Category: अर्थतन्त्र

  • कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्की, ८ जेठः कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताए ।

    “बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्क प्रचलित कानुनबमोजिममात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीबाट नियन्त्रणमा लिइने छ”, पौडेलले भने ।

    नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र बस्तीमा वातावरणीय विनास नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्ने, स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ः०० देखि बेलुका ६ः०० बजेसम्म तोक्नेसमेत निर्णय बैठकले गरेको छ । समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्न कारोबार बिनाबिलबिजक जारी गर्न रोक लगाउने निर्णयसमेत गरिएको छ ।

    बैठकले पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेरमात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँनगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा सङ्कलनको अभिलेख राख्न आग्रह गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।


    उत्खनन सङ्कलन वा ढुवानीकर्ताले ढुवानी गरेको परिणामको दैनिक अभिलेख र दैनिक पटके बिक्री तथा ढुवानी अभिलेख राख्ने, फेवातालको जलाधार क्षेत्रबाट कानुनविपरीत ढुङ्गा, बालुवा र अन्य प्रकारको माटो खन्ने, झिक्ने वा ओसारपसार गर्ने कार्य रोक्न लगाउन र कोही कसैले उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गर्न लेखी आएकामा उल्लेखित कार्य पूर्ण रूपमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

    त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्याद समाप्त हुनुभन्दा अगावै उठाइसक्नुपर्ने र यदि म्यादभित्र नउठाएमा पालिकाले जफत गरी प्रचलित कानुनबमोजिम लिलाम बिक्री गरी स्थानीय सञ्चित कोषमा आम्दानी जनाउनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्यादभित्रै उठाई अन्यत्र मौज्दात राखेकामा म्यादभित्रै पालिकाले मौज्दात प्रमाणित गरी प्रमाणित गरेको मौज्दात विवरण अनिवार्य रूपमा जिल्ला अनुगमन समितिमा पठाउन निर्देशन दिइएको समन्वय अधिकारी बरालले बताए ।

  • मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

    फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन् ।


    खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताउनुभयो । “खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो”, नगरप्रमुख पोखरेलले भने, “यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।”

    पछिल्लो समय भद्रपुरमा अन्तरराष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्को मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ ।

    फ्लडलाइट प्रणाली जडानकार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

  • जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

    मुस्ताङ, ७ जेठः कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।

    राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम–कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम–कागबेनी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नति सुरु भएको जानकारी दिए । कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम–कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको उनले बताए । आयोजना प्रमुख शर्माका अनुसार जोमसोम–कागबेनी सडक स्तरोन्नतिका लागि कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।

    चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भएको जोमसोम(कागबेनी सडक स्तरोन्नति जेठको पहिलो हप्तादेखि सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले जानकारी दिए । चार महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तरोन्नति भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने उनले उल्लेख गरे । कागबेनीबाटख सडक स्तरोन्नतिको काम सुरु गरिएको उनको भनाइ छ ।

    जोमसोम–कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसिसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ ।

    जोमसोमबाट माथि एक किलोमिटर दूरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याविन वाल लगाउने कार्य गरिने छ । जोमसोम-कागबेनी खण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसँगै आरसिसी ढलान गरिने छ । साथै सडकको ड्रेन र प्रोट्रेक्सन वाल नभएका स्थानमा ड्रेन निर्माण र मेसिनरी वाल लगाइने स्थलगत इञ्चार्ज थापाले जानकारी दिए ।

  • बढघर हुनु त यस्तो पो….

    बढघर हुनु त यस्तो पो….

    रासस
    पकरियापुर (कैलाली), ७ जेठः मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहेका छन् । उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उजलाई सुन्न जान मन लागेनछ । किन जानुभएन ? उनले भने, “के पाउनु छ र ? भाषण सुन्न गएर । ताली बजाएर ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफँैले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।”

    उनी सोही समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह ‘प्याकेज’को परीक्षण र कार्यन्वयन तयारीको लागि सञ्चालन भइरहेको कृत्रिम घटना अभ्यासमा जुटिरहेका थिए । विपद्का अवस्थामा तत्काल अस्थायी आवास (सेल्टर) कसरी निर्माण गर्ने र समुदाय सहित नसर्ने रोग लागेका व्यक्तिहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर पूर्वाभ्यास गरिहेका थिए ।

    बाँसका टेका लगाएर नेपाल रेडक्रस चिह्न अङ्कित तारपोलियन मिलाउँदै उनले भने, “बाढी र डुबान नआउने समयमा यस्ता अभ्यास गर्दा भोलिका दिनमा सजिलो हुने रहेछ ।” उनका अनुसार मुख्य गरेर यहाँका कन्द्रा, मोहना, काँढा, पथरैयासहित कर्णालीले डुबान र कटानको कहर नल्याएको वर्ष हुँदैन ।

    बडघरका मानबहादुरकी श्रीमती ब्रेफानी चौधरी पनि समुदायमा विपद्को पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त हुँदा भेटिएकी थिइन । ‘विपद्का सूचना र जानकारी कसरी समुदायमा पु¥याउने’ भनेर उनलाई भ्याइ नभ्याइ थियो । सूचना सम्प्रेषणका विधि र तरिका बारेमा उनले नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गरेको तालिममा सिकेकी थिइन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान सूचना बढघरसम्म आइपुग्नासाथ उन्ी ‘माइक’ बाकेर घरबाट निस्किएकी थिइन् ।


    उनले अफ्नो मातृभाषामा स्थानीयवासीलाई नदीमा पानीको उच्च बहाव बढ्दैछ, डुबान हुने सम्भावना छ सबै जना उच्च सतर्क रहनुहोला र अति सङ्कटासन्न व्यक्तिहरुले विशेष सतर्कता अप्नाउनु होला भन्दै सूचना प्रसार गराइन् । उनको पूर्वसूचना सन्देशमा नयाँ जानकारी थपिएको थियो । ब्रेफानीले दोहो¥याएर सम्प्रेषण गर्दै थिइन्, “बाढीका समयमा नसर्ने रोग लागेका व्यक्ति तथा हेरचाह गर्ने व्यक्तिहरुले ध्यान दिनुहोला । यस्ता विरामीले नियमित सेवन गर्ने औषधिको सुनिश्चितता गर्नुहोला । जोहो गर्नुहोला ।” ‘माइकिङ’ गरेर नसुन्ने स्थानमा नगरपालिकाले बहुउपयोगी ‘साइरन’मार्फत समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

    ‘माइकिङ’ सुनेर महिला स्वयंसेविका किरणा जैसी झटपट झोला बोकेर घरबाट निस्केकी थिइन । झोलामा नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास)सहित झाडापखाला, ज्वरोका औषधिसहित केही प्राथमिक उपचार सामग्री पनि रहेका थिए । उनले भने, “विपदका अवस्थामा नसर्ने रोगको व्यक्तिको सेवा निरन्तरताका लागि चुनौती छ र यो कृत्रिम घटना अभ्यासले समुदाय तथा नसर्ने रोग लागेका व्यक्तिहरुको विपद् पूर्वतयारी तथा विपद्को पूर्वानुमानपश्चात् गरिने पूर्वकार्यको ज्ञान तथा सीपसमेत वृद्धि गर्नेछ । यसमा समुदायलाई अभ्यस्त बनाउन जरुरी छ ।”

    यहाँ बडघरले समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम गरिरहेको छ । बडघर थारू समुदायको मौलिक प्रथा पनि हो । बडघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन् । बडघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयं प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्ने परम्परा रही आएको छ । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन् । बडघर मानबहादुरले भने, “बडघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म म आफैँ खट्ने गर्दछु । ”

    बाढी र डुबानसहित नसर्ने रोगको उच्च जोखिम

    भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी र डुबानका उच्च जोखिममा पर्दछ । विगत तीन वर्षदेखि यहाँ बाढी र डुबानका कारण मानवीय क्षति नभए पनि डुबान, कटान सहित कृषिबाली क्षति हुनेक्रम रोकिएको छैन । उनले भने, “पछिल्ला वर्ष नसर्ने रोगको वृद्धिले नगरवासीहरु बाढीको समयमा अझ प्रभावित बन्न थालेका छन् । यहाँको नसर्ने रोग को ‘ग्राफ’ निरन्तर उकालोमा छ ।” उनका अनुसार पालिकाभित्र बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन एकसयभन्दा बढी उच्च घर बनाउन सहयोग तथा विस्थापित राख्न १८ उच्च घर बनाइएका छन् ।

    गत माघ र फागुनमा नगरपालिकाले नगर क्षेत्रमा नसर्ने रोगसम्बन्धीे ‘स्क्रिनिङ’ अभियान नै सञ्चालन गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भजनी, आधारभूत स्वास्थ्य केन्द्र पल्तुपुर, मन्त्रिफाँटा, धरौना, गोडचौरासहित लालाबोझी स्वास्थ्यचौकी, थापापुर स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र चर्रा र खैलाड स्वास्थ्यचौकीमा ३० वर्षमाथिका एकहजार एकसय ८० को परीक्षण गर्दा रक्तचाप २५५, मधुमेह ९५, मिर्गौला १६, मोटोपना २४४ जना भेटिएको थियो । उनले भने, “समुदायमा नसर्ने रोगको व्यक्तिको खोजपड्ताल गर्नेक्रम जारी छ । पहिचानका लागि यस्ता व्यक्तिलाई ‘कार्ड’ वितरण भइराखेको छ । यसबाट विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि सहयोग पुग्ने छ । ”

    भजनी नगरपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा रहेको छ । सोही परियोजनाले भजनीमा विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डि प्याकेज’ मार्फत निरन्तर पैरवी, सहजीकरणका गतिविधिमा सहयोग गरिराखेको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले जानकारी दिए ।
    ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजनाका संयोजक प्रमोद अधिकारीले भने, “विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरतालाई सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्र र विपद् जोखिम व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य उद्देश्य रहेको छ । विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्युको जोखिम कम हुन्छ साथै बिरामीको मानसिक तनावसमेत कम हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगबाट गम्भीर अवस्था सिर्जना हुनबाट रोकेर मानिसलाई बचाउन सकिन्छ । पेन–डी प्याकेजलाई समावेश गरी नीतिगत रूपमा काम गरेमा विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरुले थप जटिलता भोग्नु पर्ने थिएन ।”

    भजनी विपद् र नसर्ने रोगको दोहोरो मारमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा निर्माण भएको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डी प्याकेज’ को अन्तिम मस्यौदा तयार भइसकेको र भजनी नगरपालिका आगामी वर्षदेखि उक्त प्याकेजलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यन्वयन गर्ने तयारीमा रहेको छ । नगरपालिकाका प्रमुख चौधरीले भने, “ विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि यो प्याकेजले सहजीकरण गर्ने भएकाले भविष्यमा भजनी नगरपालिकामा नसर्ने रोगबाट प्रभावित रहेका व्यक्तिहरु विपद्का समयमा उपचारबाट वञ्चित हुनु पर्दैन ।”

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा सविन पराजुली विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि ‘पेन डी प्याकेज’ सहयोग पु¥याउने जानकारी दिँदै भजनी र लालझाडीको सिकाई अन्य पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

  • मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ, ७ जेठ (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य–वर्षीय अद्यावधिकु प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५ प्रतिशत रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२७ मा भने २.८ प्रतिशतको सामान्य सुधार हुने अपेक्षा गरिएको छ।

    प्रतिवेदनमा उल्लेख भएअनुसार मध्यपूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्यवृद्धि, ढुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घरपरिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्यवृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ।

    सन् २०२३ देखि घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति २०२५ को २.६ प्रतिशतबाट २०२६ मा २.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो ४.२ प्रतिशतबाट ५.२ प्रतिशत पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौती पूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेषगरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्।

    पश्चिम एशियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि २०२५ को ३.६ प्रतिशतबाट घटेर २०२६ मा १.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव ली जुनह्वाले भने, “मध्यपूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाब सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पूँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ।”

  • दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    म्याग्दी, ७ जेठः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२–८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।

    विसं २०८२ माघ, फागुन र चैत महिनामा ठेक्का सम्झौता भएका १७ वटै योजना चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएका आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिए । “ठेक्का सम्झौता गरेका सबै योजनाका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन्”, उनले भने, “आगामी असार १९ गतेसम्म ठेक्काको म्याद भएका सबै योजना निर्माण कार्य धमाधम भइरहेको छ ।”

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको पहिरो नियन्त्रण योजनाका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा र बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि रु ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाको रु ८७ लाख ४४ हजार ९८२ र अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजनाको रु एक करोड नौ लाख १६ हजार ७६० मा ठेक्का सम्झौता भएको छ ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीको बस्ती संरक्षण योजनाको रु एक करोड ९१ लख ४३ हजार ६९९, थासाङ गाउँपालिका–२ लार्जुङखोला संरक्षणका लागि रु ७८ लाख ४४ हजार ९८२, लुप्रा गाउँ संरक्षण योजनाको रु २६ लाख ८२ हजार ४५ र तिरिगाउँ स्याउ बगैँचा संरक्षण योजनाको रु २५ लाख ९७ हजार १०३ मा ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । कार्यालयमार्फत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा, वारागुङ मुक्तिक्षेत्रको फल्याक, झोङ, ढाकारजुङ, झोङ–फल्याक, छुसाङ र झारकोट सिँचाइ योजना कार्यान्वयन भएका छन् ।

    पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउन निर्माण गर्न रु ३२ लाख ३५ हजार ९३९, कुश्मा नगरपालिका–१० को उपल्लो बिर्ता माझीको खोला सिँचाइ योजना रु १५ लाख ५२ हजार ५७५ र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाको रु ९१ लाख ७८ हजार ९२० मा ठेक्का सम्झौता भएको छ ।

  • कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    टोकियो,७ जेठ (रासस–एएफपी) । जापानको आधिकारिक तथ्याङ्कअनुसार, मार्चमा रेकर्ड स्तरमा पुगेपछि अप्रिल महिनामा विदेशी पर्यटकहरूको संख्या घटेको छ। जापान नेशनल टुरिज्म अर्गनाइजेसनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारणमध्ये चिनियाँ पर्यटकहरूको ठूलो कमी हो। चीनबाट आउने पर्यटकहरूको संख्या ५६.८ प्रतिशतले घटेर ३ लाख ३० हजार ७ सयमा सीमित भएको छ। अधिकारीहरूका अनुसार, यस गिरावटको कारण चीन सरकारको यात्रा सम्बन्धी चेतावनी पनि हो।


    मध्यपूर्वबाट आउने पर्यटकहरूको संख्या पनि २१.४ प्रतिशतले घटेको बताइएको छ। केही क्षेत्रहरूमा जारी तनाव र युद्धका कारण यात्रा रद्द हुने घटनाहरू बढेको जनाइएको छ। जापान र चीनबीचको सम्बन्ध पछिल्ला समयमा थप तनावपूर्ण बनेको बताइन्छ। नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान सम्बन्धी सम्भावित सैन्य संलग्नताको संकेत गरेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने धारणा राख्दै आएको छ।

  • मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

    मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

    काठमाडौँ, ७ जेठ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ ।

    सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ ।

    विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ । काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक÷एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्नेगरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ । बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक÷एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ ।

    साथै गाडीमार्फत सजिलै आवश्यकता भएको स्थानमा पु¥याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू गौचरस्थित ब्यारेकमा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक, काठमाडौँमा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । उक्त टोलीलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ ।

    मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ । यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

    आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

    विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकार भएका निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई अझ प्रभावकारी बनाइएको छ ।

    यसै क्रममा सेनाको नेतृत्व तथा पहलमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद्सम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो । यसखालका अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म सञ्चालन गरिने जनाइएको छ ।

    यसैगरी, स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको छ । यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीच समन्वयलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ ।

    मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको यो व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनाका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

  • हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    लन्डन, ७ जेठ (रासस–सिन्ह्वा) । ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलसन्धिबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजहरूले हर्मुज जलसन्धि पार गरेका छन् । यो संख्या अघिल्लो हप्ताको २५ जहाजको तुलनामा झन्डै दोब्बरभन्दा बढी हो, जसले समुद्री व्यापारमा तीव्र गतिशीलता देखाएको छ ।

    यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ। विशेषगरी तेल, ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको उल्लेख छ । प्रतिवेदनमा थप उल्लेख गरिएअनुसार अबु धाबी नेसनल आयल कम्पनीको स्वामित्वमा रहेको तरल प्राकृतिक ग्यास बोक्ने एउटा ठूलो जहाजले आफ्नो स्वचालित पहिचान प्रणाली बन्द गरेर खाडी क्षेत्रभित्र प्रवेश गरेको पाइएको छ । यस्तो प्रणाली सामान्यतः जहाजको स्थान र गतिविधि ट्र्याक गर्न प्रयोग गरिन्छ, र यसलाई बन्द गर्नु सुरक्षा तथा निगरानीका दृष्टिले संवेदनशील मानिन्छ ।

    लन्डनमा आधारित समुद्री विश्लेषण कम्पनी विन्डवार्ड का तथ्यांक अनुसार सोमबार मात्र १९ वटा जहाजहरूले उक्त जलसन्धि पार गरेका थिए । तीमध्ये ९ वटा जहाज भित्रिँदै गरेका र १० वटा बाहिरिँदै गरेका थिए । भित्रिने जहाजहरू मुख्यतः भारत र श्रीलङ्कालगायत देशका झण्डा बोकेका कार्गो जहाजहरू थिए । बाहिरिने जहाजहरूमा एक तेल ट्यांकर र नौ वटा कार्गो जहाजहरू समावेश थिए, जसमा पाँच वटा जहाज इरानको झण्डा बोकेका थिए । विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमा हुने यस्तो उतारचढावले मध्यपूर्वको ऊर्जा व्यापार, विशेषगरी तेल तथा ग्यास आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ, किनकि विश्वको ठूलो हिस्सा यही समुद्री मार्ग हुँदै ओसारपसार हुन्छ ।

  • अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

    अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

    गण्डकी, ७ जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।

    महानगरको प्राविधिक टोलीले नाप गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने भएकाले तोकिएको अवधिभित्र संरचना हटाउन सूचित गर्दै नहटाएमा महानगर आफैँले हटाउने र त्यसवापत लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ । यसअघि गत वैशाख ४ गते पनि सार्वजनिक सूचनामार्फत फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन ३५ दिनको समय दिएको थियो । यस्तै, महानगरले विसं २०८० कात्तिक १० गते पनि उक्त खोलको खोलाघर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

    उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएकामा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ । अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको अघिल्लो सूचना समेतलाई आधार मान्दै यही जेठ ९ गतेभित्र फिर्केखोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन समयसीमा दिइएको हो ।

    महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ । यही जेठ ८ गतेभित्र बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले विवरण सङ्कलन गरिने भएको हो । बुधबार जारी सूचनामा यसअघि निस्सा पाएका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जेठ ८ गतेसम्म वडा नं ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन पनि आग्रह गरिएको छ ।

    नगरपालिकाबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमूली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमूली आफैँले नाता खुलाएको स्वःघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन पोखरा–९ पृथ्वीचोकमा विसं २०३१–३२ तिर दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै हाल करिब ६० रोपनी जग्गा मात्र बाँकी छ ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । “भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा करिब पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेका छन् । अब वास्तविक अवस्था छानबिन गर्दैछौँ, त्यसपछि सुकुमवासीलाई उचित व्यवस्थापन गर्छौं”, उनले भने, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ । बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”

  • थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

    थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

    काठमाडौँ, ६ जेठः सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।

    समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

  • झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य

    झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य

    वालिङ (स्याङ्जा), ६ जेठ । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो । एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आम्दानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानीखेतीमा युवको आकर्षण बढेको हो । तीन–चार वर्षअघिदेखि थोरै मात्रामा खुर्सानीखेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढेको किसान तनबहादुर गुरुङले बताए ।

    वैदेशिक रोजगारीमा आठ वर्ष बिताउनुभएका गुरुङले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएसँगै खुर्सानीखेती थालेका हुन् । विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियो भने राम्रो हुने ठानेर स्वदेशमै खुर्सानीखेती गर्ने निधो गरेँ”, उनले भने, “जङ्गलैजङ्गल, बाँझो अनि पातीको झाडी फाडेर खुर्सानी लगाएका छौँ ।” अहिलेसम्म झन्डै १० हजार बिरुवा लगाइसक्नुभएका गुरुङले यस वर्ष २० हजार बिरुवा खुर्सानी लगाउनका लागि जमिनको तयारी गर्नुभएको छ । आफ्नै २० रोपनीका अलावा थप १० रोपनी जमिन भाडामा लिएका छन् ।


    “गाउँबाट बसाइँ सरेर बजार जाने प्रवृत्तिकै कारण गाउँका घरहरू रित्तिँदै गए जग्गा जमिन बाँझिन थाले”, उनले भने, “बाँझिएको जमिनको सदुपयोग गर्दै आम्दानीसित जोडिँदै गाउँमै बसेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरण खुर्सानीले दिनेमा म विश्वस्त छु ।” गाउँघरमा प्रतिमाना रु १०० र प्रतिकेजी रु ३५० का दरले बिक्री गर्न सकिने व्यावसायी कुमार गुरुङले बताए ।


    खुर्सानीको माग अत्यधिक रहेकाले खुर्सानी बिक्रीबाट यस वर्ष करिब १० लाख आम्दानी गर्ने लक्ष्य उहाँको छ । खुर्सानी लगाउनका लागि जग्गा जमिन सम्याउने, बिरुवा लगाउने कार्यका लागि हाल आठ जनाले रोजगारी पाएका छन् । अन्य बाली लगाउँदा बाँदरलगायत जङ्गली जनावरले नष्ट गरिदिने भएकाले खुर्सानीलाई विकल्पका रूपमा अगाडि सारिएको हो ।

    पछिल्लो समय भिरकोट नगरपालिकाले व्यावसायिक अकबरेखेती कार्यक्रमलाई कार्यान्वयनमा लगेको छ । भिरकोटको वडा नं ९ मा झन्डै ९० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको छ । विभिन्न समूह, सहकारी तथा व्यक्तिमार्फत वडामा झन्डै एक सय जना किसान खुर्सानीखेतीमा सहभागी भएका भिरकोट–९ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।

  • बिम गाउँमा पक्की पदमार्ग

    बिम गाउँमा पक्की पदमार्ग

    म्याग्दी, ६ जेठ । यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताए ।

    “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ”, उनले भने । बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताए ।


    पदमार्ग बनेपछि बिम र डाँडागाउँमा २०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०\८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो । पहिलो वर्ष पूर्वाधार विकास कार्यालयमार्फत विनियोजन भएको रु ३० लाख बजेटबाट बिम तल्लोगाउँमा ४२५ र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण भएको थियो । आव २०८१\८२ मा रु १० लाख बजेटबाट तल्लो गाउँमा २९० मिटर नाली र त्यसमाथि पक्की पदमार्ग बनाइएको एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए ।


    उहाँका अनुसार चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण भएको छ । तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ । एक दशमलव १० देखि एक दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताए ।


    माटे पदमार्गमा वर्षा हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको तल्लोगाउँका धनकुमार जुग्जालीले बताए । तल्लोगाउँमा पदमार्ग निर्माणका लागि चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु पाँच लाख बजेट भने इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण कार्यान्वयन गर्न नसकिएको उनले बताए । बिम र डाँडागाउँ धार्मिक पर्यटकीयस्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् ।

    मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट विनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले स्तरोन्नतिका क्रममा रहेको खारा–बिम सडक स्तरोन्नति योजनामार्फत तल्लोगाउँ र डाँडागाउँ बस्तीभित्रको सडक कालोपत्र हुने जानकारी दिए ।

  • नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

    नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

    रमेश लम्साल/रासस

    काठमाडौँ, ६ जेठः मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी क्षेत्रको सहकार्यले यस क्षेत्रले प्रगति गरिरहेको अवस्थालाई ख्याल गर्दै बजेटमा एउटा नयाँ ‘डिपार्चर’ हुने सरोकारवालाहरुको कथन छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले समेत यस पटक आफूहरुले खोजे जस्तै मार्गदर्शन आगामी आवको बजेटले सम्बोधन गर्ने अपेक्षा राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मङ्गलबार विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा समेत ऊर्जा, भौतिक पूर्वाधारको क्षेत्रलाई आगामी आवको बजेटमा विशेष महत्व पाउने सङ्केत गरिसक्नु भएको छ ।

    सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का तय गरेको नीति तथा कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई केवल पूर्वाधार विकासको विषयका रूपमा नभई सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको रणनीतिक क्षेत्रका रूपमा अघि बढाउने नीति लिएको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नदीहरूलाई केवल जलस्रोतको साधनका रूपमा मात्र नहेरी मानव सभ्यता, धार्मिक आस्था, सांस्कृतिक निरन्तरता तथा पर्यावरणीय सन्तुलनको आधारका रूपमा संरक्षण गर्ने दृष्टिकोण प्रस्तुत गरेको छ । यसले विगतमा जलविद्युत् उत्पादन र पूर्वाधार निर्माणमा केन्द्रित विकास अवधारणालाई विस्तार गर्दै नदी प्रणालीलाई समग्र जीवन प्रणालीसँग जोड्ने प्रयास गरेको देखिन्छ ।

    नीतिअनुसार धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक दृष्टिले महत्वपूर्ण नदीहरूको वैज्ञानिक अध्ययन हुनेछ । नीतिमा नदी किनारमा बसोबास गर्ने आदिवासी तथा स्थानीय समुदायको परम्परागत ज्ञान, जीवनशैली र आध्यात्मिक सम्बन्धलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गरिने सरकारको प्रतिबद्धताले विकास र पहिचानबीच सन्तुलन कायम गर्ने सङ्केत गरेको छ ।

    विशेषगरी पछिल्ला वर्षमा तीव्र जलविद्युत् निर्माण, नदी दोहन, उत्खनन तथा जलवायु परिवर्तनका कारण नदीहरूको प्राकृतिक बहाव, जैविक विविधता र तटीय जीवनशैलीमा असर देखिन थालेको अवस्थामा सरकारले ‘स्वच्छ र निरन्तर बहने नदी प्रणाली’ सुनिश्चित गर्ने घोषणा गर्नु अर्थपूर्ण मानिएको छ । विज्ञहरूका अनुसार यो अवधारणाले नदीलाई केवल ऊर्जा उत्पादनको माध्यम होइन, जीवित पारिस्थितिक प्रणालीका रूपमा स्वीकार गरेको छ । नीतिका आधारमा नै आगामी आवको बजेट समेत तय हुने भएकाले निजी क्षेत्रले पनि सकारात्मक नजिता आउने अपेक्षा गरेको छ । इपानका अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको विकासका लागि आफूहरु सनसेट ल को प्रतिक्षामा रहेको बताउँछन् ।
    कार्कीका अनुसार वन मन्त्रालयमा नै ४० भन्दा बढी फाइल रोकिने गरेको सन्दर्भमा एकै बिन्दुमा सबै सेवा पाउने गरी ‘सन सेट ल’ आएको खण्डमा समस्या समाधान हुने र आगामी आवको बजेटले सो विषयलाई सम्बोधन गर्ने निजी क्षेत्रको विश्वास छ । यस्तै, सरकारले नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन प्रणाली लागू गर्ने नीति पनि अघि सारेको छ । यसअन्तर्गत जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन तथा तल्लो तटीय लाभलाई एकीकृत ढंगले जोडेर बहुउद्देश्यीय आयोजना विकास गरिने भएको छ । यसलाई जलस्रोत उपयोगको दीर्घकालीन तथा समन्वित मोडेलका रूपमा हेरिएको छ ।

    ऊर्जा क्षेत्रतर्फ सरकारले आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत उत्पादनको महत्वाकांक्षी लक्ष्य दोहो¥याएको छ । लक्ष्य प्राप्तिका लागि ऊर्जा, वन, भूमि तथा वातावरणसँग सम्बन्धित कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने नीति लिइएको छ । आयोजना स्वीकृति प्रक्रियालाई छिटो र लगानीमैत्री बनाउने उद्देश्य यसमा देखिन्छ ।

    सरकारले आयोजना प्रभावित स्थानीय नागरिकलाई नगद मुआब्जाको विकल्पस्वरूप शेयर लगानीको अवसर दिने नीति पनि अघि सारेको छ । यसले स्थानीय समुदायलाई परियोजनाको प्रत्यक्ष आर्थिक साझेदार बनाउने प्रयासका रूपमा हेरिएको छ । विद्युत् उत्पादन, प्रसारण, वितरण र ऊर्जा व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने सरकारको नीति कायम रहँदा ऊर्जा आधारित उद्योग प्रवद्र्धनमार्फत आन्तरिक विद्युत् खपत बढाउने लक्ष्य पनि राखिएको छ । यससँगै अन्तरदेशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने आधारका रूपमा उपयोग गरिने उल्लेख गरिएको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ समृद्धिको प्रमुख आधार स्तम्भका रुपमा रहेको ऊर्जा तथा जलस्रोत क्षेत्रले अनुभव गर्ने गरी नै सरकारले आफ्ना गतिविधिलाई केन्द्रित गरेको र आगामी आवको बजेट त्यसका लागि एउटा नयाँ आधार स्तम्भ बन्ने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले सोही अनुरुपको तयारी गर्न मन्त्रालय र मातहतका निकायलाई दिशा निर्देश गर्नुभएको छ ।

    सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा ‘अफग्रिड सौर्य’, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गर्ने योजना पनि सरकारले अघि बढाएको छ । यसले ऊर्जा पहुँचसँगै क्षेत्रीय असमानता घटाउने कार्यक्रम अगाडि सारेको छ । हरित अर्थतन्त्रतर्फ सरकारले ग्रिन हाइड्रोजन तथा रासायनिक मल उद्योगलाई रणनीतिक प्राथमिकतामा राखेको छ । यस्ता उद्योगलाई कर तथा भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर, पुँजी प्रोत्साहन र लगानीमैत्री नीति उपलब्ध गराइने भएको छ । यातायात क्षेत्रमा समेत ग्रिन हाइड्रोजनको व्यावसायिक प्रयोग विस्तार गर्न आवश्यक पूर्वाधार विकास सुरु गर्ने घोषणा गरिएको छ ।
     
    सिँचाइ क्षेत्रतर्फ सरकारले तराई–मधेशका सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोतको उपयोग गर्ने तथा पहाडी र हिमाली भूभागका कृषियोग्य टारहरूमा लिफ्ट प्रविधिमार्फत सिँचाइ विस्तार गर्ने नीति अघि सारेको छ । ठूला सिँचाइ आयोजनाको आधुनिकीकरण, मर्मत तथा पुनस्र्थापनामा उपभोक्ता सहभागितालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम व्यवस्थापनलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

    स्वचालित जल तथा मौसम केन्द्र विस्तार गर्दै पूर्वानुमान प्रणालीलाई सुदृढ बनाइने तथा बहुप्रकोप पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउने नीति लिइएको छ । सरकारले यसपटक ऊर्जा र जलस्रोत नीतिलाई केवल आर्थिक वृद्धिको आधारमा सीमित नराखी वातावरणीय दिगोपन, सांस्कृतिक संरक्षण, जैविक विविधता र समुदायको अस्तित्वसँग जोड्ने प्रयास गरेको देखिन्छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाललाई साँच्चिकै समृद्ध बनाउने हो भने हामीसँग भएको अपार जलस्रोत चिन्नै पर्ने, जान्नै पर्ने, प्रयोग गर्नै पर्ने धारणा राखेका थिए । उनले तत्काल ‘सनसेट ऐन’ ल्याएर यस क्षेत्रमा तीव्र लगानी, द्रुत निर्णय र दीर्घकालीन दृष्टिकोण कार्यान्वयन जरुरी रहेको बताए । “सुशासनसँगै पहिलो प्राथमिकता ऊर्जाको सन्तुलित उत्पादन र खपत हो र हुनुपर्दछ । देश धनी बन्न निर्यात बढाउनै पर्दछ । आयात घटाउनै पर्दछ । आज हामी उत्पादनभन्दा बढी उपभोग गरिरहेका छौँ । त्यसले व्यापार घाटा बढाएर अर्थतन्त्रलाई थिचिरहेको छ”, उनले भने ।


    ऊर्जा क्षेत्रमा लगानी गर्न खोज्नेले सात मन्त्रालय, २१ विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग लामो समयदेखि उठेपनि सम्बोधन हुन सकेको थिएन । सरकारको नीति तथा कार्यक्रमले सो विषयलाई सम्बोधन गर्ने मार्गदर्शन गरिसकेको छ । आगामी आवको बजेटले त्यसमा थप ठोस व्यवस्था गर्न सके यस क्षेत्रले गुणात्मक फड्को मार्ने धेरैको विश्वास छ ।

    हाल कुल जडित क्षमता चार हजार तीन सय मेगावाट बराबर पुगेको, भारत र बङ्गलादेशमा विद्युत् निर्यात सुरु भएको, ठूला क्षमताका प्रसारण लाइन निर्माणका क्रममा रहेको सन्दर्भमा व्यवहारिक, नीतिगत र प्राविधिक कठिनाई फुकाउन सरकारले अब विलम्ब गर्नुहुँदैन भन्ने मत निजी क्षेत्रको छ । मुलुकको प्रणालीमा ८० प्रतिशत बराबरको योगदान दिने निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने सरकारको प्रतिबद्धतालाई अब व्यवहारिक रुप दिनुपर्नेमा सरोकारवालाको जोड छ ।

  • कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सुदीप राउत–रासस
    सिरहा, ६ जेठः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एसियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ ।

    नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ साल असार ११ गते सडक विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार यो आयोजना २०८० कात्तिक ११ गतेभित्रै सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ को ढिलासुस्ती र आन्तरिक कारण निर्धारित समयमै काम हुन सकेन ।

    परिणामस्वरुप, आयोजनाको म्याद पहिले १४ महिना, त्यसपछि १२ महिना र पछिल्लो पटक छ महिना थपेर आगामी असार १६ गतेसम्म पु¥याइएको छ । अन्तिम म्याद सकिन अब करिब एक महिना मात्र बाँकी छँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा ६८ प्रतिशतमा सीमित छ । छ वर्ष बितिसक्दा पनि ३२ प्रतिशत काम बाँकी रहनुले ढिलासुस्तीको गम्भीर रूप देखाउँछ र चौथौ पटक म्याद थप्नुपर्ने अवस्था देखिएको छ ।

    आयोजना समयमै सम्पन्न नहुँदा नागरिकले त दुःख पाएका छन् नै समयमै पुँजीगत खर्च हुन नसक्दा राज्यले अनुत्पादक रूपमा बेहोर्नुपर्ने ‘प्रतिबद्धता शुल्क’को भार समेत थपिएको छ । आयोजनामा भएको ढिलासुस्तीका कारण मात्रै सुरुवाती अनुमानित लागतभन्दा झण्डै तीन अर्ब बढीको अतिरिक्त लागत वृद्धि वित्तीय भार राज्यकोषमा थपिएको जनाइएको ।

    आयोजनाका पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख नीरज शाक्यका अनुसार उक्त खण्डमा ३९ दशमलव ४२ किलोमिटरमध्ये हालसम्म २४ दशमलव ५८ किलोमिटर मात्र कालोपत्र भएको छ । विगतमा काम सुस्त हुनुमा कोरोना महामारी, रुख कटानमा ढिलाइ, बिजुलीका पोल नसारिनु, र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता मुख्य कारण थिए ।

    साथै पश्चिमी खण्डका सूचना अधिकारी अनुपमकुमार साहका अनुसार ४७ दशमलव ४१ किलोमिटरमध्ये ३५ दशमलव ६१ किलोमिटरमा कालोपत्र भइसकेको छ । मुख्य बजार क्षेत्रहरूमा विद्युत्का ट्रान्सफर्मर सार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको हो ।

    मन्त्रालयले सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएपछि मात्र गत वैशाख १५ गतेदेखि लहानमा काम पुनः सुरु भएको पश्चिमी खण्ड सडक योजना कार्यालयका प्रमुख उज्जवल श्रेष्ठ बताउँछन् । यसअघि निर्माण कम्पनीले आन्तरिक वित्तीय समस्या देखाउँदै झण्डै तीन महिनासम्म सडक विस्तारको सम्पूर्ण काम ठप्प पारेको थियो ।

    वैदेशिक ऋण जस्तो संवेदनशील स्रोतको समयमै सदुपयोग हुन नसक्दा राज्यकोषले बेहोर्नपरेको अदृश्य वित्तीय भार र नागरिकको सास्तीप्रति सरकार र निर्माण कम्पनी दुवै जबाफदेही बन्नुपर्ने देखिन्छ । आयोजनाको अन्तिम समयसीमाभित्र यो सडक निर्माण सम्पन्न गर्नु अन्तरराष्ट्रिय दातृ निकायहरूका माझ नेपालको आयोजना व्यवस्थापनको साखलाई कायम राख्नका लागि पनि उत्तिकै अपरिहार्य छ ।

    ‘कमिटमेन्ट’ चार्ज र ब्याजको भार

    आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड रहेको छ, जसमा एसियाली विकास बैंक ९एडिबी० को ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी छ । सार्वजनिक वित्त व्यवस्थापनको स्थापित सिद्धान्तअनुसार, दातृ निकायसँग ऋण सम्झौता भएर रकम विनियोजन भएपछि समयमै काम नभएर सो रकम खर्च हुन नसक्दा नेपाल सरकारले भुक्तानी नभएको वा थन्किएर बसेको रकममा पनि प्रतिबद्धता शुल्क वा ब्याज तिर्नुपर्ने हुन्छ ।

    अर्थशास्त्रका प्रध्यापक धरणीधर अधिकारी भन्छन्, “महत्वपूर्ण मानिएको रणनीतिक आयोजना समयमै सम्पन्न नहुँदा यसले मुलुकको आर्थिक, वातावरणीय र नागरिक स्वास्थ्यको क्षेत्रमा क्षति पुग्छ नै, वैदेशिक ऋण स्वीकृत भएको छ वर्षसम्म पनि कूल बजेटको झण्डै ३२ प्रतिशत हिस्सा खर्च हुन नसकेर फ्रिज जस्तै बस्नु भनेको राज्यले विनाउपलब्धि ब्याज र कमिटमेन्ट चार्जको भार बोक्नु हो । यसले पुँजीगत खर्च र भौतिक प्रगति नभइकन पनि देशको ऋणको भार मात्र थपिरहेको छ, जुन कमजोर वित्तीय अनुशासन हो ।”

    परियोजनाको लागत वृद्धि

    पटक–पटक म्याद थपिएसँगै परामर्शदाता शुल्क, प्रशासनिक खर्च, इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण आयोजनाको सुरुवाती अनुमानित लागतभन्दा वास्तविक खर्च उल्लेख्य रूपमा बढेर गएको छ । नेपालस्थित एडिबी निर्देशनालयका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठका अनुसार आगामी असार १६ सम्म परामर्शदाताको सेवा अवधि थप गर्ने क्रममा साइटको विद्यमान अवस्था र थप प्राविधिक निगरानीको आवश्यकता देखिएको छ ।

    उनले भने, “साइटको अवस्था र थप प्राविधिक निगरानीको आवश्यकताका आधारमा अतिरिक्त विज्ञहरूको परामर्श सेवा आवश्यक देखिएकाले प्रारम्भिक सम्झौता रकमको तुलनामा हालसम्म १८ दशमलव ९८ प्रतिशत अर्थात रु दुई अर्ब ९७ करोड २२ लाखले लागत वृद्धि भएको हो ।”

    तर, निर्माण व्यवसायीको म्याद थप गर्ने क्रममा निर्माण सामग्रीको मूल्य समायोजनसम्बन्धी प्रावधानलाई ‘फ्रिज’ गरिएको हुँदा भविष्यमा पर्न सक्ने अतिरिक्त वित्तीय दायित्वलाई न्यूनीकरण गरिएको आयोजनाले जनाएको छ । नेपाल सरकारका पूर्वसचिव इन्जिनियर अर्जुनजङ्ग थापा एडिबीको ऋण सहयोगमा विस्तार भइरहेका यस्ता ठूला आयोजना समयमै सम्पन्न हुन नसक्दा बर्सेनि लागत बढ्दै गई मुलुकको अर्थतन्त्रमा असर परिरहेको बताउनुहुन्छ । उहाँका अनुसार नेपालको झन्झटिलो खरिद प्रणाली, कमजोर अनुगमन, र जग्गा मुआब्जा तथा रुख कटान जस्ता पूर्वतयारी नै नगरी ठेक्का लगाउने परिपाटी यसको मुख्य कारण हो ।

    जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले सडक निर्माणमा भएको ढिलाइप्रति असन्तुष्ट व्यक्त गरे । उनले भने, “लहान र आसपासका सीमावर्ती ठाडी र माडर भन्सारसम्मको व्यापारिक ‘कनेक्टिभिटी’ यही मुख्य राजमार्गसँग जोडिन्छ । छ वर्षदेखि सडक अलपत्र पारिँदा ढुवानी लागत दोब्बर भएको छ, धुलो र सास्तीका कारण ग्राहकहरू आउनै छाडेका छन्, जसले गर्दा लहान बजारकै व्यापारिक चहलपहल शून्यप्रायः छ । राज्यको यो चरम गैरजिम्मेवारीका कारण निजी क्षेत्रले दैनिक करोडौँको व्यापारिक नोक्सानी व्यहोर्नु परिरहेको छ ।”

    लहानस्थित जेएस मुरारका क्याम्पसमा प्राध्यापनरत् अर्थशास्त्रका प्राध्यापक सजन साह विश्लेषण गर्छन्, “जब राष्ट्रिय राजमार्ग जस्तो मुलुककै मेरुदण्ड छ वर्षसम्म अलपत्र पर्छ, तब यसले देशको समष्टिगत आर्थिक सूचकहरूमा दीर्घकालीन असर पार्छ । व्यापारिक सडक समयमै नबन्दा ढुवानी लागत बढ्न गई औद्योगिक उत्पादकत्व घट्छ, जसले अन्ततः मुलुकको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमै संकुचन ल्याउँछ ।”

    बजेट विनियोजन र खर्चको असन्तुलन
    रणनीतिक सडक समयमै सम्पन्न हुन नसक्दा अन्य उत्पादनशील क्षेत्रमा जानुपर्ने सरकारी बजेट र प्रशासनिक संयन्त्र वर्षौँदेखि यहीँ अल्झिरहेको छ । पूर्वी खण्ड (३९.४२ किमि) को रु सात अर्ब २७ करोड सम्झौता रकममध्ये ६३ दशमलव ७७ प्रतिशत र पश्चिम खण्ड (४७.४१ किमि) को रु आठ अर्ब ८० करोड ७० लाखमध्ये ५९ दशमलव ४२ प्रतिशत मात्र भुक्तानी हुनुले राज्यको अर्बौँको पुँजी वित्तीय रूपमा फ्रिज भएर अनुत्पादक बनेको पुष्टि गर्छ ।
     
    नागरिकलाई धुलो र हिलोको सास्ती

    वित्तीय सूचक र प्राविधिक तथ्याङ्हरू जति निराशाजनक देखिन्छन्, राजमार्ग छेउका रैथाने नागरिकले भोगिरहेको दैनिक सास्ती त्योभन्दा कयौँ गुणा भयानक छ । लहानको मुख्य बजारमा वर्षौँदेखि चिया पसल चलाउँदै आउनुभएका सत्यनारायण साहको दैनिकी अचेल ग्राहकको प्रतिक्षाभन्दा बढी टेबल–कुर्सीको धुलो पुछ्नमा बित्छ । उहाँ आक्रोश र निराशा मिसाउँदै भन्छन्, “पहिले बिहानैदेखि ग्राहकको भीड हुन्थ्यो । अहिले चियाको कप टेबलमा राख्न नपाउँदै धुलोको पत्र जम्छ । छ वर्षदेखि उडेको यो धुलोले व्यापार चौपट मात्र पारेको छैन, हाम्रो त जिन्दगी नै धुलाम्मे बनाइदियो ।”

    साहको जस्तै पीडा लहान नगरपालिका—१ का दिनेश देवको पनि छ, जसले विगत दुई दशक देखि राजमार्गकै छेउमा स्टेसनरी पसल सञ्चालन गर्दै आउनुभएको छ । उनी भन्छन्, “किताब–कापी जतिसुकै जोगाएर राखे पनि धुलैधुलो हुन्छन् । राज्यले राष्ट्रिय गौरवको राजमार्गलाई यसरी वर्षौँसम्म बेवारिसे छाड्न मिल्छ ?” धुलोको यो सास्तीका कारण स्थानीयको स्वास्थ्यमा समेत ‘क्रोनिक’ समस्या निम्त्याइरहेको छ र हरेक घरमा वृद्धवृद्धा र बालबालिकाहरू खोकी, दम र एलर्गीको बिरामी भएका छन् ।

    सत्यनारायण र दिनेश पूर्व–पश्चिम राजमार्गको यो दुरावस्थाका प्रतिनिधि पात्र मात्र हुन् । विकासका नाममा छ वर्षसम्म राज्यले देखाएको यो उदासीनता विरुद्ध आक्रोशित बनेका लहान, गोलबजार र मिर्चैयाका स्थानीय बासिन्दाहरू कयौँ पटक बाटो नै अवरुद्ध गरेर आन्दोलनमा उत्रिइसकेका छन् ।

  • मङ्गलाका किसानलाई कृषि औजार वितरण

    मङ्गलाका किसानलाई कृषि औजार वितरण

    म्याग्दी, ६ जेठ । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो, ३५ वटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिए । कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ ।

    एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मङ्गला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताए । मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको किसान नन्दकला सुनारले बताए । किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए ।

  • मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

    मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

    काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ)बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरे ।


    एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताए । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उनले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राखे । नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उनको भनाइ थियो ।

    अर्थमन्त्री डा वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिए । पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उनले बताए ।

    कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरे । छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै सोअनुसार काम गरिरहेको छ ।

  • विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

    विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

    मुस्ताङ, ६ जेठः नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

    भेप चोरी–पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशङ्कामा बिएई ४९२२ नम्बरको स्कार्पियो गाडीसहित गाडीका चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ बस्ने ४१ वर्षीय दीपेश गदाल र गाडीमा सवार जिल्ला सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका–७ बस्ने ३९ वर्षीय रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिए ।

    उनका अनुसार इलाका प्रहरी कार्यालय लेते चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भेप प्रकरणमा संग्लन रहेको आशङ्कामा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । यसअघि गत शुक्रबार राति ११ः०० बजे चीनबाट चोरी–पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका विद्युतीय चुरोट ९भेप० भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले लोमान्थाङ–४ एक्लेभट्टी भन्ने स्थानमा खानतलासी गरी बरामद गरेको थियो ।

    ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरमा लोड गरिएका भेपसहित अन्य सामान बरामद गरिएको थियो । भन्सार कार्यालयका अनुसार नक्कली कागजपत्र तयार गरी चोरी–पैठारी गरिएका ५९० कार्टुन भेपसहित मोजा, जुत्ता, बेबी कट्टु, खाली कार्टुन, गेम भेस्टलगायत नौ प्रकारका सामान बरामद गरिएको थियो । प्रहरीका अनुसार चीनबाट चोरी–पैठारी गरी भन्सार छलेर ल्याएका भेपसहित अन्य समानको अनुमानित मूल्य १६ करोड ६५ लाख रहेको छ । भेप लोड गरिएका अन्य सामानसहित दुई वटा कन्टेनरसहित चालक र एक व्यक्ति गरी तीन जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    कन्टेनर चालक धादिङ धुनीबेँसी नगरपालिका– १ बस्ने ४२ वर्षीय सन्तोष लामा, अर्का कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ बस्ने ४९ वर्षीय फुन्चु दोर्जेसहित निजका साथी सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ५१ वर्षीय पासाङ शेर्पालाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । यता, मुस्ताङ भन्सार कार्यालयले सो घटनामा संग्लन रहेका पाँच जना व्यक्तिविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भइसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।

  • गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री

    गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैनः अर्थमन्त्री

    काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले गलतलाई गलत भन्न र रोक्न सरकार पछि नहटने बताए ।
    सङ्घीय संसद्को दुवै सदनको बैठकमा व्यक्त गरेको धारणाको पूर्ण पाठ निम्नानुसार छ

    हिजो र आज यस सम्मानित सदनमा व्यक्त भएका विचार, सुझाव र जिज्ञासाप्रति सरकारका तर्फबाट म हार्दिक सम्मान व्यक्त गर्दछु । हामी बहुलवादी लोकतन्त्रमा विश्वास गर्छौं फरक मतको सम्मान गर्छौं । ‘वादे–वादे जायते तत्वबोधु’ (निरन्तर छलफलबाटै जन्मछ नयाँ ज्ञान वा बुझाइ) ।

    राष्ट्र निर्माणको साझा उद्देश्यमै हामी सबै बाँधिएका छौँ । साधन र साध्य छुट्याउन सकौँ । साध्य वा गन्तव्यमा धेरै विवाद नहोला । सुशासित, समुन्नत नेपाल होस्, अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस् । राज्यले सामाजिक न्यायको पक्षमा गर्न सक्ने लगानीको सामथ्र्य बढोस् । अन्तरराष्ट्रिय प्रतिष्ठा र आत्मसम्मान कायम होस् ।

    अब त्यहाँ पुग्ने बाटो–साधन । अलिकति फरक ढङ्गले लगौँ भन्ने हो रास्वपाको । विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठीक भएको भए त राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग हुने नै थिएन । पछिल्ला तीन दशकमा नेपाल, नेपाली नागरिक र समग्र अर्थतन्त्रले कुशासनको कति ठूलो मूल्य चुकाएको छ । सुस्त निर्णय प्रक्रिया, मिलेमतो, नीतिगत अन्योल, बिचौलियातन्त्र र संस्थागत दोहनका कारण मुलुकले गुमाएको आर्थिक अवसर, रोजगारी र सम्भावित आर्थिक वृद्धि ‘मिस्ड जिडिपी’को मूल्य अकल्पनीय छ । त्यसैले नै हामीले ‘सुशासनको लाभांश’ भन्ने अवधारणा अघि सारेका हौँ ।

    पुरानै शब्दजाल, आफूले बोल्दै–लेख्दै आएका दस्तावेजकै खोजी गर्न उद्यत माननीयज्यूहरुलाई मेरो विनम्र आग्रह ‘इलेक्सनस् ह्याभ कन्सिक्वेन्सेस्, हिस्टोरिक इलेक्सन्स ह्याभ प्रोफाउन्ड कन्सिक्वेन्सेस्’ गत भदौ २३–२४ को विस्फोट अनि फागुन २१ को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ । परम्पराका नाममा हामी पुरानै ढर्रामा कैद हुन भने चाहन्नौँ ।

    संविधानप्रति हाम्रो प्रतिबद्धता छ । संविधानमा मन नपरेका प्रावधानहरु फेर्न परे पनि संविधानमै लेखिएका धारा, २७४ र २७५ टेकेरै गर्ने हो । समताउन्मुख समाज निर्माणप्रति हामी कटिबद्ध छौँ । अवसरको समानता र मध्यमवर्गको सुरक्षित विस्तारप्रति हामी समर्पित छौँ ।

    हाम्रो आर्थिक सोच लोकतान्त्रिक मूल्यमा आधारित, प्रतिस्पर्धात्मक, उत्पादनमुखी र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र हो । राज्यलाई हामी सबै कुरा आफैँ गर्ने संरचनाका रूपमा होइन, नागरिक, निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रूपमा हेर्छौं सरकारको प्रभावकारी नियमन र सहजीकरणमा निजी क्षेत्रले उडान भर्ने अवधारणाअनुरूप हाम्रो लक्ष्य उपभोगमुखी, आयात–निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन, उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु हो ।

    कतिपय माननीय सदस्यहरूले मुख्य प्राथमिकता के हो सोध्नुभएको छ । हाम्रो शीर्ष प्राथमिकता सुशासन नै हो । किनकि हाम्रो स्पष्ट विश्वास छ—सुशासनबिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन । भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थाहरुको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ । त्यसैले यो सरकार ‘सिस्टम सुधारमार्फत आर्थिक सुधार’ को बाटोमा अघि बढेको हो । ई–गभर्नेन्स, डिजिटल डेलिभरी, ‘वन–टाइम डाटा सबमिस्सन, पर्फर्मेनस कन्ट्र्याक्ट’जस्ता प्रबन्धहरू केवल प्रविधिका कुरा होइनन्, यी राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार हुन् । हामीले ‘खर्च गर्ने राज्य’ होइन, ‘डेलिभरी’ दिने राज्य निर्माण गर्दैछौँ ।

    केही माननीय सदस्यहरूले निजी क्षेत्र तर्सिने, आत्मविश्वास घट्ने चिन्ता व्यक्त गर्नुभयो । म स्पष्ट भन्न चाहन्छु—इमानदार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन । सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ । आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ । तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन । गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन । फेरी स्मरण गराउँछु—आसेपासेको मिलेमतो, नीतिगत कब्जा र दोहनको घनचक्करमा संलग्न प्रवृत्तिबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पुर्‍याउनु नै हाम्रो मूल उद्देश्य हो । हाम्रो सोच, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबीच पूर्ण ‘कन्सिस्टेन्सी’छ, र आगामी बजेट पनि यही दिशामा आउनेछ ।

    प्रतिपक्षका माननीय साथीहरूलाई पनि यो परिवर्तनको यात्रामा अवरोध होइन, रचनात्मक सहयात्री बन्न आग्रह गर्दछु । हामीले ‘ओभररिच’ गर्दा सचेत गराउनुस्, तर कृपया बदमासहरुको साथ अब छोडिदिनुस् । कतिपय माननीय सदस्यहरूले ‘मध्यम वर्ग विस्तार’ को अवधारणामाथि पनि टिप्पणी गर्नुभएको छ । यहाँ स्पष्ट हुन आवश्यक छ—मध्यम वर्ग विस्तार भन्नाले केही सीमित वर्गलाई सुविधा दिनु होइन । यसको मूल ध्येय गरिब, श्रमिक, किसान, भूमिहीन, सुकुमवासी र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउनु हो । जब नागरिकको आय, सीप, उत्पादकता र अवसरमा पहुँच बढ्छ, तब मात्रै वास्तविक सामाजिक गतिशीलता ‘अपवार्ड मोबिलिटी’सम्भव हुन्छ । त्यसैले यो अवधारणा सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्नु हो ।

    धेरै माननीय सदस्यहरूले अघिल्लो पटक नीति तथा कार्यक्रममा ‘सबै पुरानै दोहोरियो’ भन्ने टिप्पणी गर्नुभएको थियो । अहिले पुनः त्यही नीति तथा कार्यक्रमका आधारमा प्रस्तुत सिद्धान्त र प्राथमिकतामाथि ‘यसमा पुरानो केही छैन” भन्ने आपत्ति प्रकट भइरहेको छ । म सम्मानपूर्वक पुनः दोहोर्‍याउन चाहन्छु–राज्य कुनै अस्थायी राजनीतिक संरचना होइन, यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो । सरकार परिवर्तन हुँदैमा संविधानका मूल मर्म, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य, ‘एलडिसी ग्राजुएसन’ का दायित्व वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा बदलिँदैनन् । कृषि, शिक्षा, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौँदेखि राज्यको प्राथमिकताका केन्द्रमा रहेका छन् र रहनेछन् ।

    तर मुख्य प्रश्न विषयको नाम होइन, दृष्टिकोण, कार्यान्वयनको शैली र अपेक्षित परिणाम हो । हामीले ती क्षेत्रलाई कुन सोचबाट हेर्छौं ? कसरी कार्याान्वयन गर्छौं ? र नागरिकले कस्तो परिणाम प्राप्त गर्छन् रु भन्ने कुरा नै वास्तविक भिन्नता हो । त्यसैले माननीय सदस्यहरूले अलि फरक आलोकबाट, विषयान्तर नगरी, दस्तावेजको गहिराइमा गएर विश्लेषण गरिदिनु भयो भने सरकारलाई पनि थप सहयोग पुग्ने थियो । धेरै माननीय सदस्यहरूले नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकता बजेटमा हुने विनियोजनलाई छुट्याएर नबोलेको पाएँ । परराष्ट्र मामिलादेखि आफ्नो वडाको विकास निर्माण ।

