Category: स्थानीय

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, १ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

  • भाइरल ज्वरो आएपछि मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी हुँदै काठमाडौं ल्याइयो

    भाइरल ज्वरो आएपछि मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी हुँदै काठमाडौं ल्याइयो


    बैतडी, ३१ साउनः बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी हुँदै धनगढीबाट काठमाडौँ ल्याइएको छ ।
    स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् । “स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भनिन् ।


    मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उनी दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो । मन्त्री लम्साललाई भाइरल ज्वरो आएको खबर सार्वजनिक भएका छन् ।

  • स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली


    झापा, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन् । नेकपा (एमाले) झापाद्वारा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे ।


    “हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ”, उनले भने, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।” नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई जोगाउन पार्टीलाई विभिन्न समयमा पुनःगठन गर्दै अघि बढाइएको स्मरण गराए ।

    विसं २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका अप्ठ्यारा दिनको चर्चा गर्दै उनले विश्वभर कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्दा सिद्धान्त तथा निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गरे । क्ष ओलीले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    “पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण बन्द गरिनुपर्छ”, उहाँले भन्नुभयो । पदको पछाडि नदौडी देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको असली पहिचान भएको अध्यक्ष ओलीको भनाइ थियो । सो अवसरमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखे ।

  • पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    ललितपुर, ३१ साउनः पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आज सार्वजनिक गरिएको निष्कर्षअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने निर्णय उल्लेख छ ।

    विसं २०३३ मा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय सङ्कटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कुनुभएको स्मरण गर्दै आज देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने विषय दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

    तेस्रो बुँदामा नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्दै नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ भनिएको छ ।

    वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकाश दिइने चौथो बुँदामा समेटिएको छ । आज सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ ।

    सम्मेलन समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा शशाङ्क कोइरालालगायतका नेताहरुले सम्बोधन गरे ।

  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    रासस
    काठमाडौँ, ३१ साउनः सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

    कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

    मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

    बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ ।

    त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ । बैठकले पहिरो तथा बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    त्यसैगरी नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने तथा स्थानीय तहले पहिचान गरेका अन्य आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन भनिएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको र हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    देशका विभिन्न स्थानमा बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिमसमेत रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।

  • बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

    बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त


    काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ । विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान गरेको छ ।

  • जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ ।

    उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ घरमा क्षति भएको छ ।

  • जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    कर्णाली, ३१ साउनः अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

    उक्त पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।

    शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।

    त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको उनले बताए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    भद्रपुर (झापा), ३१ साउनः टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो ।

    दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

  • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, ३१ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा भासिने क्रम जारी रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

  • थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो

    थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो

    राष्ट्रिय समाचार समिति
    रोल्पा, ३० साउनः रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो । फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेको प्रहरीले जनाएको छ । पहिरोमा परी थवाङ–५ निवासी अन्दाजी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन् ।

  • नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

    नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

    त्रिशूली (नुवाकोट), ३० साउनः नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ । नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस दुर्घटनालगत्तै उद्धारको लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) बिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुई जनाको अस्पताल पुर्‍याएलगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका छन् । दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० का ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारको लागी काठमाडौँ पठाइएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) बिनोद ढकालका अनुसार काठमाडौंँबाट दुप्चेश्वर धाम दर्शनको लागी तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्याङ्गस्थित सडक छेउमा रोकिएको समयमा आफैँ गुडेर दुर्घटनामा परेको हो ।

    बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिई दुवै गाडी सडकबाट करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

  • स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    स्वास्थ्य प्रणाली मजवुत गराउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल

    ३० साउन, काठमाडौं । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरुपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल ९एसटीपी०लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढंगले लागू गर्ने भन्ने विषयमा छलफल भयो।

    छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा पवनजंग रायमाझीसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरु सहभागी भए । उनीहरुले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकल प्रयोगका सजिला—अप्ठेरा पाटा केलाउँदै सुधारका लागि समेत सुझाव दिए । फरक फरक विभाग तथा महाशाखाले बनाउँदाखेरि प्रोटोकलमा समन्वयको अभाव भएकाले सो कुरा समाधान गरिनुपर्ने पनि बताए ।


