Category: स्थानीय

  • सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

    चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए । उनले भने, “सबै एकै ठाउँमा आएरमात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

    सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले भने, शाहले भने, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उनको भनाइ छ ।

    चर्को गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, “पार्टीको जन्मभएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उनले थपे, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्यौँ ।”

    भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उनको भनाइ थियो । महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन् ।

  • बर्दिबासमा उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

    बर्दिबासमा उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

    महोत्तरी, ५ असारः अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो । “बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो”, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन् ।

    “अब सुरु हुने नयाँ आर्थिक वर्ष २०८३–८४ मा यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन् ।” यसले बालविवाहलाई निरुत्साहित गर्नसँगै कानुनअनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ । गत मङ्गलबार प्रस्तुत नीति तथा कार्यक्रमभित्रको यो व्यवस्थाबारे समाजका सबैतिरबाट हौसला पाइएको उनले बताए ।


    यसअघि २०८० साल चैत ५ गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगरप्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई रु ५० हजार नगद प्रोत्साहनको घोषणा गरेका थिए । सोअनुसार हालसम्म बर्दिबास–१२ को एक जोडीले मात्र प्रोत्साहन रकमको दाबी गरेर लिएका नगर कार्यपालिकाको कार्यालयको अभिलेखबाट देखिन्छ ।

    जम्मा १४ वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसहर समुदायको बसोबास छ । तर यो उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोेत्साहन रकम एक जोडीले मात्र लिनुले यिनीहरूमा अझै बालविवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिबास–२ का सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउँछन् ।


    अहिले एक लाख हाराहारीको जनसङ्ख्या भएको नगरपालिकामा यहाँका १३ वडाहरू पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । अब बर्दिबास–१२ मात्र बालविवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ । नगरले आउने आर्थिक वर्षदेखि लागू हुनेगरी निर्णय गरेको २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई रु ५१ हजार प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

    नगरका आमसमुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरुष, महिला दुवैले पाउने यसअघिदेखिको व्यवस्था कायम नै राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पारे । मुसहर जाति समुदायमा बालविवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरुष, महिला दुवैलाई प्रोत्साहन दिइने व्यवस्था कायम नै राखिएको उनको भनाइ छ । नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

  • पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    कास्की, ५ असार । देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे ।

    ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि आगामी वर्षको कार्यक्रमले सहयोग पुग्ने महानगर प्रमुख आचार्यले बताए । “निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू आत्मसात् गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न आगामी वर्षको कार्यक्रमले सहयोग पुग्नेछ”, आचार्यले भन । महानगरले आगामी वर्षका लागि विभिन्न ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रमसमेत ल्याएको छ ।

    पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई नागरिकस्तरबाट आवश्यक जानकारीसहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका अगाडि बढाउन ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने महानगर प्रमुख आचार्यले बताए । त्यसैगरी, सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सर्वोच्च अदालतको आदेशानुसार फेवाताल संरक्षणसहित मापदण्ड कार्यान्वयन गर्ने र तालवरपर हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने प्रमुख आचार्यले बताए ।


    पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनको एकीकृत प्रवर्द्धन गर्ने तथा फेवाताल, वेगनासताल, रूपाताललगायत नगर क्षेत्रमा रहेका ताल तथा ऐतिहासिक पोखरीहरूलाई पर्यटकीय क्षेत्रका रूपमा सौन्दर्यकरण गर्दै पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ । पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन तथा त्रिपक्षीय भ्रमण आदानप्रदानलगायत पर्यटकीय वस्तु तथा सेवाको प्रवर्द्धनात्मक गतिविधिहरूलाई नीति कार्यक्रममा जोड दिइएको छ ।

    महानगरका प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकाको मेगा वृक्षरोपण अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य गर्ने तथा महानगर क्षेत्रमा रहेका एक सय वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन र ‘जिपिएस नक्साङ्कन’सहित अभिलेख तयार पारिने महानगर प्रमुख आचार्यले बताए ।

    ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान, सीमानाकामा रिफ्रेसमेन्ट सेन्टर, एक वडा एक सार्वजनिक शौचालय अभियान तथा सुरक्षित सहर अभियान महानगरले सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । यसैगरी सबैभन्दा बढी वृक्षरोपण तथा हरियाली प्रवर्द्धन गर्ने तीन विद्यालय, तीन सरकारी कार्यालय, पाँच टोल विकास संस्था र सात आमा समूहलाई वार्षिक ‘ग्रीन अवार्ड’ प्रदान गरिने प्रमुख आचार्यले बताए ।
    महानगरले ल्याएको नीति तथा कार्यक्रममा महानगरपालिका र मातहत कार्यालयहरूमा सुशासन सुदृढीकरण तथा सेवाप्रवाहलाई व्यवस्थित, मितव्ययी, सरल, सहज र पारदर्शी तथा प्रविधिमैत्री बनाइने, महानगरलाई वित्तीय दायित्व पर्ने अनावश्यक संरचना खारेज गरी अनलाइन प्रणालीबाट प्रदान गरिने सेवा विस्तार गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता गर्ने उल्लेख छ ।

    सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण तथा अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन तथा सार्वजनिक जग्गाको अभिलेख व्यवस्थित गर्ने, फिर्केखोलाको खोलाघर तथा पोखरा बसपार्कको जग्गामा बनेका संरचना हटाउँदा विस्थापित भएकाहरूलाई व्यवस्थापन गर्ने तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहर तथा नगरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्दै लगिने प्रमुख आचार्यले बताए ।


    शैक्षिक गुणस्तर सुधार र स्वच्छ प्रतिस्पर्धाका लागि कक्षा ८ को परीक्षालाई समूह विद्यालयको केन्द्र बनाई परीक्षा सञ्चालनलाई निरन्तरता दिइने तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी, शिक्षकहरूलाई उचित प्रोत्साहन प्रदान र प्रध्यानाध्यापकहरूको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रोत्साहनको व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

    स्वास्थ्य बिमा सेवालाई थप गुणस्तरीय बनाउँदै बिमा सञ्चालन भएका स्वास्थ्य संस्थाको कार्यक्षेत्रका सबै घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार तथा सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा औषधि पसलहरूको प्रभावकारी नियमन तथा अनुगमन प्रणाली सुदृढ गरिने उल्लेख छ ।

    प्रदेश सरकारको समन्वयमा निजी तथा सरकारी संस्थामा १० प्रतिशत बेड निःशुल्क उपलब्ध हुने व्यवस्था कार्यान्वयन गरिने महानगरको नीति छ । महानगरका वडा केन्द्र जोड्ने ‘कनेक्टिङ सडक’ र सहरी सडकहरूलाई क्रमशः अस्फाल्ट, कङ्क्रिटमा स्तरोन्नति गर्दै लैजाने र रणनीतिक महत्त्वका सडक तथा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा सहरी सडकलाई सङ्घ सरकार र प्रदेश सरकारको सहकार्यमा अस्फाल्ट कालोपत्र गरिने प्रमुख आचार्यले बताए ।


    सार्वजानिक निजी साझेदारीमा पातले छाँगोमा सिसा पुल निर्माण आयोजना सञ्चालनमा ल्याएर उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, फोहरमैला प्रशोधन केन्द्र र सेती खोंचमा ‘क्यान्टिलिभिर वाक’ निर्माण, व्यवस्थित वधशाला निर्माण, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, वेगनासतालमा वाटर स्र्पोट्स परियोजना सञ्चालन गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।

    त्यसैगरी, नगर विकास कोष र एसियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक र व्यवस्थित पोखरा बसर्पाक र पोखरा सभागृह निर्माण सुरु गर्ने तथा वेगनासताल बसपार्क, पोखरा प्रवेश गर्ने नाकामा मिनी बसपार्क, मुक्तिक्षेत्र प्रवेशद्धार र नमूना अक्षराधाम निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रमुख आचार्यले बताए ।
    पोखराको पुरानो र ऐतिहासिक बजारलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, महानगर क्षेत्रभित्र मनाइने परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरूको परिचयात्मक प्रोफाइल तयार तथा फिर्केखोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

    फिर्केखोलाको दायाँ–बायाँ व्यवस्थित ‘फुटट्रेल’, सुरक्षित साइकल लेन, आकर्षक पदमार्ग निर्माणसहित हरियाली बेल्ट, ढुंगे तटबन्ध, वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाउने प्रमुख आचार्यले बताए ।

  • श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन

    श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन

    काठमाडौँ, ४ असारः युवा श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौँको ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन गरेको छ । नेपाल सरकारको नियमित अनुगमन प्रक्रियाअन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवसहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्थालगायत कागजातको अध्ययन गरेको थियो ।


    सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ । यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून पाइएको छ । अस्पताल प्रशासनले कर्मचारीमा ६० वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाका बारेमा रहेका केही नीतिगत अन्योलका कारण आबद्धता कम भएको जानकारी दिएको छ । तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन् ।

    श्रम कार्यालयले अनुगमनका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई सोको प्रमाण सात दिनभित्र पेस गर्न अस्पताललाई निर्देशन दिएको छ । त्यसैसँग सम्बन्धित रहेर कार्यालयले अस्पतालसँग १० बुँदे विवरणसमेत पेस गर्न माग गरेको छ । जसमा सम्पूर्ण श्रमिक तथा प्रशिक्षार्थीको नामावली विवरण, २०८३ वैशाख महिनाको पारिश्रमिक, सेवासुविधा र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको विवरण, प्रतिष्ठानको कर्मचारी सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिको विवरणलगायत विवरण माग गरिएको छ ।

    श्रम कार्यालयका कारखाना निरीक्षक यादवका अनुसार अस्पताल क्षेत्रमा ‘ओभरटाइम’ काम गर्नुपर्ने बाध्यता र सोबापतको सुविधाका विषयमा आउने गुनासा सम्बोधन गर्न अनुगमन सुरु गरिएको हो । “राज्यले आगामी दिनमा पनि क्षेत्रगत रूपमा सबै प्रतिष्ठानमा अनुगमनलाई निरन्तरता दिने र श्रमिकको कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ”, उनले भने । अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन दिनुका साथै प्रमाण प्राप्त भएपछि थप कानुनी निर्देशन दिइने जनाएको छ ।

  • बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

    बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

    रासस
    खोटाङ, ३ असारः खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।

    तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेको थियो ।

    उनले भने, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माणको काम सुरु गर्छौँ ।” गाउँपालिकाको कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख राईको संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ । समितिले फोक्सिङटार पुल पुनर्निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माथिल्लो तहको सरकारसँग ‘डेलिगेसन’ जाने र बजेट उपलब्ध नगराएको खण्डमा आफ्नै पहलमा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा पक्की पुल नहुँदा जिल्लावासीले सास्ती भोग्दै आएका छन् । फोक्सिङटार पुल पुनर्निर्माणका लागि जिल्लास्थित सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न पेसा व्यवयसाय सञ्चालन गर्दै आएका जिल्लावासीसँग चन्दा सङ्कलन अभियान सञ्चालन गरिने जनाइएको छ ।

    जिल्लाका कर्मचारी र जनप्रतिनिधिले महिना दिनको तलब तथा सेवासुविधा जम्मा गरेको खण्डमा पुल पुनर्निर्माण गर्न सकिने सहभागीले बताएका छन् । जिल्लावासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फोक्सिङटार पुल पुनर्निर्माणमा सङ्घीय सरकारले सहयोगको अपेक्षा गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले बताए । उनले भने, “बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुननिर्माण गर्न स्थानीयले यसअघिका सरकारलाई पनि निरन्तर ध्यानाकर्षण गराएका थिए ।

    करिव चार बर्षअघि निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तर्गत बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरी यातायात सञ्चालन हुँदैआएको थियो ।

  • कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार

    कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार

    पाँचथर, ३ असारः बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ ।

    विसं २०८० असार ३ गते आएको बाढीले माझीटारमा हेंवाखोलाबाट ल्याइएका दुईवटा सिँचाइ कुलो क्षतिग्रस्त बनाएको थियो । कुलाको मुहान भएको स्थानमा बाढीका कारण खोला गहिरिएपछि फिदिम र हिलिहाङ दुवैतर्फ सञ्चालित कुलो पूर्ण रूपमा बन्द भएका छन् । जसकारण चार वर्षदेखि धान, सागसब्जी, नगदेबाली र फलफूलखेती हुन नसकेको फिदिम–४ की मीना माझीको भनाइ छ ।

    खेतीपाती गर्न नसकेपछि आफूहरूको जीविकोपार्जन कठिन बनेको ६० वर्षीया मीनाको भनाइ छ । “पहिले आफैँले फलाएर खान पुर्याउने गर्दथ्यौँ । अहिले महिनैपिच्छे किनेर खानुपरेको छ”, मीनाले भनिन्, “अहिले त हातमुख जोड्न पनि ऋण गर्नुपर्ने अवस्था छ । ठ्याक्कै चार वर्ष भयो, यहाँ बाँझिएको ।” पशुपालन र माछा मारेर हुने आम्दानीले जीविका चलेको उनको भनाइ छ ।

    सिँचाइ सुविधा नहुँदा यहाँ करिब ५०० मुरी धान फल्ने खेत बाँझिएको छ । बाढीले करिब १२० मुरी धान फल्ने खेत कतै कटान गरेको छ भने कतै पुरेको छ । बाँकी खेत पनि सिँचाइ सुविधा नहुँदा बाँझिएको हिलिहाङ–७ का वीरबहादुर माझीको भनाइ छ । “धेरै खेत बाढीले लग्यो, बाँकी रहेकामा पनि कुलो भत्किएर बाँझै राख्नुपर्यो”, वीरबहादुर भन्नुभयो, “हामीले असाध्यै कष्ट भोग्नुपरेको छ ।”

    चार वर्षदेखि निरन्तरको बाढीपहिरोका पहिलेजस्तो प्रशस्त माछा पाइन छाडेको स्थानीयवासी बताउँछन । केही माझी परिवारले माछाका परिकारसहितका होटल सञ्चालन गरेर जीविकोपार्जन गर्ने गरेका छन् । यहाँका धेरै युवाहरू भने देश तथा विदेशमा श्रमिकका रूपमा काम गर्न थालेका छन् । “यहाँ खेतीपाती नहुने अवस्था आयो । माछा पनि प्रशस्तै पाइन्न, फाट्टफुट्ट पाइन्छ । त्यसैले धेरै युवाहरू यहाँबाट बाहिरिएका छन्”, स्थानीयवासी एवं हिलिहाङ–७ का वडा सदस्य रामकुमार माझीले भने, “हामीले माछाका परिकारमा आधारित व्यवसाय प्रवर्द्धनको प्रयास गरिरहेका छौँ, तर पर्याप्त हुनसकेको छैन ।”

    अधिकांश माझी समुदायका घर भिरालो जमिनमा मात्रै छ, जहाँ उनीहरूको आफ्नै जग्गा छ । यहाँ रहेको खेतीयोग्य समथर जमिन माझी समुदायले बन्धकी, अधियाँ, कुत, ठेक्कालगायत शर्तमा लिएर खेती गर्दै आएका थिए । तर चार वर्षअघिको बाढीले बगाएको सिँचाइ कुलो पुनर्निर्माण गर्न अझैसम्म कुनै पनि निकायले चासो नदेखाएकामा माझी समुदाय असन्तुष्ट छन् ।

    “हामीले भन्नचाहिँ सबै ठाउँमा भनेका थियौँ । सबै लागेर हामीलाई सहयोग गरिदिनु भनेर अनुरोध पनि गर्यौँ”, माझी समुदायका अगुवा ७० वर्षीय जसबहादुर माझीले भने, “सरकारले पनि थोरैथोरै त राहत दिनुपर्ने हो । यहाँ सबैभन्दा पछाडि परेका मानिस छौँ । मद्दत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी बित्ने भयो ।” स्थानीय सरकारहरूले पर्याप्त सहयोग नगर्दा माझी समुदाय ‘बत्तीमुनिको अँधेरो’को अवस्थामा पुगेको जसबहादुरको गुनासो छ ।

    माझीटारबाटै पुष्पलाल ९मध्यपहाडी० राजमार्ग र तमोर करिडोर सडक अघि बढेका छन् । तर सधैँ हरियाली हुने माझीटारमा मकैबाहेकका खेतीपाती नहुँदा यहाँको पर्यटनसमेत प्रभावित भएको स्थानीय व्यवसायी रमेश तामाङले वताए । “यहाँको फाँटमा खेती हुँदा मनमोहक देखिन्थ्यो, अब त बाँझिएरै सकिने भयो”, तामाङले भने, “यसले आन्तरिक पर्यटकको आगमनलाई असर गरेको छ ।”

    हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती विपद्बाट प्रभावित योजनाहरूको पुनर्निर्माण तथा प्रभावितलाई सहयोग गर्ने बजेट नहुँदा समस्या भएको बताउँछन् । “विपद्बाट क्षति भएका संरचनाको पुनर्निर्माणमा सङ्घ र प्रदेश सरकारबाट कुनै पनि बजेट नआउनु दुःखद् पक्ष हो । स्थानीय तहको स्रोतले नभ्याएका स्थानमा माथिल्ला सरकारले सहयोग गरिदिएहुन्थ्यो ।” माझीटारमा माझी र तामाङ समुदायका गरी ४१ घर छन् भने बाहिरबाट गएर राजमार्गमा आधारित होटल सञ्चालन पनि भइरहेका छन् ।

