Category: अर्थतन्त्र

  • निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

    निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ

    घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ ।

    शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो । । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत एवम् प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरुको साथबाट नगद एक लाख ३९ हजार रुपैयाँ र एक गड्डी तास बरामद भएको छ ।

  • गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

    गिट्टी-बालुवा निर्यात गर्ने सरकारको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनको माग

    काठमाडौं । सरकारले नेपालको पहाडबाट उत्खनन गरि गिट्टी बालुवा भारत निकासी गर्ने गरि लिएको नीति तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेको छ । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने र त्यसका माध्यमबाट व्यापार घाटा कम भन्दै सरकारले बजेटमा यो नीति राखेको हो ।

    सत्ता टिकाउन भारतलाई रिझाउने गरि राष्ट्रहीत विरोधी कदम चालेको भन्दै विपक्षी गठबन्धनले संयुक्त रुपमा यो कदमको कडा विरोध गरेका हुन् । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणा राष्ट्रघाती भएको बताएका हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणाको संज्ञा दिएका छन् ।

    ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो,’ विज्ञप्तीमा भनिएको छ । विपक्षी गठबन्धनले शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनको समेत विरोध गरेका छन् ।

    सरकार काम चलाउ भइसकेको र संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला भएको मन्त्रिपरिषद् विस्तार संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यता कै उपहास भएको उनीहरुको भनाई छ । प्रधानमन्त्री कामचलाउ भएपनि उनले दूरगामी प्रभाव पार्ने निर्णय गरिरहेका छन् ।

  • निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

    निषेधाज्ञाकै समयमा दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरी वृद्धि गरेको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको नेपाल आयल निगमले सूचना जारी गरि जानकारी गराएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । सरकारले निषेधाज्ञाकै समयमा दोस्रो पटक मूल्य बढाएको हो । यसअघि जेठ २ गते मूल्य बढेको थियो ।

    भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएका कारण मूल्य समायोजन गरिएको निगमको भनाई छ । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुनेछ । मूल्य समायोजन पछि पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको निगमले जनाएको छ ।

  • आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

    आजबाट निषेधाज्ञा खुकुलो, निर्माणका काम र खाद्यान्न पसल खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकाका आजबाट निषेधाज्ञा हल्का खुकुलो हुँदैछ । एक हप्तासम्म खाद्यान्न पसल समेत बन्द भएको काठमाडौंमा अब केही खुकुलो बनाइएको हो । उपत्यकामा जेठभर निषेधाज्ञा भने जारी रहने छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

    आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न सकिन्छ । निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइन्छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

    शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थल भने बन्द नै रहनेछन् । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न सकिनेछ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् ।

    वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक उपत्यकामा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउने नियम छ । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन भने पाइने छैन ।

  • मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ ।

    राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने छ । २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।

    दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । झण्डै तीन महीना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।

    आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।

    सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ ।

  • साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

    साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु

    काठमाडौं । सरकारले बजेटमा घोषणा गरे अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आज मूल्यसूची सार्वजनिक गर्दै बजेटको कार्यान्वयन थालेको हो । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो ।

    साल्ट ट्रेडिङले आज आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको छ । अब बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ २० पैसामा किन्न सकिने छ । खाना पकाउने ग्यासको भाउ ११ सय २० रुपैयाँ तोकिएको छ । पिठो प्रतिकिलो ४४ रुपैयाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा किन्न सकिने छ ।

    पाँच जनाको परिवारले एक महिनामा दुई किलो पिठो, दुई किलो चिनी, दुई किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्यास मात्र किन्न पाउने छन् । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।

    काठमाडौं उपत्यकामा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्यास भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।

  • गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

    गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एक बुँदा समेटेको छ । जसमा नेपालको ढुंगा, गिटी विदेश निकासी गरि त्यसबाट व्यापार घाटा कम गर्ने नीति लिइएको छ । यसका लागि निकासी हुन विन्दुसम्म रोपवे निर्माण गर्न चाहने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यो नीतिको व्यापक आलोचना शुरु भएको छ ।

    आज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मले यो नीति तत्काल खारेज गर्न माग गरेका छन् । सरकारले नेपालको प्राकृतिक सम्पदाको दोहन गरेर विदेश निकासी गर्ने सरकारको नीतिले उसको राष्ट्रवाद समेत उदांगो भएको नेताहरुको प्रतिक्रिया छ ।

    एमाले नेता माधव कुमार नेपालले चुरे दोहन गरि मुलुकको आधा जनसंख्यालाई भुक्षय, भोकमरी र डुवानमा पार्ने योजनासहित सरकारले यस्तो नीति ल्याएको आरोप लगाएका छन् । उनले यो निर्णय तत्काल सच्याउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको ढुंगा, गिट्टी र वालुवा निकासी गर्ने सरकारको नीति राष्ट्र र जनविरोधी भएको बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो निर्णय राष्ट्रघाती भएको प्रतिक्रिया दिएका छन् ।

    उता, अर्थ मन्त्रालयले आजै एक विज्ञप्ती निकाल्दै सरकार चुरेको संरक्षणमा गम्भीर रहेको भन्दै खानीबाट निकाल्ने ढुंगा, गिट्टी तथा वालुवामात्र निकासी हुने बताएको छ । यसका लागि वातावरणीय प्रभाव अध्ययन हुने भन्दै मन्त्रालयले नीतिको बचाउ समेत गरेको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको चौथोदिन नेप्से ५५.७६ अकले बढेर २८२७.१३ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ५५६ रुपैयाँको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे २ अर्बले बढेर सवा ११ अर्ब पुगेको छ ।

    कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४७९.१३ अंकले बढेको छ ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ३३ करोड र सानिमा माइ हाइड्रोपावर ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    आज दुई कम्पनीको शेयरमूल्यमा १० प्रतिशत बढेको छ भने अन्य ११ कम्पनीको मुल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । आज शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् ।

    यस्तै, मञ्जुश्री, पोखरा, समृद्धि, जानकी गुह्येश्वरी, आइसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बीमा र युनियन हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत को हाराहारीमा बढेको छ ।

    त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनी भएको छ ।

  • उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

    उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै

    काठमाडौं । काठमाडौं उपत्यकामा अब केही खुकुलो प्रावधान राखेर निषेधाज्ञा भने लम्ब्याइने भएको छ । यस्तो प्रावधान २१ जेठबाट लागु हुने छ । यसबारे आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने छन् । अहिले अत्यावश्य वस्तुबाहेकको पसल बन्द गरिएकोमा अब खाद्यान्न बिक्री वितरण खुला हुने छ । पूर्वाधार निर्माणका काम समेत सहज बनाइने छ ।

    किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गरिने छैन । तर, सार्वजनिक सवारी साधन भने बन्द हुनेछन् । निषेधाज्ञा भने एक साथा थप्ने तयारी छ । सरकारले प्रतिवन्ध मात्र लगाए पनि यस पटक धेरै मानिसमा परीक्षण गरेन ।

    सोहीकारण उपत्यकासहितका घना वस्तीमा संक्रमण घट्न सकेको छैन । अहिले पनि दैनिक ६ हजार भन्दा बढी मानिसमा कोरोना पुष्टी भइरहेको छ । अब खुला हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । निर्माण सामग्री रातीको समयमा ओसार्न दिने तयारी समेत छ ।

  • भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

    भारतबाट सरकारी स्तरबाटै मल खरीद गरिने

    काठमाडौं । यस पटक सरकारले भारतसँग सरकारी तहबाटै रासायनिक मल खरिद गर्ने भएको छ । गत वर्ष निजी क्षेत्रलाई जिम्मा दिँदा समयमै मल आउन सकेन । सो कारण सरकारको व्यापक आलोचना भएको थियो । भारतबाट मल आउन नसकेपछि बंगलादेशबाट मगाउनु परेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई चाहिने मल खरीदको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

    सरकारले रासयनिक मल अभाव हुन नदिन यसै वर्ष भारतसँग सम्झौता गरेर मल ल्याउने निर्णय गरेको हो । यसले द्रुत प्रक्रियामा मल आउने अपेक्षा छ । सरकारले हरेक वर्ष करीव १० देखि १२ अर्ब रुपैयाँ मल खरीदका लागि छुट्याउने गर्छ ।

  • नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    नयाँ रेकर्ड बनाउँदै आएको नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजार उच्च अंकको गिरावट आएको छ ।

    पछिल्लो समय लगातार उकालो लाग्दै आएको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । आज शेयर बजार मापक सूचक नेप्से ४५.७ अंकले घटेर २७८२.८६ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने २ समूहको सूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८०.८८ अंकले घटेको छ ।

    आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ९० करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा लुम्बिनी विकास बैंक ३९ करोड र एचआइडीसीएल ३२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । राधी विद्युत् कम्पनी र सेन्टर फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।यस्तै, नारायणी विकास बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

  • चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

    चीनले अनुदानमा दिएको खोप लिन आज नेवानि बेइजिङ जाने

    काठमाडौं । नेपाललाई चीन सरकारले अनुदानमा दिएको थप १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको चार्टर जहाज आज बेइजिङ उड्दैछ । जहाज राती ११ बजे बेइजिङ जाने त्रिभुवन विमानस्थल कार्यालयको तालीकामा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले राष्ट्रपति विद्यादेवि भण्डारीसँगको टेलिफोन वार्तापछि खोप सहायता घोषणा गरेका हुन् ।

    यससँगै अब चीनले नेपाललाई अनुदानमा दिएको खोपको डोज कुल १८ लाख पुगेको छ । चीनले यसअघि ८ लाख डोज खोप दिइसकेको छ । यो जहाज मंगलबार दिउँसो साढे २ बजे काठमाडौं अवतरण हुनेछ ।

  • अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको हो ।

    ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । चालु आवमा भने सरकारले १० अर्ब भन्दा बढी बजेट विनियोजना भएको थियो । चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड खर्च भइसकेको छ ।

    मन्त्रिपरिषद बैठकले गत वैशाख ९ मा आयोजनामा आवश्यक बजेटको जोहो गर्ने निर्णय गरेको थियो । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको छ ।

  • सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

    सेयर कारोबारले बनायो ऐतिहासिक रेकर्ड, यी १५ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

    साताको कारोबारको पहिलोदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो । नेप्से १२.५४ अकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीको १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको ४ करोड २६ लाख ३६ हजार ३८४ कित्ता शेयर किनबेच भएका छन् ।

    यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

    नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।

  • शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा

    शैक्षिक प्रमाणपत्र धितोमा २५ लाखसम्म ऋण दिने घोषणा

    काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । सरकारले यसअघि ७ लाखसम्मको सीमा बढाएर २५ लाख पुर्याएको हो । विगतमा पनि निकै प्राथमिकताका साथ घोषणा भएपनि कार्यान्वयनमा असफल भएको कार्यक्रमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः प्राथमिकतामा राखेका छन् ।

    उनका अनुसार स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने छन् । चालू आर्थिक बर्षसम्म यो कार्यक्रमबाट ऋण पाउने सीमा ७ लाख रुपैयाँसम्म मात्र रहेको छ । ऋण रकमलाई एकै बर्षमा तीन गुणा बढाइएको छ । यो कार्यक्रम अर्थमन्त्री विष्णु पौडेलले शुरु गरेका हुन् ।

  • वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

    वृद्धभत्ता, कर्मचारीको तलव र प्रहरीको रासन भत्ता बढाएर सरकारले दिन खोजेको सन्देश

    काठमाडौं । संसद विघटन गरि निर्वाचन घोषणा गरेको सरकारले लोकप्रिय कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले चतुर्याइपूर्वक काम गरेको देखिन्छ । आलोचनाका डरले एकै पटक धेरै वृद्धि गरिएको छैन । तर, वृद्धि गर्न समेत छाडिएको छैन । सरकारले वृद्धभत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । यो ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकले प्राप्त गर्छन् ।

    सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता समेत ३३ प्रतिशत बढाउने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलको यो घोषणाबाट सरकारले एक साथ धेरै नागरिकको मन जित्न खोजेको देखिन्छ ।

    यसबीचमा सरकारले कर्मचारीको तलवमा समान २ हजार रुपैयाँ मासिक वृद्धि गर्ने निर्णय गरेको छ । यो कम भएपनि सांकेतिक रुपमा सम्बोधन गरेको हो । सरकारले बजेटबाट प्रहरीको रासन भत्ता समेत १५ प्रतिशत बढाउने निर्णय गरेको छ । कर्मचारीको मनोवल बढाउन यस्तो निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए ।

  • यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ ।

    विनियोजित बजेटमध्ये चालु खर्च ४१.२ प्रतिशत, पुँजीगत खर्च २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १२.६ प्रतिशत बजेट विनियोजन भएको छ । प्रदेश तथा स्थानीय तहहरुलाई दिने अनुदानको हिस्सा २३.५ प्रतिशत छ ।

    हेर्नुहोस् बजेटको पूर्णपाठ

  • नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

    नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।

    जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन हुने अनुमान छ। यो कुल बजेटको ४१. २ प्रतिशत हो।

    त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको पौडेलले बताए।

  • सरकारी कर्मचारीको तलब बढ्यो

    सरकारी कर्मचारीको तलब बढ्यो

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

  • पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

    पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

    काठमाडौं । सरकारले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाएको छ ।

    आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए ।

    पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताए।

  • चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

    चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

    काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।

    आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।

    चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा सम्पन्न गरिने भएको छ ।

    तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण पनि आगामी आवमा थालिने पौडेलले बताए ।

  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

    काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

  • याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

    याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

    काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

    आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय गरिएको बताएका हुन् ।

    त्यसका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ ।
    त्यस्तै, सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।

  • नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

    नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

    काठमाडौं । नेपालमा पछिल्लो १५ वर्षमा कतिपय लोपोन्मुख वन्यजन्तुको संख्या करीव दोब्बरले बढेको पाइएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार बाघ र अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले बढेको छ । अब नेपालमा बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ पुगेको तथ्यांकले देखाएको छ ।

    गैंडाको संख्यामा भने अझै पनि चूनौति रहेको पाइएको छ । सन् २००० मा नेपालमा ६१२ गैँडा थिए । सन् २०११ को गणनामा यो घटेर ४३४ मा आएको थियो । सन् २०१४ मा पुनः वृद्धि भई गैँडाको सङ्ख्या ६४५ पुगेको थियो । पछिल्लो गणनामा ७५२ पुगेको देखिएको छ । तर, गैंडाको मृत्युदर समेत उच्च रहेको छ । सन् २०१८ मा ३२६ वटा कृष्णसार रहेकोमा सन् २०२० मा ३४६ पुगेको छ ।

    तथ्यांक अनुसार नेपाल भर ४७३ गौरीगाई, १९८ घडियाल गोही, ३०१ देखि ४०० हिउँचितुवा र दुई हजार ३५१ बह्रसिंहा रहेको देखिएको छ । नेपालमा ५९ लाख ६२ हजार हेक्टर जमिन वन क्षेत्रले ढाकेको छ । झाडी तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर जमिन ढाकेको छ । कुल भूभागको ४०.४ प्रतिशत वन र ४.४ प्रतिशत झाडी बुट्यान क्षेत्रले ढाकेको पाइएको छ ।

    आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश नं २ मा रहेको तथा प्रदेशको कुल भूभागको सबैभन्दा बढी वन क्षेत्र सुदूरपश्चिममा र सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ । नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र समेत २० संरक्षित क्षेत्र स्थापना गरी मुलुकको ३४ हजार ४२० वर्ग किमी अर्थात २३ दशमलव चार प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणालीमा आवद्ध छ ।

  • आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

    आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

    काठमाडौं । नेपालमा आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट आज सार्वजनिक हुने भएको छ । १५ जेठमा बजेट ल्याउनै पर्ने बाध्यताका बीच संसद नभए पनि सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । सरकारले ल्याउन लागेको पूर्ण बजेटको विपक्षी दलहरुले भने आलोचना गरिरहेका छन् । सरकारले चूनावी कार्यक्रम समेटेर लोकप्रिय कार्यक्रम ल्याउन सक्ने आंशका उनीहरुको छ ।

    सोहीअनुसार वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका छन् । बजेटबारे निर्णय गर्न ११ बजे मन्त्रिपरिषद् बस्दैछ । उक्त बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्नेछ । बजेट प्रधानमन्त्री कार्यालयको हलबाट सार्वजनिक हुँदैछ ।

  • नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

    नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

    काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको दावी छ ।

    स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग नै घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू भएको बताएका हुन् । नेपाल खोप खरीदमा अहिले चीन र अमेरिकामा केन्द्रित भएको जानकारी उनले गराए । खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागिएको उनको भनाई छ ।

    मन्त्री ज्ञवालीका अनुसार अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्ने समेत उनले जानकारी दिए ।

  • आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

    आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ /७८ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन्।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको बताएका छन्। आर्थिक वृद्धिको अनुमानलाई महामारीले समस्यातर्फ धकेलेको उनको भनाइ छ।

    नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ पुग्ने अनुमान गरिएको छ । कुल राष्ट्रिय उत्पादनका नेपालीको प्रतिव्यक्ति आय ११ सय ९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।

    अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ पुग्ने अनुमान गरेका हुन् ।

    प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४ सय ८६ डलर पुगेको बताएका छन् ।

  • आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

    आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

    काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा लम्बिएको छ । सरकारले थप गरिएको निषेधाज्ञाको नियममा अझ कडाई गरेको छ । यस्तो कडाईलाई सरकारले भने विरोधका आवाज दवाउन सरकारले गरेको षडयन्त्र भनेको छ । किनकी नेपालमा संक्रमण कम हुँदै गएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाउनु पर्नेमा अझ कडाई गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

    शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न पाइने छैन । त्यावश्यक काम नपरी सडकमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । मर्निङ वाक र इभिनिङ वाकमा निस्कने माथि समेत जरिवाना तिराउने तयारी सरकारको छ । पसलेहरुलाई एक पटक चेतावनी दिने र दोस्रो पटक पनि अटेरी गरि पसल संचालन गरेमा जरिवाना हुने भएको छ ।

    किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भएका छन् । तर, बिहान ९ बजेसम्म दुध, फलफुल तथा मासु पसल भने संचालन हुनेछन् । औषीका पसल जुनसुकै बेला पनि खुला हुनेछन् । स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

    नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको हो ।

  • नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार

    नेप्सेले बनायो नयाँ रेकर्ड, एकैदिन पौने १५ अर्बको कारोबार

    काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

    साताको कारोबारको अन्तिमदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो ।

    विहिबार नेप्से १.२० अकले घटेर २८१५.४० विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहिबार २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर किनबेच भएका छन् ।

    यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

    नेप्सेका अनुसार आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

    त्यस्तैगरि, आज अपि पावर कम्पनी, राधी विद्युत कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, सानीमामाई हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, अरुण काबेली पावर, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।

    त्यस्तै, आज मेरो मााइक्रोफाइनान्स वित्तिय संस्था र समता घरेलु लुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ ।

  • अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

    अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

    काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो ।

    यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले धितोपत्रको दोस्रो बजारमा १ वर्षभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने भएका छन् ।

    ‘सर्वसाधारणमा सेयर विक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

    यस्तै खरिद गरेको एकवर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानीमात्र विक्री गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तर, यसअघि २०७८ जेठ १० गतेसम्म लगानी गरेका सयर २०७९ असार मसान्तभित्र विक्री गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।