ।

    खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको छ । ‘यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनमा विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुने भएको हो । यसको प्रभाव काठमाडौंसम्म देखिने छ ।

  • आज स्थानीय तहमा बजेट आउने

    आज स्थानीय तहमा बजेट आउने

    काठमाडौं । देशभरका स्थानीय तहमा आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउँदैछ । हरेक स्थानीय सरकारले आआफ्नो नगर वा गाउँ सभामा बिहीबार बजेट प्रस्तुत हुनेछ । यद्दपी सबै स्थानीय सरकारले भने बजेट ल्याउन सक्दैनन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । कतिपयको भने असारभर समय लाग्न सक्छ ।


    अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । अधिकांश स्थानीय सरकारले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई राहत प्रदान गर्ने गरि बजेटको तयारी गरेका छन् ।

    यो वर्ष स्थानीय तहका जनप्रतिनिधिले अन्तिम पटक बजेट ल्याउँदैछन् । आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्ने छ । केन्द्रमा १५ जेठमा बजेट आएको छ । सबै प्रदेशले १ असारमा बजेट ल्याएका थिए । केन्द्र र प्रदेशको बजेटमा आधारित भई स्थानीय सरकारको बजेट आउनेछ ।

  • नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

    हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८२ रुपैयाँ पुर्याइएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर २० अमेरिकी डलर वृद्धि भएको छ । नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम भएको छ । यसअघि निगमले गत जेठ २२ मा मूल्य बढाएको थियो ।

  • ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

    ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

    काठमाडौं । नेपालको वैदेशिक व्यापारमध्ये ठूलो व्यापारमा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिएको छ । भारत र चीनसँग उच्च व्यापार घाटा रहेको नेपालको अमेरिकासँग भने सन्तुलित व्यापार देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिना (साउन-जेठ) सम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकाबाट भने नेपालमा १७ अर्ब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सामान आयात भएको देखिएको छ । अमेरिकामा नेपालबाट उच्च गुणस्तरको गलैचा बढी संख्यामा निर्यात हुने गरेको छ ।

    उता, समग्र वैदेशिक व्यापारमा भने नेपालको व्यापार घाटा निकै उच्च स्तरमा पुगेको छ तथ्यांक अनुसार नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । ११ औं महिनासम्मको व्यापार घाटा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिमा व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा कुल १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.६७ प्रतिशत बढी हो ।

    गत आर्थिक वर्षमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । २०७७ साउनदेखि २०७८ जेठसम्मको ११ महिनामा नेपालको निर्यात व्यापार १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यो अंक गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ८८ अर्ब ३१ लाख रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो । नेपालको कुल वैदेशिक व्यापार भने १५ खर्ब ४ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ ।

  • एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

    एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

    काठमाडौं । विशेष अदालतमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग)ले नेपाल सरकारको मिति २०७१/१०/२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक काम गरेको दाबी गरेको छ ।

    आयोगले करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने ठुलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको र त्यसमा अनुसन्धान हुदा बदनियत देखिएको जनाईएको छ ।

    उजुरी उपर अनुसन्धान हुँदा करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक रुं. १,००,३३,२०,३८५ अक्षरुपी एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि हुन आएको दाबी गरिएको छ ।

    तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्‍याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगले एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ कायम गरी दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत ऐन, २०५९ को दफा ९ समेतको आधारमा बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

    काठमाडौं । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे छाएको छ । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३३ प्रतिशतले घटेका छन् ।

    आज कारोबारमा आएका २१८ कम्पनीमध्ये जम्मा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४२ करोड र राधी विद्युत् कम्पनी ३८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    यस्तै, मल्टी प्रपोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, पाँचथर पावर, हिमालयन पावर र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

  • लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

    लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

    ५४ करोड अमेरिकी डलर लागतको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र ३३ अर्ब ४१ करोड ४० लाख लागत अनुमान गरिएको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) का लागि लगानी स्वीकृत गरिएको हो ।

    आजको बैठकले झापाको दमकमा निर्माण हुने सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाइएको मुलुककै सबैभन्दा ठूलो नेपाल–चीन मैत्री औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन समेत स्वीकृत गरेको छ । परियोजनाको विकासकर्तासँग परियोजना विकास सम्झौता गर्न आवश्यक तयारी गर्न समेत लगानी बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।

    आजको बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन गर्न सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्तासँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।
    बैठकले तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्न देखिएको अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

    एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

    काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ ।

    गत बुधबारदेखि ओरालो लागेको बजारमा मंगलबार भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७९.४३ अकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन्।

    कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ।

    नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा जनकी फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रोसीटी एण्ड इनभेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी रहेका छन् । अन्यको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

    कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भयो। कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको शेयर किनबेच भयो।

  • टुटल र पठाओको सेवा आजबाट सूचारु

    टुटल र पठाओको सेवा आजबाट सूचारु

    काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न बाटो खुलेको हो ।

    आजबाट यात्रुले आकस्मिक अवस्थामा टुटल, पठाओ र ट्याक्सी प्रयोग गर्न सक्नेछन् । तर, सार्वजनिक यातायात भने अझै खुलेको छैन । सरकारले आजबाट निषेधाज्ञाका धेरैजसो प्रावधानमा खुकुलो बनाएको छ । यद्दपी पार्टी, सभासम्मेलन भने गर्न पाइदैन । हवाई यातायातबारे समेत सरकारले थप निर्णय गरिसकेको छैन ।

  • उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

    उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

    काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले एक साता निषेधाज्ञा लम्ब्याएको छ । तर, यो समय पहिला जस्तै कडीकडाउ भने हुने छैन । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको मंगलबारबाट लागु हुने गरि निषेधाज्ञा लम्ब्याएको थियो । कोरोनाभाइरस संक्रमण कम भएको छ ।

    तर, सबै क्षेत्र एक साथ खुला हुँदा संक्रमण बढ्न सक्ने भन्दै सरकारले क्रमशः खुकुलो पारेको बताएको छ । अब निषेधाज्ञा असार १४ सम्म जारी रहने छ । आजबाट निज सवारी चलाउन पाइने छ । तर, जोर गते अनुसार आफ्नो सवारी साधनको पालो भने मिलाउनु पर्नेछ ।

    विभिन्न बार तोकेर फेन्सीपसल समेत खोल्न दिइएको छ । खाद्यान्नसहितका पसललाई अब छेकबार छैन । मोटरसाइकल, ट्याक्सी समेत चल्न सक्ने छैनन् । उनीहरुले पनि जोर विजोर नियम भने पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी साधन चल्ने छैनन् ।

    आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटोमोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न सकिने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न सकिने छ । खाद्यान्न, दूध, किताब पसल बिहान ११ बजेसम्म खुल्ने छन् ।

    रेष्टुरेन्ट, होटलमा टेक अवे र होम डेलिभरी हुने छ । निर्माण सामग्रीका पसल बिहान ११ देखि साँझ ६ बजेसम्म सबै बार खुला हुने छन् । शनिबार भने पसलहरु बन्द हुनेछन् । सरकारी कार्यालय सबै खुलेका छन् ।

  • नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता

    नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो जानेक्रम आजपनि जारी रहेको हो ।

    नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

    साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा झरेको छ । आइतबारपनि नेप्से ६३.११ अंकले घटेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ बराबरको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच भएका छन् । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ५/५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
    आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । भने युनियन, हिमाल दोलखा हाइड्रो पावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, घलेम्दी र जोशी हाइड्रोपावरका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

  • पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने

    काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गरिने भएको हो ।


    यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

    यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसबाट लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको भएको हो । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ । उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।