Category: अर्थतन्त्र

  • मुस्ताङमा पर्यटकको घुइँचो, एक महिनामै साढे ७५ हजार पुगे

    मुस्ताङमा पर्यटकको घुइँचो, एक महिनामै साढे ७५ हजार पुगे

    ४ कात्तिक, काठमाडौं । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।

    असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।

    प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए । गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

    मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०.८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

    आर्थिक वर्ष २०८१–८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ । रासस

  • कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    कागेश्वरी मनोहरमा कार र स्कुटर ठोक्किए, एक जनाको मृत्यु

    ४ कात्तिक, काठमाडौं । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका –६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    उक्त सडक खण्डमा बा ५ च ८३२० नम्बरको कारले बाप्र.०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका –३ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –६ थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने, “कारको ठक्करबाट पाख्रिन आइतबार राति गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।” ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • लक्ष्मी पूजाकै दिन टियू मैदानमा फ्लडलाइट परीक्षण, यस्तो देखियो माहोल (फोटो फिचर)

    लक्ष्मी पूजाकै दिन टियू मैदानमा फ्लडलाइट परीक्षण, यस्तो देखियो माहोल (फोटो फिचर)

    ३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज फ्लडलाइटको परीक्षण गरिएको छ । लक्ष्मी पूजाका दिन गरिएको यो परीक्षणका दौरान क्रिकेट मैदान मनमोहक देखिएको छ । अब यो विमानस्थलमा रातको समयमा समेत क्रिकेट खेल्न सम्भव हुने भएको छ ।

    यस्तो छ आजको दृष्य

  • लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

    लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

    लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ । साँझ आन्तरिक माग १६५० पुरा गरी १०१५ मेगावाट विद्युत निर्यात समेत भएको छ । यससँगै आजको माग धान्न कुल २६६५ मेगावाट नै पर्याप्त भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आज काठमाडौं सहित ठूलो शहरमा विद्युत अपत ह्वात्तै बढ्छ । तर, पछिल्ला दिनमा लक्ष्मी पूजामा समेत अधिकतम माग कम हुन थालेको छ ।

  • दिपावलीमा धपक्कै बल्यो काठमाडौं

    दिपावलीमा धपक्कै बल्यो काठमाडौं

    ३ कात्तिक, काठमाडौं । लक्ष्मी पूजा तथा दिपावली आज नेपालभर हर्षोल्लाससहित मनाइयो । यस अवसरमा आज काठमाडौं विशेष रुपमा सिंगारियो । झिलिमिली लाइटका कारण आजको साँझ काठमाडौं धपक्कै बलेको थियो । सन्ध्याकालिन काठमाडौं नियाल्न अग्लो स्थानमा जाने प्रचलन समेत बढेको छ ।

  • लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन फिल्डमै कुलमान

    लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन फिल्डमै कुलमान

    ३ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन् । ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरु, विद्युत विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरुलगायत सम्मिलित टोली विद्युत् र आपूर्ति अवस्थाका बारेमा जानकारी लिएको थियो ।


    विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

  • ‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

    ‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

    सन्तोष गौतम
    म्याग्दी, कात्तिक ३ गते । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्कनुभयो । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्कनुभयो । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा आएका ‘जेनजी’ उमेर समूहका किशोरकिशोरी र युवायुवतिका प्रतिनिधि पात्र हुन् ।

    दसँैलगत्तै मौसममा सुधार आएपछि बिदामा मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा अपेक्षा गरेभन्दा धेरै आन्तरिक पर्यटक आएका छन् । दैनिक तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत ‘जेनजी’ पुस्ताका रहेका पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङले बताउनुभयो ।

    “सामाजिक सञ्जाल र सञ्चार माध्यमको भिडियो, फोटो हेरेर यहाँ आउनेहरु धेरै छन्,” उहाँले भन्नुभयो “अपेक्षा गरेभन्दा र हाम्रो होटलको क्षमता भन्दा धेरै पर्यटक आउँदा खाना र बसाइ व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।” विदेशी पर्यटक न्यून मात्रामा छन् । पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरु कमै भेटिन्छन् । दश जोड दुई र क्याम्पस तहको अध्ययन गर्ने उमेर समूहका युवायुवतीका समूह तस्बिर, भिडियो बनाएर प्रकृतिसँग रमाइहेको भेटिन्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेको तस्बिर र भिडियोले लोभ्याएर अन्नपूर्ण आधार शिविर घुम्न आएको तनहुँको देवघाटकी सङ्गीता लामाले बताउनुभयो ।

    “हिमाल र फेदीमा ठूलो ताल एकै पटक अवलोकन गर्न पाउनु यहाँको मुख्य विशेषता हो,” उहाँले भन्नुभयो “हाम्रो पुस्तामा नयाँ नयाँ ठाउँ घुमघाम गरेर छुट्टी मनाउने ‘टे«ण्ड’ बढेको छ ।” सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त ‘जेनजी’हरु नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले बताउनुभयो ।

    छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल, नदीनाला, झरना, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकै पटकको यात्रामा अवलोकन गर्न पाइने भएकाले जेनीहरुको रोजाइमा अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्ग परेको उहाँको भनाइ छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ ।

    निलगिरि खोलाको किनारै किनार रहेको पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरना छन् । आकाशे गुफालगायत अनौठा र पृथक भूगोल अवलोकन गर्न सकिन्छ । फुच्चे प्रजातिको गुराँस पाइने यो पदमार्गमा मृग, घोरललगायत वन्यजन्तुको बासस्थान छ । अन्नपूर्ण हिमालको फेदीमा पञ्चकुण्ड ताल छ । निलो ताल र पृष्ठभूमिको हिमाललाई एकै साथ अवलोकन गर्न पाउँदा यात्राको सबै थकान मेटिने र मनमा उमङ्ग छाउने झापाबाट आएका विजय सेनताङले अनुभव सुनाउनुभयो ।

    समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालदेखि एक घण्टा पैदलयात्रा गरेपछि अन्नपूर्ण आधार शिविरमा पुगिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर जमिनमा आधार शिविर छ । पञ्चकुण्ड ताल नजिकै रहेको कागभुसुन्डी डाँडाको धार्मिक महत्व छ । कागभुसुण्डी ऋषि र पञ्चकुण्ड तालको बारेमा हिन्दू धर्मग्रन्थ पञ्चरामाणयमा उल्लेख छ ।

    सन् १९५० जुन ३ मा पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग घोषणा गरेको थियो । अन्नपूर्ण आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत जेठमा गाउँपालिकाले आधार शिविरमा पहिलो आरोहण दलका सदस्यहरुको शालिक र आरोहीहरुको नामावली सहितको विवरण भएको खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ ।

    आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हुँदा अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । मानव बस्ती नभएको यो पदमार्गमा दुई वर्ष पर्यटक आफैले बन्दोबस्तीका सामान लिएर आधार शिविर भ्रमणमा गए । हिमाल आरोहण गर्ने टोली हेलिकप्टरबाट जाने गरेका थिए । गत वसन्तयामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साँघीखर्क, गुफाफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०÷५० जना क्षमताको होटल सुरु गरेका थिए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताउनुभयो । “एक्यापले पक्की संरचना बनाउन नदिने भएकाले ‘टेन्ट’, टहरामा पाहुना राख्नु परेको हो,” उहाँले भन्नुभयो “पाहुनाको चापसँगै क्षमता र सुविधा थप गर्न एक्यापले सहज गरिदिनुपर्छ ।”

    होटलमा काम गर्नेदेखि भरियाको रुपमा सामान ओसार्न स्थानीयवासीले रोजगारी पाएका छन् । यसअघि वसन्तयाममा आरोही र स्थानीयहरु मात्र जाने आधार शिविरमा अहिले अन्य याममा पनि पर्यटक आउन थालेका छन् । विद्युत् र सञ्चार सुविधाको समस्या छ । अग्रिम बुक गरेर मात्र भ्रमणमा आउन होटल व्यवसायीहरुले अनुरोध गरेका छन् । पाहुनाको बढ्दो चापसँगै फोहरको चुनौती थपिएको छ । काठका अस्थायी झोलुङ्गे पुल र केही ठाउँमा साँघुरा पदमार्गमा आवतजावत गर्न समस्या भएको छ । फोहर व्यवस्थापन र पाहुनाको सहजताका लागि होटलको क्षमता बढाउन गाउँपालिका र एक्यापसँग पहल गरेको पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।

    अन्नपूर्ण आधार शिविरको भ्रमण गरेर फर्कनुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तातोपानीदेखि हुमखोलासम्मको सडक स्तरोन्नति, झोलुङ्गे पुल, पदमार्ग र होटल तथा आश्रयस्थलको क्षमता विस्तारका लागि गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेचर र कल्चरको अद्भुत संगमस्थल अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार पहुँच पु¥याउन र सरसफाइमा ध्यान दिन जरुरी छ । यसका लागि म सक्दो सहयोग गर्दछु ।”

    अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मौरिस हर्जोग पदमार्गको प्रवद्र्धनका लागि महोत्सव, आरोहण दिवस मनाउने, अन्नपूर्ण हिमाल चढ्ने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य स्थापित, एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिनुभयो । गाउँपालिकाले पदमार्ग, सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, आश्रयस्थल निर्माणको कामलाई निरन्तरता दिएको छ । रासस

  • विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

    विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

    ३ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् । उनी लेख्छन्, ‘एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपना, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।’ आज तीन बजे विपिनको शव काठमाडौं ल्याइदैछ ।

    जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन बजे आफुहरु विमानस्थल जान लागेको उनले बताएका छन् । उनी भन्छन्, ‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

    अन्तिम त्रासदीको क्षणमा पनि विपिनले देखाएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचाएको कुलमानको भनाई छ । विपिनको यो विरतापूर्ण कार्य उनको जीवनको सर्वोच्च विरासत समेत भएको कुलमानले उल्लेख गरे । उनी भने, ‘यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।’
    उनले नेपाली वर्तमान अर्थ व्यवस्थाको अन्त्य हरेक नेपालीले नेपालमै बसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविश्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न समेत अपिल गरेका छन् ।

  • कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

    काठमाडौं, २ कात्तिक, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएको हो ।

    पोल नं १, ४, ५ र ६मा फ्लडलाइट आंशिक रुपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए ।

    दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्यारापेट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । परापेटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदैछ ।
    सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।

  • ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु

    ढाकास्थित विमानस्थलमा भएको भीषण आगलागीको अनुसन्धान सुरु

    ढाका, २ कात्तिक (रासस÷एएफपी) । बङ्गलादेशका व्यापारीहरूले आइतबार देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीपछि ठूलो आर्थिक क्षतिको आशङ्का व्यक्त गरेका छन् । सरकारले घटनाको कारण पत्ता लगाउन तत्काल अनुसन्धान सुरु गरेको छ । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका कार्यकारी निर्देशक एस. एम. रागिब समदका अनुसार कार्गो कम्प्लेक्समा लागेको आगोबाट बाक्लो कालो धुवाँ धावनमार्गमा फैलिएकोले केही समयका लागि सबै उडान स्थगित गर्नुपरेको थियो ।

    उक्त कार्गो कम्प्लेक्समा कपडा, तयारी कपडा, औषधि, रसायन तथा अन्य आयात वस्तुहरू भण्डारण हुने गर्दथे । अहिले यो भवन भग्नावशेषमा परिणत भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय राजस्व बोर्ड (एनबिआर) ले क्षतिको मूल्याङ्कन सुरु गरेको जनाएको छ । व्यापारिक समूहहरूले भने प्रत्यक्ष घाटा र व्यापारिक प्रभाव लाखौँ अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् । बङ्गलादेश विश्वको दोस्रो ठूलो तयारी पोशाक (गार्मेन्ट) उत्पादक देश हो । कपडा तथा तयारी कपडाबाट देशको कुल निर्यातको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ ।

    एनबिआरका अधिकारी मोसिउर रहमानले भने, “हामीले हाम्रो मूल्याङ्कन सुरु गरिसकेका छौँ ।” उहाँले क्षतिको परिमाण अत्यन्त ठूलो हुने सङ्केत गर्नुभयो ।
    आगो अत्यन्त तीव्र भएकाले ३७ वटा दमकलका एकाइ र सुरक्षाकर्मीहरू घण्टौँसम्म आगो नियन्त्रणमा ल्याउन प्रयासरत रहे । आइतबार बिहानसम्म पनि जलेको भग्नावशेषबाट धुवाँ निस्किरहेको थियो । एक थकित अग्निनियन्त्रकले भने, “आगो हरेक कुनामा फैलिएको थियो । कुनै पनि भाग जोगिन सकेको छैन होला ।”

    आयातकर्ता आनन्द कुमार घोषले दुःख व्यक्त गर्दै भने, “हामीले आज हाम्रा ग्राहकहरूलाई कन्साइनमेन्टहरू डेलिभर गर्ने योजना बनाएका थियौँ, तर सबै जलेको छ । मैले ५२ वटा कन्साइनमेन्ट गुमाएँ ।” स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकारी मोइनुल अहसानका अनुसार कम्तीमा चार व्यक्ति हल्का घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण भने हालसम्म पत्ता लागेको छैन । तर सरकारले हालै ढाका र चटगाँवका विभिन्न रासायनिक र गार्मेन्ट उद्योगमा भएका आगलागी र १६ जनाको ज्यान गएको घटनापछि बढ्दो सार्वजनिक चिन्तालाई गम्भीरताका साथ लिएको जनाएको छ ।

    An airline plane stands on the tarmac as firefighters try to extinguish a fire that broke out in the cargo section of Hazrat Shahjalal International Airport in Dhaka on October 18, 2025. (Photo by Maruf Rahman / AFP) / ALTERNATE CROP

    सरकारका अनुसार सबै आगलागी घटनाको ‘गम्भीर र निस्पक्ष अनुसन्धान’ भइरहेको छ र तोडफोड वा आगजनीको कुनै पनि प्रमाण भेटिएमा ‘द्रुत र दृढ कार्यवाही’ गरिनेछ । विज्ञप्तिमा भनिएको छ, “आपराधिकता वा उक्साहटका कुनै पनि कार्यले सार्वजनिक जीवन वा राजनीतिक प्रक्रियामा बाधा पु¥याउन अनुमति दिइने छैन । देशमा शान्ति र एकताको आवश्यकता अत्यन्त महत्त्वपूर्ण छ ।”

    सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पदच्युत भएकी थिइन् । त्यसयता १७ करोड जनसङ्ख्या भएको यो दक्षिण एसियाली देश राजनीतिक उथलपुथलमा फँसेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने तीव्र प्रतिस्पर्धात्मक चुनावको तयारी भइरहेको छ ।

    विज्ञप्तिमा थप भनिएको छ, “यदि यी आगलागीहरू तोडफोडका कार्यहरू साबित भए भने तिनीहरूको उद्देश्य देशमा आतङ्क र विभाजन फैलाउने हो । तर हामी डरलाई हाम्रो तर्क र सङ्कल्पमाथि हावी हुन दिँदैनौँ । बङ्गलादेशले विगतमा पनि धेरै चुनौतीको सामना गरेको छ र यसपटक पनि एकता, शान्ति र दृढ सङ्कल्पका साथ नयाँ लोकतन्त्रका लागि हरेक खतराको सामना गर्नेछ । हामीसँग डराउनु बाहेक अरू केही छैन ।”

  • सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    सरकारको मन्त्री सिफारिस मिश्रामाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ । निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी÷गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ ।

    यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । मिश्राको नाम वर्तमान अन्तरिम सरकारको मन्त्रीका रुपमा सिफारिस भएको थियो । अन्तिम समयमा आएर उृनको नाम काटिएको थियो ।

  • प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिइने

    काठमाडौँ, २ कात्तिकः बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौंँ जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए । सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन् ।

    निर्णयमा लेखिएको छ, “२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौंँ जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने ।” काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् ।

  • पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

    पर्वत, २ कात्तिकः साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ । जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।

    हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन् । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे ।


    साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे । पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

    क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उनले भने । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताए । उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो ।

    “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उनले भने । वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ ।

  • पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

    पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

    इस्लामाबाद, २ कात्तिक (रासस\सिन्ह्वा) । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताएका छन् । शुक्रबार मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन गर्न विस्तृत अध्ययन भइरहेको जानकारी दिए ।


    उनका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा देखिएको छ । त्यसपछि पूर्वाधार क्षेत्रमा ३०७ अर्ब रुपैयाँ (१.१ अर्ब डलर) बराबरको क्षति भएको छ । बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरहरूमा क्षति पुगेको उनले जानकारी दिए । मन्त्री इकबालले भनेअनुसार, यी बाढीजन्य क्षतिहरूका कारण चालू आर्थिक वर्ष (जुलाई २०२५ देखि जुन २०२६ सम्म) मा पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले कमी आउनेछ ।

    यसअघि ४.२ प्रतिशतको लक्ष्य राखिएको भए पनि अहिले ३.५ देखि ३.९ प्रतिशतको दरमा सीमित हुने अनुमान गरिएको छ । उनले भने, “यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुर्ननिर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछ । विशेषगरी पूर्वाधार पुनः निर्माण, जनजीविका पुनःस्थापना र भावी जलवायु जोखिमको सामना गर्ने क्षमता विकासमा ध्यान दिइनेछ ।”

  • कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    देव र असुर मिली नागको नेती तथा मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।

    त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजाआराधना हुने गर्छ ।

    आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।

    कोरोना भाइरस एवं डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धान गरिरहेको जनाइएको छ । कोरोना र डेङ्गु रोगबाट बच्न मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोना एवं डेङ्गु रोगकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।

  • सडकका थप ५० ठेक्का तोड्दै सरकार

    सडकका थप ५० ठेक्का तोड्दै सरकार

    २ कात्तिक, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौली लगायतका कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एउटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले सबैभन्दा धेरै २१ वटा ठेक्का किन तोड्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

    यसैगरी काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँचरपाँच, दमौली र पाल्पाले चाररचार वटा ठेक्का किन तोड्ने भन्दै सूचना जारी गरेका छन् । धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले पनि त्यही व्यहोराको सूचना जारी गरेका छन् । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

    सार्वजनिक सूचनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाइ निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लंघन गरेको उल्लेख छ । विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ ।

    सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

  • नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    नयाँ भाँडा किनेर मनाइयो धनतेरस

    काठमाडौँ, १ कात्तिकः कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ । धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको विशेष पूजाआराधना गरिएको हो । केहीले आज कुबेरको पूजा गरे पनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाको दिन गर्दछन् ।

    भाण्ड त्रयोदशीसमेत भनिने आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको बजारमा घुइँचो लागेको छ ।

    आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले पनि चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानदेखि ग्राहकको भीड लागेको थियो । तिहार लाग्नु एक साताअघिदेखि नै भाँडाको बिक्री बढेको भाँडा व्यवसायी देवप्रसाद बानियाँले जानकारी दिए । भाँडा पसलमा एक साताअघिदेखि तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म पनि जारी रहन्छ ।

  • नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरिने

    १ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए ।


    “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ”, उनले भने ।


    हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो । कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषकोे वित्तीय स्रोतका रूपमा रु सात अर्ब स्वःपुँजी (इक्विटी) रहेको, एसियाली विकास बैंकमार्फत रु पाँच अर्ब १९ करोड, विश्व बैंकबाट रु १२ करोड र नेपाल सरकारबाट रु दुई अर्ब ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले रु १६ अर्ब ऋण प्रवाह गरेको उनले बताए ।


    कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण÷अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

  • पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

    अशोक घिमिरे\रासस
    काठमाडौँ, १ कात्तिकः नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    “नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ”, प्रमुख आचार्यले भन्नुभयो । पाइपलाइनबाट दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याउन सकिन्छ । तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था बनेको छैन । “दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने ।


    पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएको छ । पाइपलाइनबाट ल्याइएका पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ट्रान्समिक्स ट्रयाङ्क, अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र दुई हजार २०० किलोलिटर मट्टितेल राख्न सकिने बनाइएको छ । अमलेगञ्ज डिपो नेपालको सबैभन्दा ठूलो र अत्याधुनिक रहेको छ । पूराना र नयाँ गरी अमलेखगन्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने भएको छ ।

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगञ्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र दुई हजार २७० किलोकिलटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले अहिले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    पेट्रोलियम पाइपलाइनबाट इन्धन आयात गर्दा सडक मार्गमा आउने अवरोध अन्त्य भएको छ । “टयाङ्कर दुर्घटनामा पर्नेदेखि सडक मार्गमा आउनसक्ने समस्याको जोखिम कम भएको छ”, प्रमुख आचार्यले भने, “इन्धन चोरी तथा मिसावटको प्रश्न उठ्ने नै भएन ।” पाइपलाइनबाट इन्धन ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम पर्ने उहाँको भनाइ छ ।

    पेट्रोलियम पदार्थ ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ । पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक रु तीन अर्ब ढुवानी खर्च बचत भएको छ । ढुवानी खर्च वचत भएपछि निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।

    सरकारले सिलगुडी ९भारत०–चारलआली (झापा) र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकी निर्माणको काम अघि बढाएको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको छ । निगमले गत साउन १६ गतेदेखि दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम थालेको हो ।

    राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ विघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिनेछ । अमलेखगञ्जदेखि लोथरसम्मको दूरी ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इञ्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ । उक्त परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । बासठ्ठी किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिनेछ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।

  • ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

    ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

    काठमाडौँ, १ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो ।

    कामपालको ‘स्वच्छ खाना स् उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नुस् कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने । न्यौपानेले भने, “तिहारमा अघिका प्रयोग गरिने मिठाईजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानुनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ ।”

    कामपाले प्राविधिक र स्वच्छता मिठाई व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाईमा प्रयोग गरिने रङ र सामग्री, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिईसकेको छ ।

    कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । कामपाले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ । आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ । अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ ।

    केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ । प्रमुख न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रमुख नुरनिधि न्यौपानेका अनुसार सङ्क्रमण सानो लापार्वाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ उनले भने, “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिसौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।

  • मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

    मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

    १ कात्तिक, काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे दुर्घटना भएको हो ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् ।

    घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।

  • एनसेलको सिइओमा माइकल फोले नियुक्त

    एनसेलको सिइओमा माइकल फोले नियुक्त

    ३१ असोज, काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त भएका छन् । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी उनी नियुक्त भएको एनसेलले जनाएको छ । नयाँ सिइओ आएसँगै कार्यवाहक सिइओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । फोलेसँग दुई दशकभन्दा बढी समय दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव छ ।

    एनसेलमा आबद्ध हुनुअघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी) का सिइओका रूपमा कार्य गर्दै कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए । नियुक्तिपछि फोलेले भने, “काठमाडौँमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु ।

    एनसेल, देशका लागि महत्त्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायकमात्र होइनौँ, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौँ । हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौँ । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”

    एनसेलले जारी विज्ञप्तिमा भनिएको छ, “हामी यस महत्त्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ । उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्त्वपूर्ण हुनेछन् ।” फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुवै देशका नागरिक हुन् ।

  • कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

    कीर्तिपुरमा १० अर्ब लगानीमा यस्तो बन्ने भयो क्रिकेट मैदान

    ३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भएकाले यसको आधुनिकीकरण र विस्तारले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय योगदान पुर्‍याउने बताए । “रङ्गशालाको विकास नेपालका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न रङ्गशाला आवश्यक भएकाले गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण अघि बढाउने निर्णय गरिएको हो,” मन्त्री घिसिङले भने ।


    उनका अनुसार मन्त्रिपरिषद्ले गुरुयोजना बमोजिम जग्गा सम्बन्धी सम्झौता गर्न, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई अन्तिम रूप दिन र दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न स्वीकृति प्रदान गरेको छ । केही दिनअघि मन्त्री घिसिङ स्वयं कीर्तिपुरस्थित रङ्गशालाको निर्माणस्थल पुगेका थिए । स्थलगत निरीक्षणपछि उनले निर्माण कार्यलाई गुरुयोजना अनुसार राष्ट्रिय प्राथमिकतामा राखी बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए ।


    त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घ (क्यान)बीचको कीर्तिपुर क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ ।
    यस सन्दर्भमा मन्त्रिपरिषद्ले त्रिवि र युवा तथा खेलकुद मन्त्रालयरराष्ट्रिय खेलकुद परिषद्बीच आवश्यक सम्झौता गर्न निर्देशन दिएको छ, जसअनुसार रङ्गशालाको जग्गा दीर्घकालीन रूपमा खेल प्रयोजनका लागि सुरक्षित हुनेछ । हाल रङ्गशालाको पहिलो चरणअन्तर्गतका संरचना निर्माणाधीन छन् । मन्त्रालयका अनुसार आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अगावै रङ्गशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम तीव्रगतिमा भइरहेको छ ।

  • नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

    नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह

    वासिङ्टन डिसी, असोज ३१ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन् । कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस

  • आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

    आवको तीन महिना सकिँदा सम्म पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

    ३१ असोज, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् ।

    तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये एक सय १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    मधेश प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय दुई वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

    सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् ।

    महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् ।

    यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।

    लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिकाले चालु आवको बजेट प्रस्ुतत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेशअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।

    मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४ दशमलव २९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, पाँच दशमलव ७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ । रासस

  • सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

    सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

    काठमाडौं, ३१ असोज २०८२ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
    सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच\पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने रु भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । ठेक्का सम्झौता टोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ ।


    पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७÷६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । मन्त्री घिसिङले २६ असोजमा उक्त पुल निर्माणबाट छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए ।


    ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ ।
    विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ ।


    सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।


    उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

  • अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौँ, ३० असोजः सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतलाई आगामी कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    चीनमा प्रा डा कृष्णप्रसाद ओली, जर्मनीमा डा शैल रुपाखेती, इजरायलमा प्राध्यापक धनप्रसाद पण्डित, मलेसियामा डा नेत्रप्रसाद तिमिल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जङ्गबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा सनील नेपाल, संयुक्तअधिराज्य बेलायतमा चन्द्रकुमार घिमिरे, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी र जापानमा डा दुर्गाबहादुर सुवेदी कार्यरत छन् ।


    बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा ‘मल्टिडोनर ट्रस्ट फण्ड’बाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले इनरुवा(पूर्णिया र दोधारा(बरेली ४०० केभी अन्तदेशीय प्रसारण लाइन निर्माण गर्न ‘नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ लिमिटेड’को संयुक्त लगानीमा नेपाल र भारतमा दुई वटा संयुक्त कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । ती कम्पनीमा नेपाल विद्युत् प्राधिकरणबाट क्रमशः रु एक अर्ब र दुई अर्ब रकम बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।


    बैठकले नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताका लागि प्रस्ताव गर्न स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष प्र्रस्ताव पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

    बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ । सो योजनाबमोजिमको बाँकी कार्यका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउन स्वीकृत दिने निर्णय पनि भएको छ । नेपालले क्रिकेटमा प्राप्त गरेको सफलता र उक्त आयोजना पनि सँगसँगै अघि बढेको मन्त्री खरेलले बताए । सरकारले नेपाल न्यायसेवा समूहको राजपत्राङ्कीत प्रथम श्रेणीका राजिष्टार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कीत विशिष्ट श्रेणीमा बढुवा गरी न्यायपरिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    सोही सेवाका सरकारी वकिल समूहका कामु नायब महान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । रासस

  • २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

    काठमाडौँ, ३० असोजः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला रु तीन हजार २४० मा किनबेच भएको थियो ।

  • दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ,” बेसेन्टले एक पत्रकार सम्मेलनमा भने ।


    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला उनको यो टिप्पणी आएको हो। “हामी कसैलाई छुटाउन चाहँदैनौं। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ,“ बेसेन्टले भने ।
    बेइजिङले दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उनले यस्तो बताएका हुन् ।

    चीन कार, विद्युतीय र रक्षा उद्योग सामानको लागि चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूको विश्वको अग्रणी उत्पादक हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकार सम्मेलनमा भने, “यो केवल अमेरिकाको बारेमा मात्र होइन ।” उनले भने, “चीनको घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन।

    “यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ । उनले दोस्रो कार्यकाल सम्हालेपछि कुनै बिन्दुमा प्रतिशोधात्मक कर तीन अङ्कमा पुगेको थियो।

    दुबै पक्षले तनाव कम गरेका छन् तर उनीहरूको युद्धविराम अस्थनयी हो र नोभेम्बरको सुरूमा समाप्त हुनेछ। चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । बेसेन्टले भने, “दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव छ ।”

  • एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

    काठमाडौँ, ३० असोजः ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने आज सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८ मा ठेक्का सम्झौता गरेको थियो । छ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । आयोजनाले पटकपटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ ।

    ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ । पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये छ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।