Category: स्थानीय

  • काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ, १४ चैत । काठमाडौँको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरी नगरपालिका–१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा आज राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

    पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

    काठमाडौँ, १४ चैतः नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठकले उनीहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । साथै बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।

  • पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

    पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

    काठमाडौँ, १४ चैतः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

    जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उहाँ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।

  • बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

    बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

    काभ्रेपलाञ्चोक, १४ चैतः शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ ।

    उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ ।

    यसैबीच शुक्रबार साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी (खहरेखोलामा पानीको बहाव उच्च रहको)ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए ।


    धाँजूका अनुसार शुक्रबार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भएको थियो । गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । यसैबीच वर्षाका कारण विपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ ।

    उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले जानकारी दिए ।

  • दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    त्रिवेणी (नवलपरासी), १४ चैतः नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो ।

    दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

  • स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

    स्वास्थ्यमन्त्रीमा मेहता नियुक्त

    काठमाडौँ, १३ चैतः स्वास्थ्य तथा जनसङ्ख्या एवम् खानेपानीमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा मेहता नियुक्त भएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा मेहताले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन् ।

    पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन् । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गरेकी छिन् । उनी विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रुपमा कार्यरत थिइन् ।

  • कोको बने बालेन सरकारमा मन्त्री ?

    कोको बने बालेन सरकारमा मन्त्री ?


    १३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

    को को बने मन्त्री ?

    प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

    मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

    विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् ।

    खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् ।

    विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

  • बालेन शाहले लिए सपथ

    बालेन शाहले लिए सपथ

    १३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सपथ ग्रहण गरेका छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री बालेनलाइ सपथ खुवाएका हुन । उनी सङ्गै एक दर्जन मन्त्रीले सपथ लिएका छन् ।

  • बालेन प्रधानमन्त्रीमा नियुक्त

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    १३ चैत, काठमाडौं । नेपालको प्रधानमन्त्रीमा बालेन शाह नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाइ संविधानको धारा ७६ को १ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । बालेन प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बनेका हुन । बालेनले आजै सपथ ग्रहण गर्नेछन् ।

  • दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    घोराही (दाङ), १३ चैतः घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

    काठमाडौं, १३ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।

    यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

    कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।

  • चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : आज विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    काठमाडौँ, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
    त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

    भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।


    “जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उनले भने । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुसुप्त दसैँ भनिन्छ । त्यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।

    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

    आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

  • पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    काडमाडाँैं, १२ चैतः आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन् । उनले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याए । “मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भने, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा आएकी हुँ, आमा र देश मेरा लागि उस्ता उस्तै हो ।”

    उनले आफूले लगाएको पहिरन आमाले सिलाइ दिएको बताइन् ।
    संसद् देशका जनताको प्रतिविम्ब झल्किने साझा फूलबारी जस्तै भएकाले पहिचान खुलाएर आउनु सान्दर्भिक लागेको सांसद चौधरीले बताइन् । उनले भनिन्, “मैले छोरीलाई परम्परागत लुगा लगाएर ल्याएकी छु । जुन आउने पुस्तालाई संस्कृति हस्तान्तरण गराउनु जरुरी छ ।”

    शिरमा लगाएको पुर्खौली गहना ‘मङ्गौरी’, घाटीमा लगाउनेमाला ‘टौक’लगायत चाँदीले बनेका गहना देखाउँदै सांसद चौधरीले यी सबै गरगहना पुस्तौनी रहेको बताइन् । सङ्घीयताको मर्म र भावना अनुरुप प्रतिनिधिसभामा समावेशिताको अर्थ बुझाउन सांसद चौधरीले जस्तै परम्परागत वेषभूषामा उपस्थिति भएकी थिइन् ।
    परम्परागत पहिरनमा सबैको ध्यान तान्नुभएका सांसदमध्ये सांसद सुधन गुरुङ एक थिए ।

    गोर्खाका गुरुङले टोपीको शिरमा खुकुरीको आकृति झल्काउँदै गुरुङ समुदायको पोसाकमा संसद्मा पुगे । सधैँ जस्तै, कोटपाइन्टमा देखिने गुरुङ परम्परागत भेषमा सपथ खाएका थिए । पहिरनसँगै मुहारमा उत्साह र जोश झल्किएको थियो । आमसञ्चारलाई प्रतिक्रिया दिने क्रममा उनले भने, “जनताको भावना मर्न दिने छैनौँ ।”

    नेपाली कम्युनिष्ट पार्टीबाट सांसद भएकी दाङका सांसद भीमकुमारी बुढामगरले समावेशीको सन्देश दिन पुर्खौली वेषभूषामा सपथ ग्रहण गर्न आएको बताइन् । मगर समुदाय सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय रहेको सुनाउँदै समाजमा समुदायको पहिचान स्थापित गर्न पहिरनले महत्वपूर्ण सन्देश झल्किने धारणा राखे । “सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन”, सांसद बुढामगरले भने, “यही लगाएर हुर्किए यही लगाएर संसद्मा आएँ ।”

    रास्वपाका सांसद महोत्तरीका प्रमोदकुमार महतोले श्रीराम लेखिएको गम्झा, शिरमा रातो रुमाल र कुर्था सुरुवाल लगाएका थिए । उनका अनुसार तराई क्षेत्रको आभाव गराउने आधार पहिरन भएको बताउँदै उनले संसद्मा तराईको अस्थित्व महसुस गराउन लगाएको बताए । “पहिरनले अपनत्व महसुस गराउछ भने राष्ट्रिय भाव बलियो बनाउछ”, सांसद महतोले भने, “म सांसद नहुँदा मौलिक पहिरन नै लगाउछु । आज संसद्मा उपस्थिति हुँदा नलगाउने कुरै भएन ।”

    संसद्मा उपस्थिति अरु सांसदहरुले समुदायको भाव झल्किने पहिरनमा उत्साहका साथ देखा परेका थिए । ट्रान्सजेण्डरको प्रतिनिधित्व गर्दै रास्वपाबाट सांसद भएकी भूमिका श्रेष्ठ आफ्नो नेवार समुदायको संस्कृति झल्किने हाकुपटासी सारीमा देखिइन् । उनले त्यसै अनुसारको नेवार गरगहना लगाएकी थिइन् । संसद्मा एउटा सांसदले समुदायदेखि राष्ट्रको अस्थित्व सम्बोधन गर्नुपर्ने हुँदा परम्परागत पहिरनमा सजिएको बताइन् । “समुदायको सम्मानसँगै, जनताको सेवा गर्नुपर्छ”, सांसद श्रेष्ठले भनिन् ।

  • निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    काठमाडौँ, १२ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे ।

    उनले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए । “निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गर्यौं”, मन्त्री अर्यालले भने, “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।”

    उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई सहिद घोषणा गरिएको, घाइतेको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिए ।


    समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा दुई दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको कार्यशैलीको प्रशंसा गरे । मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए । उनले १९१ दिने कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता प्राप्तिमा सहजताजस्ता जनपक्षीय कार्यसम्पादन गरेको मन्त्रालयले जनाएको छ।

  • प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

    प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

    रासस
    काठमाडौँ, १२ चैतः पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो ।

    गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सांसदहरुले आज पद तथा गोपनीयताको सपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसदहरु अलमलमा परेर सपथ हुने समय २ः०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए ।


    मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो । भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो ।

    जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ ।

    विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।


    सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए । उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।

    कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगेका थिए । सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरुलाई झन् अलमल भएको थियो । आफै गाडी चलाएर आएका नेता शाह सपथपछि अरुभन्दा चाँडै बाहिरिए । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो ।

    नयाँ वानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरुका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो । हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र सपथस्थलमा प्रवेश पाएका थिए । दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भईँ तलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो ।

    संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो । सपथपछि सांसदहरुलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । सपथमा आएका सदस्यहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि ल्याएका थिए ।

    रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए । सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञाशाको पात्र बनेका थिए । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरु आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए । अपाङ्गता भएका सांसदहरु ह्विलचेयरमा आएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।

