Category: कला / साहित्य

  • गगन थापा काठमाडौंबाट चुनाव नउठ्ने, रोजे सर्लाही

    गगन थापा काठमाडौंबाट चुनाव नउठ्ने, रोजे सर्लाही

    ६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलले यसको पुष्टी गरेका छन् । उनी यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन लड्दै आएका थिए ।

    सभापतिलाई यस पटक देशभरका विभिन्न स्थानबाट उत्साहजनक रुपमा सिफारिस आएको थियो । त्यसमध्ये गगनले सर्लाही रोजेका हुन् । मधेशको भोट आकर्षित गर्न सो कदम चालिएको अनुमान गरिएको छ ।

  • आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    ६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो ।

    उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

    आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

    नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

    आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

  • देउवाले घोषणा गरे : म चुनाव लड्दिन

    देउवाले घोषणा गरे : म चुनाव लड्दिन

    ६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । ‘पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु’ स्वकीय सचिव भानु देउवाले भने ।

    प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। नेपाली कांग्रेसले समेत रातभर विभिन्न क्षेत्रको उम्मेदवारी तय गरेको छ । देउवाले डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् । नयाँ कार्यसमिति अमान्य भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ ।

  • दुर्गा प्रसाई पोखराबाट पक्राउ

    दुर्गा प्रसाई पोखराबाट पक्राउ

    ५ माघ, काठमाडौं । उदण्ड बोली र व्यवहारका कारण विवादित दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

    माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको थियो । काठमाडौँमा बोल्दै प्रसाईले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपियाँ लिएको आरोप लगाएका थिए । सो आरोपपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाई पक्राउ परेको पुष्टि गरे ।

  • रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    ५ माघ, काठमाडौं । २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ । त्यसअगाडी नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको चर्चित पात्र बालेन शाहलाई प्रदर्शनीमा उत्रार्दै विपक्षीलाई कडा चूनौति पेश गरेको छ । आइतबार घण्टीघर प्रवेशसँगै बालेनलाई रास्वपाले भब्य स्वागत गरेको थियो ।

    आज जनकपुरमा त्यसलाई आम जनता र कार्यकर्ताले समेत स्वीकार गरेका छन् । उनको स्वागतका लागि हजारौं आमसभामा पुगेका छन् । भीड थाम्नै हम्मेहम्मे परेको अवस्था आज थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको सभालाई ‘परिवर्तन उद्घोष सभा’ भनेको थियो । चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’को उद्घोष समेत गरे ।


    जनकपुरको तिरहुतिया गाँछीमा ठूलो संख्यामा उपस्थित समर्थकबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने वाचा गरेको छ । सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुर आइपुगेका थिए। रास्वपा सभापति रवि लामिछाने सोमबार जनकपुर पुगेका थिए। लामो समय कांग्रेसबाट राजनीति गरेका तर २०७९ सालको निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र भएर चुनाव जितेका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन्। सिंह सोमबार बिहानै बालेनसँगै जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए।

    सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका थिए। ‘केना कि अई त’ (के–कसो छ नि) भन्दै करिब २० मिनेट लामो भाषण उनले मैथिलीमै सुरु र समाप्त गरेका थिए। ‘भाषण होइन, काम गर्ने मान्छे हुँ। काम गर्छु। काम गर्ने दिने हो नि ?’ बालेनले भने, ‘मलाई मानिसहरूले भेट्दैनन् भन्छन्। महानगरमा हुँदा चार वर्ष मेयर मै व्यस्त रहेँ। राजीनामा गरेको छु, फुर्सदमा छु। पहिलो पटक जनकपुर आएर भाषण गर्दैछु।’

    बालेनको सम्बोधनका क्रममा शब्द–शब्दमा ‘बालेन–बालेन’ का नारा लगातार लागिरहेका थिए। ‘प्रदेशलाई अझ मजबुत बनाइनेछ। प्रदेशको काम वडामा धारा जोड्ने होइन,’ उनले भने, ‘दुई–तीनवटा पालिकासँग जोडिएका काम गर्नुपर्छ।’ उनले जनकपुर प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। ‘काठमाडौं अधिकार माग्नै जाऊँ, घुम जाऊँ पशुपति र स्वयम्भू,’ बालेनले भने, ‘मधेशिया छोरा प्रधानमन्त्री होइते, त्यसकै लागि हो। सही सरकार बनाउनुछ, त्यसैले मत दिनुहोस्।’

