Category: स्थानीय

  • बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    खोटाङ, २४ जेठः बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् ।

    पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
    पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको थियो ।

    पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी निर्माण कम्पनीले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता छ ।

  • सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

    सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

    काठमाडौँ, २३ जेठः सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् । उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुगेका उनीहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गरे ।

    त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी थिए । उनीहरुले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गरे । सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गरे । त्यसक्रममा उनीहरुले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकासँग छलफल गरे ।

  • सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

    सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

    किमाथाङ्का (सङ्खुवासभा), २३ जेठः सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गतरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार पहिरोले पाँचपन-चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।

    कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण आज बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

    सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गर्नुभयो । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

  • अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    भोजपुर, २३ जेठः भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत–साधनका बाबजुद पनि निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा पहुँचमा राख्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो विद्यालय अहिले विभिन्न चुनौतीसँग जुध्दै अघि बढिरहेको छ । विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई मात्र शिक्षक कार्यरत रहेका छन् । एक दरबन्दी रिक्त हुँदा त्यसको पूर्ति करारमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

    विद्यालय सञ्चालनका लागि हाल शिक्षक तथा कर्मचारी गरी १५ जना कार्यरत रहेका छन् । तीमध्ये दुई, स्थायी (प्रावि) चार, करार तीन, निजी स्रोत दुई, राहत तीन जना सङ्घीय अनुदानमा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले जानकारी दिए । विसं २०३१ मा स्थापना भएको यस विद्यालयले विगत पाँच दशकदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ । समयअनुसार विद्यालयले व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार गर्ने प्रयास पनि गरिरहेको छ । विविध अभावबीच पनि विद्यालय प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन विशेष पहल गरिएको छ ।

    प्रत्येक विद्यार्थीको विद्यालय भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ । सोही अभिलेखका आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने गरिएको प्रधानाध्यापक मण्डलले बताए । प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको यस विद्यालयलाई आर्थिक अभावलेसमेत असर पारेको छ ।

    त्यसका बाबजुद विद्यालयले विगतमा राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ । विद्यालयले २०७७ साल र २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा सतप्रतिशत नतिजा ल्याएको थियो । त्यसैगरी २०७८ सालमा ८८ प्रतिशत, २०७९ सालमा ९२ प्रतिशत र २०८० सालमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ ।

    चालु वर्षको परीक्षामा भने १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयको योजना रहेको छ । यस वर्ष समग्र नतिजा कमजोर रहे पनि पालिका उत्कृष्ट छात्रा यही विद्यालयबाट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिए । “धेरै चुनौतिबीच विद्यालय सञ्चालन गरेका छौँ” प्रधानाध्यापक मण्डलले भने, यहाँ मुख्य रूपमा जनशक्ति, भौतिक संरचना तथा आर्थिक अभाव छ ।”

    नियमित कक्षा सञ्चालन, विद्यार्थीको हाजिरी व्यवस्थापन, शैक्षिक मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले स्रोतसाधन र जनशक्ति अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई सहज तथा निरन्तर शिक्षा प्रदान गर्नु प्राथमिकता रहेको बताए । आर्थिक श्रोत र जनशक्ति अभाव विद्यालय सञ्चालनको मुख्य चुनौती बनेको उनको भनाइ छ ।

    “हामीसँग पर्याप्त दरबन्दी र पूर्वाधार छैन, उनले भने, तर पनि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ ।” विद्यालय सञ्चालन तथा ऋण तिर्न देउसी–भैलोलगायत विभिन्न गतिविधि सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

    हाल विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षा कोठा अभावका कारण पठनपाठनमा चुनौती थपिएको छ । कोठा अभावमा विज्ञान प्रयोगशाला र कक्षाकोठा एउटै स्थानबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले प्रयोगात्मक शिक्षामा असर पार्ने गरेको विद्यालयले जनाएको छ ।

    विद्यालयले सीमित स्रोतसाधनकैबीचमा पनि शैक्षिक गुणस्तर सुधारका विभिन्न प्रयासलाई निरन्तरता दिँदै आएको स्थानीयबासी टेकबहादुर बस्नेतले बताए । यहाँ माध्यमिक विद्यालय सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने उनको भनाइ छ ।

    दीगो र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न राज्यले आर्थिक व्यावस्थानसँगै दरबन्दी थप र पूर्वाधार विकासमा सहयोग गर्न आवश्यक रहेको बस्नेतले बताए । यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो विद्यालय २०७७ सालदेखि प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ।

  • सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

    सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

    काठमाडौँ, २२ जेठः सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आआफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ । सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेको व्यक्तिले आफैँ वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेलमार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ । आयोगले २०४८ देखि २०८३ सालसम्मको कुनै समयावधिमा सार्वजनिक पदधारण गरेका व्यक्तिले पदीय दुरुपयोग गरी अस्वाभाविक कमाइ गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

    आयोगले मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको करिब ३५ वर्षको अवधिलाई २०६२÷६३ देखि २०८२÷८३ र २०४८÷४९ देखि २०६२÷६३ सालसम्म दुई चरणमा विभाजन गरी फाइल तथा उजुरी छानबिन गर्ने स्पष्ट गरेको छ । वर्तमान सरकारले २०४८ सालपछि सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिको सम्पत्तिको छानबिन गरी प्रतिबेदन बुझाउने कार्यादेशसहित गठन गरेको पाँच सदस्यीय आयोग हाल सम्पत्ति विवरण र उजुरी सङ्कलनमा व्यस्त छ ।

    आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले सम्पत्ति विवरण बुझाउने र उजुरी दिनेको सङ्ख्या क्रमशः वृद्धि भइरहेका बताउँदै ४० देखि ५० हजार व्यक्तिको सम्पत्तिको विवरण प्राप्त हुने अपेक्षा गरे । पछिल्लो ३५ वर्षको अवधिमा सार्वजनिक पदधारण गरेका राजपत्राङ्कित विशिष्ट एवं प्रथम श्रेणीका बहालवाला र पूर्वकर्मचारीसहित सो सरहको सेवासुविधा लिएका सार्वजनिक निकायका सबैले विवरण बुझाउनुपर्ने उहाँले जानकारी दिए । आयोगका अनुसार बहालवाला तथा पूर्वप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री, उहाँहरूले नियक्त गरेका सल्लाहकार, स्वकीय सचिवहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

    त्यसैगरी, संवैधानिक र न्याय सेवा परिषद्बाट नियुक्त विशिष्ठ पदाधिकारीहरूले विशिष्ट श्रेणी तथा सोभन्दा माथिको सेवा सुविधा पाउने गरी नियुक्त भएका विभिन्न संस्थान, समिति, निगम, प्राधिकरण, केन्द्रलगायत सार्वजनिक निकायका वर्तमान तथा पूर्वप्रमुख तथा सञ्चालक सदस्यहरूले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।

    विश्वविद्यालयसहितका शैक्षिक प्रतिष्ठान र कूटनीतिक नियोगका प्रथम श्रेणीमाथिका कार्यरत तथा पूर्वअधिकारीहरू, जनसम्पर्क बढी हुने कार्यालयका हकमा राजपत्राङ्कित द्वितीय श्रेणीका बहालवाला तथा सेवानिवृत्त कर्मचारीले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने छ । त्यसैगरी, पालिकाका पूर्व तथा वर्तमान प्रमुख तथा उपप्रमुखसहित सोभन्दा माथिका पदहरूमा निर्वाचित जनप्रतिनिधिहरूले समेत सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

    सार्वजनिक पद धारण गरेका र तोकिएको समयमा बहाल रही हाल जुनसुकै किसिमले सेवाबाट अवकाश भइसकेका राजनीतिक पदाधिकारी, कर्मचारी तथा निजहरूका परिवारसमेतको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गरी प्रतिबेदन बुझाउने आयोगको कार्यादेश रहेको छ । अध्यक्ष भण्डारीको नेतृत्वमा छानबिन आयोगमा चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, गणेश केसी ९प्रवक्ता० र प्रकाश लम्साल सदस्य छन् ।

  • लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

    लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

    काठमाडौँ, २२ जेठः भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना ९निजामती० मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन आह्वान गरेको हो ।

    नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन सूचनामा अनुरोध गरिएको छ ।

  • भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

    भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

    चितवन, २२ जेठः यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।” हाल कारागारमा ७१२ जना कैदी छन् ।

    यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए ।

  • झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    बिर्तामोड, २१ जेठ (रासस) । झापाको मेचीनगरमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर नगरपालिका–७ निवासी २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बुधबार साँझ ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए ।
    दुर्घटनामा संलग्न बस चालक मेचीनगर नगरपालिका–११ निवासी ४५ वर्षीय निरेन धिमाल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाग्रस्त बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए ।

  • हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम :सल्लेका ३१ घर मगर परिवार लाभान्वित

    हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम :सल्लेका ३१ घर मगर परिवार लाभान्वित

    खोटाङ, २१ जेठ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु ५३ लाख रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले रु ४६ लाख तथा स्थानीय उपभोक्ताले रु सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडाध्यक्ष काशीराज राईले जानकारी दिए ।
    स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन् । लिफ्टिङ प्रविधिको खानेपानी योजना निर्माण सुरु गरेको ७२ दिनभित्र सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिनुभयो । खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुईवटा सार्वजनिक धाराहरू जडान गरिएका छन् ।

    लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन् । गोर्खा वेलफेयर ट्रष्टले सोही गाउँका सामुदायिक विद्यालय र मगर समुदायका लागि सामुदायिक भवनसमेत निर्माण भएको छ ।

    नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रममा स्थानीय सरकार र विकास साझेदार संस्थाहरूबीचको सहकार्यले थप टेवा पुगेको नगरप्रमुख विमला राईले बताइन् । “सल्लेका नागरिकका लागि खानेपानी ठूलो समस्या थियो । गोर्खा वेलफेयर ट्रष्टले स्थानीय सरकारसँग सहकार्य ३१ घर स्थानीयको घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ”, उनले भनिन्, “नागरिकको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण सामाजिक योगदानका रूपमा लिएका छौँ ।”

    नगरपालिकाको चौतर्फी विकासका लागि आगामी दिनमा पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक विकासका क्षेत्रमा साझेदार संस्थाहरूसँग निरन्तर सहकार्य गरिने नगरप्रमुख राईले जानकारी दिए । खानेपानी योजना सञ्चालनकै लागि यो आर्थिक वर्ष वडा नं २ डिकुवास्थित दाम्लीमा रु छ करोड १५ लाख बराबरको स्रोत सुनिश्चित भएको जनाइएको छ । दाम्लीका २०० घरधुरी स्थानीय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले कादुरीसँगको सहकार्यमा योजना सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा रु एक करेड ३२ लाख लगानीको लोचाखोला मुहान, रु एक करोड चार लाख लगानीको सहरबोटे मुहान रु ३९ लाख लगानीको जुकेखेला महान तथा रु ३५ लाख लगानीको रातमाटे मुहान अन्तरगतका खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको नगर उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभयो । लोचाखोला मुहानबाट हलेसी र दुर्छिमका हजार घरधुरी, सहरबोटे मुहानबाट दुर्छिम, बडहरे र च्यस्मिटारका हजार घरधुरी, जुकेखेला महानबाट बाहुनीडाँडाका ६० घरधुरी तथा रातमाटे खानेपानी दुर्छिमका ३० घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको हो ।

    विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका चार हजार ८९७ घरधुरी उपभोक्तालाई दूधकोशी पानी पम्पिङ प्रविधिबाट तानेर घर–घरमा वितरण गर्न नौँ वर्षअघि ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम सुरु गरिएको थियो । नेपाल सरकारको करिब रु ९६ करोड ४५ लाख चार हजार १३८ लागतमा वि।सं। २०७६ मङ्सिरमा सम्पन्न गर्नेगरी वि।सं। २०७४ सालबाट निर्माणको काम सुरु गरिएको खानेपानी आयोजना अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

    जिल्लाको दोस्रो ठूलो स्थानीय तह ९एघार वडा रहेको० यो नगरपालिकाका अधिकांश ठाउँमा बसोवास गर्दै आएका स्थानीयले अहिले पनि बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । केही स्थानीयवासीले वर्षात्को समयमा आकाशबाट परेको पानी घर तथा गोठको छानाबाट झरेपछि जम्मा गरेर उपभोग गर्छन् भने, अधिकांशले दूधकोशी तथा स्थानीय खोलाबाट बोकेर ल्याएको उपभोग गर्छन् ।

    नजिकमा पर्ने खानेपानीका मुहान सुकेपछि घण्टौँ लगाएर खोला तथा दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएका स्थानीयले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा खानेपानी अभावका कारण बुढापाका तथा अपाङ्गता भएका घर परिवारमा सबैभन्दा बढी समस्या हुने गरेको छ ।

    नगरपालिकामा सञ्चालित सबै खानेपानी आयोजनालाई एकीकृत गरेर सहजरूपमा उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनासहित ‘खानेपानी बोर्ड’ गठन गर्ने तयारी गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । अधिकांश खानेपानी आयोजना पम्पिङ प्रविधिको भएकाले विद्युत महशुलको भार स्थानीय उपभोक्तामा पर्ने हुँदा नगरपालिकाले महशुल तिर्नेगरी खानेपानी बोर्ड गठन गरेर सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

  • जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ

    जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ

    काठमाडौँ, २१ जेठः नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।
    कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी, धुलिखेल अस्पतालका प्रतिनिधि तथा स्थानीय सरोकार भएकाहरूको उपस्थिति थियो ।

    कार्यक्रमअन्तर्गत धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र राजदूत भोल्जले संयुक्त रूपमा उद्घाटन गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दाका साथै धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयलाई सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ ।

    गत वर्षको बाढी र पहिरोबाट प्रणालीमा क्षति पुगेपछि जर्मन सरकारले यसको पुनर्निर्माणका लागि एक लाख २० हजार युरो सहयोग उपलब्ध गराएको थियो ।
    त्यसैगरी, धुलिखेल अस्पतालमा अटोक्लेभसहितको नयाँ स्वास्थ्यजन्य फोहोर व्यवस्थापन उपचार केन्द्र (हेल्थकेयर वेस्ट म्यानेजमेन्ट ट्रिटमेन्ट साइट) को उद्घाटन भएको छ । अस्पतालमा वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमार्फत फोहरको वर्गीकरण, सङ्कलन, उपचार र सुरक्षित निस्तारणका अभ्यासलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

    जिआईजेडको सहयोगमा गत पुसदेखि अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रमका क्रममा जर्मन सरकारको सहयोगमा केएफडब्ल्यु विकास बैंकमार्फत धुलिखेल अस्पतालमा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान परियोजनाको पनि शुभारम्भ भएको छ । परियोजना सम्पन्न भएपछि अस्पतालका आपत्कालीन सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला तथा अन्य महत्वपूर्ण सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ । उक्त प्रणालीबाट वार्षिक ७७८ मेगावाट घण्टा विद्युत् उत्पादन हुने तथा अस्पतालको ऊर्जा खर्चमा वार्षिक करिब रु ९५ लाख बचत हुने अनुमान गरिएको छ ।

    कार्यक्रममा जर्मन पक्षले स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा दिगो आर्थिक विकासका क्षेत्रमा नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो । जर्मनीले केएफडब्ल्यु जिआईजेडमार्फत नेपालको समावेशी, जलवायु प्रतिरोधी र दिगो विकासका प्रयासमा सहयोग गर्दै आएको छ ।

  • पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    पर्वत, २१ जेठः कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुङ्गा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ ।

    ट्रकको ठक्करवाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुवै मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए । प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

  • मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू

    मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू

    नरेन्द्रसिंह कार्की–रासस

    दार्चुला, २१ जेठः मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौं भयो । यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ । यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मच्चिन्छ । पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौँ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका छन् ।

    स्थानीय गजेन्द्रसिंह धामी भन्छन्, “अहिलेको समयमा पनि नागरिकले खानेपानीको लागि यति दुःख पाउनुपर्ने अवस्था रहनु दुःखद् हो । पानी त आधारभूत आवश्यकता हो, तर हामीले अझै पनि यसको लागि सङ्घर्ष गर्नुपरेको छ । पानीको जोहो बिना कसरी बाँच्नु ? हरेकपटकको समस्या भनेकै यो क्षेत्रका नागरिकको खानेपानी हो । घरघरमा धारा नपुग्ला तर बस्तीमै राम्रो पानी भए पनि जोहो टथ्र्यो ।”

    बस्तीभन्दा करिब एक किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने उद्देश्यसहित २०७९ सालमा खानेपानी योजना सुरु गरिएको छ । योजना सुरु भएको चार वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ । हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माणबाहेक उल्लेख्य प्रगति हुन सकेको छैन । गाउँलेहरू योजना सुरु हुँदा केही वर्षभित्रै घरघरमा धारा पुग्ने अपेक्षा गरेका थिए । तर अहिले पनि उनीहरू पुरानै दुःख दोहोर्‍याउन बाध्य छन् ।

    स्थानीय चन्द्रसिंह धामी भन्छन्, “अरू ठाउँमा प्रत्येक घरमा धारा पुगेका छन् । यहाँ भने अहिले पनि पानीकै लागि घण्टौँ हिँड्नुपर्छ । पानी बिना जीवन सम्भव छैन, तर हाम्रो पीडा कसैले सुनेजस्तो लाग्दैन ।” अरु ठाउँमा अन्य विकासको योजना माग्छन्, तर मेरो गाउँका नागरिकले अहिले पनि राज्यले गर्नैपर्ने आधारभूत खानेपानी मागेकोमाग्यै गर्नुपर्ने अवस्था छ । खानेपानी गाउँमा समयमै नपुग्नुमा नागरिक एकतासमेत नहुनु उहाँले अर्थ्याउनुभयो । यी सबै बस्तीमा झण्डै डेढ सय घरधुरीको बसोबास रहेको छ ।

    बालबालिकाको काँधमा पानीको भार

    खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ । विद्यालय जाने उमेरका विद्यार्थीहरू दिनको ठूलो समय पानी बोकेर बिताउँछन् । कतिपय परिवारमा बिहान र साँझ पानी ल्याउने जिम्मेवारी नै बालबालिकाको काँधमा छ । पूर्वशिक्षक धामीका अनुसार पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा विद्यार्थीहरू नियमित विद्यालय जानसमेत सक्दैनन् । आवासीय रूपमा विद्यार्थी पढाउ भन्दा बालबालिका पानी बोक्नुपर्छ भन्दै अभिभावक नै लगाउन मान्दैनन् ।

    “बालबालिकाको समेत घरमा पानी ल्याउनु पहिलो काम हुने गर्छ”, अर्का स्थानीय तिलकसिंह धामी भन्छन्, “पानी नभएपछि खाना पकाउन, पशु चौपाया पाल्न र दैनिक काम चलाउनै सकिँदैन ।” यहाँको समस्या समाधान गर्न सबै निकायले खानेपानी कार्यालयलाई दबाव दिनुपर्छ । गाउँ नजिक भरपर्दो मुहान नहुँदा हिउँदयाममा समस्या अझ विकराल बन्ने गरेको उनले बताए । त्यसबेला स्थानीयले खच्चडमार्फत ड्रममा पानी ढुवानी गर्नुपर्ने बाध्यता छ । वडा सचिव खगेन्द्रसिंह धामीका अनुसार अधिकांश परिवारले पानी सञ्चयका लागि घरघरमा ठूला ड्रम राखेका छन् । “हिउँद लागेपछि गाउँमा पानीको काकाकुल अवस्था हुन्छ”, उनले भने, “त्यसैले धेरैले पानी भण्डारण गरेर राख्न घरघरमा ड्रम, जरकिन धेरै राख्ने गरेका छन् ।”

    खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्करसिंह धामीका अनुसार योजना ढिलो हुनुको मुख्य समस्या भनेकै बजेट पनि हो । उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा रु १५ लाख, २०८०–८१ मा रु २५ लाख र २०८२–८३ मा रु २५ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिराडसम्म ९५ वटा पिलर निर्माणको काम भइरहेको छ । अहिले पनि योजनाको काम चलिरहेको छ । “बजेट सानो–सानो आउँदा कामले गति लिन सकेको छैन”, उनले भने, “अर्कोतर्फ समयमै मजदुर पाइँदैनन् ।

    पाइएका मजदुर पनि सरकारी ज्यालामा काम गर्न तयार हुँदैनन् । अहिले आफैँ मिस्त्री भएर काम गर्दा थोरै काम गराउन सकिएको छ ।” गाउँमा योजनाको काम गराउनु निकै चुनौतीपूर्ण भएको एकैपटक ठूलो बजेट हालेर योजनासम्पन्न गराउनतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय दार्चुलाबाट सञ्चालन भइरहेको योजनामा बजेट क्रमशः थपिँदै गए पनि आवश्यकताअनुसार रकम नपुग्दा निर्माण कार्य लम्बिएको स्वीकार गरिएको छ ।

    मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामी खानेपानी योजना सम्पन्न गर्न कार्यालयसँग नियमित बजेटको लागि माग भइरहेको बताउँछन् । “हामीले पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छौँ”, अध्यक्ष धामीले भने, “नयाँ आर्थिक वर्षमा कति आउँछ आशा गरौँ ।”

  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार

    टक्सार (भोजपुर), २१ जेठः बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोचेका थिएनन्, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उनले सोचेजस्तो भएन– ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उहाँ पनि फेरि गाउँ फर्किए । उदास एक दशक लामो काठमाडौँ बसाइ बिट मार्दै गाउँ फर्किए । यहाँ आएपछि उहाँले भोजपुर नगरपालिका–१२ स्थित ऐतिहासिक टक्सार बजारमा ‘टक्सार नेवाः घासा’ सञ्चालन गरेका छन् । पछिल्ला दिनमा उनको व्यवसाय स्थानीय तथा नेवारी परिकारको स्वाद लिने थलो बनेको छ ।

    उदासले भने, “पहिले यहाँ सम्भावना देखिनँ, त्यसैले बाहिरिएँ, तर पछिल्ला वर्षमा पर्यटकको चहलपहल बढ्न थालेको देखेर आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने विश्वास जाग्यो र फर्किएँ । यसरी फर्किएकामा कुनै पछुतो छैन ।” उदासको पुनरागमनले व्यवसायको सुरुआतमात्र होइन, लामो समयदेखि बसाइँसराइका कारण सुनसानजस्तै बनेको टक्सार बजारलाई चलायमान बनाउन योगदानसमेत गरिरहेको छ ।

    उनको कदमले यसका साथै गाउँ छाडेर सहर गएकाहरूलाई गाउँ फर्किएर केही गर्न महत्त्वपूर्ण सन्देशसमेत दिएको छ । विगतमा नेपालमा ‘डोली पैसा’ उत्पादन हुने केन्द्रका रूपमा परिचित टक्सार पछिल्ला दशकमा जनशक्ति पलायनको मारमा परिरहेको थियो । यहाँ कलात्मक नेवारी घरहरू जीर्ण बन्दै गएका थिए भने बजारको चहलपहल पनि घट्दै गएको थियो ।

    पछिल्ला वर्षमा भने आन्तरिक पर्यटकको आगमन बढ्न थालेसँगै टक्सारले फेरि जीवन पाउन थालेको उदासको बुझाइ छ । सोही बुझाइपछि आफू आफ्नै गाउँ फर्किएको उनले सुनाए । स्थानीयवासी विमल रणपहेलीका अनुसार उदासमात्रै होइन विगतमा अवसरको खोजीमा बाहिरिएका अन्य केही स्थानीयहरूले गाउँ फर्किएर व्यवसायमा लगानी गर्न थालेका छन् । “पहिले बजार खाली हुँदै गएको थियो । यहाँबाट छोडेर गएकामध्ये केही व्यक्तिहरू आफ्नै ठाउँमा फर्केर व्यवसाय गर्न थालेका छन् । यसले उत्साह थपिएको छ । अब सरकारले उचित वातावरण बनाएर गाउँ फर्किने आधार बनाउन आवश्यक छ”, उनले भने ।


    स्थानीयका अनुसार टक्सारको ऐतिहासिक सम्पदा, नेवारी संस्कृति, मौलिक परिकार र पुराना बस्तीले पर्यटक आकर्षित गर्न थालेका छन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ । उदासले पनि स्थानीय अर्थतन्त्रमा थोरै भए पनि योगदान गर्ने योजनाअनुसार गाउँ फर्किएको र आफ्नो निर्णयमा सन्तुष्ट रहेको सुनाए । “आफ्नो ठाउँमा काम गर्नुको छुट्टै आनन्द रहेछ”, उनले भने, “टक्सारको पहिचान जोगाउँदै आफ्नै ठाउँमा केही गर्न सकेँ भने त्यो मेरो सबैभन्दा ठूलो सफलता हुनेछ, त्यसका लागि मिहिनेत गरिरहेको छु ।”

    टक्सार विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्धको पालामा स्थापित सहर हो । यसलाई बजारलाई ‘मिनी पाटन’का रूपमा पनि चिनिन्छ । ललितपुरको पाटनमा भएअनुसारका धार्मिकस्थलहरू उहाँ पनि रहेकाले यस स्थानलाई त्यस्तो भनिएको जानकारहरू बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका र यहाँ नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ ।

    जसको स्थापना १९९३ सालमा भएको थियो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइने गरिएको स्थानीय रणपहेलीले बताए । यही ऐतिहासि स्थानमा पछिल्लो समय नयाँ होटल, रेस्टुरेन्ट, क्याफे तथा सांस्कृतिक गतिविधि विस्तार हुन थालेका छन् । ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन र स्थानीय व्यवसायलाई जोड्न सके टक्सार पूर्वी नेपालको आकर्षक पर्यटन गन्तव्यका रूपमा पुनः स्थापित हुनसक्ने सम्भावना रहेको स्थानीय किशोरकुमार ताम्रकारको भनाइ छ ।

  • लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

    लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

    घोराही (दाङ), २० जेठः लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।

  • छाडा पशु–चौपायाका बहुआयामिक असर

    छाडा पशु–चौपायाका बहुआयामिक असर

    इन्द्राकुमारी केसी–रासस
    घोडाघोडी (कैलाली), २० जेठ । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो ।

    तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगीभन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले ।

    यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडा चौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वन क्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

    सडकमा बढ्दो जोखिम

    पूर्वपश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन् । सडकको बीचमै सुतेका वा अचानक सडक पार गर्ने गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी राति र हिउँदको कुहिरो लागेको समयमा दुर्घटनाको सम्भावना झनै बढी हुने गरेको छ । घोडाघोडी नगरपालिका–१, सुख्खडका हरिलाल सापकोटा छाडा चौपायाका कारण स्थानीयले समस्या झेलिरहेको बताउनुहुन्छ ।

