Category: स्थानीय

  • बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    नेपालगन्ज (बाँके), १५ असारः यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाउनुभयो ।

    “वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था छैन, त्यसैले हामीलाई धेरै गाह्रो छ”, उनले रासससँग भने । आफ्नो १० कट्ठामात्रै खेत रहेको उल्लेख गर्दै थारुले परिवार पाल्न करिब डेढ बिघा क्षेत्रफलमा धानखेती गर्दै आएको बताए । यसपटक पर्याप्त वर्षा नभए धानको उत्पादन घट्दा त्यसको प्रत्यक्ष असर उनको परिवारमा पर्ने निश्चित छ ।

    बर्सेनि (बटैया) अधिया धानखेती गरेर करिब १० क्विन्टल धान उत्पादन हुने गरेको अनुभव सुनाउँदै थारुले भने, “जति सकिन्छ त्यति नै रोप्ने हो तर अहिलेसम्म वर्षा भएको छैन ।” सिक्टा सिँचाइका सुविधा भएका स्थान र डिपबोरिङमार्फत हुने सिँचाइबाट बाँकेका केही स्थानीय तहमा रोपाइँ गरिएको छ । तर अधिकांश खेतका फाँट धुलाम्मे देखिएका छन् । खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेत धुलाम्मे अवस्थामा छन् ।

    कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने बताए । उनले अहिले पनि किसानका ब्याडमा रहेको बीउ ठूलो नभएकाले जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको जानकारी दिए ।


    “अब केही दिनमा वर्षा सुरु हुँदैछ, त्यसबेला खेत बनाउन पनि समय लाग्छ, त्यसैले एक सातापछि बाँकेमा रोपाइँ सुरु होला”, प्रमुख घिमिरेले भने । गत वर्ष जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ हुने क्षेत्रफल कुल ३४ हजार ७११ हेक्टर जमिनमध्ये गत वर्ष ११ प्रतिशतमात्रै रोपाइँ भएको थियो । तर अहिले असार १२ गतेसम्म जिल्लाका केही भेगबाहेक अधिकांश क्षेत्रमा रोपाइँ भएको छैन ।

    कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर जमिनमध्ये १६८.९ हेक्टरमा रोपाइँ भएको छ । प्रतिशतका आधारमा यस रोपाइँलाई ०.५ प्रतिशतका रूपमा लिन सकिन्छ । ज्ञान केन्द्रका अनुसार कतिपय स्थानमा त किसानले वर्षा नहुँदा धानको ब्याड समेत राख्न पाएका छैनन् ।

  • बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    झापा, १५ असारः असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ ।

    भारततर्फबाट छावा (हात्तीका बच्चा)सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको स्थानीयवासीको भनाइ छ ।

    हात्तीको आतङ्क अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनसमेत नसकिरहेको अवस्था छ । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ । किसानहरू असारको हिलोमा धान रोप्न छाडेर ज्यान हत्केलामा राख्दै दिनभर हात्ती धपाउन हिँडिरहेका छन् । स्थानीय युवाहरू, गाउँले र प्रहरी प्रशासनको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर चियाबारीभित्र लुकेर बसेका हात्तीलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानतर्फ धपाउने प्रयास त गरिरहेका छन्, तर यो प्रयास ‘अल्पकालीन’मात्र सावित भएको छ ।

    मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर फिल्डमा खटिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा साइरन बजाएर हात्तीलाई बस्ती तथा चियाबारीबाट भारततर्फ धपाउने काम गरिरहेका छौँ । यो समस्या स्थानीय तहको एकल प्रयासले मात्र हल हुन सक्दैन, यसका लागि सङ्घीय सरकारले नै ठोस कदम चाल्नुपर्छ ।”

    लामो समयदेखि समस्या झेल्दै आएका बाहुनडाँगीका स्थानीयवासी नीलकण्ठ तिवारीले भने आक्रोश र दुखेसो पोख्दै भन्नुभयो, “धनजन जोगाउन मुस्किल पर्न थाल्यो भनेर प्रधानमन्त्रीलाई समेत मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापनपत्र बुझायौँ । तर सुनुवाइ भएन ।”

    बाहुनडाँगी र हात्तीबीचको द्वन्द्व दशकौँदेखि छ । भारतको आसाम र पश्चिम बङ्गालबाट नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवतजावत गर्ने परापूर्वकालदेखिको यो प्राकृतिक बाटो ९करिडोर० हो । मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध पुगेपछि उनीहरू गाउँ पस्न थालेका हुन् ।

