Category: अर्थतन्त्र

  • सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

    सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

    काठमाडौँ, १ जेठ । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ ।

    महालेखारपीक्षकको कार्यालयले आव २०८१–८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण गरेको छ । महालेखापरीक्षक तोयम रायाका अनुसार, गत भदौ भदौ २३ र २४ को आन्दोलन र घटनाका कारण १७९ कार्यालय तथा निकायको लेखा र सोसम्बन्धी स्रेस्ता पेस नभएकाले रु एक खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षक गरिएको छैन ।

    लेखापरीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका रु ८८ अर्ब नौ करोड बराबरको बेरुजु फेला परेको छ । सङ्घीय सरकारी कार्यालयतर्फ रु ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ रु पाँच अर्ब २३ करोड, स्थानीय तहतर्फ रु १९ अर्ब पाँच करोड, समिति र अन्य संसथातर्फ रु १० अर्ब ३२ करोड बराबरको बेरुज रहेको उनले जानकारी दिए ।


    विगतको बेरुजुको सम्परीक्षण र यस वर्ष आँैल्याइएको बेहोराको फस्र्यौटबाट रु १४ अर्ब ६३ करोड बराबर असुल भएको छ । यसवर्ष तीन हजार ५० सङ्घीय मन्त्रालय तथा निकायको रु २९ खर्ब १७ अर्ब ९५ करोड बराबरको लेखापरीक्षण गरेको छ । एक हजार १२४ प्रदेश मन्त्रालय तथा निकायको रु तीन खर्ब २० अर्ब ३० करोड ७२१ स्थानीय तहको रु ११ खर्ब नौ अर्ब ५२ करोड बराबरको लेखापरीक्षण गरिएको छ ।

    यसैगरी ५७७ समिति र अन्य संस्थाको रु चार खर्ब ४७ अर्ब ७७ करोड र सङ्घीय कानुनद्वारा तोकिएका ४४ संस्थाको ५४ आर्थिक वर्षको रु ४६ खर्ब ८८ अर्ब ९६ करोड समेत रु ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको महालेखापरीक्षक रायाले उल्लेख गरे । त्यसैगरी सबैभन्दा बढी बेरुजु भएको मन्त्रालयमा अर्थ रहेको छ ।

    सो मन्त्रालयको मात्रै ७० दशमलव ३७ प्रतिशत बराबरको बेरुजु रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दोस्रो स्थानमा छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तेस्रो स्थानमा छ । वन तथा वातावरण मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय क्रमशः चौथो र पाँचौँ स्थानमा छ ।

  • विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    वासिङ्टन, १ जेठ, (रासस–एएफपी) । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो ।

    अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी हुने टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकहरूलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा प्राप्त गर्न समर्थकहरूले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।

    ट्रम्प प्रशासनले हालै लागू गरेको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ती नागरिक अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गर्न सकिनेछ ।

    तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुहरूलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदारले अमेरिका विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि बलियो राख्न प्रतिबद्ध रहेको बताइन् ।

    उनले भनिन्, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ। ” उनका अनुसार ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो र उत्कृष्ट फिफा विश्वकप आयोजना गर्ने लक्ष्य राखेको छ । फिफाले पनि अमेरिकी निर्णयलाई स्वागत गरेको छ । फिफाका प्रवक्ताले जारी गरेको वक्तव्यमा अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय कार्यक्रम बनाउन मद्दत पुग्ने उल्लेख गरिएको छ ।

    यद्यपि सहजता दिइए पनि केही देशका समर्थकहरू अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका पाँच देशका नागरिक भने अझै भिसा बन्ड नीतिबाट प्रभावित हुनेछन् । ती देशहरूमा अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया रहेका छन् । यसका अतिरिक्त, विश्वकपमा छनोट भएका कम्तीमा दुई देशका नागरिकमाथि ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ । तीमध्ये एक पश्चिमी गोलार्धको सबैभन्दा गरिब राष्ट्र मानिने हाइटी हो । अर्को इरान हो, जहाँ अमेरिका र इजरायलसँगको सैन्य तनाव चर्किरहेका कारण त्यहाँका नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीचको तनाव अझ बढेको थियो । त्यसपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको छ । ट्रम्प प्रशासनले मित्रवत पश्चिमी मुलुकका यात्रुहरूमाथि समेत निगरानी बढाएको छ । नयाँ व्यवस्थाअनुसार अमेरिका प्रवेश गर्न चाहने कतिपय विदेशी आगन्तुकहरूले आफ्ना सामाजिक सञ्जाल गतिविधि अमेरिकी सरकारलाई हेर्न अनुमति दिनुपर्नेछ । यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको अतिरिक्त छानबिनका रूपमा हेरिएको छ ।

    यसबीच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थकहरू भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकालेको छ । अध्ययनअनुसार हाइटीले आफ्ना खेलहरू घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ । विशेषगरी बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि यो नीति आर्थिक रूपमा निकै भारी बन्ने देखिएको छ । अध्ययनले ती देशहरूमा १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न असम्भवजस्तै बनाउने विश्लेषण गरिएको छ ।

    सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि सुरु हुँदैछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगितालाई विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा हेरिएको छ र प्रतियोगितामा लाखौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ ।

  • नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको ब्याङ्ककस्थित नेपालको राजदूतवासले जनाएको छ ।

    साथै उहाँहरूले गत वर्ष नेपाल र थाइल्यान्डबीच सम्पन्न आठवटा समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड दिनुभएको थियो । कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पु¥याउने विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले नेपाल–थाइल्यान्ड संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि विचार आदानप्रदान गरेका थिए ।

