Category: अर्थतन्त्र

  • झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ७६ करोड बढीको कारोबार

    काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो ।

    सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज २ अर्ब १५ करोडले गिरावट अनएको छ ।

    पछिल्लो समय अस्वभाविक रुपले बढेको बजारमा प्रफिट बुक गर्ने हावी हुँदा कारोबारमा ह्वात्तै गिरावट आएको आँकलन गरिएको छ । यद्यपि आज पनि कारोबार रकम भने उत्सािहजनक नै रहेको छ

    सेयर बजार मापक सूचक नेप्से २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । यसदिन १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १३३.५८ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १८२.४० अंकले घटेको छ ।

    आज लगानीकर्ता नेपाल बैंकको कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज कारोबार भएका कुल १९९ कम्पनी मध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    घट्दो बजारमा आज जलविद्युत् कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    आज एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएका छन् ।

  • सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

    सेयर बजारमा फेरि नयाँ ऐतिहासिक रेकर्ड,एकैदिन झन्डै ७ अर्बको कारोबार

    काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजारले फेरि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । एकै दिनमा करिब पौने ७ अर्ब रुपैयाँ बढीको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार मात्रै नयाँ रेकर्ड राख्दै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७० रुपैयाँ कारोबार भएको थियो ।

    पछिल्लो ८ कारोबार दिनमै बजार सूचक करिब १६३ अंकले बढेको छ । दिनभर तीव्र उतरचडाव देखिएको बजार अन्त्यमा करिब ५ अंकले बढेर बन्द भएको हो ।

    बैंकिङ प्रणालीमा अधिक तरलता भई ब्याजदर सस्तो हुँदा सेयर बजारले दिनदिनै नयाँ उचाइ लिँदै गएको जानकारहरु बताउँछन् ।

    साथै पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री हुँदै जानु, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच पहिलो त्रैमासको आकर्षक रिपोर्ट सार्वजनिक गर्नु, गत वर्षको नाफाबाट लाभांश घोषणा गर्नु लगायत कारणले गर्दा पनि बजारले नयाँ उचाई चुमेको हो ।

    सेयर बजार मापक सूचक नेप्से ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१४ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ, बिकास बैंक र अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै २९.४४ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै २७८.८१ अंकले घटेको छ ।

    आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५७ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये ७२ कम्पनीको मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिटिजन्स् म्युचुअल फण्ड र गोर्खा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    आज माउन्टेन हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.९३ प्रतिशतले गुमाएका छन् ।

  • त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने

    त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने

    काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

    बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

    त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

    भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

    यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

  • कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

    कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने कार्यविधि जारी

    काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ।

    कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको हो।

    सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब रुपियाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ।

    जसमा सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी संघ, संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम जम्मा गरिनेछ ।

    यस्तै खातामा मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

    कोभिड–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ ।

    अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ ।जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम दश करोड रुपियाँसम्म रहेको छ ।

    यस्तै मध्यम प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम सात करोड रुपियाँसम्म रहेको छ । न्यून प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम पाँच करोड रुपियाँसम्म रहेको छ ।

    यसरी प्रवाह गरिने गरिने कर्जाको पचास प्रतिशत अति प्रभावित क्षेत्रमा, तीस प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र वीस प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

    कार्यविधि अनुसार यसरी प्रवाह गरिने कर्जाको ब्याजदर पहिलो वर्षको लागि पाँच प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत कायम गरिएको छ । यस्तै कर्वा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ।

    यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमको लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइनेछ।यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा २ वर्षको हुनेछ।

    कार्यविधि अनुसार व्यवसाय कोभिड–१९ बाट प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६–७७ को साउनवणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेकालाई कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।

    सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्थाहरु र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरु यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाका लागि योग्य नहुने प्रावधान छ ।

    कोभिड–१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्याङ्कन गरी समस्यामा परेका ऋणीको व्यवसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतको आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नु पर्नेछ ।

    व्यवसायीले कर्जाको लागि पेश गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा लगायत हेरी इजाजतपत्र प्राप्त संस्थाले व्यवसायीलाई कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

    इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदनको मूल्याङ्कन गरी कर्जा प्रवाह गरिसक्नु पर्नेछ। कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनुपर्नेछ ।

    सम्बन्धित व्यवसायीको आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने, कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने, कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको व्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्ने व्यवसायीको दायित्व हुनेछ ।

    व्यावसायिक निरन्तरता कर्जा प्रवाहको लागि खाता सञ्चालन गर्ने, इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने, प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रुपमा उपलब्ध गराउने, कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने काम राष्ट्र बैङ्कको काम, कर्तव्य तथा अधिकार हुनेछ ।

    त्यसैगरी कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्ना बापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने, शोधभर्ना रकम प्राप्‍त गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट अवधि समाप्‍त भएपछि शोधभर्ना रकम (साँवा तथा व्याज) फिर्ता भुक्तानी लिनेछ ।

    व्यवसायीले यस कार्यविधि बमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैङ्कले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैङ्किङ सुविधाबाट बञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्नेछ।

    कर्जा प्रवाहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा महालेखा नियन्त्रक, राष्ट्र बैंकका डेपुटी गभर्नर, राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष र अर्थ मन्त्रालयका (वित्तीय क्षेत्र हेर्ने) सहसचिव सदस्य सचिव रहने गरी सञ्चालक समिति हुनेछ ।

    आर्थिक वर्ष २०७७–७८ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम व्यावसाय निरन्तरताका लागि सहुलियत कर्जा प्रदान गर्न यो कार्यविधि तर्जुमा गरी लागू गरिएको हो ।

    अति, मध्यम तथा न्यून प्रभावित क्षेत्रहरु

    (अ) अति प्रभावित क्षेत्रः

    पर्यटनः
    ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
    होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
    साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
    गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार।
    हवाई तथा पर्यटकीय यातायात;
    मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
    चलचित्र उत्पादन, वितरण, सिनेमा हल;
    स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी;
    मूलभूत रुपमा सडेर गलेर जाने वस्तु (पेरिसेवल गुड्स) जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
    कुखुरापालन व्यवसाय;
    पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
    तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय;
    वैदेशिक रोजगार सेवाप्रदायक, शैक्षिक परामर्श सेवाप्रदायक।

    (आ) मध्यम प्रभावित क्षेत्रः

    खप्ने सामान जस्तै- प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय;
    निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कूल, चाइल्ड केयर;
    यात्रुवाहक स्थल यातायात;
    ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप;
    कानूनी, लेखा, इन्जिनियरिङ्ग लगायतका परामर्श सेवा वा व्यवसाय;
    अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टर;
    हेल्थ सेन्टर वा फिट्नेस सेन्टर;
    भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण;
    वन तथा खनिजजन्य उद्योग;
    निर्माण व्यवसाय;
    औषधि उत्पादन;
    छपाइ, प्रकाशन तथा सञ्चार गृह;
    निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा;
    पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय।

    (इ) न्यून प्रभावित क्षेत्रः

    उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना;
    अनलाईन (इ-कमर्स) मा संलग्न व्यवसाय;
    खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय;
    दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण;
    आयातजन्य व्यापार;
    पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय;
    औषधि बिक्री वितरण;
    विज्ञापन सेवा;
    इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी;
    मदिरा तथा सुर्तीजन्य उद्योग व्यापार, व्यवसाय;
    ट्रक, ढुवानी व्यवसाय;
    सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर सम्बन्धी व्यवसाय।

  • सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

    सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकैदिन ६ अर्ब बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहिबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

    आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।

    दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।

    जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

    नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । गत फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार गरेर त्यसबेलाकै सबैभन्दा उच्च कारोबारको रेकर्ड बनाएको थियो ।

    आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

  • नेपाल र विश्व बैंकबीच  ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

    नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

    काठमाडौं । नेपाल र विश्व बैंकबीच आज ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण प्रदान गर्न लागेको हो ।

    आज नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी दुई वटा सम्झौतामा विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

    सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । यस सहायता अन्तर्गत झण्डै १८ अर्ब रुपैयाँ (१ सय ५० मिलियन अमेरिकी डलर) बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुने भएको छ ।