    हात्ती रोक्न सीमा क्षेत्रमा करोडौँको लागतमा लगाइएको विद्युतीय तारबार (फेन्सिङ) धेरै ठाउँमा जीर्ण भएको छ भने हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याइसकेका छन् । त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा (बाँस, सिरु, केरा) नहुनु र गाउँमा थन्क्याइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुन्छन् ।

    स्थानीयस्तरमा साइरन बजाएर वा केहीबेर धपाएरमात्र यो समस्या समाधान हुँदैन । यसका लागि नेपाल र भारत दुवै देशका सरकारबीच ‘क्रस–बोर्डर’ (सीमापार) समन्वय गरी हात्तीको पुरानो करिडोरलाई व्यवस्थापन गर्न जरुरी छ । तत्कालका लागि स्थानीय प्रशासनले फेन्सिङको मर्मत गर्ने, प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र किसानलाई उचित क्षतिपूर्तिको ग्यारेन्टी नगरे बाहुनडाँगीमा मानवीय सङ्कट आउन सक्ने देखिन्छ ।

  • केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ, १५ असारः मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ ।

    विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ विभागको अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    साथै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु–भागका केही स्थानमा र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

  • तिनाउको बाढीमा फसेका युवकको उद्धार

    तिनाउको बाढीमा फसेका युवकको उद्धार

    सिद्धार्थनगर (भैरहवा), १५ असारः बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए ।

    इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । पाल्पा र बुटवल क्षेत्रमा वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढेको थियो । सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फसेका थिए ।

    प्रहरीले वर्षायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले दाउरा सङ्कलन, पौडी खेल्न वा अन्य प्रयोजनका लागि नदीमा नजान तथा आवश्यक परे अत्यन्त सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

    राष्ट्रिय समाचार समिति (रासस)
    जनकपुरधाम, १४ असार । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आउनुभएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त हुनुभएको हो ।

    “पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ”, यादव भन्नुहुन्छ, “यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ ।” हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उहाँको भनाइ छ ।

    यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताउनुहुन्छ ।

    धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त हुनुहुन्छ । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् ।

    धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ ।

    सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिनुभयो ।

    सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

    कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादव बताउनुहुन्छ ।

    धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।

    उहाँका अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ ।

    सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।

  • नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

    नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

    चन्द्रपुर (रौतहट), १४ असार । रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको आठ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका आठ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

    दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका थिए । नुहाउने क्रममा बालक हराएको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वको प्रहरी टोलीले खोजीकार्य गरेको प्रनाउ गौतमले जानकारी दिए ।

  • सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

    सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

    कानो, नाइजेरिया, १४ असार (रासस–एएफपसी) । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन्। स्थानीय अधिकारीले शनिबार यो जानकारी दिएका हुन्। यो क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ । मौसम सुरु भएको केही साता भित्रै जिहादी र आपराधिक गिरोह रकमका लागि अपहरणकर्ता ९स्थानीय रूपमा ‘ब्यान्डिट’ भनेर चिनिने गाई चोरहरू० ले उत्तरी तथा मध्य नाइजेरियाका कृषक समुदायहरूमाथि कर लगाएर पैसा नदिनेहरूलाई आक्रमण बढाएका छन् ।

    यस हिंसाका कारण धेरै किसान आफ्नो खेतमा जान डराएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस्ता आक्रमणले नाइजेरियामा ‘गरिबी र खाद्य असुरक्षा’ बढाउन सक्ने चेतावनी दिएको छ। जाम्फारा राज्यको तुङ्गार बाउरे गाउँमा शुक्रबार मोटरसाइकलमा सवार डाकाहरूहरूले आक्रमण गरी गोली हानेको स्थानीय राजनीतिक प्रशासक याहाया अबुबकर यारीले बताए ।
    “आक्रमणमा अपराधीहरूले १७ जनाको हत्या गरे र केही (सङ्ख्या पुष्टि हुन नसकेको) लाई अपहरण गरे,” पीडितहरूको अन्त्येष्टिमा सहभागी यारीले भने । जिल्लाका समुदायहरू पर्याप्त सुरक्षा कर्मी नभएका कारण ब्यान्डिटहरूबाट निरन्तर आक्रमणमा परिरहेका छन्,” यारीले थपे । यो आक्रमण जुनियर रक्षा मन्त्री बेल्लो मुहम्मद मतावाल्लेको गृह जिल्लामा भएको हो। उनले यसअघि गिरोहविरुद्ध लड्न दुई हजार सैनिक खटाउने प्रतिबद्धता जनाएका थिए ।