  • त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

    त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

    काठमाडौँ, १२ चैतः आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए । सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिएका छन् ।


    त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिए ।

    अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जितले नेपाल भाषामा शपथ लिए । नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिए । त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिए ।

    माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिए । रेनुका काउचाले मगर खाम भाषामा शपथ लिइन् । प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिए ।
    अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शङ्कर यादव,सीताराम साहले मैथिली भाषामा शपथ लिए । कृपाराम रानाले राना थारू भाषामा शपथ लिए ।


    त्यसैगरी पूर्णप्रसाद लिम्बू,सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिए । प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाएकामा पछि बिस्तारै थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताए ।

  • रास्वपा संसदीय दलको नेतामा शाह चयन

    रास्वपा संसदीय दलको नेतामा शाह चयन

    काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

  • संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

    संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

    काठमाडौँ, १२ चैत । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो । यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो ।

    विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए । तर, २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसद्हरुमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो ।

    तीनवटै दल एउटै बेन्चमा बस्न लागेको भने यो पहिलोपटक हो । यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन् । एउटै विपक्षी बेन्चमा तीन दल रहनेछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । समारोहमा सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए । शपथका क्रममा तीन दलका सांसदहरु प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिए । राजनीतिक दलहरुको सिट सङ्ख्याका आधारमा सङ्घीय संसद् सचिवालयले दलहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ ।

  • ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

    ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

    काठमाडौँ, १२ चैतः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    काठमाडौँ, १२ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

  • सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु

    सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु

    त्रिशूली (नुवाकोट), ११ चैतः नुुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर माथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो ।

    सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा उद्धार गरिएको थियो ।
    पहिरोमा परेर स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि उद्धार गरेको हो । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

  • भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुर, ११ चैतः बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।

    स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

    विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ ९साविक वडा नं. ८ र ९० मा बाँदरको समस्या ठूलो छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ । “पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उनले भने । अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् ।


    खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गरे, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।”

    जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।

    स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ । मानवीय बस्ती घट्दै जादा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरुको भनाइ छ । बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ ।

  • काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम

    काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम

    काभ्रेपलाञ्चोक, ११ चैतः पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ । एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले जनाएको छ । यस्तै १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् प्रतिकार्यमूलक सचेतना गराइएको छ ।

    स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ । गणले स्थानीयस्तरमा ‘सुरक्षित समाज’ को उद्देश्यका साथ मनसुन लक्षित तालिमसमेत सञ्चालन गरेको छ । “तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सहभागिता गराउँदै आएका छौँ”, रेग्मीले भने ।
    गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।

    यस्तै बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने क्याम्पलाई जिम्मेवारी तोकिएको गणपछि रेग्मीले जानकारी दिए ।

  • कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुर (काठमाडौँ), ११ चैतः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी पुरेको छ ।


    “त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, रासससँग कुरा गर्दै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।

    प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । आज सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।

    उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन् । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भनिन् । उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।


    यसबारेमा रासससँग कुरा गर्दै पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पंक्षीमापर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा सङ्क्रमण देखिएको जानकारी पनि उनले बताए ।


    यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताए । “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उनले भने । सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उनको छ । साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे ।

  • शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक

    धरान (सुनसरी), ११ चैतः यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो । सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताए ।
    कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए । शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ । सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ । सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ । एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ । वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।

    करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०–८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए । पोखरीको बीचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ । यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन् ।

  • झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापा, १० चैतः यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।

    भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ । सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको उनले बताए । दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।

    प्रमुख भट्टराईले किसानले ल्याएका नमूनाका प्रारम्भिक ‘(यापिड टेस्ट’ गर्दा ‘रिपोर्ट पोजेटिभ’ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पिसिआर परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिए । झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्ड फ्लुको उच्च जोखिममा रहेको उनले बताए ।

  • सल्लाघारीमा यसरी गरियो दुर्घटनामा उद्धारको अभ्यास

    सल्लाघारीमा यसरी गरियो दुर्घटनामा उद्धारको अभ्यास

    रासस
    भक्तपुर, १० चैतः भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले । विपद् उद्धारमा सक्रिय संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले घाइतेको तत्काल उद्धार ग¥यो । जिल्लाका चार वटा एम्बुलेन्समा घाइतेलाई भक्तपुर जिल्ला अस्पताल पुर्याइयो । अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।

    यो दृश्य आज यहाँ आयोजना गरिएको आकस्मिक दुर्घटनाको कृत्रिम अभ्यासको हो । यहाँ भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको सहकार्यमा दुर्घटनाका बेला विपद्मा उद्धार र उपचारमा गरिने तयारीबारे कृत्रिम अभ्यास गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाइतेको उपचार, भीड नियन्त्रणदेखि उपचारसम्म गरिने तयारीबारे सडक विपद् आपतकालीन अभ्यास गरिएको बताए । यसले आगामी दिनमा आउनसक्ने विपद्मा सहज सेवा दिन योगदान पुग्ने उनको भनाइ छ ।

    कार्यक्रममा अस्पतालका निर्देशक डा सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्मा पनि उपचारका लागि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको र यसले सडक विपद् आपतकालीन अवस्थामा आउनेसक्ने जोखिममा थप सहज रूपमा काम गर्न प्रेरणा मिल्ने बताए ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलब्धिमूलक रहेको र आगामी दिनमा आउनसक्ने विपद्का चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताइन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीलाई समेत विपद्मा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा प्रयोगात्मक सीप सिकाइएको बताए ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

    काठमाडौँ, ११ चैतः देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जना र चितवनकै इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्चर मेसिन बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । यसैगरी, सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो ।

  • कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    पाटन (ललितपुर), १० चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताए ।

    “संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “२०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसको सहयोग र साथ रहन्छ, अबको पाँच वर्ष कुनै पनि द्वन्द्व र दुर्घटना नआउने गरी भूमिका निर्वाह गर्छौं ।”

    प्रतिकूल अवस्थामा निर्वाचनमा होमिनु परेको बताउँदै सभापति थापाले निर्वाचन परिणामपश्चात् जवाफदेही भएर सभापति पदबाट राजीनामा दिएको बताए । “मेरो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ, बाँकी ठिक बेठिकको निर्णय आगामी महाधिवेशनले गर्छ, अब हामी महाधिवेशनतर्फ अगाडि बढ्छौँ,” उनले भने ।
    सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकको विशिष्ट अपेक्षा रहेको उल्लेख गरे । उनले अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा जोड दिए । “२०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर जानुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ, यसका लागि आयोग बनाएर जानुपर्छ,” उनले भने । निर्वाचनको विषयमा पार्टीको समीक्षा भइसकेको र आजको बैठकबाट निर्णय गरेर सातै प्रदेशमा समीक्षा गरिने जानकारी दिए ।

  • संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    काठमाडौँ, १० चैतः मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

    विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् ९ग्यालरी बैठक० भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । संविधानसभा अघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रुपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।

    सङ्घीय संसद सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक रु पाँच करोड ६० लाख तिर्ने गरी अन्तरराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक रु १६ करोड ५० लाख पुगेको थियो ।

    सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगँैचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताए । जेनजी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रुपमा उक्त सम्झौता रद्द गरेको छ । तत्काल संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिए । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उनको भनाइ छ ।

    निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको हो । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । त्यसैगरी, ज्येष्ठ सदस्य केसीले यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरुलाई नयाँ संसद् भवनमा शपथ गराउनुहुने प्रवक्ता गिरिले बताए । नेपालको संविधानको धारा, ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    नयाँ संसद् भवन सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छ । विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब रु पाँच अर्ब ५० देखि ६० करोड हाराहारी खर्च हुने अनुमान छ भने ‘इन्टेरियर’ निर्माणका लागि थप रु दुई अर्ब ३४ करोड लागत रहेको छ । करिब १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

    यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ छन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त ‘लबी’ हुनेछ भने सानाठूला गरी १० संसदीय दलका कार्यालय हुनेछन् । साथै चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् ‘लाइब्रेरी’लगायत संरचना निर्माण गरिएका छन् ।