१९ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको उक्त बैठकले उक्त निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । नेता पुनले भने, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ, यो विपक्षीले भनिरहेका छैनन्, आमजनताले मिडियाले भनिरहेका छन्, त्यसैले उहाँले राजीनामा दिएर अख्तियारलाई छानबिनमा सहयोग गर्नुपर्छ ।”
भिजिट भिसाको सन्दर्भमा सेटिङ भएको र अनियमितता भएको स्पष्ट तथ्य स्थापित रहेकाले त्यस विषयमा छानबिन हुनुपर्ने दलको बैठकले आज स्पष्ट निर्णय गरेको उनले जानकारी दिए । उनले हालसम्म सबै कोणबाट हेर्दा गृहमन्त्रीले राजीनामा दिने विषयबाट माओवादी पछि नहटेको र को तानिन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताए ।
“तर आजको विषयलाई विषयान्तर गर्न हुँदैन, आजको तथ्य स्थापित छ की अनियमितता भएको छ, हजारौँ मान्छेलाई सेटिङमा पठाइएकोे छ, जो सेटिङमा परेनन् उनीहरुलाई फिर्ता गरिएको छ, दुःख पनि दिइएको छ”, पुनले भने, “गृहमन्त्रीलाई दोषी भनिएको छैन, छानबिनका लागि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको निर्णय भएको छ ।”
१८ जेठ, पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आज अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भए । राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरे । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । त्यस अवसरमा उनले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । राष्ट्रपति पौडेलले जीवितदेवी कुमारीको समेत दर्शन गरे ।
भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भए । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ ।
ललितपुर, १८ जेठ :
रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै
वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
गत वैशाख १५ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै जात्रा सुरु भएको थियो । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ । मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पु¥याइने ललितपुर महानगर प्रमुख महर्जनले जानकारी गराए ।
काठमाडौं । राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन् । सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ । आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए । उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ । ‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो त्यसको हामी निन्दा गर्दछौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं केन्द्रित राजावादीको आन्दोलनबारे माओवादी केन्दैका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध चलेको छ । प्रचण्डले शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा राजावादी आन्दोलनमा भाडाका मान्छे आएको टिप्पणी गरेका थिए । उनले यो आन्दोलन धेरै दिन नटिक्ने समेत बताएका थिए ।
जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफुले आन्दोलनमा भाडाका मान्छे ल्याउने गरेको प्रचण्डलाई स्मरण भएको प्रतिक्रिया दिए । शनिबार बालुवाटारमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राप्रपाले शुक्रबारबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । राप्रपाका नेताहरुले आन्दोलन अझै चर्काउने बताएका छन् । उनीहरुले राजसंस्था पुनस्र्थापनाको माग गरिरहेका छन् ।
१८ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे ।
खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
रासस १५ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताए । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्दछ भनेका छन् ।
शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन्, “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।”
लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन”, उनको भनाइ छ,“नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।”
राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरे । उनले सन्देशमा भनेका छन्, “त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।”
राष्ट्रपति पौडेलले गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताए । “यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ । गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ ”,उनले भनेका छन्, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।”
राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको उल्लेख गरेका छन् । उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको छ भन्दै एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरण गरेका छन् ।
रासस १५ जेठ, काठमाडौं । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।
जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ ।
यसैबीच, अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।
लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उनीहरुको छ ।
आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ ।
जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गरेका छन् । “ शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल ।” आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ । आज बिहान ११ः०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ः०० बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो । आजको बैठकमा सभामुखले विपक्षी दलका नेताहरुलाई बोल्न नदिएको र सत्ता पक्षका नेतालाई बोल्ने समय दिन नपाएको बताएपछि विपक्षीले आलोचना गरिरहेका छन् ।
एजेन्सी १४ जेठ, डोनाल्ड ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको छ। उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले थप निर्देशन नआएसम्मका लागि ती कार्य स्थगन हुने भनेका छन्। उनको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताइएको छ।
यसले विदेशस्थित अमेरिकी राजदूतावास तथा महावाणिज्य दूतावासहरूका लागि महत्त्वपूर्ण प्रभाव पर्ने ठानिएको छ। ट्रम्प प्रशासनको प्रतिष्ठित कलेजहरूसँगको तनावका माझ पछिल्लो निर्णय आएको छ। कतिपय त्यस्ता कलेजहरूले यहुदी विरोधी भावनालाई क्याम्पसमा प्रश्रय दिएको अनि कतिपयले ुभेदभावपूर्ण भर्ना नीति अँगालेको ट्रम्पले भन्दै आएका छन्।
विदेशमन्त्रालयले सबै विद्यार्थी भिसा आवेदनका निम्ति लागु हुने गरी सामाजिक सञ्जालको निगरानी तथा परीक्षणको विस्तारको तयारी भइरहेको जनाइएको छ। अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थीहरूले भिसा स्वीकृतिको अगाडि सामान्यतया उनीहरूको देशमा रहेका अमेरिकी दूतावासमा अन्तर्वार्ता तय गर्नु पर्छ। कैयन् अमेरिकी शैक्षिक संस्थाहरू तिनको आम्दानीको उल्लेखनीय हिस्साका निम्ति विदेशी विद्यार्थीमा निर्भर हुन्छन् किनकी तिनले प्रायः बढ्ता शुल्क तिर्छन्।
विद्यार्थी भिसाबारे मङ्गलवार सोधिएको प्रश्नको जबाफ दिँदै विदेशमन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, हामी देशभित्र कस्ता मानिस आइरहेका छन् भनेर निर्क्योल गर्ने परीक्षणको प्रक्रियालाई निकै गम्भीरतापूर्वक लिन्छौँ र लिइरहने छौँ। विश्वविद्यालयहरूका दशौँ करोड डलरका कोषलाई ट्रम्प प्रशासनले रोक्का गरिदिएको छ। कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने हजारौँ अन्यको भिसा रद्द गरिएको छ। यीमध्ये कतिपय कारबाहीलाई अदालतहरूले रोकिदिएका छन्।
केही अमेरिकी विश्वविद्यालयले तिनका क्याम्पसमा यहुदी विरोधीहरूलाई प्यालेस्टीनी समर्थक कार्य गर्न छुट दिएको ह्वाइट हाउसले आरोप लगाएको छ। ती कलेजहरूले चाहिँ ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पको क्रोधको निसानामा हार्वर्ड विश्वविद्यालय परेको छ।
गत साता ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी शोधकर्तालाई भर्ना लिनसक्ने हार्वर्डको क्षमतामा रोक लगाइदियो। तर सङ्घीय न्यायाधीशले प्रशासनको निर्णयमा रोक लगाइदिएका छन्। यदि प्रशासनको निर्णय लागु भयो भने त्यसले एक चौथाइ विद्यार्थी विदेशी रहने उक्त विश्वविद्यालयलाई गम्भीर धक्का पुग्न सक्छ। बीबीसीको सहयोगमा
एजेन्सी १४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको अधीनमा राख्न बाध्य पार्ने पछिल्लो प्रयासस्वरुप अमेरिकी सरकारले हार्वर्डसँग बाँकी रहेका सबै वित्तीय सम्झौता रद्द गर्न चाहेको एक वरिष्ठ अधिकारीले मङ्गलबार बताएका छन्। नाम नबताउने शर्तमा ती अधिकारीले भने, “प्रशासनले आज सङ्घीय निकायहरूलाई हार्वर्डसँग कुनै पनि सम्झौताको पहिचान गर्न र ती रद्द गर्न वा अन्यत्र पुनः र्निर्देशित गर्न सकिन्छ कि भन्ने आशयसहितको पत्र पठाउनेछ।”
अमेरिकी सञ्चार माध्यमले १० करोड अमेरिकी डलर बराबरको सम्झौताको अन्त्यसँगै सरकार र देशको सबैभन्दा पुरानो विश्वविद्यालय र विश्वव्यापी अनुसन्धानको केन्द्र रहेको संस्थाबीच व्यवसायिक सम्बन्ध विच्छेद हुने अनुमान गरिएको जनाएका छन् । अमेरिकी विश्वविद्यालय प्रशासनलाई ह्वाइट हाउसप्रति ‘जवाफदेही’ बनाउने व्यापक प्रयासका बीच राष्ट्रपति ट्रम्पले विशेष गरी हार्वर्ड विश्वविद्यालयविरूद्ध कडा सजायको माग गरेका छन् । उनको प्रशासनले क्याम्ब्रिज, म्यासाचुसेट्स विश्वविद्यालयले यहूदी विरोधी र व्यापक उदारवादी पूर्वाग्रहलाई अनुमति दिएको आरोप लगाएको छ।
हार्वर्डले क्याम्पसमा राजनीतिक झुकावको लेखापरीक्षण र ‘अमेरिकी मूल्यहरूको शत्रुतापूर्ण’ ठानिएका विद्यार्थीहरूमाथि प्रतिबन्धसहित असाधारण उपायहरूको श्रृङ्खलालाई अनुमति दिने आदेशलाई अस्वीकार गरेको छ। पछिल्लो केही हप्तामा, कुलीन शैक्षिक किल्ला (हावर्ड) को सङ्घीय अनुदानमा अरबौँ डलर रोकिएको छ तर विदेशी विद्यार्थीहरूलाई सहयोग गर्ने क्षमता समाप्त गर्न सरकारले गरेको प्रयासलाई गत शुक्रबार आएको अदालतको आदेशले रोकेको छ ।
विश्वविद्यालयले राष्ट्रपति ट्रम्पको आक्रमण असंवैधानिक भएको र यसले आफ्नो काम गर्ने क्षमतालाई कमजोर बनाउने तर्क गर्दै प्रतिवाद गरिरहेको छ। सोमबार राष्ट्रपति ट्रम्पले विश्वविद्यालयसँगको बढ्दो द्वन्द्वमा आफू विजयी हुने बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हार्वर्ड विश्वविद्यालयका विदेशी विद्यार्थीमा कट्टरपन्थी र समस्या खडा गर्नेहरू पनि सामेल छन्।”
गत हप्ता पहिले अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले हार्वर्डको विदेशी नागरिकलाई भर्ना गर्ने क्षमता खारेज गरेपछि हजारौं विद्यार्थीको भविष्य र उनीहरूले प्राप्त गर्ने आकर्षक आय स्रोतमाथि शङ्का उब्जिएको थियो। गत महिना उनले भिसा होल्डरको ‘गैरकानुनी र हिंसात्मक गतिविधि’को रेकर्ड नबुझाएसम्म अन्तर्राष्ट्रिय विद्यार्थीलाई विश्वविद्यालयमा प्रवेशमा रोक लगाउने चेतावनी दिएका थिए । विश्वविद्यालयले सरकारको ‘स्वेच्छाचारी, कपटपूर्ण, गैरकानुनी र असंवैधानिक कदम रोक्न’ मुद्दा हालेपछि एक न्यायाधीशले तुरुन्तै उक्त कदमलाई निलम्बन गरेका थिए।
रासस १३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२–१–२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२–१–३० को सूचना कार्यान्वयन नगर्नू ।”
आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न भनिएको छ । सरकारको उक्त निर्णयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइ पीडित विद्यार्र्थी एलिजा पाण्डेसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश गरिएको हो । आदेशमा १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनिएको छ ।
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ ।
साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् । आजको बैठकमा विपक्षी दलले भने गृहमन्त्रीको राजिनामा माग्दै कडा रुपमा प्रस्तुत हुने तयारी गरेका छन् ।
रासस १२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियानको सञ्चालन गर्ने झाले बताए ।
भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दैै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशन समेत दिएको छ । केन्द्रीय समितिले पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट र केन्द्रीय सदस्य अनिल केशरी शाहले केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिएको राजीनामा अनुमोदन गरेको छ ।
१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन् ।
उनले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताए । यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ ।
रासस १२ जेठ, भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।
यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताउ । उनका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।
“पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ”, उनले भने, “शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।” चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । “यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ”, उनले भने, “शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।”
राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् । यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उनले बताइन् । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताइन् ।
कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनलेपछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए ।
यहाँ पुग्न अझै पनि दुई÷तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।
यहाँ २०७२ साल अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने गरेको थियो । विसं २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि यहाँ विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित हुन थाल्यो । लक्ष्मी प्रतिष्ठान र मितेरी फाउण्डेशनले गरिबी र अभाव देखेर चेपाङ समुदायको उत्थान र बालबालिकाको शिक्षाका लागि काम गर्न थाले । स्कुलमा लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको छ भने फाउण्डेशनले दुई शिक्षकको व्यवस्था गरिदिएपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो ।
त्यसभन्दा अघि यहाँका अधिकांश बालबालिकाले कक्षा ३ पढेपछि बीचमै पढाइ छाड्ने गरेको विद्यालयका प्रअ थपलियाले बताए । “अहिले पनि अभिभावकको पढाउने क्षमता छैन, विभिन्न सङ्घसंस्थाले सहयोग नगरेमा यहाँका बालबालिका पढ्नबाट वञ्चित हुनेछन्”, उनले भने ।
विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ गरे पनि दरबन्दी अभावका कारण कक्षा सञ्चालन गर्न समस्या आएको थपलियाले बताए । उनका अनुसार निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्छ । अहिले सातजना शिक्षकको दरबन्दी रहेको उनले बताए ।
विद्यालयमा शौचालय, पुस्तकालयको अभाव रहेको भन्दै उहाँले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए । ५० जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन । विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता समेत बढेको उनले बताए ।
११ जेठ, गुइलिन । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ । एसएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धन सम्मान तथा पुरस्कार, २०८१ गएराति सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल र चीनका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । नेपालकोतर्फबाट देविका वन्धन, कमल खत्री र राष्ट्रिय गतिशील कला समूहका कला समूहले कलाकारहरुले विशेष साङ्गीतिक प्रस्तुति दिएका भने चिनियाँ कलाकारहरुले पनि मौलिक नाच र गीत प्रस्तुत गरेका थिए । एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवर्द्धनको सेतु भएको बताइन् ।
उनले नेपालको पहिचान र आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्याउने हाम्रो उद्देश्य यही मञ्चबाट साकार हुँदैछ भन्ने आफूले महसुस गरिरहेको उल्लेख गरिन् । “नेपाल र चीनका स्थानीय तहबीचको सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुद बनाउने हाम्रो यो प्रयास सामाजिक परिवर्तनतर्फको एक सकारात्मक पाइला हो”, उनले भनिन् ।
कार्यक्रममा सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले दुई देशबीचको सम्बन्ध लामो समयदेखि रही आएको उल्लेख गर्दै अरिनको र भृकुटीले नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन इतिहासमा पुर्याएको योगदानको चर्चा गरे । “कार्यक्रममा हाम्रो जनताको भावनाका आकाङ्क्षाको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो । नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
प्राचीन बौद्ध विहारहरुदेखि लिएर आजका पूर्वाधार र पर्यटन साझेदारीसम्म हाम्रो मित्रता समयसँगै अझ बलियो, गहिरो र अर्थपूर्ण बन्दै गइरहेको छ”, उनले भनिन् । कार्यक्रमका प्रमुख अतिथि गुइलिन संयुक्त मोर्चा कार्यविभागका मन्त्री ब्लाङ सिएन फिङले दुवै देशबीचको यस कार्यक्रमले नागरिकस्तरमा पनि सम्बन्ध विस्तारमा थय सहयोग पुगेको बताए ।
एजेन्सी १० जेठ, काठमाडौं । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई ५० करोड पाउन्ड (करिब ६७ करोड अमेरिकी डलर) मा खरिद गर्ने सम्झौतामा सहमति जनाएको छ । रेडबर्डले ‘द टेलिग्राफ मिडिया ग्रुप ९टिएमजी०’ सँग १७० वर्ष पुरानो अखबारको प्रिन्ट र अनलाइन सेवा खरिद गर्न सैद्धान्तिक सहमति गरेको हो । अघिल्लो कन्जरभेटिभ सरकारको हस्तक्षेपपछि यसले लगभग दुई वर्ष लामो प्रक्रियापछि बिक्रीको लागि निष्कर्ष निकालेको हो ।
‘अमेरिका–इमिरेट्स कन्सोर्टियम रेडबर्ड आईएमआई’ले सन् २०२३ को अन्त्यतिर टिएमजीका लागि सम्झौता गरिसकेको छ । अबुधाबीको प्रेस सेन्सरसिपको उच्च हस्तक्षेपका कारण अभिव्यक्ति स्वतन्त्रतामा पर्न सक्ने सम्भावित असरको चिन्ताका बीच अघिल्लो बेलायती सरकारले पत्रिकाको द्रूत पुनविक्री सुरु गरेको थियो । रेडबर्ड क्यापिटल पार्टनर्सले शुक्रबार टीएमजीसँग भएको सम्झौताले यसलाई ‘एकमात्र नियन्त्रण मालिक’ बनाएको र सन् १८५५ मा स्थापित पत्रिकाको ‘विकाशमा नयाँ युगको सुरूवात’ गरेको बताएको छ।
द टेलिग्राफलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न रेडबर्डको विकास रणनीतिमा डिजिटल सेवा, सदस्यता र पत्रकारितामा पूँजी लगानी समावेश हुनेछ । अमेरिकी समूहले आगामी दिनमा पत्रिकाको स्वरूप कस्तो बनाउने भन्ने बिषयमा ‘प्रिन्ट मिडियाको विशेषज्ञता र द टेलिग्राफको सम्पादकीय मूल्यमान्यतालाई कायम राख्ने दृढ प्रतिबद्धता भएका बेलायतका अल्पसङ्ख्यक लगानीकर्ताहरूसँग छलफल गरिरहेको’ बताएको छ ।
एजेन्सी १० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ । म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको यस विश्वविद्यालयले तुरुन्त यो कदमलाई ‘गैरकानूनी’ भन्दै आलोचना गरेको छ र यसले क्याम्पस र समग्र देश दुवैलाई ‘गम्भीर हानि’ पुर्याउने बताएको छ ।
हार्वर्डले भर्नाको निरीक्षण गर्न र यो यहुदी–विरोधी र ‘जागृत’ उदार विचारधाराको केन्द्र हो भन्ने आफ्नो दाबीलाई अस्वीकार गरेकामा यस विश्वविद्यालयसँग ट्रम्प क्रुद्ध हुनुहुन्छ । हार्वर्डले एक सय ६२ जना नोबेल पुरस्कार विजेता उत्पादन गरेको छ । “तत्काल प्रभावकारी, हार्वर्ड विश्वविद्यालयको विद्यार्थी र आदानप्रदान आगन्तुक (सेभिस) कार्यक्रम प्रमाणीकरण रद्द गरिएको छ”, गृहमन्त्री क्रिस्टी नोएमले आइभी लिगको संस्थानलाई पत्रमा लेखेको पत्रमा विदेशी विद्यार्थीहरूलाई संयुक्त राज्यमा अध्ययन गर्न अनुमति दिने मुख्य प्रणालीलाई उल्लेख गर्दै लेखेका छन् ।
हार्वर्डले तुरुन्त जवाफी कारबाही गर्दै यो कदमलाई ‘गैरकानूनी’ भनेको छ र यसविरुद्ध लिइएका अन्य दण्डात्मक उपायहरूको विरुद्धमा सरकारलाई मुद्दा हालेको छ । “हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने हार्वर्डको क्षमतालाई कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ”, विश्वविद्यालयले वक्तव्यमा भनेको छ, “हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्न तुरुन्त काम गरिरहेका छौँ । यो बदलाको कारबाहीले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने खतरा निम्त्याउँछ र हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाउँछ ।”
गत महिना ट्रम्पले हार्वर्डले सरकारी मागहरू स्वीकार नगरे निजी संस्थालाई राजनीतिक पर्यवेक्षण बाहिर राखिनेछ भन्दै उक्त विश्वविद्यायलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न रोक्ने धम्की दिएका थिए । “मैले तपाईंलाई मेरो अप्रिलको पत्रमा व्याख्या गरेझैँ विदेशी विद्यार्थीहरू भर्ना गर्नु एउटा विशेषाधिकार हो, सबै विश्वविद्यालयले यो विशेषाधिकार कायम राख्न विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रम नियमहरू अन्तर्गत रिपोर्टिङ आवश्यकताहरू सहित गृह मन्त्रालयका आवश्यकताहरूको पालना गर्नुपर्दछ”, नोएमले लेखेका छन् ।
“गृह मन्त्रालयलाई सान्दर्भिक जानकारी प्रदान गर्ने धेरै अनुरोधहरूको पालना गर्न तपाईंको अस्वीकारको परिणामस्वरूप यहुदी विद्यार्थीहरूका लागि शत्रुतापूर्ण असुरक्षित क्याम्पस वातावरण कायम राख्दै, हमासको समर्थनकारी सहानुभूतिलाई बढावा दिँदै र जातिवादी ‘विविधता, समानता, र समावेशी’ नीतिहरू प्रयोग गर्दै तपाईंले यो विशेषाधिकार गुमाउनुभएको छ”, उनले लेखेका छन् ।
विश्वविद्यालयको तथ्याङ्कअनुसार २०२४–२५ शैक्षिक वर्षमा हार्वर्डको भर्नाको २७ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी थिए । “यो घटनाक्रमले पहिले नै भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि के अर्थ राख्छ भन्ने कसैलाई थाहा छैन”, चौथो वर्षकी अमेरिकी विद्यार्थी एलिस गोयरले भने, “हामीले भर्खरै समाचार प्राप्त गर्यौँ, त्यसैले मैले धेरै अन्तर्राष्ट्रिय साथीहरूबाट सन्देशहरू पाइरहेकी छु, र मलाई लाग्छ सबैजना – कसैलाई थाहा छैन, सबैजना अलिकति त्रसित छन् ।” “मलाई शङ्का छ कि मानिसहरूले त्यसो गर्नेछन्”, नोएमले पत्रमा सुझाव दिएअनुसार विद्यार्थीहरूले स्वेच्छाले अन्य संस्थानहरूमा स्थानान्तरण गर्छन् कि भन्ने प्रश्नमा गोयरले भन्नभयो, “म आशा गर्छु कि सायद त्यहाँ कानूनी लडाइँ हुनसक्छ ।”
९ जेठ, काठमाडौं । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।
अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त थिए । “कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।
“अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । हाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।
उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका छन् ।
८ जेठ, काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले बिहीबार देशमा सार्वजनिक रूपमा धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय ९चार्टर स्कूल० निर्माण गर्न रोक लगाउने घोषणा गरेको छ । देशमा चर्च र राज्यको ऐतिहासिक विभाजनको कारण बनेको एक मुद्दामा फैसला गर्दै धार्मिक संघसंस्थाको आर्थिक सहायतामा सार्वजनिक विद्यालय निर्माण गर्न रोक लगाउने निर्णय सुनाइएको हो ।
करिब सबै ५० अमेरिकी राज्यहरूले चार्टर स्कूलहरूलाई अनुमति दिन्छन् र देशभर यस्ता लगभग आठ हजार विदालय रहेका छन् । तिनीहरू सरकारी अनुदानमा सञ्चालित छन् तर स्थानीय विद्यालय जिल्लाहरूबाट स्वतन्त्र रूपमा काम गर्छन् र उनीहरूलाई ट्युसन शुल्क लिन वा धार्मिक सम्बद्धता राख्न अनुमति छैन।
ओक्लाहोमाको क्याथोलिक चर्चले सेभिलको सेन्ट इसिडोर नामक देशको पहिलो सार्वजनिक वित्त पोषित धार्मिक चार्टर स्कूल खोल्ने होडबाजी गरिरहेको थियो। तर ओक्लाहोमाको तल्लो अदालतले लगाएको प्रतिबन्धको पक्षमा चार र विपक्षमा चार मत परेको थियो । ओक्लाहोमाको सर्वोच्च अदालतले गत वर्ष केन्द्रीय राज्यमा प्रस्तावित क्याथोलिक चार्टर स्कूलको लागि सार्वजनिक वित्त पोषण संयन्त्र असंवैधानिक भएको फैसला सुनाएको थियो।
चर्च र राज्य बीचको विभाजन संयुक्त राज्य अमेरिकामा एक आधारभूत सिद्धान्त हो, जुन संविधानको पहिलो संशोधनमा निहित छ। सर्वोच्च अदालतका धेरै निर्णयहरूमा यो विभाजनलाई समर्थन गरिएको छ। गत अप्रिलमा मौखिक बहसका क्रममा कन्जरभेटिभ न्यायाधीशहरूले रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा समर्थित उक्त विद्यालयलाई सार्वजनिक रूपमा आर्थिक सहयोग गर्न अनुमति दिन खुला रूपमा प्रस्तुत भएका थिए।
देशको सर्वोच्च अदालतमा कन्जरभेटिभको ६–३ को बहुमत छ, तर ट्रम्पले नियुक्त गरेका अर्का न्यायाधीश एमी कोनी ब्यारेटले सम्भवतः यस मामिलामा पक्षहरूसँग पहिलेको सम्बन्धका कारण मुद्दाबाट आफूलाई अलग गरेका छ् ।
३ जेठ, काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छिन् । आज त्रिभुवन न्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन् । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भनिन्, उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन् ।
उनी संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले आजै तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनेछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।
उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”
आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनेछिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् । उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत मदन – आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
“मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले लेखेका छन् । प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको बताएका छन् ।
“जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो”, प्रधानमन्त्रीले भनेका छन् । तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।
३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका छन् ।
विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो ।
उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।
१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।
मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोधसमेत गरेको छ ।
१ जेठ, मुस्ताङ । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ । छसय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ । दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५औँ शताब्दीमा माटो ढुङ्गा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन् । जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । दिनभरि खुला हुने दरबार साँझ बजेपछि भने बन्द गरिन्थ्यो । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ । त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ । तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबार नजिकै मन्त्रालयहरू हुन्थे । आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो ।
हाल पनि ती मन्त्रालयका भवन लोमान्थाङमा देख्न सकिन्छ । तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो तर मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ । बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ । यसले दरबार एक्लिँदै गएको छ ।
माटोले बनेको दरबार भएकाले कसैले यसलाई माटोको शहर पनि भन्छन् । ऐतिहासिक र पुरातात्विक महत्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारचारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ । संरक्षण र संवर्द्धनको अभावमा यसको महत्व घट्दै जाने पो हो कि भन्ने चिन्ता पनि थपिएको स्थानीयले बताउने गरेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङका अनुसार मुलुकमा गणतन्त्र आए पनि यहाँका स्थानीय लोमान्थाङका राजपरिवारलाई उत्तिकै आदरपूर्वक सम्मान गर्छन्, त्यसैले धेरै स्थानीय दरबारमा जान पनि चाहँदैनन् । मानिसको आवतजावत कम भएपछि दरबार जीर्ण बन्ने जोखिम बढेको छ ।
विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन । यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन् । उनीहरू बिस्टलाई पूर्वराजा होइन राजा नै मान्ने गर्छन् । “लोमान्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ, यो ऐतिहासिक र पुरातात्विक महत्वको दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने लाग्छ, यहाँको आर्थिक गतिविधि बढाउनका लागि पर्यटक ल्याउनुको विकल्प छैन”, अध्यक्ष गुरुङले भने,
त्यसो त लोमान्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो । तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो । त्यही प्रभावले पनि यहाँका राजालाई शक्तिशाली मानिन्थ्यो । “सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो तर जब साल्ट ट्रेड रुट बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन सुरु भयो, त्यसपछि व्यापार सुक्दै गयो ।
त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो । धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ”, लोमान्थाङ निवासी बुद्धिजीवी कर्मा वाङगेलले भने ।
उनी ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण लोमान्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुने बताउँछन् । विदेशी पर्यटकका लागि हाल कायम कडा नियमलाई खुकुलो बनाउन सकिए यस क्षेत्रले पर्यटनबाट ठूलो लाभ लिन सकिने वाङगेलको बुझाइ छ । उनका अनुसार अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका छन् । बाँकी परिवारहरू त्यहाँबाट बसाइँ सरिसकेका छन् ।
दरबार छेवैको मिस्टक होटलकी सञ्चालिका कर्चुङल्यामो गुरुङ पनि वाङगेलको भनाइमा सहमत छन् । “अहिले त यहाँ आउन पनि सडकमार्गले सहज बनाएको छ । आवश्यक प्रचारप्रचार, दरबार संरक्षणका लागि बजेट विनियोजन र विदेशी पर्यटक ल्याउनका लागि सहज नीति बनाउन सकियो भने यस क्षेत्रले लाभ लिन सक्छ”, उनले भनिन् । कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या छ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो ।
समुन्द्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्कँदैनन्”, उनले भने । “एतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।”
नीलगिरि र धौलागिरि हिमशृङ्खलाको बीचमा रहेको यस क्षेत्रमा यहाँका २६औँ राजा अझै पनि यही बसोबास गर्छन् । इतिहास र धर्ममा रुचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ । लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो । यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन् । भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो । यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू पाइन्छन् । यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ । यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो । त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ ।
३१ वैशाख, काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा (सङ्खुवासभा) का महेश थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी (जाजरकोट), डा टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन् । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला (तेह्रथुम) तथा सदस्यमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) सदस्य रहेका छन् ।
त्यसैगरी सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित समिति पुनःगठन गरेको छ । पुनःगठित समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहनुभएको छ भने सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा पोषराज पाण्डे रहेका छन् ।
३१ वैशाख, बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ–आफ्नो भजन प्रस्तुत गरेका थिए ।
महोत्सव उद्घाटन गर्दैै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरुले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे । उनले भने, “म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु ।” महोत्सवमा यसपटक धेरै टोली सहभागी भएको र सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्टमिडल्यान्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएकामा भन्दै खुसी व्यक्त गरे ।
महोत्सवमा ६०० भन्दाबढीको सहभागिता थियो । उनले भने, “नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनःजागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ ।” साझा नेपाली समाज युकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँपुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
नेपाली समाज वेष्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठूलो अवसर भएको बताए । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेषभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यसअवसरमा निःशुल्क रुपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो । रासस
रासस ३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए ।
उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो ।
“त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ”, प्रधानमन्त्री ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधँै सकारात्मक र सहयोगी छौँ ।”
बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।
२९ वैशाख, धुलिखेल । दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गरे । सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरूआत भएको बताए ।
शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उनले त्योभन्दा अगाडि पवित्रस्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गरे । सो अवसरमा उनले सारा संसारमा राम्रो सभ्यताको विकास र सहअस्तित्व कायम रहँदै शान्तिसँग बस्न पाउने अवस्थाको सिर्जना होस् भन्ने कामना गरे ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगर बुद्धभूमिका रूपमा पहिचान बनाउँदै अगाडि बढिरहेको र अझ यसको विकास र पहिचान स्थापित गर्नका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल भइरहेको बताए । पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरूषोत्तम कर्माचार्यले गौतम बुद्धको पूर्वजन्मभूमि भएको पनौतीको यात्रा गर्दा यात्रा सफल र शुभ हुने भएको बताउँदै यसले पनौतीको प्रचारमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले विश्वमा शान्ति छाओस् र पनौती सबैसामु परिचित होस् भन्ने उद्देश्यले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रको पनि साथ रहेको बताए । शान्ति पदयात्रामा सहभागी पत्रकार भीम गौतमले गौतम बुद्धको पूर्वजन्मभूमि रहेको नमोबुद्ध जति परिचित छ, त्यसको थप प्रचारका लागि आयोजना गरेको शान्ति पदयात्राले पनौतीदेखि सुन्थान, शुङ्ख र नमोबुद्धसम्म पैदलयात्रा गर्दा आनन्द प्राप्त हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष प्रल्हाद केसीले विगतका वर्षमा झैँ यस वर्षमा पनि विश्वसामु नमोबुद्धलाई चिनाउनका लागि शान्ति पदयात्रा आयोजना गरेको बताए । गौतम बुद्धको पूर्वजन्मस्थल पनौती र राजकुमार महासत्वले नमोबुद्धको जङ्गलमा गरेको जीवन त्यागको ऐतिहासिक कथनसँग पनौती र नमोबुद्ध जोडिएको कारण पनि धार्मिक पर्यटन प्रवर्द्धनका लागि सो शान्ति पदयात्रा आयोजना गरेको बताए । स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाहरूको सहभागितामा पनौतीको पुरानो बजार पनौती डबलीदेखि नमोबुद्ध स्तूपासम्म आयोजना गरेको सो पदयात्रामा सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।