Category: स्थानीय

  • अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

    अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

    गण्डकी, ६ जेठ । पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिए । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो ।

    अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उनको भनाइ छ ।

    खाली गराइएको स्थानको आगामी दिनमा कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालयका पूर्वप्रधाध्यापक, पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबैलाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए ।

  • तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

    तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

    काठमाडौँ, ५ जेठः राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले उहाँलाई आज सो पदमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

  • जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्ला, ५ जेठः जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए । जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताए ।


    नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडलेको भनाइ छ । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले जानकारी दिए ।


    स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व सङ्कलनमा वृद्धि गर्न जथभावी उत्खनन गरेका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । विपद्का बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रुपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    म्याग्दी, ४ जेठ । यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् ।
    हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गरेका हुन् । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।


    “नवदम्पतीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडकबत्तीको आवश्यकता दर्शाएका थियौँ”, उनले भने, “हाम्रो प्रस्ताव स्वीकार गरी प्रकाश र राधिकाले १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती, तारलगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो ।” मङ्गला गाउँपालिकाले बिजुलीको पोलबाहेकका ठाउँमा सडकबत्ती राख्न तीनवटा पोल उपलब्ध गराएको छ । टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले दुई दिन लगाएर बत्ती जडान गरेका हुन् । सिम, कोत्रवाङ, कुहुँ जाने सडक र काफलचौरको झोलुङ्गे पुलसम्म बत्ती जडान गरिएको छ ।

    रात परेपछि बल्ने र उज्यालोमा निभ्ने स्वचालित सडकबत्ती जडान गरिएको हो । यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो । झलमल्ल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष विकले बताए । कोत्रवाङमा २२ घरपरिवारको बसोबास छ । प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रवाङ हुँदै ताराखेत जोड्ने पदमार्ग निर्माण गरेका थिए । हाल प्रकाश र उनकी पत्नीले जडान गर्नुभएको सडकबत्तीले पनि वस्तीमा सुविधा पुगेको छ । रासस

  • गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    गुल्मी, ४ जेठः कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।


    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरी जनाएको छ ।

    दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पु¥याइएको प्रहरीले जनाएको छ ।

  • दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    काठमाडौँ, ३ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३–८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए ।

    उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०–२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने ।


    काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो ।

    मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ। उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए ।


    बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गरे ।

    पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए । उनले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गरे ।


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताउनुभयो । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।

  • महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    काभ्रेपलाञ्चोक, ३ जेठः महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ । वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो । किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाअध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ ।

    काभे्रपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको हो । यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गरेको छ । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    “प्रत्येक वर्ष कफी किसानलाई आधुनिक कृषि सामग्री प्रयोग गरी कफी उत्पादन गर्नसहज हुने र उत्पादन वृद्धिमा उत्प्रेरण जाग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनका अनुसार केही वर्षदेखि स्थानीय किसानका आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि गाउँपालिकाले किसानलाई बर्सेनि अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको बताइएको छ ।

    कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाको भनाइ छ । यहाँका किसान कफीखेतीमा आकर्षित हुँदै परम्परागत रूपमा मकै, कोदोलगायत खाद्यान्न बाली छाड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रूपमा अगाडि बढाएको उनले बताए । यहाँका किसानले कफीखेतीबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको बिक्री गर्दै आएका वडा नं ५ का सुवास जिम्बाले बताए । उनका अनुसार यहाँ कफीखेती राम्रो हुने र बजारीकरणको समस्या हट्दै गएकाले पछिल्ला केही वर्षदेखि किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।

    गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर रु २० अनुदान दिँदै आएको छ । विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी हुँदै कफीखेतीलाई निरन्तरता दिँदै क्षेत्र बढाइएको बताए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले त्यहाँ हाल बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकिलो रु पाँच सयदेखि रु ६ सयसम्म पाउने गरेका छन् । एकपटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको बताइन्छ । एक रोपनीमा वार्षिक रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको जिम्बाले बताए । उनका अनुसार महाभारतको आर्थिक समृद्धिको आधार नै कफी हुने सम्भावना छ ।

  • संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    कैलाली, ३ जेठः धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस’ सत्रमा सहभागी वक्ताहरूले संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन् । प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजनाहरू निर्माणका लागि प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

    निजी क्षेत्र र अन्तरराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले विकास तथा लगानी सम्मेलनको तयारी गरिरहेको बताउँदै उनले प्रदेशको दक्षिणी क्षेत्रमा कृषि उत्पादन, मध्यवर्ती क्षेत्रमा वनजन्य उत्पादन तथा उत्तरी क्षेत्रमा जडीबुटी र हिमाली पशुपन्छी उत्पादनको ठूलो सम्भावना रहेको जानकारी दिए । प्रमुख सचिव अर्यालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरी सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षा तथा चिकित्सकीय उत्पादनको केन्द्र बनाउन सकिने उल्लेख गरे ।


    प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताए । उनले प्रदेश गौरवका योजनालाई आगामी बजेटमा प्राथमिकता दिइने जानकारी दिए । उनले सडक सञ्जाल गुरुयोजना, कृषि गुरुयोजना र पर्यटन गुरुयोजनालाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउँदै प्रदेशलाई चिनाउने धार्मिक तथा पर्यटकीयस्थलमा बजेट विनियोजन गरिने बताए ।


    राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी–अत्तरिया–चिसापानी सडकखण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए । उनले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न हुने र सेती लोकमार्गका लागि आगामी बजेटमा उल्लेखनीय रकम विनियोजन हुने बताए । उनका अनुसार खप्तड, रामारोशन र बडिमालिकालाई कर्णाली तथा सेती राजमार्गसँग जोड्ने योजना रहेको उल्लेख गरे ।


    ‘सङ्घीयताको अभ्यासः अनुभव, चुनौती र सुधारको बाटो’ विषयक अर्को सत्रमा सहभागी वक्ताहरूले सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगर्दा सङ्घीयता कमजोर बनेको बताए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा उल्लेख भएका प्रदेशका अधिकार व्यवहारमा कार्यान्वयन नभएकाले सङ्घीयतामाथि नकारात्मक बहस भइरहेको बताए । साझा अधिकारसम्बन्धी कानुन समयमा नबन्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा प्रशासनिक र राजनीतिक सोचकै समस्या रहेको बताए ।


    पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीयता जनताको घरदैलोमा सरकार पुर्याउने उद्देश्यले ल्याइएको भए पनि माथिल्लो तहबाट अधिकार नदिने प्रवृत्तिका कारण यसको नकारात्मक प्रचार भइरहेको बताए । सङ्घीयताविज्ञ खिमलाल देवकोटाले संविधानले प्रदेशलाई प्रहरी अधिकार दिएको भए पनि सङ्घीय सरकारले अहिलेसम्म हस्तान्तरण नगरेको बताए । सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेशले कर्मचारी व्यवस्थापनमा समस्या भोगिरहेको उनको भनाइ थियो ।

    वित्तीय सङ्घीयताविज्ञ सोमत घिमिरेले सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिइएको आरोप लगाए । सङ्घीयताविज्ञ परशुराम उपाध्यायले सङ्घीय व्यवस्थामार्फत ३५ हजार जनप्रतिनिधि प्रत्यक्ष शासनमा सहभागी भएको उल्लेख गर्दै महिलाको सहभागिता बढ्नु सङ्घीयताको सकारात्मक उपलब्धि भएको बताए । तेस्रो सत्रमा प्रदेशको इतिहास, पहिचान, साहित्य र सङ्गीतबारे छलफल भएको थियो ।

    सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पौराणिक महत्वका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले देवाटवी सर्किटअन्तर्गत सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक पर्यटनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य यज्ञराज उपाध्यायले प्रदेशमा सङ्गीत र इतिहास अध्ययन केन्द्र स्थापना हुनुपर्ने बताए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञासदस्य वासुदेव पाण्डेले सरकारी निकायबाट थप खोज तथा अन्वेषण हुन आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिम अझै ओझेलमा रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकारहरु टीकाराम यात्री, मनमोहान स्वार र शिवराज भट्टले गरेका थिए ।

  • मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    सुरेश झा\रासस
    जनकपुरधाम, २ जेठः मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी÷एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी÷एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।

    निर्देशनालयका एचआइभी÷एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त सङ्ख्या बढेर आर्थिक वर्ष २०८१\८२ सम्ममा ७६ हजार ७९२ पुगेको छ । आर्थिक वर्ष २०७५\७६ मा ४००, २०७७\७८ मा ४७५, २०७८\७९ मा ६७५, २०७९\८० मा ६०६, २०८०\८१ मा ५१० तथा २०८१\८२ मा ४७९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।


    चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत सङ्क्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मधेस प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिकामा एचआइभी सङ्क्रमण रहेको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् । सङ्क्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक रु एक हजार नगद सहायता उपलब्ध गराइँदै आएको छ ।

    मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । प्रदेशमा हाल १० वटा सरकारी तथा एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । एचआइभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार नभएको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताए ।

  • कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

    कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

    काठमाडौँ, २ जेठः सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए । उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

  • आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    रासस
    महोत्तरी, २ जेठः मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रुपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।

    सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा बर्तालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।

    बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउँछन् । सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।

    साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । प्राचीन पर्व संस्कृतिको जगेर्नासँगै यो पर्व आपसी भेटघाट र सँगसाथ खुलेर कुराकानी गर्ने अवसर पनि भएको बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुर बताउँछिन् ।


    मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् । पर्वले सांस्कृतिक एकता र परम्पराको जगेर्नाको सन्देश दिने उनको भनाइ छ ।

  • केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    काठमाडौँ, २ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ ।

    कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू–भागका र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

  • पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

    पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

    मुग्लिन (चितवन), २ जेठः तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ ।


    जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ । अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताए ।


    बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताए । कर्णाली प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा यस्तो जाँच गरिने उनले बताए ।

  • नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

    नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

    रासस
    गण्डकी, २ जेठ । कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ । विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो ।

    गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक हललाई हंसपुर तथा सभाहललाई थुम्की नामकरण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । भवन उद्घाटन समारोहमा उहाँले यसबाट साविक गाविसहरूको प्रशासनिक तथा सामाजिक इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको बताए । उनका अनुसार नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनी ११ आना एक पैसा जग्गामा सात करोड ७८ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन हाल गाउँपालिकाको प्रशासनिक केन्द्र बनेको छ ।

    अध्यक्ष ओझाले भने, “विकाससँगै स्थानीय इतिहास र पहिचानलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर यस्तो अभ्यास थालिको हो । लिफ्टसहित अपाङ्गतामैत्री शौचालयको व्यवस्था गरिएको भवन आधुनिक प्रविधियुक्त छ ।” रमणीय भालभज्या डाँडामा अवस्थित भवनबाट गाउँपालिकाका सबै वडासहित पोखरा, मध्यविन्दु, शुक्लागण्डकी नागरपालिका र मादी नदी तथा हरिया फाँटहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सो स्थानमा स्वाथ्यचौकी, प्रहरी बिट, कृषि तथा पशु विकाससम्बन्धी कार्यालयसमेत स्थापना गरी सञ्चालन गरिने सोच रहेको अध्यक्ष ओझाले बताए ।


    यो भवन सम्झौता भएको एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो । विसं २०८२ वैशाख ३१ गते रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रकसन प्रालिको जेभीसँग एक वर्षमा निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । जेठमा निर्माण कम्पनी र पालिकाबीच भएको सम्झौताअनुसार सम्पूर्ण प्रक्रिया मिलाएर सुरु भई तोकिएकै समयमा सम्पन्न गरी निर्माण कम्पनीले गाविसलाई हस्तान्तरण गरेपछि उद्घाटन गर्न सफल भएको पालिकाका प्राविधिक अभिनव गौतमले बताए ।


    नौ वर्षअघि कालोपत्रले नछोएको पालिका रूपमा परिचित रुपामा अहिलेसम्म २०५ किलोमिटर सडक कालोपत्र गरिएको बताउँदै उनले भने, “यस वर्ष २४ किलोमिटर सडक निर्माणका क्रममा रहेको छ भने सबै वडा कार्यालयबाट प्रशासनिक भवन सडक सञ्जालबाट जोडिएको छ ।” पालिकाका सातै वडा कार्यालयका पक्की भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनका आधार तयार भएपछि मात्र प्रशासनिक भवन निर्माण गरिएको बताउँदै प्राविधिक गौतमले भने, “प्रशासनिक भवन निर्माणले रुपाको रुप नै फेरिएको झल्को दिएको छ ।”

    एक समारोहका बीच भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विगतलाई स्मरण गर्ने लक्ष्यका साथ निर्माण सम्पन्न भएको प्रशासनिक भवनबाट जनताले सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कुनै समय खानेपानीको अभावमा बसाइँसराइ गर्ने प्रवृत्ति तीव्र रहे पनि पछिल्लो समय जनप्रतिनिधिको पहलमा सबै वडामा सडक, खानेपानीको सुविधा पुगेसँगै गाउँ फर्क अभियान सुरु हुनुपर्ने उनको जोड थियो ।

    सङ्घीयतासँगै सिहदरबारको अधिकार जनताको घरदैलोमा आएको बताउँदै भवन निर्माणबाट छिटोछरितो एवं प्राविधिमैत्री सेवा प्रदान गर्न सहयोग पुग्ने धारण बनेको उनको भनाइ छ । सो अवसरमा नवनिर्मित प्रशासकीय भवनको हातामा रुद्राक्षको बिरुवा रोपिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति कास्कीका पूर्वप्रमुख वैनबहादुर क्षेत्री अधिकारीलगायतले समृद्ध रुपाको अधियानसँगै विपद् व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए ।

    पायक पर्ने स्थानमा प्रशासनिक भवन निर्माणसँगै सञ्चालनमा आएपछि स्थानीय बासिन्दा बाजागाजासहित आफ्नो समुदायको सांस्कृतिक, वेशभुसामा सहभागी बनेका थिए । आधुनिक संरचनामार्पmत पुरानो इतिहास जोगाउने गाउँपालिकाको प्रयासलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन् ।

