Category: स्थानीय

  • मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान


    काठमाडौँ, १९ साउनः देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागद्वारा जारी विज्ञप्तिका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ ।

  • जुम्लाको दक्षिण एसियाकै पुरानो मानिएको देवदारको रुख ढल्यो

    जुम्लाको दक्षिण एसियाकै पुरानो मानिएको देवदारको रुख ढल्यो

    कर्णाली, १९ साउनः जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन् । यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन ।

    स्थानीय ६६ वर्षीय कालिका भट्टराईका अनुसार धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदार यही साउन १७ गते आइतबार ढलेको हो । स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार देवदार दक्षिण एसियाकै सबैभन्दा बलियो र दीर्घायु काठमध्ये एक हो । कर्णालीको स्थानीय भाषामा यसलाई ‘द्यार’ भनिन्छ । योगी नरहरिनाथको भनाइ उद्धृत गर्दै उहाँले पाण्डवकालदेखि नै यो रूख अस्तित्वमा रहेको भन्ने जनविश्वास रहेको छ ।

    विसं २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दै जरा कुहिएको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने उनको अनुमान छ । तिला गाउँपालिका–४ का ८४ वर्षीय वीरबहादुर सिंहले देवदारको आयु चार हजार वर्षसम्म हुने विश्वास रहेको बताए । “एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन लाग्छ”, भन्ने पुरानो भनाइ सुनाउँदै उनले देवदारलाई अत्यन्त टिकाउ र बहुउपयोगी काठका रूपमा चिनिने बताए । स्थानीयवासीका अनुसार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त रूख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्को खम्बा र धानबालीमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

    स्थानीय निराजन गौतमले गाउँको छायाँ, आस्था र प्राकृतिक सम्पदाका रूपमा रहेको रूख ढलेपछि सो स्थानमा मन्दिर वा चौतारी निर्माण गर्न सरकारसँग माग गरे । डिभिजन वन कार्यालय, जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीले कर्णाली राजमार्गअन्तर्गत कुदारी–लुम्सेरा सडकखण्डमा रहेको देवदार ढलेको जानकारी प्राप्त भएको बताए । उनले ढलेको रुखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने बताए । उनका अनुसार धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको देवदार कोणधारी वनअन्तर्गत पर्ने महत्वपूर्ण प्रजाति हो ।

    लुम्सेरामा एउटा रूख मात्र ढलेको छैन, गाउँलेको सम्झना, आस्था र पुस्तौँदेखि जोगाइँदै आएको प्राकृतिक सम्पदाको एउटा जीवित इतिहास पनि ढलेको अनुभूति स्थानीयले गरेका छन् ।

  • मध्यपहाडी लोकमार्गबाट तीन यात्रुसहित खसेको कार सुनकोशीमा बेपत्ता

    मध्यपहाडी लोकमार्गबाट तीन यात्रुसहित खसेको कार सुनकोशीमा बेपत्ता

    काठमाडौँ, १८ साउनः सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाटनजिक मध्यपहाडी लोकमार्गबाट सुककोशी नदीमा खसेको कार वेपत्ता भएको छ ।
    आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको कार सुनकोशी नदीमा खसेको हो । काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    कारमा स्थानीय ठेकेदार दिलबहादुर तामाङ र गणेश थापा रहेको स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए । उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटेको थियो ।

  • निरन्तर ढुंगा खस्दा मुलिन–नारायणगढ सडकमा यात्रा प्रभावित

    निरन्तर ढुंगा खस्दा मुलिन–नारायणगढ सडकमा यात्रा प्रभावित

    १८ साउन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मुलिन–नारायणगढ सडक प्रभावित भएको छ । वर्षा भइरहेकोले रातिदेखि उक्त सडकखण्डमा सवारी आवागमन केही प्रभावित भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति सडकका विभिन्न ठाउँमा ढुंगा खसेका थिए । एक ठाउँमा रुख ढलेको त्यो । त्यसले गर्दा केही समय सडक एकतर्फ भएको थियो । अहिले सडक सफा गरेर सञ्चालनमा ल्याइएको छ । आज सडक पूर्णरुपमा अवरुद्ध भएको छैन तर वर्षाका कारण बेलाबेलामा ढुंगा(माटो खस्ने भएकोले प्रभावित भएको प्रहरीको भनाइ छ ।

    आज बिहान मात्रै तुइन खोला, सिमलतालका साथै फिस्लिङ क्षेत्रमा ढुंगा खस्नुका साथै रुख ढलेर सडकमा आवागमन प्रभावित भएको थियो । अहिले त्यस क्षेत्रमा मेसिनहरु चलाइएको छ । जहाँ पहिरो खस्छ त्यहाँ सफा गरेर सवारी सञ्चालन गर्ने गरिएको छ । वर्षा भइरहेकोले सडकमा यात्रा खोजिमपूर्ण भएकोले सावधानी अपनाउन चालकहरुलाई प्रहरीले अनुरोध गरेको छ ।

  • गृहमन्त्रीले जनकपुरमा गरे तीन तहका सरकारका प्रतिनिधिसँग छलफल

    गृहमन्त्रीले जनकपुरमा गरे तीन तहका सरकारका प्रतिनिधिसँग छलफल

    १७ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको सक्रियतामा केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले आज तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल भएको छ। गृहमन्त्री गुरुङको निरन्तर पहल र प्रयासपछि जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयको भवनमा मधेश प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका प्रतिनिधिबीच छलफल भएको हो।

    छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर र गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिसहित सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ।

    छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको छ। प्रतिनिधि टोलीले राखेका मागपत्र सरकारले बुझेको र ती मागका विषयमा सम्बन्धित निकायसँग आवश्यक छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

    सरकारले प्राप्त मागहरूलाई तत्कालीन परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षसँग छलफल गरेर आवश्यक निर्णयमा पुग्ने जनाएको छ। छलफलमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै जनकपुरधामको शान्ति–सुरक्षा र सामान्य वातावरणलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो।

    गृहमन्त्री गुरुङको पहलमा भएको यस छलफललाई पछिल्लो समय देखिएको विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सरकारले सबै पक्षलाई संयमित रहन, आपसी सद्भाव कायम गर्न तथा समस्या समाधानका लागि वार्ता र संवादको वातावरण बनाउन आग्रहसमेत गरेको छ। गृहमन्त्री गुरुङले सबै दललाई एकै ठाउँमा ल्याएर निरन्तर सम्बादको प्रयास गरेका थिए ।सोहि अनुरुप आजको सम्बादले सरकार सबै सङ्ग समान शैलिमा सहकार्य गर्न तयार छ भन्ने सन्देश समेत गएको छ।

  • डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

    डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

    १७ साउन, काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नं २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ।

  • विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    विश्वचर्चित पर्वतारोही निर्मल पूर्जाको निधन भएको पुष्टी

    १६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ ।
    बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्न हिमपहिरो गएको थियो ।

    उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पूर्जा बेलायती सेनामा कार्यरत गोर्खा सैनिक थिए । उनी सैनिक पेशा छाडेर पर्वतारोहणमा होमिएसँगै विश्वमा कठिन भन्दा कठिन मानिएका कीर्तिमान बनाउँदै गएका थिए । उनले ८ हजार मिटर अग्ला चुचुरो ५७ पटक चुमिसकेका थिए ।

  • धनुषामा कर्फ्यु कायम, समय घटाइयो

    धनुषामा कर्फ्यु कायम, समय घटाइयो

    १६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रमुख जिल्ला अधिकारीद्वारा साउन १४ गते जारी गरिएको कर्फ्यु आदेश यथावत् रहे पनि सर्वसाधारणको दैनिक जीवन सहज बनाउन बिहान ५ देखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो। प्रशासनले तोकिएको पाँच घण्टाको अवधिभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

    सूचनाअनुसार कर्फ्यु अवधिमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी, फोहोर व्यवस्थापनलगायत अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्। त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–पुर्‍याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्र साथमा राखी आवतजावत गर्न सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनका निर्देशनको पालना गर्न तथा शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

  • मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा

    मधेशवादी दलका नेतासँग प्रधानमन्त्री : प्रदेशको सशक्तिकरण र अधिकारलाई उच्च प्राथमिकतामा

    काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । तराई–मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेश पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याए ।

    संविधान जारी भएपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रस्ट पारे ।


    प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको स्मरण गराए । प्रधानमन्त्रीको सर्वोच्च पदमा रहेर आफूले सम्पूर्ण नेपाली नागरिकलाई सधैँ समान दृष्टिले हेर्ने र प्रधानमन्त्री कार्यालय देशका प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने प्रतिबद्धता उनले दोहोर्‍याए ।


    वर्तमान संवेदनशील परिस्थितिमा देशको संविधानले अङ्गीकार गरेका आधारभूत मूल्य, लोकतान्त्रिक प्रणाली, विधिको शासन तथा राष्ट्रिय एकतामाथि कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने उनको जोड थियो। “संविधान बलियो भए मात्रै सम्पूर्ण नेपालीको भविष्य बलियो हुन्छ” भन्ने राष्ट्रिय सङ्कल्प व्यक्त गर्दै प्रधानमन्त्री शाहले सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक नेतृत्व एवम् आम नागरिकलाई संयमता, संवाद र अटुट राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे ।


    बैठकमा तराई–मधेस क्षेत्रका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, प्रभु साह, शरतसिंह भण्डारी र डा। सिके राऊतलगायतको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई–मधेस क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सङ्घीयताको सबलीकरणका सम्बन्धमा आफ्ना माग, विश्लेषण तथा सुझाव प्रस्तुत गरेका थिए ।

  • राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

    राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

    काठमाडौँ, साउन १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा। रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलका क्रममा प्रथम राष्ट्रपति डा। यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए ।

  • तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    १५ साउन, काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ। स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिकसमक्ष आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ।

  • देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    १५ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।

    सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।

    सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन्। सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

  • देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी

    देवानगञ्ज पुगे गृहमन्त्री, स्थानीयले गरे नाराबाजी

    १५ साउन, काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ । देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो । घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका प्रदर्शनकारीले मन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

    प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका थिए । गोलीकाण्डको छानबिनको माग गरेका स्थानीयले गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि मागेका छन् ।

  • तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    १४ साउन, काठमाडौं । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो । सुनसरी जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहाको गोलबजार क्षेत्र, पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को क्याम्पस वरपरको क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहामा लहान क्षेत्र, पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिम सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, उत्तरमा खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व(पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ। धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    पर्साको वीरगञ्ज महानगरपालिकाका पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र संयमता अपनाउन आग्रह गरेको छ।

  • मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल

    मधेशबासी दलका नेतासँग रविले आज पनि गरे छुट्टै छलफल

    १४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अशान्त बन्दै गएको तराई मधेशको अवस्थालाई लिएर मधेशवादी दलका नेताहरुसँग छलफल गरेका छन् । देशमा देखिएको वर्तमान समस्याको निकासका सम्बन्धमा मधेश केन्द्रित दलसँग छलफल भएको हो । छलफलपछि लामिछानेले अहिले आरोप प्रत्यारोप छाडेर बलेको आगो निभाउन लाग्नु पर्ने बताए । सरकारसँगै राजनीतिक दल, समाज, सञ्चारमाध्यम, धार्मिक व्यक्तिहरु समेत अहिले जिम्मेवार बन्नुपर्ने उनले बताए । नेताहरुबाट समेत यस्तै सुझाव आएको उनले बताए । लामिछानेले कसैलाई पनि अरुको हानी नोक्सानीमा नलाग्न र आफन्तलाई त्यस्तो काममा जानबाट रोक्न आह्वान समेत गरेका छन् ।

  • प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति

    प्रधानमन्त्री बालेनले पहिलो पटक भेटे राष्ट्रपति

    १४ साउन, काठमाडौं । सरकार गठन भएको करीव ४ महिनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । आज देशका नाममा सम्बोधन गरेपछि उनी राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए । भेटवार्ताका क्रममा उनीहरुबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ। सुनसरीबाट सुरु भएको दंगा अन्य जिल्लामा समेत फैलिन थालेसँगै लामो समय निष्कृय रहेका प्रधानमन्त्री आजबाट सक्रिय भएका छन् ।

  • प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?

    प्रधानमन्त्रीले गरे राष्ट्रका नाममा सम्बोधन, के भने ?

    १४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् ।
    बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे । ‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’


    यस्तो छ प्रधानमन्त्रीको पुरै सम्बोधन
    म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरूसामू उपस्थित भएको छु ।

    केही दिनअघि सुनसरीको देवानगञ्ज, सिराहालगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।

    यस दुस्खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।

    घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी कमजोरी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।

    घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।

    घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृहमन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु ।

    यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

    अवस्था थप नबिग्रियोस्कु, नै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।

    परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।

    स्थानीय तहसमेत जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

    स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नुभएको छ ।

    साथै, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।

    यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु ।

    साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।

    आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन् ।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।

    धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दुस्खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन ।

    आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,

    हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

    हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि ।

    धन्यवाद

  • स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

    स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

    १३ साउन, काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग छलफल गरेका छन् ।

    सञ्चार मन्त्रालयमा आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए ।

    छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिए । साथै फोहोर व्यवस्थापन बारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने बताए ।


    स्थानीयवासीले बञ्चरेडाँडा फोहोर बिसर्जनस्थलसम्म पुग्ने सडक अत्यन्तै जीर्ण रहेको, फोहोरबाट दुर्गन्ध फैलिने, फोहोर बोकेका सवारीसाधन नछोपेरै सञ्चालन गरिने, बीच बाटोमै फोहोर खसाल्ने, फोहोर विसर्जनपछि गाडी नधोई उपत्यकातर्फ फर्काइने तथा फोहोरमाथि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) कार्यमा लापरवाही भइरहेको गुनासो गर्दै आएका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयका यी गुनासा सम्बोधनका लागि सम्बन्धित निकायहरुलाई बोलाएर छलफल गरेका छन् ।


    बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय उठाइएको छलफलमा उठाइएको । हाल बन्चरेडाँडाको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र आर्थिक भार काठमाडौँ महानगरपालिकाले व्यहोर्दै आएको छ ।

    सञ्चारमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडामा भइरहेको फोहोर व्यवस्थापनको सम्बन्धमा सम्बन्धित निकायबाट नियमित तथा छड्के अनुगमन हुनुपर्नेमा जोड दिए । उनले स्थानीयवासीका गुनासो तत्काल सुनुवाइ हुने व्यवस्था मिलाउन निर्देशन दिनुहुँद्यै बञ्चरेडाँडा पुग्ने सडक जसरी पनि निर्माण गर्नुपर्ने बताए ।

    “बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म जाने बाटो निकै खराब छ भन्ने गुनासो निकै धेरै आएका छन् । बाटो बनाउने काम जसरी हुन्छ तत्काल थाल्नुहोला । त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन कसले गर्ने हो, सम्बन्धित निकायले समन्वय गरेर गर्नुहोला,” उनले भने, “पीडामा रहेका स्थानीयलाई केही राहत दिनका लागि पनि आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्छ ।”


    फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न ल्याण्डफिल साइटमै पुग्ने फोहोरको मात्रा घटाउन स्रोतमै फोहोर छुट्याउने, संकलन तथा ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने, नागरिकको सेवा सन्तुष्टि बढाउनेलगायतका विषयमा भएका प्रगति तथा पहल बारे पनि सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी लिएका छन् ।


    बैठकमा काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा भइरहेको फोहोर व्यवस्थापनका कामबारे जानकारी गराएको थियो । विशेषगरी फोहोर विसर्जनपछि आवश्यक समयमा माटोले ढाक्ने काम (क्यापिङ) भए–नभएको, दैनिक व्यवस्थापनको अवस्था, कर्मचारी परिचालन तथा सञ्चालन प्रक्रियाबारे छलफल भएको थियो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईले बञ्चरेडाँडा ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहोर संकलन केन्द्रको संख्या बढाउने, फोहोर वर्गीकरण र ग्रेडिङ प्रणालीलाई विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनको अवधारणाअनुसार महानगरलाई सात वटा फोहोर क्लस्टरमा विभाजन गरी सुख्खा फोहोर पुनःप्रयोग (रिसाइकल) का लागि आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने योजना अघि बढाएको छ । तर ती सातवटै स्थानमा फोहोर ग्रेडिङ केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य प्रक्रिया समयमा सम्पन्न हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको समस्या पनि बैठकमा उठाइएको थियो ।

    हाल बञ्चरेडाँडामा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहोर छुट्याउने अभ्यास प्रभावकारी हुन नसक्दा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप समस्या सिर्जना गरेको महानगरपालिकाको भनाई छ । त्यस्तै, दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेकोमा वर्षायाममा कच्ची सडकका कारण सवारीसाधन पटक–पटक बाटोमै अड्किने, त्यसबाट दुर्गन्ध फैलिने तथा स्थानीय जनजीवन प्रभावित हुने अवस्था रहेको विषय बैठकमा उठाइएको थियो ।

    नेपाल सरकारले १,७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको थियो । यो नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

    हाल बञ्चरेडाँडामा काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत दुई सय ट्रक फोहोर विसर्जन हुँदै आएको छ । बैठकले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहको साझा जिम्मेवारी र समन्वय आवश्यक रहेकोसमेत निष्कर्ष निकालेको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    १४ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू–भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । रासस

  • सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    १३ साउन, काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ। गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दिपेश अवस्थीलाई सदस्यका रूपमा मनोनयन गरेको हो। यससँगै समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिइएको छ।

    गत आइतबार राति सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपका सम्बन्धमा छानबिन गर्न सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। मन्त्रालयले सुनसरीलगायत अन्य जिल्लामा सोही प्रकृतिका घटना दोहोरिन नदिनका लागि पूर्वतयारीसमेत तीव्र पारेको छ। यसका लागि बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ।

    यसैबिच, गृह मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे गम्भीर समीक्षा गरिएको छ। मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल देवानगन्जलगायत संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।

  • सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

    ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए । प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।

  • बालेन बने रास्वपाको वरिष्ठ नेता

    बालेन बने रास्वपाको वरिष्ठ नेता

    १३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो । संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।

  • कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

    कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

    १३ साउन, काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। अस्पतालका चिकित्सकले तीमध्ये तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते एक जनाको उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार मृत्यु हुनेमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्। गोरखापत्रबाट

  • चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    चौतर्फी आलोचनाका बीच मध्यराती आयो प्रधानमन्त्रीको स्टाटस

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् । घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएका छन् । मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’

    उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् ।

    प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’

    सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् । प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गइसकेको छ । धार्मिक कारणलाई उचाल्दै भड्किएको हिंसा कम गर्न समयमै पहल नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना भइरहेको छ ।

  • सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    सुनसरी घटनामा प्रधानमन्त्री मौन, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक

    १२ साउन, काठमाडौं । सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । यस घटनामा प्रधानमन्त्री बालेन शाह मौन छन् । रास्वपा सभापति लामिछानेले छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा बोलाएका छन् । छलफलमा संसदमा रहेका सबैे दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।

    सबै दललाई पत्राचार गरिएको छ। सभापतिले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गरेको सभापतिको सचिवालयले जनाएको छ । अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

  • सुनसरी घटनामा उच्च संयम अपनाउन रास्वपाको आह्वान

    सुनसरी घटनामा उच्च संयम अपनाउन रास्वपाको आह्वान

    १२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

    कुनै पनि समस्या वा असन्तुष्टिको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै रास्वपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि गतिविधि नगर्न सम्पूर्ण आम नागरिक, नागरिक अगुवा र सरोकारवाला पक्षसँग अपिल गरेको छ। पार्टीले कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अपनाउन आग्रह गरेको छ।

    विज्ञप्तिमा परिस्थिति सामान्यीकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै पीडितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको मागसमेत गरिएको छ। रास्वपाले यस दुःखद् घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दललाई आग्रह गर्दै आफ्ना स्थानीय समितिका सदस्यलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

  • मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम, रातमा सवारी चलाउन रोक

    १२ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढमुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

    मुग्लिन,नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सो सडकखण्डमा सवारीआवगमन सुचारु गरिएको थियो ।

  • कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    १२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।


    ‘तत्पश्चात् शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

    राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको उल्लेख गरेका छन् ।

  • गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    गोकर्णेश्वरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    १२ साउन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पा रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंले जनाएको छ । गएराति पौने १२ बजे स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

    उनको नेपाल मेकिडल कलेज अत्तरखेलमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए । यसैगरी ललितपुरको चापागाउँमा एक गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ वटा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

  • लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु

    लमजुङमा पहिरो, बाबु छोरीको मृत्यु

    १२ साउन, काठमाडौं । लमजुङ, मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार घर भत्काउँदा बाबु–छोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे दुई बजे चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धन्सारमा क्षति पुगेको हो । मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता बिक रहेको जिल्ला प्रहरी कार्यायल लमजुङले जनाएको छ ।

    पहिरोमा परी टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया र जेठी छोरी १६ वर्षीय अस्मिता घाइते छन् । उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी आए लगतै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।