Category: कला / साहित्य

  • ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    ‘साक्षर सुदूरपश्चिम’ प्रदेश घोषणा

    १२ असार, सुदूरपश्चिम । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गरे । सो अवसरमा उनले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताए ।

    पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषाण गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन् ।

    उनले भने, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।” प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो ।

    सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो । यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलब २०, कञ्चनपुरमा ९६ दशमलब २१, अछाममा ९५ दशमलब ५५, डोटीमा ९६ दशमलब ५५, बाजुरामा ९७ दशमलब ३१, बझाङ ९५ दशमलब ६०, डडेलधुरामा ९६ दशमलब आठ, बैतडीमा ९६ दशमलब ५३ र दार्चुला जिल्लामा ९५ दशमलब ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीतिअनुरुप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो । देश भरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

  • एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

    ११ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरूलाई छ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीले पार्टीमा उहाँहरू दुवै जनालाई पार्टी काममा खटाउने निर्णय गरेको बताए । पार्टीभित्र राख्नुपर्ने कुरा सार्वजनिक गरेपछि स्थायी कमिटी सदस्य पाण्डे र तिमिल्सेनालाई कारबाही गरेको थियो ।

  • समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

    १० असार, मन्थली । समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो । समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवर्द्धनुँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली नगरपालिका–८ का बालकृष्ण माझीले बताए । आफ्नो संस्कारका बारेमा अरु समुदायका साथै माझी समुदायका युवालाई जानकारी गराउने उद्देश्यले अभियानका रूपमा संरक्षण गर्न पहल थालिएको उनको भनाइ छ ।

    यहाँका माझी समुदायको सङ्गठन मझे सावाका संयोजक बहादुर माझी र समाजशास्त्री प्राडा कृष्ण भट्टचन्दले यो समुदायको संस्कृति र पहिचाहनका बारेमा जानकारी प्रस्तुत गरेका थिए । मन्थलीको गाईखुराबाट सुरु गरिएको उक्त अभियानको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका लागि आर्थिक सहयोग नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान केन्द्रीय समितिले गरेको छ ।

  • कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित

    कवि राजन महर्जनले यलको सम्मानमा लेखेको कविता सङ्ग्रह विमोचित

    न्यूयोर्क

    उदयीमान कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल (Ode to Yala) न्यूयोर्कको क्विन्समा जुन २१  २०२५ का दिन एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ।

    निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर—को सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।

    पारिवारिक वातावरणमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।

    कार्यक्रममा कवि महर्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।

    कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यलको सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो। “ओड टु यल मार्फत्,” उहाँले भन्नुभयो, “महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) का प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे। अरू वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि थिए। साथ साथै नदिया लिवाङ, राम खत्री, बद्री पौडेल आदिको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो।

    यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र Foodmandu को सहयोगमा सम्पन्न भएको हो। ओड टु यल अहिले Amazon, Flipkart, र Daraz मा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

  • ‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

    ‘यल’को सम्मानमा लेखिएको कविता सङ्ग्रह न्यूयोर्कमा विमोचन

    ८ असार, न्यूयोर्क । नेपाली कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल न्यूयोर्कको क्विन्समा एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ। निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन् । जसले कविको जन्मभूमि यल (पाटन), काठमाडौँ उपत्यकाको ऐतिहासिक शहरको सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।

    पारिवारिक वातावरणमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। कार्यक्रममा कवि महर्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।

    कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यलको सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पारे । उनले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । उनले भने, “महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे। अरू वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि थिए। साथ साथै नदिया लिवाङ, राम खत्री, बद्री पौडेल आदिको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो। यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र फूडमाण्डुको सहयोगमा सम्पन्न भएको हो। ओड टु यल अहिले Amazon, Flipkart, र Daraz उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।

  • प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

    प्रतिनिधिसभामा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

    ७ असार, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल हरेक दिन जसो जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।

    यहाँ रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनःबैठकमा आउने गर्छन् । कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरु बैठकबाट बाहिरिएको बताए । “सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवन मै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उनले भने ।

  • दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

    दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

    ७ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० वटा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ । आज सङ्घीय मामिला तथा समान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल भएको हो ।

    छलफलमा सांसदहरू डा चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मिना तामाङ, लालप्रसाद साँवा लिम्बु, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी भए । सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय र सचिवालयको विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफका लागि यही असार ८, ९ र १० गतेका लागि समय निर्धारण गरिएको जानकारी गराए ।


    सभामुखले प्रतिनिधिसभाको भोलिको बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहरी विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ८ गते बिहान ११ बजे बस्नेछ ।

  • संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

    संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

    ६ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाए ।

    त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिनुभएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेका थिए । सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए ।


    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किए । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइयो ।

    यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।


    प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाए । उनले सम्बन्धित मन्त्रीको अनुपस्थितीमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो ।

    बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

  • अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

    अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

    ६ असार, काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् । आज यहाँ कमलपोखरीस्थित एक चलचित्र भवनमा चलचित्रमा समावेश शिर्ष गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने संदेश प्रवाह गर्ने बताए ।


    उनले भने, “मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिका माथि हुने गरेको हिँसालाई बन्देज गर्नुपर्छ भन्ने संदेश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो ।” उनले चलचित्रका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् ।

    सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश बनाउने अभिनेत्री शाहले बताइन् । “यसले मनोरञ्जनसँगै हाम्रो एउटा दुःखद परम्परालाई समेटेको छ । यो चलचित्र हेरेपछि महिला वा बालिकालाई हुने हिँसा थोरै भएपनि घट्छ भन्ने विश्वास छ”, उनले भनिन् । चलचित्रमा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

  • समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    ५ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ । अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले आज धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो । अदालतका सूचना अधिकारी श्रेष्ठले यसअघि अदालतले बोर्डका अध्यक्ष श्रेष्ठकाबारेमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको भए पनि आज भएको आदेशमा रिट नै खारेज भएसँगै समाचार हटाउन नपर्ने भएको बताए ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    ३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।

  • विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    २ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

    असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए । निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको राससलाई जानकारी दिए । गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफल

    २ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२\८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

  • रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

    १ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो । उता, सरकार भने विपक्षीलाई पेलेर अगाडी बढेको छ । खासगरी माओवादी केन्द्र सहमतीमा आएसँगै साना दललाई पेल्ने रणनीतिमा सरकार पुगेको हो । संसदमा सभामुखले आजबाट बजेटसँग सम्बन्धित विषय छलफलमा अगाडी बढाएका छन् ।

  • मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    रासस

    १ असार, खोटाङ । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो ।

    जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

    किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उभौली चाड औपचारिक रूपमा मैझारो ९समापन० गरिएको छ । किराती समुदायले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली प्रदर्शन गर्दै चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।

    उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस्जस्ता कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती एक ठाउँ सहभागी भएर साकेला गीत गाउँदै साकेला सिली नाच्ने गरिन्छ । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन रहेको छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।

    साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । उभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली प्रदर्शन गर्ने चलन छ ।

    साकेला उभौली–उधौली चाडमा सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले बताए ।

    “साकेला किरात समुदायको प्रमुख चाड हो । यो चाड सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने साझा सांस्कृतिक चाड बनेको छ”, उनले भने, “साकेला चाडले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सृजना गर्छ । त्यसैले साकेला उभौली–उधौली चाडलाई किरात समुदायले निकै महत्वका साथ मनाउने गरेका छन् ।”

    किरात ऐतिहासिकस्थल मझुवागढीबाट गत वैशाख २९ गते औपचारिक रूपमा सुरु गरिएको साकेला उभौली महिना दिनपछि शनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनका अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएर समूहिक रूपमा साकेला सिली नाचेका थिए ।

    छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभूषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

    चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल, झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनासहितको साकेला उभौली तथा उधौली चाड मनाउने गरिएको छ । साकेला उभौली तथा उधौली चाड किरात समुदायले साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरेका छन् । यो साकेला उभौली–उधौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

  • शनिबारीय तस्वीर कथा, गाउँमा रोपाई-शहरमा पूजापाठ

    शनिबारीय तस्वीर कथा, गाउँमा रोपाई-शहरमा पूजापाठ

    ३१ जेठ, काठमाडौं । मनसुन सुरु भएसँगै नेपालको ग्रामिण भेगमा धान रोपाई सुरु भएको छ । यता आज शनिबारको दिन शहरी इलाकामा भने मानिसहरु मन्दिरहरुमा पूजापाठमा व्यस्त छन् । यी र यस्तै तस्वीर समेटिएको शनिवारीय तस्वीर कथा यहाँ प्रस्तुत गरिएको छ ।

    बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरी फत्तेपुरमा राप्ती नदीबाट उत्खनन् गरी भण्डारण गरिएको नदीजन्य पदार्थ । तस्बिर\ भेषराज बस्नेत /\रासस
    अछामको रामारोशन गाउपालिका-२ का किसानहरु धान रोपाइँ गर्दै । यो वर्ष समयमै वर्षा हुदा अछामका किसानहरु खुशी भएका छन् । तस्बिर : सुशील भण्डारी / रासस
    तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरा जोगाउन मर्स्याङ्दी नदी किरनारामा गरिएको तटबन्ध र हालै कालोपत्र गरिएको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक । चुनपहरामा हिमाल आरोहण गर्नका निम्ति पहिलो चरणको प्रशिक्षण अन्तर्गतको चट्टान आरोहणको केन्द्र हो । तस्बिर : मिला दरै / रासस
    भिरालो पाखामा गुजुमुज्ज परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ को पाउद्वार गाउँ । पाउद्वार गाउँ खोपारा–खयर पदमार्गमा समेटिएको छ । तस्बिर : सन्तोष गौतम/ रासस
    काठमाडौँको बुढानिलकण्ठस्थित बुढानिलकण्ठ मन्दिरमा शनिबार बिहान पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस
  • माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

    माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

    ३० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराएका छन् ।

    आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए । सभामुख घिमिरले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।

    समाजसेवीसमेत रहनुभएका उहाँको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने गरी बोलाइएको छ ।

  • माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

    माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ

    ३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिएका छन् । संसदमा उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपको नाराबाजीका बीचमा बोलेका हुन् । राप्रपाले समेत संसद अवरोधमा साथ दियो । प्रमुख विपक्षी दल भने संसद खोल्न सहमत भएसँगै अन्य विपक्षी दलको अवरोधका वावजुत आज संसद चलेको हो ।

    संसदमा गृहमन्त्री लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताए । उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको बताए । सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।


    गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केके गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि तयार छु भन्ने विषय पुनः दोहोर्याउन चाहन्छु”, उनले भने
    आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गरे । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उनको भनाइ छ ।

    मन्त्री लेखकले भने, “कुनै पनि राष्ट्रसेवकले गर्ने भ्रष्टाचारजन्य कामको अनुसन्धान, अभियोजनलगायत कार्य गर्न सक्षम संवैधानिक निकाय छ । उसले गर्ने कामकारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पार्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म स्पष्ट छु ।” उनले सार्वजनिक निकाय एवं पदाधिकारी लक्षित गरी राज्यका संरचनालाई कमजोर तुल्याउने र व्यक्तिगत चरित्र तथा संस्थागत प्रतिष्ठालाई कमजोर पार्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्न अनुरोध गरे ।


    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव आफ्नो पालामा अर्को मन्त्रालयबाट सरुवा गरी ल्याएको अधिकारी नभई गृह मन्त्रालयमै कार्यरत भएकाले जिम्मेवारी हेरफेरमात्र गरिएको बताए । गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियारमा कार्यरत प्रहरी नायब महानिरीक्षक सरुवा गरेको भन्ने विषय सत्य नभएको दावि गरे । आफूले गृह प्रशासन सुधारको योजना अघि बढाइरहेको जानकारी दिँदै उनले पदभार सम्हालेदेखि सार्वजनिक प्रशासनको थप प्रभावकारिताको प्रयास गर्दै आएको बताए ।

    “मन्त्रालयको नेतृत्व वा विभागीय प्रमुखको हैसियतले गृहमन्त्री नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित हुनुपर्छ, कानुनले तोकेको प्रशासनिक कार्यदेखि बाहेक अन्य कार्यमा मन्त्रीको संलग्नता रहँदैन”, गृहमन्त्री लेखकले प्रश्न गरे, “तसर्थ, यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मन्त्रीको प्रत्यक्ष भूमिका वा संलग्नता कसरी हुन्छ ?”

  • अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

    अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

    ३० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए ।

    अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भए । सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए । आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भए ।

  • प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने

    प्रतिनिधिसभाको बैठक आज पनि अबरुद्ध, शुक्रबार दिउँसो बस्ने

    २९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो ।

    निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे । सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गरे । विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराए । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

    यसबीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो ।

  • प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन

    प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, बुधबार बस्ने गरी स्थगन

    २६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो । संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।


    “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ । यसअघि गृहमन्त्रीमाथि छानविनको माग राख्दै विपक्षी दलले संसद अवरुद्ध गरिरहेका छन् ।

  • ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    २४ जेठ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

    चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए । सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए ।आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

  • बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

    बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति

    २४ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेकानेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।

    मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।

    उनले भने, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।” उनले इद उल अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

  • संसदमा विपक्षीको विरोध कायमै, बैठक भोली बस्ने गरी स्थगित

    संसदमा विपक्षीको विरोध कायमै, बैठक भोली बस्ने गरी स्थगित

    २२ जेठ, काठमाडौं । केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे ।

    प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् । सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे ।


    गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेगरी स्थगित भएको छ ।

  • अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

    अन्नपूर्ण आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

    रासस
    २१ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल ९८०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

    अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गीतको झल्को दिने साङ्गीतिक प्रस्तुति दिएका हुन् । हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङुगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले बताए ।

    “अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यसप्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्ता समेत रहनुभएका गुरुङले भने ।
    कलाकारहरुले नेपालीपन झल्कने सङ्गीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्य समेत प्रस्तुत गरेका थिए । अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत सङ्गीतमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए । हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुगेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।


    अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ । साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।

  • भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

    भिजिट भिसा प्रकरण’का कारण आज संसद सूचना टाँस गरेर स्थगित

    २० जेठ, काठमाडौं । सङ्घीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन् ।
    श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण”मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए ।

    छानबिनका लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष पनि प्रतिपक्षी दलको बैठकले निकालेको छ । प्रधानमन्त्रीले सदनमा आएर यस विषयको जिम्मेवारी लिइ प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग प्रतिपक्षी दलको छ । सोहीकारण आज संसद सूचना टाँस गरी स्थगित गरियो ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोधको तयारीमा विपक्षी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोधको तयारीमा विपक्षी

    २० जेठ, काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ । आजको बैठक विपक्षी दलले भने अवरोध गर्ने तयारी गरेका छन् । उनीहरुले गृहमन्त्रीको राजिनामा मागिरहेका छन् ।

  • ९७ वर्षमा भट्टले पाइन् नागरिकता…

    ९७ वर्षमा भट्टले पाइन् नागरिकता…

    २० जेठ, दार्चुला । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस –६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ । ”


    जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमैै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए । टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेको थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

    व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र रु एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा रु तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताए ।
    रासस

  • हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    हिमानी र हृदयेन्द्रको उपस्थितिमा राजावादीले कमलादीमा गरे दीप प्रज्वलन

    काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्व राजपरिवारका सदस्यहरू पुगेका हुन् । मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह पनि पुगेका हुन् । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरूकी बुहारी हिमानी शाह छिन् ।


    हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ । आज कमलादीमा वाइसीएल नेपालको समेत कार्यक्रम थियो । नजिकै राजावादी पुग्दा दुबै पक्षबीच नारावाजी भएको थियो । प्रहरीको बाक्लो उपस्थितिका कारण अप्रिय घटना भने हुन पाएन ।

  • पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    १९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन गएकी उनी आज बिहान साढे १० बजेतिर स्वदेश फर्किएकी हुन् । उनीसँग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक र फलदायी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बताए । भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताए ।


    “भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ”, मन्त्री भण्डारीले भने, “नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमुलक भयो ।” उनले भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र नेपाल कम्ष्युष्नि पार्टी (एमाले)को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको बताए । उनले पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताए ।

    चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गरेकी थिइन् । जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत चीन भ्रमणमा गएका थिए । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गरेकी थिइन् ।