Category: स्थानीय

  • दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

    काठमाडौँ, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजाआजा गरेका हुन् ।

    नेपाल संवत्को दशौँ महिनाका रूपमा रहेको गुँला पर्वलाई पुण्य सञ्चय गर्ने पवित्र महिनाका रूपमा एक महिनासम्म मनाउने गरिन्छ । ‘गुँ’को अर्थ गुण गर्नु र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ । गुँला पर्वमा सहभागी भक्तजनले धार्मिककार्य गरी पुण्य सञ्चय गर्ने र आफ्नो क्षमताअनुसार दान दिने परम्परा छ । यस अवधिमा जीवनलाई शुद्ध र सात्विक बनाउने विभिन्न नियम पालना गर्ने गरिन्छ ।

    धर्मावलम्बीले एक महिनासम्म प्राणी हिंसा नगर्ने, नदिइएको वस्तु नलिने, मिथ्याचार नगर्ने, झुटो नबोल्ने, लागुऔषध तथा मदिरा सेवन नगर्ने, अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण नलगाउने र ब्रह्मचार्य पालना गर्नेलगायतका अनुशासन पालना गर्ने गर्छन् ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले एकमहिने गुँला पर्वलाई व्यवस्थित बनाउन स्वयम्भू र आसपासका क्षेत्रमा सरसफाइ, रङरोगन तथा बत्ती जडान गरेको महासमिति सदस्य राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन बाजागाजासहित स्वयम्भूमा पूजाआजाका लागि आउने र पूजापछि शोभाभगवतीको परिक्रमा गर्ने परम्परा रहेको छ ।

  • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

    काठमाडौँ, ७ भदौः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए ।


    “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उनले भने । यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो ।

    “ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उनले भने । पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाए ।
    प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए । उनले भने, “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ ।”

    विश्वव्यापीरूपमा बदलिँदो समाज, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिकताको सम्बोधन गर्न नसक्ने बताए । “प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उनले भने, “यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ ।”

    महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै त्यसबाट नागरिकलाई प्रहरी कार्यालयसम्म पुग्नु नपर्ने अवस्था सुनिश्चित गरेको बताए । “उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ ।”

    पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधका घटना वृद्धि हुँदै गइरहेको जनाउँदै उनले ती घटनाका अनुसन्धान गर्न सोहीअनुसार जनशक्ति भर्ना र परिचालनको आवश्यकता महसुस गरिएको बताए । उनले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको पनि जानकारी दिए ।


    महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाए । “नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ ’का स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, महानिरीक्षक कार्कीले भने । उनले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी सङ्गठन सक्षम हुने विश्वास व्यक्त गरे ।


    नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनयन कायम गरी नागरिकका जीउधनको रक्षाका लागि सबै तह र तप्काको सहयोगको अपेक्षा गरे । “प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु ।”

  • पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

    पर्वत, ७ भदौः पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा आज दिउँसो फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी अटोमा सवार बिहादी गाउँपालिका १ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए ।


    “दुर्घटनामा चार जना घाइते भएका छन् । बिहादी-१ की २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम छ । पन्ध्र वर्षीया अञ्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ”, उनले भने ।

    अटो चालक फलेवास नगरपालिका–११ पङराङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको प्रहरी निरीक्षक पटेलले बताए । उनका अनुसार घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरी निरीक्षक पटेलले ओरालो बाटोमा ब्रेक नलागेकाले चालकले अटो नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

  • पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

    वासुदेव पौडेल र वसन्त भण्डारी–रासस

    बागमती, ६ भदौः मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो । हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर दूरी र मनहरीबाट करिब १० किलोमिटर दूरी पार गरेपछि जलपरी झरना आउन सकिने राक्सिराङ(३ का वडाध्यक्ष उत्तम वाइबाले जानकारी दिए ।

    प्रशस्त रूपमा पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको यस झरनाको प्रवर्द्धनसँगै यहाँकोे पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए । झरनासँगै यहाँको चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको वडाध्यक्ष वाइबाले बताए । “जलपरी झरनाको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसको संरक्षण र प्रवर्द्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको छ”, उनले भने, “यहाँको पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म रु एक करोड २७ लाख बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएका छन् ।”

    झरना परिसरमा वडा कार्यालयका तर्फबाट बुद्धको मूर्ति राखिएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत परिसरमा पदमार्ग निर्माणसँगै विभिन्न फूलका बिरुवा रोपिएका छन् । पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी वनभोजस्थल पनि निर्माण गरिएका जानकारी दिँदै वडाध्यक्ष वाइबाले हाल परिसरमा दुईवटा वनभोजस्थल व्यवस्थित रूपमा रहेको जानकारी दिए । “जलपरी झरना परिसरमा घुम्न र वनभोजका लागि आउने सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दो छ”, उनले भने, “अत्यावश्यकीय पूर्वाधार विकाससँगै राम्रो प्रवर्द्धन गरिएमा यो हेटौँडाकै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने पक्का छ ।”

    जलपरी झरना र चमेरे गुफालाई पर्यटनसँग जोड्दै तल गाउँमा घरबास सञ्चालन गर्नु अपरिहार्य भएको स्थानीयवासी रामकुमार एलनले बताए । “जलपरी झरनालाई पर्यटनसँग जोड्न सकेमा यसले राक्सिराङ गाउँपालिकासँगै मकवानपुरकै पर्यटनमा विशिष्ट योगदान दिने देखिन्छ”, उनले भने, “१२ महिना नै अटुट रूपमा पानी झरिरहने यो झरनालाई पर्यटकीय उपयोगका लागि स्थानीय सरकारसँगै प्रदेश र सङ्घको संयुक्त सहयोग र सहकार्य अपरिहार्य छ ।”

    यहाँको पर्यटकीय विकासले ग्रामीण अर्थतन्त्रमा पनि विशिष्ट योगदान पुग्ने उनले बताए । पछिल्ला समयमा वनभोजका लागि निर्माण गरिएका टहरासँगै पदमार्गलाई व्यवस्थित गरिएका कारण आउने पर्यटकलाई झरनासम्म पुग्न सहज भएको छ । वडाध्यक्ष वाइबाका अनुसार यहाँको समग्र विकाससँगै व्यवस्थापनमा हरियाली सामुदायिक वनले महत्त्वपूर्ण सहयोग गरिरहेको छ । झरनाभन्दा तल विशेषगरी तामाङ, मगर र चेपाङको बस्ती रहेको जानकारी दिँदै उनले ती वस्तीमा घरबास सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।


    “हामीले घरबास सञ्चालनका लागि स्थानीयवासीलाई अभिप्रेरित गरिहेका छौँ”, उनले भने, “जलपरी झरना र चमेरो गुफाको विकाससँगै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकका लागि घरबास सञ्चालन गर्न सकिएमा यसले गाउँमा पर्यटकको चहलपहल पनि बढ्ने, रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन वृद्धि हुने थियो ।”

    झरना परिसरमा राखिएको बुद्धको मूर्तिसँगै मृगलाई झम्टँदै गरेको बाघको मूर्ति, झरनाको छेउमा राखिएको जलपरीको मूर्तिका साथै तस्बिर खिच्नका लागि बनाइएको आकर्षक स्थान आदिले यहाँ आउने पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्ला समयमा हेटौँडाका साथै चितवनलगायतका स्थानबाट दिनानुदिन पर्यटकहरू आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको सङ्ख्या बढी हुन्छ ।

    बर्दघाटबाट जलपरी झरना घुम्नका लागि आउनुभएका प्रदीप विकले यो झरना तथा यहाँको परिवेशले आफूलाई निकै मोहित बनाएको अनुभव सुनाए । चितवनमा आफन्तकामा आउँदा केही समय छुट्याएर आफू झरनामा आइपुगेको बताउँदै उनले यसको प्रचारप्रसार गर्न सकिएमा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखे ।


    झरनामा परिसरमा भेटिएका चितवन भण्डाराका अभिशेक सुनारले आफू दोस्रोपटक यहाँ आएको बताए । “केही समय पहिला साथीहरूसँग यहाँ घुम्न आएको थिएँ”, उनले भने, “झरना तथा यहाँको परिवेश लोभ्याउने खालको छ । दोस्रोपटक आफन्तहरू लिएर घुम्न आएको हुँ ।”

    जलपरी झरना तथा चमेरो गुफा पार्क क्षेत्रमा पर्यटकको सुविधालाई लक्षित गरी बिजुली बत्तीको लाइन विस्तार गर्न लागिएको छ । झरनाका कारण गाउँमा चहलपहल बढ्दै गएपछि स्थानीयवासीले चिया तथा खाजा पसल थप्ने क्रम पनि बढेको छ । आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने देखेर स्थानीयवासी छेकु दोर्जे पाख्रिनले गाउँमा चिया तथा खाजा पसल सञ्चालन सुरु गरेको जानकारी दिए ।

    “ठाउँठाउँबाट झरना तथा पार्कमा पर्यटक आउन थालेका कारण चहलपहल बढिरहेको छ”, उनले भने, “आउने पर्यटकलाई चिया तथा खाजाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ मैले चिया तथा खाजा पसल सुरु गरेको छु ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले योजनाबद्ध काम गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन बढ्ने, आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

  • बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    नारायणगढ (चितवन), ६ भदौः जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको उनले बताए ।


    बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताए ।

  • चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

    चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

    काठमाडौँ, ६ भदौः बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन् । यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन् ।

    यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन् । प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ ।

    यही भदौ ४ देखि ५ गते बिहान ८ः०० बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन् । ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन् । प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ ।

  • रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

    रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

    काठमाडौँ, ५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ ।

    सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल(ललितपुर) तथा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

    उनका अनुसार पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल(ललितपुर), लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई मनोनयन गरिएको छ । विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ ।

    प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ । रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।

    स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालनको संयोजक सहमहामन्त्री निशा डाँगीलाइ ताेकिएकाे छ । बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको महामन्त्री आचार्यले जानकारी दिए ।

    मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्य रहनेछन् । रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनित ५१ र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति सात गरी १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।

  • सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    काठमाडौँ, ५ भदौ : सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ ।

    कार्ययोजनाअनुसार सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो । कार्ययोजनाले सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने, आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने, सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

    कार्ययोजनामा कम लागतमा उच्च प्रभाव पार्ने सुधारका उपाय कार्यान्वयन गर्ने, नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी सेवा प्रवाहमा तत्काल सुधार ल्याउने र सुधारका कामको निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने र आवश्यक परे थप सुधारका लागि सम्बन्धित निकायबीच समन्वय गर्ने अवधारणा कार्ययोजनाको मुख्य आधार छ ।

    कार्ययोजनामा तत्काल सुधारका लागि जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, राहदानी विभाग, परीक्षा नियन्त्रण कार्यालय, मालपोत कार्यालय, दूरसञ्चार, खानेपानी, सार्वजनिक यातायात एवम् बजार अनुगमनलगायत क्षेत्रमा ३० दिनभित्र सेवाग्राहीको अनुभवमा मापनयोग्य र प्रत्यक्ष सुधार ल्याउने विषय समावेश गरिएको छ ।

    सेवा प्रवाहको दीर्घकालीन सुधारका लागि आवश्यक संरचनागत कामसँगै तत्काल कार्यान्वयन गर्न सकिने उपाय पहिचान गरी सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै लैजाने अवधारणामा कार्ययोजना ल्याइएको हो । कार्ययोजनाले अन्ततः सरकारी सेवामा सेवाग्राहीको समय, लागत र झन्झट घटाउने, सूचना प्रवाह सुधार गर्ने, गुनासोको तत्काल सम्बोधन गर्ने, कार्यालयको जवाफदेहिता बढाउने र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने लक्ष्य राखेको छ ।

    कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजातबारे अग्रिम जानकारी दिने र अनावश्यक चरण तथा झन्झट घटाउने विषयमा जोड दिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीले आफूले लिन खोजेको सेवाका लागि कहाँ, कसरी र के–के कागजातसहित जाने भन्ने जानकारी पहिल्यै पाउने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

    सरकारी कार्यालयले सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नुपर्ने र सेवाग्राहीको गुनासो तथा समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने व्यवस्था पनि कार्ययोजनामा छ । ‘क्विक फिक्स’मार्फत तत्काल समस्या समाधान कार्ययोजनामा ‘क्विक फिक्स’ अवधारणालाई विशेष प्राथमिकता दिइएको छ ।

    अर्थात् दीर्घकालीन कानुनी वा संरचनागत सुधारको प्रतीक्षा नगरी तत्काल गर्न सकिने सुधारका काम पहिचान गरी कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको हो । कार्ययोजनामा ३० दिनको तत्काल सुधार कार्यान्वयन कार्ययोजनाअन्तर्गत ‘क्विक फिक्स’ सहित विभिन्न सुधारका क्षेत्र राखिएका छन् । सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्या पहिचान, तत्काल समाधान, अनुगमन तथा सुधारको चक्रलाई निरन्तर अघि बढाउनका लागि कार्ययोजना ल्याइएको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवामा सेवाग्राहीलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने र सेवा लिन आउने नागरिकलाई प्रक्रियाबारे स्पष्ट सूचना दिने व्यवस्था गर्ने व्यवस्था गरिएको छ । कार्यालयमा उपलब्ध सेवाको प्रकृति, आवश्यक कागजात, प्रक्रिया तथा सेवाका चरणबारे नागरिकले सहज रूपमा जानकारी पाउने गरी व्यवस्था मिलाउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।