    डा रायमाझीका अनुसार आवश्यकता हेरी अहिले १९ वटा प्रोटोकल बनाइएका छन्, जसमध्ये केहीमात्र स्वीकृत भएर लागू भइसकेका तथा कतिपय प्रक्रियामै रहेका छन्। लागू भएकाहरुमा पनि एकरुपता कायम गर्न समयानुकूल परिमार्जनको आवश्यकता छ। यस्तै, बिरामी परीक्षणकै क्रममा पनि डाक्टरले यसो गरे कसो होला भन्दै सीटी स्क्यान, एमआरआई लगायतका लागि अनावश्यक प्रिस्क्रिप्सन गरिदिने र त्यसले आर्थिक भार बिमा कार्यक्रममा थपिने भएकाले आवश्यकताको आधारमा मात्र परीक्षण गर्ने गरी निश्चित प्रोटोकल बनाउन आवश्यक रहेको र त्यसका लागि पनि छलफल प्रभावकारी हुने उनको भनाइ छ।

    प्रोटोकलको परिमार्जनसहित प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिहरू कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने र सरकारी कोषको दुरुपयोग रोकिनुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहज पुग्ने विश्वास गरिएको छ।

  • पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    काठमाडौँ, ३० साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा पनि भू्स्खलनका कारण ले घोराही–थबाङ सहिद मार्ग पनि दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

  • मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

    मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

    रासस
    कास्की, २९ साउनः गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्बन्ध टुटेको छ । अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्‍याउनुका साथै एउटा कच्ची घर बगाएको छ ।

    बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण ७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् ।

    “प्राकृतिक विपद्का कारण केही दिनअघि पनि भौतिक क्षति पुगेकामा हिजो राति पुनः मोदीको बाढीले तटीय क्षेत्रमा सडक, पुललगायत संरचना बगाएको छ । घान्द्रुकको पोखरासँगको सम्पर्क टुट्दा पर्यटकमा समेत असर पुगेको छ”, अध्यक्ष केसीले भने । उनका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटीका ४४ वर्षीय विजय गुरुङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको छ ।

    यसैगरी स्थानीय ४० वर्षीया माया पाइजाको टिनले छाएको कच्ची टहरा पनि बाढीको उच्च जोखिममा परेको अध्यक्ष केसीले जानकारी दिए । जोखिम बढेपछि पाइजासहित चार सदस्यीय परिवारलाई स्थानीय छिमेकीको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

    त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाउँदा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । स्याउलीबजारमा मनप्रसाद गुरुङको ढुङ्गा-माटोबाट निर्मित दुईतले कच्ची घरमा सञ्चालन हुँदै आएको स्याउलीबजार गेस्टहाउसमा बाढी पस्दा भौतिक संरचना तथा होटलका विभिन्न सामान बगाएको बताउँदै घरसमेत पूर्ण रूपमा जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    अन्नपूर्ण गाउँपालिका(११ छुम्रुङबेदीस्थित घान्द्रुक जलविद्युत् आयोजनामा छुम्रुङ खोलामा आएको बाढीका कारण कामदार बस्ने कोठा, शौचालय, भान्साकोठा तथा जलविद्युत् आयोजनाका विभिन्न सामग्रीमा क्षति पुगेको उनले बताए । उनका अनुसार अन्नपूर्ण ५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने बिहान सकुशल उद्धार गरिएको थियो ।

    बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा ‘मेटल पुल’ बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको छ । बाढीले नयाँ पुल क्षेत्रमा रहेको विद्युत्का खम्बासमेत बगाएको छ भने सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

    मोदी खोलाले ठाउँठाउँमा क्षति गरेपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानसहित जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको थियो । त्यसैगरी, मादी गाउँपालिका १ हुँगीमा मादीको नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको एउटा टिपर बगाएको बताउँदै निर्माणाधीन संरचनामा समेत क्षति पुगेको सहायक सहायक प्रजिअ बरालले जानकारी दिए ।

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिम, २९ साउनः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भए । सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

    चार वर्षमा चार मुख्यमन्त्री

    प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बनेका थिए । यहाँ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल रहेका थिए ।

    उनले विसं २०७९ पुष २८ देखि सोही वर्षको माघ २६ गतेसम्म जिम्मेवारी सम्हाले । त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले माघ २७ देखि २०८१ वैशाख ५, दीर्घबहादुर सोडारीले वैशाख ६ देखि सोही वर्ष साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसपछि फेरि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनको हुन् । उनी पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रोपटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बने । शाहले सत्ता समीकरण बदलिएपछि बिहीबार पदबाट राजीनामा दिएका हुन् ।


    यसरी दोस्रो प्रदेशसभा कार्यकालको सुरुआतदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । यहाँ कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव पर्दै आएको छ । हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज छ । यहाँ नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ५२ जना रहेका छन् ।

  • खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    खोटाङ, २९ साउनः जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२–८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२–०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो ।

    प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना, बहुविवाहको मुद्दा सम्बोधन गरिएको छ ।

    यस्तै, गर्भ संरक्षणविरुद्धको कसुर, लागुऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैंकिङ कसुर, पशुपन्छीसम्बन्धी कसुर, जुवा तथा मानव बेचबिखनलगायतका ८४ वटा मुद्दा फछ्रर्योट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार यसअघि आव २०८०–८१ मा २१५ वटा मुद्दा दर्ता भएकामा २१५ वटै फछ्रर्योट भएका थिए । आव २०८१–८२ मा १२० वटा मुद्दा दर्ता भएकामा ९९ वटा फछ्रर्योट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ । त्यस्तै, आव २०८२–८३ मा जिल्लामा ७२ जनाले आत्महत्या गरेका छन् । महिला तथा बालबालिकाविरुद्धका मुद्दा आव २०८०–८१ मा ३७, २०८१र८२ मा ४७ र २०८२–८३ मा २६ वटा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    जिल्लामा ३१ महिला, १२ पुरुष र २२ बालबालिका गरी ६५ जना हराएकामा सबै फेलापरेको प्रहरीले जनाएको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट हराएका व्यक्तिको हताहतमा प्रहरी परिचालन गरेर खोजी गरी सम्बन्धित व्यक्ति तथा परिवारलाई बुझाइएको छ । त्यस्तै, ८६ वटा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । पटकपटक दुर्घटना गराउनेमध्ये एक जना सवारी चालकलाई निलम्वनका लागि सिफारिस गरिएको छ ।

    प्रहरीले दिएको तथ्याङ्कअनुसार गत आवभरिमा ६७८ वटा उजुरी तथा निवेदन कार्यालयमा प्राप्त भएको छ । आकस्मिक सहायताका लागि दुई हजार ४४० वटा कल आएको तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७४० वटा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन र ओसारपसार नियन्त्रणबाट रु एक लाख ५५ हजार ३०० राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन, डिभिजन वन तथा सम्बन्धित कार्यालयसँगको समन्वयमा उक्त राजस्व रकम सङ्कलन गरिएको प्रहरीले जनाएको छ । जिल्लाको शान्तिसुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन आफूहरू सक्रियतापूर्वक लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    नागरिकसँग प्रहरीको सम्बन्धलाई अझ सुदृढ बनाउनेतर्फ प्राथमिकता दिने, समुदायसँगको सहकार्य बढाउँदै अपराध न्यूनीकरण तथा नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रहरीको प्रमुख दायित्व भएकाले सोहीअनुसार अगाडि बढेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।

  • रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

    रोल्पा, २९ साउनः रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

  • बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

    बाजुरा, २९ साउनः अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन् । गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् । त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ ।


    उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

    सुदूरपश्चिम, २८ साउनः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । यसअघि गत असार ३१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकामा संवैधानिक व्यवस्थाअनुसार आज अन्तिम दिन विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरे ।


    केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज देखिएको छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य रहेका छन् ।

  • पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, यस्तो दिए सन्देश

    पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, यस्तो दिए सन्देश

    काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किएका छन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते भएका उनी पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुगेका थिए । स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुगेका हुन् ।


    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, एनपी साउद, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत पुगेका थिए । पूर्व प्रधानमन्त्री देउवालाई विमानस्थल परिसरदेखि निवाससम्म देशभरबाट आएका कांग्रेसका सयौँ नेता कार्यकर्ताहरूले नाराजुलुशसहित स्कर्टिङ गरेका थिए ।

    स्वदेश फर्केपछि अपिल जारी

    नेता देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गरेका छन् । उनले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताए ।


    “मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु । म स्पष्ट रूपमा भन्न चाहन्छु–कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उनले भनेका छन्, “विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौँ । त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन वोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।”

    उनले आफूले राजनैतिक रूपमा लिनुपर्ने केही नभएको तर मेरो विगतको अनुभव मुलुक मुलुक र पार्टीले लिन सक्नु पर्ने र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको पनि उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका साथीहरू अहिले निराश भएको अवस्थामा रहेका र उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको बताएका छन् ।

    उनले २०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गर्नु भएको स्मरण गर्दै फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताए ।


    “मैले सँधै भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु,” उनले अपिलमा भनेका छन्, “कानुन र नीति विपरित परित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरूप काम गर्नेछु ।”

  • रोल्पा पहिरो अपडेटः चार जनाको मृत्यु, नौ बेपत्ता

    रोल्पा पहिरो अपडेटः चार जनाको मृत्यु, नौ बेपत्ता

    रोल्पा, २८ साउनः रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । यसैगरी, पहिरोमा परेर घाइते भएका थवाङ गाउँपालिका–५ का २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।

    प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।

    बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका प्रहरी निरीक्षक श्रेष्ठले बताए । थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति पहिरो गएको हो ।

  • रोल्पा पहिरो : बेपत्ताको खोजी, राहत र सुरक्षित स्थानान्तरण गर्न रास्वपाको आग्रह

    रोल्पा पहिरो : बेपत्ताको खोजी, राहत र सुरक्षित स्थानान्तरण गर्न रास्वपाको आग्रह

    काठमाडौँ, २८ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको पहिरोमा परी सात जनाको निधन भएको र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ।

    विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त ध्यान नपुग्दा बर्सेनी नागरिकले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै विज्ञप्तिमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न माग गरिएको छ । विपद्को समयमा सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गर्दै रास्वपाले प्रभावित क्षेत्रमा निःशुल्क उपचार, उद्धार र राहतको एकीकृत व्यवस्था मिलाउन समन्वयकारी भूमिका खेल्न सरकारलाई आग्रह गरेको छ ।

    अविरल वर्षाका कारण देशभरको जनजीवन र सडक सञ्जाल प्रभावित भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि सर्वसाधारणमा अपिल गरिएको छ । साथै, विपद्पछिको उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन रास्वपाले आफ्ना पार्टी पङ्क्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

  • रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

    रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

    दाङ, २८ साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी गर्न उनले सरोकार भएका निकायलाई अनुरोध गरे ।


    उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गरेका छन् । उनले घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर समन्वय गरिरहेको उल्लेख गरे. ।


    उनले सम्पर्कविहीन नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिए । खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताए ।
    उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत उनले बताए ।

    पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए ।


    पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई समन्वय र सहकार्य गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् । खोज तथा उद्धार कार्य सम्पन्न भएपछि प्रभावित परिवारको पुनस्र्थापना तथा आवश्यक राहतका कार्यक्रम तत्काल अघि बढाइने उनको भनाइ छ ।

    वर्षायाममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन् । उनले विपद्को जोखिम वा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत नागरिकलाई अपिल गरे ।

  • यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    इलाम, २७ साउनः यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२\८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१\८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०\८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।

    कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो । त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए । त्यस्तै, आयकरबाट रु ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

    त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो । यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।

  • म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दी, २७ साउनः म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए ।


    “अघिल्लो वर्षको तुलनामा थप २० हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भए पनि वैशाख र जेठ महिनाको असिनाले बोट हुर्किन तथा दाना बढ्न नपाउँदा उत्पादन घटेको हो,” उनले भने, “अघिल्लो वर्ष प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएकामा यस वर्ष आलुको उत्पादकत्व घटेर प्रतिहेक्टर १८ मेट्रिकटन भएको छ ।”

    कार्यालयले जिल्लाका विभिन्न २४ ठाउँमा नमूना सङ्कलन गरेर उत्पादनको अवस्था पहिचान गरेको हो । गत वर्ष एक हजार ८२० हेक्टर क्षेत्रफलमा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०८०÷८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

    केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार हुने गरेको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनेको बताइन् ।


    “असिनाले हुर्कंदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ,” उनले भनिन्, “पोहोर साल ५० मुरी आलु फलाएको थिए ।”

    कृषक छन्त्यालका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ ।

    सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा ३३ हेक्टर क्षेत्रफलमा खायन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको कार्यालयले जनाएको छ । कार्यक्रममार्फत कृषक समूह र सहकारीहरूलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको कार्यालय प्रमुख बास्तोलाले बताए । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

  • विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

    विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौँ, २७ साउनः विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तरराष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।

    यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवद्र्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था÷निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ । दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ ।

    यस्तै, बिहान भृकुटीमण्डपदेखि मूल समारोहस्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ । मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धन विषयमा उच्चस्तरीय प्यानल छलफलको आयोजना गरिएको छ । यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । यस दिवसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता र साझेदारी बढाउने प्ररेणा दिएको छ ।

    सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवद्र्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ । दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ ।

    राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा यही साउन १ गते बसेको बैठकले अन्तरराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ ।

  • लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

    लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

    रौतहट, २६ साउनः रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा आज तीन बालबालिका वेपत्ता भएका छन् । दिउँसो करिब २ः०० बजे सो खोलामा नुहाउने तथा पौडी खेल्नेक्रममा बेपत्ता भएका बालबालिकाको खोजीकार्य जारी रहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन वेपत्ता भएका हुन् । सबै १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।

    सो घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात जना प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका १४ जनाको टोली उद्धारकार्यमा प्रयोग गरिने ‘रबर बोट’सहित घटनास्थलमा परिचालित भएपनि हराएका बालबालिकाको अवस्था अज्ञात रहेको छ ।

    बेपत्ता बालबालिकाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीसहित स्थानीयले खोजतलास जारी छ । घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब छ किलोमिटर दक्षिणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

    घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

    पोखरेबगर (म्याग्दी), २६ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।

    पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बिहान ३ः३५ को समयमा विद्युत्गृह माथिबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।

    झ्यालबाट हाम फालेर ज्यान जोगाए

    विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ । सिफ्ट इञ्चार्जसमेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छविलाल अर्यालले विद्युत्गृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताए ।

    “कन्ट्रोल रुममा डियुटी गरिरहेको अवस्थामा खस्याक्क गरेको आवाज आएपछि भुईतलामा रहेका सुरेन्द्रलाई खबर गरेर भाग्दा भाग्दै १० सेकेण्डले पहिरोबाट बचे,” उनले भने, “झ्यालबाट हाम फालेर क्याम्पमा पुगेका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि बिहान ४ बजेतिर मलाई रसी दिएर बाहिर निकाल्नुभएको हो । चोटपटक नलागेपनि पहिरोले पुरिएको विद्युतगृहभित्र २०–२५ मिनेट के–भयो केही पत्तैm पाइन, नयाँ जिवन पाएको महशुस गरेको छु ।”

    आयोजना बन्द

    पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ । अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमाना कुरिलाबगरमा बाँध रहेको आयोजनामा तीन हजार ५०० मिटर लामो सुरुङबाट ल्याइएको पानी ४८५ मिटर उचाईबाट एक हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिएको थियो ।

    विसं २०७४ देखि निर्माण सुरु भई विसं २०८० असार महिनादेखि विद्युत् उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो । प्रहरी निरीक्षक तिमिल्सिनाले आयोजनामा पुगेको क्षतिको मूल्याङ्कन सुरु गरिएको र पूर्ण विवरण आउन केही समय लाग्ने बताए ।
    पोखरेबगरवासी शोकमा

    पोखरेबगरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट सक्खा पहिरो खसेर जनधनको क्षति पुगेको बताए । रातिको समयमा प्रवेशद्धारमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका दीपकको भाग्दाभाग्दै ज्यान गएको घटनाले गाउँपालिकाको केन्द्र पोखरेबगर शोकमा डुबेको बताए ।
    अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सहयोगी र स्वदेशमै केही गराँै भन्ने भावनाले सङ्घर्ष गरिरहेका एक जना वडावासीलाई गुमाउनुपर्दा दुःख लागेको प्रतिक्रिया दिए । आयोजना र मृतकका परिवारबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि शव परीक्षणका लागि अस्पताल पठाइएको हो ।

  • एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

    एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

    काठमाडौँ, २६ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया प्रत्येक दलको सिट सङ्ख्यालाई मुख्य आधार मानिने जनाइएको छ ।

    मन्त्रालय बाँडफाँट गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य सङ्ख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ । मन्त्रालय बाँडफाँटमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ ।

    जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यसपछि यही क्रम पालैपालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिने दुई दलले जनाएका छन् । यही साउन ९ गते दुई दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो ।