Category: अर्थतन्त्र

  • बेनी–जोमसोम सडक अवरुद्ध

    बेनी–जोमसोम सडक अवरुद्ध

    २९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए । महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएको छ ।

  • नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल

    २९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।

  • स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुच सुनिश्चत गरिने छ ।

    सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘टेलिहेल्थ’मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिटल कन्ट्रोल’ तथा स्वास्थ्य सेवा गुणस्तर बनाउका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने उल्लेख छ ।

    यस्तै, सङ्घीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने छ । क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने पनि उल्लेख छ ।

    यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन, योग, ध्यान र सामुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रवर्द्धन गरिने विषय पनि कार्यक्रममा समावेश छ । साथै, अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

  • राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री उठेर हिँडेको प्रति एमालेको आपत्ति

    २८ वैशाख, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिंडेकोप्रति आपत्ति जनाएको छ । आजै बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिंडेका थिए । उनले बीचमै छाडेर हिंड्नुप्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरु बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गरे ।

    ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । देशको प्रधानमन्त्रीज्यू जसले यो टेबुल गर्ने प्रक्रियामा हुनुहुन्थ्यो । उहाँले बीचैमा बहिष्कार गरेर हिंड्नुभएको हामीले देख्यौं,’ सांसद बरालले भने, ‘यसले यो नीति र कार्यक्रमप्रतिको उहाँको अनरसिप (स्वामित्व) के हो ? यो संसद्ले बुझ्न चाहन्छ ।’

    साथै, बैठक चलेको सुरुको १५ मिनेटसम्म प्रधानमन्त्री बालेनले के गरिरहेको ? भन्दै उनले प्रश्न पनि गरे । उनले सुरुको १५ मिनेट रेकर्डबाट हटाउन पनि सभामुखसमक्ष माग गरे । ‘बैठक चलिरहेको छ । बैठकमा निश्चित मर्यादा हुन्छन् । राष्ट्रपतिज्यूलेका सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर के संवाद र छलफल गरिरहनुभएको थियो ?,’ उनले भने, ‘यो संसदीय मर्यादाले नसुहाउने कुरा भएकाले त्यो रेकर्डबाट डिलिट गरियो भने पछिका लागि नजिर बस्नेछ ।’

  • आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

    आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

    २८ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख २८ गते । सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न उर्जा, वन, भूमि र वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने बताए ।

    उनले विद्युत् उत्पादन, वितरण, प्रशारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने बताए । उनका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ । उनले अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालिन लगानी आकर्षित गर्ने माध्यम बनाइने पनि बताए ।

  • सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    २८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धि हाँसिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ । जसमा पूर्वाधार विकास र सूचना प्रविधिको प्रयोगलाई जोड दिने भनिएको छ । सरकारले सडकका ठूला परियोजनाको निर्माण निरन्तर गर्ने भनेको छ ।

    सरकारको नीति तथा कार्यक्रम-२०८३

    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले

    सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

    गर्नुभएको सम्बोधन

    नेपाल सरकार

    २०८३

    प्रतिनिधि सभाका सम्माननीय सभामुख,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

    सङ्घीय संसद्का माननीय सदस्यहरू,

    सम्वत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणाका अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित २०८२ भदौ २३ र २४ गते युवापुस्ताको ऐतिहासिक सहभागितामा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने नागरिक तथा राष्ट्रसेवक एवम् लोकतन्त्र, स्वतन्त्रता र परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नुहुने ज्ञात-अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा घाइते हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । उहाँहरूको बलिदान यस राष्ट्रका लागि चिरस्मरणीय र प्रेरणाको अक्षय स्रोत बनिरहने छ। उहाँहरूको त्याग, साहस र बलिदानलाई परिणाममुखी शासनमार्फत सार्थक बनाइने छ भन्नेमा विश्वस्त छु।

    माननीय सदस्यहरू,

    १. निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने छ । सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी “संविधान संशोधन बहस पत्र” तयार गरिने छ। सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयनको सुनिश्चितता गर्दै निरन्तरता दिइने छ।

    २. नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न आगामी दशक औसत वास्तविक आर्थिक वृद्धि दर सात प्रतिशत पुग्ने गरी “नयाँ चरणको आर्थिक सुधार शृङ्खलाू अन्तर्गत बृहत् कानुनी र संस्थागत सुधार गरिने छ। उत्पादन लागत घटाउन, व्यवसाय गर्ने वातावरण सरल बनाउन, नीतिगत तथा कानुनी अवरोध हटाउन, र स्वदेशी, विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गरिने छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमानयोग्य आर्थिक नीति कायम रहने व्यवस्था गर्दै राष्ट्रिय विकास प्राथमिकता, आयोजना छनोट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संस्थागत संयन्त्र निर्माण गरिने छ। साथै प्राथमिकताका सबै क्षेत्रको क्षेत्रगत नीति तयार गरी कार्यान्वयन गरिने छ।

    ३. सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने छ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने छ। स्वेच्छिक कर अनुपालन, प्रविधिमैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजस्व प्रणालीलाई उद्यममैत्री बनाइने छ।

    ४. विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिने छ। प्रदूषण, पूर्वाधार र अन्य छरिएका शुल्कलाई क्रमशः एकीकृत ूहरित कर प्रणालीू मा रूपान्तरण गर्ने नीति अवलम्बन गरिने छ। भन्सार नाकामा न्यून बिजकीकरण नियन्त्रण गरिने छ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइने छ।

    ५. सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन, सुपरीवेक्षण र अभियोजन प्रणाली लागु गरिने छ। सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिने छ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने छ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिने छ।

    ६. पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिने छ। धितो पत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्सरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने छ। ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिने छ।

    ७. वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडेल लागु गरिने छ। वैदेशिक सहायता, ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने छ। रूपान्तरणकारी आयोजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समय सीमासहित अघि बढाइने छ। आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता, डिजिटल प्रगति ट्रयाकिङ, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने व्यवस्था गरिने छ।

    ८. सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिइने छ। सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, रणनीतिक साझेदार भित्र्याउने वा विनिवेश गर्ने स्पष्ट नीति लागु गरिने छ।

    ९. “सीमारहित अर्थतन्त्रू र ूतौलरहित व्यापार” लाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात् गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत्, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकीकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने छ।

    १०. श्रम-निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिने छ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने छ। निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि, बजार विविधीकरण, एकीकृत व्यापार रणनीति र औद्योगिक लजिष्टिक गुरुयोजना कार्यान्वयन गरिने छ।

    ११. सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्प्युटेसन निर्यातलाई प्रवर्धन गरिने छ। डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइने छ। सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सह लगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने छ।

    १२. व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म तिस दिनभित्र सम्पन्न गर्ने “लगानी एक्सप्रेस नीति लागु गरिने छ। विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ। नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई “नेपाल लगानी भिसा” उपलब्ध गराइने छ।

    १३. विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधारसहित ूऔद्योगिक ग्रामू स्थापना गरिने छ। ग्रिन गार्मेन्ट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिने छ। “स्टार्टअप नेपाल पोर्टलू मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा प्रदान गरिने छ।

    १४. ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील पेसाको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिने छ। उत्पादन वृद्धि, लागत न्युनीकरण, आयात प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरताका लागि नीतिगत सुधार, ूप्याकेजमा आधारित उत्पादन प्रणालीू, यान्त्रिकीकरण, डिजिटल प्रविधि तथा एग्रिटेक मार्फत कृषि आधुनिकिकरणलाई तीव्रता दिइने छ। विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग, प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिने छ।

    १५. बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ। समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैँक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइने छ।

    १६. सार्वजनिक-निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी उत्पादनपछिको क्षति न्युनीकरण र आपूर्ति शृङ्खला सुदृढ गरिने छ। गुणस्तर मापदण्ड र प्रमाणीकरणसहित विश्व पहिचान गरिएका उत्पादनलाई भण्डारण, ब्रान्डिङ र स्तरीकरणमार्फत निर्यात प्रवर्धन गरिने छ। विषादीको आयात तथा प्रयोगको नियमन सुदृढ गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गरिने छ। प्रमुख कृषि उपज बजार र भन्सार विन्दुमा विषादी जाँच गर्न अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरू विकास, विस्तार र सञ्चालन गरिने छ।

    १७. कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै भूमि बैँक प्रणालीमार्फत बाँझो जमिनलाई उत्पादन कार्यमा उपयोग गर्न युवा, महिला, भूमिहीन तथा साना तथा सीमान्तकृत किसानको पहुँच सुनिश्चित गरिने छ। किसान सूचीकरण, परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिने छ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिने छ।

    १८. नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने छ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइने छ। भूमिको स्वामित्व र उपयोगबिच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोवास गर्ने, भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीको समस्याको दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोवासको व्यवस्थापन गरिने छ।

    १९. माटोको स्वास्थ्य सुधार गर्न जैविक एवम् प्राङ्गारिक मलमा अनुदानको व्यवस्था गर्दै जैविक विविधता संरक्षण र रैथाने बाली प्रवर्धन गरिने छ। उत्पादनदेखि उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई उत्त्थानशील बनाइने छ। बिमा, पशुस्वास्थ्य सेवा र व्यावसायीकीकरणमार्फत पशुपालन क्षेत्र सुदृढ गरिने छ। जलाधार संरक्षण, वातावरणीय कृषि प्रणाली र प्रविधिमार्फत कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोडिने छ।

    २०. खोरेत तथा पशुपक्षीमा लाग्ने अन्य रोगको नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिने छ। साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिने छ।

    २१. दिगो वन व्यवस्थापनमार्फत काठ, जडीबुटी, आयुर्वेदिक औषधी, कार्बन व्यापार, पर्यटन तथा बिमामा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ। जडीबुटी प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइने छ।

    २२. चरन क्षेत्र विकास, पशुपालन र वनमा आधारित जीविकोपार्जन प्रवर्धन गर्दै वन क्षेत्रका स्रोतहरूको वैज्ञानिक उपयोग गरिने छ। वन क्षेत्रभित्र रहेका स्याउला, सोत्तर तथा मिचाहा वनस्पतिलाई स्थानीय समुदाय र निजी क्षेत्रको संलग्नतामा उपयोग गरी प्राङ्गारिक मल, ब्रिकेट र बायोचार उत्पादन प्रवर्धन गरिने छ।

    २३। “नेपाल कार्बन प्राधिकरण” गठन गरी रेड(प्लस कार्यक्रम विस्तार गरिने छ। सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने छ। नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने छ।

    २४. “वन डढेलो उच्च सतर्कता केन्द्र” स्थापना, निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिने छ। ड्रोन, स्याटेलाइट लगायत आधुनिक प्रविधिमार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल(टाइम निगरानी गरिने छ।

    २५. मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, रोकथाम संरचना, तटबन्धी, स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धन जस्ता उपाय कार्यान्वयन गरिने छ। राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको वासस्थान संरक्षण गरिने छ। चुरे क्षेत्रमा एकीकृत संरक्षण, जल पुनर्भरण तथा वैज्ञानिक उत्खनन लागु गरिने छ।

    २६.वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति र वनसम्बन्धी अनुमति प्रक्रियालाई इ-पोर्टलमार्फत सरलीकृत गर्दै पूर्वाधार विकास र वातावरण संरक्षणबिच सन्तुलन कायम गरिने छ। वायुगुणस्तर सुधार, स्वच्छ प्रविधि प्रवर्धन र प्रदूषण नियन्त्रण गरिने छ। काठमाडौँ उपत्यका वायुगुणस्तर सुधार कार्ययोजना अद्यावधिक गर्दै राष्ट्रिय वायुगुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिने छ। परम्परागत इँटा उद्योगलाई स्वच्छ प्रविधिमा रूपान्तरण गरिने छ।

    २७. वायुप्रदूषण न्युनीकरण, जलवायु अनुकूलन र दिगो सहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिने छ। सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिने छ।

    २८. अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच वृद्धि गर्दै वन, कृषि, ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रलाई टेवा दिइने छ। “हरित वित्त ढाँचा” विकास गरी जलविद्युत् लगायत हरित पूर्वाधारमा अन्तर्राष्ट्रिय सहुलियतपूर्ण वित्त आकर्षण गरिने छ। “नेट जिरो २०४५” प्रतिबद्धता कार्यान्वयनका लागि क्षेत्रगत लक्ष्य र समय सीमासहितको राष्ट्रिय कार्ययोजना लागु गरिने छ।

    २९. नेपालका नदीहरूलाई केवल जलस्रोत मात्र नभई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वको आधारका रूपमा समेत संरक्षण गर्ने राष्ट्रिय नीति अवलम्बन गरिने छ। धार्मिक, सांस्कृतिक, वातावरणीय तथा सामाजिक महत्त्वका नदीहरूको वैज्ञानिक अध्ययन गरिने छ। नदीसँग जोडिएका आदिवासी समुदाय, परम्परा र आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्दै आगामी पुस्ताका लागि स्वच्छ, निरन्तर बग्ने नदी प्रणाली सुनिश्चित गरिने छ। नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन लागु गर्दै जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय लाभहरू समेट्ने बहुउद्देश्यीय आयोजना विकास गरिने छ। आगामी दशकमा तिस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिने छ। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गरिने छ।

    ३०. विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने छ। ऊर्जा(आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिने छ। अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने छ।

    ३१. राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गरिने छ। ग्रिन हाइड्रोजन, हरित अमोनिया तथा रासायनिक मल जस्ता रणनीतिक हरित उद्योगलाई प्रवर्धन गर्न कर-भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर, पुँजी प्रोत्साहन र लगानीमैत्री नीति लागु गरिने छ। साथै, यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रिन हाइड्रोजन पूर्वाधारको सुरुवात गरिने छ।

    ३२. तराई-मधेशका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधिमार्फत सिँचाइ सुविधा सुनिश्चित गरिने छ। ठुला सिँचाइ प्रणालीको आधुनिकीकरण, मर्मत सम्भार तथा पुनःस्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिने छ। स्वचालित जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ गरिने छ। बहुप्रकोप पूर्व सूचना प्रणालीलाई सुदृढ गरी थप विश्वसनीय बनाइने छ।

    ३३. औद्योगिक नीति, २०६७ परिमार्जन गरी नयाँ “राष्ट्रिय औद्योगिक नीति” तर्जुमा गरिने छ। स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन “राष्ट्रिय उद्यम प्रवर्धन सुविधा” स्थापना गरिने छ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्युनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने छ।

    ३४. लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिने छ। महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन “महिला उद्यमशीलता विकास रणनीति” तर्जुमा गरिने छ। श्रम प्रधान, निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि “रोजगारी आदि उत्पादन क्षेत्र” स्थापना गरिने छ।

    ३५. खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्न नीतिगत, कानुनी र संस्थागत सुधार गरिने छ। ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग, पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिने छ।

    ३६. हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ। नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने छ। पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई-गेट प्रणाली जडान गरी यात्रीको प्रतीक्षा समय घटाइने छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिने छ।

    ३७. अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने छ। पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने छ। “भिजिट नेपाल २०८५” को पूर्व तयारीका लागि पर्यटक आगमन, प्रति पर्यटक खर्च वृद्धि र बसाइ अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गरिने छ।

    ३८. नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न “देवभूमि नेपाल” राष्ट्रिय अभियान सञ्चालन गरिने छ। धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने छ। आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिने छ।

    ३९. समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्धन गरिने छ। जीवन्त सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई “नेपाल होमस्टे” ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने छ।

    ४०. नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, स्काइ डाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने छ। कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा राखी नयाँ गन्तव्यहरूको प्रवर्धन गरिने छ। हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा दस नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिने छ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडेलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने छ।

    ४१. नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने छ। “कमाउँदै सिक्दै” अवधारणामा आधारित राष्ट्रिय एप्रेटिन्ससिप कार्यक्रम सञ्चालन गरिने छ। नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने “रिमोट वर्क नीति” को कानुनी व्यवस्था गरिने छ। वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल “सिप पासपोर्ट” मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने छ।

    ४२. श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गरिने छ। डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पार्रिश्रमिक सुनिश्चितता, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिने छ। सरकार, रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन गरिने छ। बाल श्रम निवारणसम्बन्धी प्रतिबद्धताको कडाइका साथ कार्यान्वयन गरिने छ।

    ४३. वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलमूलक बनाइने छ। अत्यधिक सेवा शुल्क र श्रम शोषणविरुद्ध कारबाही गरिने छ। वैदेशिक रोजगारमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराइने छ। श्रम कूटनीति मार्फत उच्च पार्रिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने छ। विप्रेषणलाई उपभोगबाट उत्पादिशील लगानीमा रूपान्िरत गर्न “विप्रेषण-लगानी मिलान कोष” सञ्चालन गरिने छ। विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका कामदारका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिने छ। रिभर्स माइग्रेसनलाई प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने छ।

    ४४. अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने छ। वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष २०८३\०८४ देखि २०९२\०९३ सम्म “रोजगार प्रवर्धन दशक” घोषणा गरी कार्यक्रम सञ्चालन गरिने छ।

    ४५. शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने छ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने छ। पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिने छ। सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर(केन्द्रित बनाउन स्वस्थ नियमन गरिने छ।

    ४६. ई-लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिने छ। उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने छ। दस हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिने छ। विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजनामार्फत कार्यान्वयन गरिने छ।

    ४७. विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने छ। स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाइ वातावरणलाई सुदृढ गरिने छ। अटिजम तथा न्यूरो डाइभर्सिटी भएका बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने छ। सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणालीमार्फत सिधै बैँक खातामा भुक्तानी हुने व्यवस्था मिलाइने छ।

    ४८. शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित र पारदर्शी बनाइने छ। शिक्षकको पेसागत विकास, अभिलेख व्यवस्थापन र उचित पार्रिश्रमिक सुनिश्चित गरिने छ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ। विद्यालय शिक्षालाई सिकाइमुखी बनाउन पाठ्यक्रम, मूल्याङ्कन र प्रमाणीकरण प्रणालीको पुनरावलोकन एवम् सुधार गरिने छ।

    ४९. खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग तोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने छ। खेल क्षेत्रको व्यावसायीकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासमा युवा परिचालन गरिने छ।

    ५०.महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक लगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणलाई उच्च प्राथमिकता दिइने छ। अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै अधिकारमा आधारित विकासको सुनिश्चितता गरिने छ।

    ५१. सबै प्रकारका लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखनमुक्त समाज निर्माण गरिने छ। सामाजिक तथा सांस्कृतिक विभेद र हानिकारक अभ्यास अन्त्य गर्न सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिने छ। हिंसा पीडित(केन्द्रित सेवा प्रणाली सुदृढ गरी उद्धार, कानुनी सहायता, पुनःस्थापना र सामाजिक पुनःएकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने छ।

    ५२. आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने छ। तिनै तहका सरकारको बजेट प्रणालीमा “बालबालिका उत्तरदायी बजेट कोड” लागु गरिने छ।

    ५३. असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनःस्थापना सेवाको व्यवस्था गरिनेछ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइने छ। सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्गतामैत्री बनाइने छ।

    ५४. सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, दोहोरोपन न्युनीकरण र सेवा प्रवाहमा एकरूपता कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय तथा सहकार्य सुदृढ गरिने छ। गैरसरकारी संस्थामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न नीतिगत तथा संस्थागत सुधार गरिने छ।

    ५५. देशभर आधभूरभूत स्वास्थ्य सेवामा “न्यूनतम मापदण्ड” लागु गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिने छ।

    ५६. स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने छ। टेलिहेल्थ प्लेटफर्ममार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने छ। रोग निगरानी र नियन्त्रणका लागि “सेन्टर फर डिजिज कन्ट्रोल” तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन “राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण” स्थापना गरिने छ। जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा “राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला” स्थापना गरिने छ।

    ५७. क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, सचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने छ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने छ। योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिने छ।

    ५८. अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स, फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइने छ। अपाङ्गताको प्रारम्भिक पहिचान, शीघ्र हस्तक्षेप र पुनःस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिने छ। बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने छ।

    ५९. स्वास्थ्य जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिने छ। आयुर्वेद, प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गरिने छ। नेपाल औषधी लिमिटेडको स्तरोन्नति गरिने छ। स्वदेशी औषधि उत्पादनलाई प्रवर्धन गरिने छ।

    माननीय सदस्यहरू,

    ६०. सम्वत् २०८७ सम्ममा सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित तिनै तहका सरकारको समन्वयमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिने छ। ठुला अधुरा आयोजनाहरू शीघ्र सम्पन्न गरिने छ। तराई-मधेशमा आर्सेनिकमुक्त पानी, डिप बोरिङ र सतही जल प्रणाली विकास गरिने छ। ढल व्यवस्थापन प्रणाली सुधार गरी नदी-नालाको स्वच्छता कायम गरिने छ। खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित परीक्षण पद्धति स्थापित गरिने छ।

    ६१. जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न भूमिगत जल पुनर्भरण, वर्षातको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना र मुहान संरक्षणलाई प्राथमिकता दिइने छ। “हिमालयन ओरिजिन सेफ ड्रिङ्किङ वाटर” अवधारणामार्फत नेपाली जलको ब्रान्डिङ गरिने छ।

    ६२. सार्वजनिक पूर्वाधार, विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गतामैत्री सरसफाइ पूर्वाधार विस्तार गरिने छ। काठमाडौँ उपत्यकासहित ठुला सहरहरूमा ढल तथा फोहोर व्यवस्थापन प्रणालीलाई निजी क्षेत्र, समुदाय र सहकारीको सहभागितामा एकीकृत रूपमा सञ्चालन गरिने छ। ढल प्रशोधन संयन्त्र स्थापना गरी प्रशोधित पानीलाई सिँचाइ तथा उद्योगका लागि प्रयोग गरिने छ। बागमती लगायत नदीहरूको वातावरणीय स्वच्छता कायम गरिने छ।

    माननीय सदस्यहरू,

    ६३. हुलाकी, पुष्पलाल, उत्तर(दक्षिण राजमार्गलगायतका राष्ट्रिय सडक सञ्जालको स्तरोन्नति र विस्तार तीव्र पारिने छ। काठमाडौँ-तराई मधेश द्रुतमार्ग तथा यसका लिङ्क सडकहरू शीघ्र सम्पन्न गरिने छ। सबै स्थानीय तहलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिने छ।

    ६४. विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाइने छ। पर्यटन सम्भावना भएका क्षेत्रमा सडक पहुँच, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग र राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइने छ।

    ६५. पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गरिने छ। सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जन गरिने छ। ठुला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ मापदण्डको प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ। सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्ने “एकीकृत राष्ट्रिय यातायात गुरुयोजना” तयार गरिने छ। “लगानी एक्सप्रेस” अवधारणा अनुसार पूर्वाधारसँग सम्बन्धित विवादको शीघ्र सुनुवाइ र निर्णय गरिने छ।

    ६६. सडक दुर्घटना न्यूनीकरणका लागि जिपिएस ट्र्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाइका साथ लागु गरिने छ। पैदल तथा साइकल यात्रीका लागि सुरक्षित पूर्वाधार निर्माण गरिने छ। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिने छ। काठमाडौँमा “बस र्‍यापिड ट्रान्जिट ९बिआरटी०” को विस्तृत अध्ययन र कार्यान्वयन प्रक्रिया सुरु गरिने छ।

    ६७. पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निर्माणलाई निरन्तरता दिई केरुङ-काठमाडौँ तथा रक्सौल(काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढाइने छ। दीर्घकालीन रूपमा जलवायु अनुकूल, दिगो र प्रतिस्पर्धी यातायात प्रणाली निर्माण गरिने छ।

    ६८. सहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकता दिँदै बृहत् सहरी विकास कार्यक्रम सञ्चालन गरिने छ। एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्दै फोहोर सङ्कलन, प्रशोधन र पुनःप्रयोगका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिने छ।

    ६९. आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद् प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिने छ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने छ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास, पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिने छ।

    ७०. राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागु गरिने छ। २०७२ को भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइने छ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू(उपयोग, पूर्वाधार र सामुदायिक सेवासहितको एकीकृत परियोजना लागु गरिने छ।

    ७१. प्रतिक्रियामुखीभन्दा पूर्व तयारीमुखी विपद् व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली र विपद् सुरक्षा अभ्यासलाई संस्थागत गरिने छ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सम्मिलित एकीकृत कमान्ड प्रणाली विकास गरी ड्रोन, हेलिकोप्टर लगायत आधुनिक प्रविधिको प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गरिने छ।

    ७२. बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने छ। साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने “शून्य-ढिलाइ खरिद नीति” लागु गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिने छ। ठुला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति लागु गरिने छ।

    माननीय सदस्यहरू,

    ७३.डिजिटल सुशासन ब्लु प्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी ई-क्लाउड र डाटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिने छ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर-सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिने छ।

    ७४. डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्टअप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने छ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागु गरिने छ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्युनीकरण गरिने छ।

    ७५. विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तिनै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने छ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिने छ।

    ७६. चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिने छ। मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गरिने छ।

    माननीय सदस्यहरू,

    ७७. जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद् सम्बन्धी पूर्वसूचना प्रणाली विकास गरिने छ। नागरिक एप मार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गरिने छ। विपद् पश्चात् क्षतिपूर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गरिने छ।

    ७८. कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गरी पुनःस्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिने छ। कसुरजन्य सम्पत्ति जफत, व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइने छ।

    ७९. इ-के.वाई.सी. लागु गरी बैंकिङ, दूरसञ्चार र सार्वजनिक सेवामा डिजिटल प्रमाणीकरण गरिने छ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार जोखिम न्युनीकरण, सेवा स्वचालन र नागरिक विश्वास अभिवृद्धि गरिने छ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा गुनासो सम्बोधन गरिने छ।

    ८०. नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने छ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाइने छ। लागु औषधी नियन्त्रण, अन्तरदेशीय अपराध तथा जटिल अपराध न्युनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने छ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना गरिने छ।

    ८१. सशस्त्र प्रहरी बल, नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिने छ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने छ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने छ। सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक-सुरक्षा सम्बन्ध सुदृढ बनाइने छ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने छ।

    ८२. बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानुनको समसामयिक परिमार्जन गरिने छ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिने छ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकासमार्फत व्यावसायिकता अभिवृद्धि गरिने छ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिने छ।

    ८३. ठुला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिने छ। ऐतिहासिक गढी, किल्ला तथा पदमार्गको संरक्षण र प्रवर्धनमार्फत राष्ट्रिय पहिचान सुदृढ गर्दै पर्यटन विकासलाई टेवा दिइने छ।

    ८४. सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गरिने छ। विपन्न तथा असहाय नागरिकका लागि निःशुल्क कानुनी सहायता विस्तार गरिने छ। सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याइने छ।

    ८५. कार्यपालिका र व्यवस्थापिका बिचको समन्वय तथा अन्तरसम्बन्ध सुदृढ गर्दै कानुन तर्जुमा, संशोधन र कार्यान्वयन प्रक्रियालाई छिटो, गुणस्तरीय र परिणाममुखी बनाइने छ। अभियोजन प्रणालीलाई तथ्य, प्रविधि र वैज्ञानिक अनुसन्धानमा आधारित बनाइने छ। अपराध पीडितलाई तत्काल राहत, क्षतिपूर्ति र सहयोग उपलब्ध गराइने छ।

    माननीय सदस्यहरू,

    ८६. नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिने छ। छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिने छ।

    ८७. नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्वमञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिने छ। विदेशस्थित नियोगमार्फत नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै “ब्रान्ड नेपाल अभियान” सञ्चालन गरिने छ।

    ८८. परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवम् शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिने छ। वैदेशिक सहायता, लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौमसत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिने छ।

    ८९. विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिने छ। विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातैदिन चौबिसै घण्टा “सेन्ट्रल रेस्पोन्स युनिट” र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिने छ।

    ९०. प्रवासमा रहेका नेपालीको पुँजी, सिप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न “डायस्पोरा विज्ञ सञ्जाल” तथा “ज्ञान बैँक” स्थापना गरिने छ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानुनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिने छ। गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच र लोकतान्त्रिक अधिकारसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गरिने छ।

    माननीय सदस्यहरू,

    ९१. निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवम् व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी, स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी व्यवस्था, सूचकमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिने छ।

    ९२. निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड, कमजोर कार्यसम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिकमैत्री संस्थाको रूपमा विकास गरिने छ।

    ९३. “एक पटकको विवरण सबै सेवामा प्रयोग” को सिद्धान्तमा आधारित अन्तरसञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिने छ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत इ-गभर्नेन्स प्रणाली सुदृढ गरिने छ। न्यूनतम एक सय सरकारी सेवाहरूलाई एकीकृत “नागरिक एप” मार्फत उपलब्ध गराइने छ।

    ९४. प्रत्येक सेवाको कानुनी समयसीमा तोकी उल्लङ्घन गर्ने अधिकारी स्वतः जबाफदेही हुने व्यवस्था गरिने छ। राष्ट्रिय परिचय पत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तर आबद्ध गर्दै “एक परिचयपत्र नीति” लागु गरी नागरिकता, बैंकिङ, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सेवालाई एकीकृत गरिने छ। “एकल सेवा केन्द्र” लाई सबै कार्यालयमा विस्तार गर्ने तथा अत्यावश्यक सेवा सातैदिन सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणालीमार्फत नागरिकलाई लाइन, झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिने छ।

    ९५. अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारबाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई “भ्रष्टाचार निवारण एकाइ” का रूपमा पुनर्संरचना गरिने छ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कारसम्बन्धी व्यवस्था गरिने छ। उच्च पदस्थ पदाधिकारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने छ।

    ९६. सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाइने छ। नागरिक विश्वास तथा सुशासन धारणा सूचकाङ्क, डिजिटल अडिट प्रणालीमार्फत उच्च जोखिम क्षेत्र पहिचान गरी भ्रष्टाचार रोकथाममूलक कारबाही सुदृढ गरिने छ।

    ९७. नीति तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक “थिङ्क-ट्याङ्क” तथा “राष्ट्रिय नीति शोधशाला” को रूपमा विकास गरिने छ। राष्ट्रिय तथ्याङ्क प्रणालीको सामयिक पुनर्संरचना गरी सुदृढ बनाइने छ।

    ९८. मानव अधिकारको संरक्षण र प्रवर्धनलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिने छ। मानव अधिकार उल्लङ्घनमा शून्य सहनशीलता अपनाइने छ। राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गरिने छ।

    ९९. उत्तरदायी सुशासन मार्फत सामाजिक न्याय, समतामूलक अवसर र तीव्र आर्थिक विकास सुनिश्चित गर्न सत्तारूढ दलको वाचा पत्र एवम् प्रमुख राजनीतिक दलका साझा प्रतिबद्धतालाई आधार मान्दै राष्ट्रिय स्रोत, साधन र सामर्थ्यको न्यायोचित परिचालन गरिने छ।

    १००. आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने छ। उत्तरदायी शासन प्रणालीमार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति-केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिने छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुने छ।

    प्रतिनिधि सभाका सम्माननीय सभामुख,

    राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

    माननीय सदस्यहरू,

    अन्त्यमा, लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल तथा अग्रज योद्धा, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना लगायत सबै सुरक्षा निकायहरू, किसान, मजदुर, उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालको सर्वाङ्गीण विकासमा योगदानका लागि हार्दिक आह्वान गर्दछु।

    नेपालको उन्नतिको लक्ष्य हासिल गर्न उदारतापूर्वक निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएका छिमेकी देश लगायत मित्रराष्ट्र, विकास साझेदार तथा गैर आवासीय नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको निरन्तर सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछु। धन्यवाद।

  • आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

    काठमाडौँ, वैशाख २८ गते । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने भएको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ ।

    यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८स्३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । यस अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ मा उल्लेख छ । त्यसै गरी सरकारी निकायमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक रहेको सो मार्गदर्शनमा जनाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो । मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने छ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरिने छ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वार आकर्षक र सफा राखिने छ ।

    त्यसै गरी शौचालय दुर्गन्धरहित बनाइने छ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने छ । हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्ने छ । शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने, कार्यालयले कम्तीमा दुई प्रकारका फोहोरदानी ९डस्टबिन० राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने जारी सूचनामा उल्लेख छ । मार्गदर्शनमा पुराना काम नलाग्ने सामानको उचित व्यवस्थापन गर्न आग्रह गरिए पनि खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    त्यसै गरी कार्यालयपरिसरको एक सय मिटरवरिपरि, नाली र ढल सफा हुनुपर्ने, पार्किङ क्षेत्र सुधार गरी अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने, कार्यालयमा सहायता कक्ष ९हेल्प डेस्क० व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउने गरी सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मार्गदर्शनमा निर्देश गरिएको छ ।

    ​दिगोपन र अनुगमनको संयन्त्र

    यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने छ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छस जसले यसको नियमित अभिलेख राख्नुपर्ने छ ।

  • बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

    २८ वैशाख, काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको उनले बताए ।

    उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् ।

    संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ ।

    यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुनेछन् ।

  • सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    सोमबारदेखि संसद्को बजेट अधिवेशन, नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौँ, वैशाख २७ गते । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।
    नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उनले जानकारी दिए । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ स्४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक हुने छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रीपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायत कार्यसूची छ । यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि_ पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने छन् । रासस

  • अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

    अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

    काठमाडौँ, वैशाख २७ गते । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव प्रस्ताव गर्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।


    सरकारले अघि सार्न लागेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिलका लागि निजी क्षेत्रले योगदान गर्न तयार रहेका बताउँदै अध्यक्ष कार्कीले सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । उनले त्यसका लागि विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार प्रसारण लाइनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।


    इप्पानका अध्यक्ष कार्कीले धितोपत्र बोर्डबाट समयमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्नुपर्ने, आयोजनालाई शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्नेलगायत विषयमा सरकारले नीतिगत र कानुनीगत रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी अघि बढाउनुपर्ने सुझाव दिए । सो अवसरमा अर्थमन्त्री डा वाग्लेले अर्थतन्त्रमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएकाले सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्ने सरकारको योजना रहेको बताउँदै यसमा साथ दिन आग्रह गरे ।

    “सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ”, उनले भने । लगानीकर्ताको साथ सरकार चाहने र लगानीकर्ताले पनि उच्च व्यावसायिक र इमान्दारिताका साथ लगानी भएको क्षेत्र ऊर्जा हो भन्ने देखिने गरी अघि बढ्नुपर्नेमा अर्थमन्त्री वाग्लेले स्पष्ट पारे ।

    इप्पानको सुझावमा नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक घोषणासहित सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्यलाई साकार पार्न विद्युत् खरिद९बिक्रीका अन्य विकल्प कार्यान्वयन गर्नुपर्ने भेटर्वाता कार्यक्रममा सहभागीले बताएका छन् ।

    कार्यान्वयनमा नआउँदासम्म आन्तरिक माग र अन्तरदेशीय विद्युत् बजारको मागलाई मध्यनजर गर्दै पिपिए गर्नुपर्ने, विद्युत् उत्पादक कम्पनीले स्वदेशमा उत्पादन गरेको विद्युत् खरिदका साथै छिमेकी देशबाट विद्युत् आयातका लागि हालसम्म चलिरहेको एकल क्रेता प्रणालीलाई अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।

  • मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    २७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्त कमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ ।

    कृष्णपुर नगरपालिका–२ का नीरज रानाले विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन् । राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारीचालक र यात्री हुन् । ‘बिहानदेखि साँझसम्म सडकछेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको छ,’ उनले भने । राना मुक्त कमैया बस्तीमा बस्छन् । सरकारले करिब तीन दशकअघि पुनस्र्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर उनको परिवार बस्दै आएको छ ।

    माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगर खेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घरनजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । ‘दैनिक पाँच हजार रुपैयाँजतिको बिक्री हुन्छ,’ रानाले भने, ‘सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

    वनहरा मुक्त कमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगर खेतीमा संलग्न छन् । नदी किनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत ‘लिज’ ९भाडा० मा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, घिरौँला र करेला लगाएका छन् ।

    ‘गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु,’ शिवलालले भने, ‘सिजनमा पाँच लाख रुपैयाँसम्मको बिक्री हुन्छ, जसबाट दुई-तीन लाख रुपैयाँसम्म बचत हुन्छ ।’ उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोत हो । ‘अरू गरिखाने आधार छैन,’ उनले थपे, ‘यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

    सडक किनारमा तरबुजा प्रतिकिलो २५, काँक्रा ४०, घिरौँला ६० र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

    ‘राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, यहाँका काँक्रा र तरबुजा निकै मीठा हुन्छन्,’ उनले भने, ‘स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’ तर सडकछेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्त कमैया बताउँछन् ।

    तरकारी तथा फलफूल बिक्रीमा संलग्न धीरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

    बगर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठुलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । मलखाद, बिउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् ।

    ‘खेती गर्न सजिलो छैन, दिनरात मिहिनेत गर्नुपर्छ,’ उनले भनिन्, ‘राम्रो स्याहारसुसार गरे मात्रै उत्पादन राम्रो हुन्छ ।’ स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताइन् । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ,’ उनले भनिन्, ‘यसले घरधन्दा धानेको छ ।’

    विरा रानाका अनुसार बगर खेतीले मुक्त कमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन,’ उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

    रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्त कमैया परिवारका लागि बगर खेती आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ ।

    तर कृषि अनुदान, सिँचाइ, बिउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्त कमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् । ‘यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,’ लीलावती वडायकले भनिन्, ‘बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’

    वनहरा नदी किनारको बगर अहिले मुक्त कमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्त कमैया परिवारको घरखर्च मात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

  • जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल

    जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल

    २६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो।

    यस पोर्टलका माध्यमबाट देश–विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय(सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्ने भएका छन् । ​सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको कार्यालय ेजनाएको छ ।


    यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावहरूलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगिने बताइएको छ । जनताले पोर्टलमा दिएका आफ्ना सुझावहरूको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी ुसुझाव ट्र्याकु गर्ने विशेष सुविधा समेत यस प्रणालीमा समावेश गरिएको छ।

    ​सरकारले यस महत्वपूर्ण डिजिटल पहलमा सक्रियताका साथ सहभागी भई समृद्ध नेपाल निर्माणको महाभियानमा रचनात्मक योगदान पुर्‍याउन सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ। नागरिकहरूले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय–सुझावहरू सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन्।

  • बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

    बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

    काठमाडौँ, २६ वैशाख । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो ।

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताइन् । सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको बताइन् ।
    प्रेसविज्ञ दाहालले सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्नसमेत आग्रह गरिन् ।


    अभियानको समयसीमा र नेतृत्व
    यो विशेष अभियान सोमबारदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचारअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायलाई निर्देशन दिइसकेको छ । अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई निर्देशन दिइसकिएको प्रधानमन्त्रीका प्रेसविज्ञ दाहालले जानकारी दिइन् ।

    कसले के जिम्मेवारी निभाउने ?

