Category: स्वास्थ्य

  • उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

    उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ।

    आइतबार देशभर संक्रमितको संख्या २ हजार ७१ जना थपिदा राजधानी काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना संक्रमितहरुको संख्या थप भयो ।

    पछिल्लो तथ्याङ्क अनुसार उपत्यका का तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या भने १ सय ९२ छ।

    नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ।

    विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो।

    तर बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा सरकार र स्थानीय निकायहरुले कोरोना संक्रमणका कस्ता उपाय अबलम्बन गर्दछन त ? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन।

    अधिकारीहरूले काठमाडौंका हकमा चुनौती रहेको र आइसोलेशन वार्डहरू भरिँदै गएको अवस्थामा विशेष व्यवस्था गर्नुपर्ने तर त्यसको समाधान भने लकडाउन नै हो भन्ने नरहेको बताउने गरेका छन्।

    अब राष्ट्रव्यापी रूपमा लकडाउन नहुने पनि बताउने गरिएको छ।

    पर्ख र हेर

    उपत्यकाका तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन्।

    साप्ताहिक रूपमा दुई देखि तीन दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरूले बताएका छन्।

    ‘हामीले पछिल्लो अवस्थाको समीक्षा गरिरहेका छौँ। विज्ञहरूसँग पनि परामर्श गरिरहेका छौँ, ‘जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभएको छ,’अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा छौँ। लकडाउन नै गर्ने नगर्ने चाहिँ कुरा भएको छैन। क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ। त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो।’

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले पनि सरोकारवालाहरूसँग परामर्श भइरहेको र अबको केही दिनमा यस विषयमा स्पष्ट पार्न सकिने अवस्था हुने जानकारी दिनुभएको छ।

    चाडबाडका बेला सुरक्षा लगायतका अन्य विभिन्न विषयबारे प्रबन्ध गर्नुपर्ने हुँदा आफूहरू निरन्तर सम्पर्कमा रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो।

    ‘यस्तै अवस्था रहे हालको योजना समीक्षा गर्नुपर्ने हुन्छ। हामीले अवस्थाबारे जानकारी सम्बन्धित निकायहरूलाई गराइरहेका छौँ ‘, पाण्डेले भन्नुभयो।

    लकडाउन जस्तो संवेदनशील विषयमा निर्णय गर्नका लागि माथिल्ला निकायको निर्देशन आवश्यक हुने र हालसम्म त्यस विषयमा कुनै पनि किसिमको सङ्केत प्राप्त नभएको तीनै जिल्लाका प्रमुख अधिकारीहरूका प्रमुखहरूको आशय छ।

    आफै जागरूक हुन जरुरी

    सङ्क्रमणको दर बढ्ने क्रम तीव्र रहेको अवस्थामा सर्वसाधारणहरू आफै सचेत हुनुपर्ने स्थानीय प्रशासकहरु बताउँछन्।

    सरकारले जारी गरेका मापदण्ड पालना गरेर अघि बढ्नुपर्ने अवस्था झन् बढ्दै गएका बेला सर्वसाधारणहरूकै भूमिका प्रमुख हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो।

    तर के लकडाउन नै हालको समस्याको समाधान हो त ?

    नेपालमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख नाघिसकेको अवस्थामा जनस्वास्थ्यविद् डा. शरद वन्त भन्नुहुन्छ, ‘ जनघनत्व बढी भएका स्थानमा सङ्क्रमण बढेको छ र त्यस्ता ठाउँमा सङ्क्रमण समुदायमा स्थापित भइसकेको पाइन्छ। हामीसँग रोक्न सक्ने विधिको प्रभावकारी कार्यान्वयन भयो भने यही अवस्थामा सङ्क्रमण कम गराउन सक्छौँ। लकडाउन मात्रैले सङ्क्रमण रोकिने भए अहिले यसरी फैलिने नै थिएन। यसको सबैभन्दा बढी जिम्मेवार नागरिकहरूमा छ।’

    के भन्छ स्वास्थ्य मन्त्रालय ?

    स्वास्थ्य मन्त्रालयले पछिल्लो अवस्थाको मध्यनजर गर्दै उपत्यकाका तीन जिल्लामा लकडाउन गर्नुपर्ने ुब्रिफिङ गरेकोु भन्ने किसिमका विवरणहरू सार्वजनिक भए पनि प्रवक्ता जागेश्वर गौतमले भने त्यसको खण्डन गर्नुभएको छ।

    अस्पतालहरूमा शय्या व्यवस्थापन गर्न सकिने अवस्था भएसम्म लकडाउन गर्नु नपर्ने आफूहरूको धारणा रहेको अधिकारीहरू बताउँछन्।

    त्यसको अर्थ कोभिड-१९ का बिरामीहरूले हाल अस्पतालमा सहज रूपमा बेड पाउन सकिने अवस्था छ त ?

