Category: अर्थतन्त्र

  • मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण

    मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण

    नुवाकोट, ६ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले बताए ।

    यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे ।

    उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे । मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गरे । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो ।” उनले भने ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताए । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उनले भने ।


    सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उनको भनाइ थियो । यसै सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट गरे । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उनले बताए ।


    मन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे । नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उनले बताए । “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो । हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं”, उनले भने ।

  • बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    काभ्रेपलाञ्चोक, ६ वैशाखः वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

    गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

    यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

    गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

  • गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मी, ५ वैशाखः गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा–काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

    विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

    नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।

    गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

  • आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

    काठमाडौँ, ५ वैशाखः काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।

    आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि कामपाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।

    मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको र काठमाडौँको पहिचानमा नकारात्मक प्रभाव पारेकाले कामपाले उक्त कार्यक्रम सञ्चालन गरेको कामपाको प्रवक्ता नवीन मानन्धरले बताए ।


    शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।
    कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन ।

    यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।

    यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने जनाइएको छ ।

  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ५ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    म्याग्दी, ५ वैशाख । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको छ । सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालिन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ बिधि अपनाएको हो । म्याग्दीका सडकमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि पहिलो पटक सिरुवारी पहिरोमा प्रयोग भएको हो ।

    अस्थायी रुपमा सिरुवारी पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालनका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । “सिरुवारीको तीन सय मिटर दुरीको पहिरोको दिर्घकालिन समाधानका लागि आवश्यक पर्ने रु। ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम गर्न बेञ्चिङ गरेको हो,” उनले भने, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि गह÷गह बनाइएको छ ।”

    गत चैत महिनाको पहिलो सातादेखि डोजर परिचालन गरेर शुरु गरिएको बेञ्चिङ गर्ने कार्य केही दिनअघि सकिएको हो । सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकतल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरुवारीको सडक माथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

    सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बिच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिएपनि सबैभन्दा ठूलो सिरुवारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन् ।

    भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने बिधीलाई प्राबिधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । सडक भन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरि सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिएको सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको भागमा पहिरो थुप्रिने ठाउँ राखिएको छ । ढल्केको जमिनलाई सिढीजस्तो बनाएपछि प्रत्येक तहले माथिको माटोको भार सम्हाल्ने, पानी बग्ने गति घट्ने र माटो चिप्लने सम्भावना कम हुने बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताए ।

  • धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

    धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

    काठमाडौँ, ५ वैशाखः नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।

  • सभामुखको पहलमा बुढीगण्डकी जलविद्युत् आयोजनाबारे छलफल

    सभामुखको पहलमा बुढीगण्डकी जलविद्युत् आयोजनाबारे छलफल

    काठमाडौँ, ४ वैशाखः सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच आज छलफल भएको छ । छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तामाङ, शोभा खनाल र एन्जिला गुरुङ सहभागिता भए । सैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि उपस्थिति रहेको थियो ।

    बैठकमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए । छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्रगतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्रयाकमा लैजानुपर्ने बताए । “आयोजना सम्पन्न नगर्नुको विकल्प छैन, कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ । अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन”, उनले भने ।

  • नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    बेरुत, ४ वैशाख (रासस–एपी) । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्वासले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविरामको घोषणा गरेका हुन् । यद्यपि इजरायल प्रत्यक्ष रूपमा लेबनान सरकारसँग भन्दा पनि त्यहाँ सक्रिय इरानी समर्थित हिजबुल्लाह लडाकू समूहसँग युद्धरत रहेको तथ्यले सम्झौताको प्रभावकारितामाथि शङ्का उत्पन्न गरेको छ, किनकि उक्त समूह औपचारिक रूपमा सम्झौतामा समावेश छैन ।

    युद्धविराम सुरु भएसँगै बेरुतका विभिन्न स्थानमा बासिन्दाहरूले हर्ष प्रकट गर्दै हावामा गोली चलाएका थिए । तर यही बीचमा केही क्षेत्रमा गोलीबारी र आक्रमणका घटनाहरू जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी लेबनानका खियाम र डिब्बाइन गाउँमा युद्धविराम लागू भएको आधा घण्टापछि पनि इजरायली गोलाबारी भएको रिपोर्ट सार्वजनिक भएको छ । युद्धका कारण विस्थापित भएका लाखौँ मानिसहरू घर फर्कने प्रयासमा लागे पनि अधिकारीहरूले अवस्था पूर्ण रूपमा सुरक्षित नभएसम्म प्रतीक्षा गर्न आग्रह गरेका छन् । करिब १० लाख मानिस अझै विस्थापित अवस्थामा छन् र उनीहरूको सुरक्षित फिर्ती कहिले सम्भव हुन्छ भन्ने स्पष्ट छैन ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति प्रयासलाई अगाडि बढाउन युद्धविराम स्वीकार गरिएको बताउनुभएको छ, तर इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता नहुने स्पष्ट पारे । उनका अनुसार इजरायलले १० किलोमिटर क्षेत्रसम्म ‘सुरक्षा क्षेत्र’ विस्तार गरेको छ र त्यहाँबाट पछि हट्ने योजना छैन ।
    हिजबुल्लाहले आफ्नो भूमिमा रहेको इजरायली उपस्थितिलाई कब्जाको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध प्रतिरोध गर्ने अधिकार कायम रहेको जनाएको छ । समूहले भविष्यको कदम परिस्थितिअनुसार निर्धारण गरिने सङ्केत दिएको छ, जसले युद्धविरामलाई थप जटिल बनाएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले सम्झौताअनुसार इजरायललाई कुनै पनि सम्भावित वा जारी आक्रमणविरुद्ध आफूलाई जोगाउने अधिकार सुरक्षित रहेको जनाएको छ । तर अन्य अवस्थामा लेबनानी लक्ष्यहरूविरुद्ध आक्रामक सैन्य कारबाही नगर्ने उल्लेख गरिएको छ । यद्यपि यस व्यवस्थाले इजरायललाई आवश्यक ठानेको अवस्थामा कारबाही गर्ने स्वतन्त्रता दिने सङ्केत गरेको विश्लेषण गरिएको छ । युद्धविराम सुरु हुनुअघि हिजबुल्लाहले उत्तरी इजरायलका सहरहरूमा रकेट आक्रमण जारी राखेको थियो भने मध्यरातअघि केही सीमावर्ती क्षेत्रमा हवाई हमलाका साइरन बजेका थिए ।

    यो सहमति वासिङ्टनमा भएको कूटनीतिक पहलपछि सम्भव भएको बताइएको छ । अमेरिकी प्रशासनका अनुसार इजरायल र लेबनानका प्रतिनिधिहरूबीच भएको छलफल, त्यसपछि भएका उच्चस्तरीय फोन वार्ताहरू र विदेश मन्त्रालयको सक्रिय भूमिकाले समझदारीको वातावरण तयार गरेको थियो । दशकौँपछि दुई देशबीच प्रत्यक्ष कूटनीतिक संवाद भएको पनि जनाइएको छ ।

    लेबनानले भने दीर्घकालीन वार्ताअघि युद्धविराम अनिवार्य शर्त रहेको बताउँदै आएको छ । साथै हिजबुल्लाहलाई निशस्त्र पार्ने विषयमा पनि प्रतिबद्धता जनाएको छ, यद्यपि यो प्रक्रिया जटिल र विवादास्पद बन्ने देखिएको छ । सन् १९४८ मा इजरायल स्थापना भएदेखि नै दुवै देशबीच औपचारिक रूपमा युद्धकै अवस्था कायम रहेको छ । सन् १९८३ मा भएको एउटा शान्ति सम्झौता लेबनानको गृहयुद्धका कारण कार्यान्वयन हुन नसकी अन्ततः खारेज भएको थियो ।

    यसबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा पनि कूटनीतिक गतिविधि तीव्र बनेका छन् । पाकिस्तानका सेना प्रमुखले इरानका उच्च अधिकारीसँग भेट गरी युद्धविराम विस्तारका लागि पहल गर्नुभएको छ । अमेरिका र इरानबीच पनि थप वार्ताको सम्भावना रहेको बताइएको छ, जसका लागि इस्लामाबादलाई सम्भावित स्थलको रूपमा हेरिएको छ ।

    तर तनाव अझै कायम छ । इरानले आफ्नो बन्दरगाहमाथि अमेरिकी नाकाबन्दी हटाउन चेतावनी दिएको छ भने जलमार्ग अवरुद्ध गर्ने धम्कीसमेत दिएको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अर्थतन्त्रमा असर पारेको छ । युद्धका कारण तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ भने विश्व बजारमा अस्थिरता बढेको छ ।

    यस सङ्घर्षमा हालसम्म हजारौँ मानिसको ज्यान गइसकेको छ । इरानमा कम्तीमा तीन हजार, लेबनानमा दुई हजारभन्दा बढी र इजरायलमा दुई दर्जनभन्दा बढी मानिस मारिएका छन् । साथै अन्य खाडी मुलुक र अमेरिकी सैनिकहरू पनि प्रभावित भएका छन् ।

    मध्यस्थकर्ताहरूले अहिले तीन प्रमुख मुद्दामा सहमति खोजिरहेका छन्—इरानको आणविक कार्यक्रम, स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति । यी विषयमा प्रगति भए मात्र दीर्घकालीन शान्ति सम्भव हुने विश्लेषकहरूको भनाइ छ । अहिलेको अवस्थामा युद्धविरामले तत्कालका लागि राहत दिएको देखिए पनि यसको भविष्य अनिश्चित छ । साना घटनाले पनि फेरि ठूलो द्वन्द्व भड्किने जोखिम यथावत् रहेको छ ।

  • पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    बेइजिङ, ४ वैशाख (रासस–एएफपी) । मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ । यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् ।

    चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) वार्षिक आधारमा पाँच प्रतिशतले वृद्धि भएको छ । यो दर एएफपीले गरेको ४.८ प्रतिशतको पूर्वानुमानभन्दा माथि रहेको हो ।

    सरकारले यस वर्षका लागि ४.५ देखि ५.० प्रतिशतसम्मको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ, जुन पछिल्ला दशकहरूमा सबैभन्दा न्यून लक्ष्यमध्ये एक मानिन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा रियल स्टेट क्षेत्रमा देखिएको दीर्घकालीन सङ्कट र आन्तरिक उपभोगमा आएको सुस्तताका कारण नेतृत्वलाई आर्थिक लक्ष्य पूरा गर्न निर्यातमा अझ बढी निर्भर छ ।


    त्यसैबीच, उपभोक्ता खर्चको सङ्केत दिने खुद्रा बिक्री मार्च महिनामा १.७ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन ब्लुमबर्गले गरेको २.४ प्रतिशतको अनुमानभन्दा कम हो । यसले घरेलु माग अझै कमजोर रहेको सङ्केत गरेको छ । औद्योगिक उत्पादनतर्फ भने सकारात्मक सङ्केत देखिएको छ । मार्चमा औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको एनबिएसले जनाएको छ, जुन ब्लुमबर्गको ५.३ प्रतिशतको अनुमानभन्दा बढी हो । तर, जनवरी र फेब्रुअरीमा संयुक्त रूपमा रहेको ६.३ प्रतिशत वृद्धिदरको तुलनामा भने यसमा केही सुस्तता आएको देखिन्छ ।

    विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताले पनि चीनको आर्थिक अवस्थालाई नजिकबाट प्रभाव पारिरहेको छ । विशेषगरी, इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ । होर्मुज जल डमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति हुन्छ ।