    प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गरी सोको नियमित अनुगमन गर्नेछन् । यस्तै, जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचारप्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ । केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछन् ।

    अभियानको आवश्यकता ?
    बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिनेक्रम बढेको विषयमा गुनासा बढेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो । बजारमा उपलब्ध हुने हरेक वस्तु तथा सेवाको मूल्यमा स्पष्टता र पारदर्शिता ल्याउन, व्यापारी र सेवा प्रदायकलाई जवाफदेही बनाउन, अनिवार्य मूल्यसूचीको व्यवस्था लागू गर्न र अनुगमन प्रणालीलाई चुस्त बनाउँदै दोषीमाथि तत्काल कारबाही सुनिश्चित गर्न यो अभियान सुरु गर्न लागिएको जनाइएको छ ।

  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

    २६ वैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बनधी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो ।

    अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको योग्यता हुनुपर्ने भनिएको छ ।

    त्यस्तै विज्ञ सदस्यका लागि अर्थशास्त्र,वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य गरेको अनुभव माग गरिएको छ । उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरुले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् ।

    उनीहरुले दरखास्त बुझाउँदा वित्तिय सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या, चुनौति र अवसर सहितको कार्ययोजना समेत पेश गर्नुपर्नेछ । सूचना जारी भएको १५ दिनभित्र ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

  • सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

    सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

    २५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए ।

    काठमाडौंका नदी किनाराका सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रिट निवेदन दायर भएको थियो ।

    अन्तरिम आदेशमा भनिएको छ, ‘सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई निजहरू बसोवास गरिरहेको स्थानबाट विस्थापन गरी अन्यन्त्र व्यवस्थापन गर्ने सम्बन्धमा कानुनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको बासस्थानबाट हटाउँदा, शिक्षा, स्वास्थ्य, आवास लगायतका हकमा हुन जाने अपूरणीय क्षति एवं उत्पन्न हुन सक्ने मानवीय संकट समेतलाई दृष्टिगत गरी सो सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०८२-१२-१३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुँदा नम्बर ९१ मा उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर ४१२ मिति २०८३-०१-१७ को सबै नगरपालिका र गाउँपालिकाको नाउँमा जारी परिपत्र एवं गृहमन्त्रालयको चलानी नम्बर ६५० मिति २०८३-०१-१७ को पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थिपत गर्ने कार्य नगर्न नगराउनू ।’

    यसैगरी विस्थापित सुकुमवासी एवं अव्यवस्थित बसोवासीहरूको हकमा निजहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गर्ने गराउने थप प्रभावकारी कार्य गर्ने गराउनु भनी सर्वोच्च अदालत नियममावली २०७४ को नियम ४९ बमोजिम प्रस्तुत निवेदनको टुंगो नलागेसम्मका लागि विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएको छ ।

    राष्ट्रिय मानव अधिकारी आयोगले समेत विस्थापित एवं अव्यवस्थित बसोवासीहरू समस्यामा रहेको भनी औंल्याएको अवस्थामा विस्थापित उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गर्ने गराउने थप प्रभावकारी व्यवस्था मिलाउन आदेशमा भनिएको छ ।

    रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबरजस्ती कारबाही नगर्नू, नगराउनु भनी माग गरिएको थियो ।

  • सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?

    सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?

    २५ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि महत्त्वपूर्ण कदम चालेको दावि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने कार्यालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ।

    सरकारले पहिलो चरणमा काठमाडौंका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीहरूको विवरण संकलन गर्नेछ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लाहरूमा पनि विस्तार गरिने योजना रहेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिहरूका लागि सरकारले चाँडै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गर्ने तयारी गरेको छ।

    पहिचान र वर्गीकरणको सरल प्रक्रिया
    लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदकहरूलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचयपत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचयपत्र नभएका व्यक्तिहरूलाई छुट्टाछुट्टै समूहमा राखेर विवरण संकलन गरिनेछ। परिचयपत्र नभएकाहरूको हकमा होल्डिङ सेन्टरमै स्थापना गरिने संयुक्त डेस्कमार्फत तत्कालै राष्ट्रिय परिचयपत्र बनाउने विशेष व्यवस्था मिलाइएको छ, जसले गर्दा पहिचानको अभावमा कोही पनि वास्तविक भूमिहीन प्रक्रियाबाट वञ्चित हुनुपर्ने छैन।

    विस्तृत डिजिटल प्रणाली र सुरक्षा
    नयाँ डिजिटल प्रणालीमा प्रत्येक व्यक्तिको व्यक्तिगत तथा पारिवारिक विवरण मात्र नभई सामाजिक–आर्थिक अवस्था, आयस्रोत, शैक्षिक योग्यता र सीपको समेत अभिलेख राखिनेछ। बायोमेट्रिक र फोटोसहितको यो डेटालाई अन्य सरकारी प्रणालीसँग क्रस–जाँच गरी वास्तविक पीडितको पहिचान सुनिश्चित गरिनेछ। सहभागी प्रत्येक परिवारलाई डिजिटल परिचयपत्र उपलब्ध गराइनेछ र बैंक खाता नभएकाहरूको नयाँ खाता खोलेर सरकारले दिने राहत तथा अनुदान सिधै सोही खातामा पठाउने व्यवस्था मिलाइएको छ।

    दीर्घकालीन पुनस्थापना र सामाजिक सुरक्षा
    यो अभियान सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर ९१ अन्तर्गत कार्यान्वयनमा ल्याइएको हो। प्रधानमन्त्री शाहले पनि यस अभियानबारे सार्वजनिकरुपमा स्पष्ट पारेका छन् । सरकारले यस लगतलाई केवल तथ्याङ्क संकलनमा सीमित नराखी रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षा योजनासँग समेत जोड्ने लक्ष्य लिएको छ। परिवारका सदस्यहरूको स्वास्थ्य अवस्था, दीर्घरोग र गर्भावस्था जस्ता संवेदनशील विवरणका आधारमा लक्षित सरकारी योजनाहरू कार्यान्वयन गर्न यसले थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

  • ऊर्जा मन्त्री भन्छन् : मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गयो

    ऊर्जा मन्त्री भन्छन् : मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गयो

    २५ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित ‘राष्ट्रिय मनसुन फोरम २०२६’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मनसुन फोरम केवल मौसमी पूर्वानुमान प्रस्तुत गर्ने औपचारिक मञ्च मात्र नभई विज्ञान, विकास कार्यक्रम कार्यान्वयन तथा विपद् पूर्व तयारीलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण संगम भएको बताए ।

