Category: स्वास्थ्य

  • राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

    राजधानी काठमाडौं गोकर्णेश्वरका युवाले यसरी गरे राहत बितरण

    काठमाडौं    

    काठमाडौं गोकर्णेश्वर नगरपालिकाको उत्तर पूर्वी गाउँ  सुन्ताखाँनस्थित केही सकृय युवाहरुद्वारा संचालित स्वतन्त्र टोल सुधार  समितिले कोरोना महामारीमा पिडामा परेका ११ सय ३० बिपन्न तथा मजदुरलाई राहत बितरण गरेको छ ।स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा मजदुरलाई बितरण गरिएको टोल सुधार समितीका अध्यक्ष जय राम बिष्टले बताए ।”पछिल्लो समय कतिपय राहत बितरण अब्यवस्थित भएको समाचार आएको हुँदा हामीले बितरणलाई आफ्नो बुद्धी र बिबेकले भ्याएसम्म राम्रो गर्ने कोशीस गरेका छौं” भन्छन् अध्यक्ष बिष्ट ।  बिष्ट भन्छन्; “हाल सालै वडा कार्यालयले नगरपालिकासँग समन्वय गर्दै वडा भित्रका बिपन्न र मजदुरहरुको अभिलेख तयार गरेको थियो ।  त्यही अभिलेखलाई आधार मान्दै ११ सय ३० जनालाई पहिलो चरणको राहत बितरण सम्पन गरेका छौं ।हाम्रो मुख्य चसो भनेको राहत पाउनु नपर्नेले नपावोस र पाउनै पर्ने नछुटोस भन्ने नै हो” ।  

    समितिले प्रति ब्यक्ती १२ किलो चामल, आधा लिटर तेल, १ किलो चिनी, १ किलो दाल, १ प्याकेट नुनको साथमा मास्क र साबुनको थैलो पारेर बितरण गरिएको समितिले बताएको छ ।छोटो समयमा ११ सय ३० जनालाई राहत बितरणको सफलता पछि अध्यक्ष बिष्ट भन्छन् – “अवस्था निक्कै गम्भिर देखियो ।कतिपयको ओत लाग्ने छानो त छ तर पेट भर्ने मानो छैन ।त्यसैले हामीले अहिले सहयोग गरेको राहतले २ छाकको लागि केही राहत त होला तर स्थाई समाधानको लागि भने केही योजना ल्याउनै पर्ने देखिएको छ” ।  गत बर्ष मात्र वडाका करिब दुई सय सकृय युवा सहभागितामा गठित स्वतन्त्र टोल सुधार समिती,साबिक बालुवा गाबिसमा पर्ने हालको वडा नम्बर ३ भित्रका थुप्रै सार्वजनिक बिकृती र बिसँगती बिरुद्ध सकृय संस्था हो ।  

    राहतका लागि सहयोग उपलब्ध गराउनेहरुको सुची यस्तो छ :

    रमेश घोरासैनी – २० बोरा चामल 

    दीपेन्द्र बिष्ट घट्टेखोला -२० बोरा चामल 

    साँङ्ग्रिला किड्स होम – ९ बोरा चिनी 

                                  – ३० बोरा दाल 

                                   – ९ प्याकेट तेल 

    समितीको तर्फबाट       – ३० बोरा चामल  

                                    – १ बोरा चिनी 

                                     – १ लाखको औषधी 

    बि पि कोईराला सङ्रालय सुन्दरिजल – १ हजार मास्क 

                                                     – २ सय साबुन 

    दिपक थापा –                               ३० बोरा चामल  

    के डि शेर्पा आँत्तरखेल                     –  ४१ बोरा चामल   

    हेमराज सिलवाल जोरपाटी              – ३० बोरा चामल  

    हेग्री भैरब बलुवा तथा प्रशोधन केन्द्र –  २०० बोरा चामल   

    राजन कार्की उमेश कार्की बालकृष्ण भण्डारी 

    कुमार र अमरको टिम                    – ७५ बोरा चामल 

                                                     – २० बोरा नुन 

    राजेन्द्र भण्डारी ( वडा अध्यक्ष ) –  २५ बोरा चामल 

    सन्तोष चलिसे ( नगर प्रमुख ) तथा दिपक रिसाल – २० बोरा चामल

  • महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

    महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

    महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ ।

    नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो ।

    शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको ज्यान गएको छ ।

    यसलाई जिल्ला प्रहरी कार्यालय महोत्त्तरीले समेत पुष्टी गरेको छ ।

    बर्दिवास, १२ मेघरोल र भङ्गाहा, ७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ।

    मृत्यु हुनेमा बर्दिवास, १२ का चार, भङ्गाहा, ७ का छ र भङ्गाहा, ६ का एक जना छन् । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका हुन ।

    भङ्गाहा नगरपालिकाका उच्च अधिकारीहरुले घरेलु मदिरा सेवनका कारण स्थानीयको ज्यान गएको हुन सक्ने अनुमान गरिएको प्रतिक्रिया दिएका छन् ।

    शव परीक्षण र मृत्युको कारण पत्ता लगाउन चिकित्सकहरु जुटिसकेको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल, विश्व स्वास्थ्य सङ्गठनका डा. सुदीपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा पुगिसकेको छ ।

    टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षमा समेत अनुसन्धान गर्ने भएको छ ।

    जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो या होइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला समेत पठाएको छ ।

    मृतकहरुको आरडीटी जाँच परीक्षणमा भने कोरोना देखिएको छैन । यो थारु, मुसहर, चमार, बाँतरसहित जनजाति र दलित समुदायको उच्च जनघनत्व रहेको क्षेत्र हो ।

    यस क्षेत्रमा एक साता अगाडी सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको बताइएको छ ।

  • ३४ लाखमा पुग्यो कोरोना संक्रमण

    ३४ लाखमा पुग्यो कोरोना संक्रमण

    काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ ।

    शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।

    विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा यसको संक्रमण छ । १० लाख ८० हजार १०१ जना मानिस भने उपचारपछि घर फर्केका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको ज्यान गएको छ । यस अवधिमा ९४ हजार ५३७ संक्रमित थपिएका छन् ।

    कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा भएको छ । यहाँ ६६ हजार मानिसको ज्यान गइ सकेको छ ।

    यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिए ।

    यहाँ संक्रमित ११ लाख ३१ हजार १५ पुगेको छ । नेपालमा ५९ जनाका संक्रमण भएको छ । शुक्रबार मात्र नयाँ २ बिरामी भेटिएका हुन् ।

    १६ जना भने निको भएर घर फर्केका छन् ।

  • अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    न्युयोर्क

    अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ । यस अगाडि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधी प्रयोग गरी उपचार गर्दै आएका थिए भने अब चिकित्सकहरुले अस्पातलमा उपचारत  कोभिड बिरामीलाई “रेमिडिसिभर” लाई प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् ।  यसको मतलब अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफरिस गर्न पाईने छैन ।  

    यसै हप्ताको सुरुवातमा डक्टर एन्थोनी फुसिले रेमिडिसिभर औषधीको बृहत अध्ययनले कोभिड -१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखी सकेको बताएका थिए ।  

    रेमिडिसिभरलाई तात्कालिन अवस्थामा ईबोला उपचारको लागि गिलिएड सायन्सले निर्माण गरे पनि ईबोलाको उपचारको लागि उक्त औषधीको परिणाम सकारात्मक देखिएको थिएन । शुक्रबार बिहान गिलिएडका सिईओ डेनियल वोडेले;  “हामी अब भाईरसको लागि तयार छौं” भनेका छन् । रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आई भि) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन्  ।  

    एफडिएले रेमिडिसिभरलाई स्वीकृती दिनु अगाडि शुक्रबार ह्वाईट हाऊसमा राष्ट्रपति ट्रम्प सहित एफडिए कमिस्नर स्टेफन हाङ औषधी निर्माणकर्ता कम्पनी गिलिएड सायन्सका सिईओ डेनियल  वोडे हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको मिटिङ भएको थियो ।

  • नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोनाका दुई संक्रमित थपिएका छन् । शुक्रबार रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।

    यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएका थिए ।

    उनी चोर बाटोबाट प्रहरीको आँखा छलेर नेपाल आएका थिए । उनी नेपाल आउँदा सीमा नाका बन्द थियो । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका हुन् ।

    उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका कारण उनले धेरै जनाका कोरोना नसारेको पुष्टी भएको छ ।

    यहाँ पनि समुदायमा भने कोरोनाको भाइरस देखिएको छैन । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेश नं ५ मा पहिलो पटक संक्रमण देखिएको हो ।

  • विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ ।

    ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्या‌ंकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

    ३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी भएको छ । १० लाख ३९ हजार संक्रमित भने कोरोनालाई जित्दै घर फर्केका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र विश्वभर ५ हजार ८ सय मानिसको ज्यान गएको छ । यसअवधिमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिए ।

    अमेरिकामा कोरोना कारण २४ घण्टा भित्र २ हजार २ सय १ जनाले ज्यान गुमाए । यस दिन ३० हजार ८ सय २५ जना नयाँ संक्रमित थपिएका छ् ।

    अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार पुगेको छ ।

    स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए । २ सय ६८ जनाको मृत्यु भएको छ । यस मुलुकमा मृत्यु हुने मानिसको संख्या भने उल्लेख्य घटेको छ ।

    स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्।

    इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएका छन् । २ सय ८५ जनाको मृत्यु भएको छ। इटलाीमा २७ हजार २ सय ६७ को मृत्यु भइसकेको छ ।

    बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यस दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाए ।

    फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिए । २ सय ८९ जनाको मृत्यु भएको छ । नेपालमा कुल ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो ३ दिनयता नेपालमा नयाँ संक्रमण देखिएको छैन । १६ जना घर फर्किसकेका छन् ।

  • न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्क      

    कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि न्युयोर्क प्रहरी र अग्नी नियन्त्रक टोलीले सलामी दिएका थिए ।  

    एक हजार बेड क्षमताको उक्त जहाजमा १८२ जना बिरामीको उपचार गरेर गत आइतबार अन्तिम बिरामीलाई उपचार पछि डिस्चार्ज गरिएको थियो । न्युयोर्कबाट फर्किए पछि उक्त अस्पताल जहाज भर्जिनियास्थित नर्फकमा राखिने र सम्भावित आवश्यकतालाई मध्य नजार गरी मेडिकल टिम सहित पूर्ण तयारीमा राखिने सैनिक मुख्यालयका प्रबक्ता जोनाथन हफम्यानले संचार माध्यमलाई बताएका छन् । हफम्यान भन्छन् – “कोरोनाले सबैभन्दा धेरै प्रभावित शहरबाट जहाज फर्किनुले न्युयोर्कमा कोरोना संक्रमण घटेको संकेत गरेको छ । यो स्वागतयोग्य पनि हो” ।  

    कोरोना महामारीका कारण सुरुमा न्युयोर्कका अस्पातलमा बिरामीको चाप एकाएक ह्वातै बृद्धि भएपछि कोरोना बाहेकका बिरामीको सुरक्षित उपचारको लागि जहाजलाई न्युयोर्कमा ल्याईए पनि गत अप्रिल ६ देखि भने कोरोना संक्रमित केही बिरामी समेत                                                           उपचार गरिएको थियो ।

  • कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु

    कोरोनाबाट विश्वभर २ लाख २८ हजार १ सय ८९ को मृत्यु

    काठमाडौं । विश्वभर कोरोनाको कहर जारी छ । यसले ठूलो मानवीय क्षति निम्त्याएको छ । तथ्यांकहरुका अनुसार अमेरिकाले मात्र भियतनाम युद्धपछिकै बढी संख्यामा आफ्ना नागरिक कोरोना भाइरसका कारण गुमाइसकेको छ ।

    बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोभिड १९ का कारण २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ ।

    अमेरिका यसबाट सबैभन्दा बढी मानवी क्षति भएको मुलुक हो । यहा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र २३ सय ५२ जनाले ज्यान गुमाए ।

    यस मुलुकमा एकै दिन २७ हजार पाँच सय ८६ जना नयाँ बिरामी थपिए ।

    अमेरिकामा अहिलेसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएको आंकडा रहेको छ ।

    १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन्। अमेरिका पछि ठूलो क्षति इटालीमा भएको छ ।

    कोरोना भाइरसका कारण यस मुलुकमा २७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३ हार ५ सय ५१ जना संक्रमित छन्।

    बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बेलायती स्वास्थ्य मन्त्रालायले जानकारी दिएको छ । बेलायतमा एकै नि ७ सय ६५ जनाले ज्यान गुमाए ।

    यस मुलुकमा १ लाख ६५ हजार २ सय २१ जना संक्रमित छन्। स्पेनमा पछिल्लो २४ घण्टामा ४ सय ५३ जनाले ज्यान गुमाए ।

    हालसम्म स्पेनमा २४ हजार २ सय ७५ जनाको मृत्यु भएके छ । फ्रान्समा २४ हजारको ज्यान गएको छ।

    त्यहाँ एक लाख ६६ हजार ४ सय २० जनामा संक्रमण भेटिएको छ। अर्को अमेरिकी देश ब्राजिलमा केहि दिनदेखि तीव्र रुपमा फैलिदै गएको यो भाइरका कारण एकै दिन ४ सय ४८ जनाले ज्यान गुमाए ।

    भारतमा ३३ हजार ६२ जना संक्रमित छन्। त्यहाँ हालसम्म एक हजार ७९ जनाले ज्यान गुमाएका छन् ।

    विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार २ सय ३५ रहेको छ । २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गएको छ ।

    नेपालमा ५७ जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये १६ जना घर फर्किसकेका छन् ।

    बाँकि संक्रमितमध्ये ठूलो संख्या भारतीय नागरिकको रहेको छ । नेपालको समुदायमा एक जनामा कोरोना देखिएको छ ।

  • फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

    फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

    न्युयोर्क      

    अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्‍यु भएका लास पोको पार्ने थप एक लाख  थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो  अर्डर गरेको अधिकारीहरुले बताएका छन् ।  

