Category: स्थानीय

  • सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    टक्सार (भोजपुर), २३ असारः सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताए । उनले भने, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

    महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस अभियान सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले उल्लेख गरे । उनका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा लालीगुराँसका बिरुवा रोपण गरिएको छ ।

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपन गरिएको हो । यहाँ डिभिजन वन कार्यालयबाट उपलब्ध भएको ५०० गुराँसका बिरुवामध्ये पहिलो चरणमा एक सय बिरुवा रोपण गरिएको उनले बताए । नयाँ बिरुवा भने टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गतको चेखेवा क्षेत्रमा रोपण गरिनेछ । यो अभियानलाई जिल्लामा रहेको पालिकाले सहयोग गरेका छन् ।

    सरकारबाट निर्णय भएर सुरु भएको र डिभिजन वन कार्यालयले कार्यान्वयमा ल्याएको यो अभियानलाई सफल बनाउन सम्बन्धि सबैको निरन्तर सहयोग रहने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनले  भने,  “रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता जरुरी छ । यसमा सबै मिलेर हातेमालो गरौँ ।”

    नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरिसककेको छ भने हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्वजगत्लाई ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’का लागि आह्वान गरेको थियो ।

    वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियान सफल बनाउनु सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए । सरकारी अभियानअन्तर्गतको वृक्षरोपण अभियान भोजपुरमा पनि आगामी साउन १५ गतेसम्म सञ्चालन हुनेछ । 

  • नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

    नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

    राँझा (बाँके), २३ असारः नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२–६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो । विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । 

    उनका अनुसार, बीस वर्ष अघि दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा तोडफोड गरिएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रदेखि जेनजी आन्दोलनका क्रममा तोडफोड भएका गणेशमान, बिपी, पुष्पलाल र सहिद सेतु विकको सालिकहरु पुनर्निर्माण गरी चोकचोकमा राखिएको छ ।

    सालिकसँगै चोकहरुको फाउण्डेशन पुनर्निर्माण गरिएका कारण अहिले नेपालगञ्जका चोकहरु आकर्षक देखिँदै गएको नगरप्रमुख विष्टले बताए । केही दिनभित्रै सालिकहरुको शुभारम्भ गरिने उनको भनाइ छ ।

    २०६२/०६३ को जनआन्दोलनको बेला तोडफोड भएको धम्बोझीचोकस्थित वीरेन्द्रको सालिक बीस वर्षपछि पुनःस्थापना भएको छ । राप्रपाका नेता तेजविक्रम शाहले बीस वर्षपछि सालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए । 

  • एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण : न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

    २२ असार, काठमाडौं । एकै दिन असार १८ गते श्रम कार्यालयहरूले देशभर गरिएको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही रहेको देखिएको छ। पछिल्लो केही दिनको तथ्याङ्क हेर्ने हो भने पनि देशभरका ९५ वटा विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐनको पालनामा गम्भीर कमजोरीहरू रहेको देखिएको छ। श्रम तथा रोजगार कार्यालयहरूले झापा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढी लगायतका क्षेत्रहरूमा रहेका प्रतिष्ठानहरूको निरीक्षण गर्दा श्रमिकको न्यूनतम हक अधिकार हनन भएको पाइएको हो।

    अनुगमनका क्रममा ३८ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र ५ वटाले आंशिक रूपमा कार्यान्वयन गरेको पाइएको छ। त्यस्तै ६० वटा अस्पताल र स्वास्थ्य संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भेटिएको छ र ४ वटा आंशिक रूपमा मात्रै आबद्ध भएका छन्। ४१ वटा अस्पताल र स्वास्थ्य संस्थाहरूले रोजगार सम्झौता नगरेको र २ वटाले मात्रै आंशिक रूपमा सम्झौता गरेका छन्।

    कतिपय अस्पतालहरूमा श्रमिकहरूलाई नियुक्ति पत्र नै नदिई वा मौखिक भरमा काममा लगाइएको पाइएको छ। कर्मचारीहरूलाई अतिरिक्त समय (ओभर टाइम) काम लगाए बापत थप पारिश्रमिक नदिने, बिदा र चाडपर्व खर्चको व्यवस्था नगर्ने जस्ता गुनासाहरू पनि देखिएका छन् ।

    निरीक्षण टोलीले त्रुटि देखिएका अस्पतालहरूलाई तत्काल न्यूनतम पारिश्रमिक लागू गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, श्रम सम्झौतालाई अनिवार्य लागू गर्न र श्रम अडिट गरी प्रतिवेदन पेस गर्न कडा निर्देशन दिएको छ। कतिपय प्रतिष्ठानहरूले आगामी आर्थिक वर्षदेखि सुधार गर्ने प्रतिबद्धता जनाएका छन् भने केहीले निर्देशन पालनाको प्रक्रिया सुरु गरिसकेका छन्।

    श्रम कार्यालयहरूले निर्देशन पालना नगर्ने प्रतिष्ठानहरूलाई पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिए पछि आवश्यक कारबाहीका लागि विभागमा सिफारिस समेत गरेका छन् । यो अनुगमनबाट स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार सुनिश्चित गर्न राज्यले थप कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।