    एएफपीले प्राप्त गरेको भिडियोमा तुङ्गार बाउरेका सयौं क्रुद्ध बासिन्दाहरूले राजमार्ग अवरुद्ध गरी हत्याको विरोध गर्दै सुरक्षा फौज खटाउन माग गरेका थिए। जुन १२ मा छिमेकी मारादुन जिल्लाको एउटा गाउँमा डाँकाहरूले १७ जना किसानको हत्या गरेका र अन्य पाँच जनालाई घाइते बनाएको स्थानीय अधिकारी तथा बासिन्दाले बताएका थिए ।

  • घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    खोटाङ, १४ असारः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।

    कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन भएको रु दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले रु एक करोड सात लाखमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिए ।

    ठेकेदार कम्पनीले करिब पाँच महिना लगाएर स्काभेटरमार्फत ब्रेकर लगाएर चट्टान फुटाएर घर्तीभिरमा सडक पार गराइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । घर्तीभिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०८२ माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

    दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको साप्सुखोला किनारमा रहेको घर्तीभिर फुटाएर सडक निर्माण गरेपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरे । “महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकखण्ड लामो छ । घर्तीभिर काटेर त्योभन्दा सिधा र छोटो सडक मार्ग खोलिएको हो”, उनले भने, “यो सडक यात्रु तथा यातायात व्यवसायी दुवैका लागि उपयोगी छ ।”

    बिगतमा पनि घर्तीभिरलाई काटेर छोटो दूरीको सडक बनाउने योजना बनाए पनि पहरा काट्न कसैले आँट गरेका थिएनन् । कोशी प्रदेश सरकारअन्तर्गत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि आवश्यक बजेट विनियोजन गरेर घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको हो । गोरेटो बाटो सञ्चालनमा रहेको भिर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्ला आवतजावात गर्ने छोटो दूरीको सडक मार्ग खुलेको छ । सुरुमा दिक्तेलबाट महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आवतजावत गर्ने गरिएको छ ।

    दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो । सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
    “दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड साढे १७ किलोमिटर छोटो छ ।

    दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो”, उनले भने, “नगरपालिकाको रु डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण गरिसकेका थियौँ । बाधकका रुपमा रहेको घर्तीभिरको ठूला चट्टानसमेत फोडेर सडक बनेपछि नियमित यातायात सञ्चालन गर्ने योजनामा छौँ ।”

    दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक स्तरोन्नति गर्नेगरी पूर्वाधार विकास कार्यालयले गत वर्ष ठेक्का लगाएको हो । प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालयमा प्राप्त रु तीन करोड बजेटमा सोही सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुलसमेत निर्माणको काम भइरहेको छ ।

    दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक करिब रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा ढुवानी गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

    कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ । प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोट्टिएको छ ।

  • चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    अर्घाखाँची, १३ असारः अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उहाँले जानकारी दिनुभयो ।

    मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भएका छन् । भुसालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र एउटा अण्डा पार्ने गर्छन् । सामान्यतया असोज–कात्तिकदेखि सुरु हुने प्रजनन चक्र वैशाख(जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्ने गर्दछ ।

    यता विश्वमै दुर्लभ तथा सङ्कटापन्न सेतो गिद्धले पनि सन्धिखर्क, भूमिकास्थान, मालारानी र शीतगङ्गा नगरपालिकाका विभिन्न छ स्थानमा गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेको छ । अन्य गिद्धहरूको तुलनामा यस प्रजातिको प्रजनन केही ढिलो सुरु हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भुसालले बताउनुभयो ।

    अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु, उपयुक्त बासस्थानको संरक्षण, पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षणप्रतिको सचेतनाले गिद्धहरूको सङ्ख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनुभयो ।

    विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ । यस वर्ष चार प्रजातिका गिद्धको सफल प्रजनन र ३३ वटा बचेरा उड्न सफल हुनु जिल्लाको जैविक विविधता संरक्षणका दृष्टिले उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । राससबाट

  • धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

    धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

    धरान (सुनसरी), १३ असारः धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरे । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो ।

    कूल रु ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले रु २५ करोड ४१ लाख ६७ हजार ३१९ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।

    बसपार्क रु २४ करोड ८६ लाख नौ हजार १४८ मा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए । यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्गे्र्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले बताए ।


    बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित बसपार्क भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको उनले बताए ।


    उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले स्मार्ट बसपार्क सञ्चालनमा आएसँगै धरानको सार्वजनिक यातायात सेवा थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री हुने विश्वास व्यक्त गरे । उनले धरानको पुरानो बसपार्क साँघुरो हुँदा यात्रुको भीड, ट्राफिक जाम तथा विभिन्न असुविधा हुने गरेको उल्लेख गर्दै नयाँ बसपार्कले ती समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लगिने उनले बताए ।


    धरानमा लामो समयदेखि व्यवस्थित बसपार्कको अभाव हुँदा यात्रु तथा सार्वजनिक यातायात व्यवसायीले सास्ती भोग्दै आएका उल्लेख गर्दै धरान उपमहानगरपालिकाकी पूर्वनगर उपप्रमुख मञ्जु भण्डारीले नयाँ स्मार्ट बसपार्क सञ्चालनसँगै सार्वजनिक यातायात सेवा थप व्यवस्थित हुने र यात्रुले आधुनिक तथा सहज सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

    उनले स्मार्ट बसपार्क धरानको गौरवको आयोजना भएको उल्लेख गर्दै पुरानो बसपार्क साँघुरो हुँदा दुर्घटनाको जोखिम तथा अव्यवस्थापन न्यूनीकरण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

  • पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

    पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

    काठमाडौँ, १३ असारः पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिइन् ।

    उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् । यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताइन् । ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ ।

  • कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

    कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

    दमौली (तनहुँ), १३ असारः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले राससलाई जानकारी दिउ । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो।

  • रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    नारायणगढ (चितवनं, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताए । चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उहाँले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गरे ।


    उनले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गरे । देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उहाँले विशेष धन्यवाद समेत ज्ञापन गरे ।


    पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको स्वीकार गर्दै सभापति लामिछानेले भने, “यो हाम्रो पहिलो महाधिवेशन हो । पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स–साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ । आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पारे । उनले थपे, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ । यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ ।”

    सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिए । जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उनले भने, “हामीमाथि जनताको ठुलो भरोसा छ । जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो ।”

    नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उनले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदी जस्तै भएको टिप्पणी गरे । पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उनको भनाइ थियो ।

    चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आम पार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उल्लेख गर्दै उनले भने, “हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे । उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला । त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला ।”

    भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उनले बताए । आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा जोड दिँदै सभापति लामिछानेले भने, “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ । यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ । अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ । कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो । यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ ।”

    सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिए ।

  • उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित, अन्य पदाधिकारीमा कोको ?

    उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित, अन्य पदाधिकारीमा कोको ?

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी भएका छन् । उनले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरेकी हुन् । उनले उपसभापति पदमा ७८९ मत पाइन् । उनका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाइन् । महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भए । उनले ६७३ मत पाए ।


    सोही पदमा उम्मेदवारी दिनुभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाए । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भए । शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित भए ।
    सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गरे ।

    एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भइन् । सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी भइन् । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा (बिदुसी)ले ८२ मत, जुली यादवले ७८ प्राप्त गरे ।


    यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका थिए । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह भएका छन् । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित कार्यसमितिलाई आजै शपथ गराइएको छ ।

  • रास्वपा महाधिवेशनका कारण पुनः सर्यो संसद बैठक

    रास्वपा महाधिवेशनका कारण पुनः सर्यो संसद बैठक

    काठमाडौँ, १२ असारः प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् । सत्तारुढ दल रास्वपाको महाधिवेशनका कारण संसद बैठक समेत पटक पटक सरिरहेको छ ।

  • रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गरे । खुलातर्फ सोविता गौतम दुई हजार ६४१, शिशिर खनाल दुई हजार ५३८, सागर ढकाल दुई हजार ३७६, डा तोसिमा कार्की दुई हजार ३०२, रञ्जु दर्शना दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ भोट पाए ।


    यसैगरी, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

    उम्मेदवार रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल ९दोलखा०ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरे ।

    यसैगरी, समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

  • लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    काठमाडौँ, १२ असारः आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।

    राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

    ला गुएरा, भेनेजुएला, ११ असार (रासस–एएफपी) । एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइन्थ्यो ।

    बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

    फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७।२ र ७।५ को भूकम्प गएको थियो। उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् । क्षतिको प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताउनुभएको छ । भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

    ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भन्नुभयो, “अहिले हामीसँग केही पनि छैन । न त शक्ति छ, न साहस नै । उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन । भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन् ।” तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन् ।

    बुधबार गएको ७।५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७।७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    –उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित–

    बुधबारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए । “त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत् खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताउनुभयो, “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन् ।”

    फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ । चीन, भारत, ब्राजिल र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन् । “अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार भन्नुभयो ।

    मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७।२ पहिलो भूकम्प बुधबार साँझ १०ः०४ बजे गएको थियो । एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७।५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ ।

    गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ ।

    “हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्यासको आपूर्तिलाई बन्द गरेका छौँ,” उहाँले भन्नुभयो ।

    काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ । सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन् ।

    भूकम्पले राजधानीमा त्रास फैलाएको थियो र मानिसहरू सडकमा निस्किएका देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

    एएफपीका एक पत्रकारले राजधानीको अल्टामिरा इलाकामा एउटा २२ तले भवन पूरै ध्वस्त भएको आफूले देखेको पुष्टि गरेका छन् ।

    भूकम्प क्रमशः २२ किलोमिटर र १० किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएका थिए ।

    काराकासको एउटा व्यापारिक भवनमा भूकम्पले त्रास फैलाएको एएफपी पत्रकार खिचेको तस्वीरमा देख्न सकिन्छ ।

    “यो अविश्वसनीय थियो, मलाई थाहा छैन कति समयसम्म चलेको थियो,” पसल सञ्चालक हेडी रोमेरोले भन्नुभयो । उहाँ भूकम्प जाँदा माथिल्लो तलामा रहेको बताउनुभयो । “हामीलाई ‘आकस्मिक प्रयोग’का लागि बनाइएको भ¥याङबाट बाहिर निस्किन सहयोग गरिएको थियो,” ४२ वर्षीया रोमेरोले बताउनुभयो ।

    राजधानीका धेरै मानिसहरू भवनबाट बाहिर निस्केर केही समय बाहिर बसेपछि कार्यालय र घर फर्किएका थिए।

    भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।

    भूकम्पको प्रभाव कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । त्यहाँ पनि भूकम्पको चेतावनी दिँदै घण्टी बजेपछि केही बासिन्दाहरू सतर्कताका लागि भवनबाट बाहिर निस्किएका थिए ।

    भूकम्पका लागि जोखिमयुक्त मानिने भेनेजुएलाको हालैका इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९९७ मा उत्तर–पूर्वमा गएको थियो जसमा ७३ जनाको मृत्यु भएको थियो । त्यस्र्त अर्को सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए ।

  • भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

    भक्तपुर, ११ असार । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए ।

    बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।

  • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    काभ्रेपलाञ्चोक, ११ असारः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको पुनर्निर्माणकार्यसँगै अबको केही दिनमै पुनर्निर्मित ट्रयाकबाटै सवारी आवागमनको तयारी भइरहेको छ । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो ।

    पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने बर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकमा खोलिएको ट्रयायकबाट असार दोस्रो साताअर्थात् केही दिनमै सवारीसाधन सञ्चालन गर्नेगरी तयारी भइरहेको कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार हाल पनि चार स्थानमा माथिबाट गाडी सञ्चालन गर्नसक्ने अवस्थामा छ भने तत्कालै पनि बाढी आयो भने माथिबाटै चलाउन सुरु गर्न सकिनेछ । बाढीपपहिरोले राजमार्गको सडक क्षतिग्रस्त बनाएपछि हाल रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन गराउँदै आइएको छ ।

    चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको एउटा खण्ड तयार भइसकेको योगेशको भनाइ छ । “यीबाहेक अन्य क्षेत्रका डाइभर्सनमा समस्या आए अब गाडी रोकिने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो । विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । त्यसपछि पटकपटकका वर्षाले सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रुपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको छ भने वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्रे गरिने जनाइएको छ ।

    कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेर सवारीसाधन सञ्चालनमा ल्याइने योगेशले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म असार १५ गतेदेखिनै नयाँ ट्रयाकबाट आवागमनको तयारी भइरहेको छ । उक्त क्षेत्रमा भने आउँदो आर्थिक वर्षमा कालोपत्रको काम थालिने योगेशको भनाइ छ ।

    क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका_ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम भइरहेको जनाइएको छ । वर्षाका बेला भने यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नभएको योगेशले बताउनुभयो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरी कामअघि बढाइएको हो ।

    सम्भावित जोखिम तथा निर्माणकार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ । यसअघि रोशी खोलामा बाढी आउनेबित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाख, नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड ९भ्याटसहित०मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको हो । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आव २०५३-०५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

    गोदावरी (कैलाली), ११ असार । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ‘ग्रिनेड’ विस्फोट हुँदा सैनिक जवान हिमालविक्रम विष्टको मृत्यु भएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ग्रिनेड विस्फोटमा गम्भीर घाइते भएका निजको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएका सह–सेनानी हेमराज जोशीलाई उपचारका लागि नेपालगञ्ज लगिएको जानकारी दिए । घटना आज बिहानको हो ।

  • देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

    काठमाडौँ, ११ असारः किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए ।

    उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ ।

    कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।

  • मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

    काठमाडौँ, ११ असारः सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो । त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् ।

    सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

    “यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।” यसवर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।


    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकल गरिए पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ । प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

    बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘¥याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार

    सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ । ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

    सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    काठमाडौँ, ११ असारः राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो ।

  • रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    चितवन, ११ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो ।

    प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ । उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो । मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने छ । मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् ।

  • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    पाल्हीनन्दन (नवलपरासी पश्चिम), १० असारः बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् । लामो समयदेखि वर्षा नहँुदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् ।

    खेतमा धाँजा फाटी लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँ बन्द गरेको पाल्हीनन्दन–६ निवासी दीनानाथ यादव बताउँछन् । उनका अनुसार यस वर्षको लामो खडेरीसँगै डिपबोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइको अतिरिक्त पिउने पानीको समेत समस्या थपिएको छ ।

    पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठी गण्डक नहरदेखि दक्षिणतर्फका गाउँमा चापाकलमा थारै भए पनि पानी आइदिँदा लत्ताकपडा धुन र नुहाउन राहत मिलेको भए पनि आफ्नो गाउँठाउँतर्फ भने पानीको हाहाकार भएको बताउँछन् । खानेपानीको अभाव भएपछि चन्दा उठाएर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानीको व्यवस्था गर्न बाध्य हुनुपरेको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।


    अध्यक्ष त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि पानी नपर्दा गर्मी अचाक्ली बढी रोपेको धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम बन्द गरिएको छ ।

    कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय हुँदा खुसी भई रोपेका धानका बिरुवा सुक्न थालेपछि किसान आत्तिन थालेको बताए । जिल्लामा अहिलेम्म करिब चालिस प्रतिशत धान रोपाइँको काम सकिएको जानकारी दिँदै प्रमुख अर्यालले भने, “दुई सातादेखि पानी नपर्दा रोपेका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भइदिँदा किसानसहित स्थानीय जनता आँत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा झन् समस्या देखिएको अवस्था छ ।”

    यसैबीच, देशको पूर्वतर्फबाट मनसुन भित्रियो भन्ने खबर सुन्न पाइएको छ भन्दै स्थानीय किसानबाट अब छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने, धानका बिरुवाले जीवन पाउने र कृषि व्यवसायमा सक्रिय भई आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

  • देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

    काठमाडौँ, १० असारः देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०।४ प्रतिशतले बढेको छ । मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२।८ प्रतिशत र बागमती प्रदेशमा २।३ प्रतिशत रोपाइँ भएको छ ।

    मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

    विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ ।

  • पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

    काठमाडौँ, १० असारः मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरुप मासिक रुपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालमा विपद्को गाम्भीर्यताबमोजिम आवश्यकताअनुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    यसैगरी अवरोध भएका राजमार्ग÷सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित चौबिसै घण्टा तयारीमा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन चल्न नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्वसूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

    बैठकले जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखा मनसुन अवधिभर सातै दिन चौबिसै घण्टा सञ्चालन गर्ने प्रबन्ध मिलाउन विभागलाई अनुरोध गर्ने, भारत सरकारको प्रतिबद्धताअनुसार आउन बाँकी बेलिब्रिजका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायमा अनुरोध गर्ने, खोज तथा उद्धार सामग्री अभाव हुन नदिन निजी क्षेत्र, सङ्घ, संस्था, नागरिक समाजलगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज्लगायतलाई अनुरोध गर्नेलगायत निर्णय गरेको छ ।

  • अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगमा प्रहरी महानिरीक्षक कार्कीको जोड

    काठमाडौँ, १० असारः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनले सुरक्षित समाज निर्माणमा थप चुनौती थपेको उल्लेख गर्दै सङ्गठित अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताए ।

    नेपाल पुलिस क्लबमा आज आयोजित ‘प्रहरी कार्यसम्बन्धी समीक्षा सम्मेलन, २०८३’लाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा प्रहरीको सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

  • चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।


    रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरुले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

    उनले भने, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।” हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”