    सेवाग्राहीको चाप हुने सेवा तथा अत्यावश्यक सेवामा प्राथमिकता दिने, सेवा प्रवाहलाई व्यवस्थित गर्ने र सेवाग्राहीले अनावश्यक रूपमा कार्यालयमा समय बिताउनुपर्ने अवस्था घटाउने विषयलाई पनि सुधारको प्राथमिकतामा राखिएको छ । यातायात व्यवस्था विभाग तथा कार्यालयको प्रवेशद्वारमै लाइसेन्स प्राप्तिको सम्पूर्ण प्रक्रिया बुझिने गरी बोर्डमा राख्ने, आवेदन, बायोमेट्रिक/सम्बन्धित प्रक्रिया, शुल्क, परीक्षा/ट्रायल, परिणामलगायतलाई सरल चित्रमा उल्लेख गर्न भनिएको छ । परीक्षा तथा ट्रायलको समय, मिति र स्थानबारे सेवाग्राहीलाई पर्याप्त जानकारी उपलब्ध गराउने, परीक्षा/ट्रायलसम्बन्धी प्रक्रियामा देखिएका समस्या पहिचान गर्ने तथा आवश्यक सूचना स्पष्ट रूपमा सार्वजनिक गर्ने विषय पनि कार्ययोजनामा समेटिएको छ ।

    राहदानी विभागले दिने सेवामा राहदानी आवेदनपूर्व कागजात जाँच, आवेदन वायोमेट्रिक चरणमा पुग्नुअघि आवश्यक विवरण तथा कागजात जाँच गर्ने, थप कागजात आवश्यक भए विवरणसहितको लिखित जानकारी दिने, सेवाग्राहीले पूरा गर्नुपर्ने प्रक्रियाबारे अग्रिम सूचना दिने र कार्यालयमा हुने अनावश्यक भीड तथा झन्झट घटाउने उपायको व्यवस्था गरिएको छ । आवेदनमा आवश्यक कागजात, प्रक्रिया तथा सेवाको अवस्थाबारे स्पष्ट जानकारी उपलब्ध गराउने र सेवाग्राहीलाई सम्बन्धित चरणमा आवश्यक सहयोग तथा सूचना उपलब्ध गराउने कार्ययोजनाको उद्देश्य छ ।

    परीक्षा नियन्त्रण/बोर्डको सेवा सुधारलाई पाँच प्रमुख उपाय अपनाइएको छ । जसअनुसार परीक्षा, प्रमाणपत्र, ट्रान्सक्रिप्ट/लब्धाङ्कलगायत सेवाको सूचना एउटै बोर्डमा मिसाएर राख्नुपर्ने छ । साथै सबै कागजात पहिले नै जाँच गर्नुपर्ने छ भने विद्यार्थी तथा अभिभावकका लागि एक पटक मार्गदर्शन बुझाउनुपर्ने छ । कार्यालयका अनुसार नतिजा/प्रमाणपत्रसम्बन्धी जानकारी छिटो उपलब्ध गराउनुपर्ने छ भने दोहोरिने कागजी काम पहिचान गरी काम गर्नुपर्ने छ ।

    मालपोत कार्यालयमा छ प्रकारका सुधारको उपाय अपनाइएको छ । मालपोत सेवामा सेवाग्राहीले आवश्यक कागजात, प्रक्रिया तथा लाग्ने समयबारे स्पष्ट जानकारी पाउने व्यवस्था गर्न व्यवस्थाप गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या पहिचान गरी अनावश्यक ढिलाइ तथा झन्झट घटाउने, कामको अवस्थाबारे सेवाग्राहीलाई जानकारी दिने र कार्यालयको सेवा प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

    कार्ययोजनाले मालपोत सेवामा प्रक्रियागत स्पष्टता, सेवाग्राहीलाई आवश्यक सूचना र सेवा प्रवाहको व्यवस्थापनलाई तत्काल सुधारका क्षेत्रका रूपमा लिएको छ । सार्वजनिक सेवा क्षेत्रमा नागरिकका गुनासोलाई व्यवस्थित रूपमा दर्ता, वर्गीकरण र समाधान गर्ने प्रणाली विकास गर्ने व्यवस्था गरिएको छ । कार्ययोजनामा ‘नेटवर्क कम्प्लेन्ट ड्यासबोर्ड’ लगायतका माध्यमबाट गुनासो व्यवस्थापनलाई व्यवस्थित गर्ने तथा आवश्यक तथ्याङ्कलाई एक्सेल वा गुगल सिटमार्फत समेत व्यवस्थित रूपमा राख्ने उपाय उल्लेख गरिएको छ ।

    गुनासोको प्रकृति र प्राथमिकताका आधारमा सम्बन्धित निकायबाट समाधान गर्ने, समाधानको अवस्थाबारे अभिलेख राख्ने तथा सेवाग्राहीलाई गुनासोको अवस्थाबारे जानकारी दिने व्यवस्था गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । नेपाल टेलिकमको ‘कमजोर सिग्नल’ सूची हरेक कार्यालय/शाखाले सङ्कलन गर्नुपर्नेछ । त्यसपछि अस्पताल, सरकारी सेवा केन्द्र, शैक्षिक संस्था, मुख्य बजार, राजमार्ग, दुर्गमबस्तीलगायतका क्षेत्रलाई १० वटा प्राथमिकतामा राखेर काम सेवा सुधार गर्नुपर्नेछ ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पानी आपूर्ति तथा वितरणसँग सम्बन्धित समस्या, पानीको उपलब्धता तथा वितरणको सूचना, गुनासो व्यवस्थापन र सेवाग्राहीसँग सम्बन्धित सूचनालाई व्यवस्थित बनाउने व्यवस्था गरिएको छ । पानी वितरणको तालिका सार्वजनिक गर्ने, पानी नआउने वा वितरणमा समस्या देखिँदा त्यसबारे सेवाग्राहीलाई सूचना दिने, गुनासोका लागि फोन तथा अन्य माध्यम प्रयोग गर्ने र प्राप्त गुनासोलाई सम्बन्धित प्रणालीमा दर्ता गरी समाधान गर्ने व्यवस्था गरिएको छ ।

    विद्यालय, अस्पताल तथा अन्य सार्वजनिक संस्थामा खानेपानीको व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने कार्ययोजनामा उल्लेख छ । सार्वजनिक यातायातअन्तर्गत माइक्रो तथा मिनी बस सेवामा भाडा, यात्रु सेवा, दुर्घटना तथा अन्य सेवासम्बन्धी समस्या तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको छ । यात्रुले आवश्यक सूचना सहज रूपमा पाउने, सेवा सञ्चालनमा देखिएका समस्या पहिचान गर्ने तथा सम्बन्धित निकायबाट तत्काल समाधानका लागि पहल गर्ने व्यवस्था कार्ययोजनामा समेटिएको छ ।

    सार्वजनिक यातायातमा यात्रु तथा सरोकारवालाबाट आउने गुनासोलाई ह्वाट्सएप, एसएमएस तथा क्यूआरलगायत माध्यमबाट प्राप्त गर्ने र त्यसलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रणाली विकास गर्ने व्यवस्थाप समेत गरिएको छ । हरेक कार्यालयमा ‘फोकल पर्सन’ कार्ययोजनाको कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा फोकल पर्सन तोक्ने व्यवस्था गरिएको छ ।

    फोकल पर्सनले कार्ययोजनामा उल्लेख गरिएका सुधारका काम कार्यान्वयन भए/नभएको हेर्ने, समस्या देखिए सम्बन्धित अधिकारी तथा निकायसँग समन्वय गर्ने र सुधारको प्रगति अभिलेख राख्ने जिम्मेवारी लिनेछन् । कार्यालय प्रमुखले पनि कार्ययोजना कार्यान्वयनको नियमित अनुगमन गर्नुपर्ने र सुधारका काममा देखिएका समस्या तत्काल समाधान गर्न पहल गर्नुपर्ने व्यवस्था छ ।

    अनुगमनका लागि सूचक तय कार्ययोजनाले सुधारको प्रभाव मापन गर्न सेवाग्राहीले सेवा लिन लाग्ने समय, प्रतीक्षा समय, अनावश्यक कागजात तथा प्रक्रिया, सेवामा देखिएका समस्या र गुनासो समाधानको अवस्थालगायतका सूचकलाई आधार बनाउने व्यवस्था गरेको छ । सम्बन्धित कार्यालयले सुधारका कामको प्रगति नियमित रूपमा समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ । सुधार कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कनमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिकालाई समेत जोड दिइएको छ । कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे निरन्तर अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

  • काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिका–१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका १७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीका अनुसार किशोर र २० वर्षीय प्रमित पटेलले आज बिहान कुटपिट गरी तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    कालाथोकीको कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट प्रहरी खटिएको थियो । पाँच जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनापछि फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    रासस
    म्याग्दी, ५ भदौः एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिए ।


    “चार सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला र एक हजार ८४० हेक्टरमा आलुखेती भएको थियो”, उनले भने, “सुन्तला प्रतिहेक्टर १०।५ र आलु प्रतिहेक्टर १८ मेट्रिक टनका दरले उत्पादन भएको छ ।” सुन्तलाको सरदर मूल्य प्रतिकिलोग्राम रु ७५ र आलुको रु ३० का दरले बिक्री भएको हो ।

    अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले रु २० करोड मूल्यबराबरको आलु उत्पादन घटेको अधिकृत बास्तोलाले बताए । म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । आव २०८०\८१ मा एक हजार ७५० हेक्टरमा ३१ हजार ४५० मेट्रिक टन आलु र रु २४ करोडबराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

    अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो ।

    खायन आलु र सुन्तला बगैँचा विस्तार तथा सुदृढीकरण

    कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहहरूले म्याग्दीमा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रममा जोड दिएका छन् । गत आवमा तीनै तहका सरकारले कृषि क्षेत्रमा रु नौ करोड ३९ लाख ८३ हजार बजेट विनियोजन गरेकामा ७२।८३ प्रतिशत अथवा रु छ करोड ७८ लाख ६७ हजार खर्च गरेका जनाएका छन् ।

    कृषि विकास कार्यालयले आलु प्रवर्द्धन कार्यक्रममार्फत गत आवमा ८०० घरपरिवारलाई ७०० रोपनी क्षेत्रफलमा आलु लगाउन रु ३९ लाख ७० हजार अनुदान उपलब्ध गराएकामा एक हजार ६६५ मेट्रिक टन उत्पादन भएको छ । सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रममार्फत कार्यालयको रु १९ लाख २९ हजार सहयोगमा ३२ वटा कृषि फार्मले ५९९ रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा मलखाद, सिँचाइ, औजार तथा यान्त्रिकीकरण गरेका छन् ।

    आगामी वर्ष फलफूल बगैँचा सुदृढीकरण तथा विस्तार कार्यक्रमलाई रु ४२ लाख र खायन आलु प्रवर्द्धन कार्यक्रमलाई रु ३३ लाख बजेट विनियोजन भएको कार्यालयका बाली संरक्षण अधिकृत प्रकाश पुनले बताए ।

    बजेटमा उतारचढाव

    कृषि विकास कार्यालयको बजेटमा उतारचढाव हुँदै आएको छ । आव २०७८÷७९ मा रु पाँच करोड १९ लाख ४६ हजार रहेको बजेट २०७९÷८० मा रु पाँच करोड ४७ लाख ७६ हजार पुगेको थियो । आव २०८०÷८१ मा रु सात करोड दुई लाख १४ हजार पुगेको बजेट २०८१÷८२ मा घटेर रु चार करोड ८१ लाख ८७ हजार र २०८२÷८३ मा रु चार करोड २४ लाख ६५ हजारमा झरेको थियो । चालु आव २०८३÷८४ मा भने बजेट बढेर रु चार करोड ७८ लाख ४८ हजार पुगेको बिहीबार बेनीमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख बास्तोलाले जानकारी गराए ।

    यस वर्ष प्राथमिकताप्राप्त कृषि बाली तथा वस्तुमा नयाँ ब्लक विकास कार्यक्रम स्थापनाका लागि रु २५ लाख र प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि रु १५ लाख लाख बजेट प्राप्त भएको छ । जलवायुमैत्री कृषि प्रविधि प्रवर्द्धनका लागि रु १० लाख, ग्रामीण कृषि पर्यटन प्रवर्द्धनका लागि रु पाँच लाख र प्राङ्गारिक मल वितरणका लागि रु १० लाख बजेट राखिएको छ । कृषि उद्यम विकासका लागि रु पाँच लाख तथा निर्यातजन्य कृषि वस्तु प्रवर्द्धनका लागि रु १५ लाख विनियोजन भएको छ ।

    किसानका समस्याः बाँदर र सिँचाइ

    कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट आएका किसानहरूले कृषि उपजको बजार व्यवस्थापन, बाँदरको समस्या, पर्याप्त सिँचाइ सुविधाको अभाव, गुणस्तरीय बीउबिजनको कमी र जनशक्ति अभावको समस्या औँल्याएका छन् ।

    यी समस्या समाधानका लागि बीउबिजन उत्पादन कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, युवालक्षित कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजारको सुनिश्चितता र सिँचाइमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धवलागिरि गाउँपालिका–७ का किसान तोरण थापाले बताए ।
    सांसदको ध्यानाकर्षण र मन्त्रीको प्रतिबद्धता

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सविन)ले मझौला र साना किसानसम्म पुग्नेगरी प्रदेश सरकारले कृषि कार्यक्रमका कार्यविधिलाई संशोधन गर्न मन्त्री भीमबहादुर कार्कीको ध्यानाकर्षण गराए । म्याग्दीमा कृषि उपजको बजारीकरण गर्नलाई सहज होस् भनेर ग्रामीण सडक स्तरोन्नति योजनाहरूलाई पछिल्ला केही वर्षयता प्राथमिकता दिएको बताए ।

    मन्त्री कार्कीले गण्डकीमा भएका जनशक्तिलाई पुर्याएर पनि पर्यटकका लागि समेत स्वच्छ, गुणस्तरीय कृषि उपज उपभोगको वातावरण बनाउन जोड दिइएको बताए ।
    विगतमा सञ्चालन भएको चैते धान र आलुको कार्यक्रम प्रभावकारी देखिएकाले यस वर्ष पनि पुरानासहित नयाँ ‘रिटर्न टु होम’लगायत कार्यक्रम ल्याएको जानकारी दिए । मन्त्री कार्कीले कृषि बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा कम्पनीहरूसँग छलफल गरिरहेको बताए ।

  • भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

    भक्तपुरका किरण थापा मगरः वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म


    मकवानपुर, ५ भदौः बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो ।

    प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन् । विसं २०४७ देखि उहाँ निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटी सदस्य हुँदै उनले जिल्ला कमिटी उपाध्यक्षको भूमिकामा समेत छन् । पार्टी सङ्गठनको जिम्मेवारीसँगै स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको थप राजनीतिक परिचय बनेको हो ।

    उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला स्थानीय तहमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा नगरपालिकाको सामाजिक विकास समितिको संयोजकसमेत बने । स्थानीय तहको नेतृत्वका क्रममा उनले सामाजिक सेवा र जनप्रतिनिधिको भूमिकालाई सँगसँगै अघि बढाउने प्रयास गरेको देखिन्छ । विसं २०७९ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।


    प्रदेशसभा सदस्यको जिम्मेवारीसँगै उनले प्रदेश सरकारमा मन्त्रीको भूमिकासमेत सम्हाले । विसं २०८१ साउन ९ गतेदेखि २०८३ असारसम्म उनले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा दुईपटक जिम्मेवारी सम्हाले । उनीसँग लामो समयदेखि सामाजिक सङ्घसंस्थामार्फत समुदायसँग जोडिएको अनुभव छ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनी धार्मिक तथा सामाजिक अभियानमा समेत सक्रिय छन् ।

    नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सभापतिका रूपमा तीन कार्यकाल र भक्तपुर शाखाको उपसभापतिका रूपमा दुई कार्यकाल उनले भूमिका निर्वाह गरे । नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यका रूपमा समेत काम गरेको उनको अनुभव छ ।

    खेलकुद र आर्थिक क्षेत्रमा पनि उहाँको संलग्नता छ । नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशको कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य सङ्घको अध्यक्ष तथा विभिन्न खेलकुद र युवा क्लबको संरक्षकका रूपमा उनले भूमिका निर्वाह गरे । सिपाडोल क्षेत्र परोपकार समाज र ‘आफ्नो घर आश्रम’सँग पनि उनी जोडिएका छन् ।
    राजनीति, समाज सेवाका साथै उनले आफ्नो निजी व्यवसायलाई समेत अगाडि बढाएका छन् । उनका अनुसार निजी व्यवसायबाट ५०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    युवालाई स्वरोजगार बनाउन तालिम, सहजीकरण र लगानी प्रवर्द्धनमा समेत आफू सक्रिय रहेको उनी बताउँछन् । उनले वडाध्यक्षका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहँदा पनि त्यसबाट प्राप्त हुने सुविधा नलिएको बताउँछन् । त्यस सुविधाबापत बचत भएको रु १५ लाखबराबरको अक्षयकोष स्थापना गरे । सो कोषमा हाल रु ४० लाख पुगेको उनले बताए ।


    विसं २०७२ को विनाशकारी भूकम्प, २०७५ को हनुमन्ते बाढी, उद्धार तथा राहतको कार्यमा उनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्छन् । कोरोना महामारीका बेला पनि सङ्क्रमित तथा प्रभावित नागरिकका लागि निःशुल्क पिसीआर परीक्षणको व्यवस्था र समन्वयदेखि घरघरमा अक्सिजन तथा औषधि पुर्याउने काममा उनी सक्रिय भए ।


    प्रदेश सरकारको मुख्यमन्त्रीसम्म आइपुग्दा उनले सामाजिक संस्था, स्थानीय सरकार, प्रदेशसभा र प्रदेश सरकारका विभिन्न जिम्मेवारीमा आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । वडाध्यक्षबाट सुरु भएको उहाँको राजनीतिक सेवाको यात्रा प्रदेशसभा सदस्य र मन्त्री हुँदै मुख्यमन्त्रीसम्म आइपुगेको छ ।

    पार्टीभित्रको सामान्य असन्तुष्टिलाई समाधान गरी मुख्यमन्त्री बन्नुभएका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको दाबी गरिएको छ । उनलाई मुख्यमन्त्री बनाउन सहयोग गरेका दललाई साथमा लिएर अघि बढ्नुपर्ने देखिन्छ । साथै, सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारलाई सञ्चालन गरी प्रदेशवासीको चाहनाबमोजिम कार्यसम्पादन गर्नुपर्ने दायित्व पनि उनको काँधमा छ।

  • बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

    बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन


    काठमाडौँ, ४ भदौः प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिमा सांसदहरूले बागमतीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग एकीकृत गरी ‘हेरिटेज रिभर करिडोर’का रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।


    सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् । “स्वच्छ बागमतीलाई पहिलो प्राथमिकता दिई नदीमा हुने सम्पूर्ण ढल तथा फोहर पानीको विसर्जन तत्काल नियन्त्रण गर्ने योजना बनाउनुपर्छ,” सभापति गजुरेलले भने, “बागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नगरी हरित, खुला, पैदलमैत्री तथा नागरिकमैत्री नदी करिडोरका रूपमा विकास गर्नुपर्छ ।”

    बैठकमा सांसदहरू राजुनाथ पाण्डे, बासना थापा, प्रदीप विष्टलगायतले काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको किनारालाई सफा र स्वच्छ बनाउने समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिए । स्वच्छ बागमती निर्माणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।

    समितिले बागमती नदीको संरक्षण, वातावरणीय पुनर्जीवन, अतिक्रमण नियन्त्रण तथा बाढी जोखिम व्यवस्थापनलाई छुट्टाछुट्टै कार्यक्रमका रूपमा नभई एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डा आनन्दसिंह भाटले खोला किनारालाई हरियाली बनाउने र नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माणलाई तीव्रता दिएको बताए ।

  • वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

    वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

    बसन्त भण्डारी–रासस

    हेटौँडा, ४ भदौः गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका(१९ मा पर्ने वासुदेव खहरे खोला उनीहरूका लागि नौलो थिएन । तर, त्यस साँझ खोला अस्वाभाविक रूपमा उर्लिएको थियो ।

    खोला तर्ने क्रममा आएको अचानकको भेलले चारै बालिकालाई फरक(फरक दिशातर्फ बगायो । घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । एक बालिका भने ज्यान जोगाउन सफल भइन् । घटनाबाट जोगिएकी हेटौँडा(१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलनका अनुसार चारै जना हात समातेर खोला तर्दै थिए । सबैभन्दा पहिले आठ वर्षीया रोशनी स्याङ्तानलाई भेलले बगाएको थियो । त्यसपछि ११ वर्षीया सुमित्रा भोलन र लगत्तै सीमासहित अन्य बालिका पनि भेलमा परेका थिए ।

    भेलले लछारपछार गर्दै केही तल पुर्‍याएपछि सीमाको हातमा खोलाकिनारको झाडी परेको थियो । झाडी समातेर उनी खोलाबाट बाहिरिन सफल भइन् । सामान्य चोट लागेपछि उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । सीमा खोलाबाट बाहिरिँदा स्थानीयवासीले अन्य बालिकाको खोजी सुरु गरिसकेका थिए । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० जना प्रहरी खोजीमा खटिएका थिए ।

    बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बलको १४ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काको नेतृत्वमा १७ जनाको टोली पनि खोजीमा परिचालन भएको थियो । नेपाली सेना र स्थानीयवासीसमेत खोजीमा जुटेका थिए ।

    खोजीका क्रममा हेटौँडा(१९ बस्तीपुरका दीप स्याङ्तानकी आठ वर्षीया छोरी रोशनी घटनास्थलबाट करिब ६०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनिता भने रातभर फेला परेका थिएनन् । अँध्यारोसँगै पानीको बहाव बढ्नुका साथै खोलाले बगाएर ल्याएका ढुङ्गा र गेग्रानका कारण खोजी कठिन भएको थियो ।

    बुधबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलाको तल्लो तटीय क्षेत्रमा पुनः खोजी थालेको थियो । सोही क्रममा विनितालाई भेलले बगाएको स्थानदेखि करिब चार किलोमिटर तल मृतावस्थामा फेला पारिएको थियो । सुमित्रा भने अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बेपत्ता सुमित्राको खोजी भइरहेको जानकारी दिनुभयो । हेटौँडा(१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीले वासुदेव खोलाको तल्लो क्षेत्रमा सुमित्राको खोजी गरिरहेका छन् ।

    विद्यालयबाट घर फर्किएका चार बालिकामध्ये दुई जनाको मृत्यु भएको छ, एक जना बेपत्ता छिन् भने एक जना ज्यान जोगाउन सफल भएकी छन् । वासुदेवको भेलले दुई परिवारबाट छोरी खोसेको छ भने अर्को परिवारलाई छोरी फर्किने आशामा राखेको छ ।

    यो घटना चालु आर्थिक वर्षमा मकवानपुरमा खोला तथा पानी जमेको खाल्डोका कारण भएको पहिलो मानवीय क्षति भने होइन । आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै हेटौँडा(६ रोहिणी कोलोनीस्थित कर्रा खोलाछेउको पानी जमेको खाल्डोमा डुबेर करिब १४ वर्षीय युकेश राईको मृत्यु भएको थियो ।

    त्यसको करिब दुई सातापछि बकैया गाउँपालिका–४ नयाँदमारस्थित चिरुवा खोल्सीमा आएको आकस्मिक भेलले दुई महिलालाई बगाएको थियो । खोल्सी तर्ने क्रममा ४१ वर्षीया तारा भोलन र ५० वर्षीया सुनमाया वाइवा भेलमा परेका थिए । स्थानीयवासीले दुवैलाई घाइते अवस्थामा उद्धार गरेका थिए । प्राथमिक उपचारपछि हेटौँडास्थित अस्पताल ल्याइएकी ताराको साउन १९ गते उपचारका क्रममा मृत्यु भएको थियो । सुनमाया उपचारपछि घर फर्किनुभएको थियो ।

    कर्राको खाल्डो, चिरुवा खोल्सी र वासुदेव खहरेका घटना फरक प्रकृतिका छन् । कर्रामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो भने चिरुवा र वासुदेवमा खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएको थियो । यी घटनाले वर्षायाममा जिल्लाका खोला, खोल्सा, खहरे र पानी जमेको खाल्डो जोखिमपूर्ण हुने देखाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा खोलाले बगाएर तथा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । आर्थिक वर्ष २०८२८३ मा मकवानपुरमा डुबाइ तथा बगाइका छ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु, एक जना घाइते र एक जना बेपत्ता भएका थिए । मृतकमध्ये एक जना बालिका थिइन् ।

  • जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

    रासस
    सप्तरी, ४ भदौः सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका(१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका ३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए ।


    दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिए । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उनले तीमध्ये दुई जनाको मृत्यु भएको बताए ।


    स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिए । उनले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राखे ।
    यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी–४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।

    सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि उहाँ निको हुनुभएको थियो । आर्थिक वर्ष २०८१–८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

    “जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने र घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्दछ”, सिनियर अहेब बोहोराले भने ।


    सङ्क्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आज आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण र बच्ने उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बोहराले बताए ।

    उनका अनुसार नगरपालिकाका ८४ वटा आमा समूहलाई पनि परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमा उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ ।

    अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन बोहराले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिन झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिनसमेत आग्रह गरे ।

  • पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता

    पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिका बेपत्ता


    हुम्ला, ४ भदौः पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका १ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए । उनका अनुसार खार्पुनाथ १ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।

    कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए । उनका अनुसार आज बिहान करिब ११ः०० बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहाउन गएका खार्पुनाथ १ तल्लो लालीका दुई बालबालिकालाई अचानक कर्णाली नदीमा आएको बहावले बगाएको थियो ।

    बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको हुनसक्ने खार्पुनाथ १ का वडाध्यक्ष जयबहादुर शाहीले बताए । उनका अनुसार घटना भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरीप्रशासनलगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थालेका छन् ।

    नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनका अनुसार दुवै जनाको खोजीलाई तीव्र पारिएको छ ।

  • बाजुरामा पहिरोले दुई घर पूर्ण रूपमा क्षति

    बाजुरामा पहिरोले दुई घर पूर्ण रूपमा क्षति


    बाजुरा, ४ भदौः जिल्लाको गौमुल गाउँपालिका–३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको पहिरोले दुई घर पुरिएका छन् । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर वटा पूर्ण रूपमा क्षति भएका हुन् । गौमुल–३ का वडाध्यक्ष गोरखबहादुर बोहराका अनुसार पहिरोले स्थानीय बुदी बोहरा र पूर्णिमल बोहराको घरसँगै भित्र रहेका पशुचौपाया समेत पुरिएका छन् । एक्कासी माथिबाट आएको पहिरोले घर पूर्ण रूपमा पुरिएका बताउँदै उनले आसपासका अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेका जानकारी दिए । भिरालो जमिनका कारण तलका घर जोखिममा परेका उनको भनाइ छ ।

    लगातार भारी वर्षा भइरहनुका साथै अहिले अँध्यारो भइसकेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय भरत बोहराले बताए । उनका अनुसार गाउँका थप २० परिवार पहिरोको उच्च जोखिममा छन् । पहिरो दिउँसोको समयमा गएकाले घरभित्र रहेका स्थानीय सुरक्षित स्थानमा गएका भन्दै मानवीय क्षति भने नभएको वडाध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार घरभित्र रहेका अन्नपात, भाँडाकँुडा, धनमाल, पशुचौपाया सबै पुरिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीसहितको टोली त्रिपाल, पाललगायत उद्धारका लागि आवश्यक सामग्रीसहित घटनास्थलमा खटिएको छ । केन्द्रबाट घटनास्थल पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बताउँदै उक्त घटनाको यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।

  • प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

    प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

    भद्रपुर (झापा), ४ भदौः झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन् ।