    सेतो कुर्ता–पाइजामा र कालो हाफ बन्डी लगाएका बालेनले जनकपुरको सभामा गम्छा बेरेका थिए। सोमबार बिहान जानकी मन्दिरमा पूजा गरेर उनी सिरहाको लहान पुगेका थिए, जहाँ मधेश आन्दोलनका क्रममा सहिद भएका स्मारकमा माल्यार्पण गरेका थिए। त्यहाँबाट जनकपुर फर्किने क्रममा उनी धनुषाको मिथिला नगरपालिका–बनिगामा मावाली गाउँ पुगेका थिए।

    चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनमा बालबालिकामाथि गोली चलाउने सरकारले देश र मधेशलाई गरेको अन्यायको हिसाब गरिने बताएका छन्। लामिछानेले आफूलाई षड्यन्त्र गरेर संसद्बाट निकालिएको दाबी पनि गरे। उनले भने, ‘पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु।’

    उनले बालेनसँग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंग पनि निकाले। उनले बालेन र आफूबीच भेटघाट भएको भोलिपल्ट उज्यालो घाम लागेको अनुभव सुनाए। लामिछानेले उक्त कुराकानीका क्रममा बालेन र आफूले एक–अर्कालाई सपना सुनाएको पनि बताए। उनले भने, ‘हाम्रो वार्ता पाँच मिनेटमा सकिएको थियो। थप समय त एक–अर्कासँग राम्ररी चिनजानमा लागेको थियो।’ लामिछानेले कोही मधेशवादी र कोही हिमालवादी नभएको बताउँदै भने, ‘यहाँ कोही मधेशवादी छैनन्। सबै नेपालवादी हुन्।’

    रास्वपाले यसअघि मधेशमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरेको छ। ‘हामीलाई धेरैले भने—मधेशमा त धेरै भोट ल्याउनुभएन, मधेशका जनताले तपाईंलाई माया गर्दैनन्। तर मलाई थाहा थियो मधेशले माया गर्छ,’ लामिछानेले भने, ‘त्यसैले त मधेशमा उन्नत बिउ रोपिएको थियो। त्यो बिउ आज हुर्किएर फल लागेर लहलह भएको छ। आजको उपस्थिति त्यही हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईंका तमाम आँखामा देखिएका सपना हो। अब त्यो सपना खोसेर मधेशले फिर्ता लिन्छ। मधेशमा ढिलो आए पनि ठीक समयमा आयो।’

    सभामा पार्टीका उपसभापति डीपी अर्यालले मधेशलाई चिन्ने र विकास गर्ने नेता नहुँदा मानव विकास सूचकांकमा मधेश पछाडि परेको बताए। उनले मधेशको विकाससँगै देशको उन्नतिका लागि मधेशले प्रधानमन्त्री पाउन लागेको दाबी गरे। अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताविरोधी नरहेको बताए। ‘रास्वपा संघीयताविरोधी नरहेको सन्देश जनकपुरको सभाले पनि दिएको छ,’ उनले भने, ‘तर संघीय ढाँचामा सुधार आवश्यक छ। संघीयताको नाममा भएका बदमासी र विकृतिको अन्त्य गर्नुपर्छ।’

    सभाबाटै पार्टी प्रवेश गरेका अमरेशकुमार सिंहले आफूलाई रवि–बालेनको सिपाही भन्दै बालेन प्रधानमन्त्री हुने दाबी गरे। रास्वपा नेता सोबिता गौतमले पार्टीले मधेशको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताइन्। मधेशमा जन्मिएका बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो। देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ।’ रास्वपा प्रवक्ता मनिष झाले आफू धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने घोषणा गरे।

  • सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा

    सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा

    ५ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् । उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

    रास्वपाबाट ललितपुर(२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन् । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । माघ ६ प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन गराउनु पर्ने भएकाले खरेलले आजै राजीनामा दिएका हुन् । उनले दल भने खुलाएका छैनन् ।

  • कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित

    कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित

    ५ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन् । उनले रास्वपामा असन्तुष्टहरुलाई धमाधम टिकट दिइरहेका छन् ।

  • कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट

    कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो ।

    क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । नुवाकोट–२ मा अघिल्लो निर्वाचनमा अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । अर्जुन यसपटक कांग्रेसको समानुपातिक सूचीमा छन् । उनी खस आर्य पुरुषतर्फको एक नम्बरमा छन् ।

  • सोनाम ल्होछार आज, देशभर सार्वजनिक बिदा

    सोनाम ल्होछार आज, देशभर सार्वजनिक बिदा

    ५ माघ, काठमाडौं । आज २८६२ औँ सोनाम ल्होछार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

    तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होछार महोत्सव आयोजना गरिएको छ ।

    विगतमा सोनाम ल्होछारको बिदा कटौती गरेको सरकारले पछि देशैभर बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिएका छन् । पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।

  • आजबाट निर्वाचन आचारसंहिता लागू

    आजबाट निर्वाचन आचारसंहिता लागू

    ५ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।

    आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

    अरु क–कसलाई लाग्छ आचारसंहिता ?

    स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ । उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् । मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन् ।

  • डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने

    डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने

    ४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् ।

    ‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् । गोरखा–२ मा नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै, एमालेबाट चक्रे मिलन उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन ।

  • आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

    आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

    ४ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो । छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र माननीय आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नरगराउन प्रतिबद्ध रहेको बताएका थिए । उनीहरूले नेपालको संविधान निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ समेतका निर्वाचनसम्बन्धी कानुनको इमान्दारिताका साथ पालना गर्नेरगराउने उल्लेख गरेका थिए ।


    यस्तै, निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति र उपसमिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएको बखत उपस्थित हुने प्रतिबद्धता व्यक्त भएको थियो । आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोग सचेत हुनुपर्ने लगायतका सुझाव प्राप्त भएको आयोगले जनाएको छ ।

    छलफलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका सम्बन्धमा उठेका प्रश्न तथा जिज्ञासामाथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगर्न र कानुनको परिपालना गरेर निर्वाचनमा सहभागी हुन सबै दलका प्रतिनिधिलाई आग्रह गरेका थिए ।


    केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले सामाजिक सञ्जाल अनुमगन प्रणाली (सोसियल मिडिया मनिटोरिङ टुल्स) उपयोग गर्नेबारे जानकारी दिएका थिए । आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका तर्फबाट प्रचलित निर्वाचन कानुन र निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएसँगै सबै दलहरूसँगको सहकार्यबाट निर्वाचन आचारसंहिताको इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुने विषयमा आयोग विश्वस्त रहेको उल्लेख गरिएको छ ।

    यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । रासस

  • एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?

    एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?

    ४ माघ, काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

    उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिनेछ। करिब ७ घण्टा लामो चलेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाएको छ ।

    अरु को कहाँबाट बने उम्मेदवार ?

    सुदूरपश्चिम

    कैलाली

    १. द्वारिका न्यौपाने

    २. सूर्यबहादुर थापा

    ३. गौरीशंकर चौधरी

    ४. लेखराज भट्ट

    ५. यज्ञराज ढुङ्गाना

    कञ्चनपुर

    १. कमला बोहरा

    २. वचनबहादुर सिंह

    ३. दीपक भट्ट

    अछाम

    १. झपटबहादुर बोहरा

    २. यज्ञ बोगटी

    बाजुरा

    १. लालबहादुर थापा

    डोटी

    १. दीपक धामी

    डडेल्धुरा

    १. चक्र स्नेही

    बझाङ

    १. अफिलाल ओखेडा

    बैतडी

    १. दामोदर भण्डारी

    दार्चुला

    १. गणेशसिंह ठगुन्ना

    कर्णाली

    सल्यान

    १. गुलाबजंग शाह

    रुकुम पश्चिम

    १. नन्दराम देवकोटा

    सुर्खेत

    १. धुर्व शाही

    २. कुलमणि देवकोटा

    कालिकोट

    १. नागेन्द्र शाही (नेसनल)

    जुम्ला

    १. शान्तिबहादुर महत

    मुगु

    १. पूर्णबहादुर रोकाया

    हुम्ला

    १. दल फडेरा

    डोल्पा

    १. लङ्क रोकाया

    दैलेख

    १. रविन्द्रराज शर्मा

    २. लक्ष्मीराज शर्मा

    जाजरकोट

    १. डम्मरबहादुर सिंह

    लुम्बिनी

    नवलपरासी

    १. रामप्रसाद पाण्डे

    २. भगवतीप्रसाद यादव

    रुपन्देही

    १. बाँकी

    २. बाँकी

    ३. बासुदेव घिमिरे

    ४. बाँकी

    ५. खिमलाल भट्टराई

    कपिलवस्तु

    १. विश्राम चौधरी

    २. अध्यक्षले टुङ्गाउने

    ३. बिरेन्द्र कडौनिया

    दाङ

    १. बाँकी

    २. बाँकी

    ३. घनश्याम पाण्डे

    बाँके

    १. सूर्य ढकाल

    २. बाँकी

    ३. दलबहादुर सुनार

    बर्दिया

    १. शालिकराम अधिकारी

    २. विमला विक

    पाल्पा

    १. नारायण आचार्य

    २. विष्णुप्रसाद पोडेल

    रुकुम पूर्व

    १. बाँकी

    रोल्पा

    १. गोकुल घर्ती

    प्यूठान

    १. सूर्य थापा

    अर्घाखाँची

    १. पिताम्बर भूसाल

    गुल्मी

    १. प्रदीप ज्ञवाली

    २. गोकर्ण विष्ट

    गण्डकी

    नवलपुर

    १. भागीरथ सापकोटा

    २. तिलबहादुर महत क्षेत्री

    गोरखा

    १. आर.सी. लामिछाने

    २. मिलन गुरुङ

    लमजुङ

    १. पृथ्वीसुब्बा गुरुङ

    तनहुँ

    १. भगवती न्यौपाने

    २. केदार सिग्देल

    स्याङ्जा

    १. मिनप्रसाद गुरुङ

    २. खिमबहादुर थापा

    म्याग्दी

    १. हरिकृष्ण श्रेष्ठ

    कास्की

    १. बैणबहादुर क्षेत्री

    २. कृष्ण थापा

    ३. दामोदर बैरागी

    बागलुङ

    १. हिरा केसी

    २. मञ्जु शर्मा चालिसे

    मुस्ताङ

    १. इन्द्रधारा विष्ट

    मनाङ

    १. पोल्देन सोताङ गुरुङ

    पर्वत

    १. पदम गिरी

    बागमती

    सिन्धुली

    १. प्रदीप केसी (कटुवाल)

    २. मनोजजंग थापा

    रामेछाप

    १. माधवप्रसाद ढुङ्गेल

    दोलखा

    १. पार्वत गुरुङ

    सिन्धुपाल्चोक

    १. आङदोर्जे शेर्पा

    २. शेरबहादुर तामाङ

    काभ्रे

    १. अमित लामा

    २. बाँकी

    धादिङ

    १. भूमी त्रिपाठी

    २. धनबहादुर घले

    नुवाकोट

    १. बद्री मैनाली

    २. केशव पाण्डे

    रसुवा

    १. प्रेमबहादुर तामाङ

    मकवानपुर

    १. रामेश्वर राना

    २. महेश बर्तौला

    चितवन

    १. कृष्णराज (कमल) पाठक

    २. अस्मिन घिमिरे

    ३. शंकरराज थपलिया

    काठमाडौं

    १. मोहन रेग्मी

    २. मणिराम फुयाल

    ३. रामेश्वर फुयाल

    ४. बाँकी

    ५. बाँकी

    ६. अमनकुमार मास्के

    ७. बाँकी

    ८. राजेश शाक्य

    ९. बाँकी

    १०. विनोद श्रेष्ठ

    ललितपुर

    १.चेतनाथ सञ्जेल

    २. प्रेमबहादुर महर्जन

    ३. बाँकी

    मधेश

    सप्तरी

    १. सुमन प्याकुरेल

    २. सतिश सिंह

    ३. ताराकान्त चौधरी

    ४. बालकृष्ण चौधरी

    सिराहा

    १. केदार यादव

    २. नविनकुमार यादव

    ३. लिलानाथ श्रेष्ठ

    ४. बिल्टु यादव

    धनुषा

    १. रामचन्द्र मण्डल

    २. उमाशंकर अग्रहरि

    ३. जुली महतो

    ४. रघुवीर महासेठ

    महोत्तरी

    १. लक्ष्मी महतो कोइरी

    २. रामपरिक्षण यादव

    ३. बाँकी

    ४. सरोज यादव

    सर्लाही

    १. बाँकी

    २. बाँकी

    ३. हरि उप्रेती

    रौतहट

    १. अजय गुप्ता

    २. शैलेन्द्र साह

    ३. कुन्दन कुशवाहा

    ४. रामजी शाह

    बारा

    १. अच्युत मैनाली

    २. बलवीर चौधरी

    ३. ज्वाला शाह

    ४. किसान श्रेष्ठ

    पर्सा

    १. बाँकी

    २. बाँकी

    ३. प्रमोद जैसवाल

    ४. जालिम मियाँ अन्सारी

    कोशी

    ताप्लेजुङ

    १. बाँकी

    पाँचथर

    १. ऐन्द्रसुन्दर नेम्वाङ

    इलाम

    १. काजिमान कागते

    २. सुहाङ नेम्वाङ

    झापा

    १. रामचन्द्र उप्रेती

    २. देवराज घिमिरे

    ३. बाँकी

    ४. बाँकी

    ५. केपी शर्मा ओली

    संखुवासभा

    १. डा. अर्जुन कार्की

    धनकुटा

    १. राजेन्द्र राई

    भोजपुर

    १ . शेरधन राई

    तेह्रथुम

    १. भानुभक्त ढकाल

    सुनसरी

    १. सूर्य पन्दाक

    २. बाँकी

    ३. बाँकी

    ४. भगवती चौधरी

    मोरङ

    १. घनश्याम खतिवडा

    २. दिलीप बगेडिया

    ३. दिलीप राई

    ४. जीवन घिमिरे

    ५. बाँकी

    ६. बाँकी

    सोलुखुम्बु

    १. कल्पना राई

    ओखलढुंगा

    १. अस्मिता थापा

    उदयपुर

    १. दुर्गा थापा स्वोती

    २. अमर रायमाझी

    खोटाङ

    १. देवविक्रम राई

  • एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली

    एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली

    ४ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । ‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले पार्टीलाई पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेको दाबी पनि गरेका छन् । ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उनले भने ।

  • निवर्तमान सभापति देउवालाई आभार व्यक्त गर्ने नवनिर्वाचित काङ्ग्रेसको निर्णय

    निवर्तमान सभापति देउवालाई आभार व्यक्त गर्ने नवनिर्वाचित काङ्ग्रेसको निर्णय

    काठमाडौँ, माघ ३ गते। नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।
    शनिबार काठमाडौँमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो। उनले पार्टीमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ। बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताए ।


    नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिबार केन्द्रीय कार्यसमिति बैठक बसेको हो। निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिबार नयाँ बानेश्वरमा बैठक बसेको हो। यो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो।

    बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधान अनुसार मान्यता दिएको भन्दै यो कसैको जितहार नभएको प्रष्ट पारेको छ। ‘यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ’, बैठकको पहिलो निर्णयमा भनिएको छ।

    बैठकले सहकार्यका लागि सबै नेतालाई अनुरोध गर्दै फागुन २१ गते निर्वाचनमा सशक्त सहभागी हुन आह्वान गरेको छ। ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ’, बैठकको निर्णयमा भनिएको छ।

    विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाडेका सबै साथीलाई पार्टीमा पुनः जोडिन आह्वान गरेको छ। बैठकले यो नयाँ अध्याय भएको भन्दै रूपान्तरणका लागि सबैसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

  • देउवा काङ्ग्रेस कानूनी उपचारमा जाने

    देउवा काङ्ग्रेस कानूनी उपचारमा जाने

    ३ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    “निर्वाचन आयोगले २०८२ माघ २ गते एकलौटी रूपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ” प्रवक्ता महतले भने ।

  • देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै

    देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै

    पाटन (ललितपुर), माघ ३ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि आगामी रणनीतिबारे छलफल गर्न सो बैठक डाकिएको हो ।

  • उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज

    उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज

    ३ माघ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
    प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

    एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदैछ ।

  • नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज

    नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज

    ३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि ।

    आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि प्रतयक्षतर्फको उम्मेदवारी चयनको कामलाई समेत तिव्रता दिने बताएको छ ।

  • लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    काठमाडौँ, माघ २ गते । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।

    “अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ”, बारले भनेको छ, “अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।”

    बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।

    “यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायापलिकाको अवधारणामा नै असर पुर्याउँदछ”, विज्ञप्तिमा भनिएको छ, “यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लङ्घन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ ।”

    महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेको थियो ।रासस

  • अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट

    अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट

    २ माघ, काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन् । उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।

    ‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।’ जनकपुरबाट बालेनले समेत रास्वपामा राजनीतिक यात्रा थाल्दैछन् । बालेन झापामा केपी शर्मा ओलीविरुद्ध उठ्ने तयारीमा छन् ।

  • गगनले भने : काङ्ग्रेसमा गुट सकियो

    गगनले भने : काङ्ग्रेसमा गुट सकियो

    २ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गरेका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् । भुईँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनले स्पष्ट पारेका छन् । कार्यकर्ताको चाहना अनुसार निर्णय गर्ने सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

    निर्वाचन आयोगको निर्णयसँगै विधि, विधान र पद्दति स्थापित भएको सभापति थापाले जनाएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।

    विशेष महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् । ‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

    पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा नेताहरुले यो प्रक्रियालाई सहज रुपमा ग्रहण गर्ने विश्वास सभापति थापाले लिएका छन् । पार्टी बाहिर रहेको पङ्तिप्रति सभापति थापाको संकल्प छ,‘विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ । आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।’

    लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभापति थापाले कांग्रेसको मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । चुनावी गठबन्धन नगर्ने प्रतिवद्दता पार्टी पङ्तिसँग गरेका छन् । चुनावी तालमेललाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै सभापति थापाले गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन् ।

  • आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?

    आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?

    २ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा नयाँ चरणबाट सक्रिय हुने प्रक्रियामा प्रवेश गरेको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस बन्ने बाटोमा प्रवेश गरेको बताएका हुन् ।

    ‘जे भएको छ यसलाई नवीन नेपालका लागि नवीन कांग्रेस भन्ने रुपमा लिनुपर्छ । कसले नेपाली कांग्रेसको नाम चुनावचिह्न लिने भन्ने दाबीहरू पनि भए ।आयोगले गर्ने निर्णय विशेष महाधिवेशनको पक्षमा गयो भने आन्दोलन गर्ने भन्ने कुराहरू पनि सुनियो,’ उनले भने, ‘पार्टीका सबै श्रद्धय अग्रजलाई नम्र अनुरोध गर्छु( अब हामी पुराना आवेगका कुरालाई बिर्सिनुपर्छ । एक भएर उभिनुपर्छ ।’

    उनले अब चुनावको तयारी जुट्न सबैलाई आग्रह पनि गरे । ‘माघ ६ गते उम्मेदवारी गर्नुछ । गगन थापा नेतृत्वको कांग्रेसले उम्मेदवारी छनोट गर्दैछ । साथीहरूले लिस्टिङ गर्दै हुनुहुन्छ । भोलि हामी बैठक बस्दा त्यसलाई हेरेर पार्टीको कामको गतिलाई अघि बढाउँछौँ,’ उनले भने, ‘विशेष महाधिवेशनलगत्तै नेपाली कांग्रेस परिचालन समिति, घोषणा पत्र समिति, संसदीय बोर्डको बारेमा निर्णय भइसकेको छ । अध्यावधिकको काम पनि आज सकिएको छ ।’

    उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेबीच दरार रहननहुने पनि बताए । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने या नगर्नेबीचमा केही दरार रहँदैन । विधि र विधानको जगमा कांग्रेसलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘प्रश्न वैशाखसम्म महाधिवेशन पर्खिने भन्ने थिएन । चुनावअघि बदलिएर जाने कि नजाने भन्ने थियो । विशेष महाधवेशनले टुंगोमा पुर्‍यायो । यसलाई आवेगको विषय नबनाइ अघि बढ्न आह्वान गर्दछु ।’

  • कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?

    कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?

    २ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ । आयोगका अनुसार ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई एक आधार मानिएको छ ।

    विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधिका रुपमा रहने विषयलाई समेत आधार मानिएको छ । विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएको समेत आयोगको ठहर छ ।

  • विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता

    विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता

    २ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ ।

    विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । काङ्ग्रेसको आधिकारिक सभापति गगन थापा बनेका छन् । रुख र झण्डा समेत उनीसँगै रहने छ ।

  • गगनले आयोगमा बुझाए दस्तावेज र विवरण

    गगनले आयोगमा बुझाए दस्तावेज र विवरण

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ । सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु आज आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन् ।

    विवरण पेस गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण पेस गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । विशेष महाधिवेशनले सभापतिसहित सिङ्गो केन्द्रीय कार्य समिति नै परिवर्तन गरिएको विवरण पेस गरिएको उनले बताए ।


    विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिए । त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उनले सुनाए ।


    थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको बताए । निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उनले बताए ।

    नवनिर्वाचित केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता एवं एशोसियशनका अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्कासहितका कानुन व्यवसायी लिएर आयोगमा आएको थियो । सभापति थापाले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई दोस्रो विशेष महाधिवेशनबाट पारित भएका नीति तथा कार्यक्रमलगायत दस्तावेज र नव निर्वाचित केन्द्रीय कार्य समितिको विवरणलगायत कागजात पेस गरेका थिए ।

    थापा नेतृत्वको नेपाली कांग्रेसले छिटो विवरण अद्यावधिक गर्न माग गरेको छ । आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लगि मनोनयन दर्ता गर्ने समय नजिक आएकाले छिटो केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यको विवरण अद्यावधिक गर्न माग गरेका हुन् । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन हुने १६५ क्षेत्रका लागि माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

  • कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

    कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौँ, १ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी थिए । गत पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको महाधिवेशनले आजै बिहान उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।

    यसैसन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान उल्लङ्घन हुनेगरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्काशन गरेको थियो । केन्द्रीय समितिको उक्त कारवाहीपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । सो विवाद बढेपछि कांग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन् । सभापति थापा आजै निर्वाचन आयोगमा पुगेर पार्टीको विधान महाधिवेशनबारे विस्तृतमा जानकारी गराएका छन् ।

  • कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित, को को परे ?

    कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित, को को परे ?

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।


    पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित भए ।

    यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित भए ।


    यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    महिला खुल्ला नौ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भए । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भए ।


    गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भए । केन्द्रीय सदस्य (अपाङ्गता)तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक)तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भए ।

    केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भए ।


    केन्द्रीय सदस्य (खसआर्य महिलातर्फ) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भए । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला)मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध भए ।

    केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भए ।

    घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।

  • कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

    “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भने ।

    उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”

    नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए । त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

  • कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही, फुट्यो काङ्ग्रेस

    कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही, फुट्यो काङ्ग्रेस

    पाटन (ललितपुर), ३० पुसः नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ । बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५ औँ महाधिवेशनको कार्य तालिकासहित सबै निर्णयहरु पारित गरेको जानकारी दिए । यससँगै नेपाली कांग्रेस पार्टी निर्वाचनको मुखमै फुटेको छ । पार्टीको औपचारिकताको विवाद भने कायम नै छ ।