काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।
Category: अर्थतन्त्र
-

देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण
१८ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ।
सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीलाई लक्षित गरी २०८३ वैशाख १२ गतेदेखि विशेष अभियान सुरु गरेको हो। जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै थापाथली, शान्तिनगर, गैरीगाउँ तथा कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा टोलका जोखिमयुक्त बस्तीहरू खाली गर्ने कार्य सम्पन्न भइसकेको छ।
यस सम्बन्धमा शहरी विकास मन्त्री सुनिल लम्सालले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका नदी किनारका ती बस्तीहरूलाई मानवीय सुरक्षाको दृष्टिकोणले मात्र खाली गरिएको स्पष्ट पारे । मन्त्री लम्सालले बाँकी क्षेत्रमा रहेका सुकुम्बासीको हकमा भने उनीहरूको पहिचान र उचित व्यवस्थापनको खाका तयार नभएसम्म जग्गा खाली गर्ने प्रक्रिया अगाडि नबढाइने प्रतिबद्धता जनाउँदै वास्तविक सुकुम्बासी परिवारलाई ढुक्क हुन आग्रह गरेका छन् ।
यो अभियान सरकारको नीतिगत निर्णय अनुरूप अगाडि बढेको हो। गत वर्ष चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ९२ मा सार्वजनिक जग्गाको संरक्षण गर्ने, डिजिटल अभिलेख तयार गर्ने र नयाँ अतिक्रमणलाई कडाइका साथ रोक्ने स्पष्ट व्यवस्था गरिएको छ। सोही नीतिलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ वैशाख १७ गते देशभरका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै हुने भएकाले मन्त्रालयले सम्बन्धित पालिकालाई सुकुम्बासीको पहिचान गर्न र उनीहरूको सुरक्षित व्यवस्थापनको ठोस योजना बनाउन निर्देशन दिएको छ।
व्यवस्थापनको प्रक्रियामा उनीहरूको आधारभूत मानव अधिकारलाई सुरक्षित गर्न मन्त्रालयले विशेष जोड दिएको छ। सुकुम्बासी व्यवस्थापन गर्दा सुरक्षित आवासको प्रबन्ध, स्वास्थ्य उपचार, पौष्टिक खानपान, गोपनीयताको संरक्षण, तथा महिला र अपाङ्गतामैत्री आवास र सुरक्षा प्रबन्ध मिलाउन स्थानीय तहहरूलाई स्पष्ट निर्देशन दिइएको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीको पहिचान र व्यवस्थापनपछि मात्र सरकारी जग्गा खाली गर्ने सरकारको योजनामा आफूहरू दृढ रहेको र यो कार्य निकै संवेदनशील भएकाले स्थानीय तहहरूले जिम्मेवारीपूर्वक मानवीय भूमिका निर्वाह गर्नुपर्ने बताए । यस विषयमा थप स्पष्ट पार्दै गृह मन्त्रालयले समेत सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।
मन्त्रालयले स्थानीय तहले नै सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पार्ने र अतिक्रमण हटाउने कार्य गर्दा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराउनुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहको माग र उनीहरूको योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र वास्तविक सुकुम्बासीको सम्मानजनक पुनःस्थापना गर्ने दुवै कार्यलाई सन्तुलित र मानवीय ढंगले अगाडि बढाएको सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन् ।उनले भनिन्, “सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीले चिन्ता लिनुपर्ने कुनै कारण छैन। उनीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ।”
-

रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु
१७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटनामा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पुर्वबाट जलजलातर्फ गइरहेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियोे । घटनास्थलबाट २० जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । थप विवरण आउन बाकी छ ।
-

दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा
न्युयोर्क, वैशाख १७ । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।
प्रतिवेदन अनुसार ७३ हजार ३०० मानिसले दुःखद एंव “विनाशकारी” भोकमरी सङ्कटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिस भोकमरीको आपतकालीन चरणको सामना गर्दै बाँचिरहेको बताइएको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका एजेन्सीले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् । आइपिसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सी, क्षेत्रीय साझेदार र सहायता संस्थाको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । रासस-क्युएनए
-

भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?
नयाँदिल्ली, वैशाख १७ । भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु–अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ । विपक्षी नेता राहुल गान्धीले यस परियोजनालाई ‘विकासको नाममा विनाश’ भन्दै कडा आलोचना गरेका छन् र यसविरुद्ध अभियान चलाउने सङ्केत दिएका छन् ।
नयाँदिल्लीबाट करिब तीन हजार किलोमिटर टाढा अवस्थित ग्रेट निकोबार टापु विश्वकै व्यस्त जलमार्ग स्ट्रेट अफ मलक्काको प्रवेशद्वार नजिक पर्छ । यहाँबाट करिब ३० प्रतिशत विश्व समुद्री व्यापार आवतजावत हुने गर्छ । यही भूराजनीतिक महत्त्वलाई ध्यानमा राख्दै भारत सरकारले करिब नौ अर्ब डलर लागतमा कन्टेनर बन्दरगाह, अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ सहर निर्माणसहितको व्यापक विकास योजना अघि बढाएको हो ।तर यो योजनाले ९१० वर्गकिलोमिटर क्षेत्रफलको टापुमा फैलिएको प्राचीन वर्षावन तथा त्यहाँ सदियौँदेखि बसोवास गर्दै आएका आदिवासी समुदायको अस्तित्वमाथि नै प्रश्न उठाएको भन्दै विरोध बढेको छ । राहुल गान्धीले टापुको भ्रमणका क्रममा सार्वजनिक भिडियो सन्देशमार्फत आफूले देखेको अवस्थालाई ‘देशको प्राकृतिक र आदिवासी सम्पदामाथिको गम्भीर आक्रमण’ को संज्ञा दिए ।
उनका अनुसार यो कुनै साधारण विकास परियोजना नभई लाखौँ रुख काटिने, करिब १६० वर्गकिलोमिटर वर्षावन नष्ट गरिने र स्थानीय समुदाय विस्थापित हुने प्रक्रिया हो । उनले आदिवासीको भूमि र जीवनशैलीलाई बेवास्ता गरिएको आरोप लगाउँदै यस्तो योजनालाई रोक्न पहल गर्ने स्पष्ट पारे । यता प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस परियोजनालाई राष्ट्रिय हितसँग जोड्दै रणनीतिक, रक्षा र आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठहर गरेका छन् ।
भारतको वातावरणीय अदालतले पनि गत फेब्रुअरीमा यस योजनालाई स्वीकृति दिएको छ, जसले सरकारलाई परियोजना अघि बढाउन कानुनी आधार दिएको छ । सरकारका तर्फबाट वातावरणमन्त्री भूपेन्द्र यादवले परियोजनाले स्थानीय आदिवासी समुदायलाई कुनै खतरा नपार्ने र पर्यावरणीय सन्तुलनलाई असर नगर्ने दाबी गर्नुभएको छ । तर अधिकारकर्मी र अन्तर्राष्ट्रिय संस्थाले यस दाबीमाथि प्रश्न उठाउँदै आएका छन् ।सर्वाइवल इन्टरनेसनलका अनुसार ग्रेट निकोबार टापुमा करिब नौ हजार मानिस बसोवास गर्छन् । तीमध्ये करिब एक हजार २०० जना निकोबारी र सोम्पेन जस्ता आदिवासी समूहका छन् । विशेष गरी सोम्पेन समुदाय अझै बाह्य सम्पर्कबाट टाढा रहँदै आएको सिकारी जीवनशैलीमा निर्भर समूह हो । संस्थाकी प्रतिनिधि सोफी ग्रिगले यस परियोजनाले स्थानीय वातावरण मात्र नभई, सम्पर्कविहीन आदिवासी समुदायको अस्तित्वमै गम्भीर सङ्कट ल्याउने चेतावनी दिए ।
उनले मेगापोर्ट योजनालाई ‘गलत अवधारणामा आधारित’ भन्दै यसले सम्पूर्ण समुदाय नै लोप हुने खतरा निम्त्याउन सक्ने उल्लेख गरे । एकातिर रणनीतिक र आर्थिक विकासको तर्क प्रस्तुत भइरहेको र अर्कोतिर वातावरण संरक्षण र आदिवासी अधिकारको प्रश्न बलियो रूपमा उठिरहेको यी परस्पर विरोधी दृष्टिकोणबिच ग्रेट निकोबार परियोजना अब केवल पूर्वाधार विकासको मुद्दा नभई दीर्घकालीन प्रभाव र नैतिक उत्तरदायित्वको बहसमा परिणत भएको छ । रासस-एएफपी
-

