१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान अनुसार उपभोक्ता मूल्यमा सो बराबरको आर्थिक वृद्धिदर प्राप्त हुनेछ । आधारभूत मूल्यमा भने ३.६५ प्रतिशत बराबरको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान छ । यो यस वर्ष सरकारले तोकेको आर्थिक वृद्धिको लक्ष्यभन्दा कम हो ।
चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म)को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो । यस वर्ष अर्थतन्त्रको आधार ६६ खर्ब बराबर पुगेको छ । यस वर्ष सबैभन्दा धेरै वृद्धि विद्युत, बैंक बीमा क्षेत्रको भएको देखिन्छ ।