    नेपाल र थाइल्यान्डबीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाइ उत्पादनबीच मूल्य शृङ्खला सुदृढ गर्ने तथा हिमाली र समुद्री स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरणमार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड दिइएको थियो। दुवै पक्षले पारस्परिक आधारमा ‘भिसा’ प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदानप्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरेका थिए ।

    यसैगरी, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा एकअर्काको उम्मेदवारीलाई पारस्परिक समर्थन गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    काठमाडौँ, १ जेठः दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ ।

    सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो ।

    राष्ट्रसङ्घका अनुसार सन् १९८५ मा परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो । त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तरराष्ट्रिय सहकार्य बढाउने पहल अघि बढाइएको थियो ।

    महासभाले सन् १९८९ मा ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।

    अन्तरराष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले सन् २०१५ मा अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ । गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    म्याग्दी, १ जेठ स् म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।

    गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटरभन्दा बढी रेलिङसहितको पदमार्ग निर्माण भएको नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । “आर्थिक वर्ष २०७९र८० देखि सुरु भएको पदमार्ग निर्माणले यसपालि पूर्णता पाएको हो”, उनले भने, “सुरुको वर्ष रु १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु पाँच लाख छुट्याएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा रु सात लाख र २०८१र८२ मा रु पाँच लाख विनियोजन गरेको थियो ।”

    उपभोक्ताले विनियोजित बजेटको १० प्रतिशतबराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडाध्यक्ष फगामीले बताए । एक दशमलव पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो । पहाडको बीच भागमा रहेको थुम्कामा झरना अवलोकनस्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ ।

    इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडाध्यक्ष फगामीले बताए । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । छ–सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । हाल दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने स्थानीय टकबहादुर पुनले बताए ।


    अन्य समयको तुलनामा बिदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनमा पुगेकी पोखराकी रसिला पराजुलीले बताइन् । यो झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृश्य देख्न सकिन्छ । पर्यटकले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ ।

    समुदायले नारच्याङ गाउँदेखि झरनासम्म पुग्ने कच्ची पदमार्ग, दृश्यावलोकनस्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र ३० मिनेट पैदल हिँडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सातवटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।
    (((

  • ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

    ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, १ जेठः वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, “पक्राउ परेकामध्ये मधुसुदन पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

    निजहरू दुवै जनलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए । पछिल्लो समय वैदेशिक रोजगारका नाममा ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारमा जान सुझाव दिएको छ । साथै कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशङ्का लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिनसमेत आग्रह गरिएको छ ।

  • चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी

    चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी

    बेइजिङ, ३१ वैशाख (रासस–एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताएका छन् । भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गरेको उनले बताए । बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, “चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उहाँले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाँले भन्नुभएको छ ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु।” राष्ट्रपति ट्रम्प चीनको तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका थिए उनी शुक्रबार चीनबाट स्वदेश फिर्ता हुनेछन् ।

  • मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

    मन्त्रालय घटाएपछि कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

    काठमाडौँ, ३१ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा रहेका नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम विसं २०८२ चैत १३ गते गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन गरेका हुन् ।

    कार्यविभाजनअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । त्यसैगरी अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्रीमा सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्रीमा सीता वादी रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्रीमा डा विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरमन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    काठमाडौँ, ३१ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् । नेपालको संविधान, लोकतान्त्रिक मूल्य, मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने सङ्कल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको उल्लेख गर्दै अर्थमन्त्री वाग्ले उक्त प्राथमिकता प्रस्तुत गरेका छन् ।


    सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा रहेको उनको कथन छ । अर्थमन्त्रीले विनियोजन विधेयकका पाँचवटा मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गरे । त्यसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन् ।

    सुशासनको लाभांश

    सुशासनलाई नागरिकले प्रत्यक्ष अनुभूत गर्ने राज्यको नैतिक वैधता, सेवा दक्षता र आर्थिक सामथ्र्यका रूपमा स्थापित गर्नेगरी आगामी आवको बजेट प्रस्तुत हुने अर्थमन्त्रीले उल्लेख गरेका छन् । यस्तै उनले विधिको विवेकसम्मत शासन, संस्थागत कुशलता र सार्वजनिक सदाचारको सर्वोपरिता सुशासन प्रत्याभूतिको प्रस्थानविन्दु हुनेछ भने राज्यलाई उत्तरदायी र प्रविधिमैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी शासकीय सुधारको शृङ्खला कार्यान्वयन गर्ने स्पष्ट पारे ।


    उनका अनुसार आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुनेगरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनेछ । एकीकृत डिजिटल सुशासनमा आधारित प्रशासनिक सुधारमार्फत सेवा प्रवाहमा हुने ढिलाइ, झन्झट र अवाञ्छित मध्यस्थताको अन्त्य गरिनेछ ।

    सार्वजनिक संस्थाहरूलाई अवैध कब्जा र दोहनकारी प्रवृत्तिबाट मुक्त गरी राज्यका नीति, कानुन र नियामकीय व्यवस्थाको व्यापक पुनरावलोकन गर्ने अर्थमन्त्रीको कथन छ । सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट, सार्वजनिक स्रोतको दुरूपयोग तथा सङ्गठित अपराधविरुद्धको अनुसन्धान र अभियोजन प्रणालीलाई भ्रष्टाचारविरुद्धको परिणाममुखी अभियान बनाइनेछ ।

    अर्थतन्त्रको पुनःसरचना

    उच्च, फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सृजना गर्नु अर्थतन्त्र पुनःसंरचनाको मूल लक्ष्य हुने अर्थमन्त्रीले जानकारी दिए । त्यस्तै, आगामी बजेटले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नेछ । आर्थिक अवसरको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, प्रतिस्पर्धात्मक वातावरणको सुनिश्चितता र वित्तीय साधनको उत्पादनशील परिचालनका आधारमा नयाँ चरणको आर्थिक सुधार अघि बढाइने सदनलाई उनले अवगत गराए ।

    सन्तुलित सार्वजनिक वित्त व्यवस्थापनमार्फत लगानीमैत्री आर्थिक वातावरण सुदृढ गर्ने, निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोधहरू हटाइने अर्थमन्त्रीले उल्लेख गरे । “अस्वस्थ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङ र एकाधिकारको अन्त्य गर्दै समताउन्मुख सामाजिक बजार अर्थतन्त्र सुदृढ गर्नेछौँ । कर प्रणालीलाई सरल र न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछौँ । डिजिटल अर्थतन्त्र, सेवा निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्य अभिवृद्धियुक्त कृषि क्षेत्रलाई आर्थिक रूपान्तरणको संवाहकका रूपमा अघि बढाउनेछौँ”, अर्थमन्त्रीले भने ।


    नेपालको भूपरिवेष्टित प्रतिकूलतामा अन्तर्निहित संरचनागत आर्थिक भार कम गर्न अन्तरराष्ट्रियस्तरको हवाई सेवा, दूरसञ्चार तथा लजिस्टिक्स पूर्वाधारमा आमूल सुधार गर्ने, आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन अस्थायी संरक्षणात्मक उपाय अवलम्बन गर्ने र निजी सम्पत्तिको सुरक्षा राज्यको दायित्व हुने अर्थमन्त्री डा वाग्लेले स्पष्ट पारे ।


    सन्निकटताका लागि एकीकृत पूर्वाधार

    सन्निकटताले भूगोल र बस्तीबीच मात्र होइन, उत्पादन, बजार, सेवा र अवसरबीचको दूरी न्यूनीकरण गर्दै आर्थिक–सामाजिक अन्तरसम्बन्ध सुदृढ गर्दछ । बृहत् पूर्वाधार निर्माणमार्फत सन्निकटता विस्तार गरी आर्थिक गतिशीलता र सामाजिक एकीकरणमा टेवा पुर्याउने अर्थमन्त्री वाग्लेले सदनलाई जानकारी दिए । उनका अनुसार सडक, हवाई, ऊर्जा, सहरी तथा डिजिटल पूर्वाधारलाई एकीकृत दृष्टिकोणका साथ विकास गर्ने, पूर्वाधारलाई समय, लागत र गुणस्तरको अनुशासनभित्र राख्न संस्थागत समन्वय सुदृढ गर्ने बजेटको प्राथमिकता हुनेछ ।

    देशका सबै क्षेत्र र सम्प्रदायसम्म प्रतिफल पुग्नेगरी सन्तुलित विकासका लागि पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमताको समुचित परिचालन गर्ने, आर्थिक गतिविधि, सेवा प्रवाह र राष्ट्रिय सन्निकटतालाई नयाँ स्तरमा पुर्याउनेगरी डिजिटल सार्वजनिक पूर्वाधार विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ । यस्तै, जलवायु परिवर्तन, पर्यावरणीय सन्तुलन र विपद् जोखिमलाई मध्यनजर गर्दै उत्थानशील पूर्वाधार विकासको अवधारणा अवलम्बन गर्ने र प्राकृतिक स्रोतको संरक्षण, उपयोग र भविष्य–सुरक्षित अर्थतन्त्रबीचको सम्बन्ध सन्तुलित हुने उनको भनाइ छ ।

    सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार

    गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सीपमा समान पहुँच सुनिश्चित गर्दै सक्षम मानव पुँजी विकास गर्ने, राज्यको संरक्षण आवश्यक पर्ने व्यक्तिका लागि सामाजिक सुरक्षाको भरपर्दो आधार निर्माण गर्ने आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता रहने अर्थमन्त्रीको भनाइ छ । यस्तै, आर्थिक गतिशीलता र सामाजिक सुरक्षा प्रत्याभूत गरी मध्यम वर्गको विस्तार गर्ने, कृषि एवं लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन तथा प्रायोगिक र रोजगारमूलक शिक्षा उपलब्ध गराई सीपयुक्त जनशक्तिको विकास गर्ने सरकारको प्राथमिकता रहने अर्थमन्त्रीको कथन छ । त्यस्तै, नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्न उपयुक्त वित्तीय साधन परिचालन गरिनेछ ।

    शिक्षा प्रणालीलाई उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र श्रम बजारसँग आबद्ध गर्नेछौँ । प्राविधिक तथा व्यावसायिक शिक्षामा राज्यको लगानी बढाई रोजगार केन्द्रित शिक्षामा जोड दिने, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनःसंरचनामार्फत स्वास्थ्य सेवामा नागरिकको पहुँच र वित्तीय सुरक्षा सुदृढ गरिनेछ ।

    त्यसैगरी, सबै नेपालीको जीवनस्तर उकास्ने वास्तविक सामाजिक गतिशीलताका लागि कदम चाल्ने र समावेशीकरणलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आर्थिक अवसर र सम्मानजनक सहभागितासँग आबद्ध गर्ने अर्थमन्त्री डा वाग्लेले उल्लेख गरे ।