  • किसानलाई अनुदानमा मौरी घार वितरण

    किसानलाई अनुदानमा मौरी घार वितरण

    दमौली (तनहुँ), ३ असारः जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ ।

    कार्यालयको चालु आर्थिक वर्ष २०८२\८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत रोदी खोला किसान समूहमा आबद्धलाई मौरीका घार हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।


    जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख पर्शुराम अधिकारीले मौरीपालनलाई आयमूलक व्यवसायका रूपमा विकास गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले अनुदानमा वितरण गरिएका मौरीका घारको उचित प्रयोग गरी व्यवसाय विस्तार गर्न कृषकलाई आग्रह गरे ।

    “मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो”, उहाँले भन्नुभयो, “यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आम्दानी लिनसक्ने अवस्था छ । कार्यालयले आगामी दिनमा पनि उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनेछ ।”

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले मौरीपालन कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले ग्रामीण क्षेत्रमा यसको विस्तार आवश्यक रहेको उल्लेख गरे । “मौरीपालनले मह उत्पादन मात्र होइन, कृषिबालीको परागसेचनमा महत्वपूर्ण योगदान पु¥याउँछ”, उनले भने, “यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि उत्पादन बढाउन पनि सहयोग पुग्छ ।”

  • उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    राम थापा र कृष्ण दबाडी\रासस

    कास्की, ३ असारः विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो ।

    कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन् ।

    यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन् । अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका जगदीश गुरुङले भन्नुभयो “ यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो । अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ ।”उहाँका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६० र ७० होटल सञ्चालनमा आइसकेका छन् ।

    अन्नपूर्ण ११ छोम्रोङका होटल व्यवसायी मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा थप सहज हुने जनाइएको छ । । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ ।

    नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । उहाँले भन्नुभयो, “घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन् ।”

    यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो । पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो । बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो ।

    दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो । विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

    “पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्”, इन्जिनियर रम्तेलले भन्नुभयो ।

    प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ । सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।

    स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । “पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ”, गुरुङले भन्नुभयो ।

    विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ । यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन् ।

    अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

    अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

    “गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो ।” भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उहाँले बताउनुभयो । यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।

    आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन् । जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन् । गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो । यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

    मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उहाँको भनाइ छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ ।

    अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

    कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

  • रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    चितवन, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो । यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ । बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ ।

    पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए । उनले भने, “केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए ।


    रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताए । यस लगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन शुरु गरिएको छ । उद्योग सङ्घलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताए । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताए ।


    पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको उनले बताए । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।

  • गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

    गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

    गण्डकी, १ असारः गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३–८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ रु २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । यो चालुतर्फ कूल विनियोजनको ३८ दशमलव ५६ र पुँजीगततर्फ ६० दशमलव ६८ प्रतिशत हो । उहाँका अनुसार वित्तीय व्यवस्थातर्फ रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

    आर्थिक मामिलामन्त्री शेरचनले बजेट वक्तव्यमा आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हने वित्तीय समानीकरणबाट रु सात अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट रु १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट रु ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ रु तीन अर्ब ९३ करोड तीन लाख, समपूरक अनुदानतर्फ रु ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ रु ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट रु पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री शेरचनले जानकारी दिए । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात् रु दुई अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम रु एक अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिने जनाइएको छ ।

  • देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

    देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ, ३१ जेठ . देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    ललितपुर महानगरपालिका–१३ थसिखेल चोकस्थित सडकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गडालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

    दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • फोहरबाट रोजगारी र आम्दानी

    फोहरबाट रोजगारी र आम्दानी

    इन्द्राकुमारी केसी/रासस

    घोडाघोडी (कैलाली), ३१ जेठः कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा कार्यरत छन् । चौधरी अहिले फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै मासिक करिब रु १७ हजार आम्दानी गरिरहेका छन् । उनका अनुसार यस कामले रोजगारीको अवसर दिएको भए पनि फोहरसँगको प्रत्यक्ष सम्पर्क, दुर्गन्ध र स्वास्थ्य जोखिम भने निरन्तर चुनौतीका रूपमा रहेका छन् ।

    गोदावरी नगरपालिका–१० की प्रियङ्का जोराइला पनि विगत चार महिनादेखि सोही केन्द्रमा फोहर छुट्याउने र व्यवस्थापन गर्ने काम गर्दै आएका छन् । पहिले कपडा पसलमा काम गर्ने उनी अहिले मासिक करिब रु १६ हजार आम्दानी गरिरहेका छन् । उहाँहरू जस्तै उक्त फोहर व्यवस्थापन केन्द्रमा करिब एक सय जनाले रोजगारी पाएका छन् ।
    गोदावरीमामात्रै होइन, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा समेत फोहर व्यवस्थापनका माध्यमबाट स्थानीयले रोजगारी पाउँदै आएका छन् । यसरी सुदूरपश्चिमका स्थानीय तहहरूमा फोहर व्यवस्थापन अब केवल सरसफाइको काममात्र नभई रोजगारी र जीविकोपार्जनसँग पनि जोडिन थालेको छ । स्थानीयस्तरमै सृजना भएको यो रोजगारीले फोहरलाई समस्या होइन, अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई थप स्पष्ट पारेको छ ।

    यही अभ्यासलाई अझ संस्थागत र प्रभावकारी बनाउन सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहले वैज्ञानिक व्यवस्थापन, पर्याप्त लगानी र निजी क्षेत्रको सक्रिय सहभागितासहित फोहरलाई वातावरणीय जोखिमबाट आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रयास अघि बढाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र यसैको उदाहरण हो । चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा करिब रु एक अर्ब लागतमा निर्माण गरिएको यस केन्द्रमा फोहर छुट्याउने, प्रशोधन गर्ने र पुनः प्रयोग गर्ने प्रणाली सञ्चालनमा छ । यसले वातावरणीय प्रदूषण न्यूनीकरणसँगै दिगो फोहर व्यवस्थापनको आधार तयार गरेको छ ।

    नगर प्रमुख वीरेन्द्र भट्टका अनुसार स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यासले व्यवस्थापनलाई सहज बनाएको छ भने नगरपालिकाले यसबाट राजस्वसमेत प्राप्त गर्न थालेको छ । यस केन्द्रको सञ्चालनमा निजी क्षेत्रको सहभागिता पनि उल्लेखनीय छ । स्वच्छ वातावरण प्रालिले फोहर व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । कम्पनीका सञ्चालक गोविन्द रावलका अनुसार सङ्कलित फोहरमध्ये करिब ७० प्रतिशत पुनः प्रयोगयोग्य सामग्रीका रूपमा व्यवस्थापन गरिन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिन्छ भने अन्य सामग्री पुनः प्रयोगका लागि पठाइन्छ । यसरी फोहरलाई सही ढङ्गले व्यवस्थापन गर्न सकिएमा यो समस्या होइन, अवसर बन्न सक्ने उनी बताउँछन् ।


    कम्पनीले वार्षिक रूपमा नगरपालिकालाई राजस्व बुझाउने गरेको छ । कम्पनीको मासिक आम्दानी करिब रु २६ लाखसम्म पुग्छ । आम्दानी र खर्च बराबरजस्तै भए पनि कम्पनीले एक सय व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको रावल बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमार्फत यस्तै अभ्यास अघि बढाइएको छ । केन्द्र निर्माण हुनुअघि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गरिँदै आएकामा एक वर्षअघि केन्द्र सञ्चालनमा आएपछि व्यवस्थापन कार्य सहज भएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले बताए ।


    दैनिक करिब छ टन फोहर सङ्कलन हुने अनुमानका आधारमा २० वर्षसम्म व्यवस्थापन गर्न सकिनेगरी केन्द्र निर्माण गरिएको भए पनि हाल दैनिक करिब तीन टनमात्र फोहर सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । यस अवस्थालाई हेर्दा केन्द्रको आयु ४० वर्षसम्म पुग्न सक्ने नगरप्रमुख महराको भनाइ छ । उनका अनुसार केन्द्र सञ्चालनपछि ट्याक्टर चलाउनेदेखि फोहर छुट्याउनेसम्मका काममा स्थानीयवासी नै संलग्न रहेका छन्, जसले रोजगारीको अवसर पनि सृजना गरेको छ । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा यस्ता संरचना निर्माण भएका छन् । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत यी परियोजना अघि बढाइएका हुन् ।

    यता कैलालीको धनगढी उपमहानगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइसकेको भए पनि सञ्चालनमा आउन बाँकी छ । तर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि विगतका वर्षहरूबाट नै निजी कम्पनीमार्फत ठेक्का लगाई आम्दानी गरिरहेको छ । उपमहानगरपालिकाले नकुहिने फोहरबाट आयआर्जन तथा कुहिने फोहरबाट मल बनाउने उद्देश्यका साथ २०८० साउनमा रु ३१ लाख ५५ हजार लगानीमा सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको थियो ।

    उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको उपमहानगरपालिकाको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थी बताउँछन् । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई आव २०८१÷८२ मा रु ७२ लाखमा पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको अवस्थीले बताए ।
    यी अभ्यासहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी वातावरण संरक्षण र आर्थिक अवसरसँग जोड्न सकिन्छ । तर संवेदनशील वन क्षेत्रमा अझै पनि फोहर थुपारिने अभ्यास जारी रहनु चुनौतीपूर्ण देखिएको छ । फोहर व्यवस्थापनको समस्या केवल स्रोतको अभाव होइन, नीति कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन दृष्टिकोणसँग पनि जोडिएको छ ।

  • हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

    हात्तीको आक्रमणमा परी झापामा महिलाको मृत्यु

    सुरुङ्गा (झापा), ३१ जेठः मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

  • काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

    काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

    काठमाडौँ, ३० जेठः नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार आठ यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य, तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    मृतक सबैको सनाखत

    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानका ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया तामाङ, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका(४ निवासी २२ वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो । दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

  • रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    कास्की, ३० जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् ।


    उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत छन् । सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे । रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

    रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १र१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो ।

    प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

  • आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

    कृष्ण दवाडी–रासस
    कास्की, ३० जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका सटर तथा भवन खाली हुन थालेपछि आधा शताब्दीदेखि अलपत्र रहेको बसपार्क निर्माणको आशा पुनः जागेको छ । बसपार्क प्रवेशद्वार नजिकै फेन्सी पसल सञ्चालन गर्दै आएका हरि लामिछाने शुक्रबार आफ्नो सटरका बाँकी सामान हटाउने काममा व्यस्त थिए ।

    लामो समयदेखि व्यापार गर्दै आएको स्थान छोड्नुपर्ला भन्ने कल्पना नगरेको बताउने उनी अहिले भने बसपार्क निर्माणको प्रक्रिया अघि बढेपछि संरचना खाली गर्न बाध्य छन् । पोखरा महानगरपालिकाले गत वैशाख ३ गते बसपार्क क्षेत्रका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । सुरुमा त्यो निर्णय कार्यान्वयन होला भन्ने विश्वास नगरेका व्यवसायी पछिल्लो समय जग्गाधनी र महानगरबीच भएको सहमतिपछि भने संरचना खाली गर्न थालेका छन् ।

    बसपार्कको उत्तरी क्षेत्रमा रहेका जग्गाधनीले संरचना हटाउने तयारी विरुद्ध उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । तर जेठ २५ गते महानगरसँग भएको समझदारीपछि उनीहरूले मुद्दा फिर्ता लिने र बसपार्क निर्माणमा सहजीकरण गर्ने निर्णय गरेका छन् । त्यससँगै बसपार्क क्षेत्रका अधिकांश व्यवसायी तथा घरधनीले आफ्ना संरचना खाली गर्न थालेका हुन् ।


    “पहिला बसपार्क बन्ला र हामीले ठाउँ छोड्नुपर्ला भन्ने लागेको थिएन । तर जग्गाधनी र महानगरबीच सहमति भएपछि हामीले पनि सर्नुपर्ने अवस्था आयो । बसपार्क निर्माण हुनु राम्रो कुरा हो, तर विस्थापित व्यवसायीको व्यवस्थापनमा महानगरले ध्यान दिनुपर्छ, ”लामिछानेले भने । उनले भविष्यमा बसपार्क क्षेत्रमा व्यापारिक प्रयोजनका लागि सटर वा भवन निर्माण भएमा हाल विस्थापित भएका व्यवसायीलाई प्राथमिकता दिनुपर्ने माग गरे ।


    हाल बसपार्क प्रवेशको बायाँपट्टि रहेको बास्तोला कम्प्लेक्सका ३२० भन्दा बढी सटर खाली गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । बसपार्कभित्रका अन्य जग्गाधनीले पनि आफ्ना संरचना हटाउने प्रक्रिया अघि बढाएका छन् । पोखरा बसपार्कका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेन । बरु बसपार्कका लागि छुट्याइएको अधिकांश जग्गा अतिक्रमणको चपेटामा प¥यो। अहिले मूल क्षेत्रफलमध्ये करिब २५ रोपनी जमिन मात्र बाँकी रहेको बताइन्छ ।

    बसपार्कका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिनको काम अहिले भइरहेको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब नौ रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन् ।

    विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएकोलगायतका आरोप सार्वजनिक भएपछि सत्यतथ्य छानबिनका लागि महानगरले समिति बनाएको हो । पोखरा महानगरपालिकाले बसपार्क निर्माणलाई प्राथमिकतामा राख्दै दातृ निकायमार्फत आवश्यक बजेट सुनिश्चित गरेको छ । संरचना हटाउने काम अघि बढेसँगै स्थानीयवासीमा बसपार्क निर्माण हुने आशा समेत वृद्धि भएको छ ।

    बसपार्क निर्माणको मार्गमा रहेको अर्को प्रमुख चुनौती बसपार्कभित्र बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापन हो । बसपार्क क्षेत्रमा झण्डै ५०० परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन् । महानगरपालिकाले उनीहरूको व्यवस्थापनका लागि जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको थियो । समितिले विभिन्न छ स्थानमा पुनःस्थापना गर्न सकिने सुझाव महानगरलाई दिएको छ ।

    सोही सिफारिसका आधारमा महानगरले जेठ २५ गते जग्गा प्लट मिलान तथा पूर्वाधारको सम्भाव्यता अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको उक्त समितिले सम्भावित स्थानको नापजाँच तथा व्यवस्थापन क्षमता अध्ययन गरिरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वास्तविक भूमिहीन र सुकुम्बासी पहिचान गर्न छुट्टै छानबिन समिति पनि क्रियाशील छ ।

    “सिफारिस भएका जग्गाको नापजाँच गरी कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,” प्रमुख आचार्यले भने, “छानबिन प्रतिवेदनका आधारमा वास्तविक सुकुम्बासीको व्यवस्थापन गरिनेछ र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाएर आधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण गरिनेछ ।” बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले पनि आफू विकासको बाधक नबन्ने बताएका छन् ।

    भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले वैकल्पिक व्यवस्थापन भए जुनसुकै बेला पनि स्थान खाली गर्न तयार रहेको बताए । “हामीलाई उचित विकल्प दिएर व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी सम्पूर्ण जग्गामा नै बसपार्क निर्माण हुनुपर्छ ।

    सुकुम्बासीलाई मात्र हटाउने तर शक्तिका आडमा बसपार्कको जग्गा ओगटेर बसेका अन्य व्यक्तिलाई यथावत् राख्ने काम स्वीकार्य हुँदैन ।” पोखरा महानगरले संरचना हटाउने अभियानलाई तीव्रता दिएको र जग्गाधनी तथा व्यवसायीले सहयोग गर्न थालेपछि लामो समयदेखि अलपत्र रहेको पोखरा बसपार्कको सपना पूरा हुने विश्वास पोखरेलीको छ ।

  • धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते

    धरान (सुनसरी), २९ जेठः सङ्खुवासभाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धनकुटा नगरपालिकf–९ मूलघाट नजिक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ आउँदै गरेको १५ जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    दुर्घटनापछि कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा मूलघाट सडक केही समय अवरुद्ध बनेको थियो । हाल उक्त खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । दुर्घटनापछि घाइतेको उद्धार गरी केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केहीलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

  • नक्कली परीक्षार्थी पक्राउ

    नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौँ, २८ वैशाखः ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । काठमाडौँको चाबहिल–दक्षिणढोकास्थित ट्रायल सेन्टरमा सङ्खुवासभाको मादी नगरपालिका–४ का २२ वर्षीय जीवन विश्वकर्माको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले बस्ताकोटीलाई नियन्त्रणमा लिएको हो ।

  • प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    बेनी (म्याग्दी), २८ जेठः जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।

    राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट रहन गएको हो । मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलितलगायत विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ । विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगङ्गालाई केवल एउटा भूगोलको गाउँपालिका नभई जीवित सांस्कृतिक सङ्ग्रहालय बनाएको छ ।

    रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन । यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरि पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पु¥याउँदै प्राकृतिक सौन्दर्यको अद्भुत अनुभूति दिलाउँछन् ।

    जिल्ला सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसँगै विस्थापित बनेको अवस्थामा रघुगङ्गा मुस्ताङलाई ‘ट्रेकिङ टे«ल’मार्फत जोड्ने ट्रान्जिटका रुपमा रहेको छ । यस गाउँपालिकाबाट सुरु हुने सेन्चुरी र पानोरमा ट्रेकसमेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेते जोेडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।


    “रघुगङ्गामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दूरीमा क्याम्पिङ टे«किङ नै गर्न सकिने ठाउँहरु पनि प्रशस्त छन, तर त्यसका लागि पदमार्ग, पर्यटन सूचनाबोर्ड, सङ्केत पोल, खानेपानी, आश्रयस्थल, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ,” उनले भने ।


    टोड्के–धौलागिरि पानोरमा र सेन्चुरी पदमार्ग आइसफल पदमार्गमै जोडिने भएकाले धौलागिरि आइसफल पदमार्गका पर्यटकीय गन्तव्यहरुलाई समेटेर नक्साङ्कन गर्ने र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पूर्वाधार बनाउन जरुरी रहेको उनको भनाइ छ। टोड्के–धौलागिरि पानोरमा ट्रेक पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरि सेञ्चुरी पदमार्ग झीँ, पाखापानी, कोटगाउँ, रायखोर, मूलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ ।

    घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङ धुरी हुँदै आधार शिविर पुग्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको छ । पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरि आइसफल पदमार्गले रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

    विक्रम संवत् २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको १८२ किलोमिटर लामो आइसफल पदमार्गको डिपिआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।


    उनका अनुसार चिमखोला–घ्याँसीखर्क, हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालयमार्फत पदमार्ग निर्माण भए पनि कोखेभिर र धौलागिरि हिल भ्यू पोइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन । आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

    धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृश्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रुपमा रहेका छन् ।

    कुमारी पदमार्गका रुपमा रहेको धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगङ्गासँगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाअध्यक्ष थकबहादुर पाइजाले बताए ।

    यस गाउँपालिकामा लामो दूरीका ट्रेकिङ ट्रेलका अलवा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरुको सूचीमा पर्ने बेग–बाँदुक जोड्ने पुललगायत छोटो दूरीमा रहेका पर्यटकीय गन्तव्यको पर्यटन विकास र प्रचारप्रसारमा समेत जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए ।

    “गाउँपालिकाले पदमार्ग, भ्यूटावर, आश्रयस्थल, पार्कलगायत पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यको प्रचारप्रसार र प्रवद्र्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटनमार्फत रघुगङ्गाको समृद्धिमा अथाह सम्भावना छ,” उनले भने, यस वर्ष धार्मिक पर्यटकीयस्थल मालिका धुरी र रिखार जाने पदमार्ग निर्माण भएको छ । यस गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा परिचित छ ।

    धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नम्बर ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम हो । करिब चार हजार ६०० मिटर उचाइमा रहेको यस पवित्र स्थलमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गर्छन् । तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ । जनैपूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

    गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थान, भूमेथानलगायत धार्मिक स्थलहरूले रघुगङ्गाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् । मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापूर्वकालमा ऋषिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्यता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठमन्दिर छन् भने ध्यानआश्रमका लागि यो ठाउँ उपयुक्त मानिन्छ ।

    त्यस्तै, भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । भगवती कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गरेको छ । १७औँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिन्छ । अहिले निकै चर्चामा रहेको पर्यटकीयस्थल रुइसे तत्कालीन बाइसे चौबिसे राज्यको पालामा शासन चलाएको ऐतिहासिक ठाउँका रुपमा पनि परिचित छ । यहाँ तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, आराम गर्ने ढुङ्गा, तत्कालीन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ती बाँध्ने ठाउँलगायत प्रमाणहरु अझै भेटिन्छन् ।

    वडा नम्बर ३ को रानीपौवा ऐतिहासिक स्थल हो । विक्रम संवत् १८६३ मा तत्कालीन श्री माइली महारानी सुवर्ण प्रभा देवी शाह मुक्तिनाथको तीर्थयात्रा गर्न आउँदा तीर्थयात्रीको सहज बसोबासका लागि पिप्लेको रानीपौवामा पौवा निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने रघुगङ्गा गाउँपालिका–१ बादुँकका दिवङ्गत तुलबहादुर पुनको नामले यस गाउँपालिकाको चिनारीलाई अन्तरराष्ट्रियस्तरमा समेत चिनाएको छ । गाउँपालिकाले पुनको नाममा सङ्ग्रहालय बनाउने योजना अघि सारेको छ ।

    मौलिक कला र संस्कृतिको आकर्षण

    रघुगङ्गाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले, साइलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन–कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् । विशेषगरी वडा नम्बर ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ । मौलिक नृत्यका रुपमा रहेको थाली नाच अहिले नेपाल मात्र नभई विश्वका विभिन्न देशमा लोकप्रिय बनेको छ ।

    थाली नाचकी सर्जक चिमखोलामा जन्मनुभएकी हिरामाया श्रीष पुन जीवित इतिहासका रुपमा रहनुभएको छ । थाली नाच, पुख्र्यौलीलगायत मौलिक कला र संस्कृतिमा धनी मानिएको चिमखोलालाई गाउँपालिकाले सांस्कृतिक गाउँ घोषणा गरेर यसको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । दग्नामको भूमेपूजामा हुने लिङ्गो जुधाउने परम्परा रघुगङ्गाको अर्को अनौठो सांस्कृतिक सम्पदा हो । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको यो परम्परा प्रकृतिपूजासँग जोडिएको छ र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

    मगर समुदायको बाहुल्य बसोबास रहेका बाँदुक, बेग, दग्नाम, दर्मिजा, झीँ, पाखापानी, चिमखोलालगायत ठाउँमा प्रकृति पूजाका रुपमा भूमेपूजालाई उत्सवका रुपमा मनाउने गरिन्छ । यस क्षेत्रमा भूमेपूजाले आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बन्ने गरेका छन् । म्याग्दीमा छन्त्याल समुदायको उद्गम थलोका रुपमा रहेको झिङखानी ऐतिहासिक थलोका रुपमा चिनिन्छ । आफ्नो पुर्खाहरुको उद्गम थलोमा रहेको झिङखानी भूमेथान यहाँका स्थानीयवासीको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको छ ।

    कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग, दग्नामलगायत क्षेत्रमा गरिने परम्परागत भिर मह सिकार साहसिक पर्यटनको महत्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह सिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यसका अतिरिक्त विभिन्न बस्तीमा रहेका तामा खानी, घुम्ती गोठ, भेडाबाख्रा पालन, जडीबुटी सङ्कलन र हिमाली जनजीवनको अध्ययन पनि रघुगङ्गामा पर्यटन विकासमा नयाँ सम्भावनाहरु हुन् ।

    पर्यटन विकाससँगै गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र जीवनस्तर सुधारलाई प्राथमिकता दिएको छ । झीँ रायखोर, मौवाफाँट र रानीपौवामा घरबासहरू सञ्चालनमा आएका छन् । यी घरबासहरुलाई व्यवस्थित बनाउँदै पर्यटकलाई स्थानीय खानपान, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष परिचित गराउन सकेमा यसले यहाँका स्थानीयको आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउनेछ । घरबासमा पुग्ने पाहुनाहरूलाई स्थानीय कला–संस्कृतिको प्रस्तुति गरिनाका साथै अग्र्यानिक कृषि उत्पादनबाट तयार गरिएका परिकारहरू खुवाउने परम्पराले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्नेछ ।

  • नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    मध्यविन्दु (नवलपरासी), २८ जेठः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।


    दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्ने २५ वर्षीय निरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु–११ का ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    सबै घाइतेलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    मान्म (कालीकोट), २८ जेठः पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।

    दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको साथै सडक साँघुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएकोसहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्मा बताए ।

  • तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    गलकोट (बागलुङ) २७ जेठः बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ ।

    कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो । श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आएका छन् ।


    “तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदैछु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउँछ, पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोका लागि छुट्टै घट्ट छ”, श्रेष्ठले भने । उमेर ढल्किँदै गए पनि परम्परागत पेसालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाइ छ ।

    आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ । पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ ।

  • हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

    हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

    मध्यविन्दु (नवलपरासी), २७ जेठः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।

    प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पु¥याएको छ ।

    कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्ष खड्काले बताए । हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।

  • नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए ।

    गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् भने नवपवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।

  • मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

    मुस्ताङ, २६ जेठः यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो ।

    नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए । उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (इभी) गाडीलगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारीबापत उक्त भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गरे ।


    यसैगरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका मालवस्तुबाट रु २० करोड ५५ लाख ७४ हजार भन्सार राजस्व सङ्कलन भएको प्रमुख चूँडालको भनाइ छ । नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो । नेपाल–चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

    चीनबाट कोरला नाका हुँदै भन्सार जाँचपास भई नेपाल भित्रिएका विद्युतीय सवारी (इभी) गाडीको पैठारीबापत रु छ अर्ब ७६ करोड दुई लाख भन्सार राजस्व सङ्कलन भएको हो । पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ । कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको जनाइ पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो ।

    सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहेरनरहेको यकीन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्यसम्पन्न गरिसकेको छ ।

  • प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

    प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’

    काठमाडौँ, २५ जेठः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ । यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेको हो ।

    प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा लाग्न सबैलाई आग्रह गरे । उनले विषयगत समितिलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा प्रर्वतयारीका काम प्रभावकारी हुनेसमेत बताए । छलफलमा विषयगत क्षेत्रका लिड्स–मन्त्रालय र कोलिड्स–विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रमा भइरहेको पूर्वतयारीबारे जानकारी गराए । गृह मन्त्रालयका सहसचिव, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सोही अनुसार काम गर्नुपर्ने बताए ।


    स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत गरी ११ वटा विषयगत क्षेत्रहरू तोकिएका छन् । प्राधिकरणले यसअघि विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी लागू गरिसकेको छ । सोहीअनुसार नेपालमा ५१ हजार परिवारका दुई लाख २६ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ । सोहीअनुसार विषयगत समिति तयारीमा रहनुपर्नेमा जोड दिइएको कार्यकारी प्रमुख कोइरालाले बताए । उनका अनुसार यसपालिको मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।

  • ‘ब्यारेकजस्तै घर’

    ‘ब्यारेकजस्तै घर’

    राँझा (बाँके), २५ जेठः बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

    सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

    हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध भए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन् ।
    “सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्छन्, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

    यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसकेका छन् । सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरे । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उहाँको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

    अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उनी भन्छन्, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।” नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उनको भनाइ छ ।

  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    हुम्लाको बौल्यानामा खानेपानी समस्या

    अदानचुली (हुम्ला), २४ जेठः ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”

    उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए ।


    यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।
    “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उनले भने ।


    उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउँछन् । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उनको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको खड्काले बताए । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताए ।

  • तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
    बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ ।

    बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । तीन वर्ष विदेश बसेर फर्किनुभएका उहाँले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन् । “विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ”, उनले भने । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन् ।


    सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । उनीहरुले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।


    “पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन् ।

    त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आएकी छिन् । छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ । ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताए । “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उनले भने ।


    चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आउनुभएको छ । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन । व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उनले बताए ।

    “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उनले भने । सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उनले भने, “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।”

    श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।

    तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ । अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।


    अहिले गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ । तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारीखेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ ।

  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उनले बताए ।


    गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका दुई हजार ७४७ पर्यटक हुम्ला भित्रिएका छन् । वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

    जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए । नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, “कैलाश मानसरोवरको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमणपछिकै यो ठूलो सङ्ख्या हो, भारतीय पर्यटक आउने क्रम बढेको छ ।”

    उनका अनुसार मौसम अनुकूल भएको अवस्थामा दैनिक पाँचदेखि दशवटासम्म नेपालगन्जबाट यहाँ उडान हुने गरेको छ । सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि विभिन्न हेलिकोप्टरले समेत पर्यटकलाई सेवा दिइरहेका छन् ।

    भारतीय पर्यटक हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका नागरिकले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोटसहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले मनग्य आम्दानी गरिरहेका हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार होटल व्यवसायीमात्रै नभएर यहाँका अन्यले पनि रोजगारी पाएका छन् । सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् ।

    सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउँदै आएको छ । जेठ, असार र साउन महिना कैलाश मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो ।