Category: स्थानीय

  • ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

    ललितपुरको पाटनमा खुला स्थानमा चक्कु प्रहार, दुई युवाको हत्या

    २५ चैत, काठमाडौं । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजु भाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बी एण्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारककै क्रममा निधन भएको ललितपुर प्रहरीले जनाएको छ ।

    चक्कु प्रहार गर्ने २ जना प्रहरीको फन्दामा परिसकेका छन् । प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजु भाइले फोन गर्दा सञ्जीवको मोबाइलमा परेको पाइएको छ । उनीहरू एक आपसमा अपरिचित थिए । नचिनेको नम्बरबाट फोन आएपछि फोनमै भनाभन भयो ।

    फोनमा विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजु भाइलाई पाटन भेट्न बोलाए । उनीहरु इमाडोल बस्ने गरेको पाइएको छ । सञ्जीव मासु पसलमा काम गर्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । हतियारले प्रहार गरी दाजुभाईलाई घाइेत बनाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

  • एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

    काठमाडौँ, २५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् । बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।

    सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान गएको छ । पाँच सय ६३ जना घाइते हुँदा चार हजार एक सय ८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

    बाढीका कारण मात्रै तीन सय २८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६ सय २१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षाको चार सय ४६ घटनामा परेर सात जनाको ज्यान गयो भने २० जना घाइते भए । त्यस्तै, चार सय १९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कूल तीन सय १२ जना घाइते हुँदा पाँच सय २२ परिवार प्रत्यक्ष रुपमा प्रभावित भए । हावाहुरीका चार सय ७७, वन डढेलाका तीन सय २४, जनावर आक्रमणका पाँच सय नौ तथा लेक लाग्नुका एक सय ३१ घटना भएका छन् ।

    प्राधिकरणका अनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गते सम्मको हो । एक वर्षको अवधिमा विपदमा मात्रै चार सय ९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण एक हजार नौ सय ६५ जना घाइते भएका छन् ।

  • तीन फर्मलाई जरिवाना

    तीन फर्मलाई जरिवाना

    काठमाडौँ, २५ चैतः नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ ।यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ ।

    गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

  • ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट ललितपुरमा दुई जनाको मृत्यु

    काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, तीन युवाको मृत्यु

    जलेश्वर (महोत्तरी), २४ चैतः जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

    निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।

  • ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, २३ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो ।

    “जिल्ला अदालतबाट मिति २०८२-१२-२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

  • दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।

    “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उनले भने, “भानुभक्तको सालिक पुनर्निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ । यसले दिक्तेल बजारको सौन्दर्यकरणमा थप टेवा पुगेको छ ।”

    आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।

    भानुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको थियो । सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा विस्तारै फेरिँदै गएको महसुस गरिएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको कच्ची सडकले सबैलाई सास्ती दिएको थियो ।

    लामो समयको प्रतीक्षापश्चात पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटले पूरै ढलान भएको हो ।

    दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालयको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले सडक ढलानको काम गरेको हो ।

  • सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

    त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

  • लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

    लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

    लमजुङ, २१ चैतः आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बेँसीसहर उस्ता सडकको भित्री सडकदेखि ५०–६० मिटर तल खसेर दुर्घटना भएको थियो । चालकसहित १४ जना घाइते भएकामा उपचारका लागि प्रदेश अस्पताल बेँसीसहरमा लगेपछि दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले घाइते भएका छन् । घाइतेमध्ये सात वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । अन्य १० जनाको प्रदेश अस्पताल बँेसीसहरमा उपचार भइरहेको छ ।

  • सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

    सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

    इनरुवा (सुनसरी), २१ चैतः सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हँुदाएक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्युभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ । राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

    भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

    भक्तपुर, २० चैतः प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरबको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइने गरिन्छ । गुठी संस्थान भक्तपुर कार्यालयले जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी दिएको छ ।

    टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गनमा प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेकोे गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भैरवको रथ निर्माण सम्पन्न भए लगत्तै भद्र्रकालीको रथ निर्माण सुरु गरिने जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणको क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्राहरु जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुराहरु मर्मत गर्ने, चुकुलहरु फेर्ने, नयाँ आसी जडान गर्ने, छानो मर्मत गर्ने र रथ निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो ।

    चैत २६ गतेसम्म रथमा रङ्ग रोगन एवं सिङ्गारपटार गर्ने कार्य गरिने र २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा तीन बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने गरी तयारी गरिएको प्रमुख कर्माचार्यलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ, जात्रा व्यवस्थापन समिति समेतको टोलीले डोरीको परीक्षण गर्नेछ, ५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुई लिङ्गो तयार गरिएको छ, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर जात्रा सुरु गर्ने तयारी गरेका छौँ ।”

    हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतिक बनाएर बाँजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्रयाएपछि जात्रा सुरु हुने परम्परा छ । लिच्छवीकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथ यात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण रथजात्रा र लिङ्गोजात्रा भएको प्रमुख कर्माचार्यले बताउनुभयो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

    सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पु¥याई रथ फर्काउने चलन छ । नयाँवर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक बिधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग म¥यो), बीय जात्रा ९नागको जात्रा०, बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट अर्थात स्थानीय भाषामा बिस्काः जात्रा हुन गएको बताइन्छ । रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पु¥याएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ ।

    दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पु¥याइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाएर गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिङ्गो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोल–टोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने चलन छ ।

    रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा ६ भैरव नाइके, पाँच चौगुठी र दुई तलेजुका पुजारी रहने चलन रहेको तलेजुका निवर्तमान् मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा छ ।

  • सभामुखमा रास्वपा उपसभापति अर्यालको मात्र उम्मेदवारी

    सभामुखमा रास्वपा उपसभापति अर्यालको मात्र उम्मेदवारी

    काठमाडौँ, २० चैत । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको एकल उम्मेदवारी परेको छ । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

    सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिने गरी तोकिएको थियो । आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

  • आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    काठमाडौँ, १९ चैतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    “राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भने, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”

    सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको उल्लेख गर्दै माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिए ।

  • पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

    पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १९ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

    हिमाली क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह पनि गरेको छ ।

  • बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    काठमाडौँ, १९ चैतः बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले राससलाई जानकारी दिए । बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएका उहाँले जानकारी द्रिए । नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ ।

    विशेष गरी महिलाले बाइसधारामा स्नान गरी मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाको विश्वास छ । बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गर्नुभएको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताए ।

  • राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

    राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

    काठमाडौँ, १८ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।

    राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उनले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औँल्याए । सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गरेका थिए ।


    कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पारेका थिए । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो ।

  • हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    टीकापुर ९कैलाली०, १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।”

    पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।”

    नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ ।

    सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।”

    सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए ।

    “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपद्बाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।

  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    बागमती, १८ चैतः चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

  • बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    काभ्रेपलाञ्चोक, १७ चैतः बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

    छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

    शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।

    निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो ।

    यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

    स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १७ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङमा १० जनाले बुझाएनन् चुनावी खर्च विवरण

    दाङ, १७ चैतः गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।

    त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए । सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस

  • लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

    रासस
    गोरखा, १७ चैतः जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१–८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । पालिकाले किसानको इच्छाअनुसार विभिन्न प्रकारको खाद्यान्न, रैथाने र मसला बालीको बीउ उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।


    “खाद्यान्नअन्तर्गत धान र मकै, रैथाने बालीअन्तर्गत कोदो, फापर, मास र कागुनो तथा मसला बालीअन्तर्गत अधुवा र हलेदोको बीउ उपलब्ध हुन्छ”, प्रमुख प्रशासकीय अधिकृत बिसीले भने बीउ पैँचो कार्यक्रममा कृषकको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