    सरकार गठन हनुअघिको ९ महिनामा १ हजार ९९१ वटा श्रम निरीक्षण भएकोमा वर्तमान सरकारको एक सय दिनमै १ हजार ३ सय २१ वटा श्रम निरीक्षण सम्पन्न भई सकेको छ। मापदण्ड पालना गर्ने उत्कृष्ट प्रतिष्ठानहरूलाई सम्मान गर्ने परिपाटीले श्रम बजारमा सुरक्षित कार्य संस्कृतिको विकासमा सघाउ पुर्‍याएको छ । यसै क्रममा मन्त्रालयले बालश्रममुक्त घोषित भएका १३ स्थानीय तह, देशभरिबाट ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमीलाई सम्मान गरेको छ। श्रमिकको अधिकार सुनिश्चित गरी, उपर्युक्त वातावरण निर्माण गर्न निवेदन–उजुरी तथा निरीक्षणको पश्चात् रु.४ करोड ४० लाख ९६ हजार जरिवानाक्षतिपूर्ति पनि भराइएको छ।

    सुरक्षित, मर्यादित श्रम र बाल श्रम निवारणको प्रतिबद्धता व्यक्त गर्दै, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले देशमा बालबालिका लागि उचित वातावरण, युवाका लागि रोजगारी र उद्यम सिर्जना गर्न सके मात्रै राष्ट्र बलियो हुने बताए । उनले भने,“जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ, र जब हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्छ।”

  • धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    काभ्रेपलाञ्चोक, २२ असार । बर्षातका कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ ।

    निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो । उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो । केही दिनको बर्षाले ‘सिटिबी’ तथा ‘डिबीएम’ गर्न सडक सम्याएर हालिएको सब–बेश केही स्थानमा बगाएको र कतै क्षति पु¥याएकाले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकाले सडक बन्द नहुने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजै पचाचार गरी आजदेखिको निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेकाले केही समय सार्ने जानकारी गराएको हो ।

    यसअघि जिल्ला सुरक्षा समिति काभे्रले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरिने निर्णय गरेको थियो । उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुबाहक तथा अन्य मालबाहक सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । बिस्तारित उक्त सडकखण्डको दूरी चार किमी रहेको छ ।

    डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखिनै राती यातायात रोकेर निर्माणकार्यलाई तीव्रता दिने जनाएपनि आर्थिक वर्षको अन्त्यको समय भएकोले निर्माण सामग्री ढुवानीमा प्रभावित नहोस् भन्ने हेतुले समितिले सडक निर्माण प्रक्रियालाई केही ढिलाई गर्न लगाएको थियो । गत चैतमा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर अढाई किमी कालोपत्रे (डिबिएम–पीच)को काम गरिएको थियो ।

  • युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेर व्यावसायिक कृषिमा शेर्पा

    तुलसीपुर (दाङ), २२ असारः अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छिन् । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ ।

    कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकिन् । त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन् । “मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ”, उनले भनिन् ।


    सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन्हुर । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिइन् । त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब रु एक लाख ५० हजार आम्दानी गर्न सफल भइन् । यस वर्ष भने बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले आम्दानी रु दुई लाखसम्म पुग्ने अपेक्षा उनकाे छ । “गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ”, उनले भनिन् ।

    अहिले उनले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छिन् । झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकी छिन् । यसले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।

    सुलोचनाको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेको छ । त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । उनको सफलताले आधुनिक प्रविधिको सही उपयोगले गाउँमै बसेर पनि रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ ।

  • मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा

    मेयर मम्दानीले गरे बौद्ध समुदायको खुलेर प्रसंशा

    न्यूयोर्क

    न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूलमा Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एउटै छानामुनि भेला भएर अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमाको (International Vesak Day 2026) आयोजना गर्यो ।

    कार्यक्रममा बंगलादेश, भुटान, चीन, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ३३ वटा विभिन्न संस्थाको सहभागिताले यसलाई न्यूयोर्कमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमध्ये एक बनाएको आयोजकले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर Zohran Mamdani ले बुद्धका शान्ति, करुणा र प्रज्ञाका शिक्षाहरू आजको विश्वका लागि अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै विभिन्न देशका बौद्ध समुदायलाई एउटै मञ्चमा ल्याएकोमा आयोजकलाई उच्च प्रशंसा व्यक्त गरे।

    मेयर ममदानीले भने, “आज हामीले विविधता विभाजनको कारण होइन, बरु हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्ने प्रमाणित गरेका छौं।” उनले न्यूयोर्कजस्तो बहुसांस्कृतिक शहरमा पारस्परिक सम्मान, सहिष्णुता र एकताको संस्कृति निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए।

    समारोहका क्रममा International Vesak Day 2026 Celebration Committee का प्रमुख सल्लाहकार उर्गेन शेर्पाले न्यूयोर्कका सम्पूर्ण बौद्ध समुदायको तर्फबाट मेयर ममदानीलाई बुद्धको प्रतिमा “प्रेमको प्रतीक” स्वरूप प्रदान गरे।

    प्रतिमामा अंकित सन्देशमा लेखिएको थियो—

    “Mayor Zohran K. Mamdani, In recognition of your inclusion of historically marginalized communities. May peace and justice prevail.”

    यो सम्मान ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायप्रति मेयरले देखाएको समावेशी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्ने प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।

    समारोहको मुख्य धर्मदेशना क्यानडाको ओन्टारियोस्थित West End Buddhist Temple and Meditation Centre का निवासी भिक्षु भदन्त डा. सरणपाल भिक्षु तथा Zero Point Meditation Center का निर्देशक ग्येगे योङयाल रिन्पोछेले दिएका थिए। उहाँहरूले करुणा, मैत्री, प्रज्ञा र विश्वशान्तिबारे दिएका प्रेरणादायी प्रवचनले सहभागीहरूलाई गहिरो आध्यात्मिक अनुभूति दिलाएको थियो।

    त्यसैगरी जापानका भदन्त टी.के. नाकागाकी, श्रीलंकाका भदन्त धम्मज्योति थेरो, चीनका भदन्त यू लिन, अमेरिकाको मिशिगनका भदन्त धर्मानन्द महाथेरो तथा भदन्त विसुद्धबंश थेरोले पनि विभिन्न बौद्ध परम्पराबाट धर्मदेशना दिएका थिए।

    कार्यक्रमको सुरुवात पाली, संस्कृत र तिब्बती भाषामा गरिएको मंगल पाठ, पुष्प अर्पण तथा प्रार्थनाबाट भएको थियो। बंगलादेशबाट आउनुभएका भदन्त यू पञ्ञा दीप भिक्षुले ध्यान सत्र सञ्चालन गरेका थिए भने डा. जिनप्रिय महाथेरोले करणीय मेत्ता सुत्त पाठ गरेर विश्वशान्तिको कामना गरेका थिए।

    न्यूयोर्क सिटीको इतिहासमै पहिलोपटक बुद्ध पूर्णिमाका अवसरमा चारवटा सडक खण्ड आधिकारिक रूपमा बन्द गरेर शान्ति यात्राको व्यवस्था गरिएको थियो। सयौं सहभागीहरूले बौद्ध झण्डा, धार्मिक छाता र शान्तिका सन्देश बोकेका ब्यानरसहित बुद्धका उपदेश गुञ्जाउँदै विश्वशान्तिको कामना गरेका थिए। आयोजकका अनुसार यो न्यूयोर्कको इतिहासमै सबैभन्दा व्यवस्थित र व्यापक बुद्ध पूर्णिमा शान्ति यात्रा बनेको हो।

  • डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

    डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

    कर्णाली, २१ असारः डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिनुभयो । उक्त जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन् ।

    उनका अनुसार घाइते हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका(६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका(३ का ४४ वर्षीय भीमप्रसाद बुढा रहेका छन् ।

    त्यस्तै, उक्त दुर्घटनामा परी जुम्लाको सिञ्जा गाउँपालिका–३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका–४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका–८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल घाइते भएका प्रहरी निरीक्षक रावलले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र एउटा गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको सूचना अधिकारी रावलले बताए । उनका अनुसार दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

  • चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

    चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

    नारायणगढ (चितवन), २१ असारः भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

  • दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    दाङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    घोराही (दाङ), २० असारः दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज साँझ साढे ६ः०० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही ठाउँका २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • अझै भेटिएनन् दैलेख दुर्घटनामा वेपत्ता, खोजीमा गोताखोर परिचालन

    अझै भेटिएनन् दैलेख दुर्घटनामा वेपत्ता, खोजीमा गोताखोर परिचालन

    कर्णाली, २० असारः कर्णाली राजमार्गको दैलेख सडकमा दुर्घटनाग्रस्त ‘फोर्स’ गाडीसहित कर्णाली नदीमा बेपत्ता यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरीको प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

    घटनापश्चात् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोलीले दुई दिनसम्म खोजेर बेपत्ता गाडी तथा यात्रु भेटाउन नसकेपछि आज विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट अत्याधुनिक उपकरणसहितको गोताखोर परिचालन गरिएको हो ।

    सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको पाँच जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले पत्रकार भेटघाटमार्फत जानकारी दिए । “उक्त टोली पानीमुनि र भेलमा प्रयोग हुने सोनार क्यामेरा, म्याग्नेट (चुम्बक)सहित घटनास्थलको खोजीलाई तीव्र बनाइरहेको छ,” उनले भने, “हेलिकोप्टर र ड्रोन क्यामेराबाट पनि घटनास्थलका आसपासका कठिन ठाउँमा खोजतलासको काम भइरहेको छ । सशस्त्र प्रहरी बल नं ६ महेश्वरी वाहिनी मुख्यालयको ६ जनाको गोताखोर टोली पनि घटनास्थलमा नै छ ।”

    भौगोलिक कठिनाइ, जल सतहको वृद्धि, तीव्र वेग र धमिलो पानीका कारण खोज तथा उद्धारको कार्य चुनौतीपूर्ण बनेको प्रहरी नायब महानिरीक्षक सापकोटाले बताए । उनका अनुसार सो घटनामा परी पचालझरना–९ कालीकोट निवासी ५४ वर्षीय जेखे तिरुवाको मृत्यु भइसकेको छ । सोही पालिकाका मेखे तिरुवा, रास्कोट नगरपालिका–२ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका–८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित फोर्स गाडी बेपत्ता रहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति खोजी कार्यमा परिचालन भएको जनाइएको छ ।

  • दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी

    दोहा वार्तापछिको अमेरिका–इरान संवाद प्रयास जारी

    दोहा, १९ असार (रासस–एएफपी) । मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि तनाव कम गर्न र वार्तालाई अघि बढाउन प्रयास जारी छ । जुनमा वाशिङ्गटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा समझदारी पत्रमा सहमति जनाएका थिए । यसमा फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको हवाई हमलापछि सुरु भएको युद्धलाई ६० दिनका लागि रोक्ने तथा नाकाबन्दी गरिएको हर्मुज जलमार्ग (जलडमरूमध्र्ये फेरि खोल्ने व्यवस्था समावेश थियो ।

    द्वन्द्वरत दुई राष्ट्रबीच भएको १४ बुँदे यो सम्झौताले युद्धलाई स्थायी रूपमा अन्त्य गर्न, हर्मुजको व्यवस्था, इरानको पुनर्निर्माण कोष र इरानकोे आणविक कार्यक्रम जस्ता विषयमा छलफल गर्न समयसीमा पनि तोकेको थियो ।

    सहमति

    दोहामा बुधबार दुई द्वन्द्वरत पक्षबीच अप्रत्यक्ष छलफलपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मध्यस्थकर्ता कतार र पाकिस्तानले कूटनीतिक संवाद अगाडि बढिरहेको सङ्केत दिएका छन्। “कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले दोहामा बुधबार अमेरिका र इरानका वार्ताकारहरूसँग छुट्टाछुट्टै बैठक समाप्त गरेका छन् र सकारात्मक प्रगति भएको छ,” दुवै मध्यस्थ राष्ट्रले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

    वार्ता समाप्तिपछि इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेश मन्त्रालयका उपमन्त्री काजेम गारिबाबादीले समझदारी पत्रको कथित उल्लङ्घन रिपोर्ट गर्न र रेकर्ड गर्न बिहीबारसम्म सञ्चार च्यानल स्थापना गर्ने सहमति भएको बताए । तेहरानले कुनै पनि समाधानको भागको रूपमा माग गर्दै आएको रोक्का गरिएको इरानी सम्पत्तिको मुद्दा पनि छलफलमा आएको गारिबाबादीले बताए ।

    उनले सुरुको छ अर्ब डलरको केही भागको प्रयोगबारे समीक्षा गरिएको र इरानलाई आवश्यक वस्तुहरू खरिद गरी उपलब्ध गराउने सहमति भएको उनले बताए ।
    ट्रम्पले बुधबार ‘एअर फोर्स वन’ मा चढ्नुअघि पत्रकारहरूसँग भन्नुभयो, “इरानको आणविक निशस्त्रीकरण राम्रोसँग अघि बढिरहेको छ ।” एक स्रोतल एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो, दोहाको अप्रत्यक्ष वार्ता मुख्य रूपमा हर्मुज जलडमरूमध्यको व्यवस्थामा केन्द्रित थियो भने आणविक मुद्दालाई पछिका चरणमा गहिरो छलफल गर्न बाँकी राखिएको थियो।

    अब के हुन्छ

    आगामी अमेरिका–इरान अप्रत्यक्ष वार्ता इरानका दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिपछि हुनेछ । अयातोल्लाह अली खामेनी ८६ वर्षको उमेरमा युद्धको पहिलो दिन २८ फेब्रुअरीमा तेहरानको केन्द्रमा आफ्नो आवासमा मारिएका थिए । त्यसपछि शक्ति तुरुन्तै उनको छोरा मोजतबालाई सरेको थियो ।

    अली खामेनीको सार्वजनिक अन्त्येष्टि शनिबारबाट सुरु हुनेछ । उनको शव तेहरानको केन्द्रमा रहेको विशाल परिसरमा राखिनेछ, जहाँ शुक्रबार गरिने प्रमुख प्रार्थना, आधिकारिक कार्यक्रम र धार्मिक सभाहरू हुने गर्छन्। कतार र पाकिस्तानले विज्ञप्तिमा दुवै पक्षले कुराकानी जारी राख्ने सहमति गरेको बताएका छन् । शबयात्रापछि यथासम्भव चाँडो अर्को बैठक राखिने उनीहरूले बताएका छन् ।

    दिवंगत खामेनीको अन्तिम संस्कार ९ जुलाईमा उत्तर–पूर्वी शहर मशहदको इमाम रेजाको मस्जिदमा हुनेछ । मशहदजुन खामेनीको जन्मस्थल हो ।

    मध्यपूर्वको तनाबको अवस्था

    जुनमा अमेरिका–इरान सम्झौता भएपछि दुवै पक्षले खाडीमा छिटपुट गोलीबारी गरेका छन्। हर्मुज जलमार्गमा आफ्नो नियनत्रणलाई तेहरानले लागू गर्न खोज्दा बारम्बार झडप निम्तिएको छ । सबैभन्दा पछि भएको एक आक्रमणमा अमेरिकी सेन्ट्रल कमान्डले यो हप्ताको सुरुमा १० इरानी सैन्य लक्ष्यमा हमला गरेको बताएको थियो, जसलाई अमेरिकाले ‘व्यावसायिक जहाजमाथि इरानको निरन्तर आक्रामकता’ को जवाफ भनेको थियो ।

    इरानले पनि आक्रमणको बदलामा भन्दै कुवेत र बहराइनमा रहेका अमेरिकी आधारमा जवाफी हमला गरेको दाबी गरेको थियो । दुवै देशले आक्रमणका लागि तेहरानको निन्दा गरेका थिए ।

    तर कतारमा वार्ता हुनुअघिका दिनहरूमा गोलीबारी शान्त देखिएको छ । लेबनान मोर्चामा इजरायल र हिजबुल्लाहबीचको लडाइँ अपेक्षाकृत शान्त छ, यद्यपि राष्ट्रिय समाचार संस्था ९नेशनल न्यूज एजेन्सी०ले बुधबार साँझ दक्षिणी शहर नबातिएहमा हमला भएको रिपोर्ट गरेको छ । यद्यपि, आक्रमणबाट भएको षति वा पीडितबारे उल्लेख छैन ।

    दुई देशबीचको प्रस्तावित सहमतिहनुसार लेबनानले अझै इजरायल ‘पाइलट जोन’ बाट फिर्ता होस् भन्ने चाहन्छ र त्यहाँ लेबनानी सेना तैनाथ हुनेछ । तेहरानले कुनै पनि सम्झौतामा यो समानान्तर द्वन्द्व अन्त्य र दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ, जसको केही भाग इजरायलले कब्जा गरेको छ ।

  • २४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व

    २४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व

    काठमाडौँ, १९ असारः बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

  • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    रासस
    खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिए ।

    “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उनले भने, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।”

