१५ वैशाख, काठमाडौँ । यस वर्ष अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार जारी गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४ खर्बले विस्तार हुने अनुमान गरेको हो । आर्थिक वर्ष २०८१–८२ मा जीडीपीको आकार ६१ खर्ब ९९ अर्ब रहने संशोधित अनुमान र आर्थिक वर्ष २०८०–८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको कार्यालयले जनाएको छ ।
यस्तै, चालु आिर्थक वर्ष नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा यस्तो प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर हुने संशोधित अनुमान छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ८० अमेरिकी डलर कायम भएको छ । यस वर्ष डलरको सटही दरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१–८२ मा र आर्थिक वर्ष २०८२–८३ मा बराबर रहन गएको कार्यालयले जनाको छ ।