    सौम्य शक्तिको सुदृढीकरण

    सरकारले पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति (सफ्ट पावर) परिचालन गरिनेछ । आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्ने, छिमेकी तथा मित्रराष्ट्रहरू र अन्तरराष्ट्रिय संस्थाहरूसँग परिपक्व सम्बन्ध विकास गर्दै आर्थिक लाभ वृद्धि गरिने अर्थमन्त्रीको भनाइ छ ।

    यस्तै, स्वदेशी पुँजी, प्रविधि र उद्यमशीलतासँगै विदेशमा रहेका नेपाली समुदायको सञ्जाल, सीप र पुँजीलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा परिचालन गर्ने, गैरआवासीय नेपालीको विशेषज्ञतालाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सहजीकरण गर्ने तथा आर्थिक कूटनीतिलाई लगानी, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र अन्तरराष्ट्रिय पुँजी परिचालनसँग आबद्ध गर्न कानुनी सुधार गर्ने आगामी बजेटको मार्गदर्शक सिद्धान्त रहनेछ ।

  • नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ

    नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ

    काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

    सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए । उनले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराए ।


    सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो । दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जारी राखे पनि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिए । विपक्षीलाई पेल्दै आज सदन चलाइएको छ ।

  • विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।

    अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहेनन् । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समयको उपयोग गरेनन् । कतिपय विपक्षीका सदस्यले बैठक बाहिर निष्किए ।

    सभामुख अर्यालले संशोधनकर्ता विपक्षी दलका सांसदलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँ दिँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरे । सभामुख अर्यालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गरे । उक्त नीति तथा कार्यक्रममाथि ३५ विपक्षी सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । यही वैशाख २८ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

    चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

    चितवन, ३१ वैशाख । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो कार्यालयमा उत्पादन गरिएको हो भने ३७३ रानो विभिन्न मौरी फार्मबाट ल्याइएको हो । हरेक वर्ष कार्यालयले किसानहरुलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ ।

    सोहीअनुसार यसवर्ष वितरण गरिएको उनले बताए । उनले भने, “उन्नत जातको रानोको प्रयोगले मह उत्पादनमा वृद्धि हुने गर्दछ ।” उन्नत जातको मौरीको रानो प्रयोग गर्दा नश्ल सुधार भई मह उत्पादनमा वृद्धि हुने उनले बताए । विभिन्न कारणले रानो बुढो हुने, मर्ने, रोगी हुने, काम गर्ने क्षमता कमी भएर घार धान्न नसक्ने गर्दछ । सामान्य तय रानोको आयु तीनदेखि पाँच वर्ष भनिए पनि यहाँका किसानहरुले हरेक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उनले बताए ।


    यससँगै ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए । अहिले जिल्लाका १६ किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिइ रहेको छ । किसानलाई रानो उत्पादनसम्बन्धी तालिम दिएपछि आफ्नै घरमा यो प्रविधिको प्रयोग गरेर उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा वृद्धि हुने उनले बताए ।

    यसवर्ष कृतिम प्रविधिबाट मौरीका १० रानो उत्पादन गरिएको छ । यस प्रविधिबाट उत्पादन गरिएका रानोमध्ये चार मात्रै बाँच्न सफल भएको उनले बताए । उनका अनुसार यसवर्ष सो प्रविधिबाट उत्पादित रानोमध्ये १० बचाउन सक्ने गरी उत्पादन थालिएको छ ।

  • ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३१ वैशाख । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

  • पशुपालनमा रमाइरहेका सापकोटा

    पशुपालनमा रमाइरहेका सापकोटा

    गलकोट (बागलुङ), ३१ वैशाखः कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् ।


    कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीकमा साथै सन्तुष् िपनि मिलिरहेको सापकोटाले बताए । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाए । सापकोटाले विसं २०७६ देखि व्यावसायिक कृषि र पशुपालनमा लगानी सुरु गरेका थिए । उनले पशुपालन र सुन्तला खेतीमा गरी करिब रु एक करोड लगानी गरेको सुनाए ।


    “उत्पादनमा नजोडिएसम्म हुँदैन भन्ने कुरा कोरोनाले सिकायो, पाँच वटा ट्याक्सी थिए सबै छोडेर गाउँ फर्केर ३६ रोपनी जग्गालाई हराभरा बनाउन थाले”, सापकोटाले भने, “यहीबीचमा बागलुङ नगरपालिका–५ मालिकाको वडा सदस्य भएर जनताको सेवासँगै कृषि र पशुपालन गरेर अरूलाई पनि प्रेरणा दिन खोजिरहेको छु ।”

    हाल सापकोटाले ११ वटा गाई र १३ वटा भैँसी पालिरहेका छन् । दैनिक करिब एक सय ५० लिटर दूध उत्पादन भइरहेको र उक्त दूध बागलुङ दुग्ध उत्पादन संस्थामार्फत बिक्री हुँदै आएको उनले बताए । “पशुपालनसँगै पशुवस्तु खरिद–बिक्रीको काम पनि गर्दै आएको छु । मासिक चार लाख ५० हजारको दूध बिक्री हुने गरेको छ भने दाना र कर्मचारीलगायतको खर्च कटाएर दुई लाख बचत हुन्छ ।

