Category: कला / साहित्य

  • कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    कक्षा १२ को परीक्षा १२ वैशाखबाट

    काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले जनाएको छ।

    विस्तृतमा..

    https://neb.gov.np/detail/24

  • जय माया प्रेम!

    जय माया प्रेम!

    उफ्!
    फेरी यो बेईमान गुलाबहरु
    बेचिने दिन आएछ
    च्याट गर्दै जोडिने
    जोडिँदै च्याटिने दिन आएछ
    लार्भामा रंग फेर्दै
    प्युपामा ढंग फेर्दै
    अनि
    बयस्कमा अंग फेर्दै
    चक्र पुरा गर्ने दिन आएछ
    सेतो तन्ना भरी पोखिएका
    छरपष्ट राता सम्बन्धहरु
    राता सन्बन्धमा
    देखिएका काला दागहरु
    अनि काला दागहरु सँगै
    लुकेका निला रहस्यहरु
    सबै लुकाउने
    र लुक्ने दिन आएछ
    तन्नाहरु फोहोर हुने दिन
    फोहोर तन्नाहरु पुन: प्रयोग हुने दिन
    फेब्रुअरी फोर्टीन्!
    अहो गज्जबको दिन आएछ

    म चाहिँ एउटा गुराँसको फुल
    छातिमा राखेर निदाउने प्रयास गर्दैछु
    नउठ्ने गरी, न बिउँझने गरी
    आडैमा दुई टुक्रा
    इमान्दार बरफहरु
    घुल्दैछन निर्दोष गिलासभित्र
    रंगहिन मदिरासँग
    रंगकै पहिचान खोज्दैछन्
    बिचरा बालक मेलाटोनिनका गोलिहरु
    मेरो मगजको नसाहरु बन्द गर्न नसकेकोमा
    आफुलाई लज्जाबोध गरिरहेका छन
    तर भन्दैछन
    जय माया प्रेम!!

    यादहरुको पर्खालले
    यादहरु छेक्न नसक्दो रहेछ
    र त तिमी र त्यो दिन
    बिर्सन सकेको छैन
    मैले कृष्णजीको मुरली
    बोकेर आउँदा
    तिम्रो ओँठमा
    गुलाबी सरगम बजेको दिन
    तेही फेब्रुअरी फोर्टीन!
    म जोगी बनेर
    तिमीलाई गंगा बनाएको दिन
    म धागो,
    तिमीलाई चङ्गा बनाएको दिन
    तिम्रो इमानले
    मलाई बेईमान बनाएको दिन
    तिम्रो भगवानले
    मलाई सैतान बनाएको दिन
    तेही फेब्रुअरी फोर्टीन!
    बिन्ति,
    तिमी जस्तो छौ तेस्तै रहनु
    गुलाब जस्तो बिकाउ नबन्नु
    गुराँस जस्तो टिकाउ बन्नु
    जय गुराँस !!
    जय माया प्रेम !!!

  • काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो

    काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा परी क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको छ ।

    कपन बस्ने ११ वर्षका मोरङका क्रिसल पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका सुरेश तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो । तामाङ विद्यालयका शिक्षक हुन् ।

    दुर्घटनामा ४० जना घाइते भएका थिए । विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजे दुर्घटना भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए ।

    यसअघि आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । जुनकिरी इंग्लिस बोर्डिङको बा १ क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।

  • दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    दुई तिहाईको सरकारलाई अध्यादेशमा विपक्षी दलको घेराबन्दी, बहुमत जुटाउनै सकस

    काठमाडौं । संघीय संसद्मा वर्तमान सरकारसँग दुई तिहाई हाराहारी बहुमत छ । सोहीकारण सरकारले पेलेरै जाने सोचसहित दुवै सदनमा बिहीबार अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो । प्रतिनिधिसभामा स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा सत्तारुढ दलसँग आवश्यक बहुमत नपुग्दा सरकार विपक्षी दलको घेराबन्दीमा परेको छ । सोहीकारण पुनः सत्ताको बार्गेनिङ सुरु भएको छ । यसलाई भरपुर उपयोग गर्ने दाउमा छन् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । सत्तापक्ष उनलाई सहमतिमा ल्याउन केन्द्रित छ ।

    प्रतिनिधिसभाले दैनिक कार्यसूची फाइनल गर्दा आज संसद् नरहेका बेला ल्याएका सबै अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लाबेग्लै भेटेर सघाउन आग्रह गरे पनि यादवले स्पष्ट जवाफ नदिएपछि सरकार पछि हट्न बाध्य भयो ।

    प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्दैछ । शुक्रबार पनि अध्यादेश अगाडि बढाउने सरकारको तयारी छैन । जसपा नेपाल फेरि पनि हतारमा निर्णय गर्ने पक्षमा छैन । मन्त्रिपरिषद्को सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

  • आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।

    यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

  • एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो ।

    तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसेका थिए । यो सम्बन्ध सुमधुर रहेन । धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।

    पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।

    ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

    उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् । निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।

  • आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको
    छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले जनाएको छ ।

    बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यको क्रम सुरु हुनेछ ।

    आजको बैठकमा ६ वटा अध्यादेश समेत पेश हुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१’, ‘निजीकरण(९पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् ।

    त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन् । मन्त्रिपरिषदको सिफारिसमा गत १४ पुसमा राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए । त्यसपछि २९ पुसमा थप चार वटा अध्यादेश जारी भएका थिए । २ माघमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भएको थियो । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेका छन् ।

  • विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति

    विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
    शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् ।

    त्यसका लागि सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा शहीद दिवसले थप प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।

    ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन् ।

    दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना सन्देश दिँदै स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् । शहीदहरूले स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उनले उल्लेख गरेका छन् ।

    नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

  • शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।

    बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधि सभामा पेस हुने छन् ।

  • नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो

    नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको छ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दुई दिन चल्ने समेत बताइएको छ ।

    सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको हो । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

  • राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान

    राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् । यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

    संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो ।

  • सरकारले १८ माघमा बोलायो संसद बैठक

    सरकारले १८ माघमा बोलायो संसद बैठक

    काठमाडौं । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रबार बोलाउने निर्णय भयो ।’’ विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै संसद बोलाउन आग्रह गरिरहेका छन् ।

  • स्ववियु चुनाव ५ चैतमा हुने

    स्ववियु चुनाव ५ चैतमा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

    यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा।केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

    ‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ । आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ’, उनले भने, ‘कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ।’ यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन ।

    विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

  • रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् ।

    यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ ।लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

    कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

  • एसईई परिक्षाको तालिका सार्वजनिक

    एसईई परिक्षाको तालिका सार्वजनिक


    काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।

    पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
    दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।

    चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

  • स्वस्थानी व्रत आजबाट आरम्भ

    स्वस्थानी व्रत आजबाट आरम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

    यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन रु भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

    नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?

    काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्था थपिएका छन् ।

    स्रोतका अनुसार पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

    त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

    यसअघि नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा नराखिएकोमा त्यसलाई पनि ऐनमा समेटिने भएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रका आधारमा राहदानीलगायत अन्य सुविधा राज्यले प्रदान गर्दै आएको छ । यसका साथै, एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार दिने विषयलाई पनि ऐनमा स्पष्ट पारिएको छ ।

  • राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

    राप्रपाको जलपान, पुगे प्रधानमन्त्री

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद र अन्य विभिन्न दलका नेताहरु सहभागी छन् ।

    सहभागीहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै जलपान कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले पनि पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गरे । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा पनि सहभागी भएका छन् । राप्रपा नेपालले बालुवाटारको एक ब्याङ्क्वेटमा जलपान आयोजना गरेको थियो ।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

  • पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

    पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । २७ पुसमा पृथ्वी जयन्ती पर्छ ।

    पूर्वराजा शाहले नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’

    पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स(सानो भूखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको पूर्वराजा शाहको वक्तव्यमा भनिएको छ । शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उक्त एकतालाई भूगोलमात्रै नभई विविधता र सामाजिक समन्वयको कडी पनि भनेका छन् ।

    उनले देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्मिता रक्षाका सूत्र दिव्योपदेशबाट प्राप्त भएको, चार वर्ण छत्तिस जातको फूलबारी नेपाल भएको चर्चा गरेका छन् । शाहले नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भन्दै यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको तर्क पनि गरेका छन् ।

    ‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ शाहले भनेका छन्, ‘राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्छ ।’

    पूर्वराजा शाहले दलहरूलाई लक्षित गरेर कुनै टिप्पणी नगरे पनि देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको गुनासो गरेका छन् । पराधीनता, परनिर्भरता, आत्मग्लानीको दिशातर्फ जानु विडम्बना भएको भन्दै उनले स्रोत साधान, श्रम सिप देशको विकासमा पूर्ण उपयोग नभएकामा दुःख व्यक्त गरेका छन् ।

    शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् । ‘राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’

  • माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो

    माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्नेबारे दुई धार देखिएको थियो । बैठकमा सहभागी नेताहरूमध्ये केहीले तत्काल विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए भने केहीले सुरुमा अभियानमा जाने, त्यसपछि मात्रै महाधिवेशनको मिति तय गर्ने मत राखेका थिए ।

    यद्यपि, अध्यक्ष प्रचण्डले यसलाई ६ महिना अभियान र त्यसपछि अधिवेशन भन्दै घुमाउरो शैलीबाट हलमा नेताहरूलाई कन्भिन्स गराएका थिए । बैठकले पहिला ६ महिने अभियानमा जाने र त्यसको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय नै गरेको छ ।

    ६ महिने अभियानपछि आगामी असारमा केन्द्रीय समिति समिति बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । प्रचण्ड निकटका नेताहरूले नियमित अधिवेशनको पक्षमा धारणा राखेका थिए भने उपमहासचिव जनार्दन शर्मा निकट नेताहरूले विशेष महाधिवेशनको माग चर्को रुपमा उठाएका थिए । अहिलेकै बैठकले विशेष महाधिवेशनको मिति तोक्नुपर्ने शर्मा निकट नेताहरूले बताएका थिए ।


    अर्का उपमहासचिव वर्षमान पुन अनन्तले पनि विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । तर, उनले अहिले नै मिति तोक्नुपर्ने भने केन्द्रीय समितिमा बताएनन् ।

  • माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने

    माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, स्रोत खुलाउनु पर्ने उल्लेख गरिएको छ ।

    यस्तै प्रदेशको रिपोर्टिङ गर्नेहरुले स्थानीय तहको उपनिर्वाचन सन्तोषजक भए पनि धेरै उत्साहित हुनुपर्ने नरहेको बताएका थिए । उनीहरुले केन्द्रीय नेतृत्व गाउँ तहसम्म पुग्नु मागसमेत गरेका थिए । आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

  • विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने

    विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद समिति बनाउने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने पनि बताए। ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम हासिल हुन सकेन।

    त्यसैले सकेसम्म जनयुद्धमा भाग लिएका वा शुभेच्छुकहरूसँगको एकतालाई प्राथमिकता दिइनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसै सन्दर्भमा विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी र नेकपा ९बहुमत० सँगको एकतालाई अघि बढाउन उच्चस्तरीय संवाद समिति बनाएर अघि बढाइनेछ।’

    यसअघि पनि माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीचमा एकता गर्ने भनेर संवाद सुरू भएको थियो। विप्लवको पद व्यवस्थापनबारे माओवादी केन्द्रमा कुरा नमिलेपछि उक्त विषय पछिल्लो समयमा रोकिएको थियो। केही अघि कपिलवस्तुको शिवगढीमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र पार्टी एकताका लागि उदासिन भएको निष्कर्ष निकालेको थियो।

    यस्तै महिन्द्र राय यादव नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि माओवादीले पार्टी एकताको निर्णय गरेको थियो। यादव प्रतिनिधि सभा सदस्य छन्। २०७९ को चुनावमा नेसपा अध्यक्षसमेत रहेका यादवले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए।

    २०८० चैत ३ गते बालुवाटारमा यादवलगायतले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेकोमा अर्का अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका थिए। भट्टराई अहिले नेसपा (नयाँ शक्ति) का अध्यक्ष छन्। साथै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) सँग पनि पार्टी एकताका लागि माओवादी केन्द्र संवादमा छ।

  • यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय

    यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको समिक्षा प्रतिवेदन पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सो प्रतिवेदन पारित गरेको हो । शनिबार र आइतबार काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा भएको समितिको बैठक बसेको थियो ।

    बैठकमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टीका गतिविधिबारे जानकारी गाएका थिए। बैठकमा सभापति रवि लामिछानेविरूद्धका अदालती प्रक्रिया र पछिल्लो अवस्थाबारे पनि जानकारी दिइएको थियो। बैठकले नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

    उपनिर्वाचनको समीक्षाको प्रतिवेदन पनि पारित भएको थियो। त्यस्तै बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए। अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्लारनिर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने निर्णय भएको छ। अभियान माघ २ गतेदेखि सुरू हुने र दुई महिनासम्म सञ्चालन गर्ने रास्वपाले जनाएको छ।

    पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझावसहित पारित भएको र केन्द्र देखि पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको झाले बताए। त्यसैगरी प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ुसंविधान परिमार्जन सुझाव कार्यदल, २०८१ु गठन भएको छ। सो कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने भनिएको छ। कार्यदलमा केन्द्रीय सदस्यहरू क्रान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले छन्।

    गत मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति स्वर्णिम वाग्लेले व्याख्यात्मक दस्तावेज प्रस्तुत गरेका थिए। उक्त दस्तावेजलाई पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्ने गरी पारित भएको छ।
    त्यस्तै पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन इकाई गठन गर्ने निर्णय भएको छ।

    त्यस्तै पार्टीको बैठकले विभिन्न समयमा बनाएका समिति, कार्यदलहरूको प्रयोजन पूरा भएको भन्दै विघटन गरेको छ। नीति विचार कार्यदल, २०८०, केन्द्रीय उपनिर्वाचन परिचालन समिति, २०८१, विधान संशोधन सुझाव कार्यदल, २०८१ र केन्द्रीय समिति सदस्य सिफारिस समिति, २०७९ विघटन गरेको हो।

    पार्टीले संघीय सदन बाहिर रहेका राजनीतिक दलरशक्तिहरूका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने भन्दै आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको झाले बताए। अन्तिममा विभिन्न विषयहरूमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्, थिंकट्यांक सदस्यहरू मनोनित गर्दै जाने पनि निर्णय गरेको छ।

  • सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा

    सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा

    काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् ।

    ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’ यसअघि उनी एमालेमा आवद्ध थिए । खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनी औपचारिक रुपमा ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।

    च्यासलस्थित पार्टी कार्यालयमा आयोजिक एक समारोहका बीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । खनाल काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले हराए । तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिए । त्यहाँ पनि उनी रास्वपा नेता स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

  • रास्वपा केन्द्रिय समिति बैठक आजबाट

    रास्वपा केन्द्रिय समिति बैठक आजबाट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

    बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तयार गर्नुभएको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ । रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।

  • बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली

    बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली

    काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०स्४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।

    यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् । सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।

    ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । उनले भनेका छन्, एक प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनसिल विषयमा सजग रहेर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’

  • सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना

    सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना

    काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।

    शाखाका अनुसार सन् २०२२ मा ५३ वटा घटना भएको अभिलेख छ । प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको शाखाको भनाइ छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको अनुगमन शाखाले जनाएको छ ।

  • नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन

    नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन

    काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावल नयाँ पार्टी घोषणाको निष्कर्षमा पुगेका छन् । उनले बुधबार पत्रकार सम्मेलन आह्वान गरेका छन् । उनले पार्टी घोषणासँगै झापाबाट देशदौडाहा थाल्ने तयारी समेत गरेका छन् । देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुने समेत बताइएको छ ।

    बुधबारको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहार उजागर हुने समेत बताइएको छ । माघ अन्तिम अथवा फागुनसम्म पुग्दा पार्टी घोषणा हुन सक्ने बताइएको छ । रावलले सोमबार नेपाली कांग्रेस डडेलधुराका पूर्वनेता कर्ण मल्लसहितका नेतासँग भेटेका छन् ।

  • तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस

    तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

    नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने बताएका छन् । नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।

    राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।