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर अन्यत्र गएका छन् ।

    वासिङ पहिरोले हुवाला र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिए । “पहिरो खसेको ठाउँमा पानीको मुहान छ । वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ”, उनले भने, “धेरै वर्षा भएको समयमा माथिबाट खसेको पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।”

    वासिङ पहिरोको कारण आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन् ।

    वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिनुभयो । “विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म पहिरो आइसकेको छ”, उहाँले भन्नुभयो, “कुन बेला के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।”

    टाढाबाट हेर्दा डमरु आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति ९गाविस०को वडा नं ८ वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।

    निरन्तर खसिरहने वासिङ पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिनुभयो । “वासिङ पहिरोले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो रोकथाम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

    बोपुङको वासिङ पहिरोले देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिए । छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

  • डोल्पामा जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    डोल्पामा जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    १८ असार, डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताए । आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    त्यस्तै ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोग र सहभागिताले आयोजना अघि बढ्न सहज भएको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिए । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजना ऊर्जा उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको महत्वपूर्ण आधार बनेको छ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना परियोजनामध्ये एक रहेको उनले बताए । हाल लट वानको काम सम्पन्न भइसकेको छ। कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाटको जगदुल्ला तथा १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्ध–जलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ।


    आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान दिएको कम्पनीको दाबी छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको छ। यी संरचनाले आयोजनाको निर्माणलाई सहज बनाउनुका साथै स्थानीय बासिन्दाको आवागमन र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष सुधार ल्याएको कम्पनीको भनाइ छ।


    सडक पहुँच विस्तारसँगै डोल्पाको यातायात अवस्थामै उल्लेखनीय परिवर्तन आएको कम्पनीले जनाएको छ। विगतमा नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी लाग्ने अवस्था रहेकामा अहिले एकै दिनमा यात्रा सम्भव भएको छ भने दुनै–काठमाडौं रात्रिबस सञ्चालनको वातावरणसमेत बनेको छ। आयोजनाबाट विकसित पूर्वाधारले रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुतर्फको पर्यटन प्रवर्द्धनमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।


    आर्थिक लाभका हिसाबले आयोजना सञ्चालनपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले जनही करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ। यसले स्थानीय तथा क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


    कम्पनीका अनुसार १०६ मेगावाटको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए०, वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ। मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते ठेक्का सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य तीव्र रूपमा अघि बढेको हो।


    यस्तै १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, पीपीए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्रका प्रक्रिया अन्तिम चरणमा पुगेका छन्। सरकारी निकायको बहुमत स्वामित्वमा निर्माण हुन लागेको यस परियोजनामा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर उपलब्ध गराइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


    परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ। नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।

  • कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

    कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

    दैलेख, १८ असार । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

    दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

    कर्णाली, १८ असारः कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए ।


    उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो । उक्त स्थानबाट नामथर र वतन नखुलेका एक जना पुरुषलाई भिरमा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्रीसहित जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए ।


    प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उनले बताए ।


    उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ, १८ असारः सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बिबिएनजे) अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समा पेस गर्न स्वीकृति दिएको छ । त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

  • सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

    सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

    मध्यविन्दु (नवलपरासी), १८ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।

    टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले उजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बर्ताए । दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • जुम्लामा चट्याङमा परी रावतको मृत्यु

    जुम्लामा चट्याङमा परी रावतको मृत्यु

    जुम्ला, १८ असारः जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ ।
    स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ । त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    म्याग्दी, १८ असारः म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो । छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघ ७ मा निर्माण कम्पनीले रु दुई करोड ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    उक्त ठेकेदारसँगको सम्झौता योजना सम्पन्न हुदाँसम्म सातौँ पटक थपिएको गाउँपालिकाले जनाएको छ । ९० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत भएका कामको प्राबिधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए ।
    “रु तीन करोड ३१ लाख ९९ हजार ९९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कवोलेको कम्पनीसँग सम्झौता भएको थियो”, उनले भने, “कालोसूचीमा राखेर कारबाही प्रक्रीया अघि बढाएपछि अन्तिम समयमा आएर ठेकेदारले काम गरेका हुन् ।”

    योजनामार्फत घोर्सीडाडाँ क्षेत्रमा १९० मिटर दूरीमा सडक ढलान, फराकिलो पार्ने, घुम्ती र ग्रेड सुधार, सोलिङ, ग्यावियन र टेवा पर्खाल निर्माण भएको पूर्वाधार शाखा प्रमुख सापकोटाले बताउनुभयो । निस्कोटदेखि ताराखोलातर्फ जाने सडकको मार्ग पनि खोलिएको छ । यो सडकले मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट र २ बिलबाङ, रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्छ । मालिका गाउँपालिका–२ का सोमबहादुर दर्जीले अप्ठ्यारो ठाउँमा ढलान, घुम्ती र मोड सुधार गरेपछि यात्रा सहज बनेको बताउनुभयो । सडक स्तरोन्नति योजनालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

    निस्कोट हुँदै बाग्लुङको ताराखोला गाउँपालिका पनि जोडिने भएकाले रणनीतिक महत्वको योजना भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “अघिल्लो कार्यकालमा सङ्घीय सरकारको समपूरक अनुदानमा सञ्चालित अलपत्र योजनालाई पूर्णता दिन पालिकाले ब्यभार ब्यहोर्नुप¥यो”, उनले भने, “धेरै मेहनत गरेर अलपत्र र अधुरो योजनालाई पूर्णता दिने अवस्थामा पु¥याएका छौँ ।” गत आर्थिक वर्ष २०८१र८२ मा रु एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का समझौता वनसम्बन्धी मुद्दा परेपछि तोड्नुपरेको गाउँपालिकाका अध्यक्ष गर्बुजाले बताए ।

