नेपाली सेनाको चेतावनी : उच्छृङ्खल तथा अराजक गतिविधिको निगरानी भइरहेको छ

File तस्बिर: कुलदीप न्यौपाने / रासस

११ चैत, काठमाडौं । नेपाली सेनाले सेनाले संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस नोट जारी गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रशारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गरेको भन्दै यसो नगर्न सचेत पनि गराएको छ ।

‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरासमेत स्मरण गरिन्छ,’ सेनाको चेतावनी छ । सेनाले आधारहीन र द्वेषपूर्ण समाचार तथा टिकाटिप्पणीहरूलाई विश्वास नगर्न पनि भनेको छ ।