    पूर्वी–तराई क्षेत्रमा प्रदेश १, २ का र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकामा खर्च गरिने अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानाले जानकारी दिए ।

    उता, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका लागि उपकरणहरूमा विविधता ल्याउन र वित्तीय सेवाहरूको पहुँचमा वृद्धि गर्नका लागि विश्व बैंकले झण्डै २४ अर्ब रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) बराबरको आर्थिक सहयोग पनि गरेको छ ।

    विश्व बैंकको यो सहयोगले नेपालमा सहरी विकासको सुदृढीकरण, सहरी गुणस्तर विकास र वित्तीय क्षेत्रको स्थिरतामा सुधार पुर्‍याउन सहयोग पुग्ने अर्थ सचिव ढुंगानाले उल्लेख गरे ।

    दुवै आयोजनाले नेपालमा सङ्घीयता कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ

    विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील आयोजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा विश्व बैंकले सधैँ सहयोग पुर्‍याउँदै आएको बताए ।

    यो आर्थिक सहयोगले पनि तत्कालका लागि आवश्यकताका साथ साथै दीर्घकालीन उद्देश्यहरू प्राप्त गर्न र महामारीपछि पहिले भन्दा सबल र उत्तम पुनर्निर्माणका अवसर सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिबद्ध भएको उनको भनाई छ ।

  • प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

    प्रधानमन्त्रीमाथि लागेका आरोप राष्ट्रिय सरोकारका मुद्दा हुन् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेका आरोप केवल पार्टी विशेषको नभई अब राष्ट्रिय मुद्दा बनेको बताएका छन् ।

    ओलीमाथि राजनीतिक प्रतिवेदनमार्फत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका दौरान प्रधानमन्त्रीबाट भएका कैयौं कमजोरीलाई उजागर गरेका छन् । नेता नेपालले यी विषय अब केवल नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गरेका हुन् ।

    उनले सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै यी विषय अब राष्ट्रिय सरोकारका विषय भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्ने छैन ।’

    यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्ने छैन ।

    गगन थापा

    उनले प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट मागिने समेत बताएका छन् ।

    उनले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ, अब दुई अध्यक्षको मन मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् ।’


    यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय भएको भन्दै यसको उत्तर आरोपी र आरोप लगाउने दुबैले दिनुपर्ने उल्लेख गरेका छन् ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ७९ करोड बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

    बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २३.३२ अंकले बढेर १७४१.८१ विन्दुमा कायम भएको हो ।

    यसदिन १९४कम्पनीको ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको कारोबार भएको छ । १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।

  • लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

    लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री

    लुक्ला । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाउने घोषणा गरेका छन् । शेर्पा संस्कृति झल्कने गरी विमानस्थलको सजावट गरिने उनको भनाई छ ।

    मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटनमा पुगेका थिए । सोही कार्यक्रममा उनले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न समेत निर्देशन दिए ।

    मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने समेत बताए । आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणबाट उपलब्ध गराई स्थानीय तहलाई नै विमानस्थलको सेवा संचालन गर्न दिन सकिने उनको भनाई छ ।

    मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको भन्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको उल्लेख गरे । सगरमाथा क्षेत्र, शेर्पा संस्कृति जानकारी ऐतिहासिकता, टेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास व्यक्त गरे ।

    मन्त्री भट्टराईले आर्थिक समृद्धिको लागि उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ,पशुपालन लाग्न सो क्षेत्रका बासिन्दालाई अनुरोध समेत गरे ।

    पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनको उचित प्रयोग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्ययन थालिएको जानकारी दिए ।सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

  • तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

    तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

    काठमाडौं । तिहारको बिदाको अवसर पारी आजबाट तीन दिनसम्म बैंक तथा त्यसका शाखा बन्द भएका छन् । तिहारको बिदा अवधि शनिबार, आइतबार र सोमबार सबै बैंक र शाखा बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसअघिका वर्षहरुमा बैंक तथा वित्तीय संस्थामा कुनै न कुनै माध्यमबाट सेवा प्रवाह जारी रहन्थ्यो ।

    यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण सिमित कर्मचारीको भरमा बैंकहरु चलिरहेका छन् । सोहीकारण सबै बैंक तथा वित्तीय संस्था बन्द हुन लागेको हो । सबै बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवा सूचारु रहने छन् ।

    संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह समेत गरेको छ । बैंक तथा वित्तीय संस्थाका करीव ६ हजार भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ ।

  • अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

    अमेरिकाले हस्तान्तरण गर्‍यो सय थान भेन्टिलेटर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले १ सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

    कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई उपचार गर्न भेन्टिलेटर आवश्यक हुन्छ। नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्। यही समस्यालाई दृष्टिगत गरी अमेरिकी सरकारले नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो।

    मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा भेन्टिलेटर प्रयोग गर्ने बताए। नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियूमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढ्दै गएको छ।

    स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियूमा उपचाररत छन्।

    नेपालमा बिहीबारसम्म १ हजार १८९ जना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अधिकांश भेन्टिलेटरमा उपचार गराइरहेका गम्भीर बिरामी रहेको चिकित्सकको भनाइ छ।

  • कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

    कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

    बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

    त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् ।

    अर्थ मन्त्रालयको सिफारिसमा सो निर्णय भएको गुरुङले बताए ।

  • सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार

    सेयर बजार साढे तीवर्ष वर्ष यताकै उच्च विन्दुमा, इतिहासकै तेस्रो धेरै कारोबार

    काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

    सूचकसँगै कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ । आज नेपाली सेयर बजारको इतिहासमै तेस्रो धेरै ४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यससाता लगातार ४ अर्ब बढीको कारोबार भएको आज तेस्रो दिन हो ।

    यसअघि गत फागुन १८ गते इतिहासकै धेरै ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको कारोबार भएको थियो भने फागुन १५ गते दोस्रो धेरै ४ अर्ब ४६ करोड बराबरको सेयर किनबेच भएको थियो ।

    यसा साताका ५ दिनमा मात्रै नेप्से परिसूचक करिब ८० अंकले बढेको छ भने असार यता करिब ५०० अंकले बढेको छ ।

    बढ्दो बजारमा लगानीकर्ता ठूला कम्पनीको सेयरमा आकर्षित भएका छन् । बजारका ठूला नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष लगायत ठूला कम्पनीको सेयर कारोबार बढ्दै गएको छ ।

    सेयर बजार मापक सूचक नेप्से १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको १ करोड २३ लाख ३५ हजार ५५६ कित्ता सेयर ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८९० रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचकमा पोजेटिभ सर्किट लागेको छ । यस समूहको परिसूचक १६४.७१ अंकले बढेको छ । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३०.४६ अंकले घटेको छ ।

    आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यस साता उच्च कारोबार हुँदै आएको पुनर्बीमाको आज सबैभन्दा धेरै २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै नेपाल टेलिकम र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट्र ट्रेडिङ र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।यस्तै, नाडेप लघुवित्त, नेपाल टेलिकम र सबैको लघुवित्तको पनि सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

    दोहोरो अंकले बढेको बजारमा गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.२३प्रतिशतले गुमाएका छन् ।

  • मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने

    मेलम्चीको सुरुङ पुनः परीक्षण गरिँदै, माघसम्म काठमाडौंमा पानी झर्ने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

    सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ ।

    केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, ‘सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।’

    मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ ।

    सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । उनले भने, ‘पानी भित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ छैन थाहा हुन्छ, समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।’

    सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए ।सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ । उनले भने, ‘पानी झरेपछि पुरानो संरचनाबाट पानी पठाउने र नयाँ विच्छाइएका पाइपको परीक्षण एउटै समयमा हुनेछ ।’

    यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

    सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।

    सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरुले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

    आयोजनाको बाँकी काम सम्पन्न गर्नै गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

    आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएको थियो ।

    बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो ।

    स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सुचारु थियो । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आयोजनामा यो आयोजना पर्छ । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो ।

    विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।

  • अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

    अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

    वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर (करिब २८ खर्ब रुपैयाँ) बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री विक्री गर्न स्वीकृति दिएको छ ।

    अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई विक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू विमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् ।

    डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री विक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गरेको विज्ञप्तिमा यूएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार विक्री गर्न लागिएको उल्लेख छ ।

    पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि यूएईलाई अत्याधुनिक हातहतियार र लडाकू विमान उपलब्ध गराउनु परेको विदेश मन्त्री पोम्पेओले बताए ।

    इजरायलसँग सम्बन्धी सामान्यीकरण गर्नेगरी यूएईले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै यूएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक विमान विक्री गर्न लागेको हो ।

    यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्नेगरी सम्झौताहरु भएका थिए । सुडान, बहराइन र यूएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो । एएनआइ

  • नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

    नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

    बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको छ ।

    यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १ समूहको परिसूचक ओरालो लागेका छन् ।

    बुधबार ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    दोस्रो बजारमा उछाल आउँदा पनि ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १०१ वटा कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

  • प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् ।

    प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका बाहिर जान लागेका हुन् ।

    यसअघि वालुवाटरको चौघेराबाट बाहिर निस्कन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । जिल्लामा उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

    उनी संखुवासभामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षणमा पुग्ने भएका छन् । त्यसपछि उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफलको कार्यक्रम राखिएको छ ।

    त्यहाबाट उनी भोटखोला ३ स्थित च्यान्ताङ पुग्नेछन् । त्यहाँ निर्माण भइरहेको विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने कार्यक्रम छ ।


    त्यसपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने भएका छन् । त्यसपछि भने प्रधानमन्त्री काठमाडौं फिर्ता हुनेछन् ।

  • सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

    सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

    काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ ।

    सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा आएको थियो । जसले यसको मूल्यमा ठूलो वृद्धि भएको छ । खोप निर्माणमा सफलताका समाचार आइरहँदा अब लगानी शेयर बजारमा जाने अनुमान छ ।

    सोमबार सुन नेपालमा ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यो सोमबारको तुलनामा तोलामा ७० रुपैयाँ कम हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भएको छ ।

  • मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

    मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

    काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट उम्कने तर मन्त्री र जनप्रतिनिधिले भने पूर्ण रुपमा सेवा सुविधा बुझेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

    सोमबार कोरोना परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको सरकारले मन्त्रीहरुको सेवा सुविधा समेत काट्ने निर्णय गरेको छ । बैठकले पुस्तक आयातमा लगाएको कर समेत हटाएको छ ।

    यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको यो निर्णयको समेत चर्को आलोचना भएको थियो । गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।

  • पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

    पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

    काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको थियो । वार्तामा सहमति जुटेपछि मन्त्रालयस्तरबाट प्रक्रिया अगाडी बढेको थियो ।

    तर, अन्तिममा सो प्रक्रिया समेत अवरुद्ध भएको छ । बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । सोहीकारण सरकारले खरीद नै गर्ने निर्णय गरेको हो ।

    साथै सरकारले अब नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । यसअघि एक अध्ययनमा नेपालकै विजुली खपत गरी मल उत्पादन सम्भव भएको निष्कर्ष निकालेको थियो ।

  • अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

    अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

    काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ । सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण समेत निःशुल्क गरिने छ ।

    यसअघि सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सरकारले यो फैसला पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन सर्वोच्चबाट खारेज भएपछि सरकारले निर्णय सच्याउन बाध्य भएको हो ।

  • विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

    विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो।

    शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् ।

    शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ।

    ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

    ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो ।

    यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।

  • उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

    उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

    काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् । उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् ।

    आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी दिएका हुन् ।

    उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

    सरकारले बेवास्ता गरे मङ्सिर २७ पछि माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने तयारी कृषकको छ ।

    मन्त्री भट्टले भने बन्द भएका उद्योगको जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गरे । यसअघि एक वर्ष अगाडी नै कृषकले काठमाडौं आएर लामो आन्दोलन गरी सम्झौता गरी घर फर्किएका थिए ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । साताको पिहलो दिन आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा कायम भएको छ ।

    यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८६ लाख ३८ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् । ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

  • आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

    आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा बैशाख मसान्तसम्म

    काठमाडौं । काठमाडौं, २१ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।

    शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले २०७७ मंसिर मसान्तसम्म अनुदान सझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने अन्तिम समयसीमा तोकेको हो।

    सबै लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

    प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए ।

    ‘निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं,’ उनले भने।

    त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ।

    त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ ।

  • एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

    एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामाग्री मन्त्रालयलाई हस्तान्तरण

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन्।

    स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे। कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्‍याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’

    मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गरे ।

    हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामाग्री सहयोग गरेको चर्चा गरे । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामाग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गरे। थापाले यसअघि जापान सरकारले गरेको प्रतिवद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामाग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिए । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो। कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गरेका थिए।

    गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

    संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।

  • नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

    नेपाल प्रहरीमा एकै पटक खुल्यो ३६० जनालाई जागिर

    काठमाडौं । नेपाल प्रहरीले एकै पटक ३६० जनाका लाग जागिर खुलाएको छ । प्रहरीले सहयोगी तथा खेलाडीहरुलाई लक्षित गरी दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा कुल तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले दरखास्त मागेको छ ।

    खुला र समावेशी गरी माली, बगैंचे, भान्छे, हजाम, सिलाइ, बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरिएको नेपाल प्रहरीले उल्लेख गरेको छ । प्रहरीले एकै पटक ९ जना माली, बगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ, बुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलाएको छ ।

    खेलाडी सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिला, पुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउने गरी शर्त राखिएको छ ।

    प्रहरीमा मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गन सकिने छ । खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउने भएका छन् ।

    अन्य पदमा भने ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने भएको छ । दरखास्तको रकम एक सय रूपैयाँ तोकिएको छ । १८ वर्ष पुरा भएको, २५ वर्ष ननाघेको र साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने गरी शर्त राखिएको छ ।

  • सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

    सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

    काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार मंगलबार केही सुधार देखिए पनि आज फेरि ओरालै लागेको छ ।

    सूचकमा सामान्य गिरावट आए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजोको तुलनामा कारोबार रकम ४७ करोडले घटेको छ ।

    सेयर बजार मापक सूचक नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा पुगेको छ । यसदिन २०२ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २५.३१ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ८८.६८ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    घट्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र आजैदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज शिवश्री हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.१७ प्रतिशतले गुमाएका छन् ।

  • लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम

    लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम

    काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । यस साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार आज सुधार आएको छ ।

    सेयर बजार मापक सूचक नेप्से ५.४० अंकले बढेर १६४३.०४ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन समूहको परिसूचक १७६.८६ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १६.२१ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम परेको छ । यसको सबैभन्दा धेरै १० करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा एनआइसी एशिया र प्राइम कमर्शियल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज महालक्ष्मी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै २.५५ प्रतिशतले गुमाएका छन् ।

  • सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

    सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई अवरोध गरेको छ । सडकमा खाना खुवाउँदा सरकार र महानगरपालिकाको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न निर्देशन दिएको अभियन्ताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

    सामाजिक अभियन्ताको पहलमा कोरोना भाइरसको महामारीपछि खुलामञ्चमा समस्याका कारण भोकै रहेका श्रमिक, गरीब तथा असहाय नागरिकलाई खाना खुवाउने गरिएको छ । तर, महानगरले भने नगर प्रहरी नै पठाएर खाना वितरणमा अवरोध गरेको हो ।

    पछिल्लो तीन दिन यता महानगरले यो अभियानमा रोक लगाउन थालेको हो । मेयरसावको आदेश भन्दै खाना वितरणमा अवरोध हुने गरेको छ । महानगरपालिकाले समेत खाना वितरण रोकेको स्वीकार गरेको छ ।

    अहिले सडकमा खाना वितरण गर्नु पर्ने कोही व्यक्ति नभएको निष्कर्ष निकाल्दै खाना वितरण बन्द गर्न लगाइएको महानगरपालिका स्रोतलाई उल्लेख गर्दै संचारमाध्यमले लेखेका छन् । सार्वजनिकस्थलमा फोहोर भएको तथा सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भएको निष्कर्षमा महानगर पुगेको हो ।