सामाजिक सद्भाव र सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहितका जिल्लामा उत्पन्न संवेदनशील परिस्थिति समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकसम्म पुग्न, सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु सरकारको प्राथमिक ध्यान रहेको बताए । शान्ति–सुरक्षा चुस्त बनाउन र परिस्थिति बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उनको भनाइ थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदलाई आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबिच सद्भावको बलियो पुल बन्न आह्वान गरे । अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर सुखदुःखमा उभिनु नै जनप्रतिनिधिको वास्तविक दायित्व भएको उनले स्मरण गराए ।

सो अवसरमा सांसदले प्रधानमन्त्रीको अनुरोधलाई सकारात्मक रूपमा लिँदै तत्कालै निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरे । बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको उनीहरुले उल्लेख गरे ।

स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्न धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सघन संवाद निरन्तर चलाउनुपर्ने सुझाव सांसदले दिए । साथै, तनावग्रस्त क्षेत्रमा सामाजिक सौहार्द कायम राख्न ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने र सामाजिक सञ्जालका भ्रम तथा अफवाहबाट युवा वर्गलाई जोगाउन जनचेतनामूलक अभियान चलाउनुपर्नेमा सांसदले जोड दिए ।