Category: अर्थतन्त्र

  • सुनको मूल्यमा रसिया भ्याक्सिनको प्रभाव, एकै दिन ऐतिहासिक गिरावट

    सुनको मूल्यमा रसिया भ्याक्सिनको प्रभाव, एकै दिन ऐतिहासिक गिरावट

    काठमाडौं । रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको औषधीबारे आएका सकारात्मक खबरको प्रभाव सुनको मूल्यमा परेको छ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार ऐतिहासिक गिरावट देखिएको हो । बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो।

    गत शुक्रबार हालसम्मकै उच्च मूल्य सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ। महासंघका अुनसार नेपाली बजारमा छापावाल सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ थियो।

    चाँदीको भाउ समेत ओरालो लागेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

    कोरोना भाइरसको महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी थुप्रिएपछि भाउ निरन्तर उकालो लागेको थियो । तर, रसियाले भ्याक्सिन निर्माण गरेको खबरसँगै शेयर बजारमा शेयर बढ्न थालेको छ ।

  • लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

    लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

    काठमाडौं । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो । त्यसपछि काठमाडौंसहितका शहर र भारतबाट समेत मानिसहरु दुख कष्ट सहेरै गाउँसम्म पुगे । यसरी गाउँ पुगेका मानिसहरु लामो समय गाउँमा थपिएको सकारात्मक प्रभाव कृषिमा देखिन थालेको छ ।

    देशभर असारे धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । यसमा शहरबाट गाउँ पसेका मानिसको ठूलो हात देखिएको छ । यो वर्ष कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

    गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको छ । तथ्याक अनुसार गत वर्षको तुलनामा यस वर्ष उच्च पहाड, मध्य पहाड र तराईका धेरै भूभागमा रोपाइँ भएको हो ।

    उच्च पहाडमा ९८.५४ प्रतिशत, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५० प्रतिशत भूमीमा रोपाई भएको छ । यो वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भूभागमा रोपाइँ भएको छ । यो वर्ष वर्षातसमेत निरन्तर भएका कारण उत्पादन राम्रो हुने अपेक्षा सरकारको छ ।

  • वर्षभर २ लाख ६ हजार पर्यटक आउने अनुमान, बोर्डले आधा घटायो बजेट

    वर्षभर २ लाख ६ हजार पर्यटक आउने अनुमान, बोर्डले आधा घटायो बजेट

    काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेटमा भारी कटौती गरेको छ । वार्षिक १२ लाख पर्यटक आइरहेको नेपालमा बोर्डले चालु आर्थिक वर्षमा २ लाख ६ हजार मात्र पर्यटक आउन सक्ने अनुमान गरेको छ । यद्दपी चालु आवको पहिलो दुई महिना भने पर्यटक आगमन शून्य हुनेछ । किनकी साउन सकिन अब केही दिन मात्र बाँकि छ ।

    भदौको १६ सम्म पनि नेपालमा पर्यटक आउन सक्ने छैनन् । सरकारले त्यसपछि पनि कम्तिमा ७ दिन क्वारेन्टिनमा बस्ने गरी पर्यटकलाई नेपाल आगमनको अनुमति दिने तयारी गरेको छ । पर्यटक र गैरवाआसिय नेपाली न्यूनतम ७ दिन क्वारेन्टिनमा बसेपछि पिसिआर परीक्षण गर्ने र त्यसपछि मात्र घुमघाममा निस्कने गरी अनुमति पाउनेछन् ।

    बोर्डले यो वर्ष ८२ करोड रुपैयाको बजेट बनाएको छ । गत वर्ष बोर्डको बजेट १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो पर्यटक नआउँदा बोर्डको आम्दानी पनि घट्यो । यो वर्ष बोर्डले पूर्वाधार निर्माणका काममा बजेट राखेको छैन । मेलापर्वमा बाड्ने रकम पनि काटिएको छ । अब अनिवार्य दायित्व, अध्ययन अनुसन्धान र बजारिकरणलाई प्राथमिकता दिएर बजेट ल्याइएको बोर्डको भनाई छ ।

  • रुकम घटनामा मारिएका व्यक्तिका परिवारलाई १० लाख दिइने

    रुकम घटनामा मारिएका व्यक्तिका परिवारलाई १० लाख दिइने

    काठमाडौं । सरकारले पश्चिम रुकुमस्थित चौरजहारीको सोतीमा भएको घटनामा हत्या भएका व्यक्तिका परिवारलाई १०\१० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । जेठ १० मा यो घटना भएको थियो घटनामा ६ जना मारिएका थिए । हत्या भएकाहरुका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको उनले जानकारी दिए ।

    घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो । अन्य १२ जना घाइते भएका थिए । दलित समुदायका नवराजले चौरजहारीमा मल्ल ठकुरी थरकी केटीलाई भगाउन गएको समयमा यो घटना भएको हो । यो घटना नियोजित भएको निष्कर्षमा अनुसन्धानहरु पुगेका छन् । घटनामा संलग्न रहेका २३ जना अभियुक्त पूर्पक्षका लागि थुनामा रहेका छन् ।

  • नेपालमा तत्काल भारतीय कामदार आउन नपाउने

    नेपालमा तत्काल भारतीय कामदार आउन नपाउने

    काठमाडौं । नेपालमा तत्काल कामका लागि भारतबाट कुनै पनि व्यक्ति नेपाल आउन नपाउने भएका छन् । सरकारले भारतबाट श्रम गर्न आउने मानिसलाई नेपालमा प्रवेश रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय श्रमिकलाई नेपालमा आउन रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।

    भारतमा बढ्दो संक्रमणका बीच नेपालमा जोखिम बढेको छ । सोहीकारण सीमा क्षेत्रमा मानवीय आवतजावतमा कडाई गरिएको छ । अब भारतबाट श्रम गर्न कुनै पनि व्यक्ति नेपाल छिर्न नपाउने भएका छन् । भारतसँग सीमा जोडिएका जिल्ला अहिले सबैभन्दा बढी संक्रमणको शिकार बनेका छन् । ती जिल्लाबाट काठमाडौं आउनेहरुबाट उपत्यकामा समेत जोखिम बढेको छ ।

  • होटल तथा रेष्टुराँमा फेरि ‘टेक अवे’ को व्यवस्था

    होटल तथा रेष्टुराँमा फेरि ‘टेक अवे’ को व्यवस्था

    काठमाडौं । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः सुरु गरेको छ ।

    मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ को व्यवस्था गरेको बताए ।

    यसअघि साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको थियो । त्यस्तै सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने निर्णय भएको छ ।

    खतिवडाले दिएको जानकारी अनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।

    स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

  • काठमाडौं प्रवेशमा अझ कडाई, संक्रमित बढी भएका जिल्लाबाट पास नपाइने

    काठमाडौं प्रवेशमा अझ कडाई, संक्रमित बढी भएका जिल्लाबाट पास नपाइने

    काठमाडौं । सरकारले लामो दुरी र अन्तर जिल्ला यातायात सेवा थप १५ दिन बन्द गरेको छ । यसबीचमा अब काठमाडौं प्रवेशलाई समेत कडाई गरिने भएको छ । सरकारले सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि रहेको जिल्लाबाट अब काठमाडौं आउन पास नदिने गरी निर्णय गर्ने तयारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका छिर्ने पास नदिने गरी रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

    अब अति प्रभावित जिल्लाबाट अत्यावश्यक काम परेपनि काठमाडौं छिर्ने पास पाइने छैन । यसअघि पास बनाएर सहजै मानिस काठमाडौं आउने गरेका थिए । अहिले काठमाडौंमा संक्रमित बढेको र  ठूलो संख्या जिल्ला बाहिरबाट आउने भएकाले यस्तो निर्णय भएको बताइएको छ । यो सिफारिसलाई आज बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।

    काठमाडौं उपत्यकामा जोखिम घटाउन फुटपाथ, ठेलागाडा र साइकलको व्यापार पूर्णरुपमा बन्द गर्न सिफारिस गरिएको छ । यसले सडकमा भीडभाड बढाएको निष्कर्षमा सरकार पुगेको छ । कोरोना संक्रमण समुदायस्तरमा विस्तार हुन फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्नलगायतको व्यापारले सहयोग गरेको छ । साथै कवाडी संकलनमा समेत रोक लगाउन सिफारिस भएको छ ।

  • तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

    तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

    काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ ।

    सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा स्थगित गर्न प्रस्ताव गरेको हो । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

    तर, यसबीचमा पछिल्लो समय कोरोनाको ग्राफ बढेको छ । यसले सरकारलाई झस्काएको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो अनुसार काम गराउन समेत प्रस्ताव गरेको छ ।

  • बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

    बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउननिर्देशन दिएको हो ।

    जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरसमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ ।

    राष्ट्र बैंकले कोभिड १९ को बढ्दो प्रभावलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नसमेत निर्देशन दिएको छ । सेवा सुरु नगरिएका शाखाको विवरण भने दैनिक रुपमा राष्ट्र बैंकमा रिपोटिङ गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न निर्देशन दिएकाे छ ।

  • स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

    स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।

    स्मार्ट मिटर प्रयोगमा आएसँगै ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य हुनेछ ।

    मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ ।

    स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ ।

    विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ ।

    मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ । स्मार्ट मिटरमा एकीकृत लोड मात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ ।

  • नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

    नेपाली बजारमा सुन र चाँदीको भाउको ऐतिहासिक रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको छ ।

    शुक्रबारको लागि छापावाल सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । तेजावी सुन एक लाख ३ हजार रुपैयाँ तथा चाँदी १ हजार ४ सय ५ रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

    शुक्रबारका लागि तोकिएको सुनको खरिद बिक्री मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

  • पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

    पूर्ण लकडाउनमा नजाने सरकारको स्पटोक्ती, जोखिम बढेका स्थान सील

    काठमाडौं । अब नेपालले पूर्ण लकडाउन थेग्न नसक्ने निष्कर्षमा सरकार पुगेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले अहिले तत्कालै नेपाल ११ चैतको जस्तै पूर्ण तथा देशव्यापी लकडाउनको सोचमा नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्का गत सोमबार भएका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ण लकडाउनबारे कुनै पनि प्रकारको योजना नरहेको स्पष्ट पारे ।

    उनका अनुसार कोरोना भाइरसको जोखिम मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबाट भने लकडाउनबारे निर्णय हुनेछ । अर्थातः बढी जोखिमपूर्ण क्षेत्रलाई सिल गर्न भने सकिनेछ । अहिले पनि कतिपय महानगरपालिका तथा स्थानीय तहहरुमा कोरोना देखिनासाथ सिल गर्ने गरिन्छ । यसमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने गरेको छ ।

    संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएमा कडा गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे । उनका अनुसार लकडाउनबाट अर्थतन्त्रमा परेको प्रभाव बारे विश्लेषणको काम जारी रहेको छ । सरकारले १ भदौबाट लामो दूरीको सार्वजनिक यातायात र हवाई यातायात खोल्ने निर्णय लिएको छ । तर, संक्रमण बढेपछि यसमा पुनर्विचार गर्नुपर्ने राय पनि उत्तिकै रहेको छ ।

  • लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती

    लकडाउनपछि होटेल र रेष्टुरेन्टमा बढी कर्मचारी कटौती

    काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता होटेल तथा रेष्टुरेन्टले बढी कर्मचारी कटौती गरेको पाइएको छ । देशभर २२ दशमलव ५ प्रतिशत कर्मचारी तथा कामदारको जागिर गएको पाइएको छ । यसमा बढी होटेल र रेष्टुरेन्टका कर्मचारी रहेका छन् । नेपाल राष्ट्र बैंकले कोरोना र त्यसपछि भएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार उद्योग व्यवसाय नचलेपछि त्यसको असर कर्मचारीको रोजगारीमा देखिएको हो ।

    सर्वेक्षणमा सहभागी उद्योग व्यवसायले झण्डै एक चौथाइ कर्मचारी, कामदार कटौती गरेको बताएका छन् । यसबीचमा कर्मचारीको तलवमा समेत उत्तिकै कटौती भएको छ । औसतमा १८.२ प्रतिशतले तलब र सेवा सुविधा काटिएको छ । कोरोना भाइरसका कारण परेको असरको सर्वेक्षण गर्न राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेकलाई १३ क्षेत्रमा सर्वेक्षण गरिएको थियो । यो सर्वेक्षण जेठ २६ देखि असार १० गतेसम्म गरिएको अध्ययनमा आधारित हो ।

    सर्वेक्षणमा ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीलाई सहभागिता गराइएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणमा प्रदेश १ बाट २७.९, वाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लकडाउनका बेला विभिन्न क्षेत्रका उद्योग÷व्यवसायको उत्पादन\कारोबारमा आएको कमी, रोजगारी कटौती, लकडाउनपछिको योजना लगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यस अवधिमा ३९ प्रतिशत उद्योग, व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा छन् । ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द रहेका थिए । लकडाउनमा ९६.७ प्रतिशत उद्योग व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको समेत प्रतिवेदनले देखाएको छ । लकडाउनमा कर्मचारीको तलव काट्ने पनि होटल तथा रेस्टुरेन्ट, यातायात, शिक्षा क्षेत्र हुन् ।

    सर्वेक्षणबाट अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै ९ महिना लाग्ने देखिएको छ । सरकारले चैत ११ बाट लकडाउन थालेको थियो । लकडाउन साउन ६ मा सकियो । तर, कोरोना भाइरसको प्रभाव अझै रहेका कारण यसले अर्थतन्त्रमा भने गहिरो प्रभाव पार्ने देखिएको छ ।

  • एक लाख नाघ्यो सुनको भाउ

    एक लाख नाघ्यो सुनको भाउ

    काठमाडौं । नेपालमा सुनको मूल्यले अन्ततः चार अंकको आंकडा पार गरेको छ । अर्थातः अब प्रतितोला सुनको भाउ १ लाखभन्दा माथि पुगेको हो । बुधबार सुनको मुल्य तोलामा १६ सयले बढ्यो । अब प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो।

    बुधबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भयो । बुधबार चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको चाप सुनमा भएपछि सुनको मूल्यले आकास छोएको हो । कोरोना महामारीका बीच शेयर बजारमा पहिरो गएको छ । शेयरमा हुने लगानी सुनमा ओइरिएपछि यसको भाउ बढेको विश्लेषकहरु बताउाछन् । सुनको भाउ बढेपनि बजारमा कारोबार भने नगन्य मात्र रहेको छ ।

  • एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

    एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

    काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल अब पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।

    एनसेल कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन भई एनसेल आजियाटा लिमिटेड बनेको हो ।

    पब्लिक कम्पनीमा गएसँगै एनसेलले आईपीओ जारी गर्ने बाटो खुलेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते निर्णय गर्दै एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएको हो।

    कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।

    कम्पनी ऐन, २०६३ को दफा १३ (१) बामोजिम प्राइभेट कम्पनी लिमिटेडबाट एनसेल पलिब्क कम्पनीमा रुपान्तरण भएको कार्यालयको भनाइ छ।

    एनसेल पलिब्क कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ।

  • प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब शहरी क्षेत्र र तराई भेगमा कोरोनाको दोस्रो लहर फैलने क्रममा रहेको छ ।

    लामो समय पार्टी विवादमा अल्झिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भने कोरोना भाइरसको महामारीका सम्बन्धमा चासो राखे । उनले आज वालुवाटारमा विज्ञहरुलाई छलफलका लागि बोलाएका थिए । उनले आज स्वास्थ्य र अर्थतन्त्र सँगसँगै लैजान सकिने सम्भावनाका विषयमा विज्ञहरुसँग राय लिएको बुझिएको छ ।

    प्रधानमन्त्रीसहित सरकारको सोच केही समय पुनः लकडाउनमा जाने रहेको छ । तर, केही विज्ञले भने अब अर्थतन्त्रलाई वेवास्ता नगर्न समेत सुझाव दिएको वालुवाटार स्रोतको भनाई छ । आज प्रधानमन्त्री विज्ञहरुसँगै करीव ४ घण्टा गन्थन मन्थनमा सहभागी भए । आज उनले छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएका थिए ।

     

     

    धेरैले आजको प्रधानमन्त्रीको प्रस्तुती केही परिपक्क देखिएको बताएका छन् । किनकी यसअघि प्रधानमन्त्रीले बोलाउने अधिकांश बैठकमा आफै बढी बोल्ने र अप्रमाणिक विषय बोलेर बढी आलोचित हुने गरेका थिए । यसअघि उनले गत जेठमा राखेको यस्तै बैठकमा बेसार खाएर कोरोना ठिक हुने देखि नेपालीले कोरोनालाई सजिलै पचाउनेसम्मका अभिव्यक्ति दिएका थिए ।

    मंगलबारको बैठकमा भने उनले विज्ञका कुरा धैर्यपूर्वक सुनेको बैठकमा सहभागी एक अर्थशास्त्रीले जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि राखिएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता थियो । तर, उनी अर्कै छलफलमा व्यस्त भएको बताइएको छ । विज्ञसँग छलफल गरेका प्रधानमन्त्री अब कस्तो कदम चाल्दैछन्, त्यो भने आज बैठकमा सहभागी कसैले पनि अनुमान लगाउन भने सकेनन् ।

  • कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

    कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

    काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत १२ वटा कम्पनीले १८ शहरका लागि उडानको अनुमति मागेका हुन् ।

    यी कम्पनीबाट सातामा १५८ वटा उडान गर्न अनुमति माग भएको हो । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति मागेको छ । दोस्रो स्थानमा एयर अरेबिया छ । उक्त कम्पनीले सातामा ३५ उडान गर्न चाहेको छ । हिमालय एयरलाइन्सले सातामा २१ उडान गर्न चाहन्छ । प्राधिकरणका अनुसार टर्किस एयरलाइन्सले सातामा एक उडान गर्ने गरी इस्तानबुलका लागि अनुमति मागेको छ ।

    सलाम एयरले मस्कटका लागि ७ उडान मागेको छ । इण्डगो एयरले दिल्लीमा सातामा ७ उडान गर्न चाहन्छ । चाइना साउदर्नले चीनको ग्वाङझाउमा सातामा एक उडान मागेको छ । एयर चाइना छेन्दुका लागि १ उडान गर्न चाहन्छ । जजिरा एयरवेजले कुवेतमा साताको २ उडान गर्ने गरी अनमति मागेको छ । फ्लाई दुबइले दुबईमा ७ उडान गर्न चाहन्छ ।

    हिमालय एयरलाइन्सले चीनको चोङगिङमा १, दोहामा ५, आवुधावीमा ४, दमाममा ७, र क्वालालाम्पुरमा साताको चार उडान गर्न अनुमति मागेको छ । नेपाल एयरलाइन्सले दिल्लीमा १४, बैंलौरमा ३, मुम्बईमा ७, ग्वाङझाउमा ३, दुबईमा ७, दोहामा ७, क्वालालाम्पुरमा ७, नारितामा ३, बैंककमा ३ र हङकङमा ३ उडानको पर्खाइमा छ । मलेसिया एयरलाइन्सले क्वालालाम्पुरमा ५, मालिन्दो एयरले क्वालालाम्पुरमा ४, एयर अरेवियाले आबुधावी ७ र सारजाहामा २८ उडानको अनुमति माग गरेका छन् ।

  • सुशील भट्ट बने लगानी बोर्डको सिइओ

    सुशील भट्ट बने लगानी बोर्डको सिइओ

    काठमाडौं । सरकारले लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । उनीसँग इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको अनुभव रहेको छ । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठक मै गरिएको थियो ।

    सीइओको दौडमा अहिले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भट्ट अग्रपंक्तीमा थिए । ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा आफैले केही समय पुनर्निर्माण प्राधिकरणमै काम गर्न लगाएर भट्टलाई लगानी बोर्डमा नियुक्तीको बाटो खोलिदिएका हुन् ।

    यी दुबै पदमा प्रधानमन्त्रीको प्रत्यक्ष चासो छ । यद्दपी सिइओ सिफारिस समिति भने अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा थियो । समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको हो । यसअघि महाप्रसाद अधिकारी गर्भनर बनेपछि लगानी बोर्डको प्रमुख पद रिक्त बनेको थियो ।

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

    फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

    काठमाडौं । नेपालमा पेट्रोलिय पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा यथावत राखिएको छ ।

    अगष्ट एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको बताइएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।

  • सुनको मूल्य प्रतितोला ९९ हजार

    सुनको मूल्य प्रतितोला ९९ हजार

    काठमाडौं । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

    कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी खन्याएका छन् । शेयर बजार घटिरहेको र डलरको मूल्य समेत कमजोर भइरहेको अवस्थामा सुनको मूल्यले आकास छोएको हो । नेपालमा यो मूल्य इतिहासकै सर्वाधिक हो ।

    अहिले हरेक दिन सुनको मूल्यले कीर्तिमान राखिरहेको छ । मूल्य वृद्धिपछि कारोबार भने ठप्प छ । सुनको मूख्य सिजनमध्ये एक तीज पनि हो । तर, यस बेला मूल्य अत्यधिक भएपछि कारोबार हुन सकेको छैन । चाँदीको मूल्यमा भने बिहीबार कुनै परिवर्तन आएन् । बिहीबार चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको छ ।

  • कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका

    कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका

    सुर्य नारायण पुरी, काठमाडौं

    अहिले नेपालमा कोरोना महामारीपछि आउने समस्याहरु के कस्ता हुन्छन र कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा धेरै नै बहस हुने गरेको छन । मुख्यत: बेरोजगारी समस्यालाई कसरी हल गर्न सकिन्छ ? भनेर छलफल तथा बहसहरु विभिन्न मिडिया र सरोकारवाला निकायमा देखिन्छ । अधिकाँश बहस कृषिमा लगानी बढाउनु पर्छ र बेरोजगार युवाहरुहरुलाई कृषिमा लाग्न प्रेरित गर्नुपर्छ भन्ने निचोडमा पुग्ने गरेका छन । मुख्य समस्या भनेको युवाहरुलाई कृषिमा आकर्षण कसरी गर्र्ने र कृषि पेशामार्फत नै जिविकोपार्जन गर्न सकिन्छ ? भनेर विश्वास दिन सक्ने नीति तथा योजना न सरकारी निकायसंग योजना देखिन्छ, न त निजी सहकारी तथा अन्तराष्ट्रिय गैरसरकारी नियकासंग नै छ । हामीलाई थाहा छ कि नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैया पुगेको छ । बेरोजगार युवापुस्ताको उचित व्यवस्थापन नै सरकारको प्रमुख चुनौति बनेको छ । आधारभुत आवश्यकताको लागि सस्तोमा श्रम बेच्न “विदेश जान पाऊ” भनेर युवाहरुले माईतीघरमा आन्दोलन गर्न पर्नु हाम्रालागि लज्जाको विषय हो ।

    समाज कल्याण परिषदमा दर्ता भएर कृषि क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका एनजीओ/आईएनजिओको बनावटी तथ्याङक र कार्यक्रमको वृत्तचित्र हेर्दा यस्तो लाग्छ कि ‘नेपाल कृषि क्षेत्रमा आज भन्दा ५ वर्षअघि नै आत्मनिर्भर भईसक्यो’ । तर जनताको जिवनस्तरमा फरक देखिदैन ।

    बरोजगारी दर बढदो छ । गाऊँमा जग्गाजमिन बाँझो बढ्दै गएको छ । कृषिमा अधिकाँश युवापुस्ताको चासो कम छ । कुल जनसंख्याको कृषि पेशामा संलग्न जनसंख्या ६०.४ प्रतिशत (वि.सं.२०६८ औसत) रहेको छ । तर विडम्बना आलु र खुर्सानी पनि भारतबाट निर्यात गछौं ।

    युवाहरुलाई कृषि व्यवसाय मार्फत रोजगारी सृजना गर्न मुख्य भूमिका वित्तीय क्षेत्रको हो । सरकारी वा निजी बित्तीय सँस्थाले हरेक वर्ष किसानहरुको लागि सहुलियत अनुदानमुलक कार्यक्रमहरु सञ्चालन गरेका हुन्छन तर वास्तविक किसान लाभान्वित भएका छैनन् । नेपालमा ३ प्रकारका कृषि व्यवसाय छन् ।आय आर्जनमुलक, व्यवसाय मुलक र उद्यमशिलता मुलक । तर अनुदानमार्फत लाभान्वित हुनेहरु मुख्य पेसा भन्दा आय आर्जनमुलक कृषि व्यवसाय गरेका किसान बढी पर्दछन् । वित्तीय निकायहरुले ऋण प्रवाह गर्नुअघि कृषि पेसा गरेर नै घरपरिवार चलाउँछु भन्ने पर्दैनन् । कृषिलाई व्यावसायिक रुपमा गर्न ईच्छुक किसान युवाहरुलाई व्यवसायिक योजना तयार गरेर सिप तथा तालिम प्रदान गरेपछि मात्र ऋण वा सहुलियत प्रदान गरिनु पर्दछ । तालिम तथा कृषि कार्यक्रमहरु छुट्टै निकायले सञ्चालन गर्ने र ऋण छुट्टै निकायले दिने प्रक्रिया बदल्नु आवश्यक छ । अथवा कडा अनुगमनको दायरा हुनुपर्दछ ।

    यसरी वित्तीय निकायहरुले वास्तविक कृषक पहिचान गरी कृषि ऋण प्रकृया सहज गर्ने, उत्पादन बिक्रीका लागि बजारको सुनिश्चता गर्ने र कृषिमा लगानी गर्नु पुर्व व्यवसाय सम्बन्धि तालिम दिएर मात्र ऋण प्रवाह गर्न सकेमा युवाहरु आकर्षित हुनेछ । जिविकोपार्जनका लागि बिदेशिनु पर्ने बाध्यता हट्नेछ ।

  • लकडाउनमा रोकिएको तलव मजदुरले पाउने

    लकडाउनमा रोकिएको तलव मजदुरले पाउने

    काठमाडौं । लकडाउनका कारण रोकिएको पारिश्रमिक सबै श्रमिकले पाउने भएका छन् । रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच भएको सहमति अनुसार लकडाउनमा रोकिएको श्रमिकको पारिश्रमिक भुक्तान गर्ने सम्बन्धमा सहमति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो।

    लकडाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । जेठ महिनामा लकडाउनका कारण काममा उपस्थित हुन नसकेकालाई श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ । श्रमिकलाई लकडाउनकै बाहनामा पारी कामबाट निकाल्न पाइने छैन । पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझदारी भएको समेत जनाइएको छ ।

    उद्योग प्रतिष्ठान खुलिसकेको अवस्थामा काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको छ । लकडाउन अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

    उद्योग व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरूले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ । नेपालमा ११ चैतबाट शुरु भएको लकडाउनका कारण धेरै उद्योग प्रतिस्ठान बन्द भएका थिए । १ असारबाट भने धेरैजसो उद्योग खोल्ने अनुमति सरकारले दिएको थियो ।

  • जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

    जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

    सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ ।

    प्रहरीका अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मङ्गलबार चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री छन् । उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामद गरिएको छ । राजधानीसहितका क्षेत्रबाट यसरी ठूलो संख्यामा पक्राउ परेपनि मोफसलमा एकै खालबाट यति ठूलो परिमाणमा रकम बरामद भएको यो सम्भवतः पहिलो घटना हो ।

  • मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

    मौद्रिक नीतिको कार्यान्वयन शुरु, राष्ट्र बैंकले जारी गर्यो निर्देशन

    काठमाडौं । मौद्रिक नीतिमा उल्लेख नीतिहरुको कार्यान्वयन शुरु गर्न नेपाल राष्ट्र बैंकले सोमबार विभिन्न प्रकारका निर्देशन जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्था कार्यान्वयन गर्न त्यस्ता निर्देशनहरु जारी गरेको हो । बैंकको ऋण तिर्ने समय पर सार्ने देखि विभिन्न प्रकारका व्यवसाय संचालन गर्न लिन सकिने सहुलियतपूर्ण ऋणको समेत व्यवस्था गरिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण भएका र २०७६ पुस मसान्तपछि प्रवाह भएका कर्जालाई २०७७ असार मसान्तसम्म असल वर्गमा वर्गीकरण गर्न छुट दिइएको छ । कोभिड १९ का कारण विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजना निर्माण सम्पन्न तथा सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन, सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा बैक वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्म ग्रेस अवधि थप्न सक्ने भएका छन् । यो प्रावधान शर्तसहित आएको छ ।

    कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई एक बर्ष, मध्यम प्रवाहितलाई ९ महिना तथा न्यून प्रवाहितलाई ६ महिनाको समय थपन गर्न सकिने सुविधा दिइएको छ । सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ बर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने भएको छ। यसबाट नेपाल राष्ट्र बैंकले होटेल क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा परिभाषित गरिएको छ ।

    कोभिड १९ बाट अति प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जामा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङ्कन गरी ऋणीको लिखित कार्ययोजना हेरेर निकट भविस्यमा उद्योग सञ्चालनमा ल्याई ऋण चुक्ता हुन सक्ने विषयमा बैंक वित्तीय संस्था आश्वस्त भए पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने गरी सुविधा प्रदान गरिएको छ ।

  • कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा

    कोरोना जोखिमपछि विराटनगरमा लकडाउन कडा

    विराटनगर । विराटनगर महानगरपालिकामा लकडाउन कडा गरिएको छ । कोरोना भाइरसको संक्रमणको डरसँगै विराटनगरमा लकडाउन कडाई थालिएको हो । अब बिराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ । खासगरी सीमावर्ती भारतमा तिब्र रुपमा फैलिएको कोरोना र जवजस्र्ती नेपाल छिर्ने भारतीय नागरिकका कारण अहिले नेपालमा कोरोनाको जोखिम बढेको छ ।

    भारतमा करीव दैनिक एक लाखको दरले संक्रमित बढिरहेका छन् । विहार राज्य बढी प्रभावितमध्ये एकमा परिसकेको छ । यस अवस्थामा नेपालका सीमावर्ती शहरमा जोखिम बढेको हो । विराटनगरमा नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवा दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय भएको छ ।

    भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा कडाइ, सिटी रिक्सामा सामाजिक दूरी कायम गर्ने तथा चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसाय सकेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ । पीसीआर परीक्षणको दायरा बढाउन पहल गर्ने, क्वरेण्टीन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने, सभासमारोह गर्न नदिने लगायत निर्णय समेत महानगरले गरेको छ ।

  • एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

    एमसीसी पास गर्न भएको ढिलाईबारे अमेरिकाको चासो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पास गर्न भएको ढिलाईका सम्बन्धमा अमेरिकाले चासो राखेको छ । अमेरिकी राजदूत रेण्डी बेरी आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेट्न मन्त्रालय पुगेका थिए । मन्त्रालयका अनुसार भेटमा अमेरिकी राजदूतले एमसीसीका सम्बन्धमा भइरहेको प्रक्रियाबारेमा जानकारी लिएका थिए ।

    एमसिसी पास गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल नेकपा भित्र दुई तर्क रहेको छ । प्रतिपक्षी दल कांग्रेस भने एमसीसी पास गर्नेपर्ने पक्षमा रहेको छ । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने एमसीसी अहिले भने अन्यौलमा छ । तोकिएको समयमा पारित हुन नसकेको यस परियोजनाका सम्बन्धमा नेपालले गरिरहेको तयारीबारे राजदूत बेरीले चासो राखेका छन् ।

    यस भेटमा बेरीले यो परियोजना विश्वका अन्य देशहरुबाट माग भइरहेको समेत जानकारी गराएका थिए । रक्षामन्त्री पोखरेलले भने यस सम्बन्धमा गहन छलफल भइरहेको जानकारी गराएका थिए । बेरीले कोरोना भाइरसको नियन्त्रणमा भइरहेका कामबारे समेत चासो राखेका थिए । भारतमा बढ्दो संक्रमणका बीच नेपालमा समेत जोखिम बढेको भन्दै उनले सचेत हुनुपर्ने धारणा समेत राखेका छन् ।

  • एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार

    एक वर्षमा ११ खर्ब ६४ करोड व्यापार घाटा, सुधारोन्मुख वैदेशिक व्यापार

    काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ खर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । यद्दपी एक वर्षयता व्यापार घाटा सुधारोन्मुख भने देखियो । गत आर्थिक वर्ष २०७६\ ७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको हो । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

    विभागका अनुसार आर्थिक वर्ष २०७५\ ७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटा सुधार १६.७१ प्रतिशत रहेको छ । यसलाई व्यापारविद्हरु उल्लेख्य सुधार मान्दछन् । खासगरी आयातलाई शुरुदेखि नै कडाई गरिएका कारण यो वर्ष आयातको हिस्सा बढी खस्किएको छ । त्यसले समग्रा व्यापार घाटा घटाउन भूमिका खेलेको हो ।

    यो वर्ष निर्यातलाई समेत कोरोना भाइरसले असर गर्यो । जसले गर्दा १ खर्ब रुपैयाँको निर्यात पुर्याउने अभियान भने प्रभावित बनेको छ । आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै विदेशबाट वस्तु आयात घटेको हो । गत आर्थिक वर्ष २०७६,७७ मा कुल आयात आर्थिक वर्ष २०७५\७६ को तुलनामा १५.६३ प्रतिशत कम भएको छ । नेपालले १ सय ५५ मुलुकसँग वैदेशिक व्यापार गरेको तथ्यांक छ । यसमा सबैभन्दा ठूलो हिस्सा भने भारतको रहेको छ ।

    भारतबाट सबैभन्दा बढी वस्तु आयात भएको छ । भारतबाट ७ खर्ब ३५ अर्बको सामान आएको छ । नेपालबाट भने ६९ अर्ब ८ करोड रुपैयाँको मात्र वस्तु भारततर्फ निर्यात भएको छ । चीनबाट १ खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँ आयात भएको छ । चीनतर्फ १ अर्ब १८ करोडको वस्तु निर्यात भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । एक वर्षमा नेपालको वैदेशिक व्यापारको आकार भने करिब १३ खर्ब रुपैयाँ रहेको छ ।

    भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६\७७ मा कुल १२ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष भन्दा १४.६९ प्रतिशत कम कम हो । आर्थिक वर्ष २०७५\७६ मा कुल वैदेशिक व्यापार १५ खर्ब १५ अर्ब ६४ करोड थियो ।

  • सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’, तोलाको एकलाख नजिक

    काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो ।

    महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ पुगेको छ ।

  • काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

    काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

    काठमाडौं । काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य पृथ्वी राजमार्गको अवरोध ६ दिनपछि खुलेको छ । नौबिसे-मुग्लिङ सडकखण्डको बीचमा पर्ने मौवाखोलामा पुल बाढीले बढाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मत भएपछि गएरातीबाट दुईतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । मौवाखोलाको पुल मर्मतको काम सकिएको छ ।

    पुल बगेपछि यो सडकखण्ड ५ साउनमा बन्द भएको थियो । उता, पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड भने दुई साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको छ । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा ठूलो पहिरो खसेर यो सडक अवरुद्ध बनाएको छ । यहाँ बेलिब्रिज समेत बगेको छ । देशका अन्य विभिन्न दुई दर्जन स्थानका सडक अवरुद्ध छन् ।

    पछिल्लो तीन दिन यता मौसम केही अनुकुल भएपनि सोमबारबाट मनसुन पुनः सक्रिय हुने मौसम विज्ञान विभागले जनाएको छ । पहिरोका कारण साँफेबगर-मार्तडी सडकखण्ड १६ दिनदेखि बन्द छ । पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ समेत बन्द नै रहेको छ । एक सातायता बेशी शहर-चामे सडकखण्ड समेत संचलनमा आउन सकेको छैन । डुम्रे-बन्दीपुर सडकखण्ड र गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड समेत बन्द छन् ।

  • सुनको मूल्य तोलामा एक लाख नजिकै

    सुनको मूल्य तोलामा एक लाख नजिकै

    काठमाडौं । नेपालमा सुनको मूल्यले हरेक दिन कीर्तिमान राखिरहेको छ । अब प्रतितोला एक लाख नजिकै रहेर अहिले कारोबार भइरहेको छ । शुक्रबारसम्म लगातार तीन दिन सुनको मूल्य उकालो लाग्यो । शुक्रबार मात्र १३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भयो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो म्मूल्य नेपालमा अहिलेसम्मकै उच्च हो । तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ। चाँदीको मुल्यमा पनि बढेको छ । चाँदीमा प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भएको छ ।

    सुनको मूल्य बढेपनि बजारमा कारोबारमा भने मन्दी छाएको छ । तीज सुनको खपत हुने मूख्य सिजन हो । तर, यसपटक अत्यधिक मूल्यका कारण सुन खरीद गर्ने भन्दा बेच्ने मानिस बढी रहेको महासंघको भनाई छ । त्यसकारण पनि सुनको कारोवार सुस्ताएको छ ।