Category: स्थानीय

  • पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु


    काठमाडौँ, ५ साउन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका छन् ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् । “सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जाना घाईते भएका छन् । उक्त घटनाबाट नौ जिल्ला प्रभावित छ । पहिरोबाट दुई घाइते र ११ जिल्ला प्रभावित छन्”, उनले भने । प्राधिकरण्का अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन् ।

    प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब रु १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ । घटनामा छ वटा चौपाया पनि क्षति भएको छ ।


    पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिरकणको तथ्याङ्कमा उल्लेख छ । ती घटनाबाट ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जाना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ । शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाका कारण बाढीपहिरो, डुबान जस्ता विपद्का घटना बढ्न सक्ने भन्दै प्राधिकरणले प्रतिकार्यका लागि व्यापक तयारी गरेको थियो ।

    अधिकतम तापक्रम रामेछापको मन्थलीमा ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ भने न्यूनतम तापक्रम मनाङको हुम्देमा ९.६ डिग्री सेल्सियस छ । विभागका मौसमविद् डेविट ढकालका अनुसार मनसुन सक्रिय रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम छ । विशेष गरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने



    काठमाडौँ, ४ साउनः सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशानसन र अर्थमन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ । चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ । बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पु¥याउने खालका कानुनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

  • सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा

    सुदूरपश्चिम, ३ साउनः सुदूरपश्चिमका सबैजसो जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले हाल प्रदेशका हिमाली, पहाड र तराईका सबैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको जनाएको हो । कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा भएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी कञ्चनपुरको कान्तिपुर बेलौरीमा ७९ दशमलव छ मिलिमिटर पानी परेको छ भने अत्तरियामा १२ मिलिमिटर पानी परेको छ ।

    यहाँका नदीमा पानीको बहाव सामान्यतया चेतावनी तह पुगेको जनाउँदै आजको तुलनामा सोमबार बढी पानी पर्ने सम्भावना रहेकाले नदीमा पानीको सतह बढ्न सक्ने साहले बताए । “आजको भन्दा भोलि बढी पानी पर्ने पूर्वानुमान छ । त्यसो हुँदा नदी तथा खोलामा पानीको तह बढ्न सक्छ । त्यसैले नदी तटीय क्षेत्रमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ”, उनले भने ।

    आज राति सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि कार्यालय जानकारी दिएको छ ।

  • राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

    राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

    चितवन, ३ साउन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो ।

  • आज दिनभर उपत्यकामा सडक जलमग्न

    आज दिनभर उपत्यकामा सडक जलमग्न

    काठमाडौँ, ३ साउनः लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन् । ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए ।

    उनका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ । “अहिले ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ । आज सार्वजनिक बिदाको दिन भएर पनि सजिलो भयो । तर सडकमा पानी जम्दा दुर्घटनाको जोखिम भने बढिरहेको छ । एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अवस्था छ”, उनले भने ।


    सुवेदीले वर्षाका कारण आज साँझ पनि माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिँदै दीर्घकालीन रूपमा प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए । वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीको आग्रह छ ।

  • बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

    बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

    काठमाडौँ, ३ साउनः अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।

    विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो । विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताOg\ . अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ , जलसतह घटेर २ दशमलव २ मिटर नदीमा जल सतह पुगिसक्यो,” उgn] elgg\ . विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ । विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

  • मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

    मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

    काठमाडौँ, २ साउनःदेशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

    उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।

  • घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    घुँगी खोज्न गएकाको डुबेर मृत्यु

    चितवन, २ साउनः बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो । आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

  • लागूऔषधसहित २२ जना पक्राउ

    लागूऔषधसहित २२ जना पक्राउ

    काठमाडौँ, २ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार\चार, सुनसरी र काठमाडौँबाट दुई\दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक\एक जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ ।

  • फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    जनकपुरधाम, २ साउनः दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।


    दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते विहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते चन्द्रिकाको भारतको बिहार राज्यको पटनामा उपचार गराउँदा उपचार हुन नसकि पुनःधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरारमध्ये रामनाथ रायलाई खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरी थप अनुसनधान गरिरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

  • धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

    सुवास दर्नाल–रासस
    सोलुखुम्बु, १ साउनः जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा विसं २०८१ साउन ३२ गते हिमताल विस्फोटपछि आएको बाढीले यसको एउटा टड्कारो उदाहरण प्रस्तुत ग¥यो ।

    जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेको माथिल्लो क्षेत्रमा रहेका दुई वटा हिमताल फुटेर आएको बाढीले घर, होटल, पुल, बाटो र कृषि जमिन मात्र तहसनहस बनाएन, बौद्ध धर्मवलम्बीकोे धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेका सयौँ वर्ष पुराना माने, छोर्तेन तथा बौद्ध सम्पदामा अपूरणीय क्षति पुर्‍याएको छ ।

    खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे तथा थामे क्षेत्रमा करिब २०० मिटर पदमार्ग कटान गर्दा करिब ६०० वर्ष पुरानो र एक हजार पाँच हजार थानभन्दा बढी सम्बोटा लिपिमा कुँदिएको ढुङ्गाको ‘माने’ बगाएको थामेका वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताउनुभयो । सोही बाढीले थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।

    स्थानीयहरु सयौँ वर्षअघि पुर्खाले आफ्नै हातले ढुङ्गामा कलात्मक ढङ्गले कुँदेर बनाएका सांस्कृतिक सम्पदाको त्यो मौलिक स्वरूप र ऐतिहासिक मूल्य फर्काउन असम्भवजस्तै भएको बताउँछन् ।

    अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार हिन्दूकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा छिटो तातिरहेको छ । तापक्रम वृद्धिसँगै हिमनदी तीव्र रूपमा पग्लिरहेका छन् । हिमतालको आकार बढिरहेको छ । हिमताल विस्फोटजन्य बाढीको जोखिम पनि बढ्दै गएको छ । यसले हिमाली क्षेत्रका प्राकृतिक सम्पदासँगै सांस्कृतिक सम्पदालाई गम्भीर जोखिममा पारेको छ ।

    के हो ‘माने’ ?

    स्थानीय जानकार तथा पर्यटनविद् आङ छिरिङ शेर्पाका अनुसार माने बौद्ध धर्मावलम्बीले सयौँ वर्ष अगाडिदेखि आस्थाका साथ निर्माण गर्दै आएका ऐतिहासिक सांस्कृतिक संरचना हुन् । स्थानीय भाषामा यसलाई ‘माने लाङ्गा’ भनिन्छ । यी मानेहरूमा बौद्धधर्मको पवित्र मन्त्र “ॐ मणि पद्मे हूँ” र बुद्धका विभिन्न स्वरूपका उपदेश तथा चित्रहरू अङ्कित गरिएका हुन्छन् । परम्परा र स्थानीय जनविश्वास अनुसार यी मानेहरूलाई जहिले पनि दाहिने पारेर मात्र परिक्रमा गर्ने वा बाटो काट्ने गरिन्छ ।

    यसरी श्रद्धापूर्वक परिक्रमा गर्दा वा माने चक्कालाई घुमाउँदा संसारमा शान्ति, करुणा र सकारात्मक ऊर्जा फैलिने विश्वास रहेको स्थानीय जानकार लामाकाजी शेर्पाको भनाइ छ ।

    मानेको निर्माण प्रक्रिया निकै जटिल, पवित्र र श्रमसाध्य हुने स्थानीय जानकारहरू बताउँछन् । यसको निर्माण मुख्यतः तीन चरणमा पूरा हुन्छ । ढुङ्गाको छनोट र तयारी, मानेका लागि हिमाली क्षेत्रका बलिया, थेप्चा र सम्म परेका विशेष ढुङ्गा खोजिन्छ ।

    स्थानीय कलाकार वा लामाहरूले एकाग्रताका साथ हातमा छिना र हतौडा लिएर ती ढुङ्गाका पाताहरूमा मन्त्र र बुद्धका आकृतिहरू खोप्छन् । यसरी ढुङ्गामा छिना धसेर मन्त्र कुँद्ने कार्यलाई बौद्ध परम्परामा निकै पवित्र धार्मिक कर्म मानिन्छ । मन्त्र कुँदिएका ती सयौँ ढुङ्गाका पातालाई कलात्मक ढङ्गाले एकमाथि अर्को खप्ट्याएर, बाटोको बीचमा वा गाउँको प्रवेशद्वारमा आकर्षक पर्खाल वा ढिस्कोको रूप दिइन्छ ।

    सोसम्बन्धी जानकार आचार्यरिन्जी छेपाल शेर्पाका अनुसार एउटा माने पर्खाल निर्माण हुन लाग्ने समय त्यसको आकार र ढुङ्गामा कुँदिने मन्त्रको सङ्ख्यामा भर पर्छ । ढुङ्गामा हातले छिनाका माध्यमबाट मन्त्र खोप्न अत्यधिक समय र धैर्यता चाहिन्छ । एउटै ठूलो ढुङ्गामा मन्त्र र बुट्टा भर्न कतिपय अवस्थामा हप्तौँ लाग्छ । एउटा पूर्ण माने तयार गर्न महिनौँदेखि कतिपय अवस्थामा वर्षौंसम्म लाग्ने गर्दछ ।

    कतिपय ऐतिहासिक ठूला माने पर्खालहरू त पुस्तौँदेखि थपिँदै र विस्तारित हुँदै सयौँ वर्ष लगाएर आजको स्वरूपमा आइपुगेका हुन् । तर, जलवायु परिवर्तनका कारण थामे उपत्यकाजस्ता उच्च हिमाली क्षेत्रहरूमा अचानक आउने हिमताल विष्फोटनको बाढी र तीव्र भू–क्षयका कारण पुर्खाहरूले महिनौँ र वर्षौँ लगाएर बनाएका यी ऐतिहासिक मानेहरू सधैँका लागि विलीन हुने खतरा बढेको छ । स्थानीय बासिन्दाले यसलाई आफ्नो संस्कृति र पुर्खाको गौरवमय इतिहासमाथिकै ठूलो सङ्कटका रूपमा लिएका छन् ।

    ६०० पुराना ‘माने’ बाढीको भेलमा बिलिन

    खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे खोलामा आएको सो आकस्मिक बाढीले करिब पाँच वटा फरकफरक स्थानमा रहेका झण्डै एक हजार ५०० वटा ऐतिहासिक मानेहरू पूर्ण वा आंशिक रूपमा नष्ट गरेको छ । “यी सामान्य ढुङ्गाका टुक्राहरू होइनन्”, वडाध्यक्ष शेर्पाले भन्नुभयो, “बौद्ध धर्मको पवित्र सम्बोटा लिपिमा मन्त्रहरू कुँदिएका करिब ६०० वर्ष पुराना ऐतिहासिक मानेहरू थिए । तीमध्ये धेरैजसोलाई बाढीको भयानक लेदोले बगायो । केही मानेहरू खोलाको बगरमा यत्रतत्र छरिएका भेटिए पनि अधिकांश त बालुवा र ढुङ्गामुनि पुरिएर बेपत्ता भए ।”

    केही ठूला ढुङ्गाहरूमा ‘ॐ मणि पद्मे हूँ’ लगायत बौद्ध मन्त्रहरू अत्यन्तै मिहीन र कलात्मक ढङ्गले कुँदिएका थिए । ती केबल धार्मिक आस्थाका प्रतीक मात्र थिएनन्, बरु हिमाली शेर्पा समुदायको इतिहास, कला, लिपि र पहिचानका जीवित दस्तावेज थिए, जसलाई बाढीले बगाएर लगेको उहाँको भनाइ छ । उहाँका अनुसार मानेः ढुङ्गा मात्र होइन, हिमाली सभ्यताको जीवन्त अभिलेख हिमाली बौद्ध समुदायमा ‘माने’को स्थान विशेष र अद्वितीय छ । प्राकृतिक रूपमा प्राप्त हुनेसम्म परेका ढङ्गाहरूमा सम्बोटा लिपि प्रयोग गरी बुद्धका शिक्षाहरू र मन्त्र कुँदेर बाटोको छेउमा, बस्तीको प्रवेशद्वारमा, गुम्बाहरूको वरिपरि तथा पवित्र तीर्थमार्गहरूमा लहरै राख्ने परम्परा शताब्दीऔँ पुरानो भएको नाम्चेका ल्हाक्पा नुरु शेर्पाले बताउनुभयो ।

    बौद्ध धर्मावलम्बीहरू यात्रा गर्दा वा दैनिक आवतजावत गर्दा यी मानेहरूलाई जहिले पनि आफ्नो दायाँतर्फ पारेर परिक्रमा गर्दै श्रद्धा व्यक्त गर्दछन् । यात्राको शुभारम्भदेखि अन्त्यसम्म मानेले मानिसलाई आध्यात्मिक ऊर्जा, मानसिक शान्ति र सकारात्मक सोच प्रदान गर्ने जनविश्वास रहिआएको स्थानीय जानकार स्पिडकाजी शेर्पाको भनाइ छ ।

    उहाँले भन्नुभयो, “प्रत्येक मानेमा देखिने अक्षरहरू कुनै मेसिनले होइन, मानिसले हातैले छिना र घनको सहायताले बनाएका हुन्, तर अब थामे क्षेत्रको ती संरचनाहरु हामीसँग छैनन् ।” इतिहासकारहरूका अनुसार हिमाली क्षेत्रमा रहेका धेरैजसो मानेहरू १५औँ र १६औँ शताब्दीदेखि निर्माण भएका थिए ।

    थामेको प्रवेशद्वारमा क्षति

    थामे गाउँ प्रवेश गर्ने मुख्य नाकामा बौद्ध परम्परा र वास्तुकलाअनुसार निर्माण गरिएको एउटा अत्यन्तै आकर्षक एवं भव्य धार्मिक प्रवेशद्वार रहेको थियो । थामे खोलाको भीषण बाढीले उक्त ऐतिहासिक प्रवेशद्वारलाई जोगाउन सकेन । त्यसको अधिकांश भाग भत्काएर बगायो । स्थानीय जानकार कर्मा शेर्पाका अनुसार उक्त प्रवेशद्वार सिङ्गो थामे गाउँको सांस्कृतिक सौन्दर्य र पहिचानको मुख्य प्रतीक थियो ।

    सगरमाथा क्षेत्रमा आउने विदेशी पर्यटकहरू गाउँ प्रवेश गर्नासाथ यही प्रवेशद्वारको अगाडि उभिएर तस्वीर खिच्ने, यहाँको मौलिक संस्कृतिको स्वाद लिने र बौद्ध परम्पराबारे जानकारी बटुल्ने गर्दथे । तर, आज त्यो स्थान पहिचानविहीन जस्तै बनेको छ । ऐतिहासिक थामे गुम्बा र आसपासका संरचनामा परेको असरथामे गाउँ समुद्री सतहबाट करिब तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।

    थामे खुम्बु क्षेत्रकै सबैभन्दा पुरानो (करिब ३५० वर्षभन्दा पुरानो) ऐतिहासिक थामे गुम्बाका कारणले पनि प्रसिद्ध छ । यद्यपि, मुख्य गुम्बाको भवन अलिकति उचाइमा रहेका कारण बाढीको प्रत्यक्ष चपेटाबाट जोगिन सफल भयो । गुम्बा परिसरका कतिपय संरचनाहरू जोखिममा परेपछि सो समयमा त्यहाँभित्र रहेका प्राचीन मूर्तिहरू, बहुमूल्य थङ्का पेन्टिङहरू र पवित्र धर्मग्रन्थलाई हतारहतार सुरक्षित स्थानमा सार्नुप¥यो । यसलाई स्थानीयहरूले इतिहासकै दुःखद् ‘सांस्कृतिक विस्थापन’का रूपमा लिएका छन् ।

    हिमाली पर्यटनमा प्रत्यक्ष र दीर्घकालीन धक्का सगरमाथा राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्र विश्वकै सबैभन्दा चर्चित पदयात्रा र पर्वतारोहण गन्तव्य हो । यहाँ बर्सेनि आउने हजारौँ विदेशी पर्यटक केबल हिउँका टाकुरा र हिमाल हेर्न मात्र आउँदैनन्, उनीहरू त यहाँको जीवन्त शेर्पा संस्कृति, प्राचीन गुम्बा, माने, छोर्तेन, प्रार्थना चक्र तथा हिमाली बौद्ध जीवनशैलीको प्रत्यक्ष अनुभव लिनका लागि लाखौँ खर्च गरेर आउने गर्छन् ।

    नाम्चेका स्थापित पर्यटन व्यवसायी तथा स्थानीय लामाकाजी शेर्पाका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदामा पुगेको ठूलो क्षतिले यहाँको पर्यटन व्यवसायमा गम्भीर धक्का पु¥याएको छ । “थामेका पुराना माने, छोर्तेन र परम्परागत धार्मिक संरचना हेर्नकै लागि धेरै विदेशी पर्यटकहरू यो मार्गमा आउने गर्थे”, शेर्पाले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “अहिले ती ऐतिहासिक सम्पदाहरू बगिसकेपछि पर्यटकहरूले जुन मौलिक सांस्कृतिक दृश्यको अपेक्षा गरेका हुन्छन्, त्यो पाउन छाडेका छन् । यसले उनीहरूको बसाइ र अनुभव दुवैलाई खिन्न बनाएको छ ।”

    प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको अनुपम संयोजन नै खुम्बु क्षेत्रको मुख्य विशेषता हो । यदि जलवायु परिवर्तनका नाममा हाम्रा सांस्कृतिक सम्पदा यसरी नै क्रमशः हराउँदै र मासिँदै जाने हो भने हिमाली पर्यटनको साख र आकर्षण भविष्यमा निकै कमजोर हुनसक्ने चिन्ता व्यवसायीहरूमा बढेको छ ।

    पुनर्निर्माणको बाटोमा उभिएका जटिल चुनौतीहरू बाढीको विपद् कम भएपछि वडा कार्यालयले स्थानीयको सहयोगमा खोलाको बगरमा बगाएका ती मानेका ढुङ्गाहरू खोज्ने र सङ्कलन गर्ने अथक प्रयास गरेको थियो । केही मानेहरू फेला परे पनि अधिकांश त नदीको गहिरो बहावमा बेपत्ता भइसकेका छन् । तर, भेटिएका मानेहरूलाई पनि पहिलेकैजस्तो स्वरूपमा पुनःस्थापना गर्नु फलामको च्युरा चपाउनुसरह बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बताउनुभयो ।

    उहाँका अनुसार अहिले पुनर्निर्माणको मार्गमा सबैभन्दा ठूलो चुनौती भनेको ढुङ्गामा सम्बोटा लिपि र कलात्मक मन्त्रहरू कुँद्नसक्ने दक्ष जनशक्तिको चरम अभाव हुनु हो । “हाम्रा अघिल्ला पुस्तामा यस्ता ढुङ्गा कुँद्ने र मन्त्र लेख्ने कलाकारहरू ९कालीगढ० गाउँगाउँमा धेरै हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “तर आधुनिकताको प्रभाव र बसाइँसराइले गर्दा नयाँ पुस्तामा त्यो पुरानो सीप र ज्ञान लोप हुने अवस्थामा पुगिसकेको छ । अहिले नयाँ माने बनाउन चाहेर र पैसा खर्च गर्न तयार भएर पनि ढुङ्गामा अक्षर कुँद्ने दक्ष व्यक्ति पाउनै गाह्रो छ ।”

    सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार यो केवल थामे गाउँको मात्र समस्या होइन । समग्र नेपालका हिमाली क्षेत्रमा परम्परागत प्रविधिबाट ढुङ्गा कुँद्ने, धार्मिक भित्तेचित्र बनाउने र पुरानो शैलीमा काठ र माटोको काम गर्ने मौलिक जनशक्ति दिनानुदिन घट्दै गइरहेको छ । नेपाल र समग्र हिन्दूकुश हिमालय क्षेत्रका हिमनदी पग्लने दरबारे इसिमोड तथा राष्ट्रिय र अन्तरराष्ट्रिय वैज्ञानिक संस्थाहरूले गरेका हालैका अध्ययनहरूले अत्यन्तै चिन्ताजनक र डरलाग्दो तथ्यहरू सार्वजनिक गरेका छन् ।

    नेपालको राष्ट्रिय औसत वृद्धिः नेपालको वार्षिक औसत अधिकतम तापक्रम ०।०५६ सेन्टिग्रेडका दरले बढिरहेको छ । तराईको तुलनामा हिमाली क्षेत्रमा तापक्रम वृद्धि दर बढी रहेको सो अध्ययनले देखाएको छ । हिमाली क्षेत्रमा यो दर वार्षिक करिब ०।०६ सेन्टिग्रेड देखि ०।०८६ सेन्टिग्रेडसम्म मापन गरिएको छ । जलवायु विज्ञहरूले हिमाली क्षेत्रमा विश्वव्यापी तापमान वृद्धिलाई नियन्त्रण गर्न नसकिएमा आगामी दशकमा यस्ता अकल्पनीय घटना अझ बढ्नसक्ने चेतावनी निरन्तर दिइरहेका छन् ।

    सगरमाथा क्षेत्रका अन्य सम्पदा पनि उच्च जोखिममा

    सगरमाथा राष्ट्रिय निकुञ्ज जो युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत छ । यस क्षेत्रभित्र पर्ने थामे, खुम्जुङ, नाम्चे, फोर्चे, पाङबोचे, दिङ्बोचेलगायत प्राचीन गाउँहरूमा सयौँ वर्ष पुराना गुम्बा, छोर्तेन र हजारौँको सङ्ख्यामा मानेहरू छन् । भौगोलिक बनोटका कारण यीमध्ये धेरैजसो सम्पदाहरू नदी र खोलाको किनार, भिरालो पदमार्ग तथा बस्तीका मुख्य नाकामा अवस्थित छन् । यही कारणले गर्दा जलवायु परिवर्तनका कारण निम्तिने अनियमित र अत्यधिक वर्षा, आकस्मिक हिउँपहिरो, हिमताल विस्फोट र तीव्र भू–क्षयको पहिलो र उच्च जोखिममा यिनै अमूल्य सम्पदाहरू परिरहेका छन् । जलवायुजन्य जोखिमका कारण हिमाली सभ्यताको अस्तित्व नै धरापमा परेको छ ।

    सांस्कृतिक सम्पदामा परेको अदृश्य प्रभाव जलवायु परिवर्तनको यो बहुआयामिक असर केबल भौतिक संरचना वा दृश्य सम्पदामा मात्र सीमित छैन, यसले समुदायको सांस्कृतिक सम्पदामा गहिरो प्रभाव पारेको छ । शेर्पा समुदायका धेरै धार्मिक पर्वहरू, पूजाआजा, रीतिरिवाज र परम्परागत प्राकृतिक चक्रसँग प्रत्यक्ष जोडिएका छन् । तर जब प्रकृतिले आफ्नो स्वरूप बदल्छ र यसरी विनाशकारी रूप लिन थाल्छ, तब स्थानीय समुदायको परम्परागत धार्मिक विश्वास र पुस्तौँदेखि चलिआएको सांस्कृतिक अभ्यासमा पनि मानसिक र आध्यात्मिक विचलन आउन थालेको स्थानीय मिङ्मा शेर्पा बताउनुहुन्छ ।

    थामेको यो महाविपत्तिपछि स्थानीय समुदायले बगाएका मानेहरूको पुनःनिर्माण, संरक्षण र बाँकी रहेका सम्पदाको सुरक्षाका लागि जोडदार माग गरिरहेका छन् । उनीहरूका अनुसार पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय सरकार तथा अन्तरराष्ट्रिय सम्पदा संरक्षण गर्ने निकायले संयुक्त रूपमा एकीकृत संरक्षण कार्यक्रम सञ्चालन गर्न ढिला भइसकेको छ ।

  • रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

    रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

    रसुवा, १ साउनः रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक किसान योपासाङ थोक्रा तामाङका अनुसार किसानले प्रतिपाथी रु १२० का दरले आलु बिक्री गरिरहेका छन् । यस वर्ष बजारमूल्य राम्रो रहेकाले किसान उत्साहित भएका छन् । अर्का किसान रामकाजी थोक्राले फागुनमा रोपिएको आलु यस वर्ष हिउँदे वर्षा राम्रो भएकाले उल्लेख्य उत्पादन भएको बताए । उत्पादन बढेसँगै किसानले राम्रो आम्दानीको अपेक्षा गरेका छन् ।

    नुवाकोटका उपभोक्ता जनार्दन न्यौपानेका अनुसार प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिने आलु स्वादिष्ट र गुणस्तरीय हुने भएकाले वर्षभर नै रसुवाकै आलु उपभोग गर्ने गरिएको छ । रसुवाको यार्सा, भार्लेको माथिल्लो क्षेत्र, राम्चे, धुञ्चे, हाकु, नेसिङ, ग्रे, भार्खु, स्याफ्रु, बृद्धिम, टिमुरेको खैदी, थुमन, चिलिमेको टेचाङ्दे, गोल्जुङ तथा गत्लाङलगायतका क्षेत्रमा बर्खे आलुको व्यावसायिक उत्पादन हुँदै आएको छ । गत वर्षको तुलनामा आलु उत्पादन बढेकाले जिल्ला बाहिरसमेत खपत हुन थालेको छ । नुवाकोट, धादिङ र काठमाडौँलगायतका क्षेत्रमा रसुवाको आलु खपत हुने गरेको छ ।

  • लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    बरहथवा (सर्लाही), १ साउनः बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन् । बिहीबार खेतमा भटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन् । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए । नहर मर्मतका कारण वाग्मती सिँचाइले समेत समयमा पानी छाडेन । अघिल्ला वर्षहरूमा उहाँले असारको २५ गतेभित्रै धान रोपिसक्थे ।


    यस वर्ष धानको बीउ राख्न ढिलाइ भएका कारण रोपाइँ ढिला भयो । समयमै रोपाइँ गर्न नसक्दा उत्पादन घट्ने र भित्र्याउने समयमा पनि मौसमले दुःख दिने उनलाई चिन्ता छ । अर्कातर्फ खेत जोताउन लागेको लागतले उनलाई चिन्तितः बनाएको छ । उनले भने, “लागत निकै बढेका कारण खेती गर्न नसक्ने अवस्था सृजना भएको छ ।”

    गत वर्ष प्रतिघण्टा रु दुई हजारमा ट्याक्टरले खेत जोत्थ्यो । यस वर्ष भाडा बढेर प्रतिघण्टा दुई हजार ५०० पुगेको छ । सुक्खा खेत जोतेको प्रतिघण्टा रु एक हजार ४०० देखि एक हजार ६०० बाट बढेर रु दुई हजार २०० बराबर पुगेको छ । इन्धनको मूल्य बढेको भन्दै मकैखेतीको समयदेखि नै ट्याक्टर धनीले भाडा बढाएको कृषक महतोले सुनाए । आधारबिना नै मूल्यवृद्धि गरिएकामा उनलाई पटक्कै चित्त बुझेको छैन । “हरेक चिजको मूल्य त्यसको लागतका आधारमा हुनुपर्ने हो, यहाँ हचुवामा भाडा बढाइन्छ”, उनले गुनासो गरे ।


    कृषि क्षेत्रमा भएका यस्ता गलत अभ्यासको नियमन गर्ने निकाय नभएको बागमती नगरपालिका–११ का किसान शङ्कर सापकोटा बताउँछन् । लागत र उत्पादन दुवैको मूल्य निर्धारण गर्ने अधिकार किसानसँग नहुनु दुःखद् भएको उनको गुनासो छ । मलखादको अवस्था उस्तै छ । “राज्यले दिएको अनुदानमा समेत व्यापारीले आफूखुसी मूल्य तोक्ने र किसानको ढाड सेक्ने गर्छन्”, सापकोटाले भने, ‘‘जिल्ला दररेटअनुसार कृषि मजदुरको लागि आठ घण्टा काम गरेको रु ५५० ज्याला तोकिएको छ । तर यहाँ तोकिएभन्दा बढी लिइन्छ ।”

    पछिल्ला केही वर्षदेखि खेत जोत्न र कृषि सामग्री ढुवानीको एकमात्र विकल्प ट्याक्टर बनेको छ । तर, यसको लागत मूल्य व्यवस्थापनमा कुनै निकायले ध्यान दिएको छैन । सोही कारण किसान सबैभन्दा ठूलो मर्कामा पर्दै आएको हरिवन नगरपालिका–५ का किसान सजनीकुमारी स्याङ्तानको गुनासो छ । ट्याक्टर धनीले समेत थोरै समयमा धेरै कमाउने लालासाका कारण किसानको उत्पादनमा अत्यधिक लागत बढेको उनको दाबी छ ।

    खेत जोत्न र कृषि उपज ढुवानीमा प्रयोग हुँदै आएको ट्याक्टरको लागत मूल्य निर्धारण गर्ने वा नियमन गर्ने अभ्यास अहिलेसम्म नभएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको भनाइ छ । यसको क्षेत्राधिकार पालिकाको भए पनि अभ्यास अहिलेसम्म नभएकाले किसानलाई समस्या परेको उनको कथन छ ।

    पालिकाका केही साना किसानले खेत जोताइ तथा कृषि सामग्री ढुवानी लागत मनलाग्दी भएको भन्दै पालिकामा गुनासो गरेको उनले सुनाए । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला दररेट निर्धारण समितिले हरेक वर्ष लागतका आधारमा खरिद मूल्य तय गर्ने गरेको छ । हरेक वर्ष तय भएको दररेट एक आर्थिक वर्षका लागि मान्य हुन्छ । जिल्लाभरि कायम हुन्छ ।

    निर्धारण भएको दररेटमा कृषि मजदुरको ज्यालामात्र उल्लेख हुने गरेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । आगामी वर्षको जिल्ला दररेट तय गर्दा भने यस विषयमा छलफल गरिने उनको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय सरकारसँग किसानका समस्या समाधानको लागि ऐन बनाउने र कार्यान्वयन गर्ने अधिकार भएकाले पहिलो दायित्व पनि उनीहरूकै भएको तथ्य स्मरण गराए । पालिकाले ट्याक्टर धनीसँगको छलफलबाट उचित लागत मूल्य तय गर्नुपर्ने उनको कथन छ । सर्लाहीमा २० वटा स्थानीय तह छन् ।

    यहाँ कुनै पनि पालिकामा कृषि उपकरणको प्रयोग र त्यसको लागत मूल्यको विषयमा ऐन वा कार्यविधि निर्माण भएको छैन । व्यवसायिक रूपमा खेत जोत्ने तथा ढुवानी गर्ने उपकरण सञ्चालकले आफूखुसी मूल्य निर्धारण गर्ने र किसानसँग पैसा लिने गरेको साना किसानको गुनासो छ । यो गुनासो सम्बोधन गर्न स्थानीय सरकार थप सक्रिय हुनुपर्ने आवश्यकता छ ।

  • देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

    महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आज राति पनि देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपात हुने छ ।

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

  • तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    तीन महिनामा नेपालभरि तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

    काठमाडौँ, १ साउनः बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ३७५ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले सबैभन्दा बढी ८९७ आगलागीका घटना भएका तथा तिनमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका जनाएको छ । उक्त अवधिमा सर्पदंशका ५१४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४७९ जना घाइते तथा ५१७ परिवार प्रभावित भएका छन् । त्यसैगरी, हुरीका ४७७ घटनामा १३ जनाको मृत्यु भएको ६८ जना घाइते तथा एक हजार ३५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते तथा ३५१ परिवार प्रभावित भएका छन् ।

    चट्याङका २२३ घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन् जनाउँदै प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते तथा २८७ परिवार प्रभावित भएका उल्लेख छ । यसैगरी, बाढीका १६१ घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते तथा १३२ परिवार प्रभावित भएका छन् ।

    त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको छ । तीन महिनामा वन डढेलोका १९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाइएको छ । हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

  • श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

    श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

    दोधारा चाँदनी (कञ्चनपुर), ३२ असारः सोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए ।

    कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

  • रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रासस
    लमजुङ, ३२ असारः लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै बनेको छ । चौतारा र बस्तीहरू सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँहरू अहिले मानिसविहीन बन्दै गएका छन् । गाउँमा सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिसहरू सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् ।

    यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सीपमा परेको छ । दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती रत्तिँदै गएको छ । केही दशकअघिसम्म बाक्लो बस्ती रहेको यो ठाउँ अहिले पातलिएको छ । धेरै घर खाली छन् भने केही घर जीर्ण अवस्थामा छन् ।

    पचासी वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो । चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुन्थे । अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण नरहेको उनी बताउँछन् । राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ । स्थानीय लालमाया श्रेष्ठका अनुसार पहिले सुविधा नभए पनि गाउँमा मानिस धेरै थिए । अहिले सुविधा थपिए पनि गाउँमा बस्ने मानिस घटेका छन् । गाउँ खाली हुँदै जाँदा यसको असर कृषि क्षेत्रमा पनि परेको छ ।

    कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा पुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ । खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ । उनका अनुसार पुस्तौँदेखि चलिआएका खेती गर्ने सीप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।

    कृषि विकास कार्यालयका अनुसार लमजुङमा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्र खेती भइरहेको छ । १६ हजार ६२ हेक्टर जमिन बाँझोे छ । सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइको प्रभावमा परेको छ । स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ ।

    गाउँमा मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा असर परेको छ । जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ खाली हुनु सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती भएको बताइन् । उनका अनुसार युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान नयाँ पुस्तासम्म पु¥याउन कठिन भएको छ ।

    दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङका अनुसार गाउँमा मानिस टिकाइराख्न आयआर्जनको आधार बलियो बनाउन आवश्यक छ । त्यसका लागि कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उनले बताए ।


    गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ । कफी, खुर्सानीलगायत उत्पादनबाट किसानलाई आम्दानीसँग जोड्ने प्रयास गरिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो । गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । राष्ट्रिय जनगणना २०७८ ले पनि देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ । यसको प्रभाव लमजुङका ग्रामीण क्षेत्रमा देखिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको कथा मात्रै होइन, यो त देशका अनेकन बस्तीका उस्तै उस्तै अवस्थाको फेहरिस्त पनि हो ।

    खाली घरमा फेरि धुवाँ उड्ने, बाँझो जमिनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ । त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादन बढाउनु र गाउँमा रोजगारीको अवसर बढाउनु जरुरी भइसकेको छ । अन्यथा, गाउँहरू एकादेशको कथा बन्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

  • नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    रासस
    नवलपुर (नवलपरासी), ३१ असारः देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले तीव्रता पाएको छ । सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यले कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो । नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिगाहा क्षेत्रफलमा यो आयोजना अघि बढाइएको हो । आयोजनाको शिलान्यास २०७६ वैशाख ७ मा भए पनि निर्माण कार्य २०८१ सालपछि मात्रै तीव्र रूपमा अघि बढेको हो ।

    सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालका अनुसार हाल दुई वटा ठेक्कामार्फत पहिलो चरणमा १४ वटा भवन निर्माण भइरहेको छ ।

    पहिलो ठेक्काअन्तर्गत चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत प्रशासनिक भवन निर्माण गरिरहेको छ । रु २७ करोड लागतमा उक्त निर्माण कार्य आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म यसमा ५० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । एकीकृत भवनमा हुलाक, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक, जिल्ला निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइलगायतका कार्यालय सञ्चालन हुनेछन् ।

    यस्तै, जिल्ला अदालत, जिल्ला समन्वय समिति र सशस्त्र प्रहरी बलका लागि भने छुट्टै भवन निर्माण भइरहेको छ । सबै भवन अपाङ्गमैत्री हुनेछन् । तीनतले भवनमा लिफ्ट र ¥याम्पको व्यवस्था गरिनेछ भने जिल्ला अदालतको भवन चारतले हुनेछ । दोस्रो ठेक्काअन्तर्गत समानान्तर–बुद्ध हिमाली जेभीले सिटी हलसहित ११ वटा भवन, सडक, खानेपानी, विद्युत्, तटबन्ध र पर्खाल निर्माणको काम गरिरहेको छ । रु तीन अर्ब ५० करोडको यो ठेक्कामा हाल ४२ प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार आयोजना सम्पन्न भएपछि यहाँ २३ मिटर चौडाइका सडक, फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्क, हरियाली क्षेत्र र करिब आठ किलोमिटर आन्तरिक सडक सञ्जाल निर्माण हुनेछ । पहिलो चरणमै ५०० क्षमताको सिटी हल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अन्य सङ्घीय कार्यालय सञ्चालनमा आउनेछन् ।

    गुरुयोजनाअनुसार प्रशासनिक, न्यायिक, सुरक्षा, सार्वजनिक सेवा र हरियाली क्षेत्र छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीशलगायत कर्मचारीका लागि आवास, अतिथिगृह, पुस्तकालय, सभाहल, खाजाघर, पार्किङ, फुटबल र क्रिकेट मैदानसमेत निर्माण गर्ने योजना छ ।


    आयोजनाअन्तर्गत कुल ४५ वटा सरकारी भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । कुल क्षेत्रफलको ६० प्रतिशत भाग कङ्क्रिटरहित हुनेछ भने २१ दशमलव ५९ प्रतिशत क्षेत्र खुला रहनेछ । पार्किङ क्षेत्रमा एकैपटक ९५० वटा कार र १०० वटा बस पार्किङ गर्न सकिनेछ ।

  • धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

    काठमाडौँ, ३२ असारः ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी( का अनुसार यही असार ३० गतेदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता छ ।

    पिआइडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सिजिसिओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौँ उपत्यकाको ढल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । बागमती नदीका दुवै किनारामा मुख्य ढल बिछ्याउने काम भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको हो ।

    प्रमुख श्रेष्ठका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि बागमती नदीमा मिसिने ढलको मात्रा उल्लेखनीय रूपमा घट्ने, नदी सफा हुने र उपत्यकाको वातावरणीय स्वच्छतामा सकारात्मक प्रभाव पर्नेछ । पिआइडीले धोबीघाटमै दैनिक तीन करोड ७२ लाख लिटर क्षमताकै अर्को ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । त्यसैगरी, कोडकुमा दैनिक एक करोड ४२ लाख लिटर, सल्लाघारीमा एक करोड ७० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र गोकर्णमा ३० लाख लिटर क्षमता भएका ढल प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

    निर्देशनालयका अनुसार पिउने पानीको करिब ८० प्रतिशत भाग ढलमा परिणत हुन्छ । हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक करिब २० करोड लिटर पानी वितरण गरिरहेकाले भविष्यमा थप ढल प्रशोधन केन्द्र आवश्यक पर्ने देखिएको प्रमुख श्रेष्ठले बताए ।

    उनले नदी किनारका सुकुम्वासी बस्ती हटाइएका क्षेत्रमा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार उपत्यकाका अन्य स्थानमा पनि विकेन्द्रीकृत ढल प्रशोधन प्रणाली स्थापना गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

  • सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    इनरुवा (सुनसरी), ३२ असारः बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

    सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ । असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ । सप्तकोसीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ । सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ । वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ ।

  • गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

    रासस
    त्रिवेणी (नवलपरासी), ३१ असारः नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ । नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो ।

    पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधिका कारण गिद्धको सङ्ख्या तीव्र रूपमा घट्न थालेपछि समुदाय, संरक्षणकर्मी र सरोकारवालाको सहकार्यमा सन् २००६ मा जटायु रेष्टुरेन्ट स्थापना गरिएको थियो । डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो ।

    जटायु रेष्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति यहाँ अभिलेख भएका छन् । तीमध्ये चार प्रजाति रैथाने हुन् भने अन्य चार प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाइँ सरेर आउने गरेको जटायु रेष्टुरेन्टका संयोजक डीबी चौधरीले बताए ।

    रेष्टुरेन्ट स्थापना भएपछि गिद्धको सङ्ख्या बढ्नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ । “पहिला गिद्धको संरक्षणबारे धेरैको चासो थिएन । अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ बढेको छ र स्थानीयवासी संरक्षण अभियानमा सक्रिय रूपमा सहभागी हुन थालेका छन्”, संयोजक चौधरीले भने ।


    कावासोती नगरपालिका–७, १२ र १३ रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा गिद्धका लागि सुरक्षित वासस्थान व्यवस्थापन गरिएको छ । गिद्धले बास बस्न रुचाउने सिमललगायतका अग्ला रूख रोप्ने, स्वच्छ पानीको व्यवस्था गर्ने, नियमित रूपमा सुरक्षित आहार उपलब्ध गराउने तथा घाइते वा कमजोर गिद्धको उपचार र निगरानी गर्ने व्यवस्था गरिएको जटायु रेष्टुरेन्टका कर्मचारी यम नेपालीले बताए ।


    जटायु रेष्टुरेन्ट अहिले संरक्षण केन्द्रमा मात्र सीमित छैन । पछिल्लो समय यहाँ गिद्ध अवलोकनका लागि जिल्लाभित्र तथा बाहिरबाट पर्यटकहरू आउने गरेका छन् । वनभित्र निर्माण गरिएको ‘सी–ब्लक’ (सी आकारको अवलोकन गृह) बाट पर्यटक तथा अनुसन्धानकर्ताले गिद्धले आहार ग्रहण गरिरहेको दृश्य नजिकबाट अवलोकन गर्न सक्छन् ।

    गिद्ध संरक्षणसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । वन्यजन्तु संरक्षण, जैविक विविधता र चराचुरुङ्गी अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको कर्मचारी नेपालीले बताए ।

    समुदायको सक्रिय सहभागिता, व्यवस्थापन र संरक्षणप्रतिको प्रतिबद्धताले जटायु रेष्टुरेन्टलाई गिद्ध संरक्षण, प्रकृति पर्यटन तथा अध्ययन–अनुसन्धानलाई एकैसाथ प्रवद्र्धन गर्ने देशकै सफल नमूनामध्ये एकका रूपमा स्थापित गरेको छ । स्थानीयवासीको अपनत्व र संरक्षणप्रतिको जागरणले सङ्कटापन्न गिद्धको संरक्षणमा मात्र होइन, पर्यावरणीय सन्तुलन कायम राख्न समेत महत्वपूर्ण योगदान पु¥याइरहेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताए । डिभिजन वन कार्यालयबाट समेत गिद्ध संरक्षणको प्रयासलाई थप सबल बनाउनका लागि विभिन्न समयमा आवश्यक कार्यहरु गर्ने गरिएको उनले बताए ।

  • बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

    बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

    गोरखा, ३१ असारः गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ । नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो ।

    निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले मङ्गलबार स्वःस्फुर्त आफ्ना घरटहरा खाली गरेका हुन् । वन क्षेत्रभित्र रहेका ३५ भन्दा धेरै घरटहरा यही असार ३० गतेभित्र खाली गर्न समयसीमा दिएर निरन्तर सचेत र सुसूचित गरेपछि पसल सञ्चालकहरूले त्यहाँका घरटहरा छाड्न तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

    नगरपालिकाभित्रका सार्वजनिक जग्गा हडपेर बनेका घरटहरा हटाउने गोरखा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो । सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वन डिभिजन कार्यालय, सबडिभिजन कार्यालय, ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खाली गर्न सूचित गरेको थियो ।

    बारम्बार लिखित तथा मौखिक गरेर सार्वजनिक जग्गा खाली गर्न आह्वान गरेपछि पसल धनीहरूले घरटहरा खाली गरेका वन डिभिजन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए । सबै घरटहरा खाली भइसकेपछि त्यसलाई हटाएर वन क्षेत्रलाई तारबार गरी सुरक्षित गरिने डिभिजनल वन अधिकृत शाण्डिल्यले बताए ।


    आँबुखैरेनी–गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा सार्वजनिक जग्गा कब्जा गरी विगत २० वर्षदेखि बजार सञ्चालनमा छ । विसं २०७३ मा हटाउने प्रयास भए पनि केही समयपछि फेरि बजार पुनःस्थापित भएको थियो । “अब फेरि वनको जग्गा कब्जा गर्न नमिल्नेगरी तारबार गर्नेछौँ”, उनले भने, “त्यसका लागि हामीले नापजाँच गरिसकेका छौँ ।”

  • अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

    मध्यविन्दु (नवलपरासी), ३१ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् । विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन ।

    पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन् । ब्लक र टिनले बनेका साँघुरा कोठा, सीमित खुला ठाउँ र आधारभूत पूर्वाधारको अभावबीच उनीहरूको दैनिकी बितिरहेको छ । स्थायी बसोबासको आशा गर्दै बितेका पाँच वर्षले अहिले उनीहरूमा निराशा बढाएको छ । दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेका विस्थापित परिवारका सदस्यहरू वर्षायाम सुरु भएसँगै फेरि पानी र सर्पको त्रासमा रात बिताउन बाध्य छन् ।

    स्थानीय तिलबहादुर सोमै मगरले अस्थायी शिविरमै वर्षौँ बित्दा स्थायी घर पाउने आशा क्रमशः क्षीण बन्दै गएको बताए । “केही समयका लागि भनेर राखिएको शिविरमै पाँच वर्ष बित्यो, हरेक वर्ष वर्षा सुरु भएपछि फेरि त्यही त्रास दोहोरिन्छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई सुरक्षित राख्न निकै कठिन छ । हामीलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गरिदिए पुग्थ्यो”, उनले भने ।


    पहिरोअघि विस्थापित परिवारसँग प्रतिघर एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, घर र पशुपालनको आधार थियो । पहिराले घरमात्र होइन, उनीहरूको जीविकोपार्जनको आधारसमेत बगायो । अहिले अधिकांश परिवार दैनिक मजदुरीकै भरमा जीवन धानिरहेका छन् । स्थानीय दिलमाया सोमै मगरले पहिरोले गाउँ नै भासिएको दृश्य अझै आँखाबाट नहटेको बताए । “पहिरोपछि यही शिविरमा आएर सुत्केरी भएँ । मेरो बच्चा यहीँ हुर्किएर अहिले पाँच वर्षको भयो”, उनले भने, “तर हाम्रो स्थायी घर बन्ने कुरा अझै अन्योलमै छ । कहिलेसम्म अस्थायी जीवन बिताउने भन्ने चिन्ता छ ।”

    खेमबहादुर सोमै मगरले आफूहरूको समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुन नसक्दा विस्थापितले सास्ती खेप्नुपरेको बताए । “सरकारले प्रक्रिया अघि बढेको भन्छ, तर हाम्रो जीवन भने यही अस्थायी टहरामै बितिरहेको छ”, उनले भने । हुप्सेकोट गाउँपालिकाले स्थायी पुनःस्थापनाका लागि आवश्यक सबै प्रक्रिया वर्षौँअघि नै पूरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिए । तर पुनःस्थापनाका लागि आवश्यक निर्णय गृह मन्त्रालयबाट नआउँदा काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

    “पहिरो विस्थापितको स्थायी आवास निर्माणका लागि गाउँपालिकाले आफ्नो तर्फबाट आवश्यक प्रक्रिया पूरा गरिसकेको छ”, अध्यक्ष पाण्डेले भने, “तर गृह मन्त्रालयबाट आवश्यक निर्णय हुन नसक्दा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन । निर्णयप्राप्त हुनेबित्तिकै निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिका तयार छ ।” उनका अनुसार हुप्सेकोट गाउँपालिकाका–५ र ६ का अधिकांश पहाडी बस्ती अहिले पनि पहिरो र भूक्षयको उच्च जोखिममा छन् । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै ती क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

  • घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

    रासस
    मुस्ताङ, ३१ असारः मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म निर्माणसम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो ।

    पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयअघि नै सम्पन्न भएको हो । यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको उनले बताए ।


    मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ । अब ठिनी खोलामा पुल बनेपछि घरपझोङ गाउँपालिकाका पाँचै वडाबीच आवतजावत थप सहज भएको छ । रु चार करोड ४६ लाख लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । पुलको चौडाइ फुटपाथसहित आठ दशमलव चार मिटर छ ।

    निर्माणसम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार घरपझोङको १० दशमलव पाँच किलोमिटर चक्रपथ सडकअन्तर्गत ठिनी खोलाको पुल सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल अवलोकन गर्न सहज भएको छ । साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानलाई कृषि उपज बजारसम्म पु¥याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।

    यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको थियो । पुल सञ्चालनमा आएपछि वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज भएको छ ।

  • पर्यटक लोभ्याउने ‘ठूली दह’

    पर्यटक लोभ्याउने ‘ठूली दह’

    बलबहादुर ओली–रासस

    त्रिवेणी (रुकुमपश्चिम) ३० असारः मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ । मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।

    चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जङ्गलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आएका आन्तरिक पर्यटक यामराज केसीले बताए । वर्षातको समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ ।

    जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ । बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादुर पाण्डेले बताए ।


    स्थानीय पाण्डे भने, “व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।” केही घण्टाको पैदलयात्रा जङ्गलको बाटो हुँदै दहसम्म पुग्दा पाइने रोमाञ्चक अनुभवले थकान बिर्साउने गरेको उनीहरुको अनुभव छ ।

    वर्षायाममा प्रशस्त पानी भए पनि गर्मीयाममा दह सुक्खाजस्तो देखिने र खानेपानीको समस्या हुने गरेको छ । मुसिकोट नगरपालिका तथा वडा कार्यालय त्यसलाई सम्बोधन गर्न लागिपरेको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । पालिकाले बर्षातको पानीको पानी जम्मा गर्न दह नजिकै ट्याङ्की थप प्रतीक्षालय निर्माण गर्दैछ । पर्यटकको सुविधाका लागि केही भौतिक संरचना निर्माणसमेत गरिएको छ ।

    “केही वर्षअघिसम्म ठूली दहबारे धेरै मानिसलाई जानकारी थिएन । स्थानीय बासिन्दा र गोठालाहरूबाहेक कमै मानिस यहाँ पुग्ने गर्थे । तर अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री तथा विभिन्न माध्यमबाट प्रचार हुन थालेपछि यहाँ आउनेको सङ्ख्या बढ्न थालेको छ । जङ्गलको बीचमा चराचुरुङ्गीको आवाज, हरियाली मैदान र शीतल हावाले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउने छ । पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने देखिएको छ । त्यहाँ पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय उत्पादन बिक्री, होटल व्यवसाय तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ ।

    पछिल्लो समय स्थानीय युवाले पनि दह क्षेत्रलाई प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा चासो देखाउनसमेत थालेका छन् । ठूली दह केवल एउटा दहमात्र नभई महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ । प्रकृतिको अनुपम उपहारका रूपमा रहेको त्यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय विकास गर्न सके आगामी दिनमा कर्णाली प्रदेशकै एक प्रमुख आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ ।

    फोहर व्यववस्थापनमा समस्या

    त्यस क्षेत्रमा पर्यटकको चहलपहल वृद्धि भएपछि प्रदूषणसमेत बढ्न थालेको छ । त्यस क्षेत्रको भ्रमणमा पुग्नेहरूले विभिन्न खानेकुरा लैजाने र खाना खाएर फोहर जथाभावी फाल्ने प्रवृत्तिले फोहर थुप्रिन थालेको छ । त्यसबाट प्रदूषण बढेको छ । चरिचरनका लागि समेत साँखवासीको प्रमुख स्थल भएकाले फोहरका कारण वातावरणसँगै पशु चौपायाको स्वास्थ्यमा समेत असर पर्ने स्थानीय बताउँछन् । ठूली दह मध्यपहाडी लोकमार्गको साँख खण्डको बैरी दहबाट पैदल सहजै पुग्न सकिनेछ । बैरी दहसम्म सवारीमार्फत पुग्न सकिने र त्यसपछि करिब एक घण्टाको पैदलयात्रामा ठूली दह पुगिने स्थानीयको भनाइ छ ।

    आधारभूत सुविधा अभावको गुनोसो

    दह आसपासमा पर्यटकका लागि आधारभूत सुविधा अभाव रहेको गुनासो पाइएको छ । पर्यटकका लागि जेठमासको समयमा शुद्ध पिउने पानीको समस्या तथा वर्षात् पानीबाट ओत लाग्ने ठाउँको अभाव रहेको त्यहाँ घुम्न पुगेको पर्यटकको भनाइ छ । तथापि, नगरपालिका तथा वडा कार्यालयले पछिल्लो समय यस क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धनमा चासो भने देखाउन थालेका छन् । स्थानीय सरकारको सक्रियतासँगै ठूली दहलाई व्यवस्थित आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

    पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्रभावकारी बनाउन सके ठूली दह रुकुमपश्चिमको मात्र नभएर कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

  • आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन

    आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन

    काठमाडौँ, ३० असार । आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ । गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

    २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो ।

  • भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

    भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

    कञ्चनपुर, ३० असारः डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् । नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् । करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन ।

    गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो । स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ । वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ । पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ । बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ । यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

    गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ । एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन । त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । स्थानीय हरिश कुँवर भने, “गाउँसम्म सडक छैन । बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ । बाटोमै ज्यान जाने डर हुन्छ । अर्को विकल्प पनि छैन ।”

    शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ । लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।

    गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ । दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ । खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउनुहुन्छ ।

    उनी भन्छन्, “किनमेल गर्न झलारी पुग्नुपर्छ । सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ । वर्षायाममा धारापानी खोलामा बाढी आउँछ । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ ।” उनका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ । तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ । ऐर भन्छन्, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो । तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

    स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ । उनी भन्छन्, “बाटोमा हिँड्दा कुनबेला पहिरो झर्छ, कुनबेला खोला बढ्छ भन्ने थाहा हुँदैन । सडक छैन, सुरक्षित बाटो छैन । हरेक यात्रा जोखिमपूर्ण हुन्छ ।” कठिन भौगोलिक अवस्थाका बीच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन् । केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन् । गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ ।

    स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन । त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ । सञ्चार सेवा पनि कमजोर छ । मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ । स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पु¥याएका छन् । तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

    वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन् । तर त्यसमा खासै प्रगति हुन सकेको छैन । साउद भन्छन्, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ । सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ ।

  • धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते

    धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते

    धरान (सुनसरी), ३० असार स् नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो ।

    धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए ।

    दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खड्काले बताए । दुर्घटनामा घाइते धरान २० का पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

  • त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

    त्रिभुवन, भीमफेदी, कुलेखानी र कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक

    मकवानपुर २९ असारः मकवानपुरको विभिन्न गाउँपालिका क्षेत्रमा आज दिनभर अविरल वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो जानसक्ने सम्भावना बढेको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचनामा त्रिभुवन राजपथको दामन–पालुङ हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारकासवारीसाधनलाई आज साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

    हेटौँडास्थित चौकीटोलबाट जिल्ला प्रहरी कार्यालयद्वारा खटिएको प्रहरी टोलीले आज साँझ ५ः०० बजेदेखि काठमाडौँ र भीमफेदीतर्फ जाने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राजजोशीले राससलाई जानकारी दिए ।

    हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक पथका लागि पनि जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि सबै प्रकारका सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीय चौघडाबाट प्रहरीको समन्वयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए ।

  • पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

    पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

    ढोरपाटन ९बागलुङ०, २९ असारः बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए ।

    पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ । उनले भने, “घर अलि अप्ठ्यारो ठाउँमा रैछ, पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खालनै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन्, आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ ।”