    फिमाले अप्रिल २१ तारिखका दिन ५१ लाख अमेरिकी डलरको लास पोको पार्ने थैलो अर्डर गरेको हो भने, त्यो भन्दा ठ्याक्कै १ हप्ता अगाडि उसले अर्को १ लाख थैलो मगाएको थियो ।गत महिना १ लाख मानिसको अमेरिकामा कोरोनाका कारण मृत्‍यु हुने अनुमानित आँकडा बताएका राष्ट्रपति ट्रम्पले सोमबार ६० देखि ७० हजारको मृत्‍यु हुने अनुमान लगाएका थिए । यद्यपी बुधाबार दिउँसोसम्म अमेरिकामा झन्डै १० लाख ५० हजार संक्रमित र ६१ हजारको मृत्‍यु भै सकेको छ ।फिमा प्रबक्ताले वाल स्ट्रीट जर्नललाई भनेका छन् – कोरोना संक्रमणको सुरुदेखि नै फिमा संक्रमणको सबैभन्दा खराब स्थितीको राष्ट्रिय परादृष्यलाई ध्यानमा राखेर काम गर्दै आएको छ ।  सबैभन्दा खराब अवस्था भएको अवस्थामा पनि सामानहरुको माग पूर्ती गर्न सकियोस् भनेर त्यति मात्रामा थैलो मगाइएको हो ।  

    क्यालिफोर्नियास्थित आपूर्तीकर्ता कम्पनीले फिमाले मगाएको १ लाख थैलो आगामी सोमबारसम्म  डेलिभरी दिने दुई पक्षको अनुबन्धित पत्रमा जनाइएको छ ।

  • कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

    कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

    न्युयोर्क

    कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ ।  कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो । गिलिएड सायन्सेजले भनेको छ; “परिक्षणले पहिलो अन्तिम बिन्दु पार गरिसकेको छ र एन आई ए आई डिले अब छिट्टै औषधीको बारे पूर्ण विवरण सार्वजनिक गर्ने छ” ।  

    कोभिड -१९ उपचारको लागि हालसम्म परिक्षण कै क्रममा रहेका दर्जनौं औषधी  मध्ये सबैभन्दा सफल भन्दै गिलिएड सायन्सले बुधबार सार्वजनिक गरेको उक्त औषधी अमेरिकास्थित फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफ डि ए) भने हालसम्म उपचारको लागि प्रमाणित गरेको भने छैन ।  अमेरिकामा हालसम्म १० लाख ५० हजार मानिसमा कोरोना संक्रमण प्रमाणित भै सकेको छ भने ६० हजार ३ सय ८४ को मृत्‍यु भनेको छ । जस मध्ये १ लाख १९ हजारले कोरोनालाई अमेरिकामा जितेका छन् ।

  • दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

    दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

    काठमाडौं । नेपाली कामदारले उच्च योगदान गरिरहेका दुई खाडी मुलुकका सरकारले आज नेपाललाई आफ्नै खर्चमा जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री पठाएका छन् ।

    संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री उपहारस्वरुप पठाएका हुन् ।

    कतार एयरवेज र इत्तिहाद एयरको जहाज आज काठमाडौं अवतरण भए । दुबै जहाजले कोरोना भाइरससँग लड्ने विविध मेडिकल सामग्री बोकेका थिए ।

    यी कार्गो उडानका रुपमा नेपाल आएका थिए । विमानस्थल कार्यालयका अनुसार कतारले ८ हजार १ सय ५६ किलो मेडिकल सामग्री पठाएको छ।

    यसमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री रहेको बताइएको छ । दुबईले ६ हजार ८ सय ७१ किलो सामग्री पठाएको छ ।

    यी दुई मुलुकमा लाखौंको संख्यामा नेपाली कामदार रहेका छन् ।

  • न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

    न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

    न्युयोर्क

    कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ ।  गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने अहिले १६ जनाले आत्महत्या गरेका हुन् । न्युयोर्क सहर भित्रको क्वीन्स क्षेत्र न्यूयोर्क सहरको पाँच वटा संयुक्त सहरी क्षेत्र मध्येको एक हो, जुन आप्रबासीहरुको रोजाईको सहर हो । त्यही रोजाईको सहर पछिल्लो समय कोरोना एपिसेन्टर बनेको छ ।  क्वीन्समा लकडाउन पछिको पहिलो ६ हप्तामा आत्महत्या गर्नेको उक्त संख्या सन् २०१९ को झन्डै आधा बर्षको आत्महत्या गर्नेको संख्या हो । सन् २०१९ को पहिलो ६ महिनामा १७ जनाले आत्महत्या गरेका थिए ।  क्वीन्समा मंगलवारसम्म ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने ३ हजार ६ सयको मृत्‍यु भै सकेको छ ।  

    डिस्ट्रिक एटर्नी कार्जले क्वीन्समा आत्महत्या गर्नेको संख्यामा देखिएको नाटकीय बृद्धिमा मानसिक समस्याले समेत काम गरेको बताएकी छिन् । उनले यो महामारीमा मानिसमा देखिएको मानसिक समस्या तर्फ पनि ध्यान दिनु पर्ने बताउँदै “आफ्ना नजिकका साथीभाइ इस्टमित्र र छिमेकीको अवस्था पनि यो बिषम परिस्थितीमा बिचार गरौं” भनेकी छिन् ।

    तस्विर : डेलिन्यूज

  • नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित

    नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित

    काठमाडौं । नेपालमा मंगलबार थप दुई कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टी गरेको हो ।

    उनीहरु दुबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

    जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

    कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

    त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेको बताइएको छ ।

    काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

    यससँगै अ नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

  • अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    न्युयोर्क

    विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी तथा डाटा ड्रिभन ईनोभेसन ल्याबले संयुक्त रुपमा सार्वजनिक गरेको उक्त डाटाका अनुसार ९७ प्रतिशत संक्रमण मे र जुन महिनामा विश्वभरबाट हराउने छ । युभर्सिटीका अनुसार बोलिभिया, ग्वाटेमाला, अल्बानिया, कोलम्बिया, बहराईनमा कोरोना जुलाईमा मात्र ९७ प्रतिशत हराउने छ भने बहराईनमा अगस्टमा मात्र ९७ प्रतिशत हराउने छ । विश्वका बाँकी देशहरुमा मे वा जुन महिनासम्म ९७ प्रतिशत हराउने विश्व बिद्यालयको अनुमान छ ।  विश्वभर जति मानिस संक्रमित हुनु पर्ने हो त्यसको ९७ प्रतिशत मानिस मे महिनाको २९ सम्म भई सक्ने छन् भने संक्रमित हुन बाँकी  ३ प्रतिशत यसै बर्षको नोभेम्बर २६ भित्र संक्रमित हुने छन् । विश्व बिद्यालयले उक्त आँकडालाई “प्रेडिक्सन” भन्दै आगामी दिनहरुमा बिभिन्न देशहरुले अपनाउने लक डाउन र सोसल डिस्ट्यान्सिङको नियमले धेरै कुराहरु निर्धारण गर्ने समेत बताएको छ ।  विश्व बिद्यालयको उक्त आँकडा अनुसार हाल महामारी चर्किएको अमेरिकाबाट ९७ प्रतिशत संक्रमण मे १४ बाट हराउने छ भने सेप्टेम्बर ४ बाट पूर्ण रुपमा हराउने छ ।  ईटालीमा मे ८ बाट संक्रमण ९७ प्रतिशत हराउने छ । बेलायतमा मे १६ बाट स्पेनमा मे १ बाट ९७ प्रतिशत कोरोना संक्रमण हराउने विश्व बिद्यालयले जनाएको छ ।
    विश्वभरका देशहरुको सुची यस्तो छ :-

     

  • २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो

    २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो

    काठमाडौं । नेपालमा कोरोनाका कारण मर्ने मानिसको संख्या २ लाख ९ हजार नाघेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ९ हजार ७ सय ९९ मानिसको ज्यान गएको छ ।

    संक्रमित मानिसको संख्या समेत ३० लाख भन्दा माथि पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार १ सय १७ पुगेको हो ।

    अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित पुगेका छन् । यस मुलुकमा ९ लाख ८३ हजार भन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ ।

    स्पेनमा २ लाख २९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टी भएको छ । इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

    मृत्यु हुनेमा समेत सबैभन्दा धेरै अमेरिकामा छन् । यहाँ ५५ हजार सात सय ३५ मानिसको ज्यान गएको छ । इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ ।

    स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा कूल ५२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् । नेपालमा मानवीय क्षति भने भएको छैन ।

  • नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

    नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण

    वीरगञ्ज । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ५१ पुगेको हो । उनीहरु कोरोना संक्रमित भारतीय जमातीको सम्पर्कमा रहेको व्यक्ति रहेको बुझिएको छ ।

    कोरोन परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । अर्को संक्रमित भने सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् ।

    उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । वीरगन्जमै आइतबार ४ जना भने निको भएका छन् ।

  • कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    काठमाडौं । कोरोना भाइरसले मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको हो ।

    विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको तथ्यांक रहेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको ।

    यो मुलुकमा संक्रमित ९ लाख ३६ हजार पुगेको छ । कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो ।

    त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० मुलुकमा फैलिएको छ । अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि रहेको छ ।

    इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

    विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

    अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्फेका छन् ।

    नेपालमा ४९ जनामा संक्रमण भएको छ । ११ जना निको भएर फर्किसकेका छन् ।

  • नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

    नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए

    काठमाडौं । नेपालमा कोरोना परीक्षण भएका मानिसको संख्या ४९ हजार नाघेको छ । नेपालमा कूल ४९ हजार ३ सय ३६ वटा नमुना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्‍यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल ४९ हजार ३ सय ३६ वटा नमुनापरीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको छ । तर, कुनै पनि नमुनामा पोजेटिभ नतिजा आएन् ।

    देशभरका सबै जिल्लामा आरडिटी परीक्षण भइरहेको छ ।

    अहिलेसम्म प्रदेश नम्बर १ मा ४ हजार १६०, प्रदेश २ मा ५ हजार ४४, बाग्मती प्रदेश ७ हजार ४६७, गण्डकी प्रदेशमा ४ हजार ८७१, प्रदेश ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २०४ वटा नमुनाहरु परीक्षण भएका छन्।

    यी नमुनाबाट ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२ जना भने निको भएर घर फर्किसकेका छन् ।

  • बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

    बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

    बाग्लुङ । बेल्जियमबाट नेपाल आउने क्रममा कोरोना संक्रमित भएकी बाग्लुङकी १९ वर्षीय युवतीले समेत कोरोनालाई जित्न सफल भएकी छिन् ।

    यससँगै अब नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

    चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो।

    महिला यसअघि नै निको भएर घर फर्किसकेकी छिन् । युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

    यसअघि चारवटा परीक्षणमा भने उनमा कोरोना पोजेटिभ थियो। नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा मानवीय क्षति भएको छैन ।

  • नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

    नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो

    काठमाडौं । नेपालमा ४९ औं व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी गराएको छ ।

    उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल लैजाने भएको छ । उनीसँगै नेपालमा कूल संक्रमितको संख्या ४९ पुगेको हो ।

    यसमध्ये १० जना निको भएर घर फर्किएका छन् । संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए ।

    विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो ।

    श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

    परिवारका अन्यको भने नेगेटिभ आउँदा बुबामा मात्र कोरोना देखिएको हो ।

  • राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

    राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

    न्युयोर्क      

    लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए ।

    ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि) शुक्रबार यस्ता किटाणू निस्संक्रामक बस्तुको उपभोग मानबका लागि खतरा हुने बताएको हो ।  कम्पनीले बिज्ञप्तीमा भनेको छ; “आफू स्वास्थ र सफाई सम्बन्धि उत्पादनको ग्लोबल लिडर भएको नाताले हामीले प्रस्ट पार्नै पर्छ कि कुनै पनि अवस्थामा सर सफाईमा प्रयोग गरिने हाम्रा किटनासक उत्पादन मानब शरीरभित्र ईन्जेक्सन वा पाचन प्रणाली वा अरु कुनै माध्यम मार्फत पठाउनु हुँदैन । यो पूर्णतया हानिकारक छ । आर. बिको उक्त चेतावनिपूर्ण बिज्ञप्ती अमेरिकास्थित राष्ट्रपति ट्रम्पको बिहीवार कोरोना उपचारमा किटनाशक औषधि प्रयोग सम्बन्धि बिचार  सार्वजनिक भए लगत्तै आएको हो ।  अमेरिकामा गत मार्चमा राष्ट्रपति ट्रम्पको मलेरिया औषधीले कोरोना निको हुने बिचार सार्वजनिक भए लगत्तै आफू खुसी मलेरियाको औषधि प्रयोग गर्ने केही ब्यक्तीहरुको मृत्‍यु समेत भै सकेको छ ।

  • उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

    उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

    उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो ।

    त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ । किट आउने क्रममा रहेका कारण शनिबारबाट परीक्षणलाई व्यापक बनाउने तयारी नगरपालिकाले गरेको हो ।

    जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा समेत परीक्षण हुने भएको छ । २८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर टाढा पर्छ ।

    शुक्रबार भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो। लगत्तै बाँकी चार जनामा पनि संक्रमण पुष्टि भयो।

    त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ। १२ जना संक्रमित भुल्केका हुन् भने संक्रमण पुष्टि भएका अधिकांश भारतीय हुन् ।

  • भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८

    भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार भोजपुरमा थप एक जनालाई कोभिड–१९ को संक्रमण पुष्टी भएको हो ।

    यसअघि रौटहतकी एक महिला र जनकपुरका एक किशोरमा बिहीबार नै कोरोना देखिएको थियो । भोजपुरमा भने हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

    उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको बताइएको छ ।

    नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना उपचार पछि घर फर्किसकेका छन् । ३८ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

  • नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज

    नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज

    कैलाली । नेपालमा एकै दिन तीन जनाले कोरोनालाई जित्दै अपस्तालबाट डिस्चार्ज हुन सफल भएका छन् । बिहीबार साँझ कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् ।

    उनी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की स्थायी बासिन्दा हुन् । सेती प्रादेशिक अस्पतालले उनलाई बिहीबार साँझ डिस्चार्ज गरेको हो ।

    यसअघि बिहीबार दिउँसो ८१ वर्षिय वृद्धा र ५८ वर्षिय पुरुषले कोरोनालाई जित्दै घर फर्किएका थिए । कैलालीमा महिलाको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

    यसअघि लम्कीचुहाका २१ वर्षीय युवक, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय युवक निको भएर घर फर्किसकेका छन् । पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अब धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।

    उनी निको भएपछि सुदुरपश्चिम तत्कालका लागि कोरोनामुक्त हुनेछ । किनकी उनीहरुपछि यस क्षेत्रमा कोरोना देखिएको छैन ।

    यससँगै अब नेपालमा कूल १० जनाले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कूल ४७ जनामा कोरोना देखिएको छ ।

  • नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

    नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

     

    काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् ।  उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति  डिस्चार्ज भएका हुन् । उनीहरु  आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

    पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा–छोरामा देखिएको कोरोना भाइरस पछि अपार्टमेण्टमा सबै सबैको परीक्षण गरिएको थियो । तर, उक्त परीक्षणमा भने कसैलाई पनि कोरोना देखिएन ।

    यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

    त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उक्त परिवारको ५२ वर्षीया बुहारीमा भने रिपोर्ट नेगेटिभ आएको थियो । अब नेपालमा कूल  ९ जनालाई कोरोनाको संक्रमण निको भएको छ ।

  • नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ ।

    बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमान चढेर नेपाल आएका थिए ।

    पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी चैत १२ मा अस्पताल भर्ना भएका हुन् । लगातार दुई परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

    उता सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

    उनलाई चैत २२ मा कोरोना पुष्टी भएपछि अस्पताल ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो ।

    संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाहीलाई निको भएर घर फर्किसकेका छन् ।

    अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिला मात्र अस्पतालमा छिन् । सुदुरपचिममा नयाँ संक्रमण देखिएको छैन ।

  • नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण

    नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण

    काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् ।

    उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

    यो समुहमा यसअघि १२ जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि मंगलबार सोही स्थान वरपर बस्ने थप ११ जनामा कोरोना पुष्टी भएको थियो ।

    बुधबार ३ जनामा संक्रमण पुष्टी भएसँगै अब नेपालमा कूल संक्रमित ४५ पुगेका छन् ।

    संसारभर कोरोनाले तिब्र फैलाावट लिइरहेको समयमा नेपालमा भने उदयपुरमा आक्रमण बढाएको छ ।

  • उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी

    उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी

    काठमाडौं । मंगलबार उदयपुरको भुल्केमा पुष्टी भएका ११ कोरोना संक्रमितमध्ये २ जना भने विदेशबाट आएको खुलेको छ । यसअघि सबैलाई समुदायमै कोरोना सरेको आंशका गरिएको भएपनि दुई जना भने दिवेशबाट आएको पाइएको हो ।

    दुईजना मध्ये एक जना भारत र एकजना दुबईबाट आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको हो। ती युवक गत फागुन १० मा दुबईबाट नेपाल आएका थिए ।

    अर्का एक जना भने भारतको नयाँ दिल्लीबाट आएका हुन् । उनीहरू आएको समयबारे भने खुलेको छैन ।

    मंगलबार उदयपुरको भुल्केमा एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको थियो। यसअघि पनि सोही बस्तीको एक मस्जिदमा बसेका १६ जनामध्ये १३ जनामा संक्रमण देखिएको थियो ।

    अहिले बस्तीलाई सील गरिएको छ । यस जिल्लाका संक्रमित २४ जनालाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

  • कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

    कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण

    काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् ।

    बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ।

    विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर फर्किएको तथ्यांक रहेको छ । कोरोना भाइरसका कारण सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा भएको छ ।

    मंगलबार मात्र एकै दिन २७ सय भन्दा बढी मानिसले अमेरिकामा ज्यान गुमाएका छन् । अमेरिकामा मंगलबार २७ सय ६५ जनाको ज्यान गएको छ ।

    अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय नाघेको छ । यहाँ आठ लाख १७ हजार संक्रमित पुगेका छन्।

    अमेरिकाको राजधानी न्यूयोर्क सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ।

    न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको छ । अमेरिकापछि इटलीमा ज्यान गुमाउनेको संख्या बढी छ। इटलीमा २४ ह्जार ६ स ४८ जनाको कोरोनाले ज्यान लिएको छ ।

    स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्। स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको छ ।

    २ लाख ४ हजार १ सय १७ संक्रमित छन्। फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ।

    फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। बेलायतमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।

    नेपालमा ४२ जनामा संक्रमण भएको छ । ५ जना निको भएर घर फर्किएका छन् ।

  • न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क      

    विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् । न्युयोर्क सहरमा १ लाख ३२ हजार ४ सय ६७ जना संक्रमित छन् भने ९ हजार १ सय १ जनाको मृत्‍यु भएको न्युयोर्क हेल्थ डिपार्टमेन्ट्को पछिल्लो आँकडा छ ।  

    न्युयोर्क सहरभित्र कोरोना संक्रमित मध्ये २ प्रतिशत मानिस १७ बर्षसम्म उमेर समुहका छन् भने ३७ प्रतिशत मानिस १८ देखि ४४ बर्ष उमेरका छन् । ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका संक्रमित पनि ३७ प्रतिशत नै छन् ।  ६५ देखि ७४ बर्ष उमेरका संक्रमित भने १३ प्रतिशत छन् । ७५ बर्ष माथिका संक्रमित भने १२ प्रतिशत छन् । त्यस्तै सुन्ना दशमलब सुन्ना दुई (०.०२ ) प्रतिशत संक्रमितको उमेर खुलेको छैन । न्युयोर्क हेल्थ डिपार्टमेन्टद्वारा जारी उक्त आँकडा अनुसार हालसम्म न्युयोर्क सहरमा कोरोना संक्रमितहुनेहरु १८ बर्षदेखि ६४ बर्ष उमेरका मानिसको संख्या उच्च छ । संक्रमितहरुको संख्यामा पनि महिलाहरु भन्दा पनि पुरुषहरुको संख्या अधिक छ ।  न्युयोर्क सहरमा ४७ प्रतिशत महिला संक्रमित छन् भने ५३ प्रतिशत पुरुष संक्रमित छन् ।  

    १ लाख ३२ हजार ४ सय ६७ संक्रमित मध्ये ३४ हजार ७ सय २९ जना उपचारत अस्पाताल भर्ना भएका छन् । उपचारका लागि अस्पाताल भर्ना हुने यो संख्या कुल संक्रमित मध्ये २६ प्रतिशत मात्र हो । सहरमा मृत्‍यु हुने ९ हजार १ सय १ संख्या कुल संक्रमितको ६ दशमलब ८७ प्रतिशत हो । त्यसैगरी मृत्‍यु भएकामध्ये ६ हजार ६ सय ८३ जना मधुमेह, फोक्सोको रोग, दम, क्यान्सर , मुटु रोग, ईमिनो डिफिसियन्सी हाईपरटेन्सन, मृगौला तथा कलेजोको रोगमध्ये कुनै न कुनै रोगका बिरामीहरु हुन् । हालसम्म ५२ जनामात्र कुनै पनि रोग नभएका मानिसको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये २ हजार ३ सय ६६ जना कोरोना संक्रमण अगाडि अन्य रोगका रोगी भए नभएको नखुलेको न्युयोर्क हेल्थ डिपार्ट्मेन्टले जनाएको छ ।  

    न्युयोर्क शहरमा कोरोना संक्रमणबाट मृत्‍यु भएकाहरुमा १७ बर्ष मुनीका ३ जना १८ देखि ४४ बर्ष बर्षसम्मका ३ सय ९५ जना, ४५ देखि ६४ बर्षसम्म उमेरका २ हजार ४८ जना, ६५ देखि ७४ बर्षसम्मका २ हजार २ सय ५३ र ७५ बर्ष माथिका ४ हजार ४ सय १ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा मृत्‍यु भएका मध्ये ५ हजार ५ सय ५७ पुरुष छन् भने ३ हजार ५ सय १७ महिला रहेको छ । २७ जना मृतकको लिङ्ग खुलेको छैन ।  

    रङ्गका आधारमा भने अश्वेत जातीहरुमा संक्रमणको संख्या उच्च देखिएको छ र एसियनहरुमा न्युन संक्रमण देखिएको छ ।  ब्युरो अफ कम्युनिकेबल डिजिज सर्भिलेन्स सिस्टमद्वारा अप्रिल १६ तारिखमा प्रकाशित डाटा अनुसार अश्वेत जातीहरुमा संक्रमण उच्च देखिएको छ । संक्रमणको दोश्रो नम्बरमा हिस्प्यानिक  र ल्याटिनोहरु देखिएका छन् भने तेश्रोमा श्वेत जातीहरु छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्युयोर्क सहरमा भने एसियनहरुमा निकै कम देखिएको छ । ब्युरोका अनुसार प्रतिशतमा अश्वेत ३२ दशमलब ६ प्रतिशत, ल्याटिनो हिस्प्यानिक ३२ दशमलब  ४ प्रतिशत, श्वेतजाती २८ दशमलब ६ प्रतिशत र एसियन ६ दशमलब ३ प्रतिशत संक्रमित देखिएका हुन् ।