  • न्यूयोर्कमा नेपाली विद्यार्थी सुलभ कतिला बने सेन्ट जोसेफ युनिभर्सिटिका उत्कृष्ट विद्यार्थी

    न्यूयोर्कमा नेपाली विद्यार्थी सुलभ कतिला बने सेन्ट जोसेफ युनिभर्सिटिका उत्कृष्ट विद्यार्थी

    न्युयोर्क ।

    न्यूयोर्कस्थित सेन्ट जोसेफ युनिभर्सिटिले सन् २०२६ को स्नातक तहका वैलेडिक्टोरियनहरू घोषणा गरेको छ । यसमा नेपालका सुलभ कतिला ब्रुकलिन क्याम्पसका वैलेडिक्टोरियन बन्न सफल भएका छन्।

    नेपालबाट अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुलभ कतिलाको इन्जिनियर बन्ने सपना लिएर अध्ययन यात्रा सुरु गरेका थिए। अध्ययनका क्रममा उनले विश्वविद्यालयको कम्युटर क्लवका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने शैक्षिक केन्द्रमा पियर ट्युटरको रूपमा पनि काम गरेका थिए। साथै, उनले ब्रुकलिनका पिछडिएका बालबालिकालाई गणित विषयमा निःशुल्क सहयोग गरेका थिए।

    सुलभले २०२४ मा Summer Undergraduate Research Fellowship (SURF) अन्तर्गत न्यूयोर्क सिटीको घरजग्गा मूल्य प्रवृत्तिबारे अनुसन्धान प्रस्तुत गरेका थिए भने उनको मेहनत र नेतृत्व क्षमताको कदर गर्दै विश्वविद्यालयले उनलाई Joseph M. Lewinger “Mr. St. Joe’s” Scholarship for Future Educators समेत प्रदान गरेको थियो।

    उनले Computer Science र Mathematics विषयमा डिग्री प्राप्त गर्दै Data Science मा minor पनि पूरा गरेका छन्। भविष्यमा आफू प्राध्यापक बनेर नयाँ पुस्तालाई प्रेरित गर्ने लक्ष्य रहेको उनले बताएका छन्। सुलभ कतिला यो सफलता नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।

  • प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

    प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम छलफल

    काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।

    सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

  • सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

    सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

    काठमाडौँ, ३० वैशाखः प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पु¥याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ ।

    त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन् । सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्य हेर्नेगरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ ।

    अन्य मन्त्रालयको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ । जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानवसंसाधन मन्त्रालय रहनेछन् । त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ । साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ ।

    नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो । सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ‘गठित पुनःसंरचना व्यवस्थापन सचिवालय’ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको विज्ञ दाहालले जानकारी दिए । मन्त्रालयको सङ्ख्या आवश्यकताभन्दा बढी भई चालु खर्च बढेको समस्या समाधान गर्न र राज्य संयन्त्रलाई चुस्त बनाउन यो कदम चालिएको बताइएको छ ।

  • घरको छतसहित खसेर दुई जनाको मृत्यु

    घरको छतसहित खसेर दुई जनाको मृत्यु

    बरहथवा (सर्लाही), ३० वैशाखः सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    छतसहित खसेर गम्भिर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

    नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

    त्रिशूली (नुवाकोट), ३० वैशाख । यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो ।

    एक व्यक्तिले गएराति प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरुको हत्या गरेर खोलामा ढुङ्गाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको हो । “आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको खोजी भइरहेको छ । उनी पक्राउ परेपछि विस्तृतमा खुल्नेछ ।”

    आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ । परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाइ मङ्गलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए । घटनास्थल सडकदेखि करीब पाँचघण्टा पैदल दूरीमा छ । शव परीक्षणका लागि आज साँझ घटनास्थलदेखि त्रिशूली अस्पतालतर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

  • आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

    काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास दिलाए ।

    उनले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई समस्यामा पार्नेगरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने बताए । अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब रु १३ खर्ब ३० अर्ब रहेको, करिब रु सात खर्ब अपुग हुने तथ्य पेस गरे ।

    उनले सिर्जनशील कार्यक्रमका लागि आफूले स्रोत जुटाउने विश्वास दिलाउँदै चुनौतीलाई अवसरका रूपमा बदल्ने बताए । अर्थ मन्त्रालयले यसअघि नै मन्त्रालयहरूलाई बजेटको ‘सिलिङ’ तोकेर पठाइसकेको जानकारी दिँदै उनले त्यस आधारमा नै सम्बन्धित मन्त्रालयमार्फत समावेश गर्न सकिने विषय भए मन्त्रालयले सम्बोधन गर्ने स्पष्ट पारे ।

    अर्थमन्त्रीले नियमित स्रोतबाट मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकिने भएकाले सरकारले ‘वैकल्पिक वित्तसम्बन्धी विधेयक’ तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । उनले सो विधेयकलाई थप समृद्ध बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको आवश्यकता औँल्याए ।

    अर्थमन्त्री वाग्लेले पाँच वटा ‘थिम’मा आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिए । उनले वर्तमान सरकार गठन भएपछि अगाडि बढाइएको सुशासनको लाभांश वितरण गर्ने तरिकाले बजेट विनियोजन गर्ने विश्वास दिलाए । उनले अर्थतन्त्रको पुनः संरचना गर्नेगरी बजेट आउने उल्लेख गरे । सम्पर्क सञ्जालको विस्तार एवम् सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, खानेपानी सडकजस्ता ‘डिजिटल’ नेटवर्कका लागि ठूलो लगानी गरिने जानकारी गराए ।


    अर्थमन्त्रीले निजी क्षेत्रलाई पनि सडक पूर्वाधार निर्माणमा सहभागी गराउने योजना सरकारको रहेको उल्लेख गरे । नेपालको सौम्य शक्तिको विस्तारमार्फत संस्कृति, पर्यटन र परराष्ट्र सम्बन्धको थप प्रवर्द्धन गर्ने, डायोस्परालाई आर्थिक विकासमा सहभागी गराउने गरी उक्त स्रोतको परिचालन गर्ने उनको भनाई छ । उनले आगामी आवको बजेटमा सरकारको नीति तथा कार्यक्रम, शासकीय सुधार र सरकारको वाचापत्रलाई समेटिने दोहोर्‍याए । बजेटका प्राथमिकता तथा सिद्धान्तमार्फत सुधारमुखी ‘एजेन्डा’ अघि सारिने अर्थमन्त्रीको भनाइ छ ।

    त्यस्तै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई क्रमशः उत्पादनमा आधारित बनाउने र सामाजिक उन्नयन तथा मध्यम वर्गको विस्तारमा जोड दिइने उनले बताए । उनले आफूले अर्थमन्त्रालय सम्हालेदेखि साना–ठूला गरी ३०० भन्दा बढी काम भइसकेको समितिलाई जानकारी दिए । उनले यही वैशाख ३१ गते संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने जानकारी गराए । सांसदहरूले संसद्मा दिनुहुने सुझावलाई समेत बजेटमा समावेश गरिने उल्लेख गरे ।

    सीमा क्षेत्रमा हुने तस्करी निर्मम भएर नियन्त्रण गरिने अर्थमन्त्री डा वाग्लेको भनाइ छ । सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत हुने उनले बताए ।


    एक सय रुपियाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था वर्तमान सरकारले ल्याएको नभई दशकौँदेखि कायम रहेको नीति भएको र चालु आवको बजेटमा सो व्यवस्था रहेको जानकारी दिए । एकै दिनमा पटक–पटक सीमा वारपार गरेर नेपाली बजार र गोदाममा सामान भित्र्याई स्वदेशी उत्पादनलाई क्षति गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ । सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले सीमा क्षेत्रमा क्यामेरा, अनुहार पहिचान गर्ने यन्त्र, नाइट भिजन उपकरण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित निगरानी प्रणाली प्रयोग गर्ने योजना अघि सारिएको उनको कथन छ ।

    अर्थमन्त्री डा वाग्लेले धितोपत्र बजारको विकासका लागि सरकारले उदार नीति अगाडि सारेको जानकारी दिए । उनले राष्ट्रपतिले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको उल्लेख गरे । उनले त्यसलाई बजेटमा थप आकार दिइने स्पष्ट पारे । अर्थमन्त्री डा वाग्लेले केही सीमित समूहले पुँजी बजारमा चलखेल गरेर ‘इन्साइडर ट्रेडिङ’ गरी जनताको ठूलो रकम दुरूपयोग गरिएको यथार्थता पेस गरे ।

    उनले त्यस्ता समूहले आर्थिक लाभ मात्र नभई राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको दाबी गरे । अर्थमन्त्री वाग्लेले स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठन गरिएको एउटा समितिले प्रतिवेदन दिएको जानकारी दिँदै त्यसलाई क्रमशः कार्यान्वयनमा लगिने बताए । उनले जेनजी आन्दोलनले मुलुकलाई गलत दिशामा जानबाट जोगाएको र हाल सुशासनलाई ठूलो प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गरे । सांसदहरू ध्रुव्र राई, परशुराम तामाङ, भरत गिरीलगायतले आगामी आर्थिक वर्षको बजेटका बारेमा सुझाव दिएका थिए । रासस

  • अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

    अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

    अर्घाखाँची, वैशाख २९ गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
    सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।

    घटनामा मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ बस्ने ७८ वर्षीया राममाया बस्नेत, ७८ वर्षीया विन्दु कुँवर, पर्वत जिल्लाको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र मोदी गाउँपालिका–५ का बसचालक ४५ वर्षीय रमेश जिसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिए ।


    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरू परेको प्रहरीको भनाइ छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किदै गरेको पर्वतको ध१ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले जानकारी दिए ।

    प्रारम्भिक जानकारीअनुसार गाडीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको र बस सडकबाट जङ्गलमा लगभग १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रमुख जिसीको कमान्डमा खटिएको प्रहरीको टोली र स्थानीयले उद्धार गरेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

  • विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

    काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो । पहिलो इनिङ्स सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले ३९ ओभरमा दुई सय २१ रनको लक्ष्य पाएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले अर्धशतकीय पारी खेले । गुल्शनले अविजित सर्वाधिक ६१ रन बनाए । उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । दीपेन्द्रले ५५ रन बनाए । अर्धशतक बनाउने क्रममा उनले ४९ बलमा पाँच चौका र एक छक्का हाने । कप्तान रोहितकुमार पौडेलले ३२, ओपनर आशिफ शेखले २१, करण केसीले १८, भेट्रान विनोद भण्डारीले १० र नन्दन यादवले अविजित आठ रन बनाए ।


    बलिङमा स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । यस्तै मार्क वाटले दुई दुई तथा ज्याक जार्भिस र ओलिभर डेभिडसनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाए । ६२ रनको सामना गर्दा १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए । अर्का ओपनर फिनले म्याकक्रियाथले ६२ बल खेल्दै ३५ रन बनाए । पाँचौँ क्रममा ब्याटिङ गरेका मिचेल इङ्ग्लिसले नटआउट ३४ रन बनाए ।


    २० ओभरसम्म विकेटबिहीन बनेको नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले चार विकेट दिलाए । सन्दीपले १० ओभर बलिङ गर्दा एक मेडनसहित ४१ रन खर्चिएर चार विकेट हात पारे । यस्तै करण केसीले आठ ओभर बलिङ गर्दा ५१ रन खर्चिएर दुई विकेट हात पारे आठ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर नन्दन यादवले दुई विकेट लिए । नेपालका लागि १० ओभर बलिङ गरेका ललित राजवंशी ३३ रन खर्चिएर विकेटबिहीन बने । दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र रोहित पौडेलसमेत विकेटबिहीन बने ।


    जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २९ खेलबाट ३६ अङ्क बनायो । पराजित नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २४ खेलबाट ३६ अङ्क जोड्दै शीर्षस्थानमा छ । आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

  • ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

    २७ वैशाख, काठमाडौं । स्पेनको क्यानरी टापुतर्फ गइरहेको ‘हान्टाभाइरस’ प्रभावित पानीजहाजका विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयससले स्थानीय नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । उनले वर्तमान अवस्था ‘अर्को कोरोना महामारीजस्तो नभएको’ स्पष्ट पार्दै जनस्वास्थ्य जोखिम हाल न्यून रहेको बताएका छन्।

    नेदरल्यान्ड्सको झण्डा बोकेको ‘एमभी होन्डियस’ नामक पानीजहाजमा १४० भन्दा बढी यात्रु तथा चालकदलका सदस्य रहेका छन् । उक्त जहाज पश्चिम अफ्रिकाको तट नजिक रहेको स्पेनको क्यानरी टापु समूहअन्तर्गत टेनेरिफे टापुमा आइतबार बिहान पुग्ने अपेक्षा गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस, स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सिया तथा गृहमन्त्री फर्नान्डो ग्रान्दे–मार्लास्का शनिबार टेनेरिफे पुगेर यात्रु तथा चालकदललाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाल्ने कार्यको समन्वय गर्ने तयारीमा रहेका छन् । स्थानीय बासिन्दालाई सम्बोधन गर्दै टेड्रोसले विगतको कोरोना महामारीको पीडा अझै ताजा रहेकाले मानिसहरूमा चिन्ता हुनु स्वाभाविक भएको बताए । तर उनले हाल देखिएको हान्टाभाइरसको अवस्था कोरोना महामारीसरह नभएको र जोखिम नियन्त्रणमै रहेकोमा जोड दिए ।

    विश्व स्वास्थ्य संगठन, स्पेनी अधिकारीहरू तथा जहाज सञ्चालन कम्पनीका अनुसार हाल जहाजमा रहेका कसैमा पनि भाइरसको लक्षण देखिएको छैन । सम्बन्धित निकायहरूले यात्रुहरूको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् । हान्टाभाइरस प्रायः मुसा तथा अन्य कृन्तक जनावरबाट सर्ने भाइरस हो । यसको सङ्क्रमणले ज्वरो, थकान, श्वासप्रश्वासमा समस्या लगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यद्यपि विशेषज्ञहरूले हालको अवस्थालाई नियन्त्रणयोग्य रहेको बताएका छन् ।

    रासस-एपी

  • रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    रास्वपा सचिवालय बैठकले के गर्यो निर्णय ?

    २८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको छ। निर्णय अनुसार जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला हुनेछ।

    वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गरिनेछ। यस्तै, समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला तथा वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। बैठकले जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते वडा अधिवेशन र जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा जेठ १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ। जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते हुने जनाइएको छ।

    त्यस्तै बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा विभिन्न पदमा मनोनयन पनि गरेको छ। निर्णय अनुसार ‘र्‍याट’ समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा एपिएफका पूर्वडिआइजी बिदुर खड्का मनोनीत भएका छन्। स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी र सचिवमा हरि जोशी, शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमहामन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी तथा केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल मनोनीत भएका छन्।

    कञ्चनपुर जिल्ला सभापतिको जिम्मेवारी पदम बिष्टलाई दिइएको छ। बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ। यस्तै, पार्टी हितविपरीत काम गरेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

  • मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    मधेश सरकारलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय

    २७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार चार दलका नेताले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई यथाशीघ्र विश्वासको मत लिन आग्रह गर्ने निर्णयसमेत गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादवको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने र संविधानअनुसार छिट्टै विश्वासको मत लिने समझदारी बैठकमा भएको छ।

    बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइनका तर्फबाट रानी शर्मा तिवारी सहभागी थिए ।


    यसअघि जनमत पार्टीले वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मधेश प्रदेश सभामा १२ सदस्य रहेको जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सरकारबाट भने बाहिरिएको छैन। सो पार्टीबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा सरकारमा सहभागी छन् ।


    हाल १०२ सदस्यीय कायम रहेको मधेश प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५२ जना सदस्य आवश्यक पर्छ। वर्तमान मुख्यमन्त्री यादवलाई सरकारमा सहभागी नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, नेकपाका १५ र लोसपा नेपालका ८ गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।

  • मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

    २७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्त कमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ ।

    कृष्णपुर नगरपालिका–२ का नीरज रानाले विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन् । राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारीचालक र यात्री हुन् । ‘बिहानदेखि साँझसम्म सडकछेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको छ,’ उनले भने । राना मुक्त कमैया बस्तीमा बस्छन् । सरकारले करिब तीन दशकअघि पुनस्र्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर उनको परिवार बस्दै आएको छ ।

    माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगर खेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घरनजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ । ‘दैनिक पाँच हजार रुपैयाँजतिको बिक्री हुन्छ,’ रानाले भने, ‘सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

    वनहरा मुक्त कमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगर खेतीमा संलग्न छन् । नदी किनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत ‘लिज’ ९भाडा० मा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, घिरौँला र करेला लगाएका छन् ।

    ‘गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु,’ शिवलालले भने, ‘सिजनमा पाँच लाख रुपैयाँसम्मको बिक्री हुन्छ, जसबाट दुई-तीन लाख रुपैयाँसम्म बचत हुन्छ ।’ उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोत हो । ‘अरू गरिखाने आधार छैन,’ उनले थपे, ‘यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

    सडक किनारमा तरबुजा प्रतिकिलो २५, काँक्रा ४०, घिरौँला ६० र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् । तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

    ‘राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, यहाँका काँक्रा र तरबुजा निकै मीठा हुन्छन्,’ उनले भने, ‘स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’ तर सडकछेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्त कमैया बताउँछन् ।

    तरकारी तथा फलफूल बिक्रीमा संलग्न धीरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

    बगर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठुलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । मलखाद, बिउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् ।

    ‘खेती गर्न सजिलो छैन, दिनरात मिहिनेत गर्नुपर्छ,’ उनले भनिन्, ‘राम्रो स्याहारसुसार गरे मात्रै उत्पादन राम्रो हुन्छ ।’ स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताइन् । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ,’ उनले भनिन्, ‘यसले घरधन्दा धानेको छ ।’

    विरा रानाका अनुसार बगर खेतीले मुक्त कमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन,’ उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

    रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्त कमैया परिवारका लागि बगर खेती आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ ।

    तर कृषि अनुदान, सिँचाइ, बिउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्त कमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् । ‘यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,’ लीलावती वडायकले भनिन्, ‘बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’

    वनहरा नदी किनारको बगर अहिले मुक्त कमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्त कमैया परिवारको घरखर्च मात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

  • मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण

    मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण

    नविन लामिछाने\रासस
    २७ वैशाख, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् ।

    यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् । स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन् । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।

    ‘भिर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ । औषधिका रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौं’, गुरुङ भन्छन्, ‘भिर मौरीको महको माग पनि बढी छ ।’ वर्षमा दुईपटक मह काढ्ने गरिएको उनी बताउँछन् ।

    गुरुङ भन्छन्, ‘पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । शुक्रबारमात्रै मह काढ्ने चलन छ ।’ मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन् ।

    मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन् । एकपटक बनाइएको भर्याङ तीनचार वर्षसम्म उपयोग गर्न सकिन्छ ।

    यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङ बताउँछन् ।

    ‘पहिलापहिला त मुखमात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौं’, उनी भन्छन् , ‘यसले जोखिमबाट जोगाएको छ ।’

    मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुने गुरुङ बताउनुहुन्छ । पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो ।

    मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पूरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् ।

    हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । ‘यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो’, उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।’

    आश्चर्यचकित पार्नेगरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् । ‘म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिएँ । नेपाली साहसी छन्, नेपालीका बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो’, उनी भने ।

    भिर मौरीको मह काढ्ने परम्परामात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ ।

    प्राकृतिक उपजका रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ । यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ ।

  • इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत

    इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत

    २६ वैशाख, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने भएको छ । रूसी उप(परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् ।

    ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप–परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा अहिले अमेरिका र बहराइनको संयुक्त मस्यौदा रहेको र त्यसलाई रूसले कुनै हालतमा समर्थन गर्न नसक्ने बताएका हुन् । उनले यस विषयमा हतारमा निर्णय नगर्न र प्रस्तावलाई फिर्ता लिन सह(लेखक राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

    अलिमोभका अनुसार वार्ताको टेबुलमा रूस र चीनले तयार पारेको अर्को मस्यौदा प्रस्ताव अझै पनि छलफलका क्रममा रहेको छ। रूस र चीनको उक्त प्रस्तावमा द्वन्द्वरत पक्षहरूलाई युद्ध अन्त्य गर्न, बल प्रयोग नगर्न र वार्ताको माध्यमबाट मतभेद सुल्झाउन स्पष्ट आह्वान गरिएको छ । रूसी उप-परराष्ट्रमन्त्रीले उक्त मस्यौदामा समुद्री मार्गको स्वतन्त्रता सुनिश्चित गर्ने महत्त्वलाई पनि जोड दिइएको तर हालसम्म त्यसमाथि कुनै अन्तिम निर्णय भने भइनसकेको जानकारी दिएका छन् ।

    पछिल्लो समय इरान र अमेरिकाबीच भइरहेका आक्रमण र प्रत्याक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसले वार्ताको माध्यमबाट ठोस नतिजा निस्कनेमा आशा व्यक्त गरेको छ । अलिमोभले रूस सधैँ बिनाशर्त हिंसाको अन्त्य र वासिङ्टन तथा तेहरानबीच स्थायी सहमतिका लागि राजनीतिक एवं कूटनीतिक समाधानको पक्षमा रहेको बताएका छन् । वार्ता प्रक्रियामा बाधा पुर्‍याउने कुनै पनि कदम चिन्ताको विषय हुनेमा समेत उनले जोड दिएका छन् ।

  • नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    काठमाडौँ, २५ वैशाख । युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा  भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।
    भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गरे । उनले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे । राजदूतले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताइन् । राजदूत रोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

  • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङ, वैशाख २५ गते । नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

    अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ । उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सीप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

    खोज तथा उद्धार अभ्यासअन्तर्गत हिमनदी र पर्वतीय खोंचमा पसेका यात्रीलाई सुरक्षित उद्धार लगायतका अभ्यास हुने उनले बताए । ‘रेस्क्यु’ अभ्यासअन्तर्गतको पहिलो दिन इन्द्रबक्स गणको नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी ‘रेस्क्यु’ अभ्यास गरिएको हो । त्यसैगरी अभ्यासको दोस्रो दिन आज (शुक्रबार) घरपझोङ गाउँपालिका–५ स्थित सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा ‘रेस्क्यु’ अभ्यास हुने इन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समुद्री सतहको चार हजार मिटरको उचाइमा छ ।

    हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीको खोज तथा उद्धारकार्यको कृत्रिम अभ्यास गरिने जनाइएको छ । अभ्यास कार्यक्रमको पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति एवं उपरथि भोलानाथ थापा, २३ नंं बाहिनीका बाहिनीपति एवं सहायक रथि विजय केसी, सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडले अवलोकन गरेका थिए ।

    त्यसैगरी, अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । उच्च उचाइको क्षेत्रमा गरिने यस प्रकारका खोज तथा उद्धार अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको उद्धारकार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । रासस