Category: अर्थतन्त्र

  • आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

    आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड


    काठमाडौँ, १८ माघः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । निजी क्षेत्रले राज्यमा पु¥याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

  • मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र


    चितवन, १८ माघः पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो ।

    मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ । निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ ।

    दरैले अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताउनुभयो । उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिसकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ । नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उहाँका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उहाँको भनाइ छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

  • वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्ज (पर्सा), १७ माघः चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो ।

    गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।

    ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

  • द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    नारायण न्यौपाने–रासस
    लेनडाँडा (मकवानपुर), १६ माघ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक’ निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

    सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ बे्रक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त दू्रतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

    द्रूतमार्गअन्र्तगत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोेजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । दू्रतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो दू्रतमार्ग हो ।

    फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । दू्रतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्यतराई पुग्न सकिने छ । द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकेहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपन्तरणकारी आयोजनाका रूप्मा द्रूतमार्गलाई हेरिएको छ ।

    यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरूप् धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूप्मा अघि बढाउन निर्देशन दिएकी थिइन् । सुरुआती चरणमा दू्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डिपिआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो । अन्तरराष्ट्रियस्तरको दू्रतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    मुस्ताङ, १६ माघ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो ।

    यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

    चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

    हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताउनुभयो । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए । छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् ।

    हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

  • अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    रासस
    मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

    वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी–मुक्तिनाथ सडकको बाक्लो हिउँ पन्छाउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहे पनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छाउन डोजर पठाइसकेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    मङ्गलबारको भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउन डोजर परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छाउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताए । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउने कार्य भर्खरै सुरु भएको उनको भनाइ छ ।

    यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँस्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भए पनि हिमपात नरोकिएका कारण हिउँ पन्छाउन कार्यलाई स्थगित गरेको थियो । आज जिल्लास्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छाउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी भक्तजन बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छाएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थी बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् । हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिरसमेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित हुन पुगेको छ ।

  • सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    काठमाडौँ, १५ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

    यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’

    कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’

    सिरहा, १५ माघः हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ ।

    हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, “हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवत–जावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।”

    गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस क्रममा उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए । घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो ।

    यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए ।

    चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा
    विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएका निर्माण कम्पनीले जनाएको छ ।

    पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।”

    विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पु¥याएपछि समस्या भएको हो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो ।

    उनले भने, “लामो समयसम्म काम हुनसकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । त्यसमा सबै गम्भीर बन्नुपर्छ ।” हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।

  • निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग

    निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग

    काठमाडौँ, १५ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारीको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौँ, १४ माघः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

    सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

  • म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

    म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

    म्याग्दी, १४ माघ : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनको बताए ।

    समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् । पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

    यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए । सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए । गहुुँ, जौ, केराउ, सुुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

  • एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    काठमाडौँ, १४ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

    बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

    बैतडी, १४ माघः बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो ।

    हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

    हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।

  • सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    १३ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सबै सम्भव परियोजना अघि बढाउन निर्देशन दिएका छन्। लगानी बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना लगायतका प्रस्ताव प्राप्त भएका छन्।

    बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँग समन्वयमा समस्या समाधानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
    १३ माघ, काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्ड उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सम्भव सबै परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसार अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजना अघि बढाउन निर्देशन दिएका हुन् । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराएका थिए । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवे लगायत प्रस्ताव प्राप्त भएका छन् ।

    त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ परियोजना स्वीकृत भएको जानकारी गराए । बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायत विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

  • न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन

    काठमाडौँ, १३ माघः नेपाल पर्यटन बोर्ड (एनटिबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ ।

    सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजारमा लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँगको सहकार्यमा उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

    कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले नेपालको विविध पर्यटन आकर्षण, साहसिक यात्रा, पर्वतारोहण र ट्रेकिङ सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए ।

    दुईदिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङसम्बन्धी गतिविधिमा उल्लेखनीय रुचि देखिनुले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । साथै, यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग पर्यटन सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचान मजबुत बनाउने उद्देश्य पूरा गर्न मद्दत पुगेको जनाइएको छ ।

    कार्यक्रमको पहिलो दिन २४ जनवरीमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारीले नेपालको प्याभिलियन अवलोकन गरी सहभागी कम्पनीहरूसँग अन्तक्र्रिया गरेका थिए । सो अवसरमा विशेषगरी पूर्वी तटीय अमेरिकी राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।

  • नेप्से परिसूचकमा भारी गिरावट

    नेप्से परिसूचकमा भारी गिरावट

    काठमाडौँ, १३ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव ८५, र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेको छ ।

    सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

  • दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    काठमाडौँ, १३ माघः प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छिन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।” प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।


    उनले भनिन्, “प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ ।”

    यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत थिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

    द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

    यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुने छ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

  • एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    म्याग्दी, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ ।
    जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो । कार्यालयका इन्जिनियर नरजङ गुरुङले हिउँद लागेर नदीमा पानीको सतह घटेपछि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालित भएको बताए । म्याग्दी नदीलाई ‘डाइभर्सन’ गराएर जोखिमयुक्त ठाउँमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि जग खन्न थालिएको उनले बताए ।


    एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । रु तीन करोड ६८ लाख ८६ हजार चार सय ८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी÷जेमी जेभीसँग रु दुई करोड ७१ लाख आठ सय ४४ मा २०८२ वैशाख १० गते ठेक्का सम्झौता भएको छ । विसं २०८३ असार २० गतेसम्मको ठेक्का अवधि रहेको योजना निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए ।


    विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल पनि हो ।

    गत आव २०८१÷८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका थिए ।

    गत वर्ष सङ्घीय सरकारको बजेटबाट यसपालिको योजनाभन्दा माथिल्लो क्षेत्रमा (सरस्वती माविको पछाडि) ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । प्रदेश सरकारको बजेटबाट उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा नदी नियन्त्रणका लागि थप संरचना निर्माण अघि बढेको छ ।

  • टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    रासस
    भोजपुर, १३ माघः यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।

    “किसानलाई व्यावसायिक नगदे तथा तरकारीखेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौँ”, अध्यक्ष बस्नेतले भने, “सबै किसानलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।” कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उनले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त रु १० लाख सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

    गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् । व्यावसायिक तरकारीखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिए । कार्यक्रम छनोटमा आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पछाडि परेका वर्ग, महिला तथा दलित किसानलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । कम्तीमा दुई सय वर्गमिटर (छ आना) क्षेत्रफलमा तरकारीखेती गर्दै आएका किसान कार्यक्रमका लागि योग्य मानिने छन्भने प्राथमिकतामा पर्नेछन् ।

    ‘एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी किसानलाई प्लास्टिक टनेल, सिँचाइका लागि पाइप तथा तरकारी उत्पादनका लागि उन्नत जातका बीउबिजन वितरण गरिने कृषि विकास शाखाले जानकारी दिएको छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

    आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।

    प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    बेलबारी (मोरङ), १३ माघः सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।


    प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उहाँले उल्लेख गरे । हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए ।


    निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उहाँले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

    एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

  • समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    भक्तपुर, १२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उनले जानकारी दिए । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

  • विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    काठमाडौँ, १२ माघः सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।

    बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

  • डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

    डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौँ, ११ माघ : डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ ।

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिससहित आवश्यक विवरण वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।

    विवरणअनुसार भारबुङ नदीमा निर्माण हुने तीन सय २५ मेगावाट क्षमता र तातु खोलाको १।१२ क्युसेक पानीलाई नदी प्रवाहमा आधारित प्रणालीबाट उपयोग गरी थप तीन दशमलव १० मेगावाट क्षमताका दुईवटा प्रणालीमार्फत विद्युत् उत्पादन गरिनेछ ।

    डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४ र ५ तथा काईके गाउँपालिका–१ का भूभाग प्रभावित हुनेछन् । विवरणअनुसार छार्का ताङसोङ गाउँपालिका–४ मा एक सय ६९ मिटर अग्लो बाँध, सात सय ६६ मिटर लामो डाइभर्सन सुरुङ, इन्टेक र १६ किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सोही गाउँपालिकाको ४ र काईके गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह र पानी निकास नहर निर्माण गरिनेछ ।

    आयोजनाको जलाशयले छार्का ताङसोङ गाउँपालिका–५ का केही भूभाग डुबानमा पर्नेछ । आयोजनाको दुवै प्रणालीबाट वार्षिक नौ सय ३३।१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल डोल्पाको जुफाल विमानस्थलबाट १२ किलोमिटर टाढा रहेको छ ।

    आयोजनाबाट उत्पादित बिजुली प्रस्तावित दुनै सबस्टेशनमा जोडिनेछ । सो आयोजनाको कुल लागत रु एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजारबराबर रहनेछ । प्रतिमेगावाट लागत रु २८ करोड ५० लाख ९३ हजार ९८० बराबर रहेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । भm्यामोलोङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

    मन्त्रालयले सार्वजनिक सूचनामार्फत सो आयोजनका कारण पर्ने वातावरणीय प्रभावका बारेमा आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको छ । सो आयोजनाको हेडरेस सुरुङको लम्बाइ घटेको, पेनस्टक पाइपको लम्बाइ बढेको तथा विद्युत्गृह क्षेत्र स्थानान्तरण भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको हो ।

    आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रको ९।६५ हेक्टर वन क्षेत्र र निजी स्वामित्वको ०।९५ हेक्टर, स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजनाअनुसार स्वीकृत गरिएको थियो । सो स्वीकृत प्रतिवेदनमा केही जमिन थप गर्नुपर्ने भएकाले मन्त्रालयले आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरेको हो ।

  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, १० माघः नेपाल राष्ट्र बैङ्कले आज ९शनिबारका०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २७ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

    निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

    काठमाडौँ, १० माघः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ । आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

    राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन् ।

    सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको हकसमेतमा लागू हुनेछ ।

    दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि बैकिङ कारोवार गर्ने बैङ्क तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैङ्क खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गरेको हो ।

  • जलवायु वित्त प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो मुलुक बन्यो नेपाल

    जलवायु वित्त प्राप्त गर्ने दक्षिण एसियाकै पहिलो मुलुक बन्यो नेपाल

    काठमकाडौँ, ९ माघ । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ कोलियसन (एलइएफ कोलियसन)बाट अधिकतम ५५ मिलियन अमेरिकी डलर जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै नेपाल लिफ कोलियसनबाट वित्त प्राप्त गर्ने पहिलो एसियाली देश बनेको छ । लिफ कोलियसन ३० भन्दा बढी ठूला अन्तरराष्ट्रिय कम्पनीहरू तथा नर्वे, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र कोरिया गणराज्यका सरकारहरू सम्मिलित एक नवीन विश्वव्यापी सार्वजनिक–निजी साझेदारी पहल हो ।

    यस सम्झौतामा हस्ताक्षर गर्दै आज वन तथा वातावरण मन्त्रालयले ‘रेड प्लस ज्रिड’ कार्यक्रममार्फत वन संरक्षण र पुनःस्थापनाप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनःपुष्टि गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा यस सम्झौताको औपचारिक घोषणा गरिएको हो । यसलाई वातावरणीय रक्षा कोषले सहयोग गरेको थियो । कार्यक्रममा सरकार, आदिवासी÷जनजाति, स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ता समूहका १०० भन्दा बढी सरोकारवालाहरूको उपस्थिति थियो ।

    नेपाल लिफमार्फत निजी क्षेत्रका खरिदकर्तालाई समायोजनसहितका कार्बन क्रेडिट उपलब्ध गराउने पहिलो सरकार पनि बनेको छ । यसले सिङ्गापुर कार्बन कर वा अन्तरराष्ट्रिय उड्डयनका लागि कार्बन अफसेटिङ तथा न्यूनीकरण योजनाजस्ता अनुपालन बजारमा प्रयोग गर्न सम्भव बनाउनेछ । निजी क्षेत्रका लागि उपलब्ध गराइने कुल क्रेडिटमध्ये २५ प्रतिशतसम्म समायोजनसहित उपलब्ध हुनेछ ।

    नेपालको वन क्षेत्रफल हाल कुल भूभागको ४६ प्रतिशतभन्दा बढी पुगेको छ, जसलाई सामुदायिक वन व्यवस्थापन तथा बलियो नीति–कानुनी संरचनामार्फत अझै विस्तार गर्ने लक्ष्य सरकारको छ । नेपाल सरकारका अनुसार लिफ सम्झौताबाट प्राप्त वित्तले राष्ट्रिय रूपमा निर्धारित योगदान हासिल गर्न, स्थानीय समुदाय विकास, वनको गुणस्तर सुधार र जैविक विविधता संरक्षणमा योगदान पुर्याउनेछ । यसले नेपालका ३० लाखभन्दा बढी घरपरिवार संलग्न सामुदायिक वन व्यवस्थापन प्रणालीलाई प्रत्यक्ष लाभ पुर्याउने बताइएको छ ।

    वन क्षेत्र विस्तारमा हासिल गरेको सफलताका कारण नेपालले सन् २०२२ देखि २०२६ सम्मको अवधिमा लिफ खरिदकर्तालाई लाखौँ टन उत्सर्जन न्यूनीकरण तथा कार्बन क्रेडिट उपलब्ध गराउने लक्ष्य राखेको छ । यो सम्झौता लिफ कोलियसनको संयोजक ‘इमर्जेन्ट’सँग गरिएको हो । बेलायत र नर्वे सरकारले प्रारम्भिक रूपमा १० लाख क्रेडिट खरिदको ग्यारेन्टी प्रदान गर्नेछन् । थप क्रेडिटहरू विस्तारित खरिद अवधिमा निजी क्षेत्रका लागि उपलब्ध गराइनेछ, जसको अन्तिम मात्रा जारी गरिएका क्रेडिट सङ्ख्यामा निर्भर हुनेछ । ‘इमर्जेन्ट’का अनुसार यस सम्झौताबाट नेपालले अधिकतम ५५ मिलियन अमेरिकी डलर वित्त प्राप्त गर्न सक्छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, ८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।