    यद्यपि, विज्ञहरूले चीनको ऊर्जा आपूर्ति स्रोत विविध भएकाले तत्काल ठूलो धक्का नलाग्ने बताएका छन् । तर, युद्ध लम्बिँदै गएमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले चीनको निर्यात मागमा गिरावट ल्याउन सक्ने चिन्ता भने कायम रहेको छ ।

  • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    म्याग्दी, ४ वैशाख । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा बाख्रापालन व्यवसायले उनलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।

    “विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ”, उनले भने, “घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।” भीमले बुबा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखि नै गर्दै आएको बाख्रापाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिएका हुन् । पचास वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उहाँलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिइन् ।


    वार्षिक १५ देखि २० वटा खसीबोका र त्यति नै सङ्ख्यामा पाठापाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पती बाख्रापालनबाट सन्तुष्ट छन् । “गोठमा बाख्राको सङ्ख्या धेरै हुँदा दुई सय वटासम्म पुगेको थियो”, विपनाले भनिन्, “अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ ।”

    अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एकवटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा रु २० हजारमा बिक्री हुने विपनाले बताउनुभयो । धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्तीगोठमा बाख्रापालन गर्छन् ।

    कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीका बाख्रागोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिनभन्दा अझ न्यायो र बेँसी सोलवाङमा गोठ राखिएको थियो । वैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ । जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्रा भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानले पशुका लागि आवश्यक पर्ने पोषिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँचवटा कुकुर पालेका छन् ।

    कुकुरले चितुवालगायत जङ्गली जनावरको गतिविधिलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर भगाई सहयोग गर्ने विपनाले सुनाइन् । आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाएका उनीहरूले बाख्रापालनलाई नै निरन्तरता दिने र जीविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभियानकै रूपमा महामारीजन्य रोग पिपिआरविरुद्धको खोप र धवलागिरि गाउँपालिकाले प्राविधिक सेवा, त्रिपाल र सौर्य ऊर्जा सहयोग गरेको छ । महामारीबाहेकको अवस्थामा पनि बाख्राको औषधि उपचार निःशुल्क गर्ने र पशु बीमाका लागि सहजीकरण गरिदिन भण्डारी दम्पतीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

  • एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    काठमाडौँ, ४ वैशाख । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए–नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए–नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए–नभएको बारेमा अनुमगन गर्दै आएको छ ।

    पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुमगन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुमगन निरीक्षण गरेको हो । विभागले अनुमगन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको स्पष्ट पारेको छ ।

  • नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको हो ।

    “निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन, निजको पक्राउ पुर्जी र म्याद थप कानुन सङ्गत देखिएन”, आदेशमा भनिएको छ, “निज माथिको दाबीको कसुरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुनसक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिइ मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।”

    अदालतले सम्पत्तिको स्रोत खुलाउन नसकेको हदसम्म आन्तरिक राजस्व विभागले कर निर्धारण गरी उपदफा (७) बमोजिम असुल गर्नसक्ने कर असुल गर्नसक्ने भनेको छ आदेशमा भनिएको छ, “निवेदकउपर हाल अनुसन्धान भएको राजस्वसम्बन्धी कसुर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को २०८१ को संशोधनले थप गरेको दफा २४ ‘क’ ले यस ऐनअन्तर्गतको मुद्दामा प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तानी गरी मिलापत्र गरी पाउँ भनी निवेदन दिएमा त्यस्तो मुद्दामा मिलापत्र हुनसक्ने देखिन्छ ।”

    सोमबार राजस्व अनुसन्धान विभागले नेता खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो । नेता खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत गत चैत १५ गते पक्राउ गरेको थियो ।

  • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

    काठमाडौँ, ३ वैशाखः काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

    कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सडक मानवमुक्त बनाउने अभियानलगायत विषयमा महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन् ।

    भेटमा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ, यसका लागि हामीले ‘फोकल पर्सन’ तोकेका छौँ,” महानिरीक्षक कार्कीले भने ।

  • कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    मकवानपुर, ३ वैशाख : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

  • दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    म्याग्दी, ३ वैशाखः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए ।


    “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि तेस्रो चरणमा बिटुनीमसँग चिप्स भुटेर सडकमा बिछ्याउँछौँ”, उनले भने, “छ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ ।” यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । यस योजनामार्फत दुई लेनमा ९०० मिटर दूरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए ।

    दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले संरचना निर्माण, बेस र सबबेस बिछ्याएको छ । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

    कालोपत्र हुुन थालेपछि ताकमवासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । सडक चालु आर्थिक वर्षभित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । द्यौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

  • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्ला, ३ वैशाखः जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् ।

    यहाँ उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

    स्याउ बगैँचामा फूल फुलेर सेताम्मे

    हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका–५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । “बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत–वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ”, उनले भने ।
    शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर तीन हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ ।

    हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका–१ का किसान सरिता रावतले बताइन् ।

  • आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


    यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

    यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।

  • म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार बुधबारदेखि काम सुरुआत गरेका छौँ,” उनले भने, “हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुुगेर उपलब्ध गराउन कामलाई निरन्तर जारी राख्ने छौँ ।”

    पहिलो दिन बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जनालाई घरै पुुगेर राहदानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे । यस्तै, कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरे । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।

    घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी भएका थिए । सेवाग्राही सरस्वतीले भनिन् । “पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो । अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ । सरकारप्रति भरोसा जागेको छ । यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरेका छौँ ।”

  • एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए–नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेनरराखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे–नगरेको विषयमा जानकारी लिएको छ ।” उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

  • सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    काठमाडौँ, २ वैशाख । सरकारले २०६२–६३ सालदेखि २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ–छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो ।

    आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ ।

    उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ । छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

  • राष्ट्रिय आर्थिक गणना सुरु

    राष्ट्रिय आर्थिक गणना सुरु

    काठमाडौँ, २ वैशाखः देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उक्त कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरेर चार हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरीवेक्षक आगामी असार ७ गतेसम्म तथ्याङ्क सङ्कलनमा परिचालन हुने जानकारी दिएको हो ।

    उक्त कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको सङ्ख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । अन्तररराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ मध्ये १८ क्षेत्रमा आधारित आर्थिक क्रियाकलापलाई गणनामा समेटिएको छ । गणनामा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूमा समावेश छन् भने कूटनीतिक नियोग, सुरक्षा निकाय तथा घरायसी क्रियाकलापलाई गणनामा समावेश गरिएको छैन ।

    “गणनालाई सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय समितिहरू गठन गरिएका छन् । साथै, स्थानीय तह र वडा कार्यालयसँग सहकार्य, उद्योग व्यवसायसँग सम्झौता तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।

    रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालनमा छन्”, प्रवक्ता लामिछानेले भने, “प्राविधिक रूपमा गणनालाई सुदृढ बनाउन अनलाइन ‘इ–सेन्सस’ प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने भौगोलिक सूचना प्रणाली (जिआइएस)मार्फत गणना क्षेत्र पहिचान गरिएको छ ।” साथै उनले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा सङ्घसंस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गरे । सङ्कलित सबै विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ ।

  • ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

    ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

    चितवन, २ वैशाखः जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरु गरेसँगै कागजात सङ्कलन भएको हो । विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीसघण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो । उनका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ ।

    कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो । कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ । दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने बताए ।

  • व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।

    यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।

  • आजदेखि देशभर आर्थिक गणना हुँदै

    आजदेखि देशभर आर्थिक गणना हुँदै

    काठमाडौँ, २ वैशाख । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

    अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।

    त्यसक्रममा देशभर दर्ता भए÷नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

    आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८८ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६० पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    अरनिको राजमार्ग : दुईतर्फी आवागमन सूचारु

    काभ्रेपलाञ्चोक, १ वैशाख । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो ।

    आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।

    “त्यसबेला आगावमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचीत गर्नेछौँ”, योगेशले भने । उनका अनुसार पहिलोपटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवहाक सवारीलाई भने पूर्णतः निधेष गरिएको थियो । उक्त खडकखण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो ।

    ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ ।

    उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो ।

    उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।

  • गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    काठमाडौँ, १ वैशाख । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारिन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराए ।

    अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिए । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

  • ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ब्रसेल्स, १ वैशाख, (रासस–एएफपी) । ब्रसेल्सले इरान युद्धको कारण उच्च ऊर्जा लागतको सामना गर्ने योजना अर्को हप्ता प्रस्तुत गर्ने भएको छ। यसका लागि गर्मी मौसम अघि नै युरोपको विद्युतीकरणलाई बढावा दिन एक व्यापक प्याकेज अनावरण गर्ने इयु प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार बताए । ऊर्जा सङ्कटले २७ राष्ट्रहरूको समूहलाई उच्च जीवाश्म इन्धनको को लागि २२ अर्ब युरो (२६ अर्ब डलर) भन्दा बढी खर्चको सामना गर्नुपरेको भोन डेर लेयनले यस मुद्दामा केन्द्रित इयुको शीर्ष कार्यकारी निकायको बैठकपछि भने ।


    “यो खर्चले स्पष्ट पार्छ कि हामीले जीवाश्म इन्धनमा हाम्रो अधिक निर्भरताको लागि धेरै उच्च मूल्य चुकाइरहेका छौँ,“ युरोपेली आयोग प्रमुखले नवीकरणीय र आणविक ऊर्जामा छिटो प्रवेश गर्नुपर्नेमा जोड दिँदै ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने । “हामीले स्वदेशीय, सस्तो, भरपर्दो ऊर्जालाई मापन गर्न आवश्यक छ,“ उनले भने । आयोगले समूहका सदस्य राष्ट्रहरूमा विद्युतीय ग्रिड जडानलाई गति दिने उद्देश्यका साथ नयाँ नियमहरू ल्याउने र गर्मी अघि ‘विद्युतीकरण रणनीति’ प्रस्तुत गर्ने आशा गरिरहेको छ।

    फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि तेल र ग्यासको मूल्य बढेको छ, तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’लाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ भने खाडी ऊर्जा पूर्वाधारमा आक्रमण गरेर प्रतिकार गरेको छ। “लागतको अभावलाई सम्बोधन गर्न आयोगले सदस्य राष्ट्रहरूलाई ‘सबैभन्दा बढी प्रभावित क्षेत्रहरू’ लाई सहयोग गर्न थप ठाउँ दिन इयुले सहायता नियमहरू खुकुलो पार्ने विचार गरिरहेको छ,” भोन डेर लेयनले भने ।


    साइप्रसमा युरोपेली सङ्घका नेताहरूको अनौपचारिक बैठकअघि अर्को हप्ता प्रस्तुत गरिने प्याकेजको एक भागको रूपमा विवरणहरू सार्वजनिक गरिने उनले बताए । आयोगले सदस्य राष्ट्रहरूले बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा नगर्न सकून भनी तेल भण्डारलाई बजारमा ल्याउन र समूहमा ग्यास भण्डारण भर्ने समन्वय गर्न खोजिरहेको छ । सदस्य राष्ट्रहरूबिच नै बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा हुँदा यस्तो प्रतिस्पर्धाले मूल्य वृद्धिलाई बढाएको छ ।

    “भवन निर्माण र औद्योगिक सञ्चालनका लागि उपकरणहरूको थप विस्तार नगरी ऊर्जा दक्षतालाई समर्थन गर्ने कदमहरू पनि विचार भइरहेको छ”, आयोगका अध्यक्षले थपे । “सबैभन्दा कम खर्चिलो ऊर्जा भनेको प्रयोग नगरिएको विद्युतीय ऊर्जाको प्रयोग हो,” उनले भने । भोन डेर लेयनले बिजुली कर र ग्रिड शुल्कमा सुधार गर्ने प्रस्ताव मेमा आउने बताए ।