१२ वैशाख, काठमाडौं । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियान दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामङ्गल र गैरीगाउँका सुकुमवासी बस्ती हटाइने छ भने दोस्रो चरणमा अन्य क्षेत्रका बाँकी बस्ती हटाउने योजना रहेको महानगरले जनाएको छ ।
बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’ मा लगिने छ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् वर्गीकरण (सेग्रिगेसन) गरिने छ । विस्थापितलाई राख्न सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस)मा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०६९ मा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपियाँ लगानी गरेको थियो ।
नागार्जुनका दुई स्थानमा निर्मित भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक (एकाइ) उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भए तापनि स्थानीयको अवरोधका कारण अहिलेसम्म ती भवन प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनको उपयोग गरी वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।