Category: स्वास्थ्य

  • लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ ।

    संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् ।

    लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा रहेर पनि बस्ने भएकाले लकडाउन खोल्दा परिणाम झन खतरानाक हुन सक्ने चेतावनी संगठनको रहेको छ ।

    अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका छन् ।

    संगठनले लकडाउनका कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेको समेत उनले जनाएका छन् ।

    ३१ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए।

    हाल यो संक्रमणले महामारीको रुप लिइसकेको छ। विश्वभर भेटिएका १६,९९,६३१ जनामा संक्रमण पुष्टी भएको छ । यसबाट १ लाख २ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

  • कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ ।

    कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ ।

    इटलीमा १८ हजार ८ सय मानिसको ज्यान गएको छ । अर्थातः अब कोरोनाबाट विश्वमा सबैभन्दा ठूलो मानवीय क्षति अमरिकाले भोगिरहेको छ ।

    किनकी पछिल्ला दिनहरुमा यूरोपमा यसको संक्रमणको दर र मृत्युदर पनि निरन्तर घटिरहेको छ । तर, अमेरिकाले चालेका सबै कदम असफल भइरहेका छन् ।

    अमेरिकामा मात्र संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ रहेको छ । शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

    त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । यहा १ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

    न्युजर्सीमा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना महामारीका कारण शनिबार बिहानसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

    फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १, १ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ । स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

    स्पेनमा ६३४ र इटलीमा ५७० जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ।

    इटलीमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय रहेको छ । विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । नेपालमा ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

  • लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो ।

    तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ ।

    अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ । आफूलाई कारोनाको आंकका गरी अस्पतालसम्म धाउने बिरामी, संक्रमण देखिएका बिरामीका आफन्त, उनीहरुले संगत गरेका व्यक्तिलगायतमा अहिले परिक्षण भइरहेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका कूल ६ सय ३० जनामा नेगेटिभ देखिएको छ ।

    यस अवधिमा उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । यो पछिल्ला दिनहरुमा भएको सबैभन्दा धेरै परिक्षण हो ।

    उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको छ । अझै ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा छन् ।

    नतिजाबाट ९ जनामा पोजेटिभ देखिएको छ । बिहीबारबाट र्‍यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको हो ।

    सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको परिक्षण किटको जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

    चार जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    उपत्यकाबाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ ।

    कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरी पठाएको छ ।

  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ ।

    यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    धेरै मानिस मर्ने मुलुकको सूचिको दोस्रो स्थानमा अमेरिका रहेको छ । १६ हजार ५ सय १३ जनाको ज्यान गएको छ ।

    स्पेनमा १५ हजार ४ सय ४७ जनाको ज्यान गएको तथ्यांक छ । फ्रान्समा १२ हजार दुई सय २८ जनाले ज्यान गुमाउनु परेको छ ।

    चीनबाट शुरु भएको यो भाइरसले यूरोप र अमेरिकामा ठूलो मानवीय क्षति भएको हो । तुलनात्मक रुपमा गरिब मुलुकभन्दा धनी मुलुक यस भाइरसको चपेटामा आएका छन् ।

    संसारभर कोरोना भाइरसबाट १५ लाख ९६ हजार मानिस संक्रमित भएका छन् ।

    अमेरिकामा सबैभन्दा बढी ४ लाख ५२ हजार संक्रमित भइसकेका छन् । स्पेनमा १ लाख ५३ हजार मानिसमा सक्रमण भएको छ ।

    इटालीमा १ लाख ४३ हजार मानिसलाई यसको संक्रमण पुष्टी भएको छ । विश्वभर ३ लाख ५४ हजार संक्रमित भने निको भएका छन् ।

    निको हुनेहरु धेरैजसो चीनमा छन् । चीनमा ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

    जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ । नेपालमा संक्रमितको ९ रहेको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् ।

  • शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो ।

    तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ ।

    लकडाउन गरिरहेको सरकारले परिक्षण समेत सँगै बढाउँदै कोरोना संक्रमणविरुद्ध लड्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइ सकिएको छ । सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरेको छ ।

    किटले १५ मिनेटमै परीक्षणको नतिजा दिने बताएको छ । यसरी संकलन भएको किटको गुणस्तर जाँच्न कैलाली र कञ्चनपुरबाट २ सय नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

    त्यसमध्ये ६६ नमुना परिक्षण गरिएको हो । नेपालमा करीव २४ सय परिक्षण भइसकेको छ । जसमा ९ जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमा पनि १ जना निको भइसकेका छन् । कोरोना पोजेटिभ बिरामीको समेत कोरोनाको लक्षण नदेखिएको र स्वस्थ रहेको बताइएको छ ।

  • कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् ।

    उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ ।

    संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन समेत उनीहरुले माग गरेका छन् ।

    संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिसांसद ६ करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।

    कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तलब समेत नकाट्न सुझाव दिएका छन् ।

    नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरेका हुन् ।

    सरकारले कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणको दायरा बढाउनु पर्ने उनीहरुको सुझाव रहेको छ ।

    उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

    नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्थाको माग गरेका छन् ।

  • विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ ।

    बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए ।

    घेब्रेससले महामारीमा कुशल नेतृत्व लिन चीन र अमेरिकासँग आग्रहसमेत गरे ।

    उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको ज्यान जाने चेतावनी समेत दिए ।

    डब्ल्यूएचओले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने सुझाव दिए ।

    जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो ।

    जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो ।

    अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

  • लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

    लगातार चौथो दिन नेपालमा भेटिएनन् कोरोना संक्रमित, बढाइयो परिक्षणको दायरा

    काठमाडौं । सरकारले कोरोना परिक्षणको दायरा बढाएको छ । बुधबारसम्म कूल २३६६ जनाको नमुना परिक्षण भएको छ । त्यसमध्ये ९ जनामा मात्र कोरोना पोजेटिभ पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लगातार  चौथो दिन नेपालमा थप संक्रमित भने फेला परेनन् ।

    सरकारले अहिले काठमाडौंस्थित केन्द्रिय प्रयोगशालासहित देशभर १० स्थानबाट कोरोनाको परिक्षण थालेको छ ।

    जसले गर्दा पछिल्लो एक सातामा दोब्बरले नमुना परिक्षण भएको छ । तर, नेपालमा थप संक्रमित नभेटिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

    सरकारले यसअघि भेटिएका संक्रमितको नजिकका परिवार, उनीहरुले संगत गरेका व्यक्तिको पहिचान र परिक्षणलाई समेत तिब्रता दिएको बताएको छ ।

    संसारभर १४ लाखभन्दा बढी मानिसमा फैलिएको यो रोगको संक्रमणले पौने १ लाख मानिसको ज्यान गइसकेको छ ।

    सरकारले अहिले सुदुरपश्चिमका कैलाली र कंचनपुर तथा बागलुंगमा समुदाय स्तरमा परिक्षण बढाएको छ ।

  • कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

    कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

    कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो  । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य थुप्रै ब्यवसाय र काम बन्द भए पनि ट्याक्सी एण्ड लिमोजिन कमिसनको ‘ट्याक्सी सेवा अत्यावस्यक भएको हुँदा थप सतर्कता साथ ड्राईभरले काम गर्नु’ भन्ने सुचना रोमेरोले पनि पढे । कोरोनाले न्युयोर्कमा महामारीको रुप लिंदै गर्दा रोमेरोले अत्यावस्यक सेवा अन्तर्गत पर्ने भनिएको ट्याक्सी चलाऊने कामलाई नियमित गर्ने भएपछि उनको छोरीले गाडी सफा गर्ने लाइजोल, सुरक्षाको लागि पंजा र माक्स पनि बाबुको लागि किनेर ल्याइदिइन् ।एकतिर कोरोना संक्रमणको चिन्ता अर्को तर्फ रोमेरोले हरेक महिना तिर्नै पर्ने ११ सय डेरा भाडा, ४ सय ४० डलर गाडीको मार्गेज, लायबिलिटी ईन्सुरेन्स ३ सय २० डलर, ट्याक्सी डिस्प्याच फि १ सय ५० डलर, पार्किङ फि १ सय २० डलर, फोन बिल र ६० डलर ईन्टर्नेट शुल्क गरेर हुने मासिक २ हजार १ सय नब्बे साथमा मेडिकल ईन्सुरेन्सको मासिक शुल्कको बोझ थायो । त्यसको अतिरिक्त दैनिक उपभोग्य बस्तु किन्नु त छँदैछ । महिनैपिच्छे तिर्नु पर्ने यिनै अनगिन्ती बिलहरुले रोमेरोलाई कोरोनाको केन्द्र बिन्दु शहरमा कोठा भित्र सुरक्षित राख्न सकेन ।त्यो महामारीमा पनि ट्याक्सी चलाएर जिबिका चलाऊने सोच अनुसार रोमेरोले आफ्नी ३२ बर्षीया पत्नीलाई भने “न्युयोर्क शहरमा ट्याक्सी चलाऊनु मेरो काम हो ।  हाम्रो सिंगो परिवार त्यही काममा निर्भर छ” ।  रोमेरोले पंजा र मास्क लगाएर कामलाई नियमिता दिए ।

    अहिले उनी बिरामी छन् । उनकी ३२ बर्षीया पत्नी स्याण्ड्रा पनि बिरामी छिन् । उनको जेठी छोरी ज्वाँई पनि बिरामी छन् । अहिले राऊल रोमेरो काम गर्ने अवस्थामा छैन । अप्रिलको पहिलो हप्ता पुरा हुन लाग्यो उनीसँग कोठा भाडा तिर्ने पैसा पनि छैन । ब्रोंक्सस्थित साँघुरो अपार्ट्मेन्टमा परिवारका साथ बसोबास गर्दै आएका राऊल अहिले कोरोना सुरु भै सक्दा पनि जोखिम लिएर काम गरेको पुराना दिन सम्झने कोशिस गर्छन् । कोरोना संक्रमण न्युयोर्कमा सुरु हुँदै गर्दाको सुरुवाती दिनमा राऊल ट्याक्सी ब्यबसायमा निकै ब्यस्त थिए । थुप्रै ट्याक्सी र उबर थन्किएका थिए तर राऊलको रफ्तार ब्यापक थियो । अस्पतालमा कोरोनाका संक्रमितको चाप बढ्दै थियो अनि शहरमा डाक्टर र नर्सको ब्यस्तता पनि बढ्दै थियो । तिनै ब्यस्त डाक्टर र नर्सलाई घरबाट अस्पताल र अस्पतालबाट घर गराउन पाएको राऊलले त्यतिबेला आफुलाई एउटा “हिरो” जस्तो महसुस गरेका थिए । महामारीको समय यस्तो सेवाको काम गर्न पाएकोमा राऊल गौरवान्वित थिए । उनले त्यतिबेला पेसेन्जरमात्र बोकेनन्, सिनियर सिटिजनको घर घरमा ग्रोसरी पुर्याउने सेवा समेत                                             गरे । बिस्तारै बिस्तारै राऊलको ट्याक्सीमा अस्पताल जाने बिरामी पनि चढ्न थाले ।  अस्पताल जाने कतिपय पेसेन्जरले आफु कोभिड -१९ टेस्ट गर्न अस्पताल जान लागेको बताएका थिए । राऊलको सानो “टोयटा क्याम्री” गाडी चढ्ने पेसेन्जर कतिपयले जोड जोडले खोक्ने गर्दथे । गाडी भित्र खोक्ने कतिपय ग्राहक कतिले मुख छोपेर खोक्थे भने कतिले मुख नछोपी खोक्थे । राऊल आफु मास्क लगाउँथे, पंजा लगाउँथे तर पेसेन्जर कतिपयले मास्क नै लगाउदैन थिए ।  

    अहिले राऊल कोठामा बसेर गत मार्च १४ तारिकका दिन उनको ट्याक्सी चढने सबै ग्राहकको अनुहार र घटना सम्झिने कोशीसमा छन् । राऊललाई अहिले कुन ग्राहकले कोरोना सारेको हो त्यो पनि प्रष्ट अनुमान छ । उनी सम्झिन्छन्; “एक जना ग्राहकले उनलाई आफु कोभिड  -१९ पोजेटिभ भएको र अस्पताल जान लागेको भन्दै जोड जोडले खोक्दै थिए । पछाडि बसेर खोकेको पेसेन्जरको छिटा राऊलको सिटको पछाडिसम्म परेको अनुमान पछि राऊलले आफ्नो ज्याकेटको हूड उचालेर टाउको छोपेको उनी बातउँछन् । न्युयोर्क सिटीका ड्राईबरलाई आफ्नो पेसेन्जर अस्विकार गरेर बाहिर निकाल्न मिल्ने अधिकार छैन । २० मिनेट मात्र टाढा जाने ती ग्राहक बोकेको ४ दिन पछि राऊल बिरामी परे । राऊलसँग ज्वरो नाप्ने थर्मोमिटर पनि थिएन ।  राऊललाई निकै गार्हो हुँदै थियो । उनकी पत्नी स्याण्ड्राले लसुन र अन्य मसला भएको तातो- तातो सुप कर गर्दै खुवाउन थालिन् ।  राऊलको शरिरको तापक्रम बृद्धि हुँदै थियो ।पत्नी स्याण्ड्राले उनलाई कोठा बाहिर जान दिईनन । स्याण्ड्राले सिटी हट लाईनमा फोन गरिन र आफ्नो पतिको सबै लक्षण बताईन् तर उताबाट जवाफ आयो कि “अहिले अस्पताल प्याक छ घरमा नै आराम गर्नु” ।  

    अहिले पत्नी स्याण्ड्रा, जेठी छोरी, ज्वाँई सबै बिरामी परेका छन् । उनीहरु सबै आफ्नै घरमा आराम गर्दै छन् ।अमेरिकी नागरिक राऊलको परिवार ४० बर्षदेखि ब्रोंक्समा बसोबास गर्दै आएको छ । राऊल लगातार अनइम्प्ल्वाईमेन्ट दाबी गर्ने सोचमा डिपार्ट्मेन्ट् अफ लेबरको वेब साईटमा ट्राई गर्दै छन् ।  तर कहिले सिस्टमले काम गर्दैन कहिले फोन गर्न खोज्यो फोन लाग्दैन । अब उनीहरुको आशा सरकारले पठाउने प्रतिब्यक्ती १२ सय डलरको प्याकेज अन्तर्गत आउने २४ डलर हिसाब गर्दै कुरेर बसेका छन् ।  

    (यो आलेख वासिङ्टन पोष्टबाट उल्था गरेका हौं)

  • प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे ।

    सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्ने भन्दै त्यसका लागि तयार रहनु आग्रह गरेका छन् । सरकारले पहिलो पटक ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

    त्यो लकडाउन १८ चैतसम्मका लागि थियो । तर, कोरोनाका संक्तमित बढ्दै गएपछि लकडाउन २५ चैतसम्म सारिएको थियो । तर, त्यसपछि पनि लकडाउन भने लम्बिएर ३ बैशाखसम्म पुगेको छ ।

    प्रधानमन्त्रीका अनुसार अबको दुई साता कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि समेत भएको भन्दै सचेत गराएका छन् ।

    प्रधानमन्त्रीले मेडिकल सामग्री खरीदमा भएको अनियमितता र त्यसपछि भएको सरकारको आलोचनाको समेत बचाउ गरेका छन् ।

    सरकारले स्वास्थ्य सामाग्री आपूर्तिको जिम्मा अहिले नेपाली सेनालाई दिएको छ । तर, प्रधानमन्त्रीले भने आरोप निराधार रहेको र मिथ्या प्रचार भएको भन्दै सरकारको बचाउ गरेका छन् ।

    सरकारका कामबारे संवैधानिक अंगहरुहरुले अध्ययन गर्ने भन्दै उनले कामै गर्न नसक्ने वा प्रक्रिया सुरु हुन नसक्ने गरी ‘आधारहीन’ प्रश्न गर्दा काम गरिरहेकाहरुलाई निरुत्साहित गर्न खोजिएको उनले बताए ।

    मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै भएको उनको भनाई छ ।

  • कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

    काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् ।

    सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा यसको संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये नेपालमा ९ जनामा संक्रमण पुष्टी भएको छ । २ लाख ५३ हजार ७ सय जना भने निको भएर घर फर्किसकेका छन् ।

    संसारभरका मुलुकमध्ये सबैभन्दा धेरै मानिस इटलीमा मरेका छन् । सोमबार इटलीमा ६ सय ३६ जनाको ज्यान गएको छ ।

    इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार ५ सय २३ पुगेको छ । यस मुलुकमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ रहेको छ ।

    सोमबार ३ हजार ५ सय ९९ नयाँ संक्रमित देखिए । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

    अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८ पुगेको छ । अमेरिकाको न्युयोर्कमा मात्र ४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ ।

    अमेरिकामा संक्रमितको संख्या ३ लाख ६७ हजार ५ सय ७ रहेको छ । फ्रान्समा सोमबार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा एकै दिन धेरै जनाको मृत्यु भएको पहिलो पटक हो । अब फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।

     

    जर्मनीमा संक्रमित संख्या १ लाख ३ हजार ३ सय ७४ र मृतक संख्या १ हजार ८ सय १० पुगेको छ । इरानमा ३ हजार ७ सय ३९ को ज्यान गएको छ ।

  • न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्‍यु

    न्युजर्सी राज्यस्थित जर्सी सिटी काउन्सिल म्यानको कोरोनाको कारण मृत्‍यु

    न्युजर्सी

    न्युजर्सी राज्यस्थित जर्सी सिटीका काउन्सिल म्यान माईकल युनको कोभिड -१९ का कारण मृत्‍यु भएको छ । उनको मृत्‍युको खबर जर्सी सिटीका मेयर स्टिब फुलोपले पुष्टि गरेका छन् । काउन्सिल म्यान युनको मृत्‍युमा समबेदना ब्यक्त गर्दै मेयर फुलोपले भनेका छन् “काउन्सिल म्यान माईकल युनको मृत्‍युले गर्दा हामी दु:खी भएका छौं । उनी बिगत ३० बर्षदेखि लगातार जर्सी सिटीको लागि वकालत गर्दै आएको कहिल्यै नथाक्ने नेता, एक सफल ब्यापारी र परिवारको अभिभाबक थिए” ।  

    बिगत दुई हप्तादेखि कोरोना संक्रमणबाट थलिएका काउन्सिल म्यान युन गत मार्च २४ तारिखदेखि श्वास-प्रश्वासमा समस्या भएका कारण जर्सी सिटी मेडिकल सेन्टरको आई सि युमा उपचारत थिए । सन् १९७९ मा कोरियाबाट विद्यार्थीको हैसियतमा अमेरिका आएका युन सन २०१३ मा पहिलो पटक जर्सी सिटीको काउन्सिल म्यान निर्वाचित भएका थिए भने सन २०१७ मा पुन: निर्वाचित भएका थिए ।

  • निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

    काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ ।

    सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा उनीहरुलाई सरकारी अस्पतालले स्वागत गर्नेछन् ।

    कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सरकारले शतप्रतिशत भत्ताको निर्णय गरिसकेको छ ।

  • भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

    भारतीय प्रधानमन्त्रीसहित सांसदको ३० प्रतिशत तलव कटौती हुने

    काठमाडौं । भारतीय प्रधानमन्त्रीसहित सांसदको तलब कटौती हुने भएको छ । मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य र सांसदहरुको तलवबाट ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

    पछिल्ला दिनमा भारत कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसविरुद्ध लड्न भारतलाई समेत हम्मेहम्मे पर्ने देखिएको छ ।

    भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिए ।

    निर्णय अप्रिल १ देखि लागू हुने भएको छ । प्रस्ताव पारित भएपछि सांसदको १२ महिनाको तलबमा ३० प्रतिशत कटौती हुनेछ ।

    उनीहरुले भत्ता पनि पाउने छैनन् । कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्च गरिने भएको छ ।

    सांसदको तलव कटौतीसँगै राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गरेका हुन् ।

    सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्म निलम्बित भएको हो ।

    यसरी निलम्बन भएका कोषहरुको रकम कोरोना भाइरसको संक्रमण हटाउन प्रयोग गरिने भएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ सय ९३ नयाँ संक्रमित व्यक्ति फेला परेका छन् ।

    भारतमा संक्रमितको संख्या ४ हजार नाघेको छ । भारतमा समग्र मृतकको संख्या १ सय ९ पुगेको छ ।

  • अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

    अमेरिकामा स्वास्थ बीमा नहुनेले कोरोना संक्रमण उपचारको चिन्ता गर्नु नपर्ने

    न्युयोर्क

    अमेरिकामा यती बेला कोरोनाको महामारी चलेको छ । कतिपयलाई कोरोना भाईरसको संक्रमण भै हाल्यो भने स्वास्थ बिमा नहुँदा कसरी उपचार गर्ने होला र ठुलो खर्चको ब्यबस्थापन गर्ने होला भन्ने चिन्ताले समेत सताएको छ ।तर अब स्वास्थ बिमा नहुनेले पनि कोरोना संक्रमणको उपचारको लागि चिन्ता गर्नु नपर्ने भएको छ ।स्वास्थ बिमा नभएका कोरोनाका त्यस्ता बिरामीको उपचार पछी अब ट्रम्प प्रशासनले २ खर्ब अमेरिकी डलरको इस्टिमुलस प्याकेजबाट नै स्वास्थ बिमा नभएका बिरामीको उपचार गर्दा लागेको खर्च अस्पातललाई परिपुर्ति दिने भएको हो ।उक्तकुरा हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी अलेक्स अजरले बताएका छँन् ।कोरोनाको उपचार पछी स्वास्थ प्रदायकले बिरामीलाई उपचारको बिल पठाउन नपाउने ब्यबस्था गरिएको समेत  सेक्रेटरी अलेक्सले बताएका छँन् ।  

    बिमा नभएका कोरोना बिरामीको उपचारको लागि संघिय सरकारले २ खर्ब अमेरिकी डलरको स्टिमुलस् प्याकेज मध्येबाट १०० अर्ब अमेरिकी डलर छुट्याएको छ ।  

  • लकडाउन ३ वैशाखसम्म लम्बियो

    लकडाउन ३ वैशाखसम्म लम्बियो

    काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ ।

    लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो ।

    तर, उक्त अवधि पनि पूरा नहुँदै २५ गतेसम्म थपिएको थियो । तर, यो अवधिमा पनि कोरोना संक्रमण नघटेपछि सरकारले लकडाउन घोषणा गरेको हो ।

    यसअघि सरकारले स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलिएको आंशकामा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म समेत जान नसक्ने गरी कडाइ गरेको छ ।

    यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन लब्याउने सिफारिस गरेको थियो ।

    लकडाउन बढाउन र तिब रुपमा परिक्षण बढाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

    मन्त्रीपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले पाएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रदेश २ सँग समन्वय गर्ने भएका छन् ।

    खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने गरी तोकिएको छ ।

  • कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

    न्युयोर्क

    हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४ हजार कोभिड -१९ का  बिरामीको उपचारको लागि पर्याप्त हुने हाईड्रोक्सक्लोरोकुईनको डोज पठाईसकेको छ । कोभिड -१९ का बिरामीको लागि आबस्यक पर्ने १० दिने औषधीको कोर्स न्युयोर्कका अस्पातलहरुमा बिरामीलाई दिन सुरु गरिएको छ । एन्टीमलेरिया औषधीको कोभिड -१९ का बिरामीमा पर्ने सकारात्मक असरका बारेमा युभर्सिटी अफ अल्बानीज स्कुल अफ पब्लिक हेल्थले निरिक्षण गरिरहेको छ । यो औषधी कोभिड -१९ का बिरामीलाई दिएर उपचार गर्न हुने वा नहुनेको निर्क्योल यसै हप्ताको अन्त्यसम्म हुने बताईएको छ ।

    यो हप्ताको अन्त्य सम्म कोभिडका बिरामीलाई निको पार्न हाईड्रोक्सक्लोरोकुईन काम लाग्ने औषधी  ठहरेको खण्डमा यो अत्यन्त महत्वपूर्ण हतियार हुने बाताईको छ । फेडरल फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन ( एफ डि ए ) ले  एक हप्ता पहिले नै हाईड्रोक्सक्लोरोकुईनको दिएर कोभिड -१९ का बिरामीलाई उपचार गर्न अस्थाई स्वीक्रिती दिएको थियो ।

    यस अगाडि लसएन्जलसस्थित मेन्ड अर्जेन्ट केयरका सि ई ओ डा एन्थोनी कार्डिलो हाईड्रोक्सक्लोरोकुईनको कोभिड-१९ बिरामीमा असर बारे भनेका थिए ” अती नै सम्बेदनसिल अवस्थामा पुगेका कोभिड -१९ का बिरामी छँन्  उनिहरुमा जिंकको साथमा हाईड्रोक्सक्लोरोकुईन चलाऊदा सम्बन्धित बिरामी ८ देखी १२ घण्न्टामा सुधारउन्मुख हुने गरेका छँन् ” ।  

    क्लोरिकुईन र हाईड्रोक्सक्लोरोकुईन संन्  १९४४ देखी मलेरिया रोकथाममा प्रयोग हुँदै  आएको औषधी हो ।  

  • बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

    बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

    न्युयोर्क

    बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।  

    प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो ।

    जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन लाई अस्पातल लगिएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ; “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो” ।

    मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोन्सनले निवासमै बसेर काम गर्दै आएका थिए ।

    उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए।

    (बि बि सि नेपालीको समाचारका आधारमा तयार पारिएको रिपोर्ट)

  • एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

    एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी

    काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो ।

    सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्‍यापिड टेष्टको तयारी थालेको हो ।

    यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्‍यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय गरेको थियो ।

    यसरी धेरै जनामा हुने परीक्षणबाट जुन व्यक्तिको रिर्पोट पोजेटिभ आउँछ, उसको मात्र पीसीआर प्रविधिबाट परीक्षण गरी कोरोना भए नभएको निश्चित गरिने भएको छ ।

    यसको तयारी थाल्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

    कार्यालयका अनुसार अब कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको परीक्षण हुने भएको छ ।

    बागलुङका कोरोना संक्रमित व्यक्तिहरुको बासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेकाको समेत परिक्षण गर्न लागिएको छ ।

    २०७६ चैत महिनामा नेपाल प्रवेश गरेका र तिनीहरुको सम्पर्कमा रहेका सबै व्यक्ति अब परीक्षणको दायरामा आउने भएका छन ।

    कैलालीमा विदेशबाट आएका एक संक्रमितबाट परिवारको सदस्यमा संक्रमण सरेको पाइएपछि सरकारले र्‍यापिड टेष्टमा जाने निर्णय गरेको हो ।

    कैलाली र कञ्चनपुरमा भारतबाट आएका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्‍यापिड टेष्ट गर्ने जिल्लामा बागलुङ पनि हो ।

    यहाँ दुई जना संक्रमित छन् । उनीहरु दुवैजना बेल्जियमबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएका हुन् ।

    उनीहरु विदेशबाट आएपछि होम क्वारेन्टाइनमा नबसी समुदायमा निस्फ्रिकी डुलेका थिए । त्यसकारण स्थानीय स्तरमा संक्रमण फैलिएको गएको आशंका छ । र्‍यापिड टेष्टका लागि तालिमप्राप्त एउटा टोली बागलुङ र अर्को टोली सुदूरपश्चिमतिर सोमबार प्रस्थान जाँदैछ ।

  • कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

    कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

    उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ ।

    उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।

    आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोनमा वार्ता गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेका हुन् ।

    सभापति देउवाको सचिवालयका अनुसार कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न पूर्वप्रधानमन्त्रीसँग कुराकानी गरेका हुन् ।

    देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी सच्याएर जानुपर्ने बताएका थिए ।

    वर्तमान संकट नेपाल र नेपालीमाथिको संकट भएको भन्दै दल भन्दा माथि उठेर समाधानमा लाग्नु पर्ने देउवाले बताएका छन् ।

    सरकारले गरेको प्रयत्नलाई अझ प्रभावकारी बनाउने सन्दर्भका सभापतिले छलफल गरेका हुन् । नेपालमा अहिलेसम्म कूल ९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

  • २४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ

    २४ घण्टामा नेपालमा देखिएन नयाँ संक्रमण, खरीपाटीका सबैको रिर्पोट नेगेटिभ

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो जानकारी गराइएको हो ।

    यसअघि शुक्रबार भने एकै दिन ३ जनामा कोरोनाको पुष्टी भएको थियो । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टी भएको छ ।

    जसमध्ये ८ जना उपचारार्थ छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरको क्‍वारेन्टाइनमा राखिएका सबैको रिर्पोट नेगेटिभ आएको छ ।

    यहाँ कूल ९४ जना व्यक्ति क्वारेन्टाइमा बसेका थिए । यहाँ विभिन्‍न देशबाट आएका व्यक्तिलाई राखिएको छ ।

    उनीहरु सबैको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उल्लेख गरे ।

    सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको क्‍वारेन्टाइनमा राखिएको थियो ।

    देवकोटाका अनुसार अहिलेसम्म १५२९ नमूना परीक्षण गरिएको छ । राष्ट्रिय प्रयोगशालासहित पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण शुरु भएको छ ।

    चितवनमा र बुटवलमा समेत परीक्षण शुरु गर्ने तयारी रहेको छ ।

    काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेको संखया ८ हजार ९७ पुगेको छ ।

  • कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने

    कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने

    काठमाडौं । सरकारले कोरोनाविरुद्ध स्वास्थ्य अभियानमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । देशभर करीव ५० हजार हाराहारी यस्ता स्वास्थ्य सेविका रहेको अनुमान छ ।

    कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सुरक्षाको पूर्ण प्रत्याभूति गरेर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

    उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था सरकारले गर्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले उल्लेख गरे ।

    अब खासगरी स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलन सक्ने आंशकासहित सरकारले महिला स्वास्थ्य स्वयमसेविकलाई परिचालनको नीति लिन लागेको हो ।

    सरकारले अब क्वारेन्टाइनमा बसेकालाई लक्षण नदेखिएपछि विनापरीक्षण घर नपठाउने निर्णय गरेको छ ।

    बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको छ ।

    अब कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय सरकारले प्रष्ट पारेको बिडारीले उल्लेख गरे ।

    यस बैठकले पनि लकडाउनको विषयमा भने कुनै निर्णय गर्न सकेन । लकडाउन अवधि २५ चैत राती १२ बजेपछि सकिदैछ ।

  • बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ

    बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना नेगेटिभ

    पोखरा । नेपालकी छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिलाको परिवारमा भने कोरोना नसरेको पाइएको छ । उनको परिवारको कोरोना परीक्षणबाट नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    उनका ससुरा, बुहारी र दुई नातिको थ्रेट स्वाब शुक्रबार परीक्षणका लागि पठाइएको थियो। चारै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु सबैको नतिजा नेगेटिभ आएको हो ।

    ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    उनीसँगै आएकी अर्की एक युवतीमा समेत कोरोना संक्रमण देखिएको छ । सरकारले यस जिल्लामा परिक्षणको दायरा वृहत बनाउने घोषणा गरिसकेको छ ।

  • के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

    के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?

    न्यूयोर्क

    टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्‍यु हुनेहरुको संख्या  निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ ।  टि बि बिरुद्धको  खोप अनिबार्य  नगरिएका देशहरुमा कोरोनाको कारण मृत्‍यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले देखाएको छ ।  चिकित्सा बिषयका अप्रकाशित अनुसन्धान (अन पब्लिस मेडिकल रिसर्च ) हरुलाई   स्थान दिदै आएको मेडरिक्सभी (medRxiv) नामक न्युज साईटले उक्त अध्ययनको बारेमा लेखेको छ – हाल संसारमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमित र मृत्‍यु हुनेको संख्या बि सि जि ( BCG ) bacille  calmette Guerin भ्याक्सिन अनिबार्य भएका देशमा निकै न्युन देखिएको  छ ।  यद्यपी  यो अध्ययनको अन्तिम निर्णय भने होईन । यो अनुसन्धानको लागि हाल विश्वका ६ वटा देश्हरुमा कोरोनाका बिरामीको उपचारमा अग्रपङ्तीमा काम गर्ने चिकित्सकहरु र बृद्धबृद्धाहरुलाई बि सि जि खोप दिएर अनुसन्धान सुरु गरिएको छ ।  यसको अन्तिम निर्णय आउन भने केही महिना लाग्ने बाताईएको छ ।

    हाल जनसंख्याको ठुलो हिस्सामा कोभिड -१९ देखिएका उच्च प्रतिब्यक्ति आय भएका अमेरिका र ईटालीजस्ता देशहरुमा बि सि जि  भ्याक्सिन आवस्यकता अनुसार मात्र लगाउने ब्यबस्था छ । यस्ता देशहरुमा बि सि जि भ्याक्सिन अनिबार्य छैन । जर्मनी, स्पेन, फ्रान्स, ईरान र बेलायतमा धेरै पहिले बि सि जि भ्याक्सिन अनिबार्य भएपनि यि देशहरुमा दसकौं पहिला बि सि जि भ्याक्सिनको ब्यबस्थालाई हटाईएको थियो । कोरोना महामारीको ऊद्गगम स्थल चीनमा बि सि जि भ्याक्सिन लगाउने ब्यबस्था भएपनि सन् १९७६ देखि यो भ्याक्सिनको पालना सही ढंगले हुने नगरेका कारण अधिकांस चिनियाहरुले बि सि जि खोप लिने नगरेको न्युयोर्क ईन्स्टिचुट अफ टेक्नोलोजीका एसिस्टेन्ट प्रोफेसर गोंजालो ओटजुले बताएका छन् । कोरोना भाईरसलाई छिट्टै ब्यबस्थापन गर्न सफल दक्षिण कोरिया र जापानमा प्रत्येक नागरिकले बि सि जि भ्याक्सिन लिनु पर्ने वाध्यकारी ब्यबस्था छ । यो अनुसन्धानको नेतृत्व हाल न्युयोर्क  ईन्स्टिचुट अफ टेक्नोलोजीका एसिस्टेन्ट प्रोफेसर गोंजालो ओटाजुले गरिरहेका छन् । चीन भन्दा बाहिर कोरोना देखिएको अर्को मुलुक जापानमा न्युन संख्यामा कोरोना संक्रमित देखिएको र बिना लक डाऊन नै ठुलो क्षती बिना नै कोरोनाको ब्यबस्थापन गर्न सफल भएको देखेपछि प्रोफेसर ओटाजुले बि सि जि खोप र कोरोना रोकथामका बिषयमा अनुसन्धान सुरु गरेका हुन् । यो बिषयमा ओटाजुले बताएका छँन् – बि सि जि भ्याक्सिनले टि बिको ब्याक्टेरिया मात्र होईन यसले अन्य सरुवा रोगबाट पनि बच्न मद्धत पुग्ने अनुसन्धानबाट देखिसकेको छ ।  

    झन्डै १२ लाख मानिस विश्वभर संक्रमित भएर ६४ हजारले ज्यान गुमाई सक्दा पनि सिंगो विश्व कोभिड -१९ सँग पौँठेजोरी खेल्दै छ ।  कोरोना बिरुद्धको भ्याक्सिन पनि बर्षौं पर छ भने उपचारमा प्रयोग गर्ने औषधी पनि अनुसन्धानको क्रममा नै छ । यस्तो अप्ठेरो परिस्थितीमा यदी बि सि जि भ्याक्सिनले कोभिड -१९ बिरुद्धको खोजी गर्नु उचित नै हुन्छ भनेका छन् । युनिभर्सिटी  अफ टोरन्टो  ईम्युनोलोजी डिपार्ट्मेन्ट्का प्रोफेसर ईलोनोर फिस ।  कोरोना भाईरस बिरुद्ध बि सि जि भ्याक्सिनको प्रभाबकारीता बारे अनुसन्धानका क्रममा नेदरल्यान्डस्थित रडबाउन्ड युभर्सिटी मेडिकल सेन्टरका सरुवारोग बिशेषज्ञ मीहाई नेतालको समुहले चार सयजना अग्रपङ्तीमा कार्यरत चिकित्सकहरुमा बि सि जि भ्याक्सिन दिई सकेको छ । यद्यपी यो अनुसन्धानको रिजल्ट आउन दुई महिना लाग्ने बताईएको छ ।

  • बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

    बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट

    काठमाडौं । कोरोना संक्रमित व्यक्ति भेटिएका तीन जिल्ला बागलुंग, कैलाली र कंचनपुरमा अब कोरोनाको र्यापिड टेस्ट गरिने भएको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा कोरोनाको परिक्षणलाई वृहत बनाउने निर्णय गरेको हो । यसअघि विदेशबाट आएका नेपालीमा मात्र देखिएको यो रोग शनिबार पहिलो पटक समुदायमा समेत देखिएको छ ।

    सोहीकारण अब ती जिल्लामा कारोनाको शंका लागेका, संक्रमितको आसपास रहेका सबै मानिसलाई परिक्षणको दायरामा ल्याइने भएको छ ।

    त्यसक्रममा पोजेटिभ आएका नमूनालाई केन्द्रिय प्रयोगशालामा ल्याएर प्रमाणित गरिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार अब स्थानीय तहसम्मको समेत आवतजावतमा कडाई गरी एक समुदायबाट अर्को समुदायसम्म कोरोना फैलन नदिने गरी तयारी गरिएको छ ।

    सरकारले स्वस्थोपचारमा संलग्न चिकित्सकको सुरक्षालाई समेत उत्तिकै महत्व दिने निर्णय गरेको छ ।

  • अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने

    अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने

    काठमाडौं । सरकारले लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको छ । यसअनुसार अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत जान नपाइने गरी निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई कडाई गर्ने निर्णय भएको जानकारी दिए ।

    त्यसअनुसार प्रदेशबाट प्रदेश र स्थानीय तहबाट स्थानीय तहसम्म समेत जान नपाउने गरी निर्णय भएको छ ।

    यसका साथै लकडाउनको कर्यान्वयनका लागि अब कडाईका साथ सबै तहले काम गर्ने भएका छन् ।

    सरकारले आज लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्नेमा भने कुनै निर्णय नगरेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

    उनका अनुसार शनिबारको मन्त्रीपरिषद् बैठकमा अहिलेसम्मको परिस्थितिको विश्लेषण गरिएको थियो ।

  • स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित

    स्पेनमा इटलीमा भन्दा बढी धेरै संक्रमित

    काठमाडौं । इटलीमा तुलनात्मक रुपमा संक्रमितको संख्या घट्न थालेको छ । खासगरी नयाँ संक्रमण कम हुन थालेको छ । तर, अर्को यूरोपेली मुलुक स्पेनमा भने निकै तिब्र गतिमा संक्रमण बढीरहेको छ ।

    कोरोना भाइरस (कोभिड १९)बाट स्पेनमा एकै दिन ८०९ जनाको मृत्यु भएको छ । अब स्पेनमा मृतकको संख्या ११ हजार सात सय ४४ पुगेको हो ।

    पछिल्लो तीन दिन यता मृतकको संख्या भने १ हजार भन्दा कममा आएको छ । स्पेनमा कुल संक्रमित १ लाख २४ हजार ३६ पुगेको छ ।

    यो संख्या कोरोनाबाट सबैभन्दा धेरै मृत्यु भएको इटालीको भन्दा माथि हो । तर, अमेरिकामा भएको भन्दा यहाँ संक्रमित कम छन् ।

    अमेरिकामा संक्रमितको संख्या २ लाख भन्दा माथि पुगेको छ ।

  • नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

    नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो ।

    यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ ।

    विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको दोस्रो चरण मानेको छ । मन्त्रालयले लकडाउन कडाइका साथ पालना गर्न र घरभित्रै बस्न आह्वान गरेको छ ।

    यो कोरोना रोकथाम तथा नियन्त्रणको काममा सर्वसाधारणले गरेको सहयोग ठहरिने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    शनिबार स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिंगका क्रममा कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी गराएको थियो ।

    अब कुल संक्रमितको संख्या ९ पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

    ४१ र २१ वर्षका पुरुष भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेको अवस्थामा संक्रमण भएको हो ।

    कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू भएको मन्त्रालयले जनाएको छ ।

  • अब चितवनमा पनि कोरोना परिक्षण

    अब चितवनमा पनि कोरोना परिक्षण

    चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो ।

    स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो ।

    प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षण गरेको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर शनिबारबाट काम शुरु भएको हो । ल्यावमा दुई जना विज्ञले काम गर्नेछन् ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

    भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाकै पहलमा भरतपुरमा कोरोना विशेष (अस्थायी) अस्पताल समेत सञ्चालनमा आइसकेको छ ।

    यो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइने गरेको छ ।

    अब भने यो काम चितवनमै सम्भव हुने भएको हो ।

  • तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

    तरकारी पसलमा कोरोना संक्रमणको जोखिम, कालिमाटीका खुद्रा पसल बन्द हुने

    काठमाडौं । तरकारी बजारमा हुने अधिक भिडभाडले कोरोनाको जोखिम बढाएको छ । खासगरी हरेक दिन साँझ लकडाउन कै अवधिमा समेत ठूलो संख्यामा मानिस तरकारी किन्न निस्कने गरेका छन् ।

    सोही जोखिमलाई ध्यानमा राख्दै अब कालीमाटी फलफूल तथा तरकारी बजारभित्र तरकारीको खुद्रा व्यापार नहुने भएको छ ।

    कालिमाटी भित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाउने सहमति भएको हो । व्यवसायीहरु सँगकै सहमतिमा यस क्षेत्रमा रहेका ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।

    बजार व्यवस्थित गर्नेबारे शुक्रबार जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, व्यापारिक संघ, संस्थासहित छलफल भएको थियो ।

    शनिबारदेखि बजारभित्र खुद्रा पसल चल्ने छैनन् । यहाँ दुईपांग्रे सवारीसाधन समेत प्रवेश निषेध गरिएको छ ।

    अब थोक किन्ने ग्राहक मात्र कालिमाटी बजारमा छिर्न पाउने भएका छन् ।

    बैठकले बजारभित्र थोकका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायीलाई पनि ठूला प्याकेजिङमा मात्रै बिक्री गर्न आग्रह गरेको छ ।

    लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको छ ।