Category: अर्थतन्त्र

  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीले लिए शपथ

    ३० भदौ, काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराए । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाइ आइतबार साँझ नियुक्त गरेका हुन् ।


    नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।


    खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आएका थिए । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उनी चर्चामा आएका थिए ।

    नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गरेका छन् ।
    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

    ‘जेनजी’ समूहको आन्दोलन र उत्पन्न परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    ३० भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।

    “उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,” आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

  • संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

    ३० भदौ, काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, “उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।”

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    सिबी अधिकारी/रासस

    ३० भदौ, काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देर्खिए । तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् । रसिलो आँखा पार्दै उनले भने, “यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।”

    सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् । सिंहदरबारको तस्बिर कैद गरिरहनुभएकी कानुन व्यवसायी देवमाया घिमिरेले भने, “सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।”

    अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् । कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।

    आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए । सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उनी भन्छन्, “सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।”

    गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, “धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।”

    सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । “एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ”, उनले भने ।


    पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उहाँले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए ।


    यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

    विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

    आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

  • राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    ३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन् । यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।

  • पुनःर्निर्माणमा  निःशुल्क प्राविधिक सहयोग गरिने

    पुनःर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने

    ३० भदौ, काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए । “विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनःनिर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    एशोसिएसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरेको एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए । उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययन एवं मूल्याङ्कन हुने अध्यक्ष बरालले बताए । उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरे ।

  • ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

    ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

    एजेन्सी
    २९ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार छु र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुनेछ।”

    ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै भने, “नेटोको जीत हासिल गर्ने प्रतिबद्धता १०० प्रतिशतभन्दा निकै कम छ र केहीले रुसी तेल खरिद गर्नु आश्चर्यजनक छ । यसले तपाईंको वार्ताको स्थिति र रूसमाथि मोलतोल गर्ने शक्तिलाई धेरै कमजोर बनाउँछ।” उनले आफ्नो तत्परतामा जोड दिँदै भने, “म तपाईँसँगै अघि बढ्न तयार छु, तपाईंहरूको साथ अवश्यक छ। क्हिले गर्ने निर्णय दिनुहोस्।”

    नेटोले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गरेका छन् । ट्रम्पले लेखेका छन्, “मलाई विश्वास छ कि रुस र युक्रेनसँगको युद्ध समाप्त भएपछि चीनमाथि ५० देखि १०० प्रतिशतसम्म करवृद्धि गर्ने नेटोले पनि यो घातक तर हाँस्यास्पद युद्ध अन्त्य गर्न ठूलो सहयोग गर्नेछ ।” उनले थपे, “रुसमाथि चीनको बलियो नियन्त्रण छ र पकड पनि छ र यो शक्तिशाली करले त्यो पकड तोड्नेछ।”

    ट्रम्पले गत हप्ता सात हजार ११८ जनाले जीवन गुमाएको उल्लेख गर्दै अघिल्लो प्रशासनको आलोचना गरे । उनले भने, “यो ट्रम्पको युद्ध होइन । यदि युद्ध शुरू हुँदा म राष्ट्रपति भएको भए यो सुरु हुने नै थिएन । यो बाइडेन र जेलेन्स्कीको युद्ध हो । मैले यहाँ यसलाई रोक्न मद्दत गर्न र हजारौँ रूसी र युक्रेनी जीवन बचाउन मात्र सक्छु। गत हप्ता मात्र सात हजार ११८ जनाले जीवन गुमाएका छन्।”

    उनले भने, ‘यदि नेटोले उहाँको प्रस्तावलाई पछ्यायो भने युद्ध चाँडै अन्त्य हुने र ज्यान जोगाउने ट्रम्पको विश्वास छ । “यदि नेटोले मैले भनेजस्तै काम गर्यो भने, युद्ध चाँडै समाप्त हुनेछ, र ती सबैको जीवन बचाउनेछ, होईन भने, तपाईं केवल मेरो समय, र संयुक्त राज्य अमेरिकाको समय, ऊर्जा र पैसा बर्बाद गर्दै हुनुहुन्छ।”


    यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो । शुक्रबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशालाई सङ्केत गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती देखिएको र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिएका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप पनि ट्रम्पले लगाएका छन् ।


    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसहितका विश्व नेताहरू सहभागी भएकोसेप्टेम्बर ३ मा भएको चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडपछि यो आरोप लगाइएको हो । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वर्षगाँठको अवसरमा चीनले सेप्टेम्बर ३ मा विशाल सैन्य परेड आयोजना गरेको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएपनि ट्रम्पले चिनियाँ नेतृत्वसँग आफ्नो व्यक्तिगत सम्बन्ध निकै राम्रो रहेको बताएका थिए ।

  • अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

    अफगानिस्तानी भूकम्प पीडितको सहयोगमा युएईले दुई हजार ५०० टन सहयोग पठायो

    एजेन्सी
    २९ भदौ, काबुल । युएईको सहायता जहाज अफगानिस्तानमा हालै गएको भूकम्पपछि अफगानिस्तानका जनतालाई सहयोग गर्न पाकिस्तानको ग्वादर बन्दरगाहतर्फ प्रस्थान गरेको छ। राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा जहाजले दुई हजार ५०० टन खाना, आश्रय र चिकित्सा सामग्रीहरू बोकेर अफगानिस्तानतर्फ गएको हो। यो देशको पूर्वी क्षेत्रमा गएको भूकम्पपछि अफगानी जनतालाई सहयोग गर्न युएईको राहत सहयोगको एक भागको रूपमा आएको हो।

    जहाज युएई सहायता निकायको सहयोगमा युएईमा धेरै परोपकारी र मानवीय सङ्गठन र संस्थाहरूको सहभागितामा तयार गरिएको थियो र यसले राष्ट्रिय ऐक्यबद्धताको भावना र अफगानिस्तानलाई तत्काल राहत सहयोग प्रदान गर्न विभिन्न संस्थाहरू बीचको प्रयासको एकीकरणलाई प्रतिबिम्बित गरेको युएईका अधिकारीहरूले बताएका छन् ।

    सहयोगले मित्रवत अफगान जनताका लागि तत्काल मानवीय प्रतिक्रियालाई सुदृढ पार्न, उनीहरूलाई यी असाधारण परिस्थितिहरूको परिणामबाट पार लगाउन र उनीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न काम गर्न युएईको उत्सुकताको पुष्टि गरेको छ।

    यो मानवीय सहयोगले युएईले अपनाएको महान मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता बढाउने, मानवीय सङ्कटबाट प्रभावितहरूलाई सहायता र सहायता प्रदान गर्ने र विश्वभरका राहत प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्ने हो ।

  • चितवनमा जनजीवन सामान्य बन्दै

    चितवनमा जनजीवन सामान्य बन्दै

    २९ भदौ, चितवन । जेन-जी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था तथा लामो एवं छोटो दूरीका सवारीसाधान सञ्चालन गर्न भनिएको छ ।

    आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा सोहीबमोजिमको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र एवं विनयशील रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ । तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने तथा कार्यालयका कर्मचारी सम्भव नहुने प्रकृतिका सरसफाइ कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

    कार्यालय प्रमुखहरूको बैठकले सो निर्णय गरेको अर्यालद्धारा जारी सूचनामा जनाइएको छ । तोडफोड तथा आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्नसमेत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।

  • नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

    नयाँबसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

    २८ भदौ, काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आज नयाँबसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिए ।


    “यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उनले भने । आज बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ । उहाँले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।

  • आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

    आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

    २८ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।

    आज बिहानदेखि नै पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पूरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ । आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन् ।

    यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रुपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन् ।
    मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहेका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।
    “सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौँ”, प्रवक्ता सापकोटाले भने, “कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौँ ।” आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ ।

    प्रवक्ता सापकोटाले भन्नुभयो, “क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन् ।” आफैँ जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ ।

    संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरुले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ ।

  • पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

    पर्यटनमा २५ अर्बको क्षति, छिट्टै पुनःरुत्थान हुने विश्वास

    सिबी अधिकारी/रासस

    २८ भदौ, काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । मानवीय क्षति भयो ।
    राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो ।

    अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।
    यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।

    आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।

    पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भने, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”

    खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।
    अर्थशास्त्री डा समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए । उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तरराष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ ।”

    अर्थशास्त्री खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । “विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ । यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ । जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ । सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ ।”

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए । सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”

    उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक रहेका छन् । उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन्भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन् । नेपालमा रहेका पर्यटकलाई कुनै पनि नकारात्मक धारणा नबनोस भनेर बढी प्राथमिकता दिइएको छ । बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए ।
    बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।

    होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवालाहरू एकताबद्ध भएर पर्यटन पुनःरुत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “पर्यटकीय सिजन सुरु हुन लागेकाले नेपालबाट सकारात्मक सन्देश प्रबाह गर्न जरुरी छ”, उनले भने, “विगतका विपद्मा पनि पर्यटन क्षेत्र चाँडो पुनःरुत्थान भएको थियो ।

    नेपालमा रहेका पर्यटकलाई सुरक्षित तवरले गन्तव्य पठाउने र फर्किएकालाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनुपर्ने हुन्छ । उनले भने, “देशलाई आर्थिक समृद्धि दिनसक्ने महतवपूर्ण क्षेत्र पर्यटन नै हो । होटललगायत पूर्वाधारमा ठूलो लगानी छ । विमानस्थल बनेका छन् । यिनको प्रभावकारी व्यवस्थापन र सञ्चालन गरेर दुई ठूला छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न सकिन्छ ।”

    प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटकीय सिजनमै सिर्जित विषम परिस्थितिले पर्यटनमा नकारात्मक असर त परेको छ तर, आशा गरौँ छिट्टै सामान्य अवस्था आउनेछ र पर्यटन क्षेत्र पनि चलायमान बन्ने छ ।”

    नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको शाखको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सबै प्रयत्न गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विषम् परिस्थितिबाट मुलुकलाई निकास दिएर शान्ति सुव्यवस्था कायम गर्दै पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल गरेका हुन् ।

    जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट भएको छ । काठमाडौँमा रहेको हिल्टन होटलको मात्रै रु आठ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिको छ । हिल्टनसहित देशैभरि करिब रु २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ ।

  • ‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

    ‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

    २७ भदौ, काठमाडौं । सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन । जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो ।

    आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए । शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताए ।


    मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ । त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए । सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो । आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए ।

    गृह मन्त्रालयका एक कर्मचारीले भने, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन ।” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ । सिंहदरबार परिसरमा सञ्चारकर्मीको प्रवेशलाई सहज तुल्याइएपछि भग्नावशेषको तस्बिर लिन पुगेका फोटो पत्रकारको सङ्ख्या उल्लेख्य देखियो । सिंहदरबारभित्रका मन्त्रालय र सडकको सरसफाइ क्रमशः सुरु गरिएको छ भने तोडफोड भएका सामग्रीको व्यवस्थापन आरम्भ भएको छ ।

    सिंहरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ । देशको एकमात्रै फरक डिजाइनको उक्त भवनमा घटना भएको चौथो दिनसम्म पनि आगो निभेको छैन । स्वास्थ्य सचिव डा विकास देवकोटाले भवन जलेर नष्ट भएकाले आफूहरूले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरेको बताए । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति भएको छ ।

  • सामान्य बन्दै पोखराको जनजीवन

    सामान्य बन्दै पोखराको जनजीवन

    २७ भदौ, गण्डकी । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य उन्मुख छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि चहलपहल देखिन्छ । बिहानको समयमा आवतजावत खुकुलो पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताइन् । “दिउँसोसम्मको परिस्थिति मूल्याकङ्न गरेर निषेधाज्ञा थप कडा गर्ने या सहज बनाउँदै जाने भन्ने निर्णय हुन्छ”, उनले भनिन्, “अहिले सुरक्षा व्यवस्था चुस्त र कडा तुल्याइएको छ ।”

    अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु लगाइँदै आएको छ । जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएको थियो । गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पु¥याएको छ ।

  • कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

    कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधन जले

    २७ भदौ, कञ्चनपुर । जेनजी’ आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक दलका कार्यालय, १२ जना नेता तथा जनप्रतिनिधिका निजी निवास, चारवटा व्यापारिक केन्द्र र १६ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सरकारी कार्यालयमध्ये जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरियाको गेट, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका र वडा नं १ देखि १२ सम्मका कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय, भीमदत्त नगरपालिका कार्यालयको गेट तथा बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा करोडौँको नोक्सानी पुर्याइएको छ ।

    भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका गरी पाँचवटा पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ । त्यसैगरी, निवर्तमानगृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा समेत आगजनी र तोडफोड भएको छ ।

    व्यापारिक क्षेत्रमा होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा तोडफोड, आगजनी र लुटपाट भएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा पुनर्वास नगरपालिकाका प्रमुख र प्रशासकीय प्रमुख चढ्ने गाडीसहित १६ वटा सवारीसाधनमा पनि तोडफोड र आगजनी भएको छ । तीमध्ये शववाहन, दमकल, मोटरसाइकल, स्कुटर, ट्याक्टर र रोलर छन् । प्रहरीका अनुसार जिल्लाभर भएका तोडफोड र आगजनीका घटनामा ठूलो मात्रामा सरकारी तथा निजी सम्पत्ति नोक्सानी भएको छ ।

    जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ । “केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ”, उनले भने, “केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन् ।” उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन् । अझै तीन सय ५५ कैदीबन्दी फरार छन् । कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

  • बीमा दाबी सहज बनाउन निर्देशन

    बीमा दाबी सहज बनाउन निर्देशन

    २६ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

    असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

    असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनसमेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २६ भदौ, काठमाडौं । सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैङ्कले सम्पूर्ण इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धीकार्य गर्ने संस्थालाई व्यवसायिक निरन्तरता दिन भनेको हो । राष्ट्र बैङ्कले आज यहाँ सार्वजनिक गरेको सूचनामा नेपाली सेनाले भदौ २५ गते जारी गरेको निषेधाज्ञासम्बन्धी व्यवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ ।

    सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ,” नेपाल राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै, सूचनामा आवश्यक सेवा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन सबै संस्थालाई आग्रह गरिएको छ ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

    २६ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने ।


    विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
    काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

    निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ । ‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

    विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ ।

    यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

  • त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    त्रिविको पठनपाठन अब छठ पर्वपछि मात्रै

    २६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

    सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।” जेन जी आन्दोलनका कारण अहिले मुलुकमा सबै विषय संक्रमणकालमा प्रवेश गरेका छन् । सरकारविहिनताको अवस्था सिर्जना भएको छ ।

  • कालीगण्डकी करिडोर सडक अवरुद्ध

    कालीगण्डकी करिडोर सडक अवरुद्ध

    २६ भदौ, गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

    सडक अवरुद्ध भएको जानकारी पाएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी टोलीलाई बिहानै सडक सुचारुका लागि पहिरो गएको स्थानका खटाई सकिएको प्रहरीले जनाएको छ । अहिले पनि उक्त क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सडकमा थुप्रिएको पहिरो पन्छाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।


    सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । वर्षा रोकिनासाथ सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सूचना अधिकारी सारुले बताए । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।

  • सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    सडक सरसफाइमा दिनभरी खटिए ‘जेनजी’

    २५ भदौ, काठमाडौं । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् ।

    उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

    माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहेका दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ । यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

    सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् । सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।

  • त्रिभुवन विमानस्थल खुल्यो

    त्रिभुवन विमानस्थल खुल्यो

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ । यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ । यती एयरलाइन्सले समेत सोही आह्वान गरेको छ ।

  • सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    सिंहदरबार : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, कयौं सामग्री लुटियो

    २५ भदौ, काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् ।

    आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । यस्तै सिंहदरबारस्थित नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्णरूपमा क्षति भएको छ ।

    सिंहदरबाभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गर्न सकिन्छ । प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दूग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आजगनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ ।

    प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र आज सुनसान प्रायः रह्यो । सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारी साधन र करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर पूर्णरूपमा नष्ट भएको कार्यालयले जनाएको छ । आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ ।

    यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ । आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ । जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।

  • जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    २५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

    ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको समेत बताइएको छ । काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

  • त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।

    देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।


    सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरुमाथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरहरुबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।

  • आज राज्यका कुन कुन भवन जले ?

    आज राज्यका कुन कुन भवन जले ?

    २४ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् । सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।

    प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।

    एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्‍याइएको छ ।
    जेन जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।

  • विमानस्थल पूर्ण रुपमा बन्द

    विमानस्थल पूर्ण रुपमा बन्द

    २४ भदौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आज विमानस्थल बन्द गरेको हो । विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । वायुसेवा कम्पनीहरुले आजका सबै उडान रद्द गरेको बताएका छन् ।

  • सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    सरकारको दावि : उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था हुन्छ

    २३ भदौ, काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने बताएको छ । मूख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन, विपद् प्रभावित राजमार्गको पूर्ववत सञ्चालन, मौसमी रोग डेङ्गु, हैजा, लम्पी स्किनलगायतको प्रकोप नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । राज्यको उपस्थिति जनताले प्रत्यक्ष महसुस हुने र तत्काल नतिजा देखिने गरी सबै तहका सरकारी निकायबाट नागरिकलाई सेवा प्रवाहको उचित प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ ।

    उक्त बैठकमा मुख्यसचिव अर्यालले राज्यको उपस्थिति देखिने गरी बजार अनुगमन तथा यातायात सञ्चालनलाई सहज बनाउने गरी गम्भीरताका साथ काम गर्न सम्बद्ध सबै पदाधिकारीलाई निर्देशन दिए । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत काठमाडौँ उपत्यका तथा उपत्यका बाहिर उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनताका गुनासो सङ्कलनका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने र प्राप्त भएका गुनासोको तत्काल सम्बोधन गर्ने निर्णय भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन खाद्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाई खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, मासुलगायतका खाद्य सामग्रीको नमूना सङ्कलन, परीक्षण र आवश्यक नियमन प्रभावकारी तवरले गर्ने र यस प्रयोजनका लागि मोबाइल भ्यानसमेत सञ्चालनमा ल्याउने जनाइएको छ ।

    गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, बिक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय गर्ने बैठकको निर्णय छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले आमनागरिकको यात्रालाई सुरक्षित तथा व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीमार्फत चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको लामो दूरीको रुट परमिटको व्यवस्था, भाडादर, यात्रुसीट क्षमताका आधारमा अनलाइन प्रणालीसमेतबाट टिकट बुकिङको व्यवस्था गरिने छ ।

    सडक विभागले सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने, विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक आगामी असोज १० गतेभित्र पुनःसञ्चालनमा ल्याउने निर्णय गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सञ्चालन गर्ने समयावधिर उडान सङ्ख्या वृद्धि गर्न रूपमा अस्वाभाविक हवाई यात्राको भाडादरको वृद्धि हुन नदिन आवश्यक नियमन र सहजीकरण गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले समाजमा अमर्यादित र अवान्छित गतिविधि हुन नदिई भयरहीत वातावरण र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने भनिएको छ ।

    प्रदेश तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चौपायामा फैलिएको लम्पीस्कीन रोग नियन्त्रणको उचित व्यवस्था मिलाइने छ । आन्तरिक राजस्व विभागले राजस्व छली नियन्त्रण गर्न वस्तु तथा सेवा बिक्री भएकै अवस्थामा वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी गर्न लगाउने, सो प्रयोजनका लागि बजार अनुगमनलाई सघन बनाइने भएको छ । राजस्व अनुसन्धान विभागले वस्तु तथा सेवाको अनौपचारिक कारोबारबाट हुनसक्ने राजस्व छली रूपमा गैरकानूनी कारोबार कडाइका साथ नियन्त्रण गर्न अनुगमन र निगरानीलाई सघन बनाउने बैठकको निर्णय छ । साथै बैठकका निर्णय कार्यान्वयनको प्रगति पाक्षिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

  • सुनचाँदीको मूल्य निरन्तर उकालो

    सुनचाँदीको मूल्य निरन्तर उकालो

    २२ भदौ, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ ।

    आज एक तोला चाँदी रु दुई हजार ५०० मा किनबेच भइरहेको छ । गत बुधबार एक तोला सुन रु दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु दुई हजार ४८० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

    उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

    २२ भदौ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो । सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ । “हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ”, अध्यक्ष ऐरले भने, “दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ ।”

    तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टल माछा उत्पादन हुने उनले बताए । उनका अनुसार माछा बिक्रीबाट सङ्कलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ । “पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ”, अध्यक्ष ऐरले बताए ।“छ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ ।” गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ ।

    “अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ”, अध्यक्ष ऐरले भने, “यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ ।” वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन् । पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ । तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताँछन् ।