    बीबीसीको प्रश्नमा गौतम भन्नुहुन्छ, ‘अब हामी आइसोलेशन सेन्टरलाई पनि अस्पताल बेडका रूपमा परिणत गर्ने छौँ। अक्सीजन दिन सकिने पूर्वाधार भएका आइसोलेशन सेन्टरलाई त्यही अनुसार प्रयोगमा ल्याउने छौ।’

    चाडबाडको मुखमा कस्तो व्यवस्था हुनुपर्छ भन्ने विषयमा मन्त्रालयले यो हप्ता भित्रै निर्क्योल गर्ने उहाँले जानकारी दिनुभयो। (बीबीसी)

  • काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

    काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । अब सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

    अब सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । यसले बिरामीको उपचारमा समस्या आइरहेको छ । मन्त्रालयले अब कोरोना भाइरसका संक्रमित बिरामी होटेलमा समेत रहन सक्ने गरी वैधानिक निर्णय गरेको छ ।

    यसअघि होटेलहरुमा आपसी समझदारीमा संक्रमित रहने गरेको भएपनि बैधानिकता थिएन । अब अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्नेछन् । यसबाट बिरामीले अझ बढी केयर पाउने छन् । यस्ता होटेलमा भने संक्रमितबाहेक अन्य पाहुना भने राख्न सकिने छैन ।

  • ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

    ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

    काठमाडौं । कोरोना भाइरस फोन, पैसा र स्टेनलेस स्टिल जस्ता केही वस्तुको सतहमा २८ दिनसम्म जीवित रहने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको नेश्नल साइन्स एजेन्सीले गरेको अध्ययनमा कोरोना भाइरस पैसा, फोनको स्क्रिनमा २८ दिनसम्म जीवित रहने देखाएको हो।

    पैसा र फोनको स्क्रिनमा २८ दिनसम्म भाइरस जीवित रहने अध्ययनको निष्कर्षमा केही जानकारले भने आशंका व्यक्त गरेका छन्। सतहमा रहेको भाइरसबाट मानिस संक्रमित हुने सम्भावना कति रहन्छ भन्ने उनीहरुको शंका छ। हालसम्म कोरोना संक्रमण मानिसको खोकी, हाँच्छ्यु वा कुरा गर्दा निस्कने थुकको कण र हावाका माध्यमबाट सर्ने देखिएको छ।

    अनुसन्धानमा के भनिएको छ?

    यो अध्ययन भन्दा पहिला ल्याब्रोटरीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो की बैंक नोट र काँचमा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्छ। जबकी प्लास्टिक र स्टेनलेस स्टीलको सतहमा यो ६ दिनसम्म जीवित रहन सक्छ। यद्यपी ल्याब्रोटरीको परीक्षण र अष्ट्रेलियन एजेन्सीको अध्यनको नतिजामा फरक देखिएको छ।

    अष्ट्रेलियन एजेन्सी सीएसआईआरओको एक अध्ययनका अनुसार कोरोना निकै कडा भाइरसको हो। कोरोना भाइरस २० डिग्री सेल्सियसको तापक्रम र अध्यारोमा मोबाइलको काँच, प्लास्टिक र बैंक नोट जस्ता सतहमा २८ दिनसम्म जीवित रहन सक्छ।

    कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ। भाइरोलोजी जर्नलमा प्रकाशित रिसर्चमा पत्ता लगेको छ की चिसो तापमानको तुलनामा गर्मी तापमानमा यो भाइरस कम समयसम्म जीवित हुन्छ। ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा भाइरस २४ घण्टा भित्र संक्रामक रहँदैन।

    के यसमा असहमति छन्?

    कार्डिफ यूनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्रोफेसर रोन एक्सेलले यो अध्ययनको अलोचना गरेका छन्। उनले भनेका छन् की भाइरस २८ दिनसम्म जीवित रहन सक्ने भन्ने कुराले मानिसमा अनावश्यक डर पैदा भइरहेको छ। उनले भनेका छन्, ‘यो भाइरस खोकी र हाँच्छ्युँबाट निस्कने थुक र फोहोर हातका माध्यमबाट फैलन्छ। तर यो अध्ययनमा भाइरस फैलने कारणकारुपमा मानिसको खकारको प्रयोग गरिएको छैन। मानिसको खकारमा ठूलो संख्यामा ह्वाइट सेल्स हुन्छन्। जसले भाइरसलाई नष्ट गर्नका लागि इन्जाइम बनाउँछन्। खकारमा भाइरससँग लड्नका लागि एन्टिबडी र केमिकलसमेत हुन सक्छन्। मलाई लाग्छ संक्रमक भाइरस सतहमा झरेको खकारमा केही घण्टासम्म जिवित रहन सक्छ। न की केही दिनसम्म।’

    यही वर्षको जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रो बायोलोजीका प्रोफेसर इमानुएल गोल्डम्यानको एक पेपर लेन्सेट पत्रिकामा छापिएको थियो। यसमा भनिएको थियो की सतहमा परेका थुकका कणबाट संक्रमण सर्ने खतरा निकै कम छ। गत साता क्यालिफोर्निया युनिभर्सिटीका मेडिसिन प्रोफेसर मोनिका गान्धीले भनेकी थिइन् ‘कोरोना भाइरस सतहका माध्यमबाट फैलँदैन।’

    हात र टचस्क्रिनलाई सफा राख्ने बानि बसालौं

    कोरोना भाइरस मुख्यरुपमा हावाको माध्यमबाट फैलन्छ। अहिलेसम्म भएका अनुसन्धानबाट पत्ता लागेको छ की यो भाइरस हावामा रहेका कणमा तीन घण्टासम्म जीवित रहन सक्छ। अहिलेसम्म पैसा र टचस्क्रिनबाट कुन रुपमा भाइरस फैलन सक्छ भन्ने पूर्ण जानकारी आइसकेको छैन।

    नयाँ अध्ययनमा काँच, कागज, प्लास्टिक र स्टिल पर भाइरस कति समयसम्म जीवित रहन सक्छ भनेर पत्ता लगाइएको छ। यी सबै सतहमा २० डिग्री सेल्सियसमा २८ दिनपछि समेत भाइरस रहेको देखिएको छ। अध्यनको नतिजाले भन्छ की संक्रमणको खतरा कम गर्नका लागि नियमित हात धुने र टचस्क्रिनलाई धुने र स्यानिटाइज गर्न आवश्यक छ। साथै संक्रमणको खतरा काम गर्नका लागि हातले अनुहार छुन हुँदैन।

    किन महत्वपूर्ण छ यो रिसर्च?

    सीएरआईआरओका मुख्य कार्यकारी अधिकारी डा. लेरी मार्शल भन्छन्, ‘कुनै पनि सतहमा यो भाइरस कति समयसम्म टिकिरहन सक्छ। यो जानकारीले हामीलाई संक्रमणको जोखिम कम गर्न र मानिसहरुलाई बचाउन सहयोग गर्छ।’ अध्ययनमा सहभागी सदस्यहरुका अनुसार स्टेनलेस स्टिलमा कम तापक्रममा भाइरस धेरै समयसम्म जीवित रहनुले यो कुराको पुष्टि हुन्छ की कोरोना महामारीको गम्भीर असर मिट प्रोसेसिङ केन्द्र र कोल्ड स्टोरेजको आसपास किन देखिरहेको छ। विश्वभर मिट प्रोसेसिङ केन्द्र र कोल्ड सेन्टरमा काम गर्ने हजारौं मानिस कोरोना संक्रमित भएका छन्। यो भन्दा पहिला भाइरस संक्रमणको अधिकांश घटना बन्द कोठामा काम गर्ने र चिसो वातावरणमा काम गर्नेमा बढी देखिएको थियो। ठूलो आवाज आउने मेसिनको आसपास काम गर्दा ठूलो स्वरमा बोल्दासमेत भाइरस फैलिएको बताइएको थियो।

    बीबीसीबाट

  • सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन

    सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन


    काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच केसीले अनसन तोडेका हुन्।

    बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए। अनशसन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।

    बुधबार सरकार र डा.केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

    सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

    त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

    अनसन तोडिएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

  • कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

    कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

    बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही जिल्लामा थप चार जनाको ज्यान गएको छ । यसमध्ये बुटवल उपमहानगरपालिकामा नीन जनाको ज्यान गएको छ । एकजना तिलोत्तमा नगरपालिकाका छन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा ज्यान गएको प्रहरीे जानकारी दिएको छ ।

    बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल अथवा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजाने गरी रिफर भएको थियो । तर, उनको बाटोमै ज्यान गएको हो । उता, बुटवल ११ की ६१ वर्षीया महिलाको समेत उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको अस्पतालले जनाएको छ ।

    उनको समेत आइतबार बिहान २ बजे ज्यान गएको हो उनीहरु दुबै जना दीर्घरोगबाट पिडित थिए । यता, बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।उनी शनिबार अस्पताल भर्ना भएका थिए ।

    असोज २२ मा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

    यो अस्पतालमा निधन हुने पहिलो बिरामी हुन् । उनलाई समेत बुटवलमा आईसीयू बेड नभएपछि दाङ लगिएको थियो ।

  • २८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति

    २८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति

    काठमाडौं । आज २८ औं दिनमा अनसनरत डा. गोविन्द केसीले अनसन अन्त्य गर्ने भएका छन् । मध्यरातमा सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएसँगै उनी अनसन तोड्न सहमत भएका हुन् । शनिबार राती डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ । अन्य स्थानमा २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमति समेत दुबै पक्षबीच भएको छ ।

    विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको पत्रमा उल्लेखछ ।

    चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा भएका सहमति र सम्झौताका विषय समेत सम्ट्ने सहमति भएको छ । बयलपाटा अस्पतालमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति पनि दुबै पक्षबीच भएको छ ।

  • काठमाडौंमा आज सर्वाधिक संख्यामा संक्रमित

    काठमाडौंमा आज सर्वाधिक संख्यामा संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा आज सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका हुन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ । आज २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको तथ्यांक मन्त्रालयको रहेको छ ।

  • आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड

    आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड

    काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणले कीर्तिमान कायम गरेको छ । एकै दिन संक्रमितको सर्वाधिक संख्या, कुल संख्या, पिसिआर परीक्षणको संख्या, काठमाडौं उपत्यकामा संक्रमितको संख्यासहित कोरोना तथ्यांकमा आज रेकर्ड कायम भएको हो ।

    आज कोरोना भाइरसको संक्रमण देखिएयताकै सर्वाधिक अर्थातः ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस दिन कुल १९ हजार ३२० जनाको पिसिआर परीक्षण भएको थियो ।

    आजसम्मको कुल संक्रमित संख्या समेत १ लाख ५ हजार ६ सय ४८ जना पुगेको छ । आज काठमाडौं जिल्लामा मात्र २१ सय जनामा कोरोना देखियो । नेपालमा कोरोनालाई जित्ने मानिस २४ घण्टामा १२ सय २९ जना भए ।

    अब कुल निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । निको हुनेको संख्या ७०.२ प्रतिशत छ । आज एकै दिन धेरै संख्यामा कोरोना पुष्टी भएका कारण निको हुनेको प्रतिशत कम भएको हो ।

  • कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु

    कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । बाँके, दाङ र रूपन्देहीका एक एक जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी १३ असोजमा कोहलपुर मेडिकल कलेज भर्ना हुन् । उनलाई शुक्रबार राति १० मात्र भेरी अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्‍याइएको १ घण्टामा उनको निधन भएको हो ।

    उता, दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको समेत उपचारका क्रममा ज्यान गएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति नौ बजेतिर मृत्यु भएको छ ।

    यता, रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको समेत कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ । संक्रमित भने १ लाख भन्दा माथि पुगेको छ । संक्रमितको सूचिमा नेपाल विश्वका धेरै देशभन्दा अगाडी पुगिसकेको छ ।

  • माल्टा पठाउने भन्दै ४८ लाख ठगी

    माल्टा पठाउने भन्दै ४८ लाख ठगी

    काठमाडौं । माल्टा पठाइदिने प्रलोभनमा ४८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राई पक्राउ परेका हुन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

    माल्टा पठाउने भन्दै नगद पैसा लिएर उनी फरार भएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा उनलाई सुनसरीबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको हो ।

  • थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

    थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुष रहेका छन् ।

    मृत्यु हुनेमा सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया रहेका छन् ।

    यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित

    २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित

    काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमण २५ हजारभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा पनि नेपालका तीन जिल्ला भने अहिले पनि संक्रमण मुक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।

    अन्य हिमाली भेगमा समेत संक्रमण न्यून छ । तर, काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भने संक्रमणको दर उच्च छ । एकै जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या बुधबार साँझसम् ७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।

    मन्त्रालयको विवरण अनुसार मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् । बुधबार नेपालमा अहिलेसम्मकै बढी ३ हजार ४ सय ३९ जनामा सङ्क्रमण पुष्टी भयो ।

    यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८४ सङ्क्रमित थपिँदा काठमाडौंमा मात्र १ हजार २ ९६ जनामा कोरोना देखियो । भक्तपुरमा ९५ र ललितपुरमा २९३ भेटिएको हो । काठमाडौंका अस्पताल भरिभराउ भएका छन् । तर भक्तपुरमा भने बेड खाली छन् ।

    नेपालले अहिलेसम्म कुल ११ लाख १३ हजार ४८५ नमुना परीक्षण गरिसकेको छ । देशभर संक्रमित जसरी बढिरहेका छन्, यसलाई जित्ने मानिसको संख्या पनि उस्तै छ । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितको ७२ प्रतिशत हो ।

  • अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

    अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

    काठमाडौं । २४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । चर्को जनदवाव, नेकपाका शीर्ष नेताको दवाव, विपक्षी नेपाली कांग्रेसको दवाव र चिकित्सकहरुको आन्दोलन घोषणासँगै सरकारले डा. गोविन्द केसीका मागका सम्बन्धमा छलफल गर्न समिति गठन गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा व्यापक सुधारको माग गर्दै डा. केसी १९ औं चरणको आमरण अनसनमा छन् । उनको अनसनमा सरकार उदासिन बनेको थियो । सरकारले माग फिर्ता लिएर अनसन तोड्न आग्रह गरिरहेको थियो ।

    तर, वार्ताका लागि पहल गरेको थिएन । सरकारलाई अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड१९का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बन्द गर्ने निर्णय आजै गरेको थियो ।

  • थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

    थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुष रहेका छन् ।

    मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।

  • बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणपछि थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको ज्यान गएको हो । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्ध र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

    गत शुक्रबार पीसीआर परीक्षण गरेपछि कोरोना संक्रमण पुष्टी भएका नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापबाट पिडित थिए । उनको बुधबार बिहान १ बजे ज्यान गएको हो । बुटवल–९ की ५५ वर्षीया महिलाको भने बुधबार बिहान साढे ५ बजे ज्यान गएको छ ।

    सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा दीर्घरोगको कुनै संकेत थिएन । उनमा शनिबार कोरोना पुष्टी भएको हो ।

  • डा. केसीसँग वार्ता गर्ने प्रधानमन्त्रीको संकेत

    डा. केसीसँग वार्ता गर्ने प्रधानमन्त्रीको संकेत

    काठमाडौं, २१ असोज । मंगलबार धेरै पछि नेकपा सचिवालय बैठक बस्यो । यो बैठकले मन्त्रिपरिषद्का सदस्य परिवर्तनको विषय टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर, बैठकमा नेताहरुले डा. गोविन्द केसी अनसन बसेको २३ दिन पुग्दासमेत किन वार्ता नगरेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न राखेका थिए ।

    त्यसपछि छलफल केसीको मागकै सम्बन्धमा केन्द्रित भएको नेकपा स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली केसीका माग सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको समेत बैठकलाई जानकारी गराएका थिए ।

    बैठक अगाडी प्रधानमन्त्रीको सन्देश लिएर केसीलाई भेट्न शिक्षासचिवसहितको एक टोली शिक्षण अस्पताल समेत पुगेको थियो । सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवन बचाउन सरकारले ठोस् कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

    यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले केसीको जीवन बचाउन सरकार गम्भीर हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए । यसरी पार्टी भित्रैबाट दवाव आएपछि अन्ततः सरकार केसीसँग वार्ता गर्ने मुडमा पुगेको हो । यसअघि सरकारले केसीका मागलाई पुरै वेवास्ता गरेको थियो ।

  • विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

    विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

    विराटनगर । आज मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनीहरु दुबै जना मोरङका बिरामी हुन् । अस्पतालका अनुसार रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजे र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको
    हो ।

    दुबै पुरूष दीर्घरोगको समस्याबाट समेत ग्रसित थिए । कानेपोखरीका पुरूष ब्लड क्यान्सर र रतुवामाईका पुरूष सुगरको समस्यासँग जुधिरहेको बताइएको छ । नेपालमा अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ५ सय नाघेको छ । सोमबार साँझसम्म ५५४ जनाको ज्यान गएको छ ।

  • २२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता

    २२ दिनदेखि आमरण अनसनमा डा. केसी, सरकारको पूर्ण वेवास्ता

    काठमाडौं । डा. गोविन्द केसी पछिल्लो २२ दिनदेखि आमरण अनसनमा छन् । उनी गलिसकेका छन् । बोल्न नसक्ने अवस्थामा पुगेका छन् । तर, सरकार भने उनको मागमा कानमा तेल हालेर बसिरहेको छ । सोहीकारण उनीसँग वार्ता गर्ने र समस्या समाधान गर्नेतर्फ सरकारले कुनै चासो दिएको छैन ।

    डा. गोविन्द केसीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। केसीमा छाती, मांसपेशी दुख्‍ने समस्या देखिन थालेको छ । भोक र कमजोरीले रिँगटा लाग्ने समस्या भएको छ । उनी बोल्न छाडेका छन् ।

    शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कमी भएको समेत चिकित्सक सहयोगीहरुले जनाएका छन् । उनको मुटुको चाल घटबढ हुन थालेको छ । डा. केसीलाई अक्सिजनको साहारामा राखिएको छ । उनी शिक्षण अस्पतालमा आमरण अनसनमा छन् । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै केसी १९ औं आमरण अनसनमा छन् ।

    सरकारले भने अनसन फिर्ता लिन माग गर्दै कोरोना रोकथाममा ध्यान दिन आग्रह गर्दै आएको छ । उनी भदौ २९ मा जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन बसेका थिए ।

    त्यहाँ स्वास्थ्यमा समस्या देखिने र सरकारले समेत वेवास्ता गरेपछि ८ औं दिनमा उनी जुम्लाबाट काठमाडौं आएका थिए । आज डा केसीको मागमा गम्भीर हुन र उनको ज्यानमा कुनै पनि प्रकारको क्षति भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा हुने चेतावनी कांग्रेस नेता गगन थापाले दिएका छन् ।

  • काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा

    काठमाडौंमा म्याद गुज्रेका खाद्य पदार्थको विगविगी, गोदाममा प्रहरीको छापा

    काठमाडौं । दशैं नजिकिएसँगै बजारमा प्रशासनको सक्रियतासमेत बढेको छ । बजार अनुगमन तीव्र भएको छ । यसै सन्दर्भमा उत्पादनपछि प्रयोग गर्ने अवधि सकिएका खाद्य पदार्थको प्याकेटमा नयाँ मिति राखेर बजारमा पठाउने धन्दा नै चलेको पाइएको छ ।

    यसले काठमाडौंको बजारमा म्याद गुज्रेका सामानको विगविगी रहेको खुलेको छ । आइतबार केक र बेकरीका कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल (नयाँ उत्पादन तथा उपभोग्य मिति) राखेर बजार पठाउने एक ठूलो गोदाममा प्रहरीले छापा हानेको छ ।

    यस्तो धन्दामा संलग्न काठमाडौंको कलंकीस्थित एक गोदामबाट चार जना पक्राउसमेत परेका छन् । यस्तो धन्दा पाँच तले घर नै भाडामा लिएर हुने गरेको पाइएको हो । एएसटी प्रालिले १४ सय प्रकारका त्यस्ता कच्चा पदार्थमा पुनः नयाँ मिति राख्ने गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

    गोदाममा कार्यरत अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा पक्राउ परेका छन् । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेका अवस्थी लेखापाल, श्रेष्ठ क्वालिटी म्यानेजर र ओझा स्टोर किपर हुन् ।

    तर, कम्पनीका संचालक भने पक्राउ परिसकेका छैनन् । प्रविन बंका र किरणदेवी अग्रवाल कम्पनीका सञ्चालक हुन् । उनीहरुको खोजी भइरहेको छ ।

    पाँच तले घरको तीनवटा फ्ल्याटमा केक र यसका कच्चा पदार्थको पुनः मिति लेख्न व्यवस्थित रुपमा काम हुने गरेको तथ्य फेला परेको हो । बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट गोदामबाट प्रहरीले बरामद गरेको छ ।

  • कांग्रेस नेता गगन थापालाई कोरोना

    कांग्रेस नेता गगन थापालाई कोरोना

    काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । कांग्रेसले असोज १९ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । त्यसका लागि गरिएको नेताहरुको पीसीआर टेष्टमा थापालाई कोरोना देखिएको हो ।

    यसबाहेक नेता अर्जुननरसिंह केसी र अन्य केही नेतामा समेत कोरोना देखिएको छ । थापा र केसी ससुरा ज्वाईको नाता पर्छन् । आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले जानकारी दिएका छन् । आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।

  • प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी

    प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मूख्य सल्लाहकारसहित उनको किचेन क्याविनेटमा रहने ५ जनामा कोरोना भाइरसको पुष्टी भएकै दिन बालुवाटारको सुरक्षामा खटिने ६७ जना सुरक्षाकर्मीमा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको सैन्य स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    प्रधानमन्त्रीका नजिकका मान्छेलाई कोरोना लागेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाबारे भने बालुवाटारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

    अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण नदेखिएको र अझै केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । दोस्रो पटक मृगौला फेरेका प्रधानमन्त्रीको स्वास्थ्यबारे आम मानिसको भने तीव्र चासो रहने गर्छ ।

  • डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

    डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

    काठमाडौं । सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने मुड बनाएको छ । सरकारले डा. केसीबारे पहिलो पटक प्रतिक्रिया दिँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने उल्लेख गरे ।

    डा. केसी पछिल्लो दुई सातायता अनसानमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रने क्रममा रहेको छ । प्रवक्ता ज्ञवालीले एकातिर डाक्टर, सुरक्षाकर्मी कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहेको असमान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय नभएको बताए । उनले उनले डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने उल्लेख गरे ।

  • नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु

    नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु

    नेपालगन्ज । नेपालमा बिहीबारसम्म कुल ५ सय ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । यसमा पहिलो पटक चिकित्सकले ज्यान गुमाउनु परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका ३ घर भएका ५९ वर्षिय चिकित्सक डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार ज्यान गएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले यसको पुष्टी गरेको छ । उनमा भदौ २९ मा संक्रमण पुष्टि भएको थियो । उनमा श्वास फेर्न गाह्रो हुने समस्या आएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

    प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिए पनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहीक्रममा उनको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको छ । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए ।

  • धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो ।

    अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिर विधिबाट उपचार भइरहेको थियो । उता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

    मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएर धरान ल्याइएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएको अस्पतालले जनाएको छ । त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो ।

  • थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध

    थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध

    काठमाडौं । सरकारले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तर मापन तिब्र बनाएको छ । त्यस क्रममा थप ९ वटा कम्पनीको स्यानिटाइजर बिक्रिमा प्रतिवन्ध लागेको छ । बजारमा प्रयोग हुँदै आएका नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको
    पाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

    विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा हानिकारक रसायन मिसाइएको भेटिएको हो । यसअघि पनि विभागले करीव एक दर्जन कम्पनीका उत्पादनमा यस्तै हानिकारक रसायन भेटिएपछि बिक्री र प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

    विभागका अनुसार ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे र साधना सप्लायर्स काठमाडौंको ह्याण्ड स्यानिटाइजरमा रसायन भेटिएको छ ।

    यसैगरी कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेडका उत्पादनमा समेत प्रतिवन्ध लागेको छ । यस्तो रसायनबाट वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्नेसम्मको खतरा हुन्छ ।

  • प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

    प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

    आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको जानकारी उनले दिएकी छिन् । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएको र शनिबार पोजेटिभ रिपोर्ट आएको उनले नेपाली संचारमाध्यमहरुलाई जानकारी गराएकी छिन् ।

    आफु होम आइसोलेसनमा बसेको समेत उनको भनाई छ । उनले केही दिन अगाडी अनसनरत डा. गोविन्द केसीलाई भेटेपनि सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षा अपनाएको उनले जानकारी दिएकी छिन् ।

  • डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

    डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ ।

    डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले यस्तो चेतावनी दिए । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ । सन् २०१९ को डिसेम्बर अन्त्यमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको हो ।

    त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकाको संख्या तीन करोड २० लाखभन्दा माथि पुगिसकेको छ ।

    डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्ने उनको भनाई छ ।

  • ठुलो पेट भएका मानिसमा चाँडै मृत्‍युको खतरा; एक अध्ययन

    ठुलो पेट भएका मानिसमा चाँडै मृत्‍युको खतरा; एक अध्ययन

    न्युयोर्क       

    पेट बढ्दै गएका मानिसहरुलाई दुखित तुल्याउने एक अध्ययनको नतिजा सार्वजनिक भएको छ । पेटमा बोसो भरिएर पेट ठुलो हुने मानिसहरुको कुनै न कुनै कारणबाट छिट्टै मृत्‍यु हुने एक नयाँ अध्ययनले देखाएको हो ।महिलाहरुमा औसत भन्दा १० सेन्टिमिटर ठुलो पेट भएको अवस्थामा कुनै न कुनै रोगको कारणबाट उनिहरुको छिट्टै मृत्‍यु हुने सम्भावना ८ प्रतिशत ज्यादा हुने र पुरुषहरुको औसत भन्दा १० सेन्टिमिटर पेट ठुलो भएमा छिट्टै मृत्‍यु हुने सम्भावना १२ प्रतिशत ज्यादा हुने उक्त अध्ययनले देखाएको छ ।  अध्ययनको नतिजा ब्रिटिश मेडिकल जर्नल (द बिएमजे) ले बुधबार सार्वजनिक गरेको हो । बिएमजे विश्व कै प्रतिष्ठित जर्नलहरु मध्येको एक मानिन्छ । 

    शरीरको मध्य भागमा रहेको पेटमा अधिक बोसो जम्मा हुँदा शरीरको मेटाबोलिजममा अबरोध उत्पन्न भई डाईबेटिज, मुटु रोग लगायत अन्य रोग शुरु हुन पुग्दछ

    यो नतिजा बिगत ३ अथवा २४ वर्षदेखि अध्ययनरत खोजकर्ताहरुले कुल २५ लाख मानिसहरु संलग्न भएका ७२ फरक अध्ययनबाट निकालिएको द बिएमजेले जनाएको छ । अध्ययनमा औसत भन्दा पेट ठुलो हुनेको मृत्‍यु छिटो हुने देखिए पनि हिप ठुलो हुने र तिघ्रा ठुलो हुनेहरुमा भने छिट्टै मृत्‍यु हुने खतरा निक्कै कम रहेको देखिएको छ । ति ७२ प्रकारका सबै अध्ययनमा शरीरको मध्य भाग वरिपरिको नाप लिईएको जनाइएको छ ।  अध्ययनको निष्कर्ष शरीरको मध्य भागमा रहेको पेटमा अधिक बोसो जम्मा हुँदा शरीरको मेटाबोलिजममा अबरोध उत्पन्न भई डाईबेटिज, मुटु रोग लगायत अन्य रोग शुरु हुन पुग्दछ ।  

    अध्ययनले मानिसको शरीरको मध्य भागमा जम्मा भएको बोसोलाई खतरानाक भनेको छ । पुरुषहरुमा हुने ‘बियर बेलिज’ महिलाहरुमा हुने ‘बेली’ मा भएको अधिक बोसोले एउटा छुट्टै प्रकारको ‘भिसिरल फ्याट’ निर्माण गर्दछ । जुन बोसोले शरीरको मध्य भाग पेटको वरिपरी हुने अंगहरु कलेजो प्याङक्रियाज् र पेटका आन्द्राहरुमा बोसोको निर्माण गरेर ति आन्तरिक अंगहरुलाई निस्कृय गराँउदै लैजान्छ, भनिएको छ । भिसिरल फ्याटलाई एक्टिभ फ्याट पनि भनिन्छ किनकी यो फ्याटले शरीरमा हर्मोनको कृयाकलापमा पनि बाधा उत्पन्न गराउँदछ र मानिसलाई डाईबेटिज हुने, उच्च रक्तचाप हुने, शरीरमा कोलेस्ट्रोरल बृद्धि हुने, क्यान्सर हुने, अल्जाईमर हुने गर्दछ । भिसिरल फ्याट मनिसको हात पाखुरा तिग्रामा हुने फ्याट भन्दा फरक फ्याट हो । मानिसको हात पाखुरा तिघ्रा र हिपमा भएको बोसोले हानी गर्दैन ।  

    श्रोत; द बिएमजे

  • कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

    कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् ।

    उनी कोरोना पोजेटिभ देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराइरहेका थिए । त्यसपछि स्वास्थ्य लाभ गरी पछिल्लो केही दिनयता भने उनी घरमै थिए । रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन होम आइसोलेसनमै बस्ने उनले जानकारी गराएका छन् ।


    त्यसपछि भने उनी पार्टीको काममा फर्कनेछन् । उनले आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र शुभेच्छा राख्‍ने र उपचारमा संलग्‍न चिकित्सक टोलीलाई धन्यवाद दिएका छन्।

  • वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ ।

    परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर भएका रामलखन जैसवाल विगत सात वर्षदेखि थुनामा थिए । उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन् ।

    तर, केन्द्रिय कारागारमा रहेकै अवस्थामा बिरामी परेका उनलाई वीर अस्पताल उपचारका लागि ल्याइएको थियो । अस्पताल ल्याउना साथ उनको ज्यान गएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ । तर, परिवारले भने यो हत्या हो भन्दै प्रशासनको दावि मान्न तयार छैनन् ।

    उता, वीर अस्पतालले मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएका विवादास्पद विषयप्रति आपत्ति प्रकट गरेको छ ।

    ‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको अस्पतालले जनाएको छ । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

    गर्मीका कारण ती व्यक्तिको शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालको भनाई छ ।
    ‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो नभएको अस्पतालले उल्लेख गरेको छ ।

    अस्पतालका अनुसार प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको छ । त्यसपछि शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको प्रति समेत अस्पतालले खण्डन गरेको छ ।