Category: अर्थतन्त्र

  • अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

    काठमाडौँ, २१ कात्तिक । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    संयुक्त निर्देशक समिति ९जेएसी०को १२औँ बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ हस्ताक्षर सम्पन्भएको छ । सोही सम्झौताबमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए ।
    त्यसैगरी, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ । ती प्रसारण लाइनमा प्राधिकरणले ‘क्यापासिटी बुकिङ’ गरिएको सहसचिव देवले बताए । प्राधिकरणले हालसम्म ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ । कुल १२ हजार ६४६ मेगावाट बराबरको विद्युत् खरिदबिक्रीका लागि आवेदन प्राप्भएकामध्ये पाँच हजार २३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्भएको छ ।

    विद्युत् खरिदबिक्री सम्झौता सम्पन्भएका र विद्युत् खरिदबिक्रीका लागि आवेदन दिइएका विद्युत् आयोजनाबाट उत्पादित विद्युत्को बजार सुनिश्चितताका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणको कामलाई प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ । हाल ढल्केवर–मुज्जफरपुर चार सय किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन सञ्छ ।

    यस्तै, न्यू बुटवल–गोरखपुर किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणधीन छ । सो प्रसारण लाइन सन् २०२६ मा निर्माण सम्पन्न हुनेछ । ढल्केवर मुज्जफरपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको नेपाली खण्ड र भारतीय खण्ड निर्माण तथा सञ्लागि नेपाल र भारतमा अलगअलग संयुक्त कम्पनी स्थापना भई सञ्चालनमा छन् । नेपालमा स्थापना भएको संयुक्त कम्पनीमा प्राधिकरणको ५० प्रतिशत सेयर छ ।

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुर, २१ कात्तिक स् देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ ।

    “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उनले भने, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उनले बताए । भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उनको भनाइ छ ।

    परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् ।

    पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । फलाम तताउने, छेउ धारिलो पार्ने, फलाम पिट्ने, बिँड लगाउने, दाप बनाउने काम अहिले पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी देशका विभिन्न ठाउँसँगै अमेरिका, बेलायतलगायत देशबाट पनि माग हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

    रासस

  • अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

    मुस्ताङ, २० कात्तिकः मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
    यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए ।

    हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का भेरोलबाट छुट्टिएका थिए । रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का भेरोलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का भेरोलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

  • टेलिकम कम्पनीको घट्दो आम्दानी, चर्को कर

    टेलिकम कम्पनीको घट्दो आम्दानी, चर्को कर

    कमलकुमार बस्नेत / रासस

    काठमाडौँ, २० कात्तिकः पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४\७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।

    टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छभने नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ । टेलिकम क्षेत्रका जानकारहरू पछिल्ला वर्षमा आम्दानीको स्रोत बढाउन नसक्दा टेलिकम क्षेत्र सङ्कटोन्मुख भएको दाबी गर्छन् । तत्काल नीतिगत सुधार नगर्ने हो भने यो क्षेत्र समस्यामा पर्ने जानकारहरूको बुझाइ छ । आम्दानी र नाफामा देखिएको सङ्कुचनका कारण ‘फाइभजी’लगायतका पूर्वाधारमा आवश्यक लगानी हुन नसकेको कतिपयको तर्क छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाका रूपमा लिनुपर्ने अवस्था रहे पनि नेपालमा भने विलासितापूर्ण वस्तुमा जस्तै कर लगाइएको बताउँछन् । उनका अनुसार हाल दूरसञ्चार कम्पनीमाथि विभिन्न शीर्षकमा कर लगाइएको छ । हाल टेलिकम कम्पनीले कर्पोरेट कर ३० प्रतिशत बुझाउनुपर्छ, जबकि अन्य क्षेत्रलाई यस्तो कर २५ प्रतिशत मात्रै छ । त्यसैले दूरसञ्चार क्षेत्रमा लगाइएको करमा पुनरावलोकन गर्न आवश्यक भएको कँडेलको बुझाइ छ ।

    नेपाल टेलिकमका अनुसार कम्पनीको आम्दानी लगातार ओरालो लाग्नुमा नीतिगत समस्या, ‘ओटिटी’को प्रयोग र चर्को नवीकरण शुल्क हो । त्यसबाहेक पनि नाफा कम हुनाका कारण भने चर्को कर पनि भएको टेलिकमको भनाइ छ । टेलिकमका अनुसार कम्पनीले आव २०८१\८२ मा रु ३८ अर्ब ७३ करोडमध्ये नाफा जम्मा रु दुई अर्ब ६६ करोड छ । अघिल्लो आवमा कम्पनीले रु छ अर्र्ब २३ करोड नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा सङ्कुचन हुनुमा आम्दानीको ठूलो हिस्सा ‘जिएसएम’ अनुमतिपत्र नवीकरणका लागि खर्च भएको थियो । कम्पनीले गत आवमा रु २० अर्ब नवीकरणमा खर्च गरेको थियो भने त्यसबाहेक विभिन्न शीर्षकका करमा बुझाउनु पर्दा नाफामा उल्लेख्य कमी आएको हो ।

    टेलिकम सेवाप्रदायक एनसेलका अनुसार टेलिकम क्षेत्र अधिक कर तिर्नेमा पर्छ । केही समयअघि एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले टेलिकम कम्पनीले ठूलो हिस्सा कर र शुल्कका नाममा सरकारलाई बुझाउनु पर्दा नाफामा असर परेको बताउनुभएको थियो ।

    उहाँका अनुसार नेपालका टेलिकम सेवाप्रदायकले औसतमा आम्दानीको ५० देखि ६० प्रतिशतसम्म सरकारलाई कर र शुल्कका रूपमा तिरिरहेका छन् । करको यो अनुपात तुलनात्मक रूपमा अन्य देशको तुलनामा उच्च हो । त्यति मात्रै होइन, नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा टेलिकम क्षेत्रको योगदान पनि घट्दै गएको छ । हाल जिडिपीमा टेलिकम क्षेत्रको हिस्सा एक दशमलव दुई प्रतिशत मात्र छ । यो कुल राजस्वको तीन दशमलव चार प्रतिशत हिस्सा हो ।

    एनसेलका अनुसार टेलिकम कम्पनीले हाल सुर्ती र मदिरा उद्योगको तुलनामा तीन गुणा राजस्वमा योगदान गरिरहेका छन् । यस्तै, एनसेलले आव २०८१÷८२ मा रु ३२ अर्ब ४८ करोड आम्दानी गरेको थियो, जसमध्ये कर तथा विभिन्न १३ शीर्षकमा रु १६ अर्ब ९८ करोड सरकारलाई बुझाएको छ । यो शुल्क आम्दानीको ५२ प्रतिशत बराबर हो ।

    एनसेलले आफ्ना विवरणमा उल्लेख गरेको छ, “घट्दो आम्दानी र चर्को शुल्कका कारण हामीले अपेक्षाकृत रूपमा थप लगानी गर्न नपाएको अवस्था छ । हामीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा पनि करका शीर्षक र दर पुनरावलोकनका लागि सुझाव दिएका छौँ, टेलिकम क्षेत्रमा लगाइएको करको दर नघटाउने हो भने टिक्न गाह्रो हुने अवस्था छ ।” एनसेलले गत आवमा मात्रै जिएसएम लाइसेन्स, आइएसपी लाइसेन्स, टिएससी, ओटी, नेट भ्याट पेमेन्ट अन सेल्स, भन्सार शुल्क, टिडिएस, एड्भान्स कर, रोयल्टी, आरटिडिएफ, फ्रिक्वेन्सी शुल्क, समाजसेवा तथा अन्य शीर्षकमा करिब रु १७ अर्ब बुझाइसकेको जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आव २०८०÷८१ मा टेलिकम कम्पनीहरूले रु ६८ दशमलव पाँच अर्ब आम्दानी गरेका थिए भने रु ३७ दशमलव सात अर्ब कर र शुल्कका रूपमा सरकारलाई बुझाएका थिए । हाल टेलिकम कम्पनीहरूले आम्दानीबाट १३ प्रतिशत मूल्य अभिवृद्धि करसँगै १० प्रतिशत टेलिकम सेवा शुल्क, चार प्रतिशत रोयल्टी, दुई प्रतिशत ग्रामीण टेलिकम विकास कोष, दुई प्रतिशत स्वामित्व कर (सिम कार्ड तथा ल्यान्डलाइनमा) र विभिन्न शुल्क तथा अग्रिम कर तिर्दै आएका छन् ।

    अन्तरराष्ट्रिय अभ्यास हेर्दा एसिया–प्यासिफिकका १० देशहरूको तुलनामा नेपालले सबैभन्दा उच्च कर दर अपनाएको जानकारहरू बताउँछन् । चीनमा टेलिकम कम्पनीले छ प्रतिशत भ्याट र २५ प्रतिशत कम्पनी कर बुझाउनुपर्छ भने भारतमा १८ प्रतिशत जिएसटी र २५ प्रतिशत कम्पनी कर, थाइल्यान्डमा सात प्रतिशत भ्याट र २० प्रतिशत कम्पनी करको प्रावधान छ ।

    जिएसएमए मोबाइल कनेक्सन इन्डेक्स, २०२३ अनुसार नेपाल ११९औँ स्थानमा छ । ‘रिपोर्ट’मा भनिएको छ, “जहाँ टेलिकम कम्पनीलाई कम कर तिर्नुपर्छ, त्यहाँ लगानी, नेटवर्क बिस्तार र सेवा गुणस्तर उच्च हुन्छ ।” विश्व बैङ्क र अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घका अध्ययनमा पनि ब्रडब्यान्ड पहुँचमा हरेक १० प्रतिशत वृद्धि हुँदा देशको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतले बढ्ने उल्लेख छ ।

    हाल टेलिकम कम्पनीबाट लिइँदै आएको १० प्रतिशत टेलिकम सेवा शुल्क, दुई प्रतिशत स्वामित्व कर, चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण टेलिकम विकास कोष जस्ता क्षेत्र–विशेष करहरू पूर्ण रूपमा हटाउन आवश्यक भएको सम्बद्ध पक्षको भनाइ छ । यस्तै, हाल ३० प्रतिशत रहेको कर्पोरेट कर दर घटाएर २५ प्रतिशतमा झार्न र पाँच वर्षका लागि रु २० अर्ब रहेको लाइसेन्स शुल्कलाई कम्पनीको वार्षिक आम्दानीको आठ प्रतिशतमा सीमित गर्नका लागि नेपाल टेलिकमले दूरसञ्चारको ऐनको मस्यौदामा सुझावसमेत दिएका जनाइएको छ ।

  • जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने


    काठमाडौँ, कात्तिक २० गते । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।

    त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

  • क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

    क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य

    ओटावा, १८ कात्तिक (रासस–एएफपी) । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे ।
    राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र बेलायत दुवै देशका केन्द्रीय बैंकका गभर्नर रहिसकेका कार्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण उत्पन्न चुनौतीपूर्ण अमेरिकी सम्बन्धको अवस्थाबाट देशलाई पार लगाउने ‘अनुभवी नेतृत्व’ भएको व्यक्ति भनेर प्रस्तुत गरेका छन् । ट्रम्प प्रशासनले लगाएको उच्च करका कारण क्यानाडाको अटोमोबाइल, एल्युमिनियम र स्टिल उद्योगहरूमा ठूलो असर परेको छ । त्यसले बेरोजगारी बढाएको र उद्योगहरूमा लगानी घटाएको छ ।

    “नयाँ अमेरिकी व्यापार नीतिले सिर्जना गरेको अवरोधका बीच हामीले अब वृद्धि र अवसर कहाँ खोज्ने भन्ने प्रश्नको उत्तर यही बजेटले दिनेछ”, प्रधानमन्त्री कार्नीले गत साता दक्षिण कोरियामा पत्रकारहरूसँग भनेका थिए । उनको लिबरल सरकारका अनुसार यो बजेटले क्यानाडाको आर्थिक र सुरक्षा नीति दुवैलाई अमेरिकी दबाबबाट स्वावलम्बी दिशातर्फ मोड्नेछ । अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनले संसद्मा बजेट प्रस्तुत गर्नुअघि यसलाई ‘लगानीमुखी बजेट’ भनेर परिभाषित गर्दै भने, “यो भोलिको क्यानाडा निर्माण गर्ने योजना हो ।”

    अर्थ मन्त्रालयले बजेटको विस्तृत विवरण अन्तिम घडीसम्म गोप्य राखे पनि प्रमुख प्रावधानहरूमा नाटोको लक्ष्य अनुसार रक्षा खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । साथै, प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आर्थिक ‘विच्छेद’ का बीच क्यानाडाको आर्थिक सार्वभौमिकता बलियो पार्ने उद्देश्यले राष्ट्रिय स्तरका ठूला पूर्वाधार तथा ऊर्जा परियोजनाहरूका लागि रकम छुट्याउने तयारी गरेका छन् ।
    यी परियोजनामा बन्दरगाह विस्तार, ऊर्जा उत्पादन र दुर्गम क्षेत्रका महत्त्वपूर्ण खनिज उत्खननलाई सशक्त पार्ने योजनाहरू समावेश छन् ।

    प्रधानमन्त्रीले यसलाई ‘क्यानाडाको भविष्यका लागि दीर्घकालीन लगानी’ का रूपमा वर्णन गरे । अप्रिलमा सम्पन्न आमनिर्वाचनमा पूर्ण कार्यकालका लागि निर्वाचित हुनुअघि उनले जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेका थिए । कार्नीले ट्रम्प–युगका तनावहरू ‘अझै समाप्त भएका छैनन्’ र त्यसको असरबाट बच्न क्यानाडाले दीर्घकालीन रणनीति अवलम्बन गर्नैपर्नेछ भन्दै पटक–पटक चेतावनी दिँदै आएका छन् ।


    “यो बजेटले अमेरिकामाथिको हाम्रो निर्भरता घटाउनेछ”, उनले भने, “तर यस्तो रूपान्तरण रातारात सम्भव हुँदैन ।” हाल संसद्मा लिबरल पार्टी बहुमतभन्दा तीन सिटले कम भएकाले सरकारलाई बजेट पारित गर्न विपक्षीहरूको समर्थन वा अनुपस्थितिको आवश्यकता छ । बजेट ‘विश्वास मत’ भएकाले त्यसमा असफल भएमा नयाँ निर्वाचनको सम्भावना स्वतः खुल्नेछ ।

    सबैभन्दा ठूलो विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले समर्थनको सर्तका रूपमा घाटा घटाउने माग गरेका छन् । यसबीच ओटावा विश्वविद्यालयकी सार्वजनिक नीति विज्ञ जेनेभिभ टेलियरले भनिन्, “म बजेट घाटा निकै ठूलो हुने अपेक्षा गर्छु, तर सरकारले खस्ने सम्भावना भने न्यून देखिन्छ ।”

    वामपन्थी न्यु डेमोक्रेट पार्टी अर्को चुनाव टार्ने मनस्थितिमा देखिएकाले सम्भवतः मतदानबाट टाढा रहनेछ । यस पार्टीले अप्रिलमा कमजोर प्रदर्शन गरेपछि आधिकारिक विपक्षको दर्जा गुमाएको छ । “म पूर्ण रूपमा विश्वस्त छु कि यो बजेट देशको आवश्यकता अनुरूपको सही बजेट हो”, सप्ताहन्तमा पत्रकारहरूले बजेट पारित हुने आत्मविश्वासबारे सोध्दा प्रधानमन्त्री कार्नीले भने, “यो कुनै खेल होइन—आवश्यक परे मैले आफ्ना नीतिहरूको रक्षा चुनावी मैदानमै गर्नेछु ।”

  • दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

    दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

    सियोल, १८ कात्तिक (रासस\एएफपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेका छन् । उनले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने’ घोषणा गरे ।

    राष्ट्रपति लीले १०१ खर्ब वोन (करिब सात अर्ब अमेरिकी डलर) को लगानीद्वारा दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिइएको बताए । “हामी एआई युगको नयाँ अध्याय खोल्दैछौँ, जसका लागि लगानी अभूतपूर्व रूपमा विस्तार गरिनेछ”, उनले सम्बोधनमा भने । उक्त रकम यस वर्षको एआई सम्बन्धी बजेटभन्दा तीन गुणा बढी हो ।

    सन् २०२६ का लागि प्रस्तुत गरिएको सरकारी बजेटको कुल आकार सात हजार २८० खर्ब वोन रहेको छ । यो चालु वर्षको तुलनामा ८.१ प्रतिशतले बढी हो । राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको छ । रक्षा क्षेत्रको बजेटमा समेत उल्लेखनीय वृद्धि प्रस्ताव गरिएको छ । राष्ट्रपतिले यस वर्षको तुलनामा ८.२ प्रतिशत बढाएर ६६३ खर्ब वोन पुर्‍याउने लक्ष्य राखेका छन् । यो पारित भएमा सन् २०१९ पछि यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हुनेछ ।

    उनले भने, “हामी परम्परागत हतियार प्रणालीहरूलाई सुधार्दै एआई युगका लागि उपयुक्त अत्याधुनिक प्रविधि अपनाउनेछौँ, जसले हाम्रो सेनालाई छिटो एक बुद्धिमान र सक्षम शक्तिमा रूपान्तरण गर्नेछ ।” राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ ।

    दक्षिण कोरिया विश्वका दुई ठूला मेमोरी चिप उत्पादक कम्पनी—सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स—को गृह देश हो । यी दुवै कम्पनीले एआई प्रविधि र उच्च क्षमतायुक्त डेटा सेन्टरहरूका लागि आवश्यक चिप्स उत्पादन गर्छन् ।

    गत हप्ता अमेरिकी चिप कम्पनी एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले दक्षिण कोरियालाई आफ्नो कम्पनीका सबैभन्दा उन्नत दुई लाख ६० हजार चिप्स आपूर्ति गर्ने योजना घोषणा गरेका थिए । उनले त्यसलाई ‘महत्त्वाकांक्षी लक्ष्य’ बताउँदै भने, “कोरियाले यो लक्ष्य हासिल गर्न नसक्ने कुनै कारण छैन—तपाईंहरूसँग प्रविधि, सफ्टवेयर दक्षता र विश्वस्तरीय उत्पादन क्षमतासम्म छ ।”

    दक्षिण कोरिया अमेरिकाको प्रमुख सैन्य सहयोगी राष्ट्र हो । यस मुलुकमा हाल करिब २८ हजार ५०० अमेरिकी सैनिक उत्तर कोरियाको सम्भावित खतराबाट सुरक्षा गर्न तैनाथ छन् । जुन महिनामा पदभार ग्रहण गरेदेखि राष्ट्रपति लीले उत्तर कोरियासँग पूर्व शर्तबिनाको संवाद र पारस्परिक सम्मानको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।


    उनले मङ्गलबारको सम्बोधनमा भने, “दक्षिण कोरियाले अहिले नै उत्तर कोरियाको वार्षिक कुल गार्हस्थ्य उत्पादनको डेढ गुणा रक्षा क्षेत्रमा खर्च गरिरहेको छ र हाम्रो देश विश्वका पाँचौँ शक्तिशाली सैन्य राष्ट्रहरूको सूचीमा पर्छ ।” सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सन्धि नभई केवल युद्धविराम सम्झौतामा समाप्त भएकाले सियोल र प्योङयाङबीचको द्वन्द्व औपचारिक रूपमा अझै अन्त्य भएको छैन ।

  • अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

    अनिल अम्बानीको सम्पत्ति किन भयो जफत ?

    मुम्बई, १८ कात्तिक (रासस\एएफपी) । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीहरूबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैंक धोखाधडी र मनी लन्ड्रिङसम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो ।

    एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी विगत दुई दशकयता आफ्नो व्यवसायिक साम्राज्यमा आएको गिरावटका कारण निरन्तर विवादमा परिरहनुभएको छ । एक समय ऊर्जादेखि दूरसञ्चार र रक्षा उद्योगसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यका स्वामी रहनुभएका उहाँ अहिले विभिन्न आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको केन्द्रमा पर्नुभएको छ ।

    इडीले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कार्यालय परिसर, आवासीय एकाइहरू र करिब १३२ एकड (५३ हेक्टर) जग्गासहितको सम्पत्ति फ्रिज गरिएको जानकारी दिएको छ । निकायले भनेको छ, “रिलायन्स अनिल अम्बानी समूहका विभिन्न कम्पनीहरूले सार्वजनिक कोषको धोखाधडीपूर्ण हेरफेर गरेका छन् र संस्थाले ती गैरकानूनी आम्दानीलाई सही दावीकर्ताहरूलाई पुनःस्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।”

    इडीको यो अनुसन्धान भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले गत अगस्टमा दायर गरेको आपराधिक मुद्दाको आधारमा प्रारम्भ भएको हो । सो मुद्दा देशकै सबैभन्दा ठूलो बैंक, स्टेट बैंक अफ इन्डिया (एसबिआई) ले दर्ता गरेको ठगी उजुरीबाट उत्पन्न भएको बताइन्छ । उजुरीमा रिलायन्स कम्युनिकेसनले बैंक कोषको दुरुपयोग गरी करिब २९ अर्ब २९ करोड रुपैयाँको नोक्सानी पुर्‍याएको आरोप लगाइएको थियो ।

    यसबीच, अनिल अम्बानी नियन्त्रित कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरले सोमबार विज्ञप्ति जारी गर्दै इडीको निर्णयले आफ्नो नियमित व्यापारिक सञ्चालनमा ‘कुनै असर नपार्ने’ जनाएको छ । कम्पनीका प्रवक्ताले अम्बानीका तर्फबाट भने, “उहाँले सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ र कानूनी रूपमा आफ्नो बचाउ गर्नुहुनेछ ।”

    अम्बानी सन् २०१८ मा विपक्षी नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँमाथि फ्रान्सबाट राफेल लडाकू विमान खरिद सम्झौतासम्बन्धी कथित अनियमितताको आरोप लगाएको समयमा पनि सार्वजनिक चर्चामा आएका थिए । तथापि, ती आरोपहरू दुवै पक्षले अस्वीकार गरेका थिए । भारतको सर्वोच्च अदालतले सो मुद्दामाथि अनुसन्धानको मागलाई सन् २०१८ डिसेम्बरमा खारेज गरेको थियो र त्यसपछि यो विवाद औपचारिक रूपमा बन्द भएको मानिएको थियो । हाल इडीको ताजा कारबाहीले पुनः एकपटक अनिल अम्बानीलाई भारतीय वित्तीय क्षेत्र र कानूनी निकायहरूको गम्भीर ध्यानको केन्द्रमा ल्याएको छ ।

  • नेपालबाट पहिलो पटक फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    नेपालबाट पहिलो पटक फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    काठमाडौँ, १९ कात्तिकः भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो । भैरहवा भन्सार कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ ।

    अमेरिकी बजारमा नेपाली फ्रेन्च प्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनको विश्वबजार विस्तारको ढोका खोल्ने विश्वास लिइएको छ । भैरहवा भन्सार कार्यालय निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको भन्सार कार्यालयले जनाएको छ । निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहने समेत भैरहवा भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

  • कसरी गरिँदैछ विद्युत् महसुल विवाद समाधान ?

    कसरी गरिँदैछ विद्युत् महसुल विवाद समाधान ?

    काठमाडौँ, १९ कात्तिकः डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो । उद्योगी तथा व्यवसायीले पहिलो किस्ता बुझाएको १५ मिनेटभित्रै काटिएका लाइन जोडन नेपाल विद्युत् प्राधिकरण समेत तयार भएको छ ।

    सोमबारमात्रै चार वटा उद्योगले पहिलो किस्ता जम्मा पारेको १५ मिनेटमा नै प्राधिकरणले बिच्छेद गरिएको लाइन जोडिदिएको थियो । यसबाट पनि क्रमशः सकारात्मक वातावरण बनेको अनुमान गर्न सकिन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले दिएको २८ किस्ताको सुविधामध्ये पहिलो किस्ताको रकमलाई किस्ताका रुपमा नलिई धरौटीका रुपमा बुझाएपछि काटिएको लाइन जोडिने जानकारी दिए । पहिलो किस्तालाई किस्ताका रुपमा नमानी धरौटीका रुपमा बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जाने र सँगै अन्य कानुनी उपचार खोज्न पनि सक्नेछन् ।

    प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्यमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानको मध्यमार्गी प्रस्ताव गरिएको थियो ।

    प्रस्तावअनुसार उद्योगीले प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जानेसँगै अन्य कानुनी उपचार पनि खोज्न सक्नेछन् ।

    सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखी पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरी पेस गर्न सक्नेछन् । समस्या समाधानका लागि महासङ्घ अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीलाई महासङ्घमा आमन्त्रित गरी छलफल गरिएको थियो ।

    उद्योगीहरुले महासङ्घ अध्यक्षलाई छलफल गर्दा किस्ता रकम नभनी विवादित रकमको धरौटीका रुपमा प्राधिकरणले स्वीकार गरी कानुनी उपचारको अवसर प्राप्त भए सहमति हुन सकिने बताएका थिए । अहिले करिब दुइ दर्जन उद्योगको डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेवापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको छ । लामो समयदेखि विवाद समाधानका लागि अनेकन प्रयास भएपनि सार्थक समाधान हुन सकेको थिएन ।

    पछिल्लो पटक सरकार र उद्योगी व्यवसायीबीच छलफलका आधारमा मध्यमार्गी प्रस्ताव तयार पारेर समाधानको उपाय निकालेका हुन् । प्राधिकरणले पनि पहिलो किस्ताको रकम उपलब्ध गराए लाइन जोडिने प्रष्ट पारिसकेकाले विवाद तत्कालका लागि समाधान हुने स्पष्ट भएको छ । डेडिकेटेड र ट्रङ्कलाइन वापतको झण्डै रु आठ अर्ब बराबरको रकम उद्योगीले तिर्नुपर्ने प्राधिकरणले जनाउँदै आएको छ ।

  • जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    बर्लिन, १९ कात्तिक (रासस–एएफपी) । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाइृ सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पु¥याउने योजना बनाएको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको हो।

    जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, “अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप तीन अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।” “यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ।

    प्रवक्ताले थपे, “जर्मनी युक्रेनको पक्षमा दृढतापूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ।” “हामी रूसको आक्रामक युद्धबिरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं।”

  • मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

    मलेसिया सरकारलाई वैदेशिक रोजगारसम्बन्धी मापदण्ड स्वीकार गर्न नसकिनेबारे पत्राचार

    काठमाडौँ, १९ कात्तिकः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशमा लक्षित ‘म्यानपावर’ कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थन रहेकाबारे जानकारी गराएको छ । मन्त्रालयले आज परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई लिखित रूपमा पत्र पठाएर उक्त जानकारी गराएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार मलेसियाले वैदेशिक रोजगारका सन्र्दभमा म्यानपावर कम्पनीलाई निर्धारण गरेका १० बुँदे मापदण्ड लागू गर्न असमर्थन रहेको जनाउँदै यस समस्यालाई कूटनीतिक हिसाबले समाधान निकाल्न पत्राचार गरिएको हो ।

    “मलेसिया सरकारले ल्याएको मापदण्डमा व्यवसायीबाटै विमति आएको छ”, प्रवक्ता घिमिरेले भने, “हालको अवस्थामा भएको मापदण्ड स्वीकार गर्न हामी असर्मथ भएको जानकारी पत्र परराष्ट्रसमक्ष बुझाएका छौँ ।” मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरेर १० बुँदे मापदण्डबारे जानकारी गराएको थियो । त्यसअनुसार मलेसियाको मानव संसाधन मन्त्रालयले १५ नोभेम्बर २०२५ भित्र म्यानपावर कम्पनीको विवरण पठाउन अनुरोध गरेको छ । यस्ता देशमा नेपालसहित भारत, बङ्गालादेश, पाकिस्तान र म्यानमार छन् ।

    इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको, पछिल्लो तीन वर्षमा तीन हजार श्रमिक पठाएको अनुभव र प्रमाण, एजेन्सीहरूले पछिल्ला पाँच वर्षभित्र कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, सम्बन्धित निकायबाट तालिम, मूल्याङ्कन, भर्ती र कामदार पठाउनेसम्बन्धी सबै वैध अनुमति प्राप्त गरेको र आफ्नो देशका सम्बन्धित निकायबाट जारी गरिएको सदाचार प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।

    साथै, म्यानपावर कम्पनी कुनै प्रकारका जबर्जस्ती श्रम, मानव बेचबिखन, श्रम ऐन उल्लङ्घन, जबर्जस्ती असुली जस्ता गलत क्रियाकलापमा संलग्न नरहेको, कम्पनी कम्तीमा १० हजार वर्गफिट क्षेत्रमा स्थायी रूपमा सञ्चालनमा रहेको र पर्याप्त पूर्वाधार भएको, कुनै ठगी वा अन्य आर्थिक आपराधिक क्रियाकलापमा संलग्न नरहेको हुनुपर्ने र अन्तरराष्ट्रिय रोजगारदताबाट प्राप्त सिफारिस पत्र(टेस्टिमोनियल) पेस गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यस मापदण्डमा वैदेशिक रोजगार व्यवसायीहरूले विमती जनाउदै आएका छन् । रासस

  • राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ, १८ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छिन् । मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

    प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन् । उनले राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिइन् ।

  • यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

    काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।


    मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिए । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उहाँले सरकारको नीति सोलारको प्रवद्र्धन रहेको स्पष्ट पारे ।
    हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई मन्त्री घिसिङले आह्वान गरे । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उनले भने, “वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।”

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट ठाउँ र विपन्न परिवारका लागि ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याए । उनले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताए । कार्यक्रममा मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जलवायु परिवर्तनको असर कम गर्न, ऊर्जा दक्षता वृद्धि र कार्वन उत्सर्जन कटौतीमा ठूलो योगदान पुर्याएको स्मरण गरे । उनले नागरिकमा विद्युतको पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष प्राप्त गर्न र ग्रामिण क्षेत्रमा विद्युत् पुर्याउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए ।


    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाको विकासका लागि केन्द्रले आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै लगेको जानकारी दिँदै सौर्य ऊर्जा, सिँचाइ, खानेपानी, फलामे सुधारिएको चुलोलगायत क्षेत्रमा काम गरिरहेको बताए । उनले आठवटा कार्वन उत्सर्जन कटौतीका आयोजनामा काम गरी ३६ मिलियन अमेरिकी डलर आम्दानी गर्न सफल भएको जानकारी दिए ।

    हाल १३६ स्थानीय तहसँग साझेदारी भएको उनले बताए । आगामी पाँच वर्षमा १० लाख घरधुरीमा पुग्ने लक्ष्य राखिएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढकालले सबै प्रकारका प्रविधि उपयोग गर्ने ३७ लाख घरधुरीमा पहुँच पुर्याउने योजना रहेको बताए । “यसबाट अहिले ४० हजार रोजगारी सिर्जना भएको छ”, उनले भने । कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयनन योजनाको विमोचन गरे ।

  • बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

    राँझा, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।
    नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ ।

    सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो । हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर-५ जमुनीगाउँकी टीका बूढाथोकीले बताए । “रिक्सामा चढेपछि घामपानीले प्रभावित गर्दैन, समयको पनि बचत भएको छ । अहिले सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ”, उनले भने, “नरैनापुरमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिकी कामका लागि सदरमुकामसम्म पुग्न सहज भएको छ ।”

    नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ ।

    अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने बूढाथोकीले जानकारी दिए । अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए । चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको उनको भनाइ छ।

  • विकासमा वेथिति : १५ वर्षमा पनि बनेन पक्की पुल

    विकासमा वेथिति : १५ वर्षमा पनि बनेन पक्की पुल

    भोजपुर, १८ कात्तिक । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो ।

    “लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, वडाध्यक्ष सुमनले भने, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।” यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।

    “राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उनले भने, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।” २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् ।

  • एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

    म्याग्दी, १८ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

    नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।


    निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताए । “हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ ।”

    गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए । जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी ९सलामी दस्तुर०मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ ।

    म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुुँदै हुुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

    रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन् ।

    कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् ।

    म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहनुभएका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए ।

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी

    राष्ट्रिय समाचार समिति (रासस)
    म्याग्दी, १८ कात्तिक । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

    मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए ।
    “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।” समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए ।


    खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

    समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । “चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

    ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

    धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उनले बताए ।

  • वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    वर्षाले धानबालीमा क्षति, समस्यामा किसान

    १८ कात्तिक, चन्द्रपुर । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आँकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ ।

    जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, छ सय ८५ हेक्टरको तरकारी, चार सय सात हेक्टरको फलफूलबाली र पाँच सय हेक्टर अन्य बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।


    जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उनले बताए । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको उनले जानकारी दिए ।


    क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले एक हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्याएको उनको भनाइ छ ।

    जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरे । बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए ।

    त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गरे । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।

  • उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    उपत्यकामा अत्यधिक धुवाँ फाल्ने ३७ सवारीसाधन प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

    उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।” वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    उनले भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

    उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

    ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

    वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ ।

    कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ । रासस

  • दाउन्ने छिचोल्नै सकस

    दाउन्ने छिचोल्नै सकस

    १८ कात्तिक, त्रिवेणी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लाग्यो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उनी जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो । केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।

    नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्नेबाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठूलो समस्या नभएपनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाए ।


    पानी परेको समयमा मात्रै नभइ अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ । सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरुको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ ।

    मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोधजस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ । पानी पर्दा सधैँजसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताए । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भएपनि अवस्था सहज नभएको उनले बताए ।

    “केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेकेको छ, हामीले सहज बनाउने प्रयास गरिरहेका छौँ, सकभर अहिले यो बाटो भएर यात्रा गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गरिदिनुहोला भन्ने अनुरोध छ”, प्रहरी उपरीक्षक खड्काले भने ।

  • चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

    १७ कात्तिक, बुटवल । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

    उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

    बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । आजै पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले विद्युत् नियमन आयोगमा उजुरी दिएका थिए । ‘राष्ट्रिय गौरवका आयोजना र उपभोक्तालाई दिनुपर्ने समान समयमा दिनुपर्ने र सयौं कर्मचारीको रोजगारीको दायित्वबाट पन्छिन नमिल्ने बाध्यात्मक अवस्थाले कानुनी लडाइँ जारी राख्ने निर्णय सहित एक किस्ता तिरेका हौ,’ साहुले भने, ‘एक किस्ता तिर्नुको अर्थ हामीले ट्रङ्क लाइन प्रयोग गरेको स्विकारेको कदापी होइन ।’

    उनले पूर्वी नेपालका उद्योगहरू र पञ्चकन्या कोरिडोरका उद्योगको विवाद एउटै नभएको भन्दै यहाँका उद्योगले ट्रङ्क लाइन माग पनि नगरेको र प्रयोग नगरेको दाबी गरे । विद्युत प्राधिकरणले माग र प्रयोग गरेको प्रमाण टीओडी मिटर समेत दिन नसकेको साहुको भनाइ छ ।

  • धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

    सन्तोष गौतम \रासस
    म्याग्दी, १७ कात्तिकः यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले भने, “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।”

    स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए ÷नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।

    विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए ।
    “पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,” उनले भने, “रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।”

    डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ ।

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ ।

    यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।


    “चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,” उनले भने, “समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।” जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । “हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,” उनले भने, “रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।”

  • पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

    १७ कात्तिक, गण्डकी । होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।


    आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । यसैबीच टोलीले लुम्बिनी प्रदेशको बुटवलमा यहाँका पर्यटन व्यवसायीसँग आज अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायतका सात तालले पर्यटकीय सम्भावना बोकेको बताए ।


    पोखरासहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटवलका पर्यटन व्यवसायीसँग आग्रह गरे । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उनको भनाइ थियो । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कँडेलले पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर दुुवै क्षेत्र लाभान्वित बन्ने धारणा राखे ।


    होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताए । रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलरहेको उनले बताए । पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीले दुुवै गन्तव्य लाभान्वित हुने बताए ।


    होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ सो टोली बर्दिया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने जानकारी दिए । छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।

  • बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    बञ्चरेडाँडामा फोहोर बोकेका गाडी जान थाले

    काठमाडौँ, १६ कात्तिकः स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।

  • सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    १६ कात्तिक, भरतपुर । सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोलास्थित सडकमा केहीबेर अघि माथिबाट सुक्खा पहिरो खसेका कारण सडक दुइतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

  • एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

    काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका छन् ।

    यसबाहेक छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२।६ प्रतिशत पर्यटक आएका छन् । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन् । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

    सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।

  • तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन

    काभ्रेपलाञ्चोक, १६ कात्तिकः बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

    सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उनले भने । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

    सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

    गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

    कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ, १६ कात्तिकः गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७०० कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ९४ अर्ब जम्मा

    १६ कात्तिक, काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

    कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम रु दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम रु २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम रु २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।