Category: अर्थतन्त्र

  • झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा कायम भएको छ ।

    यसदिन १९७ कम्पनीको २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज पनि लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा आकर्षित भएका छन् । गत साता बैंकको सेयरमा झुम्मिएका लगानीकर्ता प्रफिट बुक गरेपछि यस साता माइक्रोफाइनान्सतर्फ डाइभर्ट भएका हुन् ।

    आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक ६२.३ अंकले बढेको छ भने बैंकिङ समूहको परिसूचक ११.६२ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै १२ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र जलविद्युत कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।विशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुँरास लघुवित्त र शिवश्री हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज जनरल इन्स्योरेन्सको सेयरधनीले सबैभन्दा धेरै ३.१४ प्रतिशतले गुमाएका छन् ।

  • उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

    उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गरेको छ ।

    प्रधान प्यानलले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत उम्मेदवारी दर्ता गरेका हुन्।

    प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन्।

    कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पुजारी बनेर सेवा गर्न तयार रहेको बताए।

    निर्वाचनको लागि अर्को प्यानलले भने यस अघि नै मनोनयन दर्ता गराइसकेको छ । वर्तमान एशोसियट उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

    महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।

    वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।

  • बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा

    बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा

    काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने गरी बंगलादेशसँग गरेको सम्झौता कार्यान्वयन नहुने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको छ ।

    दुई देशका प्रधानमन्त्रीले १६ भदौमा मल पैंचो लेनदेनसम्बन्धी मौखिक सहमति गरेका थिए । उक्त सहमति कार्यान्वयनको तहमा नपुग्दै सहमतिबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    स्रोतका अनुसार मल पैंचोमा दिन नेपाललाई बंगलादेशले अविश्वास गरेको छ ।

    मन्त्रालयका अनुसार अब मल बंगलादेशबाट ल्याउने भए नगद हालेर किन्नु पर्ने छ । स्रोतका अनुसार मल पैंचोमा दिन नेपाललाई बंगलादेशले अविश्वास गरेको छ । अब जीटूजी मार्फत मल खरिद प्रक्रिया अगाडी बढाइने भएको छ ।

    तराईका अधिकांश स्थानमा धान भित्राएर गहुँ छरिएको छ । त्यसका लागि आश्वयक मल भने कहिले आउने हो टुंगो छैन । यसले सरकारलाई ठूलो झट्का लागेको छ नै कृषक भने मारमा परेका छन् ।

  • सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ ।

    यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक हरियो भएका छन् भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

    सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक २९.४१ अंकले बढेको छ भने होटल समूहको १५.२९ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा शिवश्री हाइड्रोपावर परेको छ । यसको सबैभन्दा धेरै २३ करोड २७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अपि पावर र प्राइम कमर्शियल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    घट्दो बजारमा पनि आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवश्री हाइड्रोपावर, नेपाल फाइनान्स, जलविद्युत् कम्पनी, विशाल बजार कम्पनी, हिमालयन ऊर्जा र नेरुड्डे लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज सानिमा इक्वीटी फण्डका सेयरधनीले सबैभन्दा धेरै ५.३० प्रतिशतले गुमाएका छन् ।

  • जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

    जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

    काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाटै पक्राउ गरेको बताएको छ ।

    महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङसहितका व्यक्ति छन ।

    जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ बरामद भएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री बनेका थिए ।

    उनी २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसदमा विजयी भएका थिए । अहिले भने उनी राजनीतिमा सक्रिय छैनन् ।

  • सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

    सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

    काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ ।

    शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ । शनिवार समेत यो अभियान जारी रहेको छ ।


    सार्वजनिक सवारी साधनले चर्को भाडा असुलेको गुनासो बढेपछि विवरण टास्नै पर्ने नियम ल्याइएको हो । यसले यात्रुको गुनासो व्यवस्थापन हुने र यात्रुले समेत गन्तव्यसम्मको भाडादर थाहा पाएर सोही अनुसार भाडा दिन सक्नेछन् ।

    अब सवारी साधनमा विवरण नटासेमा कारवाही गरिने महाशाखाले जनाएको छ । प्रहरीले सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आह्वान समेत गरेको छ ।

  • संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो ।

    कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालन गर्ने गरी तालीका सार्वजनिक गरेको हो । यो स्थानमा २०७३ सालबाट पुल निर्माण थालिएको हो ।

    पुल र रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिएको थियो । लकडाउनका कारण सन्चालनमा ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् । यहाँ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

    अहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज हुनेछ ।

    मकाउको मकाउ टावरस्थित बन्जी मानव निर्मित टावरमा बनेको हो । कुश्मामा भने प्राकृतिक खोँचमा बन्जी गर्न पाइनेछ । यहाँ विश्वकै अग्लो स्वीङ समेत बनेको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको कम्पनीले जनाएको छ ।

    टेण्डम (जोडि) स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ । सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीले जनाएको छ ।

    यहाँ गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ समेत तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ।

    दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि हुने भएको छ । कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ुद क्लिफ रिसोर्टु समेत निर्माण गरेको छ । यो परियोजनाको कुल लगानी २८ करोड रहेको कम्पनीको भनाई छ ।

  • यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

    यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

    काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ ।

    इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।

    एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ ।

    अमेरिकी धनाढ्य जेफ बेजोसको अनलाइन व्यापार कम्पनी अमेजन विश्वको दोस्रो ठूलो ब्रान्ड भ्यालू भएको कम्पनी बनेको छ ।

    कोरोनाकालमा आक्रमक व्यापार विस्तार गरेको अमेजनले सन् २०२० मा ब्रान्ड भ्यालू ६० प्रतिशले वृद्धि गरी २ खर्ब ६ अर्ब डलर पुर्याएको छ ।

    विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक भने टपटेन वाट नै बाहिरिएको छ । फेसबुक १४ औं स्थानमा पुगेको छ । गत वर्ष पनि १४ औं स्थानमा फेसबुक नै रहेको थियो ।

    यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले बढि हिस्सा ओगटेका छन् ।

    ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।

    सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट तेस्रो स्थानमा रहेको छ । विश्वको चौथो ठूलो मूल्यवान कम्पनी बनेको गुगलको ब्रान्ड भ्यालू १ खर्ब ६५ अर्ब डलर रहेको छ ।

    विश्वका मूल्यवान कम्पनीहरुको सूचीमा सामसङ पाचौं स्थानमा रहेको छ । यसको ब्रान्ड भ्यालू गत आवको भन्दा २ प्रतिशतले बढेर ६२ अर्ब २८ करोड पुगेको छ ।

    ब्रान्ड भ्यालूका आधारमा पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला छैटौं स्थानमा रहेको छ ।

    ब्रान्ड भ्यालूकै आधारमा गाडी उत्पादक कम्पनी टोयोटा सातौं, मर्सिडिज बेन्ज आठौं, फास्टफूड कम्पनी म्याक डोनाल्ड नवौं र डिज्नी दशौं स्थानमा रहेको छ ।

    विश्वको सर्वाधिक लोकपिय भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युब विश्वको ३० औं लोकप्रिय ब्राण्ड बनेको छ । सूचीको १९ औँ स्थानमा फेसबुक मातहतको इन्स्टाग्राम रहेको छ ।

  • बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते

    बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते

    बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा चोट लागेको हो ।

    स्थानीयले तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाई छ । प्रहरीमाथि आक्रमण गरी गाडी तोडफोड गर्न थालेपछि प्रहरीले १२ राउन्ड हवाईफायर गरेको बताएको छ । घाइते बालकको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

  • काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

    प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ । पूर्व र मध्य नेपालका नाकामा अत्यधिक कडाई भएका कारण अहिले तस्करीका लागि सुदुरपश्चिमका नाका प्रयोगमा आइरहेका छन् ।

    यसअघि कंचनपुरमा तस्करले दुई प्रहरीको हत्या गरिसकेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका अनुसार महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाएर ल्याएको १० बोरा पटाका बरामद भएको हो ।

    प्रहरीले बस चालक कञ्चनपुरका ३० वर्षिय नविन जोशीलाई नियन्त्रणमा लिएको छ । नागढुंगाबाटै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    ना ६ ख ७११४ नम्बरको बसमा चेकजाँच गर्दा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएर आएको खुलेको छ ।

  • आजबाट पुनः संचालनमा आयो तातोपानी नाका

    आजबाट पुनः संचालनमा आयो तातोपानी नाका

    काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो ।

    खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको थियो। दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने गरी बुधबारबाट नाका खुलेको हो । बिहीबारबाट मालवाहक कन्टेनर भित्रन शुरु गर्ने भन्सार कार्यालयले जनाएको छ ।

    नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएको छ । अब नेपाली कामदार सीमा पारि जानु पर्ने छैन ।


    यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखिने छ । त्यसपछि जाँचपास गरी पठाइने भएको छ ।

  • वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल

    वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल

    काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ ।

    कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच भएको छ । आज कुल कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

    बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढ्यो । निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक ८.८३ अंकले घट्यो ।

    आज प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । आज ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

  • लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए

    लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार
    ५ सय जना नेपाली घर फर्किएका छन् ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन् । केन्द्रले हवाई मार्ग प्रयोग गरी आएका नेपालीको मात्र तथ्यांक राखेको छ । यसबीचमा भारतबाट आएका हजारौं नेपालीको भने यकिन तथ्यांक छैन ।

    विदेशमा रोजगारी गुमाएका, घुमफिरका लागि विदेश पुगेर अड्किएका, आफन्त भेट्न विदेश पुगेका नेपालीलाई प्राथमिकताका साथ नेपाल ल्याइएको छ । पछिल्लो समय भने स्वच्छाले नेपाल आउनेहरु समेत बढेका छन् । तथ्यांक अनुसार ३२ मुलुकबाट नेपाली घर आएका छन् । घर आएका मध्ये अधिकांश खाडी मुलुकबाट छन् ।

    यसअवधिमा सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना घर आएका छन् । कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएको तथ्यांक छ । अमेरिकाबाट ४ सय ३७ जना नेपाली घर आएका छन् ।

  • दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

    दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

    काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस बाहिरिएका छन् ।

    महाशाखाको तथ्यांक अनुसार २४ घण्टामा ४८ हजार ९८ जना मानिस काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार भने ३३ हजार ४ सय ४६ जना मानिस बाहिरिएका थिए । घटस्थापनाको दिन २१ जहार ६ सय २ जना मात्र बाहिरिएका थिए ।

    त्यसपछि क्रमशः २१ हजार ४ सय ७८, २३ हजार ३ सय ९२, २३ हजार ३ सय ८३, २२ हजार २ सय ९९ र २५ हजार २ सय १८ जना मानिस बाहिरिएका थिए । अघिल्लो वर्षहरुमा भने दशैं लागेपछि दैनिक एक लाख हाराहारी मानिस बाहिरिने गरेका थिए ।

  • व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

    व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

    काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् ।

    चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् ।

    घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।

  • दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

    दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

    काठमाडौं । दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।

    यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेको थियो ।

    बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

    वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

  • बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ ।

    चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ ।

    पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने बढी कारबाहीमा परेका छन् ।

    विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाही गरेको छ ।

    जसबाट जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले जनाएको छ । १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्म कारबाहीमा परेको हो ।

    अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।

    अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ ।

    ३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।

    विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

    दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा पुगेको छ ।

    यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९९.५२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक १.६९ अंकले घटेको छ ।

    कारोबारका आधारमा आज अपी पावर कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल अरुण काबेली हाइड्रोपावर र एनसीसी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज लगानीकर्ता फेरि हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर सेयर मूल्य बढेको छ ।

  • विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर  ११७ रुपैयाँ ५ पैसा

    विदेशी मुद्रा विनिमय: एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ५ पैसा

    काठमाडौं । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

    नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ ।

    त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

    एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

    एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ९५ पैसा तोकिएको छ।

    एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

    भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

    चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

    काठमाडौं । विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ।

    असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ।

    विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो।

    अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ शुल्क तिर्दै आएका थिए।

    चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसामा थप २० प्रतिशत मात्र शुल्क लिन पाउने छन्।

    अब ठूला बस चार्ज गर्दा बढीमा साढे पाँच सय रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ। यस अघि यातायात व्यवसायीले १२ सय रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए।

    एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा पनि २ सय ५० किलोमिटर गुड्छन्। काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन गर्न सकिने व्यवसायीको भनाई छ। सुन्दर यातायातले काठमाडौं उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए ।

    उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो हुने दाबी छ ।

    प्राधिकरणले कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउँदै छ।

  • दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक

    दशैंको लागि यसरी छान्नुहोस् स्वस्थ खसीबोका, यस्ता हुन्छन् हानिकारक

    काठमाडौं । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको पाईन्छ ।

    मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।

    रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको माग उच्च भएपनि उत्पाद भने न्युन मात्रामा छ ।

    खाद्य संस्थानले ल्याएका खसी–बोका तथा च्याङ्ग्रा सुपथ मूल्यमा विक्रि गरिरहेको छ । यता व्यवसायीहरुले भने संस्थानको भन्दा केहि महङ्गो मूल्यमा विक्री गर्छन् ।

    नेपालका विभिन्न पहाडी जिल्ला तथा चितवन मकवानपुर लगायतका जिल्लाबाट व्यवसायीहरुले खुसी–बोका ल्याउने गरेका छन् । त्यस्तै च्याङ्ग्रा भने मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाबाट ल्याउने गरिएको छ । यसका साथै खसीबोका भारतको लखनउ, कर्नाटक लगायतका विभिन्न स्थानबाट समेत ल्याईने गरेको छ ।

    दशैंमा प्राय सबैको घरमा खसी–बोका काट्ने चलन छ । गाउँघरमा आफ्नै घरमा पालेको खसी–बोका काट्ने गरिएपनि शहर बजारमा भने बाहिरबाट किनेर ल्याएको खसी–बोका काट्ने गरिन्छ । बाहिरबाट किनिएका खसीबोका कति स्वस्थ होलान ? त्यसैले खसी–बोका किन्दा स्वास्थ्य अवस्था तथा मोटाई लगायतका विषयमा ख्याल गर्नु बुद्धिमानी हुने पशुचिकित्सकहरुले बताएका छन् । अस्वस्थ खसीबोकाको मासु खानाले विभिन्न रोगी पशुबाट मानिसमा समेत जुनोटिक रोग सर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

    सिंग हेरेर छान्नुस् खसी


    चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

    सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ।

    यस्ता खसी हानिकारक


    चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्,’ ।

    भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए/नभएको थाहा हुन्छ ।’ चिकित्सकहरुका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्य्राएका लगायत विशेषता भएका खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिती हुँदैन ।

  • कोरोनाका बिरामीमा प्रयोग हुने  ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

    कोरोनाका बिरामीमा प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

    ‘काठमाडौं । कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

    मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

    भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ । रेम्डेसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको चिकित्सकको दाबी छ । रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधिसमेत हो ।

    रेम्डिसिभिर औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने छ ।

    सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि मान्यता दिएको छ।

  • सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली

    सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ।

    कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ।

    कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता हात परेका छन्।

    इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता सेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

    आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो।

    यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

    हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

  • विष्णु पौडेल बने अर्थमन्त्री

    विष्णु पौडेल बने अर्थमन्त्री

    काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल अर्थ मन्त्री बनेका छन् । डा. युवराज खतिवडाको बहिर्गमनसँगै अर्थ मन्त्रालयमा उनको ढोका खुलेको हो । करीव साढे दुई महिना लामो रिक्ततापछि अर्थमन्त्रालयले नेतृत्व पाएको हो ।

    विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका छन् । पहिलो कार्यकाल अर्थतन्त्रको आधारभुत विषयवस्तु बुझेका कारण दोस्रो कार्यकाल उनका लागि सहज हुने अनुमान गरिएको छ ।

    कोरोना भाइरसको महामारीका बीच थला परेको अर्थतन्त्र उकास्नु, मुलुक भित्रै रोजगारी सिर्जना गरी बेरोनगारी समस्या समाधान गर्नु उनको अगाडी ठूलो चूनौति रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट आज मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर भएको हो ।

  • संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    काठमाडौं । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समितिले मन्त्रालयको निर्णय कानून संगत नभएको निष्कर्ष समेत निकालेको छ । त्यसो त यो निर्णयविरुद्ध अदालतमा समेत रिट दायर भइ अन्तरिम आदेश आइसकेको छ । जसले गर्दा सरकारले तत्काल यसको कार्यान्वयन गर्न सक्दैन ।

    कित्ताकाटसम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा गर्न नमिल्ने समिति सभापति रामनारायण बिडारीले बताएका छन् । उनले भूउपयोगसम्बन्धी ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्डलगायत कार्यान्वयन हुन नसक्ने उल्लेख गरे ।

    सरकारले नियमावली नबनाइ कित्ताकाट गर्न सकिने निर्णय गरेसँगै यो निर्णय आलोचित बनेको छ । उक्त छलफलमा भुमिसुधार मन्त्री पद्मा अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेल रोक्न कित्ताकाट फुकुवा गरिएको बताएकी छिन् ।

  • नेपालमा विद्युत अझै सस्तो हुने

    नेपालमा विद्युत अझै सस्तो हुने

    काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो ।

    समितिको पहिलो बैठकमा उर्जा मन्त्री पुनले विद्युत महसुल घटाउने तयारी भएको जानकारी गराएका छन् । मुलुक भित्रै विद्युतको पर्याप्त बजार रहेको भन्दै उनले त्यसका लागि विद्युतको अधिकत खपतमा प्रोत्साहन गर्ने नीति लिइएको उनले बताए ।

    कार्यदललाई जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध विद्युत र निर्माणाधीन विद्युत आयोजनाहरुको समेत समग्र अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्न जिम्मेवारी तोकिएको छ।

    बैठकमा तीन वटै मन्त्रालयका सचिव समेत सहभागी भएका छन् । बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ। ऊर्जा क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, उद्योग, बाणिज्य र आपूर्ति र वन तथा वातावरण मन्त्रालयका सचिवलाई कार्यदलको स्थायी आमन्त्रित सदस्यको जिम्मेवारी समेत तोकिएको छ ।

  • १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

    १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

    काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन निर्देशन दिएको छ ।

    आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो ।

    ‘विद्युत खरिद विक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

    आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिए ।

    यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

    कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

    झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ ।

    यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ७९.१२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८.३४ अंकले घटेको छ ।

    आज लगानीकर्ता विकास बैंकको सेयरमा झुम्मिएका छन् । यसअघि हाइड्रोपावरको सेयरमा झुम्मिएका लगानीकर्ता त्यसमा प्रफिट बुक गरेपछि आज विकास बैंकतर्फ डाइभर्ट भएका हुन् ।

    आज लगानीकर्ताको रोजाइमा मुक्तिनाथ विकास बैंक परेको छ । यसको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज मुक्तिनाथ विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • चक्रपथ बिस्तार आयोजनाले गति पाउने

    चक्रपथ बिस्तार आयोजनाले गति पाउने

    काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको कामलाई गति दिने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले आयोजना गरेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । चक्रथप विस्तार अन्तर्गत अब कलंकी चावहिल खण्डमा काम भइरहेको छ ।

    मन्त्रालयका अनुसार आयोजनामा पर्ने पोल स्थानान्तरण एक महिना भित्र स्थानान्तरण गरिने छ । तीन महिना भित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण भइसक्ने भएका छन् । सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्ने कामलाई गति दिइने भएको छ ।

    चक्रथप विस्तार अन्तर्गत कलंकी-चावहिल खण्डमा काम भइरहेको छ ।

    ३ महिना भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित हाई भोल्टेज टावर स्थानान्तरण गरिसक्ने निर्णय आइतबार भएको हो । उता, स्वयम्भूस्थित चैत्य कार्तिक मसान्त भित्र हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न हुने गरी निर्णय गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सम्पन्न गरिसक्ने भएको छ । यो आयोजनालाई चीनले सहयोग गरेको छ ।

  • बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

    बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ ।

    सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा मुछिदिएपछि कांग्रेस आक्रोसित बनेको हो ।

    गोरखामा बाबुराम भट्टराई कांग्रेसकै भोटको बलमा विजयी भएका हुन् । अहिले सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा मुछिदिएपछि कांग्रेस आक्रासित बनेको हो । डा. भट्टराईले भने गोरखौ पुगेर उक्त अभिव्यक्ति दिएका थिए । त्यसका लागि आफुसँग पर्याप्त प्रमाण समेत रहेको उनको भनाई थियो । कांग्रेसले भने विज्ञप्ती निकालेरै भट्टराईको अभिव्यक्तिको खण्डन गरेको छ । नेकपा भने यसमा मौन छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन् । आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै उनले त्यसको हेक्का राख्न आग्रह गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल आफैंले निर्माण गर्ने भन्दै राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    समितिले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष निकालेको थियो । कांग्रेसले उक्त प्रतिवेदन कहाँ थन्काइएको भन्दै प्रश्न समेत गरेको छ ।

    विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारी भित्रको नियत के हो भन्दै उसले डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति समेत सार्वजनिक गर्न माग गरेको छ ।