Category: कला / साहित्य

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ, १ चैतः राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेर काम गरिरहेका थिए । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।

  • एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद््मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।

    यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट हुनुभएको छ । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    काठमाडौँ, ३० फागुनः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • एनआरएनएको १२औ अधिवेशन सुरु

    एनआरएनएको १२औ अधिवेशन सुरु

    काठमाडौं, ३० फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरे । अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो ।


    नेपालको संविधान र कानुनमा गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारको रुपमा स्वीकार गरिएको भन्दै उनले लगानी, सांस्कृतिक जिम्मेवारी बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्बन्धका आयाममा नयाँ चुनौतीहरु सिर्जना भएको बेला गैरआवासीय नेपाली संघले लगानी र प्रविधिको प्रभाव बढाउने, ज्ञान र पुँजीको दायरा बढाउने दायित्व भएको उनको भनाइ थियो । मन्त्री शर्माले प्रवासमा रहेर नेपाली सांस्कृतिक दूतको रुपमा रही नेपाली माटोमा योगदान पुर्याएको भन्दै प्रशंसा गरे । गैरआवासीय नेपालीले नेपालको आर्थिक विकास र समृद्धि ल्याउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।


    मन्त्री शर्माले मध्यपूर्वमा देखिएको संकटमा परेका नेपालीको सुरक्षामा सरकार सजग रहेको बताए । ुपछिल्ला दिनमा देखिएको घटनाले नेपालीको सुरक्षाप्रति देखिएको चिन्ताप्रति नेपाल सरकार सजग छ । मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्यहरु अगाडि बढाइरहेको छ । खाडीमा देखिएका समस्या सम्बोधनका लागि इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रमिक र परिवारबीच सेतुको काम गर्नेछ । कुनै घटना घटेमा नेपाली नियोग तथा नेपालीस्थित सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ, उनले भने ।


    दिर्घकालीन लगानी, उत्साहमुखी उद्योग, नवप्रवर्तन, ज्ञानमा आधारित अर्थतन्त्रका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय सहकार्य जरुरी भएको भन्दै उनले यसका लागि नीतिगत सुधार र पारस्परिक विश्वास आवश्यक भइसकेको बताए । यसका लागि मन्त्रालयमा समन्वय महाशाखा स्थापना गरी नीतिगत कार्यगत सुधार अगाडि बढाइएको बताए । यसअन्तर्गत गैरआवासीय नेपाली ऐन ०६४ र आवश्यक अन्य कानुन सुधार गर्न अन्तर निकाय समन्वय भइरहेको बताए । आगामी दिनमा प्रवासमा रहेका एकीकृत तथ्यांक प्रणालीलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउँदै लगिने उनले प्रतिबद्धता जनाए ।

    उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने बताए । आपसी विवादले नागरिकता, श्रमिकको विषय र मतदानको मुद्दा औझेलमा परेको भन्दै उनले एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनले संघको भावी दिशा निर्धारण र विगतको समीक्षा गर्ने बताए ।

    विश्वभरका नेपाली एकताबद्ध छन् भन्ने सन्देश दिने र आउने कार्यसमितिले यसमा भूमिका खेल्ने भन्दै अध्यक्ष श्रेष्ठले संघभित्र विवादको कारको रुपमा रहेको निर्वाचन प्रणाली, डेलिगेट्स प्रणालीमा व्यापक परिमार्जन गरेर सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने बताए । गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

    संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए । नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो । देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए । ‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने ।


    गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरे । जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए । देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,’ उनले भने ।


    कार्यकारी अध्यक्ष डा. बद्री केसीले फुटदेखि एकतासम्मको यात्रामा आफू नै नेतृत्वमा रहेको भन्दै अझै एकता सुदृढ बनाइने बताए । उनले कार्यव्यवस्थाले पूर्वअध्यक्षहरु सहभागी हुन नसकेको तर उनीहरुको समर्थन रहेको बताए । एकजना पनि गैरआवासीय नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुन नहुने गरी काम गरिने र काम गर्न चाहनेलाई जिम्मेवारी दिएर पठाउने प्रतिबद्धता जनाए ।