    बचत रकमले फलफूल बगँैचा विस्तार गरिरहेको छु”, सापकोटाले भने ।
    सापकोटाले आफ्नो २७ रोपनी र भाडाको नौ रोपनी जग्गामा एक हजार सुन्तलाका बिरुवा, एक सय १० वटा कागती र ५० वटा ओखरका बिरुवा लगाउनुभएको छ । सुन्तलाबाट अझै आम्दानी सुरु नभए पनि आगामी वर्षदेखि राम्रो उत्पादन हुने उनले बताए ।


    मल्चिङ प्रविधिबाट उनले सुन्तला खेती गरेका छन् । धनकुटे जातको सुन्तला लगाएर झार नियन्त्रण, चिस्यान संरक्षण र माटोमा पोषण कायम राख्ने काम गरिएको सापकोटाले बताए । कृषिका लागि आवश्यक पानी व्यवस्थापन गर्न गहुँत तथा पानी लिफ्टिङ गरेर करिब दुई सय मिटर माथिसम्म पु¥याएको उनले बताए ।

    हाल सापकोटाको कृषि तथा पशुपालन फार्ममा चार जनाले रोजगारी पाएका छन् । उहाँले सुन्तला पकेट क्षेत्र बनाउने लक्ष्यसहित काम गरिरहेको जानकारी दिए । “कोरोनाले एउटा व्यवसाय बन्द गर्नुप¥यो, तर त्यसले अर्को अवसरको ढोका खोल्यो । त्यसैले केही समस्या भएका आत्तिनु हुँदैन । गाउँमा बसेर मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ । यही उदाहरण दिन पनि मैले काम गरिरहेको छु”, उनले भने ।

  • बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

    काठमाडौँ, ३१ वैशाखः सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बिपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

    यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३१ वैशाखः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९६ पैसा र बिक्रीदर २४ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५४ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ, ३१ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

    उक्त घटनालगत्तै मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गरिरहेको र विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न पहल थालेको छ । यस्तै, मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ ।

    प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो । प्राविधिक निरीक्षणका क्रममा टावरको फाउन्डेसन (जग) नै पुनः निर्माण गर्नुपर्ने देखिएकाले मर्मत तथा पुनःस्थापनाको कार्यसम्पन्न हुन करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि महत्त्वपूर्ण पूर्वाधार मानिन्छ । आयोजना सम्पन्न नहुँदै प्राकृतिक प्रकोपका कारण भएको यो क्षतिले प्रदेशको ऊर्जा सुरक्षामा चुनौती थपेको छ । मन्त्री श्रेष्ठले मर्मत कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

  • काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

    काठमाडौँ, ३१ वैशाखः उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसीक्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन सुरु गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिउ । सार्वजनिक सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी गरिएको उनले बताए ।


    प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, “उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन यो अभियान सुरु गरिएको हो । सरकारले तोकेको मापदण्डअनुसार सिसीक्यामेरा, ड्यासबोर्ड जडान गर्नाका साथै सवारीसाधन सफा र व्यवस्थित राख्नुपर्ने व्यवस्था छ । कार्यान्वयन नगर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिनेछ ।”

    अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । टोलीले चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए–नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणबारे समेत निगरानी गरेको जनाइएको छ ।

    पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने उनले जानकारी दिए ।

  • वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

    वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

    काठमाडौँ, ३० वैशाखः कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालय पठाएको हो । मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रतिक्विन्टल मूल्य प्रस्ताव गर्ने बताइएको छ ।

    विभागले देशका विभिन्न २२ जिल्लामा प्रतिहेक्टर धानको प्रतिएकाइ उत्पादन लागतका आधार तथा गत वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाइ थप गरी नयाँ मूल्य निर्धारण गरिने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने छ । करिब १८ लाख हेक्टर क्षेत्रफल जमिन खेतीका लागि उपयुक्त रहेको भए पनि गत वर्ष बर्खे धान करिब १२ लाख हेक्टर क्षेत्रफलमा लगाइएको थियो ।

    विभागको उक्त सिफारिस कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गरेर सार्वजनिक गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्नेछ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिनेछ । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाएको छ ।

  • विभिन्न हिमालमा पाँच जनाको मृत्यु

    विभिन्न हिमालमा पाँच जनाको मृत्यु

    काठमाडौँ, ३० वैशाख । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन नेपाली र दुई विदेशी छन् ।

    सगरमाथा क्षेत्रमा निधन हुनेमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुर गेल्जेन शेर्पा छन् । लाक्पा सेभेन समिट, घिमिरे ट्याग नेपाल, फुर गेल्जेन काइटु एक्सपिडिसनमा आबद्ध थिए । यस्तै, चेक रिपब्लिकका आरोही डेभिड रुभिनेक र अमेरिकी नागरिक जोहानेसेन शेलीको पनि मृत्यु भएको छ । आइएएम ट्रेकिङ कम्पनीमार्फत गएका डेभिडको मकालु दुई र सेभेन समिटमार्फत गएका जोहानेसेनको मकालुमा निधन भएको विभागले जनाएको छ ।

  • विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौँ, ३० वैशाख । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    उनले भने, “सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रुपैयाँ, शम्भु गौतमले न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ तथा सनम गुरुङले क्यानडा पठाउने भन्दै २४ लाख रुपैयाँ रकम लिएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरुका उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरु तीनै जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

  • प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

    प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

    काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गरेका थिए । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो ।

  • ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

    ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

    काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिए । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई पनि उत्तिकै महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । जनतालाई सुशासनको लाभांश दिने प्रयासमा सरकार रहेको उनको कथन थियो ।

    मन्त्री वाग्लेले आगामी बजेट ‘इ–गभर्नेन्स, डिजिटल डेलिभरी’ र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिँदै डिजिटलमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए । सूचना तथा प्रविधि क्षेत्रसँग सम्बन्धित सबै काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने जानकारी दिँदै उनले आयातमा आधारित अर्थतन्त्रको पुनर्संरचना गरिने बताए । मितव्ययितालाई पनि सरकारले प्राथमिकतामा राखको तथा आवश्यकताका आधारमा विदेशमा नेपाली नियोग सञ्चालन गरिने उनको कथन थियो ।

    त्यसअघि अर्थ सचिव घनश्याम उपाध्यायले सरकारको पहिलो प्राथमिकता सुशासन नै भएको बताए । निजी क्षेत्रको आत्मबल बढाउन जरुरी भएको विचार व्यक्त गर्दै उनले नीतिगत व्यवस्थाबाट त्यसो गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

  • अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ

    अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ

    कर्णाली, ३० वैशाखः अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई आज पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाले प्रारम्भिक अनुसन्धानबाट करिब रु दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।


    उनका अनुसार सामाजिक सञ्जाल इन्टरनेटका माध्यमबाट ठगी गर्ने मनसायले प्रलोभनमा पारी हारजित हुनेगरी अनलाइन जुवा सट्टेबाजी खेलाउने, बैंक खाता खोली उक्त कार्यमा लगाई दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्ने गरेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगीमा संलग्न भएको, व्यापारी विकले विभिन्न बैंकमा पाँच वटा खाता खोली खाता दुरुपयोग गरी शङ्कास्पद कारोबार गरेको र व्यवसायी विकले विभिन्न बैंकमा नौ वटा खाता खोली दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्दा प्रारम्भिक अनुसन्धानबाट करिब रु दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार भएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए ।


    पक्राउ परेका तीनै जनाउपर बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणलगायत कसुरमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । अनलाइन ठगी, जुवा, सट्टेबाजीमा संलग्न हुनु वा सहयोग गर्नु गम्भीर अपराध भएकाले आफ्नो खाता, पिन कोड, ओटिपीलगायत विवरण गोप्य तथा सुरक्षित राखी कसैलाई सेयर नगरी ठगिनबाट बच्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

  • जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

    जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

    २९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरूप व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक, २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबिचको अधिकार बाँडफाँटलाई कानुनी आधार दिने छ । नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहले पनि आफ्नो अधिकार क्षेत्रअनुसार छुट्टै कानुन निर्माण गर्न सक्ने छन् ।

    मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो । यसका साथै जल उत्पन्न विपद् न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई पनि विधेयकले प्राथमिकतामा राखेको छ । विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकारसम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी मन्त्रालयले गरेको छ । आयोगको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिइएको छ ।

    मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढाएको छ, ताकि कानुन पारित भएसँगै कार्यान्वयनमा लैजान सहज होस् । सरकारले चालु संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मस्यौदालाई जेठ पहिलो साताभित्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस गर्ने तयारी भइरहेको छ ।

    सङ्घीय संरचनाअनुसार जलस्रोत व्यवस्थापनको स्पष्ट कानुनी आधार नहुँदा विभिन्न तहका सरकारबिच अधिकार क्षेत्र, आयोजना स्वीकृति तथा स्रोत उपयोगमा अन्योल देखिँदै आएको थियो । नयाँ विधेयकले त्यस्ता अस्पष्टता हटाउँदै जलस्रोतको विकासलाई संस्थागत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

  • आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाए ।

    उनले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताए । अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गरे ।

    उनले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताए । अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उनले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पारे ।

    अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । उनले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औँल्याए ।

    अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिए । उनले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाए । उनले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गरे । सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराए ।


    अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गरे । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने उनको भनाई छ । उनले आगामी आवको बजेटमा सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधार र सरकारको वाचापत्रलाई समेटिने दोहोर्‍याए । बजेटका प्राथमिकता तथा सिद्धान्तमार्फत सुधारमुखी ‘एजेन्डा’ अघि सारिने अर्थमन्त्रीको भनाइ छ ।

    त्यस्तै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादनमा आधारित बनाउने र सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तारमा जोड दिइने उनले बताए । उनले आफूले अर्थमन्त्रालय सम्हालेदेखि साना–ठूला गरी ३०० भन्दा बढी काम भइसकेको समितिलाई जानकारी दिए । उनले यही वैशाख ३१ गते संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने जानकारी गराए । सांसदहरूले संसद्मा दिनुहुने सुझावलाई समेत बजेटमा समावेश गरिने उल्लेख गरे ।

    सीमा क्षेत्रमा हुने तस्करी निर्मम भएर नियन्त्रण गरिने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत हुने उनले बताए ।


    एक सय रुपियाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको र चालु आवको बजेटमा सो व्यवस्था रहेको जानकारी दिए । एकै दिनमा पटक–पटक सीमा वारपार गरेर नेपाली बजार र गोदाममा सामान भित्र्याई स्वदेशी उत्पादनलाई क्षति गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ । सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले सीमा क्षेत्रमा क्यामेरा, अनुहार पहिचान गर्ने यन्त्र, नाइट भिजन उपकरण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित निगरानी प्रणाली प्रयोग गर्ने योजना अघि सारिएको उनको कथन छ ।

    अर्थमन्त्री डा वाग्लेले धितोपत्र बजारको विकासका लागि सरकारले उदार नीति अगाडि सारेको जानकारी दिए । उनले राष्ट्रपतिले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको उल्लेख गरे । उनले त्यसलाई बजेटमा थप आकार दिइने स्पष्ट पारे । अर्थमन्त्री डा वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल गरेर ‘इन्साइडर ट्रेडिङ’ गरी जनताको ठूलो रकम दुरूपयोग गरिएको यथार्थता पेस गरे ।

    उनले त्यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको दाबी गरे । अर्थमन्त्री वाग्लेले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको एउटा समितिले प्रतिवेदन दिएको जानकारी दिँदै त्यसलाई क्रमशः कार्यान्वयनमा लगिने बताए । उनले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र हाल सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गरे । सांसदहरू ध्रुव्र राई, परशुराम तामाङ, भरत गिरीलगायतले आगामी आर्थिक वर्षको बजेटका बारेमा सुझाव दिएका थिए । रासस

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    टोकियो, वैशाख २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ। यस हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ।

    उनले भने, “मैले भर्खरै इरानका तथाकथित ‘प्रतिनिधिहरू’ को प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन । यो पूर्ण रूपमा अस्वीकार्य छ।” इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, “हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।”

    “अमेरिकी राष्ट्रपति ट्रम्पले यी प्रतिमागहरूलाई तत्काल अस्वीकार गर्नुले दुवै पक्षबीचको फराकिलो खाडललाई दर्शाउँछ र यसले तनावलाई तीव्र गतिमा कम गर्नुको सट्टा दीर्घकालीन अनिश्चितताको जोखिमतर्फ लाने सङ्केत गर्दछ,” जापानी बैङ्क एमयुएफजीका लोयड चानले भने ।

    “तेल बजारका लागि, यसले निरन्तर भू–राजनीतिक जोखिमको सम्भावनाको सङ्केत गर्दछ किनकि अब हर्मुजमा अवरोधहरू बढ्दै जानेछन्,” चानले थपे । जापानस्थित इन्धन बजार विश्लेषकहरूले भनेका छन्, “अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएसँगै निक्केई ०.४ प्रतिशत र ह्याङ सेङ ०.३४ प्रतिशतले घटेको थियो तर सियोलको कोप्सी चार प्रतिशतले बढेको थियो ।”

    टोकियोमा विशाल जापानी गेमिङ कम्पनीले शुक्रबार यस वर्ष कम नाफा कमाउने चेतावनी दिएपछि निन्टेन्डोको सेयरमा लगभग १० प्रतिशतले गिरावट आएको छ । यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम रहेको छ । जापानमा बेसेन्टले मङ्गलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेका छन् । टोकियोले येनलाई सहयोग गर्न हालै बजार हस्तक्षेपको रिपोर्ट गरेको छ।

    सोलमा उनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताएका छन् । “आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षा हो,“ बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । वासिङ्टन र बेइजिङले एक वर्षअघि एक अर्काको निर्यातमा व्यापक करवृद्धि गरेका थिए भने ट्रम्प र सीबीच अक्टोबरमा दक्षिण कोरियामा एक वर्ष लामो व्यापार युद्धविरामका लागि सहमति भएको थियो । रासस–एएफपी

  • एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

    एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

    २९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (साउनदेखि चैत) सम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ। चैत महिनामा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन कीर्तिमान हो । कुनै एक महिनामा सबैभन्दा बढी रेमिट्यान्स यस महिनामा भित्रिएको हो । गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा भने ११ खर्ब ९२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ३९.१४ प्रतिशतले बढेको हो। फागुनमा एक खर्ब ८८ अर्ब रूपैयाँ भित्रिएको थियो।


    साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। नौ महिनामा नौ अर्ब ५२ करोड रूपैयाँ रेमिट्यान्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा ७ अर्ब ६८ करोड रूपैयाँ बाहिरिएको थियो। यो नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ३.३६ प्रतिशतले घटेको छ।

    गत आर्थिक वर्षको यही अवधिका ६ लाख ७ हजार जनाले नयाँ र पुन श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख ८७ हजार छन्। इरान र इसाराइलमा जारी द्वन्द्वको कारण वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो। चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो।

  • आर्थिक वृद्धिदर औसत सात प्रतिशत

    आर्थिक वृद्धिदर औसत सात प्रतिशत

    काठमाडौँ, वैशाख २९ गते । सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार शृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आधारभूत पुनर्संरचनामा नीति तथा कार्यक्रमलाई केन्द्रित गरिएको छ ।

    स्थिर पूर्वानुमान योग्य आर्थिक नीति निर्माण गर्ने गरी कर प्रशासन, लगानी तथा आयोजना विकासदेखि उद्यमशीलता प्रवर्धन जस्ता पक्षबाट आर्थिक सुधारको नतिजा प्राप्त गर्ने नीतिगत रूपान्तरणमा जोड दिइएको छ ।

    प्रविधिमैत्री राजस्व प्रशासनदेखि दोहोरो करमुक्त अवस्था सिर्जना गर्ने नीति सरकारको रहने छ । स्वदेशी निजी क्षेत्रदेखि वैदेशिक लगानी प्रवर्धन गर्ने गरी नीतिगत स्थिरताप्रति वचनबद्ध रहेको नीति तथा कार्यक्रममा एकीकृत कर प्रणालीदेखि एकद्वार प्रणालीको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । वैदेशिक सहायता ऋण तथा निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउने तथा सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा स्वीकार गरिएको छ ।

    मुआब्जाको विकल्प सेयर

    नीति तथा कार्यक्रममा ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै विद्युत्को आन्तरिक खपत उल्लेख्य रूपमा बढाउने वाचा गरिएको छ । विद्युत् उत्पादन, प्रसारण वितरण र व्यापारमा निजी क्षेत्रका सहभागिता सुनिश्चित गर्ने घोषणा गरिएकोे छ ।

    साथै अन्तरदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौतामार्फत दीर्घकालीन लगानी आकर्षित गर्ने सरकारको योजना छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा लघु जलविद्युत् आयोजना, सौर्य तथा वायु ऊर्जाको विस्तारलाई प्राथमिकतामा राखिने पनि योजना छ ।

    नीति तथा कार्यक्रममा जलविद्युत् आयोजना निर्माणका क्रममा प्रभावित हुने स्थानीय समुदायलाई परम्परागत नगद मुआब्जाको विकल्पस्वरूप आयोजनामा स्वामित्व सुनिश्चित गर्ने गरी सेयर उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महìवाकाङ्क्षी लक्ष्य अघि सारेको छ । उक्त लक्ष्य हासिल गर्न वातावरण तथा वनसम्बन्धी कानुनमा आवश्यक संशोधन गर्ने नीति सरकारको छ ।

    नीति तथा कार्यक्रममा जलविद्युत् तथा ऊर्जा पूर्वाधार विकासलाई तीव्रता दिन कानुनी, प्रशासनिक तथा प्रक्रियागत अवरोध हटाइने उल्लेख छ ।

    सरकारले आयोजना विकासमा देखिने गरेको अवरोध तथा ढिलासुस्ती सम्बोधन गर्ने गरी ‘कडा समयसीमा’ सहित रूपान्तरणकारी आयोजना निर्माण अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । “रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समयसीमासहित अघि बढाइने छ,” राष्ट्रपतिले पौडेलले भन्नुभयो, “आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिने छ ।”

    पुँजी जुटाउन नयाँ उपकरण

    सरकारले पुँजी निर्माणका लागि नयाँ बजार उपकरणसमेतको प्रचलन विस्तार गर्न खोजेको छ । ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गर्ने योजना यसमा समेटिएको छ । त्यस्तै वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागु गरिने राष्ट्रपति पौडेलले बताउनुभयो ।

    उद्यम प्रवर्धन गर्न ‘लगानी एक्सप्रेस’

    सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्न ‘लगानी एक्सप्रेस’ नीति लागु गर्ने भएको छ । विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरी तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराइने भएको छ । यस्तै विशेष आर्थिक क्षेत्रको विस्तार तथा साझा पूर्वाधारसहित ‘औद्योगिक ग्राम’ स्थापना गरिने भएको छ ।

    ग्रिन गार्मेन्ट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्रलगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिने नीति तथा कार्यक्रम छ । ‘स्टार्टअप नेपाल पोर्टल’ मार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजीलगायतका सेवा प्रदान गरिने भएको छ ।

    यस्तै सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सहलगानीसहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • ‘रोजगार प्रवर्धन दशक’ घोषणा

    ‘रोजगार प्रवर्धन दशक’ घोषणा

    काठमाडौँ, वैशाख २९ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि २०९२–९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रममा सो घोषणा गरेका हुन् ।

    वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने र आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य सरकारको छ । नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिने सरकारको योजना छ ।

    ‘कमाउँदै सिक्दै अवधारणा’ मा आधारित राष्ट्रिय अप्रेन्टिससिप कार्यक्रम सञ्चालन गरिने र नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क नीति’ को कानुनी अवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल ‘सिप पासपोर्ट’ मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइने पनि नीति तथा कार्यक्रम छ ।

    यस्तै श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनश्चित गरिने, डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पारिश्रमिक सुनिश्चित, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिनेस सरकार, रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रियस्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन विषय समेटिएको छ ।

    श्रमिकको सुरक्षा र न्यूनतम पारिश्रमिकको प्रत्याभूति सरकारले श्रमिकको कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने, डिजिटल श्रम निरीक्षण प्रणाली लागु गरी न्यूनतम पारिश्रमिकको सुनिश्चित, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गरिने तथा बालश्रम निवारणका लागि गरिएका प्रतिबद्धतालाई कडाइसाथ कार्यान्वयन गरिने र राष्ट्रियस्तरको कल्याणकारी कोषलाई प्रभावकारी रूपमा परिचालन गरिने नीति सरकारको छ ।

    वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलमुखी बनाउन सरकारले उच्च प्राथमिकता दिएको छ । अत्यधिक सेवा शुल्क लिने र श्रम शोषण गर्नेविरुद्ध कडा कारबाही गरिने व्यवस्था गरिएको छ । विदेशमा कार्यरत श्रमिकका लागि छुट्टै ‘कल सेन्टर’ सेवा उपलब्ध गराइने र श्रम कूटनीतिमार्फत उच्च पारिश्रमिक पाइने गन्तव्य मुलुकको विविधीकरण गरिने छ ।

    विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रूपान्तरण गर्न ‘विप्रेषण–लगानी मिलान कोष’ सञ्चालनमा ल्याइने, विदेशमा मृत्यु वा अङ्गभङ्ग भएका श्रमिकका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रमलाई सुदृढ बनाइने र स्वदेश फर्केकाका लागि एकीकृत प्रोत्साहन प्याकेज ल्याइने योजना सरकारको छ ।

    अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गर्ने कार्यलाई तीव्रता दिइने र श्रमिकलाई अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराउने व्यवस्थासमेत मिलाइने नीति र कार्यक्रममा उल्लेख छ ।