    सडकमा अचानक गाईगोरु निस्किँदा मोटरसाइकल चालकहरू धेरै जोखिममा पर्ने गरेका छन् । कतिपय अवस्थामा दुर्घटनामा मानिसले ज्यानसमेत गुमाएका छन् भने चौपायाहरूसमेत मर्ने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडक क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी छाडा चौपाया रहेका छन् ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार प्रदेशमा हुने सडक दुर्घटनामध्ये दुई प्रतिशत दुर्घटना छाडा पशुचौपायाका कारण हुने गरेका छन् । उनी भन्छन्, “राजमार्ग क्षेत्रमा गाईगोरु नियन्त्रणका लागि पटकपटक अभियान सञ्चालन गरिए पनि दिगो समाधान नहुँदा समस्या रहेको छ । सडकमा छाडा चौपायाले निम्त्याएको समस्या केवल दुर्घटनामा सीमित छैन । यसले यात्रुमा मानसिक त्राससमेत सृजना गरेको छ । रातिको समयमा लामो दूरीमा यात्रा गर्ने चालकहरू विशेष सतर्क रहनुपर्ने अवस्था छ ।”

    खेतबारीमा सङ्कट

    छाडा चौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसान चिन्तित बन्न थालेका छन् । हाल धानको बीउ छर्ने समय भए पनि बीउ नै जोगाउनसमेत समस्या हुने हो कि भन्ने चिन्ताले सताएको किसान डम्बर विष्ट बताउँछन् । कैलालीकी किसान पार्वती खत्रीका अनुसार खेतमा लगाएको धान, गहुँ, मकै र तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । “दिनभर खेतमा काम गरियो, राति फेरि बाली जोगाउन चौपाया धपाउनुपर्छ”, उनी भन्छन् ।


    घोडाघोडी नगरपालिका–३ का किसान टेकबहादुर चौधरी पनि छाडा चौपायाका कारण खेतीपाती गर्नै कठिन बन्दै गएको बताउँछन् । उनी भन्छन्, “गाईगोरुले खेतको मकै र तरकारी नष्ट गरिदिने गरेका छन् । महिनौँको मिहिनेत केही घण्टामै सकिन्छ, बाली हुर्काउन नै कठिन हुन्छ ।” विशेषगरी बाली हुर्काउने समयमा किसानलाई बढी समस्या हुने गरेको छ । गाउँका धेरै किसानले खेत वरिपरि काँडेतार लगाउने वा राति पालैपालो खेत कुरुवा बस्ने गरेका छन् ।

    छाडा पशुचौपायाको समस्या समाधानका लागि स्थानीय तहहरूले विभिन्न प्रयास गरिरहेका छन् । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतका अनुसार नगरपालिकाले कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको प्रयास गरेको छ ।

    तर सीमित स्रोतसाधन र बढ्दो समस्याका कारण प्रभावकारी व्यवस्थापन गर्न चुनौती भइरहेको उनको भनाइ छ । कान्जी हाउस निर्माण गरिए पनि धेरै स्थानमा व्यवस्थापन कमजोर देखिएको छ । घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएको छ ।

    कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्थासमेत आएको छ । छाडा चौपाया समस्या बढ्नुमा समुदायकै मुख्य भूमिका रहेको स्थानीय रामु बुढाथोकी बताउँछन् । उनका अनुसार मानिसहरूले दूधमात्र उपभोग गर्ने तर गाईगोरुको हेरचाहमा बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो समस्या उत्पन्न भइरहेको छ । दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई खुला छाड्ने प्रवृत्ति अझै रोकिएको छैन । छाडा चौपायाको समस्या समाधानका लागी स्थानीय तहले मात्र नभई समुदाय स्वयं जिम्मेवार बन्नुपर्ने घोडाघोडीका नगरप्रमुख खडक रावतको भनाइ छ ।

    समाधान खोज्दै गौशालाको अभ्यास

    समस्याकै बीच केही सकारात्मक अभ्यासहरू पनि भइरहेका छन् । कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ । यहाँबाट मल उत्पादन गरिन्छ । उक्त मल किसानमाझ लोकप्रिय बन्दै गएको छ ।

    गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले भने अग्रिम बुकिङ हुने गरेको छ । प्रतिट्रली रु छ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्, जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ ।

    अध्यक्ष शाहका अनुसार गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको छ । गोबरबाट मल उत्पादन, गहुँतको प्रयोग र अन्य आयमूलक गतिविधिमार्फत सञ्चालन खर्च धान्ने योजना बनाइएको छ ।

    गौशालामा गोबर ग्यास प्लान्टसमेत निर्माण गरिएको छ । उक्त प्लान्टबाट स्थानीय ४० भन्दा बढी घरधुरीलाई प्रतियुनिट ४५ रुपैयाँका दरले ग्यास वितरण गरिएको थियो । तर वनक्षेत्र नजिक भएकाले धेरै स्थानीयले दाउरा प्रयोग गर्न सहज ठानेपछि गोबर ग्यासको प्रयोग घट्दै गयो । त्यसपछि हाल ग्यास उत्पादन बन्द अवस्थामा छ । गौशाला व्यवस्थापन समितिका सदस्य दिलबहादुर ठकुल्ला भन्छन्, अब टीकापुर बजार क्षेत्रलाई लक्षित गरेर ग्यास वितरण गर्ने लक्ष्य रहेको छ । उनी भन्छन्, “सिलिन्डरमा ग्यास भरेर वितरण गर्ने योजना बनाइएको छ । यदि यो योजना सफल भयो भने गौशालालाई थप आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।”

    चरिचरनले वन वातावरणमा असर

    छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका गौशाला र कान्जी हाउसले चुनौती पनि थपिँदै गएको छ । अधिकांश यस्ता संरचना सामुदायिक वन क्षेत्रभित्र वा वन नजिकै निर्माण गरिँदा वन अतिक्रमणको समस्या देखिन थालेको छ । गौशाला र कान्जी हाउसमा राखिएका गाईगोरुहरूलाई चरिचरनका लागि वन क्षेत्रमा लगिने गर्दा वन संरक्षणमा थप दबाब सृजना भएको छ ।

    डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितका अनुसार खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ । उनका अनुसार वनभित्र छाडा चौपाया प्रवेश गर्दा साना बिरुवा उम्रिन र हुर्किन नपाउने अवस्था सृजना भएको छ, जसले वनको पुनरुत्पादन प्रक्रियामा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ । “साना बिरुवा उम्रिए पनि टिक्नै सक्दैनन्”, उनी भन्छन्, “गाईगोरुले खाइदिने, कुल्चिने वा नष्ट गर्ने कारण वन पुनरुत्पादन कमजोर हुँदै गएको छ ।”

    वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पतिमात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मीहरू बताउँछन् । चौपाया धेरै चराउँदा माटो कडा हुने, घाँस–झाडी हराउने र वर्षायाममा माटो बग्ने समस्या देखिने संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् । वनभित्र चौपायाको अत्यधिक प्रवेशले जैविक सन्तुलनमा समेत असर पु¥याइरहेको छ । उनी भन्छन्, “वन्यजन्तुका बासस्थान सङ्कुचित हुने, शान्त वातावरण खल्बलिने र वन्यजन्तु विस्थापित हुने अवस्था पनि बढ्छ ।”

  • कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

    कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

    काठमाडौँ, २० जेठः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

  • राममायाले सत्तरी वर्षमा पाइन् नागरिकता

    राममायाले सत्तरी वर्षमा पाइन् नागरिकता

    म्याग्दी, २० जेठः म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

    नेपाली नागरिकताको अभावमा शारीरिक रुपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवासुविधाबाट वञ्चित भएकी थिइन् । कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा आएपछि राममायाको हातमा ७० वर्षको उमेरमा पहिलो पटक नागरिकता परेको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रजिअ कुलप्रसाद आचार्यले राममायाँलाई नागरिकता हस्तान्तरण गरे ।


    विसं २०१३ सालमा जन्मिएकी राममायाँको एउटा हात चल्दैन । नागरिकताका आधारमा खत्रीले सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया सुरु गर्ने बताए । नागरिकता पाएपछि निकै खुसी लागेको छ,” उनले भनिन्, “अब भत्ता पनि पाइने भयो ।” राममायाले नागरिकता प्राप्त गरेलगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भरेकी छिन् । प्रजिअ आचार्यले समाजमा अझै पनि यदाकदा, बुढेसकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भएमा आवश्यक प्रक्रिया पूरा गरी आउँदा प्रशासनमा झन्झट र दुःख हँुदैन, भन्ने सन्देश दिनु आवश्यक देखिएको बताए ।


    अठार वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउने नीतिगत व्यवस्था छ । दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएको अवस्थामा भेटिनु दुःखको कुरा भएको प्रजिय आचार्यको भनाइ छ ।

    नागरिकता किन बनाउनुपर्छ, फाइदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा म्याग्दीमा शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझै पनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामीण बस्तीमा भेटिने गरेका छन् ।

  • कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान

    काठमाडौँ, १८ जेठः नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

  • एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

    एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

    • योगेश आदी

    पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ ।

    खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो । स्थापनापछि निरन्तर समाजसेवा र साहित्यमा पुर्याउँदै आएको योगदानको बदौलत आज यो प्रतिष्ठान सबैको लागि अनुकरण बनेको छ । झापाको बिर्तामोडमा अवस्थित यस प्रतिष्ठानका संरक्षक श्री रुपादेवी खनालले पुस्तकालय निर्माण, साहित्यिक पुरस्कार, धार्मिक सहयोग तथा गरिब असहायप्रति मानवीय सहयोग निरन्तर गर्दै प्रतिष्ठानको गरिमा उँचो राख्नुभएको छ ।

    लेखन साहित्य र समाजसेवामा सक्रिय रहँदा गोरखा दक्षिणबाहु पदक पाउनु भएका पत्रकार, साहित्यकार, समाजसेवी स्व. गोपीकृष्ण खनालको असामयिक निधन ७१ वर्षको उमेरमा भएपछि परिवारजन तथा शुभचिन्तकको पहलमा यो प्रतिष्ठानको स्थापना भएको हो ।

    मानिस कर्मले महामानव बन्छ । सही विचार र जीवनशैली भाविपुस्ताको लागि पथ बन्छ । मातापिताले पुर्याएको सामाजिक योगदानको कदर दरसन्तानले यस्ता सामाजिक प्रतिष्ठानमार्फत गर्ने प्रचलन समाजमा अझ बढी चल्नु जरुरी छ । थुप्रै पत्रपत्रिकामा आबद्दरहेका स्वर्गीय खनालका कयौं कृतिहरु प्रकशित छन् । समाजमा सन्तानले गर्वकासाथ नाम लिन सक्ने काम अग्रजले गर्ने र भावि सन्ततिले यस्तै स्मृति प्रतिष्ठान स्थापना गरेर सम्मान व्यक्त गर्ने प्रचलन चलिरहोस् ।

    गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानको काम र योगदानको बारेमा बृस्तित जानकारी वेबसाइट् www.gkmemorial.org बाट लिन सकिन्छ । गत वर्ष प्रकाशित ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ हात परेपछि मलाई समाजप्रति थप जिम्मेवारी बोध भएको छ । आदरणीय मनोज खनालज्यु तथा गीता खनालज्युमा हार्दिक आभार ।

  • भिरबाट लडेर दुई जनाको मृत्यु

    भिरबाट लडेर दुई जनाको मृत्यु

    बाजुरा, १८ जेठः जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।

    यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको छ । प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर निजको मृत्यु भएको हो ।

  • शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

    अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो ।

    मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो । सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन गरिएको थियो । त्यसक्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

    झापा, १८ जेठः मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।


    टाउकामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । प्रहरीले कुटपिटमा संलग्न गौतमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी, दमक नगरपालिका-१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काका अनुसार शनिबार दिउँसो पुलमुनि खोलामा बगिरहेको अवस्थामा महिलाको शव बोराभित्र भेटिएको थियो ।

    निज मृत व्यक्ति दमक नगरपालिका–८ वसन्त टोलकी २१ वर्षीया रमा तिवारी रहेको आइतबार सनाखत भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । तिवारी गत बुधबार राति ९ः३० बजेतिर घरबाट आफूखुसी हिँडेपछि त्यसयता सम्पर्कविहीन भएकी मृतककी आमा मुना तिवारीलाई उद्द्धृत गर्दै प्रहरीले जनाएको छ ।

    मेचीनगर र विर्तामोडमा दुई व्यक्ति मृतावस्थामा फेला परेका छन् । मेचीनगर–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणतिर अन्दाजी ३५ वर्षीय एक पुरुष मृतावस्थामा शुक्रबार फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, इलामको फाकफोक गाउँपालिका–३ निवासी ४५ वर्षीय राज थेगिमलाई शनिबार विर्तामोड नगरपालिका-३ स्थित सडकमा लडेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । अत्यधिक मदिरा सेवन गर्दै आएका थेगिमको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हुनसक्ने प्रहरी प्रवक्ता खड्काले जानकारी दिए ।

  • छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

    रासस
    कर्णाली, १८ जेठः कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ ।

    सम्मेलन मुलतः कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेका बालविवाह, लैङ्गिक विभेद, कुप्रथालगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ ।

    त्यसैगरी, महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय कानुनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ ।

    छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र ७९ वटै स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन, सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरुपयोगबाट हुने हिंसा र दुव्र्यवहारको अन्त्यका लागि प्रभावकारी कानुनी, शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

    विद्यालय एवं समुदायस्तरमा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, आवश्यक सूचना केन्द्र तथा सेवा र जीवनोपयोगी सीप एवं रुपान्तरणकारी शिक्षा प्रवर्द्धन, २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणका लागि तत्काल पहल गर्न र पठनपाठनको प्रभावकारी प्रबन्ध गर्न माग गरिएको छ ।

    त्यसैगरी, छोरीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने वातावरण निर्माणका लागि सबै स्थानीय तह एवं समुदायस्तरमा प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गर्न माग गर्दै घोषणपत्रले २०८२ साल वैशाख २७, २८ र २९ गते सम्पन्न कर्णाली छोरी सम्मेलन ९पहिलो संस्करण०बाट जारी गरिएको घोषणापत्रका बुँदाहरू कार्यान्वयन गर्न सरोकारवालाको पुनः ध्यानाकर्षण गराएको छ ।

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य एवं समन्वयमा ज्योति फाउन्डेसनले दुई दिनसम्म सञ्चालन गरेको सम्मेलनमा कक्षा ११ र १२ अध्ययनरत कर्णालीका ७९ स्थानीय तहबाट दुई–दुई जना छोरी, राउटे, राजी, कुसुण्डा, बादी, बोटे, समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक, अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरीसहित करिब २५० भन्दा बढी छोरीहरूको सहभागिता थियो ।

    कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही, नेकपा (एमाले) दलका सदस्य जीतबहादुर मल्ल, मन्त्रीलगायत प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव तथा प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी सहभागी उक्त सम्मेलन अवधिभर ८५ छोरीहरूले आफ्नो जीवन सङ्घर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिए ।

  • नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

  • आज संसद्मा के के भयो ?

    आज संसद्मा के के भयो ?

    काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन गर्नु परेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु परेको थियो । सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका थिए ।


    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद वासना थापाले सभामुखसँग समय मागेर नियमावलीको मस्यौदामाथिको छलफलमा सहभागी सांसदहरुले मस्यौदालाई समितिमा टुङ्ग्याएर पूर्ण छलफलका लागि सदनमा ल्याउन माग गरेको सन्दर्भ उल्लेख गर्दै सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गरे ।


    सभामुखले कार्यसूचीअनुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले ‘वेल’ घेराउ गरे । सभामुखले सभाको मर्यादा पालना गर्न पटक पटक विपक्षी सांसदलाई आग्रह गरे ।

    विपक्षी सांसदसँग भिड्न सत्ता पक्षका सांसद पनि आसनबाट उठेर ‘वेल’मा पुगेका थिए । सो क्रममा सांसदहरुबीच घम्साघम्सी भएको थियो । विपक्षीको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरे । त्यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

    बैठकमा सभामुख अर्यालले सो नियमावलीको मस्यौदामाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको जानकारी गराए । सांसदहरु नरेन्द्रकुमार केरुङ, भरतबहादुर खड्का, राधिका रम्तेल, आरेन राई, महेन्द्रबहादुर शाही, शम्भुप्रसाद ढकाल, प्रमिलाकुमारी गच्छदार, गीता गुरुङ, रिना उप्रेती, सुशीला ढकाल आचार्य, सरस्वती लामा, मातृका यादव, भरत गिरी, पार्वती विक, गोपाल शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, गङ्गादेवी श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, यशोदाकुमारी बराल, भूमिका लिम्बू सुब्बा, नीता घतानी, गङ्गालक्ष्मी अवाल, कृपाराम राना, लक्ष्मीप्रसाद पोखरेल, गुरुप्रसाद बराल, क्षितिज थेबे, कुलभक्त शाक्य र सागर ढकालले उक्त नियमावलीमाथि आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिए ।


    यस्तै सांसद प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, राम लामा, विपिनकुमार आचार्य, ऐनबहादुर महर, बलावती शर्मा, पद्माकुमारी अर्याल, वासना थापा, निश्कल राई, भीमकुमारी बुढा, प्रेमबहादुर बयक, खुश्बु ओली, रमेशकुमार मल्ल, पुष्पराज कँडेल र गणेश कार्कीले छलफलमा सहभागिता जनाए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नियमावली मस्यौदा समितिका सभापति पराजुलीले संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्सात गर्दै विगतका अनुभव, अभ्यास र परम्पारलाई परिमार्जन गरेर मस्यौदा तयार गरिएको स्पष्ट पारे ।


    प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए । समितिले गत वैशाख ८ गते नियमावलीको मस्यौदा तयार गरेको थियो । मस्यौदा समितिका सभापति पराजुलीले गत वैशाख २८ गते नियमावलीको मस्यौदा प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।

  • संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

    संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

    काठमाडौँ, १७ जेठः प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अङ्ग बनेको घोषणा गरे ।

    बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो । आज दिनभरजसो संसदमा विपक्षीले विरोध कायम राखे । उनीहरुले नियमावलीमा राखेको सांसदलाई विशेधिकार दिने विषयको विरोध गरेका थिए । तर, रास्वपाले पेलेरै यो नियम नियमावलीमा घुसाएको छ ।

  • सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

    सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

    अमरगढी (डडेल्धुरा), १७ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ । महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको उनले जानकारी दिए ।

  • गलैँचा बुन्न व्यस्त महिलाहरू

    गलैँचा बुन्न व्यस्त महिलाहरू

    तुलसीपुर (दाङ), १७ जेठः तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् ।

    त्यसैगरी, सोही ठाउँकी मनकला बुढामगर पनि गलैँचा बुन्नका लागि तान मिलाउँदै थिइन् । विगतमा गलैँचा हातले बुन्छन् भन्नेसमेत थाहा थिएन । तर, अहिले आफैँले हातले गलैँचा बुन्न थालेकी छिन् । “पहिला हातले गलैँचा बुन्छन् भन्ने पनि थाहा थिएन”, बुढामगरले भनिन्, “तर अहिले आफैँले बुन्न थालेका छौँ ।” छोराछोरीलाई विद्यालय पठाउने र त्यसपछि त्यत्तिकै घरमै टिकटक चलाएर बस्नुपर्ने अवस्था थियो । अहिले गलैँचा बुन्न व्यस्त हुन थालेकी छिन् ।

    घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उनीहरू अहिले यसरी गलैँचा बुन्न व्यस्त भएका हुन् । महिलाहरूलाई आम्दानीमा जोड्नका लागि यसरी तालिम प्रदान गरेपछि उनीहरू यसरी आफैँ गलैँचा बुन्न थालेका हुन् । आफूहरूले बुनेका गलैँचाको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता पनि छैन ।

    “गलैँचा बुनेपछि सबै काठमाडौँका उद्योगमा लगेर बिक्री गरिदिनुहुन्छ रे”, सोही ठाउँकी दीपा बाँठामगरले भने, “त्यसैले पनि हामीलाई गलैँचा बुन्न हौसला मिलेको छ ।” सोही ठाउँका २० जनालाई गलैँचा बुन्ने तालिम प्रदान गरिएको थियो । उनीहरू सबैलाई गलैँचा बुन्नका लागि मेसिन प्रदान गरेपछि अहिले आफैँले यसरी गलैँचा बुन्न थालेका घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताए ।


    “हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौँ, उहाँहरूले उत्पादन गरेका गलैँचा बेच्न व्यवस्था मिलाएका छौँ”, उनले भने, “यसले उहाँहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौँ ।” काठमाडौँबाट मनोजकुमार श्रेष्ठ र सरस्वती तामाङले तालिम प्रदान गरेका हुन् ।

  • नेकपा संयोजक दाहाल अस्पताल भर्ना

    नेकपा संयोजक दाहाल अस्पताल भर्ना

    काठमाडौँ, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो–रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।

  • कुन आयोजनामा कति बजेट विनियोजन

    कुन आयोजनामा कति बजेट विनियोजन

    काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड, वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ ।

    आगामी आवको बजेटमा कुन आयोजनाका लागि निम्न लिखित बजेट विनियोजन गरिएको छ । पूर्वपश्चिम राजमार्गका लागि रु ३७ अर्ब ४६ करोड, तराई–मधेस द्रुस्तमार्गका लागि रु १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गका लागि रु चार अर्ब ६५ करोड, कर्णाली राजमार्गका लागि रु एक अर्ब, पुष्पलाल मध्यपहाडी राजमार्गका लागि रु दुई अर्ब १६ करोड, मदन भण्डारी राजमार्गका लागि रु एक अर्ब ४६ करोड, राष्ट्रिय राजमार्ग, रणनीतिक सडक पुल र स्थानीय सडक पुलका लागि रु नौ अर्ब ८७, पृथ्वी राजमार्गका लागि रु छ अर्ब ५५ करोड बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    बजेट वक्तव्यमा कोशी करिडोरका लागि रु छ अर्ब २५ करोड, गल्छी–स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डलाई स्तरोन्नति गर्न रु एक अर्ब ३५ करोड, सडक सुरक्षाका लागि रु दुई अर्ब ४६ करोड, सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रुपमा सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड, राजमार्गमा पहिरोको अवरोधलाई हटाउन रु तीन अर्ब १७ करोड, पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु एक अर्ब ८३ करोड, देशका प्रमुख सहरमा हरियाली प्रवर्द्धनका लागि रु चार अर्ब १९ करोड, झोलुङ्गे पुल निर्माण गर्न रु पाँच अर्ब १४ करोड विनिजन गरिएको छ ।

    सडक तथा सहरी पूर्वाधार विकासका लागि रु २८६ अर्ब ४८ करोड, तराई–मधेसका अधुरा खानेपानी आयोजना सम्पन्न गर्न रु दुई अर्ब ५० करोड, उपत्यकामा खानेपानी पाइप सञ्जाल विस्तारका लागि रु सात अर्ब २६ करोड, प्रमुख सहरमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रु दुई अर्ब ३४ करोड, काठमाडौँमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्न रु तीन अर्ब ४६ करोड, खानेपानी तथा सरसफाईतर्फ रु ३७ अर्ब १७ करोड, प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न रु ७० अर्ब, ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु ८५ अर्ब ५४ करोड, राजापुर सिँचाइ\भेरी बबई डाइभर्सन आयोजनाका लागि रु पाँच अर्ब ६३ करोड, सिक्टा सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ५५ करोड, सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि रु दुई अर्ब ९८ करोड, मधेसमा सिँचाइ सुविधा विस्तार गर्न रु ५३ करोड, महाकाली सिँचाइ÷रानी–जमरा–कुलरिया आयोजनाका लागि रु पाँच अर्ब १३ करोड विनियोजित गरिएको छ ।

    यसैगरी बृहत् दाङ उपत्यका सिँचाइ आयोजना र प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाका लागि रु एक अर्ब २१ करोड, सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि रु ४४ करोड, तराई–मधेसमा भूमिगत सिँचाइ सुविधा पु¥याउन रु एक अर्ब ८३ करोड, टारहरुमा लिफ्ट सिँचाइ प्रणालीमार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन रु ८० करोड, लोक कल्याणकारी विज्ञापनका लागि रु ३३ करोड, सूचना तथा सञ्चार क्षेत्रका लागि रु पाँच अर्ब ९३ करोड, खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड, सामुदायिक विद्यालयको पूर्वाधार म्यापि¬ङ गर्न रु एक अर्ब विद्यार्थी छात्रवृत्तिका लागि रु आठ अर्ब ६० करोड, शिक्षा क्षेत्रका लागि रु २१८ अर्ब ३० करोड, स्वास्थ्य क्षेत्रमा रु १०१ अर्ब ९५ करोड,

    स्वास्थ्य बिमा कार्यक्रमका लागि रु १५ अर्ब

    वक्तव्यमा विपन्न नागरिक स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु १३ अर्ब १५ करोड, आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि रु पाँच अर्ब ९० करोड, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदान रु ३२ करोड, दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु तीन अर्ब, सामाजिक सुरक्षातर्फ रु १२० अर्ब, बालसुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु ३१ करोड, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु दुई अर्ब २७ करोड, रासायनिक मल खरिदका लागि रु ३२ अर्ब ४६ करोड, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु दुई अर्ब सात करोड, प्राङ्गारिक मल र हरियो मल प्रवर्द्धन गर्न रु ३६ करोड, कृषि बिमाको प्रिमियम अनुदान सहुलियत रु दुई अर्ब १९ करोड, खोरेतलगायत रोग नियन्त्रण गर्न रु २४ करोड, कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड उल्लेख छ ।

    चुरे तथा तराई–मधेस क्षेत्रान पानीका स्रोत संरक्षण तथा पोखरी निर्माणका लागि रु एक अर्ब वन, वातावरण तथा जलवायु क्षेत्रका लागि रु १२ अर्ब ३१ करोड, बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि रु ८३ करोड, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु एक अर्ब ५३ करोड, संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु सात अर्ब ३४ करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु दुई अर्ब ९३ करोड, श्रम तथा रोजगार क्षेत्रमा रु तीन अर्ब ६३ करोड, विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रुपान्तरण गर्न रु २२ करोड, औद्योगिक पूर्वाधार विकासका लागि रु ६५ करोड, औद्योगिक क्षेत्रसम्मको सहज पहुँचका लागि रु ५० करोड, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु एक अर्ब १८ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रु आठ अर्ब ३१ करोड, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु चार अर्ब र नेपाल इन्टरप्राइज फसिलिटीका लागि रु ५० करोड र नेपाली सेनाका जवानहरुको आवास स्तरोन्नति कार्यक्रमलाई रु दुई अर्ब विनियोजन भएको छ ।