निजामती कर्मचारीको विवरण अब अनलाइनमै
१७ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन् । बुधवारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।
योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुने पर्ने छैन । अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ ।पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरिन् । अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिइन् ।
-

६ वटा अध्यादेशबारे निर्णय लिनुपूर्व संविधानविद्सँग राय लिँदै राष्ट्रपति
१७ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका विभिन्न ६ अध्यादेशबारे राय लिनु अगाडी संविधानविद्हरूसँग राय लिने भएका छन् । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेको छ । यसले स्वयमः राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ । यसबारे पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने बताइएको छ उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल डाकेका छन् ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित ६ अध्यादेश सिफारिस गरेको छ ।
सिफारिस भएका अध्यादेशहरूमा संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठकसम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश, सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश र सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश छन् ।
यीमध्ये संवैधानिक परिषद्सम्बन्धि अध्यादेशका कारण राष्ट्रपति अप्ठेरोमा छन् । विगतमा संसदबाट पारित भएको विधेयकसमेत पुनर्विचारका लागि फिर्ता पठाएका राष्ट्रपतिसमक्ष त्यस्तै प्रावधान राखेर अध्यादेश सिफारिस भएको छ । परिषद्का ६ जना सदस्यमध्ये ३ जनाले निर्णय गर्नसक्ने प्रस्ताव अध्यादेशमा छ । विगतमा राष्ट्रपतिले विधेयकमा यही व्यवस्था गर्दा बहुमत हुनुपर्ने संवधानिक र लोकतान्त्रिक मान्यता अनुरूप नभएको भन्दै फिर्ता गरेका थिए ।
-