    मूलतः रु ६ हजार ६०० अर्बको अर्थतन्त्र छ । गत साल रु एक हजार ९६४ अर्बको बजेट आयो, तर हामीले पाँच–सात करोडको आयोजनामा भुलेको पाउँछु । लेख्नु ठूलो कुरा होइन, ‘इम्प्लिमेन्टेसन’ ठूलो कुरा हो । म त्यो कुरा पूर्ण रूपमा स्वीकार गर्छु । तर एउटा सरल यथार्थ के हो भने—कुनै पनि बजेट, नीति तथा कार्यक्रम वा विकासको मार्गचित्र पहिले स्पष्ट रूपमा लेखिन्छ, त्यसपछि मात्र कार्यान्वयनमा जान्छ । राम्रो कार्यान्वयनको पहिलो सर्त स्पष्ट सोच, स्पष्ट लेखाइ र उत्तरदायित्व हो । कार्यान्वयनलाई केन्द्रमा राखेरै यो दस्तावेज तयार गरेका हौँ ।

    वास्तवमा, यही कारणले यसपटकको सिद्धान्त र प्राथमिकतामा ‘इम्प्लिमेन्टेसन आर्किटेक्चर’लाई विशेष जोड दिइएको छ । नागरिकले अब भाषण होइन, परिणाम खोजेका छन् भन्ने कुरा हामीलाई पूर्ण रूपमा थाहा छ । त्यसैले कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, ‘डिजिटल ट्र्याकिङ’, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको छ । पहिलो पटक ‘मिसन–मोड इक्जिक्युसनको चर्चा छ । यो केवल शब्दको परिवर्तन होइन, ‘गभर्मेन्स फिलोसोफी’र इक्जिक्युसन मोडल’ कै स्पष्ट प्रस्थानविन्दु हो ।

    हामीले प्रस्तुत गरेका पाँच मार्गदर्शक सिद्धान्त—सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्ध—यिनै आधारमा प्राथमिकताहरू निर्माण गरेका छौँ । हाम्रो विश्वास छ, यी प्राथमिकताले आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय, उत्पादकता, प्रतिस्पर्धात्मकता र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने आधार निर्माण गर्नेछन् ।

    सम्माननीय सभामुख महोदय, हामीले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताले केवल सरकारको दृष्टिकोण मात्र प्रतिनिधित्व गर्दैन, यसले संविधानका निर्देशक सिद्धान्त, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य, विभिन्न राजनीतिक दलका घोषणापत्र तथा नेपाली जनताले व्यक्त गरेका साझा आकाङ्क्षालाई समेट्ने प्रयास गरेको छ । जनतासँग गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने इमानदार प्रयत्नका रूपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदनसमक्ष आग्रह गर्दछु । अन्त्यमा, यहाँबाट उठेका महत्वपूर्ण धारणाहरूलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्नेछ । माननीय सदस्यहरूबाट अझ गहिरो अध्ययन, दूरदृष्टि र राष्ट्रहित केन्द्रित रचनात्मक सुझावको अपेक्षा राख्दै राष्ट्र निर्माणसम्बन्धी बहसलाई परिपक्व र परिणाममुखी बनाउन सबैलाई आह्वान गर्दछु ।
    धन्यवाद ।

  • मन्त्रिपरिषद् बैठकः नदी किनारका विस्थापितलाई राहत दिइने

    मन्त्रिपरिषद् बैठकः नदी किनारका विस्थापितलाई राहत दिइने

    काठमाडौँ, ५ जेठ : सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा प्रभावित हुने परिवारलाई राहत तथा पुनःस्थापना सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विस्थापित परिवारलाई एकमुष्ट पुनःस्थापना खर्च र अस्थायी बसोबास व्यवस्थापनका लागि मासिक राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।


    जसअनुसार जोखिमयुक्त बस्तीबाट हटाइने प्रत्येक परिवारलाई पुनःस्थापनाका लागि रु २५ हजार एकमुष्ट उपलब्ध गराइनेछ । साथै पाँच सदस्यसम्म भएका परिवारलाई प्रतिमहिना रु १५ हजार र थप सदस्य भए प्रतिसदस्य रु दुई हजारका दरले हाललाई तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय गरिएको छ । बैठकले वृद्ध, अशक्त तथा असहाय व्यक्तिलाई तोकिएका ‘होल्डिङ सेन्टर’ मा राख्ने तथा बालबालिकाको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।

    त्यसैगरी, सरकारले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्विस फ्र्याङ्क अनुदान स्वीकार गरेको छ । साथै अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले प्रदान गर्ने ७९।३६ मिलियन आरएमबी अनुदान पनि स्वीकृत गरिएको छ ।
    मन्त्रिपरिषद्ले प्रत्यायान नियमावली, २०८३ तथा सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । साथै नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ । यस्तै, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णयसमेत गरिएको सरकारद्वारा जारी विवरणमा उल्लेख छ ।

  • युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

    युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

    काठमाडौँ, ५ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ ।मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो ।

    सो आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था स्पष्ट पारेको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ । साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।

  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ, ५ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

    गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ । यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ५ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९छ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०० पैसा र बिक्रीदर ४१ रुपैयाँ, १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २४ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्ला, ५ जेठः जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए । जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताए ।


    नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडलेको भनाइ छ । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले जानकारी दिए ।


    स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व सङ्कलनमा वृद्धि गर्न जथभावी उत्खनन गरेका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । विपद्का बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रुपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    नुक, ग्रिनल्याण्ड, ५ जेठ (रासस–एएफपी) । ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सोमबार बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका हुन् । प्रधानमन्त्री निल्सनले अमेरिकी कुटनीतिज्ञ जेफ ल्यान्ड्रीसँगको भेटलाई ‘रचनात्मक’ बताएपनि अमेरिकी दृष्टिकोणमा परिवर्तन नआएका कारण कुनै ठूलो उपलब्धिको अपेक्षा नगरिएको बताए ।


    प्रधानमन्त्री निल्सनले एक पत्रकार सम्मेलनमा भने, “यो एक रचनात्मक बैठक थियो, जहाँ सकारात्मक भावना र ठूलो सम्मानका साथ संवादमा हामी संलग्न हुन सफल भयौँ ।” उनले अगाडि भने, “हामीले ग्रिनल्याण्डका जनता बिक्रीका लागि होइनन् र ग्रिनल्याण्डवासीलाई आत्मनिर्णयको अधिकार छ भनेर वार्तामा स्पष्ट रूपमा दोहोर्याएका छौँ ।” ल्यान्ड्रीको भ्रमण यस क्षेत्रमा ट्रम्पको बारम्बार दाबीको बारेमा ट्रान्सएटलान्टिक तनाव केही हदसम्म कम भएको तर नहटेको समयमा भएको छ ।

    ग्रिनल्याण्डका विदेशमन्त्री म्युट एगडेले पनि उक्त भूमि अधिग्रहण गर्ने आफ्नो लक्ष्यलाई अमेरिकाले नछोडेको बैठकपछि पत्रकारहरूसँग बताए । उनले भने, “हामीसँग हाम्रो सीमारेखा छ। अमेरिकीहरूको शुरुवात बिन्दु पनि परिवर्तन भएको छैन।” गत जनवरीमा डेनमार्क र नेटोका अन्य सहयोगीहरूले भीषण प्रतिरोध प्रदर्शन गरेपछि ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीबाट पछि हटेका थिए ।


    त्यसपछि कोपेनहेगन र नुकका अधिकारीहरूले वाशिङ्गटनमा गरेको पहिलो बैठक गरिएको थियो त्यसपछि अमेरिकी स्थितिबारे छलफल गर्न ग्रिनल्याण्डले एक कार्यदल गठन गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार राष्ट्रिय सुरक्षाको चासोका कारण अमेरिकाले ग्रिनल्याण्डलाई नियन्त्रण गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् ।

    उनको तर्क रहेको छ, “यदि अमेरिकाले आर्कटिक टापु (ग्रिनल्याण्ड) कब्जा गरेन भने त्यो चीन वा रुसको हातमा पर्न सक्नेछ।” ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूतका रुपमा लुजियानाका गभर्नर ल्यान्ड्री पहिलो पटक आइतबार यहाँ आएका हुन् । उनले मङ्गलबार र बुधबार ग्रिनल्याण्डको राजधानीमा हुने आर्थिक मञ्चमा भाग लिने कार्यक्रम छ ।

  • समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    काठमाडौँ, ५ जेठः सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

    समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब रकम फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका सचिवालयले जनाएको छ । रु पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र रु पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये रु पाँच लाखभन्दा बढी बचत गर्ने १८ हजार रहेका समितिले जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले रु दुई करोडभन्दा बढी ऋण फिर्ता गरेका छन् । ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ ।

  • वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

    वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

    काभ्रेपलाञ्चोक, ४ जेठ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ । हाल दुई स्थान चारसयबेँसी र बोक्सेकुनामा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार रोशी खोलामा बाढी आए पुरानै सडकबाट यातायात सञ्चालन गरिनेछ ।

    सम्भावित जोखिम तथा निर्माणलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको योगेशले बताए । “सडक पूर्वाधार स्वरूप आरसीसी पर्खाल तथा प्लम पर्खाल निर्माण भइरहेको छ, वर्षा नहुँदा निर्माण कार्यमा निकै सहज भएको छ”, उनले भने । उनका अनुसार राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ । यसअघि रोशी खोलामा बाढी आउने वित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

    सो पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कूल २५ प्रतिशत काम भएको छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चारमध्ये बाँकी एक खण्ड वर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माण जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माण गर्दैछ ।

