Category: अर्थतन्त्र

  • लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

    राष्ट्रिय समाचार समिति
    म्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले राससलाई बताए ।


    चालुु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आवमा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका छ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका जानकारी दिए ।

  • सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

    सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

    रासस
    तुलसीपुर (दाङ), ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ ।

    यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।”

    डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उनले भने ।


    वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झँै पात झरेको जस्तो देखिएका छन्, पानी प¥यो भने त पलाउँछ”, उनले भने, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।”

    महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन”, उनले भने, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।”एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए ।

    उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ ।

    जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छभने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५\२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।

  • उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

    उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

    काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए ।

    उनले भने, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान थालिएको हो, यसलाई तीव्र गतिमा अघि बढाउने छौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुव्र्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।”

    उनले सिसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताए । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कूटपिटका घटना हुने तथा यात्रुमाथि दुव्र्यवहारलगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारीसाधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताए ।


    यस्तै ड्यासबोर्डमार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उनले बताए । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताए । आजै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी प्रहरीले धनीलाई बुझाएको छ ।

  • करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।

    गत पुस मसान्तसम्ममा कूल रु नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाखको वस्तु आयात हुँदा रु एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ । वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा रु पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रु एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रु चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ ।

    अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रु एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ । चीनबाट रु एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रु ६४ करोड नौ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ । नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र रु ५१ करोड दुई लाखको निर्यात गर्दा रु ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।

    यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा रु ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रु ३३ अर्ब सात करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रु २७ अर्ब चार करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यसैगरी यो अवधिमा रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

    वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व रु दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार बराबर छ । त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रु ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ भने रु सात अर्ब १९ करोड ९५ लाखको अलैँची, रु चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रु तीन अर्ब ११ करोडको कार्पेटलगायत छन् ।

  • बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    दशरथचन्द (बैतडी), ७ माघ । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

    विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

    मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे । “निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो”, प्रजिअ पौडले भने, “सुरक्षा योजना लागु गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ ।”

    आसन्न निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।

  • प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    काठमाडौँ, ७ माघः निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

  • तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    काठमाडौँ, ७ माघः स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

  • लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

    लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

    हेमन्त जोशी/रासस

    काठमाडौँ, ७ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् ।

    पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बन्नुभएका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन् । पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार छन् ।


    शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनैपनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक–पटक दोहोरियो ।

    विसं २०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रुपमा संसद् छिरेका डा युवराज खतिवडाले तीन वटा, संविधानसभा सदस्य डा रामशरण महतले दुई वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएको देखिन्छ । अध्यादेशमार्फत ल्याइका पेस्की बजेट र पुरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका थिएनन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दर्ता गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लागेका भट्टराईले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५–६६ को बजेट ल्याएका थिए । त्यो वर्ष असार र असोज गरी दुई वटा बजेट ल्याइएको थियो । डा भट्टराईको राजनीतिक जीवन २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट सुरु भई २०३४ मा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष, २०४७ मा संयुक्त जनमोर्चाको अध्यक्ष, २०५१ सालमा तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएपछि २०६२ सम्म भूमिगत जीवन र त्यसपछि मूलधारको सक्रिय राजनीतिसम्म पुगेको देखिन्छ ।

    पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रोल्पा क्षेत्र १ बाट निर्वाचित भएका थिए । सांसदका रुपमा पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्य बनेका पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र २०८० फागुनमा पुनःअर्थमन्त्री बनेका थिए ।

    उनले आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९–७० का लागि अध्यादेशमार्फत् बजेट ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गर्नुभएका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    हालसम्म पाँच पटकसम्म अर्थमन्त्री बनेका र तीन आर्थिक वर्षको बजेट ल्याएका पौडेल २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य थिए । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२–८३ को बजेट पौडेलले ल्याएका थिए । आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याउँदा पौडेल अर्थमन्त्री थिए । विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल २०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ सालमा जलस्रोत मन्त्री, २०६७ सालमा रक्षामन्त्री र २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका हुन् ।
    प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा निर्वाचन २०७९ र २०७४ सालमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कानुन न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा जिम्मेवारी निभाइसकेका छन् ।


    पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्, २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ सालमा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए । विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री, २०७४ सालमा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०७९–८० को बजेट ल्याएका थिए ।


    नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत नुवाकोट १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल विद्यार्थी सङ्घको महामन्त्री, राष्ट्रिय योजना आयोगको सदस्य, प्रधानमन्त्रीको सल्लाहकार, परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीको जिम्मेवारी निभाइसकेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रुपमा निर्वाचित भएका थिए । डा महतले आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याएका थिए ।


    पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर जबराले ललितपुर १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल तरुण दलको केन्द्रीय अध्यक्षका रुपमा २०६८ देखि २०७२ सालसम्म भूमिका निर्वाह गरेका थिए । संविधानसभा सदस्य २०७० सालमा रहेका राणा २०७४ सालमा अर्थ राज्यमन्त्री बनेका हुन् ।


    निर्वाचनमा होमिएका उल्लिखित पूर्वअर्थमन्त्रीहरुले मात्र नभई अपवादबाहेक कसैले पनि आफूले ल्याएका बजेटको आफैँ कार्यान्वयन गर्न सकेनन् । आर्थिक वर्ष २०७४–७५ को बजेट तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएका थिए । आर्थिक वर्ष २०७५–७६, आव २०७६–७७, आव २०७७–७८ मा डा युवराज खतिवडा, आर्थिक वर्ष २०७१–७२ र आव २०७२–७३ मा डा रामशरण महत र आर्थिक वर्ष २०६९–७० र २०७०–७१ आवमा शङ्करप्रसाद कोइरालाले वार्षिक बजेट ल्याएका थिए ।

    त्यस्तै, आव २०६८–६९ का लागि तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याएका थिए । आर्थिक वर्ष २०६७–६८ का लागि सुरेन्द्र पाण्डे र आर्थिक वर्ष २०६५–६६ का लागि डा बाबुराम भट्टराईले बजेट पेस गरेका थिए ।

  • पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

    पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

    ४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।

    साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा रहेको छ ।

    ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।रासस

  • आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    काठमाडौँ, माघ ३ गते । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ ।

    योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्राविधिक समिति बनाएर प्रारम्भिक काम थालिसकेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिए ।


    “प्राविधिक समितिको बैठक बसेर काम सुरु भइसकेको छ । समष्टिगत आर्थिक परिसूचकलाई विश्लेषण गरेर स्रोत अनुमान गर्नुपर्ने हुँदा नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय तथ्याङ्क कार्यालय, अर्थ मन्त्रालय तथा अन्य विषयगत मन्त्रालयसँग तथ्याङ्क र विवरण मागिएको छ”, उनले भने, “प्राविधिक समितिले स्रोत अनुमान समितिको बैठकका लागि तयारी गरिरहेको छ । कानुनले तोकेको समयभित्र बजेट सिलिङ पेश हुन्छ ।”

    राष्ट्रिय स्रोत अनुमान समितिले माघ मसान्तसम्ममा स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसक्नुपर्ने र सो सम्बन्धी प्रतिवेदन प्रत्येक वर्षको फागुन ७ गतेभित्र अर्थमन्त्रीसमक्ष पेश गरिसक्नुपर्ने ऐनको व्यवस्था छ । स्रोत अनुमान समितिले आवधिक योजनामा प्रक्षेपित लगानी तथा वित्तीय आवश्यकताको आधारमा आगामी तीन आर्थिक वर्षको लागि सङ्घ, प्रदेश र स्थानीय तहको कुल राष्ट्रिय स्रोत अनुमान गर्नुपर्ने व्यवस्था रहेको छ । हाल कार्यान्वयनमा रहेको १६औँ पञ्चवर्षीय योजना कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषदमा पठाइएको पनि आयोगका सचिव पन्थले जानकारी दिए ।


    स्रोत अनुमान गर्दा गत आर्थिक वर्षको आर्थिक र आर्थिक वर्षको छ महिनाको समष्टिगत आर्थिक परिसूचक, आगामी आर्थिक वर्षमा उपलब्ध हुनसक्ने राजस्व, विकास सहायता र आन्तरिक ऋणलगायतका सङ्घीय सञ्चित कोषमा जम्मा हुन सक्ने रकमका आधारमा वस्तुनिष्ठ भई स्रोतको अनुमान गर्नुपर्ने हुन्छ ।

    त्यस्तै, स्रोतको अनुमान भएपछि चालु वर्षको मध्यमकालीन खर्च संरचनासमेतलाई दृष्टिगत गरी खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ । खर्चको सीमा निर्धारण गर्दा अनिवार्य दायित्व तथा जनाइएको प्रतिवद्धता बमोजिम भुक्तानी हुन बाँकी रकमसमेत समावेश गरी समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकुल असर नपर्ने गरी गर्नु पर्नेलगायतका विषयहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा राखिएका छन् ।

