Category: स्थानीय

  • प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

    काठमाडौँ, ३० चैत । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२–८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।

    सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सारेका थिए । छलफलमा धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन तथा चेपाङ र तामाङ समुदायका लागि विशेष शिक्षा ‘प्याकेज’ ल्याउन माग गरिन् । उनले सीतापाइला–धार्के वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण, मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण तथा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न आग्रह गरे । काभ्रेपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले सुनकोशी–३ जलाशययुक्त आयोजना अगाडि बढाउन, धुलिखेललाई बागमती प्रदेशको राजधानीका रूपमा विकास गर्न तथा अरनिको राजमार्गलाई चार लेनमा विस्तार गर्न र पाँचखालमा क्षेत्रीयस्तरको विशिष्टकृत अस्पताल स्थापनाका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।


    चितवन–१ का सांसद हरि ढकालले राप्ति नदी किनारमा साइकल लेनसहितको सफारी मार्ग, सिँचाइ विस्तारका लागि ‘हाई ड्याम’ निर्माण तथा सौराहामा अनलाइन टिकट प्रणाली लागू गर्न सुझाव दिए । काठमाडौँ–४ का सांसद पुकार बमले पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन, पारदर्शिता अभिवृद्धिका लागि ‘नेसनल बजेट ड्यासबोर्ड’ निर्माण तथा एकीकृत पूर्वाधार विकास ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले चाबहिलमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।


    रामेछापका सांसद डा कृष्णहरि बुढाथोकीले जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न, रोजगारी सृजना, ठोसे शिवालय जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न तथा अलपत्र सडक आयोजना समयमै सम्पन्न गर्न सरकारसँग आग्रह गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई बजेट र प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै बागमती प्रदेशको समग्र विकासलाई तीव्रता दिने निष्कर्षसहित बैठक सम्पन्न भएको छ ।

  • भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

    भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

    काठमाडौँ, ३० चैत । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो ।

    बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दासमेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिए । परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।

  • मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

    म्याग्दी, ३० चैतः बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए ।
    “सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई समान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप, चिनी रोग परीक्षण गराउन असहज भएको पछि पाँच वर्षअघि स्वास्थ्य केन्द्र सञ्चालनको माग गरेका थियौँ,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने अथवा निजी क्लिनिकमा धाउनुपर्ने समस्या हटेको छ ।”

    बेनी –७ मा यसअघि स्वास्थ्य संस्था थिएन । केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ । स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ । सेवा लिनेको सङ्ख्या मासिक २०० जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताए ।


    भाडाको घरमा केन्द्र सञ्चालन भएको छ । बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताए ।
    वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उनले बताए ।

    केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटवासीले माग गरेका छन् । नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो ।

  • कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

    कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

    रासस
    टीकापुर, ३० चैतः कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए । “विसं २०७९ पुस महिनामा सम्झौता भएर सर्वेक्षणपछि २०८० मा निर्माण काम सुरु गरेका हौँ, असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको छ”, उनले भने, “सम्झौता मितिभन्दा अगावै नै काम सक्छौँ ।”

    चौध पिलरको पुलका सबै पिलर बनिसकेका छन् भने अहिले १२औँ स्पानमा काम भइरहेको छ । अबको १५ दिनभित्र त्यो पनि सकेर १३औँ स्पानको काम सुरु हुनेगरी काम भइरहेको उनको भनाइ छ । स्पानसँगै कैलालीतर्फको भागमा तटबन्धको काम पनि सँगसँगै भइरहेको छ । पुलको काम अन्तिम चरणमा पुग्नै लाग्दा अहिले नदी वारपार गर्ने मानिसहरु आधा पुल र आधा नदीको बाटो प्रयोग गरेर नदी वारपार गरिरहेका छन् ।

    नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेको जसरी डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने अवस्था नागरिकको अहिले नै टरेको छ । आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गरिरहेका कैलालीको टीकापुरका भरत विकले बताए । “रकम तिरेर डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता थियो, अब टरेको छ,” उनले भने, “यो पुल निर्माण सकिएमा कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुन्छ ।”

    अर्का नागरिक जनकबहादुर विष्टलाई पनि पुल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा आफ्नै सवारीसाधन चलाएर नदी पार गर्न पाउँदा निकै खुसी लागेको छ । “हामी कैलालीका नागरिक अधिकांशको खेतीपाती बर्दियामा छ, नियमित जसो आउजाउ गर्नुपर्ने वाध्यता छ”, उनी भन्छन्, “विगतमा पुल नहुँदा निकै कठिनाइ झेलेका छौँ, अब ढुक्कले वारिपारि गर्न पाइने भयो ।”

    कैलालीका नागरिकको खेतीपाती बर्दियामा छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर जाने गर्दछन् । पुलले दुवै जिल्ला मात्र नभई सुदूर र लुम्बीनी प्रदेशलाई नै जोड्ने भएकाले सहज भएको स्थानीय झपट कडायत बताउँछन् । “डुङ्गाको यात्रा गर्न डर लाग्ने भएकाले सत्ती पुल हुँदै आउजाउ गर्ने गर्थे,” उनले भने, “अब बर्दिया आउजाउ गर्दा २० किलोमिटर दूरी कम हुनेछ ।”

    बर्दियाको गेरुवा गाउँपालिका–१ सर्खोलका करण चौधरीलाई पनि अहिले कैलाली र बर्दिया आउजाउ गर्न सहज भएको छ । पहिले एकतर्फी डेढ दुई घण्टा समय लाग्ने गरेको र अहिले एक घण्टामै दुईतर्फीको यात्रा सकिने गरेको छ । “पुल पूर्ण नहुँदै यसरी सहज रुपमा नदी वारपार गर्न पाएकामा धेरै सुविधा भएको छ”, उनी भन्छन्, “आउँदो बर्खा अगाडि नै पुल निर्माण सम्पन्न होस् र सहज रुपमा ठूला सवारीसाधन पनि चल्ने वातावरण बनोस् ।”

    रु एक अर्ब १८ करोड लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर रहेको छ भने पुलको चौडाइ ११ मिटर जसमा ७ दशमलव ५ मिटर गाडी हिँड्ने र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहेको छ । निर्माण कम्पनीले सरकारसँग २०८३ असोज १७ गतेभित्र पुल निर्माण काम सक्नेगरी २०७९ पुस १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार पुल निर्माणसँगै पुलको दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र दुवैतर्फ एक हजार १५ मिटर नदी नियन्त्रणको काम पनि गरिरहेको छ ।

    यसअघि यी दुई जिल्लाका मानिसले चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुल विकल्पका रुपमा प्रयोग गर्दै आएका थिए । यो पुल निर्माण भएसँगै अब कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन् ।

  • ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    ‘धो’बाट चार जना कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार

    काँक्रेविहार (सुर्खेत), २९ चैतः नेपाल श्रमशक्ति सर्वेक्षण गर्न उपल्लो डोल्पाको शेफोक्सुण्डो गाउँपालिका–२ जाँदै गर्दा लेक लागेर ‘धो’मा बिरामी भएका कमल डाँगीसहित चार जनाको आज उद्धार गरिएको छ । डोलेबुद्ध गाउँपालिकाको ‘धो’बाट बिरामी गणक कमल डाँगी, टोली प्रमुख किरण मल्ल, गणक लक्ष्मीकुमारी ज्ञवाली, गणक विराट डिसीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको तथ्याङ्क समन्वय कार्यालय, सुर्खेतका प्रमुख विनोद आचार्यले जानकारी दिए ।

    उनले भने, “डाँगी लेक लागेर बिरामी हुनुभयो । हिमपातका कारण शेफोक्सुण्डो जान सक्ने अवस्था नहुँदा अन्यको पनि हेलिकोप्टरबाट उद्धार भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँबाट उपल्लो डोल्पाको धो हुँदै शेफोक्सुण्डो गाउँपालिका–२ मा खटिएका गणनास्थल जानु अगाडि बिरामी हुनुका साथै भारी हिमपातका कारण समस्या उत्पन्न भएपछि उद्धार छ ।” बिरामीलाई प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । बिरामी डाँगी जाजरकोट भेरी नगरपालिका–२ का हुन् ।

  • ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    काठमाडौँ, २९ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताए । “स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उनले भने, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”

    सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताए । उनले चाँडै नै सार्वजनिक बिदाको दिन आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्यविधि जारी गर्ने जानकारी दिए ।


    “नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व हो भन्ने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ”, सहप्रवक्ता डा अधिकारीले भने, “सबै सरोकार भएकाहरूको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरिरहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ ।”

    सहप्रवक्ता डा अधिकारीले कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत अनुरोध गरे । उनले स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए ।

  • प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    प्रधानमन्त्री शाह र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौँ, २९ चैत । प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण कानुन बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन् । मन्त्रीपरिषद्को निर्णय बमोजिम उहाँहरुको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहकी पत्नीका नाममा १९० तोला सुन रहेको देखिएको छ । प्रधानमन्त्रीले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको परिवारका नाममा महोत्तरीमा ९ विगा जग्गा रहेको देखिएको छ । काठमाडौंमा ५ आना जग्गा र धनुषामा समेत जग्गा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।


    गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । उनले ६ किलो चाँदी रहेको उल्लेख गरेका छन् । उनको धनकुटामा १९ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा देखिन्छ । उनीसँग साढे ४ करोडको सेयर समेत रहेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका करोडौ मूल्यका चार वटा अपार्टमेन्ट रहेको देखिन्छ । उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

    सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।

    जस अनुसार, उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

    बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् । आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।

    उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ । बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।

  • सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    काठमाडौँ, २९ चैतः सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदैछ । तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ । कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुङ्गो लागोस् भन्ने अभियानको उद्देश्य छ । अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । मार्गदर्शनअनुसार अब तीन दिन, सात दिन वा १५ दिनभन्दा बढी समयदेखि रोकिएका फाइलमा स्वतः समीक्षा प्रक्रिया लागू गर्नुपर्नेछ । निर्णय गर्न सकिने विषयलाई अनावश्यक रूपमा माथिल्लो तहमा नपठाइ सम्बन्धित तहबाट टुङ्ग्याउने पद्धतिको विकास गर्नुपर्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।

  • झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    झापामा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

    सुरुङ्गा (झापा), २९ चैतः झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा प्र१–०१–०१२प७६३५ नम्बरको मोटरसाइकल चालक इलाम नगरपालिका–६ का २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अन्य घाइतेमध्ये प्र १–०२–०४१ प ८९८७ का चालक धरान उपमहानगरपालिका–१५ का २७ वर्षीय मनिकुमार देवकोटा, सोही मोटरसाइकलमा सवार २७ वर्षीय अनिल बस्नेत र अर्को मोटरसाइकल चालक झापा शिवसताक्षी–५ का २९ वर्षीय नन्दबहादुर मगर तथा पछाडि सवार २९ वर्षीय कमल मगर रहेका छन् । घाइते सबैको स्पाइनस अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

  • दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

    काठमाडौँ, २९ चैतः काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।


    यसैबीच काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

  • कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि सुरु

    कर्णाली, २९ चैतः ‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रूपमा उत्सव सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिए ।


    उनले भने, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सीमान्त मान्ठ, सङ्घर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरूको कथा, जेनजेड पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा ऊर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।” पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईँले कर्णालीको भूगोल, संस्कृति र सम्भावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रूपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताए । उनका अनुसार उत्सवको सातौँ संस्करणबाट समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुनेछ ।

    आयोजक समिति सचिवालय सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र हुने जानकारी दिए । त्यस्तै, कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने सङ्गीतकर्मी) र चिकित्सक डा अखण्ड उपाध्यायको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिने उनको भनाइ छ ।

    उत्सवमा नेपाली चलचित्र इतिहासका महानायक राजेश हमालसँग ‘नखिचिएका सिनेमा’का बारेमा कुराकानी गरिने भएको छ । ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौँ संस्करण चैत २८३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

  • अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

    इनरुवा (सुनसरी), २९ चैतः जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए ।

    नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए । पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।

    पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए ।

    इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिन स्थानीयले माग गरेका छन् । इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउन स्थानीयको माग छ ।

  • एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

    काठमाडौँ, २९ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ । आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्याङ्कले देखाएको छ । ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर आगलागीका तीन हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर एक सय पाँच जनाको ज्यान गएको छ । त्यस्तै पाँच सय ७१ जना घाइते भएका छन् भने चार हजार २६० परिवार प्रभावित भएका छन् ।
    सो अवधिमा डढेलोको घटना तीन सय २८ वटा भएका छन् । डढेलोमा परेर दुई जनाको निधन भएको छ भने तीन जना घाइते भएका छन् भने ५८ परिवार प्रभावित भएका छन् ।

    प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउने, ज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्नसमेत सबैमा अनुरोध गर्दै आएको छ । प्राधिकरणका अनुसार यही चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म देशभर कुल १९ विपद्का घटना हुँदा आगलागीका मात्रै १६ वटा रहेका छन् । सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले पनि सक्रियताका साथ सावधानी अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले पनि डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको छ ।

  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौँ,२९ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

  • नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

    नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

    त्रिशूली (नुवाकोट), २८ चैत । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुए । सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

  • प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

    प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, २८ चैतः प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त गरेको छ । अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुवीकुमारी ठाकुर तथा राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारीलाई निर्वाचित गरेको छ । दुवै सदनको अधिवेशनको अन्तिम बैठकमा संयुक्त र एकल समितिहरूमा सदस्यहरूको मनोनयन गरेको छ ।


    समितिहरूको मनोनयन भएकाले अब ती समितिहरूले आफ्नो सभापति चयन गरी संसदीय गतिविधि अघि बढाइने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । आउँदो वैशाख ४ गते प्रतिनिधिसभाका समितिहरूका सभापतिको निर्वाचन हुनेछ ।

    प्रतिनिधिसभाको नयाँ नियमावली मस्यौदा गर्न समिति गठन भएको छ । शुक्रबार मध्यरातदेखि अन्त्य भएका सङ्घीय संसद्का दुवै सदनका अधिवेशनबाट आगामी बजेट अधिवेशनमा प्रस्तुत हुने सरकारको आगामी नीति, कार्यक्रम, बजेट तथा विधेयक पेस गर्ने मार्ग प्रशस्त भएको छ । प्रथम अधिवेशनमा छ दिनमा छ पटक प्रतिनिधिसभाका बैठक भए । यी बैठकबाट जम्मा १० घण्टा ५० मिनेट संसदीय कार्य भएका थिए । राष्ट्रियसभाको बिसौँ अधिवेशनमा पाँच वटा बैठकमा पाँच घण्टा ४५ मिनेट व्यतीत भएको थियोे । अधिवेशनको अन्तिम दिन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे ।


    सिंहदरबारस्थित नवनिर्मित संसद्भवनमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भ्रए । यही चैत १३ गते उहाँको नेतृत्वमा गठित मन्त्रिपरिषद् तथा त्यसपछि विस्तार भएको मन्त्रिपरिषद्सम्बन्धी सूचनाबारे बैठकलाई जानकारी गराइएको थियो । पहिलो अधिवेशनमा प्रधानमन्त्री शाहले संसद्का बैठकलाई सम्बोधन गरेनन् । प्रतिनिधिसभाबाट निर्वाचन, मतदाता र नेपाल विशेष सेवाजस्ता विषयका तीन अध्यादेश स्वीकृत भए । संसद्को पहिलो अधिवेशनमा नयाँ कानुन तर्जुमा भएनन् ।

    संसद् सचिवालयमा दर्ता भई सदनमा पेस भएको ‘वैकल्पिक विकास वित्त विधेयक, २०८२’ सैद्धान्तिक छलफल भएपछि सम्बन्धित समितिमा पठाउन बाँकी छ । प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणापछि सभामा यसअघि विचाराधीन सबै विधेयक स्वतः निष्क्रिय भएकाले नयाँ सरकारले प्राथमिकतामा राखेका विधेयकलाई आवश्यक परिमार्जनसहित पुनः पेस गर्नुपर्ने छ ।

    “दुवै सदनमा अधिवेशन छोटो अवधिमा सौहाद्र्र वातावरणमा सकिएको छ । सदनले नेतृत्व पाएको छ । समितिमा सदस्यहरू मनोनयन भएको छ । समितिहरूमा विधेयकका दफाबार छलफलका लागि तत्काल बिजनेस छैन तर विषयगत मन्त्रालयका काम र कानुनको कार्यान्वयनमा अनुगमन, मूल्याङ्कन र आवश्यक निर्देशनका काम हुन सक्छन्”, प्रवक्ता गिरीले रासससँग भने, “यी काममा समितिका सभापतिहरूको चयनपछिका सम्बन्धित समितिका बैठकले आवश्यक निर्णय गर्नेछ ।”

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा दुबै सदनबाट सदस्यहरूको मनोनयन भइसकेकाले अब ती समितिका कामले पनि गति पाउनेछन् । कार्यकारिणीले सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्ति तथा पदाधिकारीको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक प्रक्रिया संसदीय सुनुवाइ भएकाले यो समितिको महत्व अधिक छ ।

    नेपालको संविधानको धारा, २९२ को उपधारा ९१० मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि सङ्घीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने छ भन्ने व्यवस्था गरिएको छ । हाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश, निर्वाचन आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक पदमा रिक्त रहेको छ ।

    प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उपभोक्ता तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् । राष्ट्रियसभामा विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्था समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समिति, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।

    अधिवेशनका क्रममा सदनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पछिल्ला वार्षिक प्रतिवेदनहरू पेस भएका थिए ।

  • एक हजार सात सय बढी कारबाहीमा

    एक हजार सात सय बढी कारबाहीमा

    काठमाडौँ, २८ चैतः बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका साधन असुरक्षित ढङ्गले सञ्चालन गर्ने ३८ सवारीसाधनका चालकलाई कारबाही गरिएको हो ।

    यसैगरी, अनावश्यक रुपमा हर्न बजाउने ४६ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने २० जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९३ जनालाई कारबाही गरिएको छ । ट्राफिक कारबाहीबाट रु ११ लाख ८४ हजार ५०० राजस्व राज्यकोषमा दाखिला भएको उक्त कार्यालयले जनाएको छ ।

  • लागुऔषधसहित पाँच जना पक्राउ

    लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौँ, २८ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पाँचैजना अभियुक्तलाई हिरासतमा लिइएर कारबाही थालिएको छ ।

  • पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

    पूर्वाधार पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल

    म्याग्दी, २८ चैतः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले सोवाङधुरी ओझेलमा परेको चिमखोलाका बासिन्दा तारा गर्बुजा पुनले बताए ।

    “चिमखोलादेखि सोवाङ धुरी जोड्ने दुई वर्षअघि पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण हुन नसक्दा पर्यटक भित्र्याउन समस्या भएको छ,” पोखरामा एक दशकदेखि पर्यटन ब्यवसाय गरिरहेका गर्बुजाले भने, “समुदाय तहबाट भएको प्रयासमा सरकारी निकायले साथ पाएमा सोवाङ धुरीलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने थियो ।” म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेददेखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो ।

    सूर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिने शुक्रबार सोवाङ पुगेर आउनुभएका चिमखोला समाज बेलायतका अध्यक्ष मोति तिलिजाले बताए । समाजको अगुवाइमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले २७ जनाको टोली सोवाङ धुरीको पदयात्रा गरी शुक्रबार चिमखोला फर्किएको छ । टोली बिहीबार चिमखोलाबाट सोवाङधुरीतर्फ गएको थियो । सोवाङ धुरीको प्रर्वद्धनका लागि ‘म्युजिक भिडियो’ पनि छायाङ्कन गरिएको छ । हिजोआज सोवाङ धुरी आसपासको क्षेत्र हिउँले सेताम्मे बनेको छ ।

    सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गल बसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोह कबनेको छ । घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिवुटी अवलोकन गर्न सकिन्छ । चिमखोलाको मण्डली युवा क्लवले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत–जसलाङ–सिजिखोला– सिजिखर्क– थामखर्क– खोलाखर्क– सिसर्का– तल्लोमेला– उपल्लोमेला– आलेखर्क– नेपाने हँुदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

    सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ । चिमखोलादेखि हिड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलाबासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेशीका फाँटमा झर्ने गर्दथे ।

    नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गरेका छन् । सोवाङ धुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो । गर्बुजाको अगुवाईमा यसअघि सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पीङ गर्ने ठाउँ नजिकै ५००÷५०० लिटर क्षमताको दुई वटा ड्रम राख्नुभएको थियो । वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन् ।

    हिउँ पग्लीएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ । वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो ।

    होटल र रेष्टुरेष्ट नभएकाले वन्दोबस्तीका सामान सहित जानुपर्छ ।
    टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

  • पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ । यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

    प्रतिनिधिसभाद्वारा विभिन्न समितिमा सदस्य मनोनयन

    काठमाडौँ, २७ चैतः प्रतिनिभिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गरेको मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम निकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भीष्मराज आङदेम्बे, मधु चौलागाईँ, रञ्जु दर्शना, राजीव खत्री, लेखजङ्ग कार्की र वर्षामान पुन मनोनीत भएका छन् ।


    यसैगरी संयुक्त समितिका रुपमा रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा प्रतिनिधिसभाबाटै १२ जना सदस्यलाई मनोनयन गरिएको छ । समितिमा अङ्कित ठाकुर, गणेश कार्की, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँडेल, प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, राजेश प्रसाईँ, राम लामा, रीमा विश्वकर्मा, सुशान्त वैदिक छन् ।


    बैठकले प्रतिनिधिसभाको अर्थ समितिमा २६, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उपभोक्ता तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिमा सदस्यहरू मनोनयन गरिएको छ ।

  • वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    वनमा आगो लगाएको कसुरमा नुवाकोट अदालतमा मुद्दा दायर

    त्रिशूली (नुवाकोट), २७ चैतः सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।

    उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो । तामाङलाई वन ऐन, २०७६ को दफा ४९ ९घ० अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र रु ६० हजार जरिवाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।

    अहिलेको सुक्खायामको समयमा वन क्षेत्रमा डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन अपिल गर्दै कोही कसैले पनि वन क्षेत्रमा आगो लगाउने कार्य नगर्न तथा नगराउन वन कार्यालयले अनुरोध गरेको छ ।

  • सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

    काठमाडौँ, २६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।

  • बसको ठक्करबाट युवतीको मृत्यु

    बसको ठक्करबाट युवतीको मृत्यु

    चितवन, २६ चैतः माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन् । भरतपुरबाट माडी–ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०२०४ नम्बरको बसले पैदलयात्री परियारलाई घर नजिकै ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार ठक्करबाट परियारको घटनास्थलमै ज्यान गएको हो । परियारलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    सिरहा नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

    गोलबजार (सिरहा), २६ चैत । यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । नगरप्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको र हड्डीसमेत भाँचिएको जनाइएको छ ।

    हाल उनलाई विराटनगरमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । सोही घटनामा प्रमुख यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै यादवको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न रहेका अर्का आरोपित नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।

  • कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

    कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते

    कञ्चनपुर, २६ चैत । यहाँको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का अन्दाजी ६० वर्षीय नन्दराम पार्की र सोही स्थानकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिपमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् । साउदको टाउको तथा शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी ३५ वर्षीया धनसरी बोहरा, १३ वर्षीया सरिता बोहरा, १५ वर्षीया भावना पार्की, १४ वर्षीया रेश्मा घटाल र भिमदत्त नगरपालिका तिल्केनीकी ५० वर्षीया गंगा बिष्ट घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहरूलाई कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

  • प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    काठमाडौँ, २६ चैतः तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताए । प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।” यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

    हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), २६ चैतः वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।


    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई सवारी साधान सडक ‘फसे’काले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ ।

    “हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, उनले भने, “मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।”

    दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

  • जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

    जुम्लामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

    जुम्ला, २५ चैतः जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका र दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।

  • सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    काठमाडौँ, २६ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।

    विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ ।

    पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । अहिले पनि धेरै जिल्लामा वर्षा जारी छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली भोलि पनि कायम रहने र ठाउँठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ ।

    बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यमवर्षा–हिमपातको सम्भावना रहेको जनाइएको छ ।