१२ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख १२ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार शनिबार दिउँसो २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् ।
यसै गरी प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएका छन् । होल्डिङ सेन्टरमा आएका सुकुम्बासीका लागिसमेत प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । सरकारले विवरण सङ्कलन र उनीहरूको ‘स्क्रिनिङ’ का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ ।
विभिन्न स्थानका सुकुम्बासीका लागि फरक(फरक डेस्क स्थापना गरी विवरण सङ्कलन भइरहेको छ । सरकारी टोलीका अनुसार रङ्गशालामा विवरण सङ्कलन कार्य सम्पन्न भएपछि ती परिवारलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समययता सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।