    क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको डिभिजनल प्रमुख योगशले जानकारी दिए । यस्तै, डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गतवर्ष र यसवर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

    यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका स्थानमा संरचना बनाइ कालोपत्र गरिने जनाइएको छ । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।

    अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, उनले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपालथोकदेखि वर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनःनिर्माणका लागि ६१ करोड रुपैयाँ ९भ्याटसहित० मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव ५ किमी सडकमध्ये वर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड

    काठमाडौँ, ४ जेठः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलमा भाग लिँदै सांसदहरूले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयन नहुने विगतदेखिको समस्या अब समाधान हुनुपर्नेमा जोड दिए ।


    सांसद आशीष गजुरेलले पूर्वाधार विकासका लागि रु चार खर्ब बजेट आवश्यक पर्ने र त्यो राजश्वबाट पूर्ति नहुने बताए । डायस्पोरा पुँजी ल्याउने वातावरण नबनेकाले नीतिगत र प्रक्रियागत व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याए । लगानी बोर्डलाई पुनर्संरचना गरी निजी लगानीलाई आकर्षित गरिनुपर्नेमा उनले जोड दिए ।


    सांसद शाहजान खातुनले सांसदहरूको प्रश्नको उत्तर दिनुपर्ने सरकारका प्रमुख संसद्मा अनुपस्थित हुनु स्वाभाविक नभएको बताए । सांसद गुरुप्रसाद बरालले कति जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषयमा कक्षा सञ्चालन नभएकाले तत्काल विज्ञान विषय सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरे । उनले मानव संसाधन विकास बैङ्क स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।


    सांसद परशुराम तामाङले संविधानको निर्देशक सिद्धान्त एवं सौह्रौँ योजनालाई जोडेर सिद्धान्त र प्राथमिकता आउनुपर्नेमा सोअनुसार नआएको बताए । सांसद राधिका रम्तेलले डिजिटल नेपालको कुरा गर्दा कर्णालीका विद्यालयमा अझै इन्टरनेट नपुगेकाले बजेट बनाउँदा ध्यान दिन माग गरे । सांसद सोम शर्माले राज्यबाट गरिने खर्चमा मितव्ययिता र पारदर्शिता हुनुपर्ने बताए ।


    सांसद मोहम्मद फिरदोस आलमले सहरमा सुविधा थपिँदै जाँदा गाउँमा स्वास्थ्य सुविधा पनि नपाइने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । नेपालमा उत्पादन हुने चिकित्सक र विदेश पलायन हुनेको सङ्ख्या उस्तै रहेको उनले बताए । उपचार खर्च महँगो भएकै कारण नेपाली गरिबीको रेखामुनि झर्दै गएका उनको भनाइ छ ।

    सांसद ऐनबहादुर महरले संविधानको मर्मसँग मेल नखाने किसिमले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको बताए । वित्तीय सङ्घीयताको स्पष्ट मार्गचित्र पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नरहेको उनको भनाइ छ । सांसद वर्षमान पुनले इगभर्नेन्सका लागि अनिवार्य रूपमा पूर्वाधारको विकास गरिनुपर्ने बताए । कृषि क्षेत्रको रुपान्तरणबाट उत्पादन र रोजगारी बढ्ने भएकाले यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । कृषि, उद्योग, पर्यटन, ऊर्जामध्ये कुनमा प्राथमिकता हो भन्ने पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नखुलेको उनको भनाइ छ ।

    सांसद आरेन राईले पुराना विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि उत्कृष्ट हुने गरेका भए पनि कार्यान्वयन नभएकाले नतिजा नआएका भन्दै अहिलेको पनि विधेयकका सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएकाले प्रभावकारी कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । छ सय ७० मेगावाट विद्युत् उत्पादन हुने दूधकोशी हाइड्रोपावरलाई प्राथमिकता दिन उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउनुभयो । गुणस्तरीय शिक्षा र नतिजाका लागि शिक्षा क्षेत्रमा व्यापक सुधार गरिनुपर्नेमा उनले जोड दिए ।

  • नेप्सेमा आज पनि गिरावट

    नेप्सेमा आज पनि गिरावट

    काठमाडौँ, ४ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर रु दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

    कारोबार भएका कम्पनीमध्ये एक सय १९ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने एक सय ३२ कम्पनीको ओरालो लागेको छ । कुल १८ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोबारका आधारमा साहस ऊर्जा, रिलायान्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । त्यस्तै, इङ्गवा हाइड्रोपावर, बुङ्गल हाइडङोपावर, सगरमाथा जलविद्युत् कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र प्रभु बैंकको विडेञ्चरका लगानीकर्ताले कमाएका छन् । निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले भने गुमाएका छन् ।

  • करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    कच्छ, गुजरात, ४ जेठ (रासस–एएफपी) । पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्याङ्कर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ। अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको थियो । यसले हर्मुज जलडमरुमध्य भएर निर्यात हुने विश्वको करिब २० प्रतिशत इन्धन तथा अन्य सामान रोकिएपछि भारतमा इन्धन सङ्कट छाएको छ।

    जहाजको आगमनले खुशी त ल्याएको छ तर यसको खतरनाक यात्राले सामान्य मानिसलाई झस्काउन सक्छ । इरानी नौसेनाको कडा निगरानी, अमेरिकी नाकाबन्दी र युद्धको खतराका बीच जहाजको सुरक्षित निकासी कुनै ठूलो सैन्य कारबाहीभन्दा कम नभएको चालक दलका सदस्यले बताएका छन् । जहाजको स्वचालित पहिचान प्रणाली (एआईएस) पनि दुश्मनको राडारबाट बच्न बन्द गर्नुपरेको उनीहरूले बताए ।

    यो राहत भारतका लागि पनि निकै महत्वपूर्ण छ किनभने युद्धका कारण देशको इन्धन भण्डारमा दबाब लगातार बढिरहेको छ । यस्तोमा यो आपूर्ति देशको भान्सा र ऊर्जा सुरक्षा दुवैका लागि निकै महत्वपूर्ण मानिन्छ । खास कुरा के छ भने जहाजले विश्वको सबैभन्दा संवेदनशील र खतरनाक समुद्री मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पार गरेर यो यात्रा पूरा गरेको छ । मध्यपूर्वमा पछिल्लो ७५ दिनदेखि जारी युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा तनावमा छ ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले कतारको रास लाफान टर्मिनलबाट यो ग्यास खरिद गरेको थियो । जहाजमा सवार २१ जना विदेशी चालक दलका सदस्य पनि पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । इरानी नौसेनाको कडा निगरानी र अमेरिकी नाकाबन्दीका बीच ओमानको खाडीमा यो जहाजको सुरक्षित उद्धार कुनै ठूलो मिसनभन्दा कम थिएन ।

    स्रोतका अनुसार युद्धक्षेत्र हुँदै जाँदा जहाजले निकै सावधानी अपनाएको थियो । जहाजको ‘अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम’ अर्थात् एआईएसलाई दुश्मनको राडार र सर्भिलेन्स मेकानिजमबाट बच्न अस्थायी रुपमा बन्द गरिएको थियो । आइएस बन्द भएपछि उक्त जहाज इरानको लाराक टापुको पूर्वी भागबाट निकै सावधानीका साथ अघि बढेको थियो । यही कारण जहाज कुनै पनि प्रकारको निगरानी वा आक्रमणको चपेटामा नपरी सुरक्षित रूपमा भारतीय सीमामा पुग्न सक्थ्यो ।

    यो सम्पूर्ण अभियानलाई सफल बनाउन भारत सरकार र सम्वद्ध मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेका छन् । स्रोतका अनुसार जहाजलाई कुनै पनि गोलाबारी वा सैन्य कारबाहीबाट टाढा राख्नका लागि चौबीसै घण्टा निगरानी भइरहेको छ । मार्च महिनाको सुरुदेखि स्ट्रेट अफ हर्मुज पार गरेर भारत पुग्ने यो १३ औं जहाज हो ।

    भियतनामको अर्को ट्याङ्कर ‘एनवी सनशाइन’ पनि त्यही समुद्री मार्गबाट भारततर्फ जाँदैछ । ट्याङ्कर न्यू मङ्गलोर बन्दरगाहमा पुग्नेछ । यस्तोमा आगामी दिनमा भारतलाई खाना पकाउने ग्यासको आपूर्तिमा केही राहत मिल्न सक्ने विश्वास गरिएको छ। वास्तवमा पश्चिम एसियामा जारी युद्धको प्रभाव भारतको ऊर्जा भण्डारमा पनि स्पष्ट देखिन्छ । देशको रणनीतिक कच्चा तेलको भण्डारमा करिब १५ प्रतिशतले गिरावट आएको छ ।

    तथ्याङ्क अनुसार भारतको तेल भण्डार १०।७ मिलियन ब्यारेलबाट घटेर ९.१ मिलियन ब्यारेलमा झरेको छ । यही कारण केन्द्र सरकारले लगातार ऊर्जा बचतमा जोड दिइरहेको छ । हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीलाई पेट्रोल र डिजेलको विवेकपूर्ण प्रयोग गर्न र इन्धन बचाउन अपिल गर्नुभएको थियो । विश्लेषकहरुका अनुसार यदि मध्यपूर्वमा तनाव थप बढ्यो भने भारतसहित विश्वका धेरै देशका लागि ऊर्जा आपूर्ति ठूलो चुनौती बन्न सक्छ । अहिले मार्सलको ध्वजाबाहक जहाजको भारतमा सकुशल आगमन भारत सरकार र ऊर्जा क्षेत्रका लागि ठूलो सफलता मानिएको छ ।