    उनले पछिल्लो समयमा मौसम पूर्वानुमान सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान नीति–२०८१ ले अघि सारेको ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल, मौसम तथा जलवायु सेवा’ भन्ने लक्ष्य प्राप्तिका लागि अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको औंल्याए । मन्त्री श्रेष्ठका अनुसार जल तथा मौसम सेवाको गुणस्तर सुधार गर्न अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दिगो व्यवस्थापन, अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्थान विशेषको पूर्वानुमान प्रणाली विकास गर्न आवश्यक छ ।

    मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई नवप्रवद्र्धनयुक्त प्रविधिसँग जोडेर एसएमएस, डिजिटल प्लेटफर्म तथा उपलब्ध सबै सञ्चार माध्यममार्फत जनस्तरसम्म पु¥याउनुपर्नेमा आवश्यकतालाई जोड दिए । मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी सूचनाले विपद् जोखिम न्यूनीकरण मात्र नभई पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रलाई पनि प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । पूर्वानुमान प्रणालीले यातायात तथा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा व्यवस्थापन, कृषि उत्पादन तथा सिँचाइ व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।


    मन्त्री श्रेष्ठले वर्षा र नदी प्रवाहको पूर्वानुमानले जलाशय व्यवस्थापन र विद्युत उत्पादन योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गर्दै मनसुन आँकलनले विपद्का लागि मनसुन पूर्वतयारी कार्य योजनालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्ला वर्षहरूमा एसएमएस र बुलेटिनमार्फत सञ्चालन गरिएको बाढी पूर्वसूचना प्रणालीले लाखौं नागरिकलाई समयमै सतर्क गराई जनधनको क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै आगामी दिनमा जल तथा मौसम सूचना प्रणालीको प्राविधिक र जनशक्तिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।


    कार्यक्रममा मन्त्रालयका सचिव सरिता दवाडी, तथा विभागका महानिर्देशक डा। अर्चना श्रेष्ठले १६औं योजनाले चारवटै ऋतुको मौसम पूर्वानुमान गर्ने लक्ष्य लिएको स्मरण गराउँदै जल तथा मौसम सूचना प्रणालीलाई थप प्रविधिमैत्री, आधुनिक र विश्वसनीय बनाउने दिशामा सरकार अघि बढिरहेको बताए । कार्यक्रममा विभागले यस वर्ष औसतभन्दा कम मनसुन र औसतभन्दा बढी सुख्खा हुने सम्भावना रहेको प्रारम्भिक आँकलन सार्वजनिक गरेको छ ।

    विभागका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, अधिकतम र न्यूनतम तापक्रम देशभर औसतभन्दा बढी रहने सम्भावना औंल्याइएको छ । विभागले विशेषगरी कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी क्षेत्र तथा कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

  • १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    काठमाडौँ, वैशाख २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिए ।


    मन्त्रालयका अनुसार जिटुजी र बिटुबी गरी हाल १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ तर नेपाली भने रोजगारीका लागि १७८ वटा देशमा श्रम स्वीकृति लिएर गएका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन् । अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो रहेको छ । श्रममन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रमशोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपालीमाथि भएरहेको ठगी नियन्त्रण हुने बताए ।

    उनका अनुसार श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिक गैरकानुनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको पनि स्वीकार गरे ।

    बैठकमा उठेका प्रश्नको जवाफमा उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट पारे । बैठकमा समिति सदस्यले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए । बैठक सो समितिका सभापति रहबर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    २३ वैशाख, काठमाडौँ । नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।
    सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो । उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, शहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो। यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ।

    हाल पठाओ नेपाल काठमाडौँ उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ। यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले गिग अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्‍याएको छ। पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ। अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबीचको आवतजावत सेवा, खाना डेलिभरी, नेपाल भर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ।

    पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ।

  • सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    २३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिए ।

    सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए । उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे । बैठकमा प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगती हासिल भएको छ भने भौतिक प्रगती ७० प्रतिशत भन्दामाथी पुगेको छ ।


    समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ ।मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए । विभिन्न निकायका प्रमुखहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।


    तीन महिनामा लक्षित कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र वार्षिक रुपमा लक्षित कार्यक्रम पुरा हुनेक्रममा रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अधिकारी तथा मन्त्रालय मातह विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा बन्दै बालेन सरकार

    राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा बन्दै बालेन सरकार

    २३ वैशाख, काठमाडौं । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।


    प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।

    यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन् । उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो।

    विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।

  • मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    २३ वैशाख, काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरे ।

    त्यस्तै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए ।

    उनले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्यांकलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्सहानका कार्यक्रम ल्याउने समेत बताए । उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराइन् ।

  • शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

    शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

    २३ वैशाख, काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। यसका लागि मिति २०७३–०२–३१ र २०७४–०१–२१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो।

    तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।

  • समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

    २३ वैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । 


    साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो । ऋणीहरूको नाम यस प्रकार रहेको छ । 

  • निर्माण कार्यमा तीव्रता ल्याउन भौतिक तथा शहरी विकास मन्त्रालयको निर्देशन

    निर्माण कार्यमा तीव्रता ल्याउन भौतिक तथा शहरी विकास मन्त्रालयको निर्देशन

    २२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरुको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्याहरू समाधान गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ। मंगलबार मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न भनेको हो ।

    आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । ‘मूल्य समायोजन सम्बन्धमा कन्ट्रयाक्ट डकुमेन्टमा भएको व्यवस्था अनुरुप मूल्य समायोजन गरिने हुदाँ सो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुहुन र उक्त व्यवस्था कार्यान्वयनमा कुनै समस्या भएमा वा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने विषय भएमा तत्काल मन्त्रालयमा पठाउनुहुन निर्देशन छ ।, परिपत्रमा भनिएको छ ।

    कुनै आयोजनाको कार्य गतिविधि सुचारु नभएमा सम्बन्धित आयोजना प्रमुख र निर्देशक जिम्मेवार हुने तथा निर्माण स्थलमा उल्लेख्य प्रगति नभएको खण्डमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवारी हुने गरी व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको अग्रसरताले निर्माण क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने सहयोग पुग्ने मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बताए ।

  • आज यस्तो छ मूख्य राजमार्गको अवस्था

    आज यस्तो छ मूख्य राजमार्गको अवस्था

    २३ वैशाख, काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध छन् ।

    प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको छ ।

    भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन्। यसैगरी इलामस्थित रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने चारसयबेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग भने पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

  • सहकारी पीडितको बचत फिर्ता कसरी गरिँदै छ ?

    सहकारी पीडितको बचत फिर्ता कसरी गरिँदै छ ?

    काठमाडौँ, वैशाख २३ गते । सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जानकारी दिइन् ।


    मन्त्रालयका अनुसार सहकारी क्षेत्रमा देखिएको वित्तीय सङ्कटका कारण हजारौँ सर्वसाधारणको बचत जोखिममा परेको अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । प्रारम्भिक चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइने छ भने त्यसपछि क्रमशः अन्य पीडितलाई पनि समेटिने योजना छ । मन्त्री रावलले सरकार सहकारीपीडितप्रति गम्भीर रहेको बताउँदै राहत वितरणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन् ।

    उनका अनुसार पीडितको विश्वास पुनस्र्थापित गर्न पारदर्शी र छिटो प्रक्रिया अपनाइने जानकारी दिनुभयो । सरकारले यसका लागि विशेष मापदण्ड तय गरेको छ, जस अन्तर्गत पीडित बचतकर्ताले आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । प्राप्त निवेदनको अध्ययन तथा प्रमाणीकरणपछि योग्य व्यक्तिलाई चरणबद्ध रूपमा रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको रकम फिर्तालाई उच्च प्राथमिकतामा राखेको पनि जनाएको छ ।

    समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताले करिब ४६ अर्ब रुपियाँ फिर्ता पाउन बाँकी रहेकामा पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्न लागिएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम बचत गर्नेलाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । पाँच लाखभन्दा बढी बचत गर्नेको सङ्ख्या १८ हजार रहेको छ ।

    बचत फिर्ताको मुख्य आधार ऋण असुली भएकाले सरकारले कडा कदम चाल्ने तयारी पनि समितिले गरेको छ । समस्याग्रस्त सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको सूची मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । ऋण असुली प्रभावकारी बनाउन त्यस्ता ऋणीलाई विद्युत्, खानेपानी, फोहोर व्यवस्थापनलगायतका सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने तयारी पनि भइरहेको मन्त्री रावलले बताइन् ।

    मन्त्रालयले दीर्घकालीन समाधानका लागि नेपाल राष्ट्र बैङ्क र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय भइरहेको जनाएको छ । ठुला फरार ऋणीलाई कानुनी दायरामा ल्याई ऋण असुलीमार्फत बचत सुरक्षित फिर्ता गरिने मन्त्री रावलको भनाइ छ । पछिल्ला केही वर्षयता सहकारी संस्थामा अनियमितता बढ्दै गएको छ । धेरै सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सर्वसाधारणमा आक्रोश र अविश्वास बढेको छ । यसअघि पनि सरकारलाई यस्तो समस्या समाधान गर्न दबाब बढ्दै आएको थियो ।

    तत्काल कर्जा चुक्ता गर्न निर्देशन

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचनामार्फत निर्देशन जारी गरेको छ । ऋणीलाई साँवाब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न समितिले मङ्गलबार जारी गरेको सूचनामार्फत आग्रह गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

    बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीबाट असुल हुन बाँकी रकम सङ्कलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकिता गरेको हो । यसैबिच समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्तालाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तोकिएको समयभित्र कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

  • स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

    स्थलमार्गबाट आउने पर्यटक सवारीसाधन अब अनलाइनबाटै दर्ता

    २२ वैशाख, काठमाडौं । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ ।
    अर्थ मन्त्रालय मातहत भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरुवात गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्नेछन् ।

    यसअघि भन्सार नाकामा आएर यस्ता सवारीसाधनले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिबाना तिर्नुपर्ने अवस्था थियो । तर, नयाँ अनलाइन प्रणाली सुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्ना सवारीसाधनको इजाजतपत्र घरैबाट अनलाइन मार्फत भरेर अनलाइनबाटै पैसा तिरेर विनाझन्झट घुम्न आउन सक्छन् । नयाँ अनलाइन सहजीकरण सेवा सुरु गर्दै अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताए ।

    ‘सरकारले अनुशरण गरेको सुशासन र छरितो गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यन्वयन क्रममा यो कार्य सुरु गरिएको हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘पर्यटकलाई कुनै कठिनाइ नहोस्, सरकारी सेवा छिटो र छरितो होस् भन्ने हामी चाहन्छौं ।’ भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी सवारीसाधनको इजाजत अब डिजिटल भएको बताए । उनका अनुसार अब नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिने छ । जसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनाउने छ ।

    नेपाल सरकारलाई तिर्ने राजस्व पनि त्यस्ता पर्यटकवाहक सवारीले अनलाइनबाटै वा बैंक काउन्टरबाट तिर्न सक्छन् । अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्यूआर कोड देखाएरै नेपाल छिर्न सक्ने उनको भनाइ छ । यसरी प्राप्त हुने क्यूआर बोकेर पर्यटकवाहक सवारी आफ्नो गन्तव्यमा पुग्न सक्ने विभागले जनाएको छ ।

    विभागका अनुसार यस्ता सवारीसाधनले आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि आफू रहेको नेपालस्थित ठेगानाबाट अनलाइन मार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । यो सबै सेवा लिन भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ ।

    सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्यूआरकोड प्राप्त हुुन्छ । त्यसका आधारमा आफूले तिर्नुपर्ने शुल्क तिरेर सवारीसाधन नेपाल भित्रिन सक्छन् । नेपालभरिका सडकमा त्यस्ता सवारीले सोही क्यूआर कोड देखाएर यात्रा गर्न पाउँछन् । विभागका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो ।

    तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागु गरिएको भन्सार विभागले स्पष्ट पारेको छ । हाललाई चिनियाँ नाका भएर स्थलमार्गबाट चिनियाँ सवारीसाधन सहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूका हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास विभागको छ ।

  • ट्रेड यूनियनका कार्यालय बन्द गरेर काममा फर्कन सरकारको निर्देशन

    ट्रेड यूनियनका कार्यालय बन्द गरेर काममा फर्कन सरकारको निर्देशन

    २२ वैशाख, काठमाडौं । सरकारले ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ। सरकारले मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूमा मंगलबार साँझ परिपत्र गर्दै ट्रेड युनियनका सबै कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ जारी गरेको परिपत्र अनुसार ट्रेड युनियनका विभिन्न समितिमा आवद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन भनेको छ ।

    ‘निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका विभागी तथा अन्य समितिका कार्यालहरू बन्द गरी उक्त समिति र समितिमा आवद्ध रहेका कर्मचारीहरूले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारीसाधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिई ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन हुने मिति २०८३–०१२२ को सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा छ ।

  • स्ट्रेट अफ होर्मुजमा अमेरिकाले इरानका ७ डुंगामाथि गर्यो आक्रमण

    स्ट्रेट अफ होर्मुजमा अमेरिकाले इरानका ७ डुंगामाथि गर्यो आक्रमण

    २२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरुमा आक्रमण गरेको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले सात वटा साना डुङ्गा (उनीहरूले फास्ट बोट भन्ने गरेका छन्) लाई ढालेका छौं । उनीहरूसँग अब यही मात्रै बाँकी छ ।’ प्रायः बन्दजस्तै बनेको यस जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरुमाथि आक्रमण गरेको जनाएको हो । अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा आक्रमण गरेको थियो ।

    अमेरिकी सेनाले हेलिकप्टर प्रयोग गरेर ती डुङ्गामा आक्रमण गरेको जनाएको छ । तर इरानले भने अमेरिकी आक्रमणको प्रचार पूर्णरुपमा गलत भएको जनाएको छ । यसबीचमा अमेरिकी झण्डावाल एक जहाज स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको जनाइएको छ । एक ढुवानी कम्पनी मर्स्कका अनुसार, उसको अमेरिकी झण्डावाला एउटा जहाज अमेरिकी सैन्य सुरक्षा अभियान मार्फत सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गर्न सफल भएको हो । ‘एलायन्स फेयरफ्याक्स’ नामक सो जहाज फेब्रुअरीदेखि खाडी क्षेत्रमा अलपत्र थियो ।

    मर्स्कले आफ्नो व्यावसायिक जहाजको यात्रा कुनै अवरोध बिना सम्पन्न भएको र सबै चालकदल सुरक्षित रहेको जनाएको छ । अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेयता स्ट्रेट अफ होर्मुज प्रायस् अवरुद्ध छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिउत्तरमा इरानले विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरेको थियो ।

    अप्रिलको सुरुवातमा अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि त्यसयता थोरै मात्र जहाजहरूले यो मार्ग प्रयोग गर्न सकेका छन् । साथै, अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी पनि लागू गरेको छ । फेब्रुअरीदेखि सुरु भएको अमेरिका–इरान युद्धपछि करिब २ हजार जहाजमा रहेका २० हजार नाविकहरू सो क्षेत्रमा फसेका छन् ।

    यसअघि अमेरिकाले आफ्ना नौसेना विध्वंसक जहाज र अमेरिकी झण्डावाला व्यापारीक जहाजहरूले सोमबार जलडमरूमध्य पार गरेको दाबी गरेको थियो । इरानले यसलाई ‘पूर्ण रूपमा गलत’ भन्दै आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको बताएको छ, जसलाई अमेरिकाले अस्वीकार गरेको छ ।