रास्वपा महाधिवेशन सुरु

चितवन, ७ असारः रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न राजनीतिक दलका नेताहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित भए ।

यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरु र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रह्यो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी भए ।


त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी भए । रास्वपाको चितवनमा सुरु पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा चितवन र छिमेकी जिल्लाका रास्वपाका जिल्लास्तरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको छ । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले ‘घण्टी’ बजाएर महाधिवेशनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।