रवि–बालेनलाई बाचापत्र सम्झाउन संघर्षमा उत्रिदै गैरआवासीय नेपाली
१७ वैशाख, लण्डन । बालेन सरकार विरुद्ध गैरआवासीय नेपालीहरुले संघर्ष गर्ने भएका छन् । सरकारले चुनावी बाचा बिर्सेर राजनीतिक बैमानी गरेको भन्दै गैरआवासीय नेपालीहरुले विश्वभरबाट संगठित रुपमा सरकार विरुद्ध खबरदारी गर्न लागेका हुन् । त्यसको शुरुवात एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा बेलायतबाट हुने भएको छ । गाहाले सरकारले गरेको गैरआवासीय नेपालीहरुमाथि गद्धारी विरुद्ध देशविदेशबाट एकसाथ आवाज उठाउन लागिएको बताए ।
देशमा समृद्ध नभएर रोजगारीका अवसर खोज्दै विदेशमा गएका नेपाली र सन १९४७ को त्रिपक्षीय सन्धी अनुसार बेलायतमा रहेका गोर्खाहरु र गोर्खाहरुको परिवारका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको व्यवस्थाका लागि राजनीतिक लडाइँ जारी रहने गाहाको भनाइ छ । चुनावअघि गरेका बाचा, चुनावपछि बिर्सिने राजनीतिक प्रवृति देखिएकाले अर्को चुनावमा संसदमै पुगेर आफ्नै हक आफैं सुनिश्चित गर्ने बेला आएको गाहाले बताए ।
गोर्खालीहरुको वंशजको नेपाली नागरिकताको हक अधिकारका लागि जवसम्म संविधानमा व्यवस्था गर्न सक्दैनौ तबसम्म हाम्रो नागरिकताको अधिकारबाट बञ्चित भइरहन्छौं, अध्यक्ष गाहाले भने, ‘राजनीतिक बैमानीबाट पाठ सिकेर सबै गोर्खाहरु एक भएर लाग्नुको विकल्प छैन’। बेलायतबाट शुरु हुने राजनीतिक अभियानमा सबै एकजुट हुन र साथ दिन अध्यक्ष गाहाको आग्रह छ । विदेशमा रहेका नेपाली तथा गोर्खाली अब चुप लागेर नबस्ने समेत गाहाले चेतावनी दिए ।
चुनावअघि वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने बाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सत्तामा पुगेपछि बाचा चटक्कै बिर्सेको छ । गैरआवासीय नेपाली ९एनआरएन०लाई अप्ठ्यारो पर्ने गरीे ऐन संशोधनको प्रस्ताव ल्याएको भन्दै चर्को विरोध सुरु भएको हो । यसैसन्दर्भमा छलफलका लागि एनआरएनए (युके)ले २५ मे (सोमबार) एल्डरसटस्थित एम्पाएर हलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अधिकारको लडाइँ भएकाले नेपाल सरकार र सम्बद्ध निकायलाई दवाव दिन युकेबासी नेपाली तथा गोर्खालीसहित विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई साथका लागि अध्यक्ष गाहाको आह्वान छ ।
(एनआरएनए) यूकेले परराष्ट्र मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमार्फत सरकारको प्रस्तावित विधेयकप्रति स्पष्ट असहमति जनाउँदै सजिलो समाधान छाडेर जानीजानी जटिल कानुनी बाटो रोजिएको आरोप लगाएको छ । संविधान र नेपाल नागरिकता ऐन, २०६३ मा सामान्य संशोधन गरेर समाधान गर्न सकिने विषयलाई अलग्गै कानुनी संरचनामा लगेर कमजोर पार्ने प्रयास भइरहेको एनआरएनए युकेको ठहर छ ।
रास्वपाले कर्णालीबाट सार्वजनिक गरेको आफ्नो बाचापत्रको ९९ नंम्बर बुँदामा एक पटकको नेपाली सधैको नेपाली हुने र विदेशमा रहेका गैरआवासीय नेपालीको अनुकुलतामा बंशजको नागरिता र मताधिकारको व्यवस्था गर्ने भनेको थियो । त्यस अनुसार नेपालको संविधान २०७२ मा रहेको व्यवस्था र नागरिकता ऐनमा सामान्य संशोधन आवश्यक छ ।
तर, अहिले बालेन सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन संशोधन गर्न भन्दै मस्यौदा तयार गरेर छलफलका लागि गैरआवासीय नेपाली संघसहितका संबद्ध निकायमा पठाएको छ ।
नयाँ मस्यौदामा विभेदकारी प्रावधान
सरकारले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी ऐनलाई संशोधन गर्न तयार पारेको नयाँ मस्यौदामा समेटिएका कतिपय प्रावधानहरू विभेदकारी भएको भन्दै चर्को आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयमा छलफलको चरणमा रहेको उक्त मस्यौदाले विदेशमा बस्ने लाखौँ नेपालीहरूलाई नेपालसँग जोड्नुको सट्टा थप टाढा बनाउन खोजेको भन्दै एनआरएनए प्रतिनिधिहरूले आपत्ति जनाएका हुन्।
सम्पत्ति र राजस्वमा कडा व्यवस्था प्रस्तावित मस्यौदामा एनआरएनए हुनुभन्दा अगाडि नै नेपालमा रहेको चल–अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।यस्तै, गैरआवासीय नेपाली नागरिकता वा कार्ड लिएका व्यक्तिहरूले नेपालमा निश्चित क्षेत्रफलमा मात्रै जग्गा जमिन जोड्न पाउने र हदबन्दीभन्दा धेरै भएमा त्यसलाई बिक्री गर्नुपर्ने वा अधिकार हस्तान्तरण गर्नुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ ।
नागरिकताको स्तर फकर फरक बनाउँदा कानूनी झमेला र वंशजको नेपाली अधिकारमा विभेद हुने भएकाले त्यस्ता झन्झटिला प्रावधान राख्न नहुने अध्यक्ष गाहाको तर्क छ ।
सहुलियत र सेवाबाट वञ्चित
मस्यौदामा उल्लेख भएअनुसार, एनआरएनए नागरिकता वा कार्डवाहकले नेपालमा व्यवसाय वा उद्यम गर्न चाहेमा सरकारले दिने कुनै पनि सहुलियत, छुट वा अनुदान प्राप्त गर्न सक्ने छैनन् । यसका साथै अरु थुप्रै सेवाहरूमा पनि विभेदको प्रस्ताव गरिएको छ ।
सरकारी सेवाः एनआरएनहरू सरकारी सेवामा प्रवेश गर्न पाउने छैनन् र राजदूत वा सो सरहका पदहरूका लागि योग्य हुने छैनन् । स्वास्थ्य र शिक्षाः नेपालमा स्वास्थ्य सेवा लिँदा कुनै पनि सहुलियत नपाइने र शिक्षा क्षेत्रमा पनि छात्रवृत्ति वा सहुलियतबाट वञ्चित गरिने व्यवस्था मस्यौदामा छ ।
संविधानको भावना विपरीत भएको दाबी नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरूलाई राजनीतिक र प्रशासनिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुने स्पष्ट व्यवस्था गरेको छ । तर, प्रस्तावित मस्यौदामा रहेका यी प्रावधानहरू संविधानको भावना विपरीत भएको सरोकारवालाहरूको तर्क छ ।
एनआरएनएका प्रतिनिधिहरूका अनुसार यो मस्यौदाले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मन्त्रलाई समेत चुनौती दिएको छ । संघले यसलाई अधिकार सुनिश्चित गर्ने होइन, नियन्त्रण कस्ने रणनीति भएको दाबी गरेको छ।
गैरआवासीय नेपालीका लागि नागरिकता केवल कानुनी कागज नभई पहिचान, भावनात्मक सम्बन्ध र लगानी सुरक्षासँग जोडिएको विषय भएकाले यसमा कडाइ थप्नु उनीहरूलाई मातृभूमिबाट टाढा धकेल्ने कदम भएको उनीहरुको धारणा छ ।
एनआरएनए यूकेले संविधानका धारा १४ र २९१ तथा नेपाल नागरिकता ऐनका सम्बन्धित प्रावधान व्यवहारिक रूपमा संशोधन गर्न माग गर्दै वंशज नागरिकता लिएका नेपालीले नागरिकता नत्यागी अन्य देशको नागरिकता लिन पाउने स्पष्ट व्यवस्था गर्नुपर्ने बताएको छ।
ब्रिटिश गोर्खाका सन्तानको हकमा पनि हालको व्यवस्था अन्यायपूर्ण रहेको भन्दै सुधारको माग गरिएको छ। अहिले सरकार औपचारिक रूपमा मौन रहे पनि प्रवासी नेपाली समुदायबाट दबाब बढ्दो छ। विश्लेषकहरूका अनुसार यदि चुनावी प्रतिबद्धता अनुसार स्पष्ट र सरल समाधान नआएमा यो विषयले सत्तारुढ दलको विश्वसनीयतामै गम्भीर प्रश्न खडा गर्न सक्ने धेरैको बुझाइ छ ।
रवि लामिछानेको राजनीतिक बैमानी
बाचा पत्रमा मात्र हैन सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले संसदको पहिलो बैठकमा राखेको मन्तव्यमा समेत गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै एक पटकको नेपाली सधैको नेपाली हुने सुनिश्तिता गर्दै नेपालमा लगानीको वातावरण र मताधिकारको व्यवस्था गर्ने बताएका थिए । तर, आफैले गरेको प्रतिबद्धता विवरित रविले राजनीतिक बैमानी गरेपछि गैरआवासीय नेपालीहरु तातिएका हुन् ।
राजनीतिक दलहरुले पटक पटक माछामाछा भ्यागुतो बनाएपछि आफ्ना राजनीतिक अधिकार सुनिश्चिताका लागि गैरआवासीय नेपालीहरुकै नेतृत्वमा संगठित हुन लागेका हुन् । यो विषय केवल कानुनी विवादमा सीमित छैन, यसमा स्पष्ट राजनीतिक स्वार्थ जोडिएको विश्लेषण पनि अघि आएको छ। यदि वंशज नागरिकता सहज बनाइयो भने विदेशमा रहेका लाखौं नेपालीको राजनीतिक र आर्थिक प्रभाव बढ्ने डरले सत्तामा रहेका शक्तिहरू पछि हटेको आकलन गरिएको छ । साथै नागरिकता जस्तो संवेदनशील विषयमा कडा रुख देखाएर ‘राष्ट्रवाद’को सन्देश दिने पुरानै शैली दोहोरिएको आरोप पनि लागेको छ ।
“एक पटकको नेपाली सधैँको नेपाली” भन्ने भावनात्मक नारा हरेक चुनावमा अधिकांश राजनीतिक दलहरुले घोषणापत्रमा समेट्ने गरेका छन् । तर व्यवहारमा भने गैरआवासीय नेपालीलाई वंशजको नागरिकता र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय सधैँ चुनावी एजेण्डामै सीमित हुने गरेको छ ।
राजनीतिक दलहरूले प्रवासी नेपालीको संख्या, लगानी क्षमता र भावनालाई बुझेरै चुनावअघि आश्वासन बाँड्ने, आर्थिक सहयोगसमेत जुटाउने तर सत्तामा पुगेपछि पुरानै राष्ट्रवादी कठोरता देखाएर नीति उल्ट्याउने प्रवृत्ति दोहोरिँदै आएको छ।
नागरिकता जस्तो संवेदनशील विषयलाई राष्ट्रियता बचाउने नारासँग गाँसेर राजनीतिक फाइदा लिने खेल चलिरहँदा वास्तविक नेपाली—देशभित्रका वा विदेशमा रहेका—दुवैले अधिकारका लागि सरकारको मुख ताकेर बस्नुपर्ने बाध्यता छ । त्यसैले समस्या कानुनी जटिलता मात्र होइन, राजनीतिक इच्छाशक्ति र स्वार्थ जोडिएको प्रष्ट हुन्छ ।
सधै राजनीतिक दलहरुले आश्वासन मात्र दिएर टार्ने गरेकाले गैरआवासीयन नेपालीहरुको अधिकारका लागि राजनीतिक सहभागिताको आवश्यकतालाई औंल्याउँदै ‘सेभ द नेशन विल्ड द नेशन अभियानले खबरदारीका लागि विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध हुन समेत आग्रह गरेको छ । -

सरकारद्धारा थप अध्यादेश राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं, वैशाख १६ गते । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद् बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको छ।
सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्ने, यस प्रकृतिका संस्थाहरूले कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने र समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूलाई तत्काल बचत रकम फिर्ताका लागि ‘चक्रय राहत कोष’ स्थापना गर्ने लगायतका व्यवस्थाहरू यस अध्यादेशमा रहेका छन्।
यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश समेत जारी गर्न सिफारिस गरिएको छ। विगतमा राजनीतिक रूपमा नियुक्ति तथा मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशसँग अनुकूल बनाउन यी अध्यादेशहरू सिफारिस गरिएको हो।
यसैगरी, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको छ, जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउन यो अध्यादेश सिफारिस गरिएको हो।
साथै, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ। यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो। यस्तै, सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश पनि जारी गर्न सिफारिस गरिएको छ।
-

सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी दिन सुरु
१६ वैशाख, काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे ।
महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन् । सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन)को तलब प्राप्त गरेका थिए ।
१५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए । ‘१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ । उपभोग र माग दुवै बढ्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यो पाइलट परियोजनाको रुपमा संघीय निजामती कर्मचारीमा लागु गरिएको हो । विस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनेछन् ।’
उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए । सो अवसरमा बोल्दै महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अब विस्तारै प्रदेश तथा अन्य सेवाका सरकारी कर्मचारीले पनि १५ दिनमा तलब पाउने बताए । १५ दिनमा तलब दिन आफ्नो कार्यालय प्राविधिक रुपमा तयार रहेको भन्दै उनले यसलाई क्रमैसँग अघि बढाउने बताए । उनका अनुसार अहिले रहेको प्रणालीबाट १५ दिन वा एक महिना जुन समयमा कर्मचारीले तलबको माग गर्छन, सोही समयमा तलब दिन सकिन्छ ।
अर्धमासिक रुपमा कर्मचारीलाई तलब भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । यस्तै, यसले उपभोग खर्चको वितरण समान रुपमा फैलिने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने महालेखा नियन्त्रक पौडेलले बताए । १५ दिनमा तलब दिँदा सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
गत वैशाख ४ गते अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई हरेक १५ दिनमा तलब खुवाउने कार्य पाइलट परियोजनाका रुपमा अघि बढाउने निर्णय गरेका थिए ।
-

विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
१६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ । विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए । पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ । विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको विभागले आफ्नो सूचनामा जनाएको छ ।
-

चक्रपथ विस्तारको दोस्रो चरणको काम गर्न नेपाल सरकार र चीनबीच सम्झौता
१६ वैशाख, काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत चीनको सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गरी आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे । चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
-

काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने, यस्तो छ आदेश
१६ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ ।
‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदि किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि वसोवास भै आएका बस्तीहरू मानवीय रुपमा उद्वार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहानबजे देखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ,’ प्रशासनले भनेको छ ।
यसअघि काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती खाली गराइएको थियो । बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ विभिन्न कार्य तत्काल गर्न भनेको छ ।
यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–
१. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।
२. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।
३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला। अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।
४. तपाईको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला ।
५. २०८३ वैशाख १७ गते साँझ सम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला ।
६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।
७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।
८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडी नलाग्नुहोला ।
९. नक्कली एवं अवास्तविक भूमिहिन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।
१०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईको हक अधिकार सुरक्षित रहनेछ ।
११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईको समेत कर्तव्य र जिम्मेवारी हो ।
१२.सरकारले तपाईलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईका वालवालिकाको शिक्षाको प्रबन्ध अवश्य सरकारको तर्फबाट हुनेछ ।
१३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाई स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।
-

खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
१६ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । यादवको सुरू नियुक्ति मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस ९ सम्मको अवधि जाँच गर्दा सम्पत्तिको स्रोत नखुलेको दाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
यादवको वैधानिक आम्दानीतर्फ पारिश्रमिक आय, भत्ता आय, घरग्गा बिक्री आय, ऋण सापटी लिएको रकम, ब्याज आय रकम, कृषि आय रकम, छोरा तथा श्रीमतीको आय गरी जम्मा तीन करोड ४६ लाख २१ हजार रुपैयाँ बराबर आय देखिएको अख्तियारको दाबी छ ।उक्त जाँच अवधिमा निज तथा निजको एकासंगोल परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरू जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारीसाधन खरिद रकम, अध्ययन खर्च, ऋण सापटी तिरेको रकम, विद्युतीय उपकरण खरिदबापतको रकम, आन्तरिक सजावट खर्च र अन्तिम बैंक मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको अख्तियारको भनाइ छ ।
कुल आयभन्दा कुल व्यय एक करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी भई स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ । यसरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगो जफत, त्यति नै जरिवाना र जेल सजायको माग अख्तियारले गरेको छ । यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारले अदालत समक्ष माग गरेको छ । उनीहरूमाथि अन्य विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।
-

काठमाडौंका थप दुई दर्जन बस्तीमा डोजर चलाउने सरकारको योजना
१६ वैशाख, काठमाडौं । सरकारले काठमाडौंका दुई दर्जन बस्तीमा डोजर लगाउने भएको छ । काठमाडौं महानगरपालिकाको वडानम्बर ३ अन्तर्गतको खाडीपाखा, नारायणटोल र रानीबारी, वडा नम्बर ४ को बालुवाटार र धुम्बाराहीको बस्ती हटाउन लागेको हो ।
त्यस्तै, काठमाडौं महानगरकै वडा नम्बर १० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा नम्बर ११ को वंशीघाट, १४ को जागरणमार्ग, बल्खु, १५ को स्वयम्भु, १६ को बुद्धज्योति र जागृति मार्ग, २६ को संगम टोल, २९ को अनामनगर र ३२ को जडीबुटी मिलनचोकमा डोजर लगाउने भएको छ ।
ती अधिकारका अनुसार कागेश्वरी मनोहराको गोठाटार बुद्धचोक र मनोहरा टोल, बुढानीलकण्ठको पाथिभरा र कपनका बस्ती हटाउन लागिएको हो । डोजर चलाउन लागिएका केही स्थानमा हिजोबाटै माइकिङ पनि सुरू भइसकेको छ ।
काठमाडौंका नदी किनारका अनधिकृत सबै बस्तीहरू वैशाख १७ गते साँझसम्म खाली गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । वैशाख १८ गते बिहान ७ बजेदेखि बस्ती हटाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
-

बालकुमारीमा सबस्टेशन निर्माण सुरु हुने
काठमाडौँ, वैशाख १६ गते । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयूकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै प्रक्रिया टुङ्गिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा जग्गा प्राप्ति प्रक्रियाले मूर्त रूप लिएको हो । काठमाडौँ र ललितपुरमा विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अघि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना अवरुद्ध थियो ।
उक्त सबस्टेशन एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा करिब २ अर्ब रुपियाँको लागतमा निर्माण हुनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत प्रसारण लाइन बालकुमारीस्थित जीआईएस सबस्टेशनमा जोडिनेछ र त्यसपछि टेकु सबस्टेशनमा जडान गरिनेछ । सबस्टेशन निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
केयूकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउने र त्यसको बदलामा प्राधिकरणले २५ वर्षका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ । अब जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ ।
यसैबीच, वर्षौँदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर निर्माण कार्य अघि बढेको छ । मन्त्री श्रेष्ठको पहलमा सरोकारवाला पक्षसँग सहमति भएपछि निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।
मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवाद समाधान गर्नुभएको थियो । जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने काम तीव्र गतिमा सुरु भएको छ ।
सन् २०१२ देखि निर्माण सुरु भएको उक्त प्रसारण लाइनअन्तर्गत हेटौंडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा परियोजना वर्षौँदेखि अलपत्र परेको थियो । नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यो परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली थप विश्वसनीय बन्नुका साथै विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार तयार हुने अपेक्षा गरिएको छ । उक्त प्रसारण लाइनको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) भने तीन वर्षअघि नै सम्पन्न भइसकेको छ ।
-

धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु
घोराही, वैशाख १६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति गर्ने काम आज (बुधबार)देखि सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा आजदेखि सडकको स्तरोन्नति गर्ने काम सुरु हुन थालेको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजनाअन्तर्गत धानखोला–लमही सडकखण्डको ४० किलोमिटर स्तरोन्नति हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।
एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्नेगरी २०८२ पुस ७ गते शर्मा–कुमार जेभीसँग (शर्मा कन्स्ट्रक्सन–कुमार निर्माण सेवा प्राली) भ्याटबाहेक करिब दुई करोड आठ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र कपिलवस्तु जिल्लाको सिमाना धानखोलादेखि लमही लमही नगरपालिका–५ को रातोडाडासम्म सडक स्तरोन्नतिको काम निर्माण कम्पनीले २४ महिनाभित्र काम गरि सक्ने गरी ठेक्का सम्झौता भएको छ ।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनकारी दिए । सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाइएको छ ।
उनले अनुसार धानखोला–लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइने छ । एमसिए–नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । धानखोला–लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।
-

बैङ्कको नाफा उनन्चास अर्बमाथि
काठमाडौँ, वैशाख १६ गते । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैङ्कको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैङ्किङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ ।
चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९।३० प्रतिशतले बढी हो । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैङ्कको नाफा बढेको छ भने सात वटा बैङ्कको नाफा घटेको देखिएको छ ।
नाफाका आधारमा नबिल बैङ्कले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैङ्कको नाफा गत वर्षको तुलनामा करिब ३३।९ प्रतिशतले वृद्धि भएको हो । त्यसै गरी ग्लोबल आइएमई बैङ्क चार अर्ब ४० करोड रुपियाँसहित दोस्रो स्थानमा रहँदा कुमारी बैङ्क चार अर्ब १७ करोड रुपियाँसहित तेस्रो स्थानमा रहेको छ ।
नाफा वृद्धिदरका आधारले कुमारी बैङ्क सबैभन्दा अगाडि देखिएको छ । बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा १३६१।७६ प्रतिशतले बढेको हो । गत वर्ष २८ करोड रुपियाँमा सीमित नाफा यस वर्ष चार अर्ब नाघेको हो । यस्तै राष्ट्रिय वाणिज्य बैङ्कले पनि १२९.३४ प्रतिशत नाफा वृद्धि गर्दै उल्लेखनीय सुधार गरेको छ ।
समीक्षा अवधिमा प्रभु बैङ्कको नाफा सबैभन्दा धेरै ५४.६१ प्रतिशतले घटेको छ । त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (३०.६९ प्रतिशत), कृषि विकास बैङ्क (२४.४२ प्रतिशत) र एनआइसी एसिया बैङ्क (१०.९ प्रतिशत) को नाफा घटेको देखिएको छ । नाफाका आधारमा एनआइसी एसिया बैङ्क करिब १४ करोड रुपियाँमा सीमित रहँदै सबैभन्दा तल देखिएको छ । प्रभु बैङ्क र सिटिजन्स बैङ्कको नाफा पनि तुलनात्मक रूपमा कम रहेको छ ।
-

उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा
रमेश लम्साल-रासस
१६ वैशाख, काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समााधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ । रणनीतिअनुसार, हेटौडा– ढल्केबर इनरुवा प्रसारण लाइनको हेटौडा ढल्केबर खण्ड चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ । सो प्रसारण लाइनको पूर्वी खण्ड ढल्केबर–इनरुवा खण्ड भने यसअघि नै सम्पन्न भइसकेको छ ।सो आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवार बनाइएको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जालगायतका समस्याका कारण सो आयोजना लामो समयदेखि समस्यामा परेको थियो । पछिल्ला दिनमा सो समस्या समाधान भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नियमित काम सुरु भइसकेको छ ।
यसैगरी नयाँ खिम्ती बाह्रबिसे काठमाडौँ प्रसारण लाइनको काम आव २०८४\८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइनको क्षमता चार सय केभीको हो । सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय तह र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवार बनाइएको छ ।
हेटौँडा–रातमाटे लप्सीफेदी न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आव २०८६\८७ सम्म निर्माण सम्पन्न हुनेछ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । यसैगरी नयाँ बुटवल–लमही प्रसारण लाइन आव २०७८\८८ सम्म निर्माण सम्पन्न हुनेछ ।
यस्तै, लहमी–छिन्चु दोदोधारा प्रसारण लाइन आव २०८९\९० सम्म निर्माण सम्पन्न हुनेछ । किमाथांका– हाइटार सितलपाटी प्रसारण लाइन आव २०८९\९० सम्म सम्पन्न हुनेछ ।
अरुण हब इनरुवा प्रसारण लाइन, इनरुवा–अनारमणी प्रसारण लाइन, फुकोट बेतन दोदोधारा प्रसारण लाइन, तिंगला दुधकोशी–ढल्केबर प्रसारण लाइन आव २०९०\९१ सम्म सम्पन्न गर्ने लक्ष्य रणनीतिमा समावेश गरिएको छ ।
भेरी करिडोर प्रसारण लाइन र सेती करिडोर प्रसारण लाइन पनि आव २०९०\९१ मा सम्पन्न हुनेछ । दोदोधारा–अत्तरिया लम्की प्रसारण लाइन भने आव २०९१\९२ सम्म सम्पन्न हुनेछ । ती सबै प्रसारण लाइनको क्षमता चार सय केभीको छ ।
उत्पादित बिजुलीलाई सहज रुपमा प्रसारण गराएर लाड सेन्टरहरुमा पुर्याउने लक्ष्यका साथ सरकारले प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक संरचनागत सुधार गरिने, नीतिगत अस्पष्टता हटाउने तथा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई रणनीतिले विशेष प्राथमिकतामा राखेको छ ।
यस्तै, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्वका साथ रणनीतिले समेटेको छ । अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि पनि अर्को महत्वपूर्ण पक्ष छ ।
ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन आव २०८३\८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, नानपारा नेपालगञ्ज, इनरुवा पूर्णिया, लम्की बेरली, लमही लखनउ, निजगण मोतिहारी, चमेलिया जौलजिवी, ढल्केबर मुजफ्फरपुर र चिलिमे हब केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण प्राथमिकतामा छ ।
आन्तरिक रुपमा बिजुलीको खपत बढाउने, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरण गर्ने लक्ष्यलाई रणनीतिले स्पष्ट रुपमा सूचीकृत गरेको छ । त्यस्तै, स्मार्ट ग्रिड र सवस्टेशनको आधुनिकीकरण निरन्तर रुपमा अगाडि बढाइनेछ । सवस्टेशनको क्षमता विस्तार गरेर ४० हजार एमभीए पुर्याइनेछ । सो कार्य आव २०९२\९३ सम्म सम्पन्न हुनेछ ।
कृषि क्षेत्रको आधसनिकीकरण र किसानको खेतसम्म नै फिडर पुर्याउने लक्ष्यलाई पनि उत्तिकै महत्व दिएको रणनीतिमा भूमिगत वितरण प्रणालीको काम २०८५ सम्म सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
आव २०९२\९३ सम्म एलपी ग्यास अनुदान खारेजी गर्ने र विद्युतीय चुल्होमा अनुदान दिइनेछ । देशभर चार्जिङ स्टेशन सञ्जाल विस्तार गर्ने, प्रमुख शहरहरुमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्युत् खपत क्षमता विकास गरिनेछ ।
हाल नेपालको कूल जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिवद्धता अनुरुप खनिज इन्धनको परनिर्भरता घटाई स्वदेशी बिजुलीको खपत बढाउन अबलम्बन गर्नुपर्ने सबै काम अगाडि बढाउने रणनीतिको लक्ष्य छ ।
नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको छ । हाल करिब एक हजार दुई सय मेगावाट बिजुली भारत र बंगलादेशतर्फ आयात निर्यात भइरहेको अवस्था छ ।
-

नारायणगढ–बुटवल सडकमा सुरक्षा चिन्ह राख्न सुरु
१६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।
सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ ।
सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताए ।उनले भने, ‘सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोहीअनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।’ सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले जानकारी दिए ।
पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ ।
कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।
-

इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु
जकार्ता, वैशाख १६ । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरे । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ । स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् । रासससिन्ह्वा
-

