Category: स्थानीय

  • काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

    काठमाडौँ, वैशाख १५ गते । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाटसम्बन्धी घटनाको अनुसन्धानका आधारमा निजहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ परेकासँग १२ दशमलव ९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायत सामग्री बरामद गरेको छ ।

    काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

    डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

    १५ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो’, उनले भने, ‘अब खेतमै डिप बोरिङ जडान भएपछि सिँचाइ गर्न कुनै समस्या छैन ।’ उनका अनुसार पानीको सहज उपलब्धताले उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

    किसानहरूको लामो समयदेखिको सिँचाइ समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको पहलमा रु २५ लाखभन्दा बढीको लगानीमा डिप ट्युबवेल जडान गरिएको हो । उक्त योजना प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो ।

    वडाध्यक्ष लालबहादुर ऐरका अनुसार डिप ट्युबवेल सञ्चालनमा आएपछि प्रगतिटोलका ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । ‘सिँचाइको समस्या ल्याएर किसानहरू पटक–पटक धाउदै आएका थिए’, उनले भने, ‘त्यही माग मन्त्रीसमक्ष राख्दा उहाँले कोषमार्फत बजेट विनियोजन गरी योजना कार्यान्वयनमा ल्याउनुभयो ।’

    उनका अनुसार अब सिँचाइ अभावका कारण बाँझोजस्तै रहेका खेतहरूमा अन्नबाली, तरकारी तथा अन्य नगदे खेती विस्तार गर्न सकिने भएको छ । यसले स्थानीय किसानहरूको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    स्थानीय किसान हरिकृष्ण चौधरीले डिप बोरिङ जडानसँगै व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए । ‘पहिले पानीको अभावका कारण थोरै जमिनमा मात्रै तरकारी र वसन्ते मकैखेती गर्थ्यौं’, उनले भने, ‘विद्युतीय मोटर प्रयोग गरेर पानी तान्दा पनि पर्याप्त सिँचाइ गर्न घण्टौँ लाग्थ्यो, तर अहिले त्यो समस्या हटेको छ ।’ उनका अनुसार अब व्यावसायिक तरकारीखेती गरी राम्रो आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

    डिप ट्युबवेलको क्षमता करिब ६० बिघा जमिनमा सिँचाइ पुर्‍याउने रहेको बताइएको छ । यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने स्थानीयको विश्वास छ । केही पूर्वाधार अझै अधुरै रहेको किसानहरूले बताएका छन् । स्थानीय किसान यशोदा भट्टका अनुसार हाल बोरिङ गाड्ने काम मात्रै सम्पन्न भएको छ भने पानी वितरणका लागि आवश्यक पाइपलाइन विस्तार हुन बाँकी छ । ‘आउँदो बजेटमा पाइपलाइन विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न वडा कार्यालयमार्फत सम्बन्धित निकायसँग अनुरोध गरेका छौं’, उनले भने ।

    उनका अनुसार सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न सकिए मात्रै सबै किसानसम्म समान रूपमा पानी पुर्‍याउन सकिनेछ । अन्यथा केही क्षेत्र मात्र लाभान्वित हुने र बाँकी किसान अझै समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

  • भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

    भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक

    काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ । मन्त्रालय र यस अन्तर्गतका कार्यालयहरूले अबदेखि आफ्ना कुनै पनि औपचारिक कार्यक्रमहरू होटेल तथा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् । मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सोमबार सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो कडा निर्देशन दिएको हो ।

    नयाँ व्यवस्थाअनुसार अब कुनै पनि कार्यालयले सञ्चालन गर्ने बैठक, गोष्ठी, तालिम तथा सेमिनार लगायतका कार्यक्रमहरू अनिवार्य रूपमा आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाकक्ष र तालिम कक्षमा मात्रै आयोजना गर्नुपर्ने छ । सरकारी कोषको अनावश्यक खर्च नियन्त्रण गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने उद्देश्यले यो कदम चालिएको महाशाखाले जनाएको छ ।

    यो निर्देशनले मन्त्रालयको कार्यसम्पादनमा पारदर्शिता ल्याउनुका साथै फजुल खर्च रोक्न ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ । सरकारले पछिल्लो समय सुशासन र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने नीतिलाई प्राथमिकता दिएसँगै भूमि मन्त्रालयले यस्तो निर्णय लिएको हो ।

  • सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

    सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

    काठमाडौँ, वैशाख १४ गते । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ ।

    सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय स्रोतको सीमितता जस्ता चुनौतीबिच दस्तावेज सार्वजनिक भएको हो । स्थितिपत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ ।

    दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनःस्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ्ने उल्लेख गरिएको छ । यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । अर्को ठुलो सम्भावनाका रूपमा जलविद्युत् क्षेत्रलाई प्रस्तुत गरिएको छ । नेपालसँग विशाल जलस्रोत रहेकाले सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर वैदेशिक आम्दानी प्राप्त गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको भूमिका अझ बलियो बन्ने जनाइएको छ ।

    सरकारले प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार भएको औँल्याएको छ । हिमाल, संस्कृति, समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा आय र रोजगारी सिर्जना गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । पर्यटन पूर्वाधार, सेवा गुणस्तर, आवागमन सहजता र गन्तव्य व्यवस्थापन सुधार गर्न सके अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मकता बढ्ने स्थितिपत्रको निष्कर्ष छ ।

    त्यसैगरी यो दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकको प्रमुख अवसरका रूपमा राखिएको छ । न्यून पुँजीमा उच्च मूल्य सिर्जना गर्ने यस्ता क्षेत्रले नेपाली युवा शक्तिलाई विश्व बजारसँग जोड्न सक्ने सम्भावना औँल्याइएको छ ।

    स्थितिपत्रले कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन, आय र निर्यात बढाउन सकिने स्पष्ट पारेको छ । उच्च मूल्यका बाली, पशुपालन, बगैँचा विकास तथा कृषि प्रशोधन उद्योगमा लगानी बढाएर आयात प्रतिस्थापन सम्भव रहेको उल्लेख गरिएको छ । त्यस्तै औद्योगिक विकास, आपूर्ति शृङ्खला सुदृढीकरण, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्लस्टर तथा व्यापार सहजीकरणलाई निर्यातमुखी अर्थतन्त्र निर्माणका प्रमुख साधन भनिएको छ । भौगोलिक अवस्थाको लाभ उठाउँदै नेपाललाई क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ बनाउने सम्भावना पनि स्थितिपत्रले औँल्याएको छ ।

    सरकारले यातायात, ऊर्जा, सिँचाइ र डिजिटल पूर्वाधारमा तीव्र लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलबाट ठुला आयोजना अघि बढाउने सम्भावना रहेको दस्तावेजमा उल्लेख छ । त्यसैगरी वार्षिक रूपमा ठुलो रकम भित्र्याउने विप्रेषण (रेमिट्यान्स) लाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सिप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा जोड दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सिपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको बताइएको छ ।

    वित्तीय क्षेत्रतर्फ वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ, दीर्घकालीन लगानी उपकरण विस्तार गरी बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने सिफारिस गरिएको छ । स्थितिपत्रमा मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जङ्गल र जडीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख छ । जैविक तथा पर्यावरणीय सन्तुलन कायम राख्दै स्रोत उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

    अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने स्थितिपत्रमा सार्वजनिक गरिएको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याउने राखिएको छ । यसका लागि पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने राष्ट्रिय गौरवका आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने, कृषि–उद्योग–पर्यटनबीच अन्तरसम्बन्ध बलियो बनाउने, गुणस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्ने तथा डिजिटल अर्थतन्त्र विस्तार गर्ने आधारहरू प्रस्तुत गरिएको छ ।

    कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा नदिनुको कारण कमजोर कार्यान्वयन क्षमता, सीमित वित्तीय स्रोत, प्राथमिकता निर्धारणमा कमजोरी तथा स्रोतको कुशल विनियोजन हुन नसक्नु रहेको पनि स्थितिपत्रमा उल्लेख छ । रासस

  • विपद्जन्य घटनाबाट एकैदिन दश जनाको मृत्यु

    विपद्जन्य घटनाबाट एकैदिन दश जनाको मृत्यु

    काठमाडौंँ, वैशाख १४ गते । विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिए ।


    यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए । प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपदबाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् । यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए । रासस

  • मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    १४ वैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको समाचार प्रसारण गरेको छ ।

    मालीका राष्ट्रपति असीमी गोइताको निवासलाई पनि लक्षित गरेर आक्रमण भएको बताइएको छ । उनलाई सुरक्षित स्थानमा लगिएको छ । माली यतिबेला हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ । राजधानी बमाको र अन्य कयौं सहरहरूमा चरमपन्थी समूहहरुले शनिबार बिहानैदेखि आक्रमण गर्दै आएका छन् । सैन्य शासन रहेको मालीमा सैनिक ब्यारेक, रक्षामन्त्रीको घर र अन्य क्षेत्रमा आक्रमण भएको भएको थियो ।

    चरमपन्थी संगठन आजावाद लिबरेसन फ्रन्ट (एफ.एल.ए.ले रूसी भाडाका सिपाही पछि हटेपछि सहर अब आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।
    पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको थियो । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको थियो ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका थिए । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस प्रकारको आक्रमणबाट आश्चर्यचकित भएको बताएका छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनस्स्थापना गर्ने वाचा गरे पनि देश अझै संघर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ ।

  • वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

    वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

    रासस
    १४ वैशाख, राँझा (बाँके) । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
    प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चारवटा चित्तल फसेका थिए ।

    स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागबन्गडा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।

    डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।

    ‘सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ’, वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, ‘नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँपटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।’ वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् ।

    सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका-२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    १४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।

  • राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    १४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ जाँदैछन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ शिलान्यासमा राष्ट्रपति पौडेल सहभागी हुँदैछन् ।

    भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलकै परिकल्पना र पहलमा आयोजनाले मूर्त रूप लिन लागेको हो ।

    राष्ट्रिय गौरवको आयोजना यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको यो बहुप्रतीक्षित आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए ।


    गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशः यहाँ सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ । सांस्कृतिक तीर्थस्थलको रूपमा विकास भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान केवल एक भौतिक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा सांस्कृतिक तीर्थस्थल हुने बताइन् । “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ । उपप्रमुख गोतामेले भनिन् ।


    नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्न र भावी पुस्ताका लागि अनुसन्धानको केन्द्र बनाउन यो उद्यान कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय भइसकेको नगरपालिकाले जनाएको छ । राष्ट्रपतिको आगमनलाई लिएर यतिबेला तनहुँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने स्थानीयबासीहरूमा उत्साह छाएको छ ।

  • चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

    गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

  • लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका९(४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेँक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका उनले जानकारी दिए । योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठ जनाको हाइ अल्टिच्युडका कारण लेँक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेँक लागेर मृत्यु भएको हो । रासस

  • सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    काठमाडौँ, वैशाख १३ गते । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको हो ।

    उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

  • मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो ।

    मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ । स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयका अनुसार नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्‍याउने व्यवस्था मिलाइएको छ । त्यहाँ सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पुर्‍याइने छ ।

    मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    काठमाडौँ, वैशाख १३ गते । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।
    आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।

  • थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा : वास्तविक सुकुम्बासीलाई नागार्जुन पठाइने

    काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार स्थानीय बासिन्दाको सहयोग र समन्वयका कारण थापाथलीमा सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको हो ।

    काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । ती क्षेत्रमा बसोबास गरिरहेका नागरिकले सरकारको कदमलाई समर्थन गर्दै बस्ती छाड्न सहयोग पुर्‍याएको सल्लाहकार शाहले जानकारी दिए ।

    शनिबार थापाथलीबाट विस्थापित भएका ६८ परिवार सरकारी सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानका बासिन्दा पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई तत्कालका लागि दशरथ रङ्गशाला पुर्‍याई विवरण सङ्कलन गरिएको छ । उनीहरूलाई उचित व्यवस्थापन नहुन्जेल काठमाडौँका विभिन्न होटलमा राख्ने तयारी सरकारले गरेको छ ।

    होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा आइतबारदेखि नै पहिचान तथा छानबिन प्रक्रिया सुरु गरिने सल्लाहकार शाहले बताउनुभयो । छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि थप कार्य अघि बढाइने सरकारको योजना रहेको छ ।

  • थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    थापाथलीका विस्थापित सरकारी सम्पर्कमा : रङ्गशालामा डेस्क स्थापना गरी तथ्याङ्क सङ्कलन

    १२ वैशाख, काठमाडौं । काठमाडौँ, वैशाख १२ गते । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्याङ्कअनुसार शनिबार दिउँसो २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् ।

    यसै गरी प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएका छन् । होल्डिङ सेन्टरमा आएका सुकुम्बासीका लागिसमेत प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । सरकारले विवरण सङ्कलन र उनीहरूको ‘स्क्रिनिङ’ का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ ।

    विभिन्न स्थानका सुकुम्बासीका लागि फरक(फरक डेस्क स्थापना गरी विवरण सङ्कलन भइरहेको छ । सरकारी टोलीका अनुसार रङ्गशालामा विवरण सङ्कलन कार्य सम्पन्न भएपछि ती परिवारलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

    उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समययता सरकारले सुकुम्बासी बस्ती हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

  • गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    गैरीगाउँको सुकुमबासी बस्तीमा समेत आजै चल्यो डोजर

    १२ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका–९, गैरीगाउँको सुकुमवासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशन अनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए । उनले भने, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”

    अभियानका क्रममा सुरक्षाकर्मीलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ। रासस

  • थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    थापाथली सुकुमबासी बस्ती खाली गराइयो

    १२ वैशाख, काठमाडौं । नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी काठमाडौँ महानगरपालिकाले थापाथली क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ ।

    महानगरपालिकाका अनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने अभियान दुई चरणमा सञ्चालन हुने छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामङ्गल र गैरीगाउँका सुकुमवासी बस्ती हटाइने छ भने दोस्रो चरणमा अन्य क्षेत्रका बाँकी बस्ती हटाउने योजना रहेको महानगरले जनाएको छ ।

    बस्तीबाट हटाइएका नागरिकको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’ मा लगिने छ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् वर्गीकरण (सेग्रिगेसन) गरिने छ । विस्थापितलाई राख्न सरकारले नागार्जुन नगरपालिका (साविक इचङ्गुनारायण गाविस)मा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०६९ मा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपियाँ लगानी गरेको थियो ।

    नागार्जुनका दुई स्थानमा निर्मित भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक (एकाइ) उपलब्ध छन् । वि.सं. २०६९ मा निर्माण सम्पन्न भए तापनि स्थानीयको अवरोधका कारण अहिलेसम्म ती भवन प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनको उपयोग गरी वास्तविक सुकुमवासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

  • स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    १२ वैशाख, काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–२, श्रीडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङको झड्काले घाइते भएका स्थानीय २० वर्षीय मिलन विकको पुतलीबजारस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    विक आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । त्यसैगरी, हरिनास गाउँपालिका–४, सारुथरमा चट्याङ पर्दा ५८ वर्षीय खिमबहादुर थापा घाइते भएका छन् । चट्याङको झड्काले घाइते भएका थापाको सेतीगंगा अस्पताल, तनहुँमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै, सोही चट्याङका कारण सारुथरका ५० वर्षीय तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

  • सुनिताको आह्वासन : सुकुम्बासी बस्ती हटाउँदा मानवीयताको ख्याल गरिन्छ

    सुनिताको आह्वासन : सुकुम्बासी बस्ती हटाउँदा मानवीयताको ख्याल गरिन्छ

    १२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नदी किनार र सार्वजनिक जग्गामा रहेका अनधिकृत संरचना हटाउँदा मानव अधिकार र मानवीय संवेदनाको पूर्ण ख्याल गरिने स्पष्ट पारेकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले अभियानका क्रममा जेष्ठ नागरिक, बिरामी, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने प्रतिबद्धता जनाएकी हुन्।

    गत वैशाख ११ गते काठमाडौं महानगरपालिकाका नगर कार्यपालिका सदस्यहरूबीच भएको छलफल र त्यसको मार्गनिर्देशनका आधारमा कार्यवाहक मेयर डंगोलले यो धारणा सार्वजनिक गरेकी हुन् । पछिल्लो समय नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरभित्रका नदी किनार तथा अन्य सार्वजनिक, पर्ति, ऐलानी र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेका छन्। उक्त कार्यमा महानगरलाई सहयोगको अनुरोध आएबमोजिम महानगरले सहयोगी भूमिका निर्वाह गर्न लागेको उनले जानकारी दिएकी छन्।

    ‘अनधिकृत संरचना हटाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसहरूको विशेष ख्याल राखिनेछ,’ डंगोलले भनेकी छन्, ‘सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गर्ने र कानुन र न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहनेछ।’

    सुकुम्वासी बस्ती र अनधिकृत संरचना हटाउने क्रममा त्रास सिर्जना हुने र झडपका घटनाहरू हुने गरेका छन्। यसै सन्दर्भमा कार्यवाहक मेयर डंगोलले कानुन र न्यायको प्रतिकूल नहुने गरी सुरक्षित र सम्मानजनक व्यवस्थापनमा जोड दिएकी हुन्। उनले सार्वजनिक र निजी जग्गा संरक्षणको यस कार्यलाई सफल र विवादरहित बनाउन आवश्यक सहयोग तथा समन्वयका लागि सरोकारवाला सम्पूर्ण निकाय, पदाधिकारी र सर्वसाधारणलाई हार्दिक अपिल समेत गरेकी छन् ।

  • काठमाडौंका सुकुमबासी बस्तीमा चल्यो डोजर, अवस्था शान्तीपूर्ण

    काठमाडौंका सुकुमबासी बस्तीमा चल्यो डोजर, अवस्था शान्तीपूर्ण

    १२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर चलाइएको हो । बस्ती हटाउन बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

    तर, अवस्था शान्त छ । बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।

    घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका छन् । सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो।

  • नेपाली सेनाको चेतावनी : उच्छृङ्खल तथा अराजक गतिविधिको निगरानी भइरहेको छ

    नेपाली सेनाको चेतावनी : उच्छृङ्खल तथा अराजक गतिविधिको निगरानी भइरहेको छ

    ११ चैत, काठमाडौं । नेपाली सेनाले सेनाले संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस नोट जारी गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रशारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गरेको भन्दै यसो नगर्न सचेत पनि गराएको छ ।

    ‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरासमेत स्मरण गरिन्छ,’ सेनाको चेतावनी छ । सेनाले आधारहीन र द्वेषपूर्ण समाचार तथा टिकाटिप्पणीहरूलाई विश्वास नगर्न पनि भनेको छ ।

  • त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

    त्रसित सुकुमवासीलाई आश्वासन दिँदै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे स्पष्टीकरण

    ११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् । उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।

    यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’ काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित रहेको पनि उनले उल्लेख गरेका छन् । हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य बिर्सिएको हो ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।

    ‘यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भनेका छन् । दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्न उपयुक्त ठानेर सरकारले काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ थियो ।

  • तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

    तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु

    ११ वैशाख, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ । पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । बसमा ३२ जना सवार थिए ।

    दुर्घटनामा घाइतेको उपचारकै क्रममा २ जनाको ज्यान गएको र उनीहरुको थप परिचय संकलनकै क्रममा रहेको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए । घाइते २७ जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, शवबहान, ट्याक्सी, माइक्रो लगायतमा गरेर थप उपचारका लागि मणिपाल पु¥याइएको थियो । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

  • नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

    नयाँ नियमावलीमा गरियो सांसदको विशेषाधिकार प्रस्ताव

    नारायण न्यौपाने–अशोक घिमिरे\रासस
    ११ वैशाख २०८३ । प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारका रूपमा अघि बढाउन प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाले गठन गरेको नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावमा सभा, समिति र सदस्यको हकमा नियमावली सङ्घीय कानुनका रूपमा विशेष कानुनसरह लागू हुने उल्लेख छ ।
    नियमावली मस्यौदामा प्रस्तावना, परिभाषा, अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, संविधान संशोधन विधेयक, महाअभियोग प्रस्ताव, प्रत्यायोजित विधायनलगागत विषयमा सुधार र थप स्पष्ट पार्ने प्रयास भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    संसद् र समितिमा हुने छलफल र बहसमा सांसदबाट बेलाबखत प्रयोग हुने शब्दका विषयमा उठ्दै आएका प्रश्नलाई नियमावलीमार्फत नै सम्बोधन गर्ने प्रसास गरिएको छ । मस्यौदामा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई ‘असंसदीय शब्द’ भनी किटान गरिएको छ । मस्यौदामा ‘प्रत्यायोजित विधायन’ स्पष्ट गर्दै नियमावली, आदेश, गठन आदेश, विनियमावली, निर्देशिका, कार्यविधि वा मापदण्डलाई समेटिएको छ ।

    बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा रहेको दलीय प्रतिनिधित्वको आधारमा पदेन सदस्यबाहेक बढीमा पन्ध्र सदस्य रहेको कार्यव्यवस्था परामर्श समिति गठन गर्ने व्यवस्था गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहेको थियो ।

    नियमावलीको नियम १५ मा संसद्को आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसअघि जवाफका लागि समय किटान गरिएको थिएन । सांसदले बैठक कक्षमा रहँदा फोन ‘साइलेन्स’ अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने नियमावली मस्यौदामा प्रस्ताव गरिएको छ ।

    संविधान संशोधन विधेयकको कार्यविधिबारे पनि नियमावलीमा स्पष्ट पारिएको छ । संविधानको धारा २७४ को उपधारा (४) र अनुसूची–६ मा उल्लिखित विषयका हकमा सोही उपधारा र अनुसूचीमा लेखिएको अवधिभित्र सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्ने प्रस्ताव गरिएको छ । संविधानको उक्त धारामा ‘कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक सङ्घीय संसद्मा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्नेछ’ भन्ने उल्लेख छ ।

    प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुईतिहाइ पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था मस्यौदामा गरिएको छ । यसअघि प्रतिनिसभा नियमावली, २०७९ मा सो व्यवस्था ‘कानुनबमोजिम हुने’ भन्ने मात्रै उल्लेख थियो ।

    नियम १५७ मा राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध पेस गरिने महाअभियोगको प्रस्तावमा प्रस्ताव पेस गर्नुपरेको आधार र कारण खुलाई सोको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने व्यवस्था गरिएको छ । नियम १६२ मा द्रुत प्रक्रियाबाट समेत टुङ्गो लाग्न नसकेको महाभियोगको प्रस्ताव निर्वाचनपश्चात् गठन हुने प्रतिनिधिसभाको लागि अभिलेखको रूपमा रहने र यसबारे निर्वाचनपश्चात् सभा गठन भएको पाँच महिनाभित्र त्यस्तो अभिलेख ग्रहण गरी अर्को पाँच महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    कार्यपालिका र व्यवस्थापिकाबीचमा शक्ति सन्तुलन कायम गर्ने सन्दर्भमा विषयगत समितिले दिएका निर्देशन, राय, सल्लाह र सुझाव सम्बन्धित निकायले ३० दिनभित्र कार्यान्वयन गरेको प्रगति विवरण प्राप्त पाउने विषय नियमावलीमा राखिएको छ । समितिले दिएका त्यस्ता निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा ३० दिनभित्र पुनरावलोकन गरिनेछ । सभापतिलाई जानकारी नदिई लगातार पाँचवटा बैठकमा अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्नेछ व्यवस्था गरिएको छ ।

    नियमावलीमा प्रतिनिधिसभा गठन हुने विशेषाधिकार समितिको आकार घटाइ १५ सदस्यमा सीमित गरिएको छ । यसअघि सो समिति २१ सदस्यीय रहने व्यवस्था थियो । विशेषाधिकार समितिले आवश्यक ठहर्याएमा अभियोग लागेको व्यक्तिलाई बढीमा तीन महिनासम्म थुनामा राखी कारबाही गर्न सक्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । यसअघि तीन महिनाको समय किटान गरिएको थिएन ।

    प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यही वैशाख ८ गते आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्यालसमक्ष बुझाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न छ राजनीतिक दलका तर्फबाट १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन भएको थियो । नियमावलीको मस्यौदालाई यही वैशाख १७ गतेदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा पेस हुने संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।


    समितिले नियमित रूपमा १४ वटा बैठक बसी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिमा सांसदहरू ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेसवर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए ।

  • आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम सहित मनाइदैं

    ११ वैशाख, काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

    सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२\६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

    २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

    विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदैरहटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

    २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

    आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

    विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

    यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

    संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

    यद्यपि जनताका अपेक्षा पूरा नहुँदा जनतामा निराशा कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला बेला असन्तुष्टि सुनिने गरेको छ । जनतामा देखिएका असन्तुसष्टिलाई बेलैमा सम्बोधन गरेर लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकिएको सन्दर्भमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।

  • प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

    प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

    काठमाडौँ, वैशाख १० गते । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ । यो निर्णयसँगै सो जग्गा अब प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै २०७५ भदौ १ गतेको निर्णय उल्टाउने निर्णय भएको जानकारी दिएका छन् ।

    बैठकपछि पत्रकार सम्मेलनमा बैठकका निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले भने, ‘२०७५ भदौ १ को निर्णय अनुसार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पूरै ११४ रोपनी तीन आना राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने विषयमा भएको निर्णयको ठाउँमा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने ।’

    त्यसैगरी सरकारले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।

    सँगै बैठकले इन्टिग्रेटेड वाटर सप्लाई एन्ड सिउरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसियाली विकास विकास बैँकबाट प्राप्त हुने अमेरिकी डलर ११५ लियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता र सम्बन्धित दस्तावेजलाई अन्तिम रूपमा दिने विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको छ । प्रवक्ता पोखरेलका अनुसार अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको हो ।

  • वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौँ, वैशाख ९ गते । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले आज उपत्यकाका विभिन्न स्थानमा गरेको विशेष चेकजाँच अभियानका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

    ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी रहेका छन् । नियमित रूपमा सञ्चालनमा रहेका यस्ता सवारीले तोकिएको प्रदूषण मापदण्ड उल्लङ्घन गर्दै अत्यधिक धुवाँ फाल्ने गरेको पाइएपछि कारबाही स्वरूप नियन्त्रणमा लिएर अहिले ती सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
    उनले भने, “मापदण्डभन्दा बढी धुवाँ फालेर वातावरण प्रदूषण गर्ने सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ । नियमअनुसार जरिवाना तथा प्राविधिक सुधारपछि मात्रै त्यस्ता सवारी साधनलाई छाडिनेछ ।” उनले पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएकाले ट्राफिक प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिए ।
    सवारीसाधनको नियमित मर्मतसम्भार नगर्ने, इन्जिनमा समस्या भए पनि बेवास्ता गर्ने तथा प्रदूषण परीक्षण नगरी सडकमा गुड्ने प्रवृत्तिका कारण यस्तो समस्या बढिरहेको उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी चालक तथा धनीहरूलाई समयमै सवारी साधनको प्रदूषण परीक्षण गराउन, इन्जिनको नियमित मर्मत गर्न र वातावरणमैत्री अभ्यास अपनाउन आग्रह गरेको छ ।

    साथै, आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाइने र मापदण्ड उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
    वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले सरोकारवाला निकाय, सवारी धनी तथा सर्वसाधारण सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता देखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाले पनि वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै प्रदूषण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । रासस

  • गृहमन्त्री गुरुङले दिए राजीनामा

    गृहमन्त्री गुरुङले दिए राजीनामा

    ९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । सम्पत्ति विवरण सार्वजनिक र दिपक भट्टको लगानी रहेको कम्पनीमा शेयर कारोबारको खुलासा पछि गुरुङमाथि प्रश्न उठिरहेको थियोे । भट्ट अहिले प्रहरी हिरासतमा छन् ।

    यस्तो छ गुरुङको स्टाटस

    म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
    मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
    त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
    मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
    For my country and For the respect of our security forces and For the youths of Nepal.

  • तराई र उपत्यकामा तातो दिन

    तराई र उपत्यकामा तातो दिन

    काठमाडौँ, वैशाख ९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

    महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

    कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस