Category: अर्थतन्त्र

  • सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार

    सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार

    काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । विहिबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    साताको पहिलो दिन नेप्सेले २६४०.३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि विहिबार नेप्सेले २६३६ विन्दु पार गरेको थियो ।

    आइतबार सेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले बढेर २६४०.३५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ८३ करोड ४६ लाख ३९ हजार ६६ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    कारोबार भएका ७ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनी मध्ये २ कम्पनीको सेयरमूल्य ८ प्रतिशले बढेको छ भने अन्य ५ कम्पनीको ९ प्रतिशत बढेको छ ।

    आज अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श कम्पनी, चन्द्रागीरी हिल्स, समृद्धी फाइनान्स, एनआईसी एसिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रीड फण्ड र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

  • एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु

    एनआरएनएले खोल्ने विकास कोषको कम्पनी दर्ता प्रक्रिया शुरु

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा खुल्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता प्रक्रिया शुरु भएको छ । यससम्बन्धी कागजातमा आज हस्ताक्षर भएको छ। काठमाडौंमा उपलब्ध संस्थापकका तर्फबाट शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरे ।

    यो कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी संघको रहेको छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

    कार्यक्रममा समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई छ । संघका अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।


    १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ । संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले जानकारी दिए ।

    यस अभियानको ८५ प्रतिशत लगानी संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने अध्यक्ष पन्तले जानकारी दिए ।

  • वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार

    वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार

    काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा नेपालले अमेरिकाबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । यो अवधिमा नेपालबाट अमेरिका भने ७ अर्बको सामान निर्यात भएको छ । यसले नेपाल र अमेरिकाबीच सन्तुलित व्यापार रहेको देखाएको छ । दुई मुलुकबीचको व्यापारमा नेपालतर्फ मात्र २ अर्ब ४५ करोड रुपैयाँ हाराहारीको मात्र व्यापार घाटा रहेको छ ।

    तर, समग्र वैदेशिक व्यापार घाटा भने उच्च रहेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग ठूलो छ । ७ महिनामा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यसअवधिमा निर्यात भने मात्र ४९ अर्ब ९२ करोड बराबर रहेको छ । भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड रहेको छ ।
    यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा छ ।
    बढ्यो आयात
    नेपालमा वस्तु आयात भने कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७७\७८ को सातौं महिना (साउन-माघ)सम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । ७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ ।


    ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो ।

  • इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

    इन्धनको मूल्य बढेपछि वृद्धि भयो हवाई भाडा

    काठमाडौं । वायुसेवा संचालकले आन्तरिक उडानमा हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँ दरले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा संचालकहरुसमेत भाडा बढाउने निर्णयमा पुगेका हुन् । बढेको भाडा शनिबारबाट कार्यान्वयनमा आउने भएको छ ।

    वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गरिएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेको छ ।


    बढेको मूल्य अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जान अब ७० रुपैयाँ महंगो पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्ने छ ।
    यस्तो छ बढेको हवाई भाडाको इन्धन मूल्य

  • बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

    बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\८९ को बजेट निर्माणका लागि गृहकार्य थालेको छ । सोही क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो । पूर्वअर्थ सचिवहरुले कोभिड १९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिए ।

    उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरे । उक्त अवसरमा पूर्व मुख्य सचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले कोभिड १९ र निर्वाचनको घोषणाले आगामी आर्थिक बर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेख गरे । उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिए ।

    पूर्व मन्त्री एवं अर्थ सचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सिमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने आवश्यकता औंल्याए । उनले निजी लगानी विस्तारका आवश्यक वातावरण श्रृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता औल्याए ।

    पूर्वअर्थ सचिव रामेश्वर खनालले व्यवसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिए । उनले प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यैदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मुल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने धारणा राखे ।

    पूर्वअर्थ सचिव डा. शान्ताराज सुवेदीले कोभिड१९ लाई अवसरका रुपमा लिएर कोभिड १९ जे जुन जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए । पूर्व अर्थ सचिव डा राजन खनालले समयमै सुधार गर्न सकिएन भने सार्वजनिक संस्थान मुलुकका लागि निकै ठूलो बोझ बन्ने अवस्था तर्फ अर्थ मन्त्रालयको ध्यान आकर्षण गरे ।

    पूर्व अर्थ सचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लाल शंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले छलफल कार्यक्रमको उद्देश्य, आवश्यकता र
    औचित्यका सम्बन्धमा बोल्दै आगामी दिनमा पनि खासगरी नीतिगत, कार्यक्रमिक एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा यसप्रकारका कार्यक्रम आयोजना गरिने जानकारी दिए । पूर्व सचिवहरुबाट महत्वपूर्ण र गहन सुझाव आएको बताउँदै अर्थ मन्त्रालयले ती सुझावहरुलाई गम्भीरतापूर्वक ग्रहण गर्ने बताए ।

  • ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सककोको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।

    निर्णय अनुसार ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने छन् । नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्।

    एमडी/एमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन्।

    त्यस्तै एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने विज्ञप्तिमा जनाईएको छ ।

    यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

  • प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

    प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले भारतबाट थप २० लाख कोरोना खोप किन्ने निर्णय गरेको छ । यसका लागि प्रतिखोप ४ डलर खर्च गर्ने निर्णय समेत भएको छ । कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने निर्णय समेत सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताएका छन् । यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरेको थियो। थप २० लाख डोज खोप ल्याउने निर्णय मंगलबार भएको छ । प्रतिखोपको चार डलरका दरले राष्ट्र बैंकमार्फत पैसा भारत पठाइने भएको छ ।

    सेरमले काठमाडौंसम्म खोप ल्याइदिने भएको छ । अब ल्याउने २० लाख डोजले कम्तिमा १० लाख मानिसलाई खोप पुग्ने भएको छ । यो खोप जेष्ठ नागरिकलाई वितरण गरिने भएको छ । नेपालमा खोप भने निःशुल्क दिने सरकारको तयारी छ । खोप सरकार आफैले किन्ने छ ।

  • सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि

    सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि

    काठमाडौं । सरकारले एक साता भित्र दोस्रो पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढेको छ ।

    बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।

    यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ

  • कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

    कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

    सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

    यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।

    कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् ।

    त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ ।

    हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

    त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

    जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् ।

    कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपीएसको परीक्षासमेत हुन सकेको छैन ।

  • ५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने

    ५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने

    काठमाडौं । गत पुस ५ सम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी आम निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगेले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

    यद्दपी निर्वाचन हुने वा नहुने भन्ने अन्यौलमै छ । एकातर्फ संसद विघटनको मुद्दा अदालतमा विचाराधिन छ । अर्कोतर्फ स्वयमः आयोग पनि नेकपाको विवादमा अन्यौलमै छ । तर, आयोगले आन्तरिक तयारी थाल्दै मतदाताको टुंगो लगाएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी छन् । सरकारले निर्वाचनबाट स्थिरता आउने दावि गरेपनि संविधान विपरित काम भएको भन्दै उत्पन्न विरोधका स्वरले अस्थिरता निम्त्याउने देखिएको छ ।

  • कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

    कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण दक्षिण कोरियामा बेरोजगारी बढेको छ । पछिल्लो डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएको कोरोनामा जनवरी भित्रै ९ लाख ८२ हजारले रोजगारी गुमाइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या पछिल्लो २३ वर्ष यताकै सबैभन्दा बढी हो ।

    कोरियाको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको हो । कोभिड १९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी कटौतीमा परेको बताइएको छ ।

    होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जन स्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन्। कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन पुगेको समेत बताइएको छ ।

    अहिलेसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ । आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएको तथ्यांक छ । दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएको तथ्यांक आएको छ । स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएका छन् ।
    कोरोना महामारीका कारण गुमेको रोजगारीको असर नेपाली कामदारलाई समेत पुगेको छ ।

  • नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको रेकर्ड तोड्दै मापक नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको हो ।

    आइतबार ३३.३३ अंकले घटेको सेयर बजार सोमबार कारोबार शुरु भएदेखि नै उछाल आएको थियो । नेपाल स्टक एक्सचेन्जका नेप्सेका अनुसार ९२.४२ अंकले नेप्से बढेर २५८६.१ विन्दुमा पुगेको छ ।

    यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर २५८५.१५ विन्दुमा पुगेको थियो ।

    सोमबार २०५ कम्पनीको १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ । २ करोड २४ हजार ४७ हजार १५७ कित्ता सेयर किनबेच भएका छन् ।

    सोमबार कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६७९.९१ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा समूह ४४७ र माइक्रोफाइनान्स ३७० अंकले बढेको छ ।

    कारोबारमा आएका २०५ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ६ वटा कम्पनीको कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा निर्धन उत्थान लघुवित्त परेको छ । यसको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ६८ करोड र छिमेक लघुवित्त ४७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन्।

    यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।

    उन्नति सहकार्य लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला, आशा, फरवार्ड, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, विजय लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। ।

    आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ ।

    मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले लघुवित्त कम्पनीहरुलाई बजारमा लगानी गर्न रोक लगाउने व्यवस्था लागू गर्ने हल्ला हल्लामै सिमित भएकाले लगानीकर्ताहरु थप उत्साहित भएको जानकारहरु बताउँछन् ।

  • प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।

    केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    फागुन ६ गते एक घण्टा प्रगिममन, महंगी र भ्रष्टाचारको विरोधमा मानव साङ्गो बनाएर टुँडिखेल घेर्ने संघर्ष समितिले बताएको छ ।

    फागुन ७ मा सबै वडामा विरोध गर्ने, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने, ९ गते हत्या एवं बलात्कारमा महिलाहरुको विरोध हुनेछ ।

    यस्ता छन् समूहले घोषणा गरेका आन्दोलनका कार्यक्रम

    फागुन ५ देखि १२सम्म सम्‍बन्‍धित प्रदेश समितिको आयोजनामा जिल्लाले विरोध गर्ने
    ६ गते प्रतिगमन, भ्रष्टाचारविरुद्ध टुडिखेल वरिपरि मानव साङ्लो बनाउने, अपरान्‍ह ४ देखि पाँच बजे
    ७ फागुनमा पालिकाको वडा स्तरमा विरोध कार्यक्रम हुने
    ७ देखि १५ फागुनसम्म सार्वजनिक ठाउँमा हस्ताक्षर संकलन अभियान चलाउने
    ८ गते कमाठमाडौंमा प्रतिगमनविरुद्ध अन्तरक्रिया कार्यक्रम, यसमा आन्दाेलनरत सबै दलको सहभागिता रहने
    ९ गते प्रतिगमन र महिला हिंसाका घटनाकाविरुद्ध देशव्यापी विरोधमा कार्यक्रम
    १० फागुनमा देशव्यापी दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम
    ११ फागुन मधेस, थारुसहितको विरोध कार्यक्रम
    १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलाे विरोधसभा

  • एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

    एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय समेत भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई आग्रह गरेका छन् ।

    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने जानकारी दिए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली सङ्घको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूको लगानीका लागि आईपीओ जारी गर्ने तयारी रहेको छ ।

  • खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    काठमाडौं । नेपालमा खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको भाउ बढाइएको छ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

    काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत छ ।

    मूल्य बढेपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ । यो मूल्य अनुसार १५ दिनमा निगमलार्ए ७३.८७ करोड घाटा हुने जनाइएको छ ।

  • सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान

    सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने अनुमान

    काठमाडौं । सरकारले बजेट आकार घटाएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको हो ।

    चालू आर्थिक वर्ष २०७७/ ०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

    जस अनुसार अर्थ मन्त्रालयले यस वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

    यो कुल विनियोजित रकमको ९१.१९ प्रतिशत हो । यो निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो ।

    संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    मन्त्रालयले राजस्व र आन्तरिक ऋणमार्फत १० खर्ब ७४ अर्ब, विदेशी अनुदानबाट ३५ अर्ब, वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब उठाइने लक्ष्य राखेको छ ।

    सरकारले १४ खर्ब ७४ अर्बको बजेट ल्याएकोमा त्यसलाई संशोधन गरेर १३ खर्ब ४४ अर्ब कायम गरेको हो ।

  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

    तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

    शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।

    लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने माग व्यापकरुपमा उठेपनि सरकारले घिसिङलाई पुनः नियुक्ति दिएको थिएन ।

  • विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

    विदेशबाट ६ महिनामा नेपालीले घर पठाए ५ खर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा बस्ने नेपालीले पछिल्लो ६ महिनामा करीव ५ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा विदेशबाट ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यसअवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भएको छ ।

    कोरोनाको त्रास हुनु अगाडिको अवस्था भन्दा रेमिट्यान्समा सुधार आएको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले मात्र वृद्धि भएको थियो ।


    रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ह्वात्तै घटेको छ । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

  • नेपाली सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लगानीकर्ता बैंकतिर आकर्षित

    नेपाली सेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, लगानीकर्ता बैंकतिर आकर्षित

    काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

    सेयर बजारमा आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको त्यो रेकर्ड तोड्दै मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

    सोमबार नेप्से ३७.४८ ले बढेर २५६१.४७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहिबेरमै नेप्से २५६३.३० विन्दुमा पुगेको थियो ।

    यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से २५२४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

    नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८ सय ६९ रुपैयाँ कारोबार भएको छ भने कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।

    एकै दिनमा १० अर्ब ६१ करोड को रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको छ । दिनभर २०६ कम्पनीका २ करोड ११ हजार ५ सय ५५ कित्ता सेयर किनबेच भएका छन् ।

    सोमबार लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएका छन् । सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ । यो समूह ३.६५ अंकले वृद्धि भएको छ । दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ ।

    विकास बैंक समूहको सबइन्डेक्स ३.४७ प्रतिशतले बढेको छ ।आइतबार निकै बढेको लघुवित्त समूहको सबइन्डेक्स सोमबार भने घटेको छ ।

    कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५७ करोड ६४ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नबिल बैंक, डिप्रोक्स लघुवित्त र नेपाल लाइफको ३० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

  • एयरलाइन्स कम्पनीलाई ३० दिन भित्र बक्यौता तिर्न निर्देशन, कुनले कति तिर्न बाँकी ?

    एयरलाइन्स कम्पनीलाई ३० दिन भित्र बक्यौता तिर्न निर्देशन, कुनले कति तिर्न बाँकी ?

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ ।

    क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो ।क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले ९ करोड बक्यौता बुझाउन बाँकी छ ।

    एयरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो ।उनीरुलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

    यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सोसमेत पेश गर्न आग्रह गरिएको छ । तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ ।

    कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

    सबैभन्दा धेरै नेकोन एयरको बक्यौता ४ करोड ७० लाख ६० छ । त्यस्तै कस्मिक एयरको ३ करोड ४७ लाख बाँकी रहेको छ । त्यस्तै शिवानी एयरको ५५ लाख ५१ हजार, गोरखा एयरको २० लाख, कर्णाली एयरको १७ लाख ४६ हजार, माउन्टेन एयरको १७ लाख ४६ हजार, साङ्ग्रिला एयरको १५ लाख ३७ हजार, स्काइलाइन एयरको १५ लाख ५० हजार, एयर काष्टमण्डपको ७ लाख ३८ हजार, नेपाल एयरवेजको ५लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रुपैयाँ रहेको छ ।

    हाल नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

  • दिगो विकास लक्ष्यको प्रगति मिश्रित, गरिबी निवारण लक्ष्य अनुसार नै

    दिगो विकास लक्ष्यको प्रगति मिश्रित, गरिबी निवारण लक्ष्य अनुसार नै

    काठमाडौं । अहिले विश्वव्यापी प्रतिवद्धता अनुसार नेपालले समेत दिगो विकास लक्ष्य २०१६-२०३० कार्यान्वयन गरिरहेको छ । सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यका लक्ष्यहरुको प्राप्ती संतोषजनक नै रहेको बताएको छ । राष्ट्रिय योजना आयोगका अनुसार यसमा पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा नेपालको प्रगति राम्रो देखिएको छ ।

    निरपेक्ष गरिबी र बहुआयामिक गरिबी दुबैमा नेपालको प्रगति राम्रो देखिएको छ । तर, अन्य लक्ष्यमा भने नेपाल पहिलो चरणको लक्ष्यभन्दा पछाडी नै रहेको छ । दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन अनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहु आयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ ।

    प्रतिवेदन अनुसार उद्योग, पूर्वाधार तथा नवप्रवर्तन, उत्पादन तथा वितरणका लक्ष्यमा भने सोचेजस्तो राम्रो प्रगति भएन । कुल गार्हस्थ उत्पादन वृद्धि ५.६ प्रतिशत छ । कुल जनसङ्ख्याको तल्लो ४० प्रतिशतको उपभोग र आम्दानीको अनुपात पनि बढेको छ ।

    खाद्य सुरक्षा सूचकाङ्क ४६ रहेको छ । नेपालको शिक्षातर्फ प्राथमिक तहमा भर्ना दर ९७.२ प्रतिशत पुगेको छ । प्राथमिक तह पूरा गर्ने विद्यार्थी ८९.५ प्रतिशत छ । महिला सशक्तीकरणका क्षेत्रमा नेपालले राम्रो सुधार गरेको छ । समान कामका लागि ज्यालाको असमानता, बालविवाह तथा महिला हिंसाका घटना उल्लेख्य छन् ।


    यस अवधिमा कुल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्याको आधारभूत खानेपानीमा र २१ प्रतिशतको सुरक्षित खानेपानी एवम् ८५ प्रतिशतको शौचालयमा पहुँच पुगेको छ । ऊर्जामा कुल एक हजार २५० मेगावाट जलविद्युत् उत्पादन भएर ८८ प्रतिशत जनसङ्ख्या लाभान्वित भएको तथ्यांकमा उल्लेख छ ।

  • नेपाली सेयर बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड

    नेपाली सेयर बजारमा नेप्से परिसूचक र कारोबार दुबैमा नयाँ रेकर्ड

    काठमाडौं । सेयर बजारमा आइतवार दुई नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो ।

    एकै दिनमा १० अर्ब बढीको रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । साताको पहिलो दिन आइतबार नेप्से ४८.७४ अंकले बढेर २५२४ विन्दुमा पुगेको छ ।

    यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २१ गते बुधबार नेप्से २५१५.११ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

    त्यस्तै, आज नेप्सेमा सर्वाधिक कारोबार भएको छ । आज नेप्सेमा १० अर्ब ४४ करोडको कारोबार भएको हो ।

    यसअघि २०७७ माघ १५ गते बिहिबार नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो । यसदिन २०२ कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।

    १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने अन्य ९ समूह बढेका छन् ।

    यस दिन बैंकिङ समूह ३.७ अंकले घटेको छ। साथै विकास बैंक समूह १ अंकमुनि रातो रह्यो।

    तीबाहेकका सबै समूह बढेका छन्। ब्यापार ८२, होटल २७, जलविद्युत ५९, फाइनान्स १६, निर्जीवन बीमा ४९०, जीवन बीमा ५७२, उत्पादन ४१, अन्य ५३ र माइक्रोफाइनान्स समूह ३३४ अंकले बढेका छन्।

    आज अधिकाशं लघुवित्त कम्पनीको मूल्यमा उछाल आएको छ । उच्च शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा गणपति माइक्रोफाइनान्स वित्तिय संस्था, डिप्रोस लघुवित्त वित्तिय संस्था, मञ्जुश्री फाइनान्स, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, आरएसडिसि लघुवित्त र समिट लघुवित्ति वित्तिय संस्था रहेका छन् ।

    त्यस्तै, आन आरम्भ चौतारी लघुवित्त, सपोर्ट लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सुर्योदय लघुवित्त, उन्नती सहकार्य लघुवित्त, महुली लघुवित्त, इन्फिनिटी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, किसान लघुवित्त, सामुदायिक लघुवित्त र ग्रामिण विकास लघुवित्तका लगानीकर्ता मालामाल भएका छन् ।

    त्यसैगरि, आज फस्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला लघुवित्त वित्तिय संस्था, मिर्मिरे माइक्रोफाइनान्स, घलेम्दी हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी र निर्धन उत्थान लघुवित्तका लगाीकार्ता मालामाल भएका छन् । जसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेका छन् ।

  • काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो

    काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो

    काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुष्टी भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । राष्ट्रिय समाचार समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी गराएको हो । गत १६ माघमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण पुष्टी भएको थियो ।

    सङ्क्रमण देखिएको स्थानबाट फैलन नदिन थप सतर्कता अपनाएको र अहिले उक्त सङ्क्रमण नियन्त्रणमा आइसकेकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिएका छन् ।

    उनका अनुसार उक्त क्षेत्रलाई सिल गरेर दैनिक निरीक्षण गर्दै आइएको छ । आसपासमा थस संक्रमण देखिएको छैन । रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३०० वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।

    यसबाहेक एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो ।


    विभागले यसअघि नै भारतका केही प्रदेशमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएसँगै तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सीमानाका बन्द गरिसकेको छ । अहिले भारतबाट पंक्षी नेपालमा ल्याउन पाइदैन ।

  • प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

    प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले खाद्यान्न अभाव भएर होइन आदत बिग्रिएर पौष्टिकता नै नभएको चामल भारतबाट आयात गरिरहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् ।

    हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका बताए । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’

    हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो ?’ ‘यसरी आयात गर्ने प्रवृति बदल्नुपर्छ’ प्रधानमन्त्रीको भनाई छ ।

    उनले जमिन बाँझो राख्ने प्रवृत्ति पनि रोक्नुपर्ने भन्दै कृषिका नाममा अनुदान लिएर दुरुपयोग भइरहेकाले सरकारले त्यस्तालाई कडाइ गर्ने बताए ।

  • हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि

    हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से ८.३४ अंकले बढेर २४७५. २६ विन्दुमा पुगेको छ ।

    यसदिन २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

    ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् ।

    कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ ।

    आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै २७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा डेप्रोक्स लघुवित्तको २४ करोड र ग्लोबल आइएमई बैंक २० करोड सहित शीर्ष तीनमा रहे ।

    आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिएका छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषण गरेकाले लगानीकर्ता आकर्षित भएका हुन् ।

    आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    सूयोदय, समिट, जनउत्थान, महुली सामुदायिक, नेशनल, उन्नति सहकार्य, किसान, सपोर्ट, ग्रामीण विकास र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

    यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधि हाइड्रो, माउन्टेन हाइड्रो, पाँथथर पावर र वरुण हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

  • आज पर्वत जाँदै प्रधानमन्त्री

    आज पर्वत जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत जाँदैछन् । कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    आजै नेकपाले नेपाल बन्द आयोजना गरेको छ । यस अवस्थामा उनको पर्वत भ्रमण भने सुरक्षाकर्मीका लागि निकै चूनौतिपूर्ण हुने देखिएको छ । पोखरा र बागलुङबाट थप सुरक्षा बल मगाएर जिल्लामा सुरक्षा बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने

    आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने

    काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना तिर्न बैंक वा ट्राफिक कार्यालय नै धाउनु नपर्ने भएको छ । अनलाइनबाटै जरिवाना भुक्तानीको व्यवस्था आजबाट कार्यान्वयनमा आउने भएको हो । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले उल्लेख गरेको छ ।

    यसअघि बैंकमा लाइन बस्नुपर्ने हुन्थ्यो । प्रक्रिया समेत झन्झटिलो थियो । महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गरेसँगै कार्यान्वयनमा आउनेछ । नेपालमा वार्षिक करोडौं रुपैयाँ जरिवाना उठ्ने गरेको छ ।

  • नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट

    नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले नयाँ कीर्तिमान बनाएको छ । करिब ७० अंकको करेक्शनपछि सोमबारदेखि उकालो लागेको सेयर बजारले आज फेरि नयाँ इतिहास बनाएको हो ।

    गत बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २४७३ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४५० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि गत माघ १४ गते नेप्सेले इतिहासकै उच्च २४४१.८७ विन्दु पार गरेको थियो ।बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीमा उछाल आउँदा आज नेप्सेले नयाँ इतिहास रचेको हो ।

    यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ८० अर्बले बढेर सवा ३३ खर्ब रुपैयाँ बढी पुगेको छ । नेप्सेका अनुसार मंगलबार सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ६५.४९ अंकले बढेर २४७३.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०० कम्पनीको ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ रुपैयाँ बराबरको १ करोड ५४ लाख ४० हजार ३८७ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । बीमा कम्पनी र लघुवित्त समूहमा उछाल आएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६२६.३३, जीवन बीमा ५९४.२४ र माइक्रोफाइनान्स १५२.१२ अंकले बढेको छ ।

    कारोबारमा आएका २०० कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै ५८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ग्लोबल आइएमई बैंक ५३ करोड र नेपाल टेलिकम ३८ करोड सहित शीर्ष तीनमा रहे ।

    लगानीकर्ता माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । उच्च अंकले बढेको बजारमा करिब १ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    पोजेटिभ सर्किट लाग्नेमा अधिकांश लघुवित्त र बीमा क्षेत्रका कम्पनी रहेका छन् ।प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, अजोड, रिलायन्स इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

    यसैगरी, जनरल इन्स्योरेन्स, सानिमा जनरल, माउन्टेन इनर्जी, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । अन्य आधादर्जन कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • भारतले नेपालका लागि बढायो अनुदान, १५ अर्ब ८७ करोड दिने

    भारतले नेपालका लागि बढायो अनुदान, १५ अर्ब ८७ करोड दिने

    काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतमा आज सार्वजनिक भएको आर्थिक वर्ष २०२१-२२ को वार्षिक बजेटले नेपालका लागि दिने अनुदान ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरेको हो । सोमबार वित्त मन्त्री निर्मला सीतामरणले भारतमा बजेट सार्वजनिक गरेकी छिन् ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष भारतले नेपाललाई एक अर्ब १२ करोड भारु बढी अनुदान दिने भएको हो । यसअघि भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९-२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।

    गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । आज सार्वजनिक भएको बजेट कार्यान्वयन अप्रिल २०२१ बाट कार्यान्वयनमा आउँछ । भारतले सबैभन्दा ठूलो अनुदान भने भुटानलाई दिन्छ । आव २०२१-२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।

    चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।

  • धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु

    धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु

    काठमाडौं । धादिङमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका २ कोइरालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भीर घाइते छन् । बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक ठोक्किएको बताइएको छ ।

    मध्यराती ३ बजे भएको दुर्घटनामा ज्यान गुमाएको परिचय भने खुलिसकेको छैन । दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार जारी रहेको छ ।