  • हुम्लाको स्याँडामा पहिलो पटक पुग्यो गाडी

    हुम्लाको स्याँडामा पहिलो पटक पुग्यो गाडी

    सिमकोट (हुम्ला), १७ असारः स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।
    गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा स्याँडा याङ्गु सडक निर्माणमा रु एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो । यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन् । दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।

    स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए । गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।

  • भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार अभियोगमा मुद्दा दायर

    काठमाडौँ, १७ असारः अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

    आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोजना सञ्चालनमा क्रममा राखिएको बैंक ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

  • बागलुङमा कुकुरलाई ‘होस्टेल’

    बागलुङमा कुकुरलाई ‘होस्टेल’

    गलकोट (बागलुङ), १७ असारः बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो ।

    पचास वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी जग्गामा रु एक करोड खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए ।


    नगरपालिका–३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख खर्च गरेर होस्टेल बनाइएको थियोे । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो ।

    “कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,” नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।”

    नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा रु २०० शुल्क तिर्नुपर्ने छ ।

  • आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    चितवन, १७ असारः चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो ।

    उनले भने, “वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।” निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षात्को अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।

    निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, डी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।

  • हिमालयन स्वाद र उद्यमशीलताको लागि लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

    हिमालयन स्वाद र उद्यमशीलताको लागि लिङ्कन एभरेस्ट र टेष्ट अफ हिमालय चुलो

    बर्लिन, कनेक्टिकट

    लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्दथे । यो प्रेरणाको श्रोत उनका हजुरबुबा हुन् – जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए। हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रूपमा प्रभावित गर्‍यो र “खाना नै औषधि हो” भन्ने विश्वास उनको जीवन मन्त्र बन्यो।
    सन् १९७९ मा नेपालको अन्नपूर्ण होटलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका उनले मल्ल, याक एन्ड येती र एभरेस्ट शेराटनमा काम गर्दै सन् १९८९ मा अमेरिका पुगे। त्यहाँ हिल्टन र शेराटनमा काम गर्नुका साथै उनले एभरेस्ट एक्सप्रेस र काठमान्डू चुलो जस्ता सफल नेपाली रेस्टुरेन्टहरू सञ्चालन गरे। नेपाल र अमेरिका दुवै देशप्रतिको प्रेम र समर्पणका कारण उनले “लिङ्कन एभरेस्ट” नाम राखेका हुन् – लिङ्कन अमेरिकाका महान् राष्ट्रपतिको सम्मानमा र एभरेस्ट नेपालको पहिचानको प्रतीकका रूपमा।

    टेस्ट अफ हिमालय – चुलो
    सन् २००१ मा मिशिगनको फार्मिङटनमा “एभरेस्ट एक्सप्रेस” खोलेर आफ्नो रेस्टुरेन्ट यात्रा सुरु गरेका लिङ्कन एभरेस्टले सन् २००५ मा रोयल ओकमा काठमान्डू चुलो स्थापना गरे। यो रेस्टुरेन्ट छिट्टै मिशिगनमा अत्यन्त लोकप्रिय बन्यो र विभिन्न मिडिया आउटलेट तथा खाद्य समीक्षकहरूको ध्यान आकर्षित गर्न सफल भयो। Observer & Eccentric अखबारले “Kathmandu Chullo – Get a Himalayan High” भन्ने शीर्षकमा प्रकाशित विशेष समीक्षामा रेस्टुरेन्टको हातले बनाइएका मम, ताजा अर्गानिक मसलाको प्रयोग र प्रामाणिक नेपाली अनुभवको निकै प्रशंसा गरेको थियो। विभिन्न अखबार र मिडियाबाट प्राप्त यो व्यापक प्रशंसाले नेपाली खाना र संस्कृतिप्रति अमेरिकी समुदायमा एक नयाँ चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्यो।


    त्यही सफलताको अनुभव र दशकौंको खाद्य उद्योगको ज्ञानलाई बोकेर लिङ्कन एभरेस्टले अब बर्लिन, कनेक्टिकटमा नयाँ व्यवस्थापन अन्तर्गत टेस्ट अफ हिमालया – चुलो सञ्चालनमा ल्याएका छन्। चुलो भन्ने शब्द नेपालको परम्परागत माटोको खाना पकाउने भाँडोको नाम मात्र होइन, यो मानिसहरूलाई नेपाली खाना र संस्कृतिमार्फत जोड्ने, एकजुट पार्ने र नेपाली जीवनशैली सिकाउने एउटा गहिरो अवधारणाको प्रतिबिम्ब हो। साथै यो रेस्टुरेन्ट किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता र नेपाली खाद्य उद्योगमा रुचि राख्ने जो कोहीसँग पनि सहकार्य र साझेदारीमा काम गर्न तयार एक संगठनात्मक मञ्च पनि हो।
    रेस्टुरेन्टको मुख्य विशेषता भनेको ९९% अर्गानिक सामग्री प्रयोग गरी प्रत्येक दिन ताजै परोसिन्छन्। दाल भात, बफ सेकुवा, सेल रोटी, बरा, समोसा, चाउमिन लगायत थुप्रै प्रामाणिक नेपाली परिकारहरू यहाँ उपलब्ध छन्। येल्पमा ४.४ स्टार र १२० भन्दा बढी समीक्षा प्राप्त गरिसकेको यो रेस्टुरेन्ट कनेक्टिकटमा नेपाली खानाको प्रमुख गन्तव्य बन्दै गएको छ।

    दृष्टिकोण र मिसन:
    नेपाली खानालाई विश्वमा चिनाउने महाअभियान
    लिङ्कन एभरेस्टको सबैभन्दा ठूलो सपना भनेको नेपाली खानालाई विश्व मञ्चमा प्रामाणिक रूपमा स्थापित गर्नु हो। विश्वभर नेपाली खानालाई भारतीय खानाका रूपमा चिनाइँदै आएको प्रवृत्तिप्रति उनी अत्यन्त चिन्तित छन् र यसलाई परिवर्तन गर्नु उनको जीवनको मुख्य मिसन बनेको छ। यसका लागि उनले नेपलीज वर्ल्डवाइड सेफ एसोसिएसन (NWCA) को स्थापना गरेका छन् जसमार्फत विश्वभरका नेपाली सेफहरूलाई एकै मञ्चमा ल्याई नेपाली खानाको वैश्विक प्रवर्द्धन गरिँदैछ। नेपालका सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने उनको महत्त्वाकांक्षी योजना तयारीको चरणमा रहेको छ।
    सामाजिक क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान छ। उनले स्थापना गरेको VASI – Victim Assistance Support International ले घरेलु हिंसा र मानव तस्करीका पीडितहरूलाई परामर्श, कानुनी सहायता र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। यो संस्था मेक्सिको र नेपाल दुवैमा दर्ता भएको छ।
    उद्यमशीलता र व्यावसायिक सहकार्य:
    लिङ्कन एभरेस्ट कर्पोरेसन
    “Learn, Grow, Achieve – With a Century of Wisdom” को नाराका साथ स्थापित लिङ्कन एभरेस्ट कर्पोरेसन ले CPPS – Connect People, Products and Services को अवधारणामार्फत व्यक्ति, उत्पादन र सेवाहरूलाई जोड्दै दिगो व्यावसायिक इकोसिस्टम निर्माण गर्छ। ३० वर्षभन्दा बढीको अनुभवमा आधारित यस कर्पोरेशनले व्यावसायिक सल्लाह, कानुनी मार्गदर्शन, वित्तीय परामर्श, मेन्टरशिप, बिजनेस वर्कशप र इन्भेस्टर रिलेसन जस्ता सेवाहरू प्रदान गर्छ।
    विशेष गरी अमेरिकामा नयाँ आउने नेपालीहरूका लागि व्यवसाय सुरु गर्ने प्रक्रिया, कानुनी सहायता र व्यावसायिक नेटवर्किङमा विस्तृत मार्गदर्शन उपलब्ध छ। मेम्बरशिप प्रोग्राम अन्तर्गत भोलेन्टियर, कन्ट्र्याक्टर, स्पोन्सर र इन्भेस्टर विभिन्न तहमा जोडिन सकिन्छ र १०% रिवार्ड र बेनिफिट समेत प्राप्त हुन्छ। उनका साझेदारहरूमा LegalShield र Lions Club International जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरू पनि रहेका छन्।
    किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता वा जो कोही पनि सहकार्य र व्यावसायिक साझेदारीमा रुचि राख्नेहरूका लागि लिङ्कन एभरेस्टको ढोका सधैं खुला छ। चुलोको भावनाअनुसार सबैलाई सँगै जोडेर, सँगै सिकेर र सँगै बढेर एउटा बलियो र दिगो नेपाली उद्यम समुदाय निर्माण गर्नु उनको सबैभन्दा ठूलो सपना हो।
    उद्यमशीलता र व्यावसायिक सहकार्यका लागि पनि उहाँसँग फोन नं. 718 450 2953 र वेबसाइट lincolneverest.com मार्फत सम्पर्क सकिन्छ ।

  • केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    रासस
    नारायणगढ (चितवन), १६ असारः विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् । उनले यसको सफल परीक्षण गरेका छन् ।


    उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उहाँले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन् । एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका उहाँले हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ मदिराजन्य पेय पदार्थ उत्पादनको परीक्षण थालेको बताए ।
    कृषि विकास कार्यालय, भरतपुरको सहयोग, प्राविधिक उपकरण तथा प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान सफल चरणमा पुगेको उनले बताए । उनका अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ ।

    त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गरेको छ । यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उनले बताए ।


    सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीयस्तरमै सञ्चालन हुने ‘माइक्रो–डिस्टिलरी’ (लघु मदिरा उद्योग)का रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए ।


    उनले भने, “हामी ठूलो डिस्टिलरी होइन, स्थानीय स्तरको माइक्रो–डिस्टिलरीका रूपमा दर्ता प्रक्रिया अगाडि बढाउँदैछौँ । गण्डकी गाउँपालिका वा खोटाङले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकियो भने यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट चिनोसमेत बन्न सक्छ ।”

    हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाइएकामा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन तथा बजार विस्तार गर्ने तयारी भइरहेको सापकोटाले बताए । उनका अनुसार हाल परीक्षण चरणमा परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा आठदेखि नौ जना संलग्न छन् ।

    यसका साथै, केराका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ ।

    सापकोटा भन्छन्, “धेरै वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउँदा बजारीकरण र प्राकृतिक विपत्तिका कारण ठूलो समस्या भोग्नुप¥यो । बारीमै पाकेर खेर जाने केरालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच्दै जाँदा यो अवधारणा विकसित भएको हो ।” केरालाई विविधीकरण गरी चितवनको पहिचानका रूपमा स्थापित गर्ने तथा यसको व्यावसायिक विस्तारमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको उनले बताए ।

  • गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर-बङ्गुर मरे

    गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर-बङ्गुर मरे

    रासस
    गोरखा, १६ असारः अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुररबङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुररबङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका(६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो । बाँकी अन्य किसानका फार्मका सुँगुररबङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् ।

    अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका ६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुररबङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ ।

    कार्यालय प्रमुख कोइरालाले भने, “अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुररबङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।” उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो ।

    “अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुररबङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ”, कोइरालाले भने । उनले रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए ।
    किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुररबङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।

  • पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    तानसेन (पाल्पा), १६ असारः एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् । “हँ हँ माले हँ हँ, हँ हँ तारे गर्दै असार र साउन महिनामा खेतमा गोरु कुदाउने गर्थे, अघिअघि हली पछिपछि रोपाराले गीत गाउँदै खेत जोत्ने गरेको देख्दा रमाइलो लाग्थ्यो । हामीले पनि गोरु जोतैरै रोपाइँ गर्यौंं तर हिजोआज भने ट्याक्टरले जोत्न थाले”, घर्तीले भने, “अहिले गाउँमा हलगोरु भेट्याउनै मुस्किल पर्छ ।” गाउँमा अहिले एक–दुई हल गोरु मात्रै रहेका उहाँले बताउनुभयो ।

    आफूले ६० वर्ष पुग्दासम्म पनि हलगोरु पालेरै जोतेको घर्तीको भनाइ छ । “पहिला सबैले गोरु पालेरै जोत्थे तर अब त किसानहरूले गोरु पाल्नै छाडे”, उनले भने, “गाउँघरमा अहिले एक, दुई हल मात्रै गोरु छन्, मैले उमेर हुँदासम्म घरमै गोरु पालेरै जोत्ने गर्थे तर अहिले बुढो भएर सक्दिन ।” मकै रोप्ने र जोत्नेबेला छोराहरुले ट्याक्टर ल्याएर जोत्ने गरेको उनले सुनाए ।


    पूर्वखोला गाउँपालिका रिङनेरहका वीरबहादुर सारुले खेतबारी जोत्न सहज रूपमा ट्याक्टर पाइन थालेपछि विगत पाँच वर्षदेखि गोरु पाल्न छाडेको बताए । पाखाको बारी र फेदीको खेत ट्याक्टरले जोत्न थालेपछि गोरु बेचेको सारुको भनाइ छ ।

    गाउँघरबाट युवापुस्ता वैदेशिक रोजगारीमा पलाएन हुनेक्रम बढेसँगै हलगोरु पालेर खेती लगाउने प्रचलन पनि हराउँदै गएको ६० वर्षीय सारुले बताए । “बढेका छोरा, बुहारी सहर र विदेशतिर पसेकाले गाउँघरमा घाँस काट्ने, गोरु जोत्ने मान्छे पनि छैनन्”, उनले भने, “अब सबै सुखसँग बस्ने भए, गोरु पाल्ने मान्छे गाउँघरमा भेट्नै मुस्किल छ ।”

    यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय यहाँका अधिकांश फाँटमा गोरुले खेतबारी जोत्ने परम्परा विस्तारै हराएको छ । कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग बढ्दै जाँदा गोरुको स्थान ट्याक्टर, मिनी टिलर र पावर टिलरले लिन थालेका छन् । पहिले हरेक किसानले खेतीका लागि गोरु पाल्ने चलन थियो । रोपाइँ, मकै, गहुँ तथा अन्य बाली लगाउन खेत जोत्न गोरु अनिवार्य मानिन्थ्यो । तर पछिल्ला वर्षमा कृषि मजदुरको अभाव, समयको बचत र कृषि उपकरणबाट छिटो काम हुने भएकाले किसान यान्त्रिक उपकरणतर्फ आकर्षित भएका सारुको बुझाइ छ ।

    विशेषगरी अन्नको भण्डारका रूपमा लिइने तानसेनको माडीफाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा एक दशकअघिसम्म गोरुले जोतेर धान रोप्ने प्रचलन थियो ।

    अहिले यी ठाउँमा ट्याक्टरले जोतेर धान रोपाइँ हुने गरेको छ । गाउँमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जाँदा हलो, जुवा, फालीलगायत परम्परागत कृषि सामग्री पनि प्रयोगविहीन बन्दै गएका छन् । यसले ग्रामीण जीवनसँग जोडिएका पुराना कृषि संस्कार र सीपसमेत लोप हुने अवस्थामा पुगेको छ ।

    यान्त्रिकीकरणले उत्पादन लागत र समय घटाउन सहयोग गरे पनि परम्परागत कृषि ज्ञान तथा जैविकखेतीसँग जोडिएका अभ्यासको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यावदले बताए । केही वर्षयता गाउँका कृषकहरूले आधुनिक हलो प्रयोग गर्न थालेका भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्दै आएको उनले बताए ।

  • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    काठमाडौँ, १५ असारः आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको साँराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।

    विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके ।

    विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गरे । उनले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरु गरे । विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताए ।


    विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए । “नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो, स्कुलका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भने, “यसले विद्यार्थीलाई हिलोसँग खेल्न र धान रोप्ने कार्य आफैँले अनुभव गरेर सिक्न सक्छन् ।“

    स्कुलका प्रबन्ध निर्देशक शीलाल परियार यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । सोही अनुसार उनीहरुलाई सिकाउन थालिएको बिद्यालयले जनाएको छ ।

  • उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

    उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो

    गाईघाट (उदयपुर), १५ असारः चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।

    यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताए । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ । कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा रहेको बताइएको छ । अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताए ।