काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता÷अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई अन्य)मा उम्मेदवार कायम गरेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता÷अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाएको छ । आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर,महेन्द्र यादव, केन्द्रीय सदस्यहरु विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक विषयमा विचार व्यक्त गरेका थिए ।
जनकपुरधाम, २३ पुसः राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मनोनयन दर्ता गराएका छन् । उनले आज जनकपुरधामस्थित मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहनुभएको यहाँस्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुभासबाबु पुरीले जानकारी दिए । उनका अनुसार उक्त पदका लागि मधेसको प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ मतदाता रहेका छन् ।
ठाकुरको उम्मेदवारी पछि सोही पार्टीका नेता शरतसिंह भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससँग सहमति गरी सोही आधारमा उम्मेदवारी दिइएको जानकारी दिए । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको चार वटा रिक्त पदका लागि उम्मेदवारी दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौँ, २३ पुसः निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ । आयोगले आज यहाँ कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको छ ।
नयाँ प्रावधानअनुसार, अनलाइनमाध्यमको निर्वाचन प्रचारप्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।
त्यस्तै, थपिएको नयाँ बँुदामा संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता र यसको स्वनियमनलाई आन्तरिकीकरण गरिएको उल्लेख छ । सामाजिक सञ्जालको परिभाषालाई विस्तृत सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिँदो समयमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी हुने आचारसंहिताको उल्लङ्घनका विषयलाई समेटिएको छ ।
पत्रपत्रिकाका माध्यमबाट प्रचारप्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन सञ्चार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होमपेज, व्यानर, डिटेल पेज व्यानर, बक्स विज्ञापन (समाचारको बीचमा) का माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउनसक्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबैको दायित्व भएको बताए । उनले भने, “हामीसँग जेजस्तो अवस्थामा छौँ, अधिकतम नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्नुपर्छ । अभावको पक्षलाई धेरै जोड दिन हुन्न ।” निर्वाचन आचारसंहिताको आफूले पूर्ण रुपमा पालना गर्न र गराउन सुझाव दिँदै उनले आफ्नो कार्यालयको जिम्मेवारी क्षेत्रका विषयलाई गुनासो र प्रश्न नआउने गरी काम गर्न निर्देशन दिए ।
सम्भावनाका आधारमा आफ्ना संरचनालाई प्रयोग गरी नतिजा प्राप्त गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले तुलनात्मक रूपमा चुनौती देखिएको आइटीकाबारे थप छलफल हुनुपर्ने बताउनुभयो । दर्ता नभएका अनलाइन सञ्चारमाध्यमलाई दर्ताका लागि सूचना र पत्रचार गर्न सुझाव दिँदै उहाँले दर्ता नभएका अनलाइनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औल्याए । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दिपकुमार राइले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै समितिलाई प्राप्त जिम्मेवारी समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौँ, २३ पुसः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।
काठमाडौँ, २२ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा आज गरिएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन् । कार्यालय परिसरमा पार्टीका नेता विमलेन्द्र निधिलाई लक्षित गरी केही कार्यकर्ताले गरेको होहल्ला र नाराबाजीप्रति ध्यानाकर्षण भएको उनीहरुले बताए ।
कांग्रेसको विशेष महाधिवेशन पक्षका केही नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले उक्त घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुनसक्ने धारणा सार्वजनिक गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, महाधिवेशन प्रतिनिधिहरु मनोजमणि आचार्य, सुवास पोखरेल र कुशुमदेवी थापा, लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधव चौलागाईलगायतले सो घटनाको सत्य–तथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे ।
साथै उनीहरुले विशेष महाधिवेशनका सन्दर्भमा यसअघि बुझाएका पत्र तथा स्मरणपत्रहरू पुनः स्मरण गराउँदै आजै विशेष महाधिवेशन पक्षधरको उपस्थितिमा सम्पन्न बैठकबाट विभिन्न १८ समिति तथा उपसमिति गठन गरिएको जानकारी गराए । उनीहरुले विशेष महाधिवेशनका सन्दर्भमा जिम्मेवार पदमा रहेका केही नेताबाट अतिरञ्जित तथा गैरजिम्मेवार अभिव्यक्ति प्रकट भएको भन्दै आपत्ति जनाए । उता, घटनाप्रति महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले समेत आपत्ति जनाएका छन् ।
लक्ष्मण खनाल २२ पुस, दुबई संयुक्त अरब इमिरेट्स (यूएई) मानव निर्मित संसारकै अग्लो भवन बुर्ज खलिफाको देशबाट अब विश्वकै शिखर सगरमाथाको सन्देश बोकेर नेपाली प्रवासी समुदायको आवाज विश्वव्यापी बन्नेछ । सन् २००८ मा अमेरिकाको न्युयोर्कबाट यात्रा सुरु गरेको विश्वसन्देश मासिक पत्रिका नयाँ वर्ष २०२६ सँगै यूएईबाट प्रकाशन सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष जनवरी १ देखि यूएई संस्करण प्रकाशित पत्रिका प्रवासमा नेपाली भाषामा नियमित रुपमा निस्कने सबैभन्दा पुरानो र एक मात्र स्थापित म्यागेजिन हो ।
विश्व सन्देशको यो नयाँ अध्यायले यूएईमा बसोवास गर्ने करिब ८ लाख नेपालीको सुख–दुःखलाई विश्वमाझ पु¥याउने र नेपालका घरपरिवारसँग जोड्ने मजबुत पुलको काम गर्नेछ । ‘बुर्ज खलिफा संसारको सबैभन्दा अग्लो भवन हो र यूएईको पहिचान बनेको छ,’ विश्व सन्देशका प्रधानसम्पादक रोसन पुरीले भने, ‘यहींबाट हामीले संसारकै शिखर सगरमाथाको सन्देश सुरु गरेका छौं । नेपाली समुदायलाई जोड्नेगरी यो पत्रिकाको यूएई संस्करण प्रकाशन गरेका हौं ।’
विश्व सन्देशको यात्रा सन् २००८ मा न्युयोर्कबाट सुरु भएको थियो । सुरुमा पाक्षिक रुपमा प्रकाशित यो पत्रिका छोटो समयमै साप्ताहिक बनेर अमेरिकाभरिका नेपाली समुदायमाझ लोकप्रिय भएको थियो । कोभिड–१९ महामारीपछि प्रकाशनको चुनौतीलाई ध्यानमा राख्दै यसलाई मासिक रुपमा रुपान्तरण गरियो, जसले गुणस्तर र स्थायित्व दुवैलाई मजबुत बनायो । डेढ दशकभन्दा बढी समयदेखि न्युयोर्कबाट निरन्तर प्रकाशित हुँदै आएको यो पत्रिका नेपाली डायस्पोराको विश्वसनीय माध्यम बनेको छ । नेपालबाहिर नेपाली भाषामा नियमित रुपमा प्रकाशित हुने यो एकमात्र पुरानो र स्थापित म्यागेजिन हो ।
यूएई नै किन रोज्यौं ? यूएई नेपाली श्रमिक तथा आप्रवासीको प्रमुख गन्तव्य हो । यहाँ बसोवास गर्ने नेपालीहरुको ठूलो हिस्साले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । नेपालीहरु जहाँ गए पनि आफ्नो परिवार, संस्कृति र मातृभूमिसँग जोडिएर रहन चाहन्छन् । विश्व सन्देशले ठ्याक्कै यही आवश्यकतालाई सम्बोधन गर्नेछ । यो पत्रिका यूएईका नेपालीहरुलाई नेपालको घरआँगनसम्म जोड्ने सेतु बन्नेछ ।
‘यो पत्रिकाको प्रकाशनले नेपालमा रहेका घरपरिवारका कुरा दुबईमा पु¥याउने र दुबईमा समस्यामा परेका तथा सफल नेपालीका कथालाई विश्वव्यापी बनाउने हाम्रो मुख्य उद्देश्य हो,’ प्रकाशक विजयराम पौडेलले भने । यो संस्करणले प्रवासी नेपाली समुदायको आवाजलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । उनी थप्छन्, ‘यहाँकै साथीहरु खासगरी नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटाले संयोजन गर्दा पत्रिका प्रकाशन भयो र हामीसँग साझेदारीका लागि अन्य साथीहरु जोडिनुभयो । प्रकाशनसम्म जानका लागि यहाँको नेपाली समुदायको योगदान अतुल्य छ ।’
पत्रिकाले केवल समाचार वाहकको भूमिका मात्र निर्वाह गर्ने छैन, बरु प्रवासी नेपालीहरुका समस्या, चुनौती र अवसरहरुको जीवन्त दस्तावेज बन्नेछ । श्रमिकहरुले भोग्ने विभिन्न खालका समस्या, कामको बारेमा जानकारी, स्वास्थ्य सुविधा, कानुनी जटिलता जस्ता मुद्दालाई प्राथमिकताका साथ उठान गरेर उनीहरुलाई सबै क्षेत्रमा सहयोग गर्ने हाम्रो उद्देश्य हुनेछ ।
यस्ता समस्याको समाधानका लागि सरोकारवाला निकायसँग पैरवी गर्ने र सफलताका कथाहरु प्रस्तुत गरेर नयाँ अवसरहरुको ढोका खोल्ने प्रयास पनि गरिनेछ । साथै, यूएईको नेपाली समुदायका सांस्कृतिक कार्यक्रम, सामाजिक गतिविधि, सफल भएका उद्यमीका अनुभव र नेपालका समसामयिक घटनाक्रमलाई पनि स्थान दिइनेछ । यसरी विश्व सन्देश प्रवासी नेपालीहरुको सुखदुःखको साझेदार बन्नेछ ।
भविष्यको योजना अझ महत्वाकांक्षी भविष्यको योजना अझ महत्वाकांक्षी छ । यूएईबाट सफलतापूर्वक प्रकाशन भएपछि नेपाली श्रमिकहरुको बाहुल्य रहेका साउदी अरब, कतार, मलेसिया र कुवेत जस्ता देशबाट पनि स्थानीय संस्करण निकाल्ने लक्ष्य राखिएको छ । युरोप र एसियाका अन्य ठाउँबाट पनि प्रकाशन गर्ने छलफल अगाडि बढाइएको छ । यसले विश्वभरि छरिएका नेपालीहरुलाई एक सूत्रमा बाँध्ने र नेपाली पत्रकारितालाई विश्वव्यापी बनाउने विश्वास गरिएको महासंघ अध्यक्ष सापकोटाले बताए ।
यो महत्वपूर्ण यात्रालाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको भन्दै प्रकाशक पौडेलले नेपाली समुदायको सहयोगबिना यो प्रयास अधुरो रहने बताए । विज्ञापनले पत्रिकालाई आर्थिक रुपमा मात्र मजबुत बनाउने छैन, नेपाली समुदायसँग व्यवसायलाई पनि जोड्नेछ । यूएईको टिममा यहाँका व्यवस्थापक र पत्रकारहरुको साथ, सहयोग रहेको छ ।
बुर्ज खलिफा निर्माणमा नेपाली पनि संलग्न बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो मानव निर्मित संरचना हो, जसले दुबईको महत्वाकांक्षी सपनालाई मूर्त रुप दिएको छ । यो टावर संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई शहरमा अवस्थित छ र डाउनटाउन दुबई परिसरको केन्द्रबिन्दु हो । यसको कुल उचाइ ८२९ दशमलब ८ मिटर (२,७२२ फिट) छ । वास्तुकलात्मक उचाइ ८२८ मिटर र स्पायरसहितको शिरसम्मको दूरी ८२९ दशमलव ८ मिटर छ ।
टावरमा कुल १६३ तला छन्, जसमध्ये १५४ तला प्रयोगयोग्य र ९ तला अन्य प्रयोजनका लागि प्रयोग गरिएको छ । जसमा आवासीय अपार्टमेन्ट, होटल, कार्यालय, रेस्टुरेन्ट र अवलोकन डेकहरु समावेश छन् । यो टावरले विश्वका कैयौं कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा अग्लो भवन, सबैभन्दा बढी तला भएको भवन, सबैभन्दा अग्लो अवलोकन डेक आदि ।
यो हलको अवलोकन गर्दा यसको निर्माणका सन्दर्भमा विभिन्न प्रकारको चासो र जिज्ञासा हुन्छ । यो निर्माणमा संलग्नहरुको चर्चा पनि बेलाबेलामा हुने गरेको छ । यसमा संलग्न कति नेपाली थिए भन्ने कुराको तथ्याङ्क नभए पनि बुर्ज खलिफा निर्माणमा नेपाली श्रमिकको महत्वपूर्ण भूमिका थियो । बुर्जखलिफा निर्माणमा झण्डै १०० देशका १२ हजार कामदार संलग्न थिए । बुर्ज खलिफा निर्माणमा संलग्न नेपालीहरुले स्काफोल्डिङ, क्रंक्रिटिङ, स्टिल फिक्सिङ लगायतका विभिन्न क्षेत्रमा नेपाली श्रमिकले काम गरेका थिए ।
बुर्ज खलिफामा राखिएका विभिन्न देशका कामदारका तस्बिरमध्ये नेपाली कामदार लक्ष्मण श्रेष्ठको पनि छ । बुर्जखलिफा निर्माणका क्रममा महत्वपूर्ण योगदान दिएका कामदारको तस्बिर राखिएकामा नेपाली कामदार श्रेष्ठको तस्बिर हामीले सहजै हेर्न सक्छौं । निर्माण सम्पन्न भएपछि पनि नेपाली श्रमिकहरु बुर्ज खलिफामा निरन्तर कार्यरत छन् । सरसफाइ, टावरभित्रका हरेकजसो संरचनामा नेपाली श्रमिक कार्यरत छन् । त्यसो त विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका लागि यूएईमा झण्डै ८ लाख नेपाली रहेको अनुमान गरिएको छ ।
बुर्ज खलिफाको नाम बुर्ज खलिफाको अवधारणा २००० को दशकको सुरुवातमा ल्याइएको हो । यूएई सरकारले तेलमा आधारित अर्थतन्त्रलाई सेवा, पर्यटन र व्यापारतर्फ विविधीकरण गर्न चाहन्थ्यो । दुबईलाई विश्व मानचित्रमा स्थापित गर्न एउटा प्रतिष्ठित र आइकनिक संरचना आवश्यक ठानियो । यो परियोजनाको नेतृत्व इमार प्रोपर्टिजले गरेको थियो, जसका अध्यक्ष मोहम्मद अली अलाब्बार थिए । सुरुमा यसको नाम बुर्ज दुबई राखिएको थियो ।
डिजाइन इस्लामिक वास्तुकलाबाट प्रेरित छ, विशेष गरी इराकको सामर्रास्थित ग्रेट मस्जिदको स्पाइरल मीनारबाट । निर्माणकै क्रममा सन् २००८–२००९ को विश्वव्यापी आर्थिक मन्दीले दुबईको अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभावित पा¥यो । इमार प्रोपर्टिजलाई ऋण तिर्न कठिनाइ भयो । उक्त समयमा यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नहयानले अरबौं डलरको आर्थिक सहयोग प्रदान गरे । उद्घाटनको दिन २०१० जनवरी ४ मा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तुमले यो सहयोगको सम्मानमा टावरको नाम बुर्ज खलिफा राखे ।
डिजाइन र विकास टावरको डिजाइन अमेरिकी कम्पनी स्किडमोर, ओइङ्स एन्ड मेरिलले गरेको हो । मुख्य वास्तुकार एड्रियन स्मिथ र मुख्य संरचनात्मक इन्जिनियर बिल बेकर थिए । कम्पनीले यसअघि शिकागोको विलिस टावर पनि डिजाइन गरेको थियो । डिजाइनमा ‘बन्डल्ड ट्युब’ प्रणाली प्रयोग गरिएको छ, जसमा वाई आकारको आधार र २७ वटा सेटब्याकले हावाको प्रभावलाई न्यून बनाउँछ । केन्द्रीय कोरले मुख्य भार थेग्छ भने पखेटाहरुले स्थिरता प्रदान गर्छन् ।
बाहिरी भागमा २६,००० भन्दा बढी ग्लास प्यानल प्रयोग भएका छन । टावरमा ५७ वटा दोहोरो डेकसहितका लिफ्ट रहेका छन् । जसले १० मिटर प्रति सेकेन्डको गतिमा आफ्नो काम गर्छन् । निर्माण कार्य २००४ जनवरी ६ मा सुरु भएको थियो । मुख्य ठेकेदार दक्षिण कोरियाली कम्पनी सामसुङ सी एन्ड टी थियो, जसमा बेल्जियमको बेसिक्स र यूएईको अरबटेक पनि सहभागी थिए । प्रोजेक्ट व्यवस्थापन टर्नर कन्स्ट्रक्सनले गरेको थियो । बुर्ज खलिफा टावरको कूल लागत १ दशमलब ५ अर्ब अमेरिकी डलर रहेको थियो । बुर्ज खलिफाले कयौं कीर्तिमान कायम गरेको छ ।
प्रमुख ५ कीर्तिमान तथा विशेषता १. संसारको सबैभन्दा अग्लो भवन तथा संरचना । २. सबैभन्दा बढी तला भएको भवन । ३. सबैभन्दा अग्लो अवलोकन डेक ४. सबैभन्दा अग्लो रेष्टुरेन्ट ५. सबैभन्दा ठूलो लाइट र साउण्डसहितको शो (खासगरी नयाँ वर्षको अवसरमा) ।
बुर्ज खलिफाको नाम नसुन्ने सायदै कम व्यक्ति छन् । त्यसैले यसको अवलोकन गर्ने चाहना हरकसैलाई हुनु स्वाभाविक हो । त्यसैले हरेक नयाँ वर्षको आतिसबाजी संसारभर प्रसारण हुन्छ । बुर्ज खलिफा दुबईको महत्वाकांक्षा र आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना मात्रै होइन, यो पर्यटकको प्रमुख आकर्षक पनि हो । जसले पर्यटक भित्राउने मात्र होइन, हजारौं आप्रवासीलाई रोजगारी पनि दिएको छ ।
काठमाडौँ, २२ पुसः नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ”, सापकोटाले भने ।
पुस २९ गतेसम्म सङ्गठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रवासी सङ्गठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारतको नयाँदिल्ली गएको जानकारी दिँदै नेता सापकोटाले भारत भ्रमणका क्रममा त्यहाँका व्यक्ति व्यक्तित्वसँग छलफल हुनु स्वभाविक भएको बताए ।
काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस २३ गते बुधबार बिहान ९ः०० बजे पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।
काठमाडौँ, २२ पुसः सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्थाबमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै विशेष संयन्त्रको आवश्यकता औँल्याएको हो । समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्त डा जानकीकुमारी तुलाधरसहित समितिका अन्य पदाधिकारीको उपस्थिति रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बैठकमा आचारसंहिताको प्रभावकारी परिपालना एवं कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, सोका लागि प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा छलफल भएको थियो । बैठकमा सहभागी सदस्यहरूले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मकजस्ता विधिलाई एकसाथ अघि बढाउन उपयुक्त हुने धारणा व्यक्त गरे ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्वपूर्ण भएको र आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताए । उनले आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेको धारणा राखे । आयुक्त डा तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गर्ने जानकारी गराउँदै निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको उल्लेख गरे ।
अनुगमन समितिका संयोजक रहनुभएका निर्वाचन आयुक्त जबराले विगतका कमजोरीलाई सुधार गरी यसपटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेकाले सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबैपक्षसँग सहकार्य गर्ने समितिका संयोजक जबराले स्पष्ट पारे । बैठकमा निर्वाचन आयोग तथा विभिन्न मन्त्रलायका सचिव एवं सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
काठमाडौँ, २१ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पुनः बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्ने उनले बताए ।
सोमबार सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।
काठमाडौँ, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताएका छन् । राजधानीमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए । “चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो”, सभापति लामिछानेले भने, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन ।”
उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताए । सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गरे । उनले थरुहट÷थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
भक्तपुर, २१ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन् । भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उहाँले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए ।
मन्त्री घिसिङले भने, “देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दिन सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । सबै जना गम्भीर बनेर परिवर्तनको बाटोमा अगाडि बढौँ ।” उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत परिवर्तनलाई संस्थागत गर्न हातेमालो गर्नुपर्नेमा जोड दिए ।
२१ पुस, दुबई । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को औपचारिक प्रकाशन शुभारम्भ भएको छ । यूएईमा आइतबार आयोजित एक कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको उद्घाटन गरे । उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा विश्व सन्देशका ग्लोबल अध्यक्ष विजयराम पौडेल र पत्रिकाका ग्लोबल कार्यकारी प्रमुख योगेश आदीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ग्लोबल कार्यकारी प्रमुख आदीले न्यूयोर्कबाट प्रकाशित हुँदै आएको विश्व सन्देश पत्रिकालाई अब मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा समेत क्रमशः प्रकाशन गर्दै लैजाने योजना रहेको जानकारी दिए ।
त्यसैगरी विश्व सन्देशका ग्लोबल अध्यक्ष पौडेलले प्रिन्ट मिडियाको महत्व प्रकाश पार्दै प्रवासमा रहेका लाखौं नेपालीहरूको इतिहास, संघर्ष र सफलताको कथालाई लिपिबद्ध गर्ने उद्देश्यका साथ विश्व सन्देश प्रकाशनमा आएको बताए । पौडेलले पत्रिकामार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका सफलताको कथा, व्यवसाय प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा विश्व सन्देशले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा यूएईस्थित विभिन्न संघसंस्था, कलाकार, एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । झण्डै ८ लाख नेपाली बसोवास रहेको यूएईमा विश्व सन्देश नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा सार्वजनिक भएको हो ।
काठमाडौँ, २१ पुस । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।
आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।
काठमाडौँ, २१ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ ।
जनकपुरधाम, २० पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज यहाँ आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि भए पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखको विषय भएको उल्लेख गरे । मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि भए पनि शिक्षाको क्षेत्रमा कसरी तथा किन पछि परेको हो त्यो अध्ययनको विषय भएको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए । “अहिले प्रविधिको जमाना छ, साक्षर पनि नहुनु ठूलो विडम्वनाको विषय भएको छ”, मन्त्री पुनले भने ।
सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था सवै प्रदेशभन्दा कमजोर भएको उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासका लागि योजनावद्धरुपमा अगाडि बढेको छ भने । शिक्षा क्षेत्रको दीगो विकासका लागि सरकारी तथा गैरसकारी क्षेत्र हातोमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । मधेस प्रदेशसभा सदस्य अञ्जना पण्डितले मधेसको शिक्षाको समस्या समाधान गर्न तीनै तहका सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।
प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताए । उनले भने, “हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गरे पनि मानसिक रूपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । चलचित्रले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।”
निर्देशक क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार गरेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने जानकारी दिए । छायाँकारसमेत रहेका निर्माता रविन आचार्यले निर्माण गर्नुभएको उक्त चलचित्रमा कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् ।
काठमाडौँ, २० पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन ।
आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितण गर्न वा प्रदर्शन गर्न गराउन नपाइने व्यवस्था गरिएको छ ।
घर वा जग्गाधनीको स्वीकृति नलिई कसैको निजी संस्था वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था आचारसंहितामा गरिएको छ । बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नपाइने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ । सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै प्रकारको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसमेत गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।
काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।
नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उनी आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले पूर्वप्रधानमन्त्री खनाललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
लुम्बिनी, २० पुसः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले)को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो । यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको जिल्ला सहसचिव बाबुराम पन्थीले जानकारी दिए ।
रुपन्देही–३ बाट एमालेले उपाध्यक्ष पौडेलसँगै प्रदेश कमिटी सदस्य सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी, रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित पूर्वसांसद वासु घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावती खनाल, सीता काफ्ले र लक्ष्मी केसीको नाम सिफारिस गरेको पन्थीले जानकारी दिए ।
रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ । यस्तै रुपन्देही क्षेत्र नं ५ बाट राष्ट्रियसभाका पूर्व सांसद खिमलाल भट्टराईको नाम एकलरुपमा सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा भने सोमबार क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवारको नाम सिफारिस गरिने पन्थीले जानकारी दिए ।
रासस कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै छिन् । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् ।
दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको छ । पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो । द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ”, उनी सम्झिन्छन्, “तर तराई झरेपछि विस्तारै त्यो परम्परा हराउँदै गयो ।”
तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए । द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे । “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन”, उनी भन्छिन् ।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गयो । यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो । त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे । छलो समाज गठन गरियो । समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्छिन्, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ ।”
अहिले ती महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन् । परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्दछन् ।
परम्परागत पहिरन तयार गर्न रु तीनदेखि पाँच हजारसम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति उहाँहरूमा छ । “यो पहिरनले हामीलाई हाम्रो संस्कृति सम्झाउँछ”, चन्द्रा भन्छिन्, “अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्छ ।” छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन् । पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्व बुझाउनेमात्र होइन, छलो नृत्य पनि सिकाउँदै आएका छन् । पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो । तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन् ।
परम्परागत पहिरनले पहिचान जोगिएपछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वःस्फुर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन् । पछिल्ला पाँच वर्षयता महिला सङ्गठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेका छन् । पचपन्न वर्षीया अमला ठगुन्ना संस्कृति र पहिरन जोगिएकामा निकै खुसी छिन् । “अरु समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्थ्यो”, उनि भन्छिन्, “अहिले आफैँ पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द मिल्छ ।”
