स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–२, श्रीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङको झड्काले घाइते भएका स्थानीय २० वर्षीय मिलन विकको पुतलीबजारस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विक आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । त्यसैगरी, हरिनास गाउँपालिका–४, सारुथरमा चट्याङ पर्दा ५८ वर्षीय खिमबहादुर थापा घाइते भएका छन् । चट्याङको झड्काले घाइते भएका थापाको सेतीगंगा अस्पताल, तनहुँमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही चट्याङका कारण सारुथरका ५० वर्षीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।