१२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर चलाइएको हो । बस्ती हटाउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।
तर, अवस्था शान्त छ । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।
घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका छन् । सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।