राष्ट्रपति रामचन्द्रद्वारा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

काठमाडौँ, साउन १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा। रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको छलफलमा तराई–मधेसमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलका क्रममा प्रथम राष्ट्रपति डा। यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए ।