Category: अर्थतन्त्र

  • तिहारको फूलले ढकमक्क देश

    तिहारको फूलले ढकमक्क देश

    ३० असोज, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार घर आगनमै आइपुगेको छ । यस चाडमा फूल र बत्तिको अधिक माग हुन्छ । पछिल्लो समय व्यवसायीहरुले नेपाललाई फूलमा आत्मनिर्भर बनाउँदै लगेका छन् । फलस्वरुप यतिबेला देशका विभिन्न स्थानमा तिहारका फूलले ढकमक्क भएको देखिन्छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी किसान अनिला बस्नेत सयपत्री फूल टिप्दै । तीन रोपनी जमिनमा व्यावसायिक रुपमा गरेको फूलखतीबाट रु तीन लाख आम्दानी भएको उहाँ बताउनुहुन्छ । तस्बिरः रमेश गिरी/रासस
    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
    तिहारलाई लक्षित गर्दै भक्तपुरको पोटरी स्क्वायरमा सुकाइएकाे माटोका भाँडा । तस्बिर ः रमेश गिरी / रासस
  • गोदावरी पुष्प मेलाको रौनक

    गोदावरी पुष्प मेलाको रौनक

    पाटन, ३० असोज । १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस


    “पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने । उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।


    “कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ”, उनले भने ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा बुधबार फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ समारोह उदघाटन गर्नुहुँदै । उक्त प्रदर्शनी आजदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस


    उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।
    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

    फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी’मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण ।तस्बिरः हरिराम भेटुवाल/रासस


    पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

    प्रदर्शनीमा सजाइएको फूल ललितपुर, २९ असोजः फ्लोरिकल्चर एशोसिएशन नेपालले ललितपुरको जावलाखेल खेल मैदानमा आयोजना गरेको ‘१८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२’ को प्रदर्शनी स्टलमा सजाएर राखिएको फूल । तस्बिरः हरिराम भेटुवाल/ रासस
  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    वाशिङ्टन डिसी, ३० असोजः विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

  • कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    कंचनपुरमा विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

    कञ्चनपुर, ३० असोज । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।


    उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक कालोपत्र कार्यका लागि डुकुचु÷अनक÷जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ । अब केही दिनभित्रै निर्माणकार्य सुरु हुन्छ”, अध्यक्ष रानाले भने ।


    सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ । सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको बताए ।

  • पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत

    काठमाडौँ, २९ असोजः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर रू १५९, सुर्खेत र दाङमा रू १५८ अन्य क्षेत्रमा रू १५६.५० कायम गरिएको छ ।

    “इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ”, निगमले भनेको छ ।

  • सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    सुनको मूल्यले राख्यो पुनः कीर्तिमान

    काठमाडौँ, २९ असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो ।

  • भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    नयाँदिल्ली, २८ असोज (रासस\एएफपी) । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।

    गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए । उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो । हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्नेछौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्‍याउनेछ ।”

    कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ । यस लगानीले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ । हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

    भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “यो डिजिटल पूर्वाधार हाम्रो ‘भारत एआई’ दृष्टिकोणका लक्ष्यहरू पूरा गर्नको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । यसले भारतलाई एआई प्रविधिको उत्पादन र नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ ।”

    त्यसैगरी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यो परियोजनालाई राज्यका लागि ‘एक ऐतिहासिक र अत्यन्त खुशीको दिन’ का रूपमा वर्णन गरे । उनका छोरा तथा राज्यका प्रविधिमन्त्री नारा लोकेशले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने, “यो लगानी एक वर्षको गहन छलफल र अथक प्रयासपछि सम्भव भएको हो। यो केवल सुरुआत हो—हाम्रो राज्यको डिजिटल भविष्य, नवीनता र विश्वव्यापी प्रतिष्ठाका लागि यो एक ठूलो छलाङ हो ।”

    गुगलको यो निर्णय भारतमा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो चासोको अर्को उदाहरण बनेको छ । यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए ।


    प्रधानमन्त्री मोदीले एक्समा लेख्दै अमोदेईलाई धन्यवाद ज्ञापन गर्दै भने, “भारतको जीवन्त टेक इकोसिस्टम र प्रतिभाशाली युवाहरूले एआई इनोभेसनलाई गति दिइरहेका छन् । हामी विकासका लागि एआईको अधिकतम उपयोग गर्न प्रतिबद्ध छौंँ ।” एन्थ्रोपिकको यो निर्णयपछि अन्य शीर्ष एआई कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेका छन् । ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको जनाएको छ । यसका प्रमुख साम अल्टम्यानका अनुसार भारतमा च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ ।

    यस्तै, एआई कम्पनी पप्र्लेक्सिटीले गत जुलाईमा भारतीय टेलिकम कम्पनी एयरटेलसँग साझेदारी गरेको थियो, जसअनुसार एयरटेलका ३६ करोड ग्राहकलाई एक वर्षका लागि पप्र्लेक्सिटी प्रोको निःशुल्क सदस्यता प्रदान गरिएको छ । गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।

  • चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

    चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

    हङकङ, २८ असोज (रासस\एपी) । चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मङ्गलबार उक्त कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा औद्योगिक पुनर्निर्माण गर्ने रणनीतिक पहलप्रतिको प्रतिक्रियास्वरूप लिइएको बताएको छ ।

    मन्त्रालयका अनुसार चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि प्रकारको लेनदेन गर्न पाउने छैनन् । वासिङ्टनले विश्व जहाज निर्माण उद्योगमा चीनको बढ्दो प्रभुत्वबारे औपचारिक अनुसन्धान सुरु गरेपछि प्रतिबन्धको घोषणा गरिएको हो । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाको उक्त अनुसन्धानले चीनको राष्ट्रिय सुरक्षा र यसको जहाज निर्माण उद्योगलाई खतरा पुर्‍याएको छ । अमेरिकी पक्षले आफ्नो अनुसन्धानमा हानवा ओसनको संलग्नता उल्लेख गर्दै चीनको औद्योगिक नीतिलाई ‘अनुचित प्रतिस्पर्धा’ भनेर चित्रण गरेको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सन् २०२४ को अप्रिलमा धारा ३०१ अन्तर्गतको व्यापार अनुसन्धान आरम्भ गरेको थियो । उक्त अनुसन्धानले चीनको बढ्दो औद्योगिक प्रभाव अमेरिकी व्यवसायहरूका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो । हाल अन्तर्राष्ट्रिय ढुवानी र जहाज निर्माण उद्योग वासिङ्टन र बेइजिङबीचको नयाँ व्यापारिक तनावको केन्द्रविन्दु बनेको छ । दुवै देशले मङ्गलबारदेखि एकअर्काका जहाजहरूमा नयाँ बन्दरगाह शुल्क ९पोर्ट ट्याक्स० लागू गरेका छन् ।

    प्रतिबन्धित कम्पनीहरूमा हनवा शिपिङ एलएलसी, हनवा फिली शिपयार्ड इङ्क, हनवा ओसन युएसए इन्टरनेशनल एलएलसी, हनवा शिपिङ होल्डिङ्ग्स एलएलसी र एचएस युएसए होल्डिङ्ग्स कर्प सामेल छन् । सन् २०२४ को अन्त्यमा हानवा ओसनले अमेरिकी राज्य पेन्सिलभेनियामा अवस्थित फिली शिपयार्डलाई १० करोड डलरमा खरिद गरेको थियो । त्यसपछि कम्पनीले गत अगस्टमा विश्वव्यापी प्रतिस्पर्धी जहाज निर्माण क्षमताको पुनस्र्थापना गर्न अमेरिकाको पहललाई सहयोग पुर्‍याउने उद्देश्यले पाँच अर्ब डलरको लगानीमा नयाँ डक्स र क्वे (जहाज पार्किङ सुविधा) निर्माण गर्ने घोषणा गरेको थियो ।

    चीनले आफ्ना नयाँ बन्दरगाह शुल्क अमेरिकी कम्पनीहरू तथा ती संस्थाहरूद्वारा स्वामित्व वा सञ्चालित जहाजहरूमा लागू हुने स्पष्ट गरेको छ । यसमा २५ प्रतिशत वा सोभन्दा बढी अमेरिकी स्वामित्व भएका, अमेरिकी झण्डा बोकेका वा संयुक्त राज्य अमेरिकामै निर्मित जहाजहरू समेत पर्ने बताइएको छ ।

  • धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

    धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

    रासस
    ढोरपाटन, २९ असोजः बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह ९ताल०, काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् ।

    एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताए । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उनको भनाइ छ ।

    पुनले भने, “पहिले रुद्राताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।”

    जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् ।

    आर्थिक वर्ष २०७९÷८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उनी बताउँछन् । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताए । “पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, ताल ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्र्यौँ”, उनले भने, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।”

    तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताए । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताए ।


    त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् ।

    बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

  • बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    बजार बिस्तारमा मुस्ताङको स्याउ, एक वर्षमै एक अर्बभन्दा बढीको उत्पादन

    रासस
    मुस्ताङ, २९ असोजः मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए । यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ ।

    यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको छ । ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।

    यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ ।

    यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए ।
    यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।

  • कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

    कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

    रासस
    भोजपुर, २९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ ।
    नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनःसञ्चालनमा आएको हो । दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ ।

    हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए । “नदीको बहाव घटेसँगै जलयात्रा पुनःसञ्चालन भएको छ”, उनले भने, “अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ ।” दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमा पार गर्न सकिने भएको छ ।

    कोप्चे–बराह क्षेत्रबीचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पु¥याएर उपचार गर्न सहज भएको स्थानीय लालबहादुर प्रधानले बताए । “चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ”, उनले भने, “भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपथ्र्यो ।

    अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ ।” गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पु¥याउनेछ ।

  • बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

    काठमाडौँ, २९ असोजः बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ ९दोस्रो संशोधन०’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मागर्दशनमा संशोधन गर्दै भनेको छ, “जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।”

    यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ । रासस

  • बझाङमा भूकम्पको धक्का महसुस

    बझाङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ, २९ असोजः बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

  • अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

    अमेरिकामा अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच भेट

    वाशिङ्गटन डिसी, २९ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ । त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो ।

    भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेको यहाँ स्थित राजदूतावासले जनाएको छ ।

  • महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

    महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

    काठमाडौँ, २९ असोजः सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था गरिएको जनाएको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रुपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ ।


    काठमाडौँ, ललितपुर, विराटनगर, विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाभित्र हुने घरजग्गाको कारोबार गर्दा अब अनुमति लिनुपर्नेछ । यस्तै, धरान, इटहरी, जनकपुरधाम, जीतपुरसिमरा, कलैया, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाभित्र पनि सोही व्यवस्था बमोजिम नै घरजग्गाको कारोबार हुने जनाइएको छ । घरजग्गाको कारोबार गर्ने क्षेत्रफल जतिसुकै भएपनि हुने र एक पटकमा रु तीन करोडभन्दा माथिको कारोबार गर्दा अनुमति लिनुपर्ने भएको हो । त्यसका लागि भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई सम्वद्ध अधिकारी तोकिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सोमबार राजपत्रमा सूचना प्रकाशित भएको जानकारी दिए । यस्तै, मन्त्रालयले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ र सो आदेश बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लामा गठन भएका समिति समेत खारेज गर्ने निर्णय भएको जानकारी दिए । रासस

  • इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    इलामको जोगमाई खोलामा बनाइयो डाइभर्सन

    रासस
    फिक्कल, २९ असोज । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । “जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ”, उनले भने, “बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं ।”

    उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो । एघार दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ ।

    इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालनका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताए । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

    वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।

  • खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

    खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

    राष्ट्रिय समाचार समिति
    पाँचथर, २९ असोज । पाँचथरको याङवरक गाउँपालिका-६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् । बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू–टावर निर्माण गरेका हुन् ।


    व्यक्तिगत रु १५ लाखको लागतमा निर्माण गरिएको भ्यू–टावरको सोमबार खेवाङ र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले उद्घाटन गरे । खेवाङको ९७औँ जन्मदिनको अवसर पारेर याङवरक गाउँपालिका–६ को कार्यालय र स्थानीयवासीले भ्यू–टावरको उद्घाटन तथा खेवाङलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेका थिए ।

    खेवाले गाउँमा आइपर्ने सबै समस्यामा आर्थिक र नैतिक सहयोग गरेर ठूलो योगदान दिएका कारण जन्मदिनको अवसरमा सम्मान गरिएको याङवरक–६ का वडाध्यक्ष अमृतबहादुर योङहाङले बताए । खेवाङले कमजोर आर्थिक अवस्थाका गाउँलेहरुको स्वास्थ्योपचार, काजकिरिया, सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आउनुभएको वडाध्यक्ष योङहाङले बताए ।


    याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमै बस्ने अवसर भए पनि त्यसलाई छोडेर गाउँको सेवामा ५० वर्षदेखि क्रियाशिल हुनु समग्र गाउँपालिकाका लागि भाग्यको कुरा भएको बताए । “उनले गाउँका हरेक क्षेत्रका योगदान दिएका छन्, उपाध्यक्ष मेन्याङ्बोले भने । “उनको आफ्नो जीवनशैली पनि उदाहरण र प्रेरणादायी छ ।”

    खेवाङका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनामै काम गरी क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदबाट सेवा निवृत्त भए । विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मिएका खेवाङ परिवार विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्न थालेको थियो । सोही वर्ष खेवाङ भारतको दार्जिलिङस्थित जलपहाड बेलायती सेनामा भर्ना भएका हुन् । विसं २०३२ मा सेवा निवृत्त भएपछि खेवाङ परेवाडाँडामा आइ बसोबास गर्दै आएका छन् ।


    खेवाङको परिवारका कतिपय सदस्य बेलायतमै छन् । आफू पटक–पटक घुम्न बेलायत गए पनि बस्न मन नलागेको उनको भनाइ छ । “मलाई यहाँ गाउँमै बस्न, गाउँले जीवनशैलीमा रमाउन मन लाग्छ”, खेवाङले भने, “मलाई मेरा ब्याजीहरुले धरान, काठमाडौँ, दार्जिलिङलगायत ठाउँमा बसौँ भनेका थिए । तर मलाई यहाँ (परेवाडाँडा) मै बस्ने सहज लागेर बसेको हुँ ।”

    आफूले गाउँका लागि सक्दो सहयोग गर्ने गरेको र यसमा सबै गाउँलेहरु खुसी भएको उनको भनाइ छ । खेवाङले भने, “परेवाडाँडाबाट धेरै ठाउँको दृश्य राम्रो देखिने भएकाले भ्यू–टावर बनाइदिएको हुँ ।” भ्यू–टावरमा विश्रामस्थल, मोबाइल चार्ज गर्ने व्यवस्थासमेत मिलाइएको छ । भ्यू-टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका दर्जनौँ गाउँहरु तथा पाँचथरतर्फ नेपाल(भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य देख्न सकिन्छ ।

  • विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

    विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

    काठमाडौँ, २९ असोजः उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौसम्म विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २७ अर्ब ९३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १० अर्ब ५५ करोड रहेको थियो ।

  • चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

    चालु खाता र शोधनान्तर बचतमा, २८ खर्ब ८१ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिति

    २८ असोज, काठमाडौं । यस्तै, चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । यस अवधिमा चालु खाता रु एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । यस्तै, भदौ मसान्त सम्ममा खुद पुँजीगत ट्रान्सफर रु दुई अर्ब २० करोड रहेको छ भने रु एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ ।

    गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा सात दशमलव छ प्रतिशतले बढेर रु २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ । गत भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ । चालु आवको दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९ दशमलव सात महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

  • मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

    मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र

    काठमाडौँ, २८ असोजः गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ०६ प्रतिशत र तीन दशमलव १९ प्रतिशत रहेको थियो ।

    गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ७४ प्रतिशत, मरमसलाको छ दशमलव ३१ प्रतिशत र दाल तथा गेँडागुडीको तीन दशमलव ५८ प्रतिशतलेघटेको छ ।

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ ।

    बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ९९, मधेसको एक दशमलव ७४, बागमतीको एक दशमलव ७२, गण्डकीको एक दशमलव ४७, लुम्बिनीको एक दशमलव ७६, कर्णालीको एक दशमलव ८५ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।

    त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २१, तराईको एक दशमलव ७०, पहाडको एक दशमलव ६८ र हिमालको दुई दशमलव ५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

    २८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो ।

    गत भदौ महिनामा मात्र रू एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ रु तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो । गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

    सुनको मूल्यले राख्यो कीर्तिमान, तोलाकै दुई लाख ४८ हजार ५००

    काठमाडौँ, २८ असोजः स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

  • नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

    नेपाल वायुसेवा निगमले अक्टोबर-१९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

    काठमाडौँ, २८ असोज स् राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिसकिएको समेत निगमले जनाएको छ ।

    निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ जना यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ जना यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

    निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएका र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।

    निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोधसमेत गरेको छ ।

  • अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

    अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबको संख्या ३७ लाख पुग्यो

    सिड्नी, २८ असोज (रासस\सिन्ह्वा) । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२।४ प्रतिशत थियो, जुन अब उल्लेखनीय रूपमा बढेर १४.२ प्रतिशत पुगेको छ ।

    न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ । प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ ।

    बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३–२४ मा अष्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार पुग्छ । एसीओएसएसकी प्रमुख कार्यकारी अधिकृत क्यासान्ड्रा गोल्डीले सरकारको हालसम्मका प्रयासहरू स्वागतयोग्य भए पनि ती अपर्याप्त रहेको बताउँदै थप ठोस कदम चाल्न आवश्यक रहेको बताइन् ।


    उनल भनिन्, “सरकारले अत्यन्तै न्यून रहेका आम्दानी सहायता भत्ता बढाउनुपर्ने, गरिबी न्यूनीकरणका लागि स्पष्ट लक्ष्य तोक्नुपर्ने, सामाजिक आवासको व्यवस्था विस्तार गर्नुपर्ने र सबैलाई रोजगारी सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ । साथै, गरिबी घटाउने कार्यमा सबैलाई जिम्मेवार बनाउने गरी समयबद्ध लक्ष्य निर्धारण गरिनुपर्छ ।”

  • तीन अर्थशास्त्रीलाई  यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?

    तीन अर्थशास्त्रीलाई यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, के थियो योगदान ?

    स्टकहोम, २७ असोज (रासस\एपी) । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।


    नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, “मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाए । उनको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।” त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरे । उनीहरुले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे । जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ ।

    अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, “आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।” गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरुले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए ।
    अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गरेका हुन् ।


    स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला रहेका छन् । नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ । गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ ।

  • अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

    वाशिङटन डिसी, २८ असोज । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गरे । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो ।

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुगेका हुन् ।

  • गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

    गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

    काठमाडौँ, २८ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

    प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिवधि फेला पारेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

  • अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

    अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच अमेरिकामा भेटवार्ता

    वासिङ्टन डिसी, २८ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।


    भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमण दलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थियो । विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुगेका हुन् ।

  • बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    राष्ट्रिय समाचार समिति
    ढोरपाटन, २७ असोज । यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् ।

    यहाँको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उनको भनाइ छ ।

    उनका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा विक्री भएको अधिकारीले जानकारी दिए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ६० लाख रुपैयाँ, २०८१÷८२ मा एक करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

    “बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु उत्साहित भएर लाग्नुभएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु लागि रहेका छौँ”, अधिकारीले भने, “खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।”

    यहाँ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँमात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।

  • सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

    सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ ।

    विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ । उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्तहरूको कुनै गुनासो भए विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउनुहुनसमेत अनुरोध गरेको छ ।