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु
ओडिशा, वैशाख १६ । भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्याएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय जितु मुण्डाले आफ्नी बहिनी कालरा मुण्डाको खातामा रहेको १९ हजार ३०० भारु निकाल्न पटक–पटक बैँक धाए । तर, बैँकका कर्मचारीले खातावालालाई नै उपस्थित गराउनुपर्ने अडान राख्दै उनलाई रित्तो हात फर्काउने गरेका थिए ।
जितुले आफ्नी बहिनीको मृत्यु भइसकेको जानकारी दिँदा समेत बैँक प्रशासनले पत्याउनुको साटो उल्टै प्रमाणका रूपमा खातावालालाई नै उपस्थित गराउन दबाब दिएपछि पीडित मुण्डाले यो कदम चालेका हुन् । करिब दुई महिनाअघि मृत्यु भई गाडिएकी बहिनीको कङ्काल चिहानबाट निकालेर उहाँले बैँकको गेटमा पुगेपछि स्थानीय प्रशासन र प्रहरीमा खैलाबैला मच्चिएको थियो ।
अशिक्षित र विपन्न वर्गका मुण्डाले मृत्युदर्ता र कानुनी हकवालाको प्रक्रियाका बारेमा अनभिज्ञ रहेका कारण कर्मचारीको व्यवहारबाट आजित भएर कङ्काल नै प्रमाणका रूपमा पेस गर्नुपरेको बताए । घटनाको जानकारी पाउनासाथ पटना प्रहरी चौकीका अधिकारी घटनास्थल पुगेर जितुलाई सम्झाइबुझाई गरेका थिए ।
प्रहरीको हस्तक्षेपपछि बैँक प्रशासनले प्रक्रिया सहज बनाउने आश्वासन दिएको छ । उक्त कङ्काललाई पुनः धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । यो घटनाले आधुनिक बैङ्किङ प्रणाली र कर्मचारीतन्त्रमा संवेदनाको खडेरी परेको भन्दै आलोचना भइरहेको छ । -

अमेरिकी डलरको मूल्य बढ्दा यस वर्ष प्रतिव्यक्ति आयमा भएन सुधार
१५ वैशाख, काठमाडौँ । यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–८२ मा जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब रहने संशोधित अनुमान र आर्थिक वर्ष २०८०–८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको कार्यालयले जनाएको छ ।
यस्तै, चालु आिर्थक वर्ष नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा यस्तो प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने संशोधित अनुमान छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ८० अमेरिकी डलर कायम भएको छ । यस वर्ष डलरको सटही दरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१–८२ मा र आर्थिक वर्ष २०८२–८३ मा बराबर रहन गएको कार्यालयले जनाको छ ।
-

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार उपभोक्ता मूल्यमा सो बराबरको आर्थिक वृद्धिदर प्राप्त हुनेछ । आधारभूत मूल्यमा भने ३.६५ प्रतिशत बराबरको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ । यो यस वर्ष सरकारले तोकेको आर्थिक वृद्धिको लक्ष्यभन्दा कम हो ।
चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म)को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । यस वर्ष अर्थतन्त्रको आधार ६६ खर्ब बराबर पुगेको छ । यस वर्ष सबैभन्दा धेरै वृद्धि विद्युत, बैंक बीमा क्षेत्रको भएको देखिन्छ ।
-

पहुँचका भरमा प्रयोग भएका ६२२ सवारी साधन फिर्ता
काठमाडौँ, वैशाख १५ गते । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधन प्रयोग गरिरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सरकारले हालसम्म ६२२ वटा सवारी साधन फिर्ता लिइसकेको छ।
कानुन विपरीतको सुविधामा रोक
प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधन पाउने कानुनी व्यवस्था छ। तर, सोभन्दा तल्लो तहका कर्मचारीहरूले समेत व्यापकरूपमा चार पाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फिर्ता गर्ने प्रक्रिया सुरु गरेको हो।
यसअघि वैशाख १० गते प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै कानुनले तोकेबाहेकका कर्मचारीले प्रयोग गरिरहेका सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा हालसम्म ६२२ वटा गाडी फिर्ता भएका हुन्।
सामूहिक प्रयोगको नयाँ नियम
अब आगामी दिनमा कानुनले तोकेका पदाधिकारीबाहेक कसैले पनि सरकारी सवारी साधनको एकल प्रयोग गर्न पाउने छैनन्। यद्यपि, कामको विशेष प्रकृति वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।
आर्थिक भार कटौतीको लक्ष्य
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारले यो कदम चालेको हो। यसबाट इन्धन, मर्मत सम्भार र सुविधाका नाममा भइरहेको ठुलो व्ययभार कम हुने विश्वास गरिएको छ। कानुन विपरीत सवारी साधन प्रयोग हुँदा राज्यलाई कति आर्थिक भार परेको थियो भन्नेबारे पनि विस्तृत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
-

बीमासम्बन्धी कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ
काठमाडौं, वैशाख १५ गते । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ ।
सोही प्रतिवेदनका आधारमा ब्यूरोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गर्न वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिएको थियो । पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता र कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रचलित कानुन अनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्न प्राधिकरणले गरेको छानबिनका आधारमा यो कारबाही अगाडि बढाइएको ब्यूरोको भनाइ छ । -

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् । कानुन अनुसार, सह(सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।
-

डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
१५ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो’, उनले भने, ‘अब खेतमै डिप बोरिङ जडान भएपछि सिँचाइ गर्न कुनै समस्या छैन ।’ उनका अनुसार पानीको सहज उपलब्धताले उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
किसानहरूको लामो समयदेखिको सिँचाइ समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको पहलमा रु २५ लाखभन्दा बढीको लगानीमा डिप ट्युबवेल जडान गरिएको हो । उक्त योजना प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो ।
वडाध्यक्ष लालबहादुर ऐरका अनुसार डिप ट्युबवेल सञ्चालनमा आएपछि प्रगतिटोलका ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । ‘सिँचाइको समस्या ल्याएर किसानहरू पटक–पटक धाउदै आएका थिए’, उनले भने, ‘त्यही माग मन्त्रीसमक्ष राख्दा उहाँले कोषमार्फत बजेट विनियोजन गरी योजना कार्यान्वयनमा ल्याउनुभयो ।’
उनका अनुसार अब सिँचाइ अभावका कारण बाँझोजस्तै रहेका खेतहरूमा अन्नबाली, तरकारी तथा अन्य नगदे खेती विस्तार गर्न सकिने भएको छ । यसले स्थानीय किसानहरूको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
स्थानीय किसान हरिकृष्ण चौधरीले डिप बोरिङ जडानसँगै व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए । ‘पहिले पानीको अभावका कारण थोरै जमिनमा मात्रै तरकारी र वसन्ते मकैखेती गर्थ्यौं’, उनले भने, ‘विद्युतीय मोटर प्रयोग गरेर पानी तान्दा पनि पर्याप्त सिँचाइ गर्न घण्टौँ लाग्थ्यो, तर अहिले त्यो समस्या हटेको छ ।’ उनका अनुसार अब व्यावसायिक तरकारीखेती गरी राम्रो आम्दानी गर्ने लक्ष्य लिइएको छ ।
डिप ट्युबवेलको क्षमता करिब ६० बिघा जमिनमा सिँचाइ पुर्याउने रहेको बताइएको छ । यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने स्थानीयको विश्वास छ । केही पूर्वाधार अझै अधुरै रहेको किसानहरूले बताएका छन् । स्थानीय किसान यशोदा भट्टका अनुसार हाल बोरिङ गाड्ने काम मात्रै सम्पन्न भएको छ भने पानी वितरणका लागि आवश्यक पाइपलाइन विस्तार हुन बाँकी छ । ‘आउँदो बजेटमा पाइपलाइन विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न वडा कार्यालयमार्फत सम्बन्धित निकायसँग अनुरोध गरेका छौं’, उनले भने ।
उनका अनुसार सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न सकिए मात्रै सबै किसानसम्म समान रूपमा पानी पुर्याउन सकिनेछ । अन्यथा केही क्षेत्र मात्र लाभान्वित हुने र बाँकी किसान अझै समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
-

लगानी बोर्डले सुरु गर्यो एकल बिन्दु सेवा केन्द्र, लगानीकर्ताले सिधै प्रस्ताव पेस गर्न सक्ने
१५ वैशाख, काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई प्रक्रियामा थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो । एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ossc.ibn.gov.np पोर्टल सञ्चालनमा ल्याएको छ ।
यस पोर्टलमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्ताव पेस गर्न सक्ने भएका छन् । त्यसैगरी ibn.gov.np को एकल बिन्दु सेवा केन्द्रबाट पनि लगानीकर्ताहरुले लगइन गर्न सक्नेछन् । आईटी प्रणालीको तयारीपछि एकल बिन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकाय यस प्रणालीमा आवद्ध हुनेछन् ।
कम्पनी रजिष्टारको कार्यालय, राजस्व विभाग, भन्सार विभाग, अध्यागमन विभाग डिजिटल सिस्टम इन्टिग्रेट क्रममा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अन्य सम्बन्धित मन्त्रालय र निकायहरूलाई उक्त प्रणालीमा आवद्धताका लागि पत्राचार गरिसकेको छ ।
लगानी बोर्डका अनुसार १४ वटा सरकारी निकायले एकल बिन्दु सेवा केन्द्रका लागि अख्तियारीसहित फोकल पर्सन तोकेका छन् । ती निकायहरुमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक,अध्यागमन विभाग,आन्तरिक राजस्व विभाग रहेका छन् ।
त्यसैगरी उद्योग विभाग, खानी तथा भूगर्भ विभाग,भन्सार विभाग,श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत् विकास विभाग,कम्पनी रजिष्ट्रारको कार्यालय,नेपाल दूरसञ्चार प्राधिकरण छन् । आवश्यकता अनुसार बोर्डले तोकेका अन्य निकायहरु पनि समावेश हुन सक्नेछन् ।
डिजिटल प्रणाली विकसित भइनसकेका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायहरूले लगानी बोर्ड अन्तर्गत स्थापित हुने एकल बिन्दु सेवा केन्द्रमा अख्तियारी सहित कर्मचारी पठाउनु पर्ने कानुनी व्यवस्था छ ।
बोर्डले नेटवर्क बढाउँदै लैजाने तथा यस प्रणालीमा आवद्ध हुन बाँकी रहेका मन्त्रालय तथा निकायहरूमा रहेका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउनेछ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्य गर्न सहज हुने बताए ।
छिटो र सहज सेवा प्रवाहका लागि सूचना प्रविधि महत्त्वपूर्ण हुने भएकाले एकल बिन्दु सेवा सुरु गरेको बताउँदै उनले अरु निकायहरूले पनि तयारी गरिरहेको र क्रमशःएकल बिन्दु सेवा केन्द्रमा डिजिटल प्रणालीमार्फत आवद्ध हुने बताए । डिजिटल प्रकृया सुरु भएपछि भौतिक रुपमा गरिने कार्यलाई हटाउँदै लगिने उनले बताए ।
‘आन्तरिक रुपमा आईटी सिस्टममा आवद्ध नभएका निकायलाई आवश्यक बजेटको व्यवस्था र तयारीपछि सबै निकाय एकल बिन्दु सेवा केन्द्रमा डिजिटल प्रणालीमार्फत आवद्ध हुन सक्नेछन् । त्यसपछि हामी पूर्ण रुपमा अटोमेसनमा जान सक्छौं’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।
एकल बिन्दु सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आएपछि लगानीको लागि प्राप्त प्रस्तावको मूल्याङ्कन गरी स्वीकृतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, कम्पनी दर्ता, कर दर्ता, उद्योग दर्ता, विदेशी विनिमयको अनुमति लगायतका अन्य दर्ता, अनुमति तथा स्वीकृति उपलब्ध गराउने, श्रम स्वीकृति, भिसा, परमिट उपलब्ध गराउनका लागि आवश्यक समन्वय र सहजीकरणको कार्य उक्त केन्द्रबाटै गर्न सकिनेछ ।
त्यसैगरी उक्त केन्द्रमार्फत परियोजनाको लागि आवश्यक निजी जग्गा प्राप्तिमा सहजीकरण गर्ने, परियोजनालाई आवश्यक पर्ने सरकारी जग्गा वा वन क्षेत्रको जग्गा प्रचलित कानुन बमोजिमको प्रक्रिया पूरा गरी लिजमा उपलब्ध गराउने, वातावरणीय अध्ययनको स्वीकृति उपलब्ध गराउने व्यवस्था मिलाउने लगायतका कार्यहरू गर्न सकिनेछ ।
लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्रबारे सम्बन्धित मन्त्रालय र निकायका फोकल पर्सनहरुसँग आज छलफल गरेको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ बमोजिम कार्यान्वयन गरिने परियोजनाको लागि परियोजना सर्वेक्षण अनुमति, समझदारी पत्र, लगानी अनुमति वा सम्झौता लगायतका कार्य गर्ने तथा परियोजनालाई सहयोग एवम् सहजीकरणका लागि कार्यालयमा एकल विन्डु सेवा केन्द्रको स्थापना गर्न सक्ने व्यवस्था छ ।
वर्तमान सरकारले गत चैत्र १४ गते सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्य सूचीमा स्वदेशी तथा वैदेशिक लगानीकर्ताहरूलाई एकीकृत रूपमा सहजताका साथ निर्धारित समयावधिभित्र तोकिए बमोजिमका सेवा उपलब्ध गराउनका निम्ति लगानी बोर्ड नेपाल अन्तर्गत एकद्वार स्वीकृति प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको थियो ।
बोर्डले यसअघि नै शासकीय सुधार सम्बन्धी सूचीहरूमा समावेश भएको लगानीकर्ता सहजीकरण तथा गुनासो सुनावाइ डेस्क स्थापना गरिसकेको छ।
-

आज अमेरिकी डलरको भाउ घट्दा अन्य विनिमय दर कति ?
१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको थियो ।
आज बढेको युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा कायम भएको छ । सोमबार युरोपियन युरो बढेर एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा रहेको थियो । यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ चार पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २१ पैसा रुपैयाँ रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८५ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