    प्रधानमन्त्रीको हातबाट गैरआवासी नेपाली नागरिकता लिएको तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए । पुरानो नागरिकता पनि निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले काम नगरेको भन्दै छिटो कानुनी जटिलता हटाउन सरकारलाई अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसदमा पुर्याएर कार्यान्वयन ल्याउन उनले माग गरे । पीएनओ नेपालीहरुले भाषा, संस्कृति जोगाएर राखेको भन्दै आउने सरकारले उनीहरुलाई नेपालीको पहिचान र गैरआवासीय प्रमाणपत्र दिन माग गरे । उनले लगानीसम्बन्धी कानुनहरु पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे ।


    एनआरएन डेभलपमेन्ट फण्डमा सहयोग जुटे पछि सरकारको असहयोगले सुरुवात गर्न नसकेको बताए । आगामी सम्मेलनमा उद्द्घाटन गर्नेगरी वातावरण बनाइदिन उनले अनुरोध गरे । गैरआवासीय नेपालीले आफ्नो खर्चमा विदेशमा नेपालको पर्यटन र संस्कृति विस्तार गरिरहेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे । विदेशमा नेपाली दूतावासमा कर्मचारी नै पर्याप्त नहुँदा पासपोर्ट समयमा पाउन समस्या भएको, क्याम्पेन गरेर पासपोर्ट दिनुपर्ने अवस्था रहेको भन्दै कमर्चारीहरु बढाउन माग गरे । कोभिडको बेलामा पनि गैरआवासीय नेपालीहरुले ज्यान जोखिममा राखेर भोलियन्टर परिचालन गरेको स्मरण गर्दै अहिले मध्यपूर्वमा गहिरिएको संकटमा नेपालीको सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न संघ तयार गरेको बताए ।


    पूवर्अध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमिति अझै एकतालाई पूर्णता दिने बताए । ८० लाख गैरआवासीय नेपाली बाहिर बसिरहँदा नेपालको विकासको चिन्ता रहेको बताए ।
    पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति भए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीहरुलाई जोड्नुपर्ने बताइन् । प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, विज्ञतालाई नेपालमा ल्याएर कसरी देश समृद्ध बनाउनुपर्छ भनेर लाग्नुपर्ने र यसका लागि प्रवासी नेपालीबीच एकता जरुरी रहेको उनको भनाइ थियो ।

    प्रवासी नेपालीको विज्ञतालाई प्रयोग गर्न एनआरएनएले नयाँ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताइन् । हरेक नेपाली प्रवास गइरहेको, परराष्ट्र मन्त्रालयले विदेश मामिला हेर्ने भएकाले अब एनआरएनए मन्त्रालय राख्नुपर्ने माग अघि सारिन् ।
    पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताको साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए । अधिवेशन हुँदै गर्दा केही व्यक्ति छुटेको भन्दै नयाँ कार्यसमितिले समेट्नुपर्ने बताए । मध्यपूर्वमा संकट चुलिरहेको भन्दै यो कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए ।


    पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दाहरु निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए । ‘आज खुसी लागेको छ कि आज सबै साथीहरुले रियलाइजेस गर्नुभएको छ । टुट फुटबाट कसैलाई फाइदा छैन जुट्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । हामी एक भयौ भने मात्र योगदान गर्न सक्छौं । एजेण्डा स्थापित गर्न सक्छौं,’ उनले भने ।


    पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए । नयाँ आउने सरकारले यो कुरामा ध्यान दिने उनले अपेक्षा गरे ।


    भीम उदासले संघको एकतामा नेपालको समृद्धिलाई जोड्नुपर्ने र त्यसमा एनआरएनएले भूमिका खेल्नुपर्ने बताए । डायस्पोराको सहयोगले भारत र चीन उकासिएको भन्दै आउने नेपाल सरकारले वातावरण बनाएर आह्वान गर्नुपर्ने, विकासमा साझेदार बनाउनुपर्ने बताए ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    काठमाडौँ, ३० फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।

  • समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

    समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

    काठमाडौँ, २८ फागुनः निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ तथा श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार÷चार सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ ९९४।५५५० मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ सदर भएको छ ।

    उल्लिखित सिट सङ्ख्याअनुसार ऐनको दफा ६० (४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आजै पत्राचार गरिएको आयोगले जनाएको छ ।

  • निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

    निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

    काठमाडौँ, २८ फागनुः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ । प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो ।

    जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरे । प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरि निर्वाचन प्रहरीले गरेका काम सम्झन योग्य रहेका बताए । उनले भने, “निर्वाचन प्रहरीले निर्वाचन अवधिभरि गरेका काम सम्झन योग्य छन् । भविष्यमा तपाईहरुबाट यस्तै सहयोगको अपेक्षा गर्दछु ।”

    निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । उनले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताए ।

    उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे । नायब उपरीक्षक सिरमलले निर्वाचन प्रहरीले भविष्यमा पनि समाज र राष्ट्रका लागि सकारात्मक काम गर्दै जाने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचन सुरक्षामा तपाईहरूले देखाएको सक्रियता र जिम्मेवारी सराहनीय छ । आगामी दिनमा अनुशासन र प्रतिबद्धताका साथ काम गर्दै प्रहरी सङ्गठनलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

    निर्वाचनको समयमा मतदान केन्द्रको सुरक्षा, मतदाता व्यवस्थापन, भीड नियन्त्रण, तथा सम्भावित विवाद समाधान जस्ता कार्यमा निर्वाचन प्रहरीले सक्रिय भूमिका निर्वाह गरेका थिए । यही फागुन २१ गते सम्पन्न निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • सुदूरपश्चिममा ४१ हजार मत बदर

    सुदूरपश्चिममा ४१ हजार मत बदर

    महेन्द्रनगर, २८ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिममा आठ लाख ८४ १७७ मत खसेको थियो । जसमा ४१ हजार ६२४ मत बदर भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको छ ।

    त्यसैगरी, कैलाली–२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएको सूचना अधिकारी भाटले बताउनुभयो । त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली–३ मा दुई हजार ९१३ मत बदर भएको छ भने कैलाली–४ मा दुई हजार ९०७ मत बदर भएको छ । यहाँ कुल ६३ हजार ११७ मत खसेको थियो । कैलाली–५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ ।

    त्यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ बदर भएको छ भने यहाँको निर्वाचन क्षेत्र नं २ मा तीन हजार ४३० मत बदर भएको छ । यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो । त्यसैगरी, कञ्चनपुर–३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएको छ ।

    त्यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ११९ मत बदर भएको छ । यहाँ कुल ३२ हजार २४३ मत खसेको थियो भने अछाम–२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ भने डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

    दार्चुलामा एक हजार ६०८ मत बदर भएको छ । यहाँ कुल ५० हजार ९३० मत खसेको थियो भने बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो । यहाँ चार हजार १२६ मत बदर भएको छ । यसैगरी, डडेल्धुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएको छ ।

    सुदूरपश्चिममा ५१.१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यहाँ १६ सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका थिए ।

  • कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    मोरङ, २८ फागुनः कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ ।

    यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।

    यसैगरी, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ । सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

  • समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    काठमाडौँ, २७ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।


    उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ सहित अग्रता हासिल गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख चार हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेका छन् । यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए ।


    न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४४५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी)ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले चार हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन् ।

    नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।

    पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उनले बताए ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ । निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।

  • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।


    सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने ।

    हलको भने अभाव
    निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्को प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । “प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको उक्त हलमा बैठक तयारीका लागि आवश्यक प्राविधिक व्यवस्थापन काम भइरहेको छ”, उनले भने ।


    सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

    एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
    पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनुभयो ।

    समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

    गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ । नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

  • गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

    गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

    न्यूयोर्क । स्वस्ति इण्टटेनमेण्टको ब्यानरमा रचनाकार अनिता थापाले न्यूयोर्कको ज्याक्सन हाइट्समा ‘स्वस्ति साँझ’ आयोजना गर्ने भएको छ । यही मार्च १४ तारिख शनिबार साँझ ७ बजेदेखि ज्याक्सन हाइट्सस्थित ‘ह्वाइट हल’मा करिब १२ सयको हाराहारीमा नेपाली गीतहरु रेकर्ड गराइसकेका गायक जगदीश समालद्वारा गाइएका लोकप्रिय नेपाली सुगम संगीतहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक ओम कर्माचार्यले बताएका छन् ।

    दर्शक श्रोताको सहजतालाई ध्यानमा राख्दै प्रवेश शुल्क ५० डलरमा नै डिनर र ड्रिङ्ससमेत समावेश गरिएको जानकारी गराएका छन् । नेपाली संगीतका पारखीहरुको हितमा स्तरीय गीत संगीत र लाइभ गायनको माहोललाई गुणस्तर प्रदान गर्न ॐ मेगा डिजे एण्ड साउण्डले लाइट तथा ध्वनि व्यवस्थापन गर्ने भएको छ । करिब १०० मात्र टिकट विक्री गरिने भएकोले इच्छुकले फोन नम्बर ३४७७८४ १०२२ वा ६४६ ६८४ ७४४४ मा अग्रिम टिकट लिन सकिने आयोजकले बताएका छन् ।

  • डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    काठमाडौँ, २६ फागुनः सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताइन् । “कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन डराएर धम्काएर हुन सक्दैन”, उनले भनिन्, “सुशासन वास्तवमा न्यायालयको आत्मा हो, संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय हो, संविधानले सरकारको सीमाहरूको पनि निर्धारण गर्छ, सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ ।”

    वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गर्दै थपिन्, “कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।” उनले महिला अघि बढे मात्रै राष्ट्र अघि बढ्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा खाडल अझै भएको र अझै पनि महिलाले अन्यायको फरक महसुुस भएको हुनाले महिला दिवस मनाउनपर्ने आवश्यकता भएको बताइन् ।
    वरिष्ठतम् न्यायाधीश मल्लले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता जरुरी भएको विगतको तुलनामा समाज बदलिएको उल्लेख गर्दै महिलाहरूले अझै धेरै गर्नसक्ने धारणा राखिन् । सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले अहिले पनि पाइला–पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणामुखी तरिकाले काम गर्नुपर्र्र्नेमा जोड दिइन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशीताको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । नेपाल बार एसोसिएनका उपाध्यक्ष सरस्वती श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता अझै धेरै आवश्यता भएको र महिलाले गर्न सक्छन भन्ने धेरै पुष्टि हुँदै आएको धारणा राखिन् ।

  • पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

    पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

    वीरगञ्ज (पर्सा), २६ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ । मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताए । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ ।

    त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९, नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ। पर्सा २ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार रास्वपालाई ३४ हजार ९१८ मत खसेको छ । कांग्रेस पार्टीलाई १० हजार ३४०, एमालेलाई आठ हजार ५८५, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार ५०६, जनता समाजवादी पार्टी नेपाललाई दुई हजार ४५० मत खसेको छ ।

    त्यसैगरी, पर्सा ३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेस आठ हजार ६५०, एमालेले छ हजार १६८, नेपाली कम्युनिष्ट पार्टीले एक हजार १९५ मत पाएको छ । त्यस्तै, पर्साको ४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेसले ११ हजार ५१२, एमाले नौ हजार ९३५ मत ल्याएको छ।

  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह गरिएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख, प्रहरी अधिकृत तथा जवानहरूका लागि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले निर्वाचनका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाले प्रहरी सङ्गठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।


    प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारको अभाव, पछिल्लो समय प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका अभिव्यक्तिलगायत कारणका बाबजुद पनि निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले उच्च मनोबल, सामूहिक भावना र जिम्मेवारीबोधका साथ प्रदर्शन गरेकाले यसको व्यावसायिकता प्रशंसनीय रहेको बताए ।

    प्रहरीको अथक सक्रियता र क्रियाशीलताका कारण समाजमा शान्तिसुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै उनले आआफ्नो जिम्मेवारी अनुसार योजनाबद्ध रूपमा कार्यसम्पादन गरेकामा सबै प्रहरी कर्मचारीको उच्च प्रशंसा गरे । आगामी दिनमा सबैको सहकार्य र समन्वयबाट सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।


    प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा पनि भएको बताउँदै यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता, दृढ अनुशासन आवश्यक रहेको उल्लेख गरे । आगामी दिनमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति सदैव केन्द्रीत भई सामूहिक भावना तथा भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने उनको भनाइ छ ।

  • समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?

    समानुपातिकमा झण्डै १ करोड मत गणना, कसले कति ल्याए ?

    काठमाडौँ, २६ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख २९ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख ४० हजार ३४०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)ले तीन लाख १४ हजार ५३२ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ६४ हजार ४७७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ५९ हजार ६००, जनमत पार्टीले ७२ हजार ७७४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

  • यी हुन्, पैँतीस वर्षमुनिका माननीय

    यी हुन्, पैँतीस वर्षमुनिका माननीय

    प्रगति ढकाल–रासस
    काठमाडौँ, २५ फागुनः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ ।

    विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । उहाँहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ । अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० उम्मेदवार निर्वाचित भएका छन् ।

    यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन् । ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा छन्, ३० वर्षीया सोविता गौतम । दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य गौतम चितवन–३ बाट विजयी भइन् ।


    उनले ५९ हजार २७७ मत ल्याइन् । गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् । ३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी छिन् । उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौँ–२ बाट जित हासिल गरेकी थिइन् । कानुनमा स्नातक अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी भइन् ।


    पैँतीस वर्षमुनिकै अर्का सांसद हुनुहुन्छ, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मिएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुन् । उनी प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याए । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गरेका छन् ।


    प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी भइन् । विराटनगरमा जन्मिएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी भए ।

    भुम्लु गाउँपालिका–२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याए । भण्डारी ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत हुन् । ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण हुन् ।


    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बनिन् । उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन् । डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाइन् । उनले ४५ हजार ६८० मतसहित विजय हासिल गरिन् । डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याए । विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले काठमाडौँको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् ।


    २६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले ४१ हजार ३४७ मतसहित विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता भए । मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन् ।


    अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भए । उनले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरे । सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनले ४१ हजार ३२२ मतसहित विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याए ।


    रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी । ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी भए । सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित भए । रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए । रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भए । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए ।


    काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन् । उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।
    काठमाडौँ महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गरेका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम÷परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ । उनले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसकेका छन् । पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसकेका छन् । उनमा नीति÷अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ ।

    मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन् । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुन् । उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन् । निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उनी निर्वाचित भएका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुन् ।


    पैँतीस वर्षमुनिको अर्का सांसद हुन् प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौँ– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना) । वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । रास्वपाकै अर्का निर्वाचित सांसद हुनुहुन्छ, ३४ वर्षीय सोम शर्मा । उनी बाग्लुङ–२ बाट निर्वाचित भए । रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी भए ।


    राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भए । कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी भए । २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौँ ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गरेका छन् । ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिएका थिए ।


    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भए । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए । यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भए । नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भए । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भए । श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भए ।

  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

    काठमाडौँ, २५ फागुनः सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएक १८ मध्ये १७ जना सदस्यलाई आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

    कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिए । कार्यक्रममा सदस्य मीनासिंह रखाल भने आज अनुपस्थित थिए ।

  • सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

    सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्

    धरान (सुनसरी), २५ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् । जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत पनि कटाउन नसकेका हुन् । सुनसरी निर्वाचन क्षेत्र नं १ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन् ।

    सय मत नकटाउनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दिलबहादुर बास्तोलाले ९४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बूले ८३, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार लिम्बूले ८३, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठले ६३, जनता समाजवादी पार्टी, नेपालका सञ्जय राई ५३, आम जनता पार्टीका रामबहादुर बिष्ट ५२, मङ्गोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ ४६, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू २७, मितेरी पार्टी नेपालका रक्षकुमार राईले १७ तथा स्वतन्त्र उम्मेदवारहरूमा देउमान लिम्बू ७४, सुमित राई ६९, जीवनकला राई ३७, शेषप्रसाद रेग्मी १७ र चेतबहादुर राईले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार ओमकृष्ण उदासले सबैभन्दा कम नौ मत प्राप्त गर्नुभएको छ । साथै यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा उज्यालो नेपाल पार्टीका डम्बर लावती ५९०, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू २०२, राष्ट्रिय साझा पार्टी भूपि राई १९१, संयुक्त नागरिक पार्टी नरेश विक १२५ र स्वतन्त्रका सुवास विश्वकर्माले १०७ मत प्राप्त गरेका हुन् ।

    सुनसरी–२ मा भने ११ जना बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र रोशनी राई दुई, भीमबहादुर दाहाल स्वतन्त्र ६, स्वतन्त्रबाट नवराज पौडेल ४५, नेपाल कम्युनिष्ट पार्टीका अतित नेपाल ३१, आम जनता पार्टी (एकल चुनाव चिह्न) निरञ्जन ठाकुर २८, स्वतन्त्र का देवेन्द्र पौडेल २०, स्वतन्त्रका अन्जनादेवी गुप्ता १८, स्वतन्त्र राजकुमार खत्री १४, स्वतन्त्र सत्यनारायण पण्डित १०, स्वतन्त्र डम्बरबहादुर बराइली ६ र नेपाल मजदुर किसान पार्टीका गीतामैयाँ बजिको १४ मत मत प्राप्त गरेका हुन् ।

    सुनसरी–३ मा १० जनाले सयभन्दा कम मत प्राप्त गरेका छन् भने ६ जनाले ५०० भन्दा कम प्राप्त गरेका छन् । रामनारायण थारू जनमत पार्टी ३८९, जागेश्वर यादव उज्यालो नेपाल पार्टी २८६, किशोरकुमार विश्वास समावेशी समाजवादी पार्टी नेपाल २२५, बद्रीप्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल १७७, आसुतोष ढुङ्गेल नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० १४० र प्रमोद पौड्याल प्रगतिशील लोकतान्त्रिक पार्टी ११९ मत प्राप्त गरेका छन् ।


    सुनसरी–४ मा १८ जनाले सयभन्दा कम मत ल्याएका छन् । तवरेज आलम अन्सारी आम जनता पार्टी ८७, मनकुमार राईमङ्गोल नेसनल अर्गनाइजेसन ७४, रमेशकुमार साह नेपाल जनता पार्टी ६३, अङ्कित कार्की स्वतन्त्र ४९, सत्यनारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)३९, तेजनारायण गोइत स्वतन्त्र ३४, कुन्दन कौसिक स्वतन्त्र ३३, मो.सदिक मियाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २९, उपेन्द्रकुमार साह स्वतन्त्र २५, देवनारायण महतो स्वतन्त्र १६, शर्मानन्द खतिवडा स्वतन्त्र १६, महेन्द्र सुनचौरी स्वतन्त्र १४, जलाल मियाँ स्वतन्त्र १३, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी १२, पार्वती मुखिया स्वतन्त्र १२, यमुना केसी स्वतन्त्र ११, फुलकुमारी खान स्वतन्त्र चार, बुधेश्वर यादव स्वतन्त्र चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

    इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

    फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । चुनावी प्रतिस्पर्धामा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरे।

  • कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

    गण्डकी, २५ फागुन । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ । तीनवटै क्षेत्रमा उक्त दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको छ । उक्त दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले पाएको मत बढी छ ।

    नेपाली कांग्रेसले समानुपातिकतर्फ दलले २८ हजार ६५६ मत पाएकोमा उम्मेदवारले पाएको मत ३० हजार ४९४ छ । नेकपा एमालेले समानुपातिकतर्फ दलले पाएको मत २४ हजार १९९ रहेकोमा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत २५ हजार ८२८ रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवारले भन्दा दलले बढी मत पाएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत चार हजार २७ रहँदा समानुपातिकतर्फ दलले पाएको मत छ हजार ४६६ रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत पाँच हजार २११ हुँदा समानुपातिकतर्फ दलले पाएको मत पाँच हजार ७६३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

  • श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

    श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

    संगीता राई–रासस
    धरान (सुनसरी), २५ फागुन । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहेका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
    विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उनी निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आए । नगर प्रमुख बनेपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिए । उनी आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गरे । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म जनतासँगै श्रमदान गरे ।
    सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले उहाँलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।

    राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय थिए । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे । धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उहाँ स्थानीयस्तरमा चर्चामा आए । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी एकपटक पक्राउसमेत परे । केही दिन पछि रिहा भए ।

    हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे । त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाए । त्यही गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका थिए । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उनी “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन् ।
    नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरे । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । उनले अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आएका छन् । धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।

  • समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

    समानुपातिक : ७५ लाख ७५ हजार १९३ गणना हुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

    काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ : ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

    त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७० , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

  • काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत

    काभ्रेमा रास्वपाको क्लिनस्वीप, अधिकांश उम्मेदवारको जमानत जफत

    काभ्रेपलाञ्चोक, २५ फागुनः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् ।

    यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।

    कूल एक लाख ६१ हजार एक सय मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए । समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए ।

    यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङ्ख्यक उम्मेदवार हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । कांग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन सकेनन् ।

    यसैगरी कूल एक लाख ६५ हजार ५११ मतदाता रहेको क्षेत्र नं २ मा एक लाख चार हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा पाँच हजार ६२ मत बदर भएको थियो । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ ।


    यस क्षेत्रका विजयी उम्मेदवार रास्वपाका बदन भण्डारी, नेपाली कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका अशोक व्याञ्जूबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागार्इंले आठ हजार १०७ मत प्राप्त गर्दा जमानत भने जोगाउन सकेनन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले तीन हजार ७४९ तथा राप्रपाका रञ्जीव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्दा जमानत जोगिएन ।

    यसैबीच जिल्लास्थित मुख्य निर्वाचन कार्यालयको मत परिणामअनुसार अधिकांश उम्मेदवारले ५० मतसमेत कटाउन नसकेका हुन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवारमा केशवराज तिमिल्सिनाले ४, लेनिन विष्टले ८, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, डिल्ली न्यौपानेले ३१, आशा तामाङले ५९ तथा मितेरी पार्टी नेपालका उम्मेदवार हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मङ्गोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत प्राप्त गरेका हुन् ।

    यस क्षेत्रको निर्वाचनमा रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत ल्याई फराकिलो अन्तरले विजयी भने कांग्रेसका आचार्यले १७ हजार ८६८ र नेकपा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० प्राप्त गरेका थिए ।

  • बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए ।

    त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा (एमाले) की विमला विकले १० हजार सात सय ७२ मत ल्याए । उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए ।

  • काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन् । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मङ्गल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन् ।

    काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मङ्गोल नेशनल अर्गनाइजेशनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।

  • गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

    जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

    काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताएकी छिन् । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उनले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताइन् । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताइन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् । साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गरेको मेहनतको सराहना गरिन् ।

  • प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिए ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए । उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’

    आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए । अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताए ।