काठमाडौँ, वैशाख १४ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाद्य उद्योग अनुमतिपत्र नवकिरणको काम गरिदिनको लागि विभिन्न बहाना बनाइ दुख हैरानी दिइ घुस बार्गेनिङ गरी चौधरीले सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएको पुष्टि भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रकम ३० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
Category: अर्थतन्त्र
-

भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक
काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ । मन्त्रालय र यस अन्तर्गतका कार्यालयहरूले अबदेखि आफ्ना कुनै पनि औपचारिक कार्यक्रमहरू होटेल तथा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो कडा निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब कुनै पनि कार्यालयले सञ्चालन गर्ने बैठक, गोष्ठी, तालिम तथा सेमिनार लगायतका कार्यक्रमहरू अनिवार्य रूपमा आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिम कक्षमा मात्रै आयोजना गर्नुपर्ने छ । सरकारी कोषको अनावश्यक खर्च नियन्त्रण गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उद्देश्यले यो कदम चालिएको महाशाखाले जनाएको छ ।
यो निर्देशनले मन्त्रालयको कार्यसम्पादनमा पारदर्शिता ल्याउनुका साथै फजुल खर्च रोक्न ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ । सरकारले पछिल्लो समय सुशासन र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने नीतिलाई प्राथमिकता दिएसँगै भूमि मन्त्रालयले यस्तो निर्णय लिएको हो ।
-

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
भक्तपुर, वैशाख १४ गते । भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो ।शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो । सुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए। आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ । रासस
-

सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरिने
काठमाडौँ, वैशाख १४ गते । मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको बैठकले सो निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार बैठकले भन्सार नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) पदमा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
-

सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने
काठमाडौँ, वैशाख १४ गते । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ ।
सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय स्रोतको सीमितता जस्ता चुनौतीबिच दस्तावेज सार्वजनिक भएको हो । स्थितिपत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ ।
दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनःस्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ्ने उल्लेख गरिएको छ । यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । अर्को ठुलो सम्भावनाका रूपमा जलविद्युत् क्षेत्रलाई प्रस्तुत गरिएको छ । नेपालसँग विशाल जलस्रोत रहेकाले सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर वैदेशिक आम्दानी प्राप्त गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको भूमिका अझ बलियो बन्ने जनाइएको छ ।
सरकारले प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार भएको औँल्याएको छ । हिमाल, संस्कृति, समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा आय र रोजगारी सिर्जना गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । पर्यटन पूर्वाधार, सेवा गुणस्तर, आवागमन सहजता र गन्तव्य व्यवस्थापन सुधार गर्न सके अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मकता बढ्ने स्थितिपत्रको निष्कर्ष छ ।
त्यसैगरी यो दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकको प्रमुख अवसरका रूपमा राखिएको छ । न्यून पुँजीमा उच्च मूल्य सिर्जना गर्ने यस्ता क्षेत्रले नेपाली युवा शक्तिलाई विश्व बजारसँग जोड्न सक्ने सम्भावना औँल्याइएको छ ।
स्थितिपत्रले कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन, आय र निर्यात बढाउन सकिने स्पष्ट पारेको छ । उच्च मूल्यका बाली, पशुपालन, बगैँचा विकास तथा कृषि प्रशोधन उद्योगमा लगानी बढाएर आयात प्रतिस्थापन सम्भव रहेको उल्लेख गरिएको छ । त्यस्तै औद्योगिक विकास, आपूर्ति शृङ्खला सुदृढीकरण, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्लस्टर तथा व्यापार सहजीकरणलाई निर्यातमुखी अर्थतन्त्र निर्माणका प्रमुख साधन भनिएको छ । भौगोलिक अवस्थाको लाभ उठाउँदै नेपाललाई क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ बनाउने सम्भावना पनि स्थितिपत्रले औँल्याएको छ ।
सरकारले यातायात, ऊर्जा, सिँचाइ र डिजिटल पूर्वाधारमा तीव्र लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलबाट ठुला आयोजना अघि बढाउने सम्भावना रहेको दस्तावेजमा उल्लेख छ । त्यसैगरी वार्षिक रूपमा ठुलो रकम भित्र्याउने विप्रेषण (रेमिट्यान्स) लाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सिप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा जोड दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सिपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको बताइएको छ ।
वित्तीय क्षेत्रतर्फ वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ, दीर्घकालीन लगानी उपकरण विस्तार गरी बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने सिफारिस गरिएको छ । स्थितिपत्रमा मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जङ्गल र जडीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख छ । जैविक तथा पर्यावरणीय सन्तुलन कायम राख्दै स्रोत उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने स्थितिपत्रमा सार्वजनिक गरिएको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब अमेरिकी डलर नजिक पुर्याउने राखिएको छ । यसका लागि पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्याउने राष्ट्रिय गौरवका आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने, कृषि–उद्योग–पर्यटनबीच अन्तरसम्बन्ध बलियो बनाउने, गुणस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्ने तथा डिजिटल अर्थतन्त्र विस्तार गर्ने आधारहरू प्रस्तुत गरिएको छ ।
कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा नदिनुको कारण कमजोर कार्यान्वयन क्षमता, सीमित वित्तीय स्रोत, प्राथमिकता निर्धारणमा कमजोरी तथा स्रोतको कुशल विनियोजन हुन नसक्नु रहेको पनि स्थितिपत्रमा उल्लेख छ । रासस
-

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
रासस
१४ वैशाख, राँझा (बाँके) । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चारवटा चित्तल फसेका थिए ।स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागबन्गडा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।
‘सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ’, वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, ‘नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँपटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।’ वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् ।
सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका-२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।
-

सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
काठमाडौँ, वैशाख १४ गते । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।
कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘चक्रीय कोष’ स्थापना गरिएको छ । उक्त कोषमार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गरिने भएको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, सञ्चालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिने व्यवस्था गरिएको छ । कार्यविधिले पाँच लाख रुपियाँसम्म बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ का रूपमा परिभाषित गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ ।
यस्तै एकल महिला ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।
बचतकर्ताले रकम फिर्ता लिन दाबी निवेदन दिनुपर्ने तथा समितिले सार्वजनिक सूचना जारी गरेपछि आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।आवश्यक कागजातमा नागरिकता प्रमाणपत्र, सेयर सदस्यता वा प्रमाणपत्र, प्यान नम्बर, राष्ट्रिय परिचयपत्र, बचत विवरण, बैङ्क खाता नम्बर, ऋण विवरणलगायत समावेश रहनुपर्ने व्यवस्था छ । रकम सिधै बचतकर्ताको बैङ्क खातामा पठाइने र फिर्ता गर्दा समस्याग्रस्त घोषणा हुनुअघिको मौज्दातलाई आधार मानिने कार्यविधिमा उल्लेख छ ।
कोषमा पर्याप्त रकम नभएमा सबै बचतकर्तालाई दामासाही (अनुपातका आधारमा) रकम वितरण गर्न सकिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधि अनुसार ऋण नतिरेका बचतकर्ता, सहकारीका सञ्चालक तथा व्यवस्थापक र उनीहरूको एकाघरपरिवार, अपचलनमा संलग्न व्यक्ति तथा अदालतमा मुद्दा विचाराधीन रहेका दाबीकर्ताले तत्काल रकम फिर्ता नपाउने कार्यविधिमा उल्लेख छ ।समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति र बैङ्क खाता रोक्का गरिने भएको छ । आवश्यक परे उनीहरूको तथा परिवारको नाममा रहेको सम्पत्ति लिलामी गरी बचतकर्ताको रकम फिर्ता गरिने कार्यविधिमा उल्लेख छ ।
-

इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति
तेहरान, वैशाख १३ गते । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।”
कुराकानीका क्रममा उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए । अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताए ।
पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असर गर्ने गम्भीर परिणाम हुन सक्ने बताए । उनले इरानले आफ्ना छिमेकी देशसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताए । यी देशले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । रासस–एएफपी -

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने काम आज पनि निरन्तर
काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो ।
राति अबेरसम्म धेरै संरचना हटाउन बाँकी रहेकाले सो कार्यलाई आज पनि निरन्तरता दिइएको उनले बताए । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नगर प्रहरी परिचालन गरिएको थियो ।
सरकारको निर्देशन अनुसार सार्वजनिक तथा सरकारी जमिनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने कार्य भइरहेको छ । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो अभियान आवश्यक रहेको जनाएको छ । महानगरपालिकाले आगामी दिनमा पनि यस्ता संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ । रासस
-

अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार
काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो ।
यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोवासको उचित व्यवस्थापन गरिने बताउनुभयो ।
अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोवासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ ।
बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । अतिक्रमित बस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोवास र खानपानको व्यवस्था मिलाइएको छ ।
अभियान अन्तर्गत काठमाडौँ उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो ।
आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ । यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।
प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षणयसैबिच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती खाली गराउने कार्यको अवलोकन गरे । त्यसक्रममा उनले भूमिहीन नागरिकलाई उचित व्यवस्थापन र सुरक्षित स्थानमा सार्ने कामबारे जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस्ती हटाउने क्रममा शनिबार मनोहरा खोला किनारमा प्रहरीसँग सामान्य झडप भएको थियो । त्यस क्रममा स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका थिए । आज भने यो समाचार तयार गर्दासम्म शान्तिपूर्ण रूपमा बस्ती खाली गराउने क्रम चलिरहेको छ ।
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह
मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ ।
सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबिचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ । एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ । रासस -

मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती
काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो ।
मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ । स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयका अनुसार नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याउने व्यवस्था मिलाइएको छ । त्यहाँ सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पुर्याइने छ ।
मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।
-

आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन
काठमाडौँ, वैशाख १३ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीसँगै यस वर्ष राजस्व सङ्कलनमा समेत बढेको छ । उनका अनुसार शनिबारसम्म १११ समूहका ७०१ पुरुष र ३४३ महिना गरी ९४४ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन् । यो सिजनमा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि सबैभन्दा बढी राजस्व सङ्कलन सगरमाथाबाट ८९ करोड तीन लाख ९३ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
सगरमाथा आरोहण गर्न मात्रै यो सिजनमा ४१ समूहका ३१३ पुरुष र ९७ महिला गरी ४१० आरोहीले अनुमति लिएको उनले बताए । विभागले गत फागुन १७ देखि यो यामका लागि आरोहण अनुमति खुला गरेकोमा शुक्रबारसम्म नेपालसहित ७६ देशका आरोहीले अनुमति लिएका हुन् । जसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिएका नेपालसहित ५४ देशका आरोही सगरमाथा आधार शिविरमा आरोहणको बाटो खुल्ने प्रतीक्षामा छन् ।यस याममा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट १२७, अमेरिकाबाट एक सय, भारतबाट ७१, जर्मनीबाट ६५, बेलायतबाट ६४, रुसबाट ६० जनाले अनुमति लिएका छन् । सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेपछि शरदयामदेखि आरोहण शुल्कमा बढोत्तरी भएको हो ।
विगतका शरद ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु भएपछि यस वर्षको उक्त याममा राजस्व तेब्बरले बढेर साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको थियो ।
-

थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयका कारण थापाथलीमा सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सरकारको कदमलाई समर्थन गर्दै बस्ती छाड्न सहयोग पुर्याएको सल्लाहकार शाहले जानकारी दिए ।
शनिबार थापाथलीबाट विस्थापित भएका ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशाला पुर्याई विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन नहुन्जेल काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ ।
होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा आइतबारदेखि नै पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिने सल्लाहकार शाहले बताउनुभयो । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्य अघि बढाइने सरकारको योजना रहेको छ ।
-

थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन
१२ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख १२ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार शनिबार दिउँसो २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् ।
यसै गरी प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएका छन् । होल्डिङ सेन्टरमा आएका सुकुम्बासीका लागिसमेत प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । सरकारले विवरण सङ्कलन र उनीहरूको ‘स्क्रिनिङ’ का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ ।
विभिन्न स्थानका सुकुम्बासीका लागि फरक(फरक डेस्क स्थापना गरी विवरण सङ्कलन भइरहेको छ । सरकारी टोलीका अनुसार रङ्गशालामा विवरण सङ्कलन कार्य सम्पन्न भएपछि ती परिवारलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समययता सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
-

गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर
१२ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–९, गैरीगाउँको सुकुमवासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशन अनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”
अभियानका क्रममा सुरक्षाकर्मीलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। रासस
-

थापाथली सुकुमबासी बस्ती खाली गराइयो
१२ वैशाख, काठमाडौं । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियान दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामङ्गल र गैरीगाउँका सुकुमवासी बस्ती हटाइने छ भने दोस्रो चरणमा अन्य क्षेत्रका बाँकी बस्ती हटाउने योजना रहेको महानगरले जनाएको छ ।
बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’ मा लगिने छ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् वर्गीकरण (सेग्रिगेसन) गरिने छ । विस्थापितलाई राख्न सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस)मा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०६९ मा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपियाँ लगानी गरेको थियो ।
नागार्जुनका दुई स्थानमा निर्मित भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक (एकाइ) उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भए तापनि स्थानीयको अवरोधका कारण अहिलेसम्म ती भवन प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनको उपयोग गरी वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।
-

सुनिताको आह्वासन : सुकुम्बासी बस्ती हटाउँदा मानवीयताको ख्याल गरिन्छ
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले अभियानका क्रममा जेष्ठ नागरिक, बिरामी, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने प्रतिबद्धता जनाएकी हुन्।
गत वैशाख ११ गते काठमाडौं महानगरपालिकाका नगर कार्यपालिका सदस्यहरूबीच भएको छलफल र त्यसको मार्गनिर्देशनका आधारमा कार्यवाहक मेयर डंगोलले यो धारणा सार्वजनिक गरेकी हुन् । पछिल्लो समय नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरभित्रका नदी किनार तथा अन्य सार्वजनिक, पर्ति, ऐलानी र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेका छन्। उक्त कार्यमा महानगरलाई सहयोगको अनुरोध आएबमोजिम महानगरले सहयोगी भूमिका निर्वाह गर्न लागेको उनले जानकारी दिएकी छन्।
‘अनधिकृत संरचना हटाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसहरूको विशेष ख्याल राखिनेछ,’ डंगोलले भनेकी छन्, ‘सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गर्ने र कानुन र न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहनेछ।’
सुकुम्वासी बस्ती र अनधिकृत संरचना हटाउने क्रममा त्रास सिर्जना हुने र झडपका घटनाहरू हुने गरेका छन्। यसै सन्दर्भमा कार्यवाहक मेयर डंगोलले कानुन र न्यायको प्रतिकूल नहुने गरी सुरक्षित र सम्मानजनक व्यवस्थापनमा जोड दिएकी हुन्। उनले सार्वजनिक र निजी जग्गा संरक्षणको यस कार्यलाई सफल र विवादरहित बनाउन आवश्यक सहयोग तथा समन्वयका लागि सरोकारवाला सम्पूर्ण निकाय, पदाधिकारी र सर्वसाधारणलाई हार्दिक अपिल समेत गरेकी छन् ।
-

भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति
काठमाडौँ, वैशाख १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन् । दसौँ भूकम्प स्मृति दिवसको सन्देश जारी गर्दै उनले भनेका छन्, “हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्व तयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।”
राष्ट्रपति पौडेलले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी ज्यान गुमाउनु हुने सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन पनि अर्पण गरेका छन् । सन्देशमा भनिएको छ, ‘‘भूकम्प एक प्राकृतिक विपत् हो । प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ ।’’
नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने उनको भनाइ छ । नवनिर्मित एवम् पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनु पर्ने उल्लेख गर्दै उहाँले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउनु हुने सबैलाई सन्देशमा धन्यवाद दिएका छन् । रासस
-

काठमाडौंका सुकुमबासी बस्तीमा चल्यो डोजर, अवस्था शान्तीपूर्ण
१२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर चलाइएको हो । बस्ती हटाउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।
तर, अवस्था शान्त छ । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।
घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका छन् । सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।
-

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ, यस्तो छ कारण
११ वैशाख, काठमाडौं । राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पक्राउ गरिएको बताए ।
पाण्डेसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि सोही कसुरमा पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरुमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।
सोही कसुरमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । उक्त मुद्दामा हालसम्म जम्मा नौजना शङ्कास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । रासस
-

त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् । उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।
यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’ काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित रहेको पनि उनले उल्लेख गरेका छन् । हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य बिर्सिएको हो ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।
‘यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भनेका छन् । दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्न उपयुक्त ठानेर सरकारले काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ थियो ।
-

सुकुमवासी बस्ती खाली गर्ने र त्यसपछिको सरकारको योजना यस्तो
११ वैशाख, काठमाडौं । सरकारले उपत्यका भित्रका अव्यवस्थित बस्ती हटाउनका लागि सबै सरोकारवाला निकायहरूलाई जोडेर विस्तृत कार्ययोजना तयार गरेको छ । बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षमा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ११ बुँदे निर्णय गरेको छ ।
उक्त निर्णय अनुसार बस्तीबाट हटाएर सुरक्षित स्थलमा लैजाने, खानपानको व्यवस्था गर्ने र भेरिफिकेसन क्याम्पमार्फत सुकुम्बासी पहिचान गरिने छ । बस्तीका मानिसहरू सार्नका लागि सरकारी गाडी प्रयोग गरेर लगायतका निर्णय छन् ।
यस्तो छ सरकारको योजना
१. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्वसूचना दिँदै संरचनाहरू भत्काउनु पूर्व नै उक्त स्थानहरू खाली गर्ने तर्फ जोड दिने ।
२. जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको सूचना एवम् माइकिङ बमोजिम २०८३ बैशाख १२ र १३ गते बस्ती संरचनाहरू हटाउने, भत्काउने र खाली गर्ने कार्यका लागि आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सर सामानका लागि विभिन्न कार्यालयबाट पत्राचार भए बमोजिमका निकायहरूबाट आवश्यक प्रबन्ध तत्काल गर्ने ।
३. बस्ती खाली गराउने सिलसिलामा माइकिङ गरिसकेपछि सुरक्षित आश्रयस्थलसम्म लैजाने सन्दर्भमा मानवीय मद्दत उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध-वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउने ।
यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने । सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने ।
४. बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने ।
५. पहिलो आश्रयस्थलबाट तोकिएका विभिन्न स्थलहरूमा लगी अल्पकालीन रूपमा बसोबासको प्रबन्ध मिलाउने । उक्त स्थानमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थाहरू मिलाउने कार्य शहरी विकास मन्त्रालयले गर्ने ।
६. यसरी व्यवस्थापन गरिएका बसोबासका क्षेत्रहरूमा प्रत्येक परिवारको भेरिफिकेशन क्याम्प खडा गर्ने र निजहरूलाई फोटो सहितको परिचयपत्र वितरण गर्ने । भेरिफिकेशन हुन नसकेका व्यक्तिहरूलाई क्रमशः उक्त स्थानबाट समेत बिदा गर्दै जाने कार्य शहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गर्ने ।
७. बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने ।
८. अग्रपङ्क्तिमा रही माइकिङ गर्ने, सूचना दिने, बस्ती खाली गराउने तथा मानवीय सहायताका लागि आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्ने समेतका कार्यहरू काठमाडौं महानगरपालिकाले गर्ने । यस कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध जिल्ला सुरक्षा समितिले मिलाउने ।
९. यी माथिका निर्णयहरू बमोजिमका कार्यहरू गर्न केन्द्रीय समन्वय समितिको रूपमा देहायबमोजिमको समिति गठन गर्ने । उक्त समितिले समन्वय, निर्देशन, आवश्यक नीतिगत निर्णय र साधन स्रोतको व्यवस्थासमेतका विषयलाई तत्काल सम्बोधन गर्ने ।
देहाय
१. माननीय शहरी विकास मन्त्री – संयोजक
२. काठमाडौं महानगरपालिका प्रमुख – सदस्य
३. गृह मन्त्रालयका सचिव – सदस्य
४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव – सदस्य
५. शहरी विकास मन्त्रालयका सचिव – सदस्य
६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव – सदस्य
७. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव – सदस्य
१०. माथि निर्णय नम्बर ९ बमोजिम गठन भएको केन्द्रीय समन्वय समितिको अधीनमा रही सम्बन्धित मन्त्रालय, निकायहरूबाट आ आफ्ना क्षेत्रगत विषयहरूलाई तत्काल कार्यान्वयनमा लैजान कार्यान्वयन समिति एक्सन टिम बनाई तोकिए बमोजिमका कार्यहरू गर्ने र सोको नियमित रिपोर्टिङको कार्य केन्द्रीय समन्वय समितिलाई गर्ने ।
११. बस्तीहरू खाली गर्ने, सुरक्षाकर्मीहरू परिचालन एवम् आश्रयस्थलहरूमा व्यवस्थापन र पुनर्वाससमेतका कार्यहरू गर्दा प्रत्येक चरणमा क्षेत्र स्तरमा आउनसक्ने सम्भावित समस्याहरू र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय, काठमाडौं मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायहरूबाट उपलब्ध गराउने ।
-

सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नहुने सरकारको स्पष्टोक्ति
११ वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने बताएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो,’ उनले भने ।
पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उनले बताए । ‘वास्तवमा तीनवटा सुकुमवासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो,’ पोखरेलले भने, ‘बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसअघि विभिन्न वर्षमा आएका थिए । देशका सबै ठाउँका सुकुमवासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुमवासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा उनले राखे । पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुमवासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताए ।
-

सुकुमबासी बस्ती जबर्जस्ती नहटाउ : कांग्रेस
११ वैशाख, काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधान वार्ताबाटै हुनुपर्ने बताएको छ । प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो नहुने बताए । बल प्रयोग गर्ने विषय अन्तिम विकल्प भएको बताउँदै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने आफूहरूको धारणा रहेको उनले बताए ।
‘चाहे सुकुमवासीको कुरो होस चाहे विद्यार्थीको कुरो होस चाहे अन्य विषय किन नहुन । संवाद सहकार्य वार्ताबाटै मात्रै यी कुराहरु मुठभेडबाट होइन समाधान खोज्ने,’ चालिसेले भने, ‘कुरा सुन्नु पर्यो जनताको आवाज सुन्नु पर्यो अनि समाधानको अगाडि जानु पर्यो । समाधान पछि उपाय केही लागेन भने सरकारले हिंसा प्रयोग गर्ने सरकारले बल जफत गर्ने भन्ने कुरा त अन्तिम विकल्प हो नि ।’
उनले थप अघि भने, ‘अन्तिम विकल्पलाई बिना वार्ता बिना संवाद पहिलै विकल्पको रुपमा प्रयोग गर्नु भनेको यो सरकारको बचपना हो यो अनुभवको अभाव हो यो अपरिपक्वता हो ।’
-

अब त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष चौबिसै घण्टा खुला
काठमाडौँ, वैशाख ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो । गत मङ्गलबारदेखि थप व्यवस्थित गरेको जनाइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र प्रवासी नेपाली समन्वय समिति ९पिएनसिसी० सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष सञ्चालन गरिएको छ ।
श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिए । उनले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यसहित सहायता कक्ष चौबिसै घण्टा सञ्चालनमा गरिएको बताए ।
सहसचिव घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम हुँदै आएको छ । विदेशमा अप्ठ्यारो परेमा सहयोग लिने दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने गरेको छ ।
श्रम सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि नै वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुनः जानेले बढी चासो राख्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए ।
-

अरनिको राजमार्ग विस्तार : निर्माण सामग्रीमा मूल्यवृद्धिले प्रगति सुस्त
रासस
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् ।
१५ दशमलव ८ किलोमिटर सडक विस्तारको महत्वाकांक्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् ।
साँगा–धुलिखेल सडकखण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत कामसक्ने लक्ष्यसहित तीव्रगतिमा निर्माण भइरहेको थियो ।
जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ ।
श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गरे ।
निर्माण व्यवसायीले भारतबाट सडक पक्की गर्ने कच्चा पदार्थ ‘बिटुमिन’ तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गरे ।
विस्तारित राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ ।अनुगमनका क्रममा विहीबार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा निर्माण कम्पनीले जोड दिनुपर्ने बताए । उनले यात्रीलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गरे ।
त्यसैगरी, काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पानी नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गर्दै निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको बताए ।
यसैबीच, आयोजनाले थपिएको समयमा विस्तारकार्य सम्पन्न गर्नेसमेत जनाएको छ । २ लेन रहेको उक्त राजमार्गको यस खण्डलाई ६ लेनका लागि विस्तार कार्य भइरहेको छ । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २।५ मिटरको फुटपाथ निर्माण भइरहेको छ ।
आयोजनाको समयावधि सकिएपछि गत मंसिर अन्तिम साता पुनस् एक वर्ष थपेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको हो ।
आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मंसिर २७ गते सम्झौता भई २०८२ मंसिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको थियो ।
साँगा क्षेत्रमा भइरहेको निर्माण कार्य
हाल पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ । बनेपाबाट साँगातर्फ दुवै लेनमा कालोपत्रको तयारी भइरहेको छ । यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ ।बनेपाको चाँदनी चोकमा कर्ल्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा ७।५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।
उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।
हाल साँगामा ‘अन्डरपास’ निर्माणकार्य भइरहेको छ । भक्तपुर–धुलिखेल सडक आयोजनामध्ये पर्ने तीनवटा पुलको निर्माण प्रक्रिया आयोजनाको योजनाअनुसार अघि बढिरहेको जनाइएको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
-

युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा
मस्को, वैशाख ११ गते । किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् । रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन सङ्घर्ष गरिरहेको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । “तुआप्से तेल प्रशोधन केन्द्रमा चार वटा भण्डारण ट्याङ्कीमा आगलागी भएको छ र आगलागी अझै जारी छ,” क्षेत्रीय आपतकालिन मुख्यालयले बिहीबार एएफपीलाई जानकारी गराएको छ ।
आगोले बुधबार विषाक्त वर्षा निम्त्याएको थियो । “हावामा विषाक्त कणको एकाग्रताका कारण वायु प्रदुषणको मात्रा ‘दुईदेखि तीन गुणा’ वृद्धि भएको थियो,” अधिकारीहरूले बताए अनुसार विषाक्त ध्वाँसोको वर्षाले तटीय क्षेत्रका बस्तीमा सतहमा कालोपन देखिएको छ । स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अपुष्ट तस्बिरमा सहरमा ठुलो कालो बादल, समुद्र र समुद्री तटमा तेल पोखिएको र किनारमा मरेका माछा र चराचुरुङ्गीहरू रहेका देख्न सकिन्छ ।
छाडा कुकुर र बिरालाको शरिरको रौँ कालो अवशेषले ढाकिएको चित्रित गरिएको थियो, र साना कालो दागले भरिएका कार पार्क गरिएका थिए । सहरका अधिकारीले बुधबार बासिन्दालाई झ्याल बन्द गर्न, बाहिरी गतिविधि सीमित गर्न र बाहिर जान आवश्यक छ भने अनुहार मास्क लगाउन चेतावनी दिएका छन् । छुट्टी मनाउनेको बिचमा लोकप्रिय दक्षिणी रूसी सहर तुप्से युक्रेनको निशानामा धेरै पटक परेको छ । किएभले हालैका हप्तामा सी ऊर्जा निर्यातबाट रूसको राजस्वलाई पूभावित पार्न खोज्दै सेनाको लागि कोषको एक प्रमुख स्रोत मानिने रूसी तेल भर्ने बन्दरगाहमा आक्रमण बढाएको छ । रासस-एएफपी
-

होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी
वासिङ्टन, वैशाख ११ गते । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्णरूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएअनुसार इरानले जलमार्गमा राखेका बारुदी सुरुङ हटाउने प्रक्रिया अत्यन्त जटिल हुने देखिएको छ । यसले तेल र ग्यासको आपूर्तिमा लामो समयसम्म अवरोध कायम रहन सक्ने चिन्ता बढाएको छ । हाल इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबिच जारी द्वन्द्वका कारण उक्त जलमार्ग तनावपूर्ण बनेको छ ।
सामान्य अवस्थामा विश्वको करिब पाँचौ भाग तेल र ग्यास यही मार्ग हुँदै बग्ने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर असर परेको छ । अस्थिर युद्धविराम जारी रहे पनि होर्मुज क्षेत्र अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन, किनभने अमेरिकाले नाकाबन्दी पनि कायम राखेको छ । पेन्टागनको मूल्याङ्कनअनुसार युद्ध समाप्त भए पनि र नाकाबन्दी हटे पनि खतराजन्य संरचना सफा गर्न महिनौँ लाग्नेछ र युद्ध समाप्त नभएसम्म यस्तो अभियान सुरु हुने सम्भावना न्यून छ ।
उक्त छ महिनाको अनुमान अमेरिकी संसद्को हाउस आम्र्ड सर्भिस कमिटीका सदस्यलाई दिइएको गोप्य ब्रिफिङमा प्रस्तुत गरिएको बताइएको छ । जानकारी अनुसार इरानले होर्मुज र आसपास क्षेत्रमा करिब २० भन्दा बढी बारुदी सुरुङ राखेको हुन सक्ने अनुमान गरिएको छ, जसमा केही आधुनिक प्रविधिबाट टाढैबाट सक्रिय गर्न सकिने किसिमका भएकाले पहिचान र निष्क्रिय पार्न अझ कठिन भएको छ ।
यद्यपि, पेन्टागनका प्रवक्ता सीन पार्नेलले उक्त मूल्याङ्कनमा आधारित विवरण ‘गलत’ भएको प्रतिक्रिया दिनुभयो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले करिब एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रलाई ‘खतराको क्षेत्र’ घोषणा गरेको छ । यो पेरिसको आकारभन्दा १४ गुणा ठूलो रहेको बताइएको छ । यसले समुद्री मार्ग अझ असुरक्षित बनेको सङ्केत गरेको छ ।
यसअघि इरानले अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेसम्म होर्मुज नखोल्ने अडान दोहोर्याइसकेको छ । उता अन्तर्राष्ट्रिय ढुवानी कम्पनीले पनि जोखिमका कारण वैकल्पिक मार्ग खोज्न थालेका छन् । जर्मनीस्थित हपाग–लोयडका प्रतिनिधिले ढुवानी सञ्चालनका लागि स्पष्ट र सुरक्षित मार्ग आवश्यक रहेको बताएका छन् । युद्धविराम सुरु भएलगत्तै केही समयका लागि जलमार्ग आंशिक रूपमा खुला भए पनि आक्रमण र बारुदी सुरुङको डरले अत्यन्त सीमित जहाज मात्र आवतजावत गरेका थिए ।
यसअघि अमेरिकी नौसेनाले खानी हटाउने प्रयास गरेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै आफ्ना जलक्षेत्रमा प्रवेश गर्ने सैन्य जहाजलाई चेतावनी दिएको थियो । यसैबिच लन्डनमा बेलायत र फ्रान्सको पहलमा ३० भन्दा बढी देशका सैन्य योजनाकार सहभागी बहुराष्ट्रिय वार्ता भइरहेको छ, जसमा युद्धपछि होर्मुज पुनः खोल्ने र बारुदी सुरुङ हटाउने योजनाबारे छलफल भइरहेको छ । प्रस्तावित ‘रक्षात्मक गठबन्धन’ ले समुद्री सुरक्षा सुनिश्चित गर्दै जलमार्ग पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखेको बताइएको छ । रासस-एएफपी
-

खानेपानीका तत्कालीन कार्यालय प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ, वैशाख १० गते । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी सो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।
निज यादव सार्वजनिक पदमा नियुक्ति भएको मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार संगोलमा रहेका व्यक्तिहरुले उपर्युक्त अवधिमा विभिन्न आयस्रोतहरुबाट कानुनी रुपमा आर्जन गरेका वैधानिक आय तीन करोड ४६ लाख २१ हजार ४०१ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सोही अवधिमा निजको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च, ऋण सापटी, बैङ्क मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रुपियाँ कुल व्यय देखिएको छ ।
समग्रमा कुल आयभन्दा बढी देखिएको कुल व्ययतर्फको स्रोत नखुलेको एक करोड ४६ लाख ८१ हजार २२५ रुपियाँ बिगो रकम कायम गरी निजको श्रीमती निर्मला कुमारीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
-

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार, के के समेटिए
१० वैशाख, काठमाडौं । आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसमक्ष पेश गरिएको छ । मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा गठित समितिले तयार पारेको रणनीति पेश गरिएको हो । गत चैत १३ गते मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय बुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्नेगरी ऊर्जामन्त्री श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए ।
रणनीतिमा विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाउन जोड दिँदै खपतपछि बचत भएको विद्युत् निर्यात प्रवद्र्धन गर्ने दीर्घकालीन मार्ग चित्रसमेत प्रस्तुत गरिएको छ । शतप्रतिशत घरधुरीमा विद्युतीकरण गर्दै प्रसारण र वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।
विद्युतीय घरायसी उपकरणको प्रयोगमा थप आकर्षित गर्ने, मिटर र ट्रान्सफर्मरको क्षमतामा सुधार गरी एलपी ग्यासको प्रयोग क्रमशः घटाउनुपर्नेमा रणनीतिले जोड दिइएको छ । हाल प्रतिव्यक्ति ऊर्जा खपत करिब ४५० किलोवाट आवर रहेकोमा आगामी १० वर्षभित्र १ हजार ५०० किलोवाट आवर पुर्याउन सकिने रणनीतिमा उल्लेख छ । त्यस्तै सार्वजनिक यातायातका क्षेत्रमा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनुपर्ने, चार्जिङ स्टेसनहरूको नेटवर्क विस्तार गर्न सुझाव दिइएको छ । उद्योगहरूमा प्रयोग हुँदै आएको कोइला तथा पेट्रोलियममा आधारित बोयलरलाई विद्युतीय प्रणालीमार्फत प्रतिस्थापन गर्ने नीति लिइएको छ ।
ऊर्जा खपत वृद्धिका निम्ति विद्युत् महशुललाई उपभोक्ता मैत्री ‘सिजनल’ दर तय गर्नुपर्ने योजना पनि रणनीतिमा समेटिएको छ । यसले ऊर्जा उपयोगको दक्षता बढाउनुका साथै व्यापार घाटा घटाउन र विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैगरी उत्पादनतर्फ जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाहरूको हिस्सा बढाएर सुक्खा र वर्षायाम बीचको उत्पादन असन्तुलन समाधान गर्ने लक्ष्य लिइएको छ । साथै, देशव्यापी प्रसारण प्रणाली विस्तारसँगै अन्तरदेशीय प्रसारण लाइनमार्फत क्षेत्रीय बजारमा विद्युत निर्यात बढाउने योजना पनि अघि सारिएको छ । निर्यातलाई विशेषगरी उच्च माग हुने साँझको समयमा केन्द्रित गरी बढी आर्थिक लाभ लिने रणनीति बनाइएको छ । जसमा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने लक्ष्य लिइएको छ ।
रणनीतिले सम्भावित जोखिमहरूको पहिचान गर्दै तिनको व्यवस्थापनका लागि स्पष्ट उपायहरू प्रस्ताव गरेको छ । यसका साथै, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने र नेपाल विद्युत प्राधिकरणमा संरचनात्मक सुधार गरी कार्यक्षमता अभिवृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि कडा अनुगमन प्रणाली अपनाउने र कार्यसम्पादनका आधारमा जिम्मेवारी सुनिश्चित गरिने जनाइएको छ । गठित समितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्ण पन्थ, मन्त्रालयका कानुन हेर्ने सहसचिव जोख बहादुर डाँगी, विद्युत् नियमन आयोगका सचिव नविन राज सिंह, विद्युत् प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक राजन ढकाल, निर्देशक थर्कबहादुर थापा, मन्त्रालयका सीडीई द्वय राजु महर्जन र सञ्जिव राय सदस्य थिए ।