    अघिल्लो आव २०८१/८२ मा जम्मा ७८७ जना मात्र यो सेवा लिएका थिए । त्यस्तै, आव २०८०/८१ मा भने अस्पतालबाट ८१९ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअनुसार गत आव २०८२÷८३ मा ७६५ जनाले सामान्य प्रसूतिमार्फत नवजात जन्माएका थिए भने ९२२ जनाले शल्यक्रिया सेवा लिएका थिए । प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनाका लागि ‘भ्याकुम’ प्रविधिको प्रयोग गरिएको थियो ।

    अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताका अनुसार पछिल्लो समय प्रसूति सेवामा सेवाग्राहीको चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो । यसअघि ड एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहेकामा गत वर्ष डा विपा पोखरेल र चालु वर्षको असारदेखि डा एलिजा भट्टराई थपिएपछि अस्पतालमा हाल तीन जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञले नियमित सेवा दिइरहेका छन् । अस्पताल प्रशासनले सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तारसँगै सेवाको गुणस्तर सुधार हुँदा स्थानीय तथा आसपासका क्षेत्रका महिला निजी स्वास्थ्य संस्थाको सट्टा प्रादेशिक अस्पतालमा प्रसूति गराउन आकर्षित भएको जनाएको छ ।

  • कास्कीमा बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

    कास्कीमा बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

    कास्की, ३ भदौः पोेखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३० गते बगेर बेपत्ता भएका दुई किशोरको शव भेटिएको छ । सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी खोजी गर्ने क्रममा पोखरा–१४ चाउथेका १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा आज भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअघि अर्का बेपत्ता स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मङ्गलबार घटनास्थलभन्दा डेढ किमी तल खोलाको बीचमा ढुङ्गाले अड्किएको अवस्थामा फेला परेको थियो ।

    सेती नदीमा खोजी गर्ने क्रममा तनहुँमा भेटिएको राईको शव आमाले सनाखत गरेपछि परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको सहायक प्रजिअ बरालले बताए । साथीहरुसँग फुटबल खेल्न विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरी जाने क्रममा दुवै जनालाई खोलाले बगाएको थियो ।

  • मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय


    काठमाडौँ, ३ भदौः सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ । यही भदौ २० गते मनाइने दिवसका लागि ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका तरिका पनि बदलिँदै गएकाले प्रविधिको सुरक्षित प्रयोग र सजगतालाई प्राथमिकता दिँदै यस वर्षको नारा तय गरिएको हो । विशेषगरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी र वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी तथा शोषणबाट नागरिकलाई जोगाउन ‘डिजिटल’ माध्यमको सुरक्षित र जिम्मेवार प्रयोगबारे जनचेतना बढाउने उद्देश्य नाराले बोकेको छ ।

    मन्त्रालयका अनुसार सो दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण तथा रोकथाम, पीडितको संरक्षण र पुनःस्थापना तथा सम्बन्धित निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ । मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सबैको सहकार्य र ऐक्यबद्धतामा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

  • लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी

    लघुवित्त पीडितसँग पूर्वराष्ट्रपति भण्डारी

    ललितपुर, २ भदौः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मानवअधिकार आयोग अगाडि धर्नामा रहेका लघुवित्त पीडितलाई भेटेर उनीहरूका समस्या सुनेकी छिन् । पूर्वराष्ट्रपति भण्डारी आज ललितपुरको पुल्चोक पुगेर गत शुक्रबारदेखि राष्ट्रिय मानवअधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घ कार्यालय अगाडि धर्नामा बसेका लघुवित्त पीडितको गुनासो सुनेकी हुन् ।

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका सर्लाही जिल्ला अध्यक्ष हरिप्रसाद मैनाली, महिला संयोजक विष्णु बोहोरा लगायतको नेतृत्वमा अभियानका बागमती प्रदेश अध्यक्ष तेजेन्द्र रायमाझीलगायत अभियानमा आबद्ध अभियान्ता एवं लघुवित्त पीडित यही साउन २८ गते शुक्रबारदेखि धर्नामा रहेका छन् ।

  • जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौँ, २ भदौः नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुढानिलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा आइतबार राति निधन भएका श्रेष्ठको आज साँझ शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो ।

    श्रेष्ठको अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
    उनको पार्थिव शरीरलाई शोभाभगवतीबाट ढल्को, क्षेत्रपाटी, थहिटी, बाङ्गेमुढा, असन, जनबहाल, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी, जोगीपाखा भएर शोभाभगवती लगिएको थियो । सो क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, शुभेच्छुक तथा सर्वसाधारणले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।


    श्रेष्ठको निधनसँगै नेपाली साहित्यले एउटा कविमात्र नभई नेपाल र नेपाली भाषाबीच साहित्यिक सेतु निर्माण गर्ने एउटा सशक्त स्रष्टालाई गुमाएको छ । उहाँले करिब सात दशकदेखि कविता, गीत, बालसाहित्य, नाटक तथा नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका थिए । मदन पुरस्कार गुठीले उनलाई नेपाल भाषा र नेपाली भाषामा सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य सिर्जना गर्दै नेपाली वाङ्मयमा योगदान पुर्‍याएकामा ‘जगदम्बा श्री’बाट सम्मान गरेको थियो ।

    विसं १९९२ मा काठमाडौँको न्हैकन्तला टोलमा जन्मिएका श्रेष्ठको प्रारम्भिक शिक्षा पद्मोदय माध्यमिक विद्यालयबाट भएको थियो । किशोर अवस्थादेखि साहित्यमा आकर्षित श्रेष्ठले विसं २००६ देखि लेखन सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ विसं २००९ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो । यसैबीच, सङ्गीतकार न्ह्यूँ बज्राचार्यले जनकवि श्रेष्ठको निधन नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताए ।

    उनका अनुसार श्रेष्ठका सिर्जनाले नेपाली गीतसङ्गीतलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । श्रेष्ठका शब्दमा रहेका सरलता, गहिराइ र मानवीय संवेदनाले पुस्तौँपुस्तासम्म प्रभाव पार्ने क्षमता राख्ने उनले बताए । श्रेष्ठ ‘सयौँ थरी बाजा एउटै ताल’, ‘फूलको आँखामा फूलै संसार’ लगायत कालजयी तथा चर्चित गीतका सर्जक हुन् ।

  • चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

    गोरखा, २ भदौः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो । पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ ।

    केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिए । चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताए । उनका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ । “पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उनले भने ।


    सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताए । “पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उनल भने ।


    ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताए । हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताए । उनले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गरे ।


    क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ । “पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उनले भने, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

  • सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    म्याग्दी, २ भदौः विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ । दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गरे । व्यापार राम्रै चले पनि २१ वर्षपछि उनी फेरि आफ्नै जन्मथलो फर्किए । अहिले मालढुङ्गा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।

    फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ । “एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”

    आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् । बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उहाँकी श्रीमती रितुले रामरेखामा घर बनाए । एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाउनुभएको छ भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नाकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।


    तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”

    उहाँको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।

    उनले चिनियाँ मसकोवी जातको हाँस पालेका छन् । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थालेका छन् । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताए । उनका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।

    चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गरे । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”

    तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराउनुभएको बताइन् ।

  • संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

    काठमाडौँ, १ भदौः प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिए ।

  • राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


    काठमाडौँ, १ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


    नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

  • काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो

    काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो


    काभ्रेपलाञ्चोक, १ भदौः खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएकोे छ ।

    पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो । सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जीपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

  • कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    सुनसरी, १ भदौः कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ । थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले भनिन् ।


    उनले दैनिक रु दुई हजारदेखि रु तीन हजार बढीको निगुरो बिक्री गर्दै आएको जानकारी दिइन् । “व्यापार हो, कहिले कम हुन्छ, कहिले बढी पनि हुन्छ । बिहान ३ः०० बजे उठेर निगुरो खोज्न कोशीटप्पु जान्छौँ । छ–सात घण्टामा यहाँ आइपुग्छौँ । यहाँ ल्याएर मुठा पार्ने, केलाउने र व्यापारीलाई बिक्री गर्ने गर्छौँ”, उनले सुनाइन् ।
    निगुरो प्रतिमुठा रु १० थोकमा बिक्री हुने गरेको छ । यसबाट बालबालिकाको खाजा र घरखर्च चलाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीमा सङ्कलन गरी ल्याइएको निगुरो काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारसम्म पुग्ने गरेको छ ।

    अर्का स्थानीय आशादेवीले पनि विगत १५ वर्षदेखि कोशीटप्पु क्षेत्रबाट निगुरो खोजेर ल्याई बिक्री गर्दै आएकी छिन् । उनले दैनिक रु एक हजारदेखि रु दुई हजारसम्मको निगुरो बिक्री गर्ने गरेको बताइन् । “बिहान सबेरै उठेर कोशीटप्पु क्षेत्रमा निगुरो खोज्न जान्छु र त्यहाँबाट ल्याएर यहाँ बिक्री गर्छु । बजार धाउनु पर्दैन, यहीँबाट व्यापारीले सबै खरिद गरेर लैजान्छन्”, उनले भनिन् । “एकमुस्ट पैसा पाइने भएकाले गर्मीमा बिक्रीका लागि धेरै दुःख पनि गर्नु पर्दैन ।” खुसी हुँदै उनले भनिन्, “निगुरोको सिजनमा वर्षमा करिब ५–६ महिना व्यापार हुने र निगुरो बिक्री गरेर घरखर्च टार्न सहयोग पुगेको छ ।”

    स्थानीय व्यापारी भरतप्रसाद गुप्ताका अनुसार स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी दैनिक काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा पठाउने गरिएको छ । कोशीटप्पु क्षेत्र तथा भारतबाट सङ्कलन गरेर ल्याएको निगुरो जम्मा गरी भन्टाबारीबाट महिनामा रु १२ लाखभन्दा बढीको निगुरो काठमाडौँको कालीमाटी बजार पठाउने गरिएको उनले बताए ।


    अर्का व्यापारी रामबहादुर गुप्ताले यहाँ विगत चार–पाँच वर्षदेखि निगुरोको खरिदबिक्री गर्दै आएका छन् । दैनिक स्थानीयले सङ्कलन गरेर ल्याएको निगुरो खरिद गरी काठमाडौँ पठाउने गरेका छौँ । यहाँ रु १० मा खरिद गरेको निगुरो काठमाडौँमा रु १८ देखि रु २० सम्ममा बिक्री हुन्छ । “गाडी भाडालगायत खर्च कटाउँदा हामीलाई केही नाफा हुन्छ”, उनले भने ।


    स्थानीयले सङ्कलन गरेको निगुरो सडकमा बसेर बिक्री गर्नुपर्ने अवस्था नरहेको र व्यापारीले एकमुस्ट खरिद गरिदिने भएकाले सहज भएको व्यापारी गुप्ताले बताए । भन्टाबारी बजार क्षेत्रमा दैनिक हाटबजार लाग्ने गरे पनि निगुरोको मौसममा सडकको एक छेउमा छुट्टै निगुरोको व्यापार हुने गरेको छ । वर्षमा करिब छ महिना सञ्चालन हुने उक्त स्थानलाई ‘निगुरो हाट’ वा निगुरो व्यापार गर्ने स्थानका रूपमा समेत चिनिने गरिएको स्थानीयको भनाइ छ ।

  • चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवनमा विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    नारायणगढ (चितवन), १ भदौः चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो ।

    बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ । गति नियन्त्रण प्रविधि जडान नगरेका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
    विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण, चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण तथा मादक पदार्थ सेवन नियन्त्रणका उपाय प्रभावकारी बनाउनसमेत बैठकले निर्णय गरेको छ ।

    विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्नेछ । बैठकमा जिल्ला सुरक्षा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख, संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षक, प्राविधिक कम्पनीका प्रतिनिधि तथा विद्यालय र शिक्षासँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।

  • तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान


    रासस
    तुलसीपुर (दाङ), १ भदौः तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो । मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो । जब त्यहाँ सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाले तरकारीखेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन् ।


    “बस्ती बसेको लामो समय भयो, तर तरकारीखेती हुँदैनथ्यो”, उनले भने, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो । अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।” आफूले पनि अहिले डेढ बिघामा तरकारीखेती गर्ने गरेको उनले बताए । यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उनको भनाइ छ । “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उनले भने, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चाबच्चीलाई सहजै पढाउन सकिएको छ ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन् । फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उनको भनाइ छ ।

    अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारीखेती गर्छन् । उनले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गर्छन् । “मैले तरकारीखेती गर्न थालेको १२ वर्ष भयो”, उनले भने, “राम्रो आम्दानी गर्दै आएको छु ।” हिउँदे सिजनमा भने उहाँले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्छन् । खेतीबाटै भएको आम्दानीले घरव्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उनको भनाइ छ ।

    त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आएका छन् । उनले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारीखेती गरेको सुनाए । त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

    त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ । अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारीखेतीमा व्यस्त छन् । स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन् । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारीखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् । किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ । बीउ बैंक सञ्चालन भएको छ । त्यसबाट किसान उत्पे्ररित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिए ।

  • कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

    कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

    कर्णाली, १ भदौः कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
    प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार पहिरामा परी मृत्यु भएका परिवारलाई दुर्घटना बिमामार्फत राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर तथा विद्यालयको पुनर्निर्माण र मर्मत गर्ने तथा घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।

    पहिरोबाट पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत आवश्यक सहयोग उपलब्ध गराउने निर्णयसमेत भएको उनले बताए । जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा पहिरोका कारण अवरुद्ध राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।

    पूर्ण रूपमा क्षति भएका घर पुनर्निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत भएको सचिव विकले जानकारी दिए । विपद् प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले आयोजना गर्ने तथा राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गर्ने जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिने निर्णय भएको उनले बताए ।