पहाडमा महिलाहरूले छिट (फर्कावाद)को कपडाबाट बनाइएको आठदेखि १२ पाटासम्मको घाँघरो–चोलो लगाउने गर्थे । यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो । घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिन्थ्यो । गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइन्थ्यो ।
पूर्वशिक्षक शङ्करदत्त जोशीका अनुसार ती गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिहरूले बनाउँथे । पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइँसराइपछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको उनी बताउँछन् । “परम्परा हरायो भने पहिचान नै हराउँछ”, उनी भन्छन्, “त्यसैले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनुपर्छ ।”
छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको गुनासो गर्नुभयो । “बाजाबिना छलो अधुरो हुन्छ”, उनी भन्छन्, “बाबुबाजेकै पालादेखि बजाउँदै आएका हौँ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनुपर्छ ।”
शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको छ । “महिलाहरूको यो पहल केवल नाचगान वा पहिरनमा सीमित छैन, यो सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको सङ्घर्षका रूपमा रहेको छ”, सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आउनुभएका कृष्णबहादुर ठगुन्ना भन्छन्, “परम्परा जोगाउने यो यात्रामा स्थानीय तह, राज्य र समाजको साथ जरुरी देखिन्छ ।”
ब्रसेल्स, १८ पुस (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।
बेलाङ्गरले भने, “हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।” यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । “न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ”, उनले भने ।
विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताउको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ ।
आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ ।
काठमाडौँ, १७ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस भित्र यतिबेला महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनका लागि दवाव दिइरहेका छन् ।
काठमाडौँ, १७ पुस । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौँ, १७ पुस । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन कानुनअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ ।
आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो कतिपय उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ । आयोगले विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई रु १५ हजार जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले तोकिएको खर्च सीमाभित्र तोकिएको समयमा आफ्नो निर्वाचनको खर्च विवरण बुझाएका तर त्यसलाई सार्वजनिक नगरेका उम्मेदवारले जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाए । उनले जरिवाना तिरेपछि सम्बन्धित उम्मेदवार कालोसूचीबाट स्वतः हट्ने र पुनः उम्मेदवार बन्न बाधा नहुने बताए ।
काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ । यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए ।
ठूला राजनीतिक दलले सत्ता केन्द्रित राजनीति गरेका कारण नेपाली समाजमा उत्पन्न चरम निराशालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले जनतालाई आश्वस्त गर्दै मुलुकमा विद्यमान सङ्कटको समाधान गर्नसक्ने विचार व्यक्त गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले लिएका राजनीतिक मुद्दा सङ्कटमा परेकाले आफू राप्रपामा फर्किएको बताउँदै देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गमाथिको हस्तक्षेपविरुद्ध आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूले दुई पार्टीबीचको एकताप्रति खुसी व्यक्त गर्दै असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबर्जस्त अगाडि बढाउन नहुनेमा जोड दिए । उनीहरुले यथास्थितिमा निर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने धारणा राख्दै राजनीतिक दल, जेनजी र परम्परागत शक्तिको प्रतिनिधिबीच छलफल गरी सहमति गर्नुपर्ने बताए । एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ ।
काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।
महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन् । त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । दुई जना पत्रकारको मृत्यु भएको छ । गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए । सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ ।
महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने किसिमका कानुनी प्रावधान अघि सारिएको, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा कठोर संशोधन गरिएको र फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गरिएको उल्लेख गरेको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।
उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए । सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए । त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ ।
काठमाडौँ, १६ पुस । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ । आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
साथै रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।
कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ । यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ ।
प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।
काठमाडौँ, १६ पुस । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।
बोर्डले आज एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।
यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन् ।
बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ । गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले यही पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गर्नुरेका छन् ।
गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।
मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् । मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु ४ लाख १२ हजार ५४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको छ ।
यही पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गर्नुभएको उक्त चलचित्रले सोही अवधिमा रु ६२ लाख ६९ हजार ४७५ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले रु १७ करोड ६७ लाख ३६ हजार ८२८ कमाइ गरेको छ ।
दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म छ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्यलगायतले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ।
काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए ।
सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छन् ।
यस्तै नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् । केही दलहरूले साझा निर्वाचन कायम गरी एकापसको सूची मिलाएर ११० स्थानमा बन्दसूची बुझाएका छन् । उक्त सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन् । यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा जम्मा ६४ दलले मात्रै उक्त प्रणालीका लागि उम्मेदवारी दिएका हुन् ।
प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि ० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग भाग जति भएमा पुस २१ गतेदेखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ बमोजिम नेपाल सरकारले २०७८ को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा दलहरूले बन्दसूची पेस गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यही पुस ४ गते अध्यादेश जारी भएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख थियो । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
मतपत्र छपाइ तयारी सुरु
यसैबीच उम्मेदवारीको मनोनय प्रक्रिया सुरु भएसँगै आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको प्रक्रिया अघि बढाएको छ । आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्चाधिकारी र सम्बन्धित शाखाका कर्मचारीले आज बैठक गरी मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’बारे परामर्श गरेका छन् ।