    यसअघि आयोगले आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरिसकेको छ । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ । रासस

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    २ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगम सञ्चालक समितिको पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको थियो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ ।

    निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको छ ।

  • निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

    निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

    काठमाडौँ, ३० पुसः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

    गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु पाँच हजार १९५ मा किनबेच भएको थियो ।

    अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

    काठमाडौँ, ३० पुसः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।

    प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो ।

    सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली कटौती हुनेछ ।

    यसैगरी शिवपुरी फिडरको बुढानिलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

    प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

    काठमाडौँ, २९ पुस । सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो । आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।


    त्यस्तै आगामी माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एएमएल÷सीएफटीको ‘प्लेनरी तथा वर्किङ ग्रुप’ बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई अनुमति दिएको छ । बैठकले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरेको छ । सरकारले आगामी माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने नेपाल–चाइना कोअडिनेशनसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

    नेपाल न्याय सेवा, कानसुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने सरकारको निर्णय छ । म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा आगामी माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधारलाई स्वीकृति दिएको छ ।

    सरकारले समस्याग्रस्त सङ्घसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा मधुकर राना (ललितपुर)लाई मनोनयन गरेको छ । आगामी माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने बालश्रमसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति दिएको छ ।

    स्पेनको म्याड्रिडमा हुने अन्तरराष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको आगामी माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले जानकारी दिए । सरकारले इलामको फिक्कल, सोलुखुम्बुको सोताब, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्नेगरी मालपोत कार्यालय र नापी कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

    त्यसैगरी सरकारले आगामी माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको ‘सेक्सन अफ द एजेटिभ बोर्ड’मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटालाई सहभागी हुन स्वीकृति दिएको छ ।

  • अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    मुस्ताङ, २९ पुस ः अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए ।


    राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्र गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३÷७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो ।

    यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।

    सवइञ्जिनियर जोशीका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहुवर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ ।

    मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्यअन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् ।

    लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । “हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बँेसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,” अध्यक्ष गुरुङले भने, “चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।”

    चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।

  • खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    चौतारा, २८ पुसः चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए ।

    आगो फैलँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत बन्द गरिएको उनले बताए । प्रहरी निरीक्षक राईका अनुसार गत वर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको छ । आजदेखि नाका बन्द भएपछि सामान बोकेका कन्टेनर रोकिएर समस्या भएको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए ।

  • तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ ।

    अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छभने तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।

    त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।

    पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्येनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

    पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ ।

    श्रेष्ठ÷साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताए । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको उनले बताए ।
    पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उनको भनाइ छ । त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ ।

    निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । १५ दशमलव ५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उनको भनाई छ ।


    महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताए । विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उनले बताए ।


    बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उहाँका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ ।

    त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उनले बताए । सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    काठमाडौँ २६ पुसः आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ । यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।

    सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ । सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

  • अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ ।

    सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ ।

  • २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    काठमाडौँ, २६ पुसः मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो ।

    बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले बृद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको । गत मङ्सिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत छ ।

    चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटमा छ । अघिल्लो बर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले कमी आई रु ३३ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो ।

    विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
    त्यस्तै सो अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले बृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ । त्यसमा शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड रहेको थियो ।

  • पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    काठमाडौँ, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।

    राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत मङ्सिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २७ दशमलव चार प्रतिशतले वद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सुरुआती पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

    त्यसैगरी, यो अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको थियो ।

    त्यसैगरी, मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटीमात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब तीन करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।

  • अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

    वासिङ्टन, २५ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २००९ पछिको सबैभन्दा न्यून स्तरमा पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । वाणिज्य विभागका अनुसार अक्टोबरमा कुल व्यापार घाटा ३९ प्रतिशतले घटेर २९।४ अर्ब डलरमा झरेको छ ।

    यो घाटा ‘डाउ जोन्स न्यूजवायर’ र ‘द वाल स्ट्रिट जर्नल’ले अर्थशास्त्रीहरूको सर्वेक्षणबाट गरेको ५८।४ अर्ब डलरको औसत पूर्वानुमानभन्दा निकै कम हो । उनीहरूले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेकिराको आर्थिक अवस्थाको मूल्याङ्कन गर्छन्। गत वर्ष लामो सरकारी बन्दका कारण व्यापार तथ्याङ्क जारी गर्न एक महिनाभन्दा बढी ढिलाइ भएको थियो । यसका कारण अधिकारीहरू र कम्पनीहरूलाई अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्न सम्भव भएको थिएन ।

    अक्टोबरमा अमेरिकी निर्यात ७।८ अर्ब डलरले बढेर ३०२।० अर्ब डलर पुगेको थियो भने आयात ११।० अर्ब डलरले घटेर ३३१।४ अर्ब डलर पुगेको थियो । यो मुख्य रूपमा वस्तु आयातमा गिरावटको कारण उपभोग्य वस्तुहरूको खरिद्मा आएको गिरावट थियो, जुन अक्टोबरमा १४ अर्ब डलर घटेको थियो। यस अवधिमा फार्मास्युटिकल उत्पादनहरू तीव्र रूपमा घटेको वाणिज्य विभागले जनाएको छ।

    औद्योगिक आपूर्ति र गैरमौद्रिक सुनजस्ता सामग्रीको आयात पनि घटेको छ । गत वर्ष राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पको द्रुत परिवर्तनशील र व्यापक करवृद्धिको नीतिले कसरी व्यापार प्रवाहलाई ठूलो असर पारेको छ भन्ने तथ्याङ्कले देखाउँछ । अमेरिकी नेताले विभिन्न व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक करको घोषणा गरेपछि अमेरिकी व्यवसायहरूले करमा योजनाबद्ध वृद्धि गर्नु अघि सामानहरूको व्यापक खरिद् गरी भण्डार गर्न हतार गरेका थिए ।

    यसले धेरै कम्पनीहरूलाई कम्तिमा अहिलेका लागि उपभोक्ताहरूलाई अतिरिक्त करको पूर्ण लागत खर्च गर्नबाट बच्न सम्भव भएको छ। अमेरिकी घरपरिवार जीवनयापनको लागतको चिन्तासँग जुधिरहेका बेला ट्रम्पले हालसालै केही करबाट छुट पाएका सामानहरूको दायरा फराकिलो पार्नुभएको छ तर यी धेरै छुटहरू नोभेम्बरदेखि लागू हुनुपर्ने थियो ।

    येल विश्वविद्यालयको बजेट ल्याबले अनुमान गरे अनुसार नोभेम्बरको मध्यसम्म उपभोक्ताहरूले समग्र औसत प्रभावकारी करवृद्धि दरको सामना गरेका छन् । यो सन् १९३० को दशकपछि सबैभन्दा बढी हो । सेप्टेम्बरमा अमेरिकाको व्यापार घाटा ४८।१ अर्ब डलर थियो । यद्यपि ट्रम्पको करनीतिले यस वर्ष व्यापार प्रवाहलाई प्रभावित गरेको छ, ती मध्ये ठूलो हिस्साले कानुनी चुनौतीहरूको पनि सामना गरिरहेका छन्।

    विशेष गरी, सर्वोच्च अदालतले नोभेम्बरमा बहस सुनेपछि अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरेर लगाइएको करको वैधानिकतामा निर्णय गर्न लागेको छ। यदि कन्जरभेटिभ–बहुमत उच्च अदालतले राष्ट्रपतिले यी कर्तव्यहरू लागू गर्न आफ्नो अधिकार नाघेको बताएमा, यसले अस्थायी रूपमा प्रशासनले लागू गरेको धेरै देश–विशिष्ट ट्यारिफहरूमा असर पार्न सक्छ ।

  • अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५८ पैसा र बिक्रीदर २० रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै

    चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै

    काठमाडौँ, २५ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।
    विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको उल्लेख गरेको छ ।

    विभागले निरुज प्लास्टिक उद्योग, एमएन प्लास्टिक उद्योग, नेसनल प्लास्टिक इन्डस्ट्रिज, कुँवर फर्निचर उद्योग, दीक्षा स्टोरलाई आवश्यक निर्देशन दिएको छ । यस्तै, पशुपतिनाथ इन्टरप्राइजेज, युनिभर्सल टे«डर्सलगायतका प्लास्टिक उद्योग, पसल तथा आयातकर्तालाई ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको बिक्री वितरण नगर्न नगराउन आवश्यक निर्देशन दिएको छ । वातावरण संरक्षण गर्ने हुतुले त्यस्तो निर्देशन दिइएको विभगाले प्रष्ट पारेको छ ।

  • निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

    निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

    काठमाडौँ, २५ पुस । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ ।

    आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउनेगरी हेर्न वा सार्न दिनुपर्नेछ ।

    फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्नेछ । कुनै मतदाताले आफ्नो मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।

    यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले देहायबमोजिमको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि रु तीन हजार लिनुपर्नेछ । त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन ।

  • आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

    आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

    त्रिवेणी (नवलपरासी), २४ पुसः निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो ।

    तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताए । कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले बताए । एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भएको हो ।

    लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका अध्यक्ष लोहनीले बताए । बर्खाको समयमा खोलामा बाढी आउँदा घुमेर बजार क्षेत्रमा जानुपर्ने अवस्था रहेको र अन्य समयमा पनि खोलाबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब त्यो बाध्यता अन्त्य भएको अध्यक्ष लोहनीले बताए ।

    “पुल नहुँदा सास्ती थियो, बाढी आउँदा अन्यत्रबाट घुमेर बजार क्षेत्र निस्किनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ, ढिलै भए पनि पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ,” अध्यक्ष लोहनीले भने । सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ ।

    हुप्सेकोटका बासिन्दालाई छिटो रूपमा कावासोतीको सदरमुकाम पुग्न पुलका कारण सहज भएको हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले बताए । “हामीलाई सदरमुकाम पुग्न डण्डा हुँदै घुमेर जानुपर्ने अवस्था थियो, अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने ।

  • पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

    पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

    काठमाडौँ, २३ पुस । मन्त्री पदबाट राजिनामा दिनुभएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताए । “इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ”, घिसिङले भने, “सरकारको उपस्थिति कागजमा सीमित रहेन, मैदानमै देखियो । प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जनअपेक्षाअनुसारका काम भए ।”

    घिसिङले आफूले लिएको राजीनामाको निर्णय माग्ने तथा जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो भने । “पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताकोपक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु”, उनले भने । घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको स्पष्ट पारे । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि आफूले आजसम्म कुनै राजनीतिक पार्टीका सदस्यता लिएको उनको भनाइ छ ।

    राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले राजीनामापश्चात् सो पदमा आफ्नो मान्छेलाई नियुक्त गर्न दबाब दिएको भन्ने विषय भ्रामक भएको बताए ।


    भोलिदेखि राजनीतिक जीवन सुरु
    उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहनुभएका घिसिङले भोलिदेखि आफ्नो सक्रिय राजनीतिक जीवन सुरु हुने स्पष्ट पारे । तीन वटा मन्त्रालयको जिम्मेवारी कारण आफ्नो राजनीतिक यात्रामा केही विराम लागेको जनाउँदै उनले आगामी दिनमा मुलुकमा रहेको बेथितीका विरुद्ध आवाज उठाउने बताए ।

  • ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

    ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

    काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    “निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”

    मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे । घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।

  • अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

    अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

    अफगानिस्तान, (रासस\एएफपी)।
    उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ । मन्त्रालयको प्रतिनिधिमण्डललाई घटनास्थलमा अनुसन्धानका लागि पठाइएको छ ।

    स्थानीय बासिन्दाहरूका अनुसार अन्य प्रान्तका खानी मजदुरहरूले पिउने पानीको आपूर्ति गर्ने क्षेत्र नष्ट गरेपछि उनीहरूले ढुङ्गा र लाठीको प्रयोग गरी विद्रोह गरेका थिए । यस झडपमा धेरै मानिस मारिएका छन् भने खानी मजदुरहरू भागेका छन् । अफगानिस्तानले सुनसँगै सङ्गमरमर, खनिज, रत्न र कोइला खानीमा ठूलो स्रोत पाएको छ । सन् २०१० र २०१३ को अमेरिकी र संयुक्त राष्ट्रसङ्घीय मूल्याङ्कनअनुसार देशको भू–सम्पत्तिको अनुमानित मूल्य १० खर्ब डलर रहेको थियो ।

    तालिबान सरकारले देशमा सुरक्षा पुनःस्थापना गर्ने वाचा गर्दै अफगानी र विदेशी लगानीकर्तालाई भूमिगत सम्पत्ति दोहन गर्न र राजस्व प्रवाह सुनिश्चित गर्न आग्रह गरेको छ ।

  • कानुन मिचेर रकमान्तर

    कानुन मिचेर रकमान्तर

    हेमन्त जोशीरासस
    काठमाडौँ, २३ पुस । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रू २९ करोड रकमान्तर गरिसकेको छ ।

    अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरुले रू १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् भने अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट रू १२ करोड ८४ लाख ५० हजार बराबर रकम विभिन्न मन्त्रालय र निकायलाई रकमान्तर गरेको देखिन्छ । यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रू २८ करोड ९९ लाख ९० हजार बराबर कानुन विपरीत रकमान्तर भएको हो । यसमा स्रोतान्तर र थप निकासा शीर्षकको रकम समावेश छैन ।

    गत भदौमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कानुन विपरीत आन्तरिक रकमान्तर गरेका छन् भने असोजमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियमावलीको व्यवस्था विपरीत रकमान्तर गरेको देखिन्छ । त्यस्तै, अर्थ विविध शीर्षकबाट भदौमा अर्थ मन्त्रालयका लागि एक पटक र असोज महिनामा गृह मन्त्रालयका लागि चार पटकसम्म रकमान्तर भएको छ ।


    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले यो रकम अनिवार्य दायित्व सृजना भएको अवस्थामा भुक्तानीका लागि प्रयोग भएको बताउनुभयो । “विनियोजन ऐनमा त्रुटि भएर कुनै योजना तथा कार्यक्रमलाई बजेट नपरेको वा कम भएको, अदालतको आदेशबाट सरकारलाई दायित्व सृजना भएको र मन्त्रिपरिषद्बाट आर्थिक सहयोगका लागि उपलब्ध निर्णय भए बमोजिम त्यसको भुक्तानीका लागि यो रकम दिइएको हो । यसलाई कानुन विपरीत रकमान्तर भएको मिल्दैन”, प्रवक्ता पाण्डेयले भन्नुभयो ।

    अर्थ मन्त्रालयको विवरणअनुसार चालु आर्थिक वर्षको बजेटमा अबण्डा शीर्षकमा राखिएको अर्थात् अर्थ विविध शीर्षकबाट गृह मन्त्रालयलाई असोज ९ गते रू सात करोड ६५ लाख, असोज २१ गते रू तीन करोड आठ लाख र असोज २२ गते रू ३० लाख रकमान्तर भएको छ । मन्त्रालयहरुले आन्तरिक रुपमा गरेको र अर्थ मन्त्रालयले स्वीकृति दिएको रकमान्तरको अवस्था हेर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोजमा रू १३ करोड ७६ लाख २३ हजार बराबर रकमान्तर गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रू दुई करोड १७ लाख ८३ हजार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रू २१ लाख ३६ हजार बराबर रकम असोजमा रकमान्तर गरेको छ ।

    अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिना अर्थात् मङ्सिर मसान्तसम्ममा करिब रू आठ अर्ब बराबर रकमान्तर भएको छ । जसमध्ये विभिन्न मन्त्रालयहरुले रू छ अर्ब ८७ करोड ७५ लाख ७२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् भने अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट रू ९३ करोड ५० लाख ५२ हजार रकमान्तर गरेको छ ।

    त्यसो त अर्थ मन्त्रालयले गत साउन १ गते सबै मन्त्रालय र निकायहरुलाई बजेट कार्यान्वयन मार्गदर्शन पठाउँदा पनि पहिलो त्रैमासिक अवधिमा रकमान्तर नगर्नु भनेर परिपत्र गरेको थियो । बजेट कार्यान्वयन मार्गदर्शनको बुँदा नम्बर ५५ मा कुन–कुन अवस्थामा रकमान्तर गर्न हुँदैन भनेर खुलाइएको छ । सुरु विनियोजन नभएको खर्च संकेतमा, नयाँ क्रियाकलापमा, आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा र असार महिनामा रकमान्तर नगर्नु भनेर अर्थ मन्त्रालयले परिपत्र गरेको देखिन्छ । यसरी नियमावली र बजेट कार्यान्वयन मार्गदर्शन विपरीत हुनेगरी अर्थ मन्त्रालय आफैबाट समेत रकमान्तर हुनु आर्थिक अनुशासनको उल्लङ्घन मात्र नभई कानुनको अटेरी हुन जाने जानकारहरुको बुझाइ छ ।

    अर्थविद् डा डिल्लीराज खनाल पहिलो त्रैमासमा रकमान्तर गरिनु विद्यमान कानुनको बर्खिलाप रहेको बताउनुहुन्छ । कानुनको उल्लङ्घन हुँदासमेत कसैलाई जिम्मेवार बनाउन नसकिएको उहाँको भनाइ छ । “आफैँले बनाएको कानुन हामी आफैँ परिपालना गरिरहेका छैनौँ । उल्लङ्घन गर्दा कोही जिम्मेवार हुन नपर्ने अवस्था छ”, उहाँले रासससँग भन्नुभयो, “बजेट प्रणालीमा भद्रगोल र अराजकता छ । हाम्रो वित्तीय र समग्र प्रणाली असफल हुने भनेको यस्तै बेथिति बढ्दै गएर हो ।”


    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावली विपरीत मन्त्रालयहरुबाट रकमान्तर गर्ने गरेको यो पहिलोपटक भने होइन । अघिल्ला वर्षहरुमा विभिन्न मन्त्रालयले आर्थिक वर्ष सुरु भए लगत्तै रकमान्तर, स्रोतान्तर र थप निकासा गर्ने गरेको देखिन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने यसवर्ष भएको कानुन विपरीतको रकमान्तर अघिल्ला वर्षहरुको भन्दा कम हो ।

    अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१\८२ को पहिलो तीन महिनामा रू दुई अर्ब ५१ करोड ७४ लाख ६७ हजार बराबर रकमान्तर भएको थियो । जसमध्ये उखु किसानले पाउने अनुदान र दुग्ध किसानले रकम भुक्तानीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई मात्र रू दुई अर्ब ३६ करोड रकमान्तर भएको थियो ।

    यसरी कानुन विपरीत रकमान्तर भएको विषयलाई महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमा उल्लेख गर्ने गरेको छ । महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ ले पहिलो त्रैमास र वर्षान्तमा रकमान्तर गर्ने, शून्य बजेट विनियोजन भएका आयोजना तथा कार्यक्रममा रकमान्तर गर्ने, राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटसमेत रकमान्तर गर्ने जस्ता कानुन विपरीतका काम रोकिनुपर्ने उल्लेख गरेको छ ।

    महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८०\८१ को पहिलो त्रैमासिक अवधिमा मात्र रु ११ अर्ब ६४ करोड सात लाख अर्थात् कूल वार्षिक रकमान्तरको चार दशमलव ५४ प्रतिशत रकमान्तर भएको थियो । यो वर्षको रकमान्तरमध्ये २०८१ असार महिनामा रू २६ अर्ब ९० करोड ३४ लाख र २०८१ असार महिनाको अन्तिम हप्तामा मात्र रू १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरिएको थियो ।

    त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा बजेट विनियोजन नभएको खर्च शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था रहेकोमा शून्य बजेट विनियोजन भएका २३ वटा कार्यक्रमका लागि रू ११ अर्ब ७५ करोड ९८ लाख रकमान्तर भएको महालेखापरीक्षकको ६२ औँ प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य आयोजनामा रकमान्तर गर्न पाइँदैन । तर आर्थिक वर्ष २०८०\८१ मा आठ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रु पाँच अर्ब २८ करोड ५० लाख अन्य आयोजनामा रकमान्तर गरिएको थियो ।

    त्यस्तै, आर्थिक वर्ष २०७९\८० को कूल वार्षिक बजेट रू १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखमध्ये रू ९५ अर्ब २९ करोड ७४ लाख अर्थात् वार्षिक विनियोजनको पाँच दशमलव ३१ प्रतिशत रकमान्तर भएको छ । सोमध्ये २०८० असारमा मात्र रू २३ अर्ब १० करोड ६५ लाख र असारको अन्तिम हप्तामा मात्र रू १३ अर्ब ८१ करोड ९९ लाख रकमान्तर गरी विभिन्न शीर्षक\उपशीर्षकमा थप घट गरिएको थियो । सो आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र रू ३३ अर्ब १५ करोड १९ लाख अर्थात् कूल रकमान्तरको ३४ दशमलव ७९ प्रतिशत रकमान्तर भएको छ । यस्तो कार्य गर्दा कानुनको परिपालना गरिनुपर्ने महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।

    विनियोजन ऐन, २०७९ को दफा ३ ९३० मा रकमान्तर गर्दा जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी अनुदान सङ्ख्याबाट अर्को एक वा एकभन्दा बढी अनुदान सङ्ख्यामा रकमान्तर गर्न सकिने व्यवस्था रहेको छ । सो कानुनी व्यवस्थाको प्रतिकूल हुने गरीसमेत रकमान्तर भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।