    पालिकाले उपलब्ध गराएको बीउबाट किसानले बीउ उत्पादन गर्नुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए । “निश्चित समयपछि किसानले पालिकाले अनुदानमा उपलब्ध गराएको बीउ पालिकामै फिर्ता गर्नुपर्ने हुन्छ”, उनले भने, “किसानले पालिकाले जतिमात्रामा बीउ उपलब्ध गराएको थियो, त्यति पालिकालाई फिर्ता गरेर बाँकी आफूखुसी बेच्न सक्नुहुन्छ ।” यसरी किसानले फिर्ता गरेको बीउ पुनःअन्य किसानलाई उपलब्ध गराएर बीउ पैँचो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।


    “सुरुको वर्षमा किसानलाई आवश्यकपर्ने बीउ बाहिरबाट ल्याउनुपर्ने हुन्छ । विस्तारै यही उत्पादन बढ्न थालेपछि किसानबीच बीउ पैँचोको अभ्यास सुरु हुन्छ”, उनले भने । पालुङटारले किसानसँग बीउ पैँचो कार्यक्रमका लागि चालु आव २०८२–८३ मा रु दुई लाख विनियोजन गरेको छ । पालिकाले हाल कार्यक्रम जारी गरेर इच्छुक किसानलाई कार्यक्रममा आबद्ध हुन सूचना प्रकाशन गरिसकेको छ ।

    गत वर्ष कार्यक्रममा आबद्ध भएका किसानले बीउसमेत फिर्ता गरिसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले उल्लेख गरे । कार्यक्रम किसानको मागमा आधारित हुन्छ । विशेषगरी पालिकाको रैथाने बाली प्रवर्द्धन गर्न, कृषकको जीविकोपार्जनमा सहयोग पुर्‍याउन र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

  • तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

    तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

    मध्यविन्दु (नवलपरासी), १६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । त्यसैगरी, बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ । हाल यातायात सञ्चालन सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ ।

  • रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    रसुवा, १६ चैतः डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो ।

    डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले भौगोलिक असहजका भएपछि डडेलोका कारण उजाड बनेका गतलाङका वन क्षेत्रमा ड्रोनबाट वनस्पतिका बीउ छर्न लागिएको जानकारी दिए । उनले भने, “स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ सङ्कलन अहिले तीव्र रूपमा भइरहेको छ । आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरु गरिने छ । ” यसका लागि ‘इसिमोड’, वन विज्ञान अध्ययन संस्थान तथा डिभिजन वन कार्यालयबीचको त्रिपक्षीय साझेदारी समेत भएको छ ।

    डढेलोले प्रभावित चार सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छर्ने तालिका तय गरिएको छ । गतलाङ जङ्गलमा रहेका करिब १६ हजार गोब्रे सल्ला, ठिउरे सल्ला, लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रुख आगलागीबाट नष्ट भएको जनाइएको छ ।

    आर्थिक वर्ष २०७९÷८० देखि व्यवस्थापन कार्य सुरु भए पनि डढेका रुखको उचित व्यवस्थापन गर्न नसक्दा जङ्गल लामो समयसम्म पुनर्जीवन पाउन नसकेको बताइएको छ । वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरुवा रोपिसकिएको छ । तीमध्ये करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको वन कार्यालयले जनाएको छ ।

    जिल्ला वन कार्यालयको कार्यक्षेत्र समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । विसं २०५६ सालमा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै आधार इलाका रूपान्तरण भएपछि वन कार्यालयको कार्यक्षेत्र घटेर अहिले आठ हजार ३२१ हेक्टरमा सीमित भएको छ । हाल आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटा वडा, गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ तथा उत्तरगया गाउँपालिकाका वडा नं १, २ र ३ समेत नौवटा वडा छन् । हाल गठित ६८ वटा सामुदायिक वन यसअन्तर्गत संरक्षणको काम अगाडि बढिरहेको छ ।

    वन कार्यालयले डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । जिल्लाको भिरालो भूगोल, चैतवैशाखको हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्ने छ । त्रिशूली नदीपारिको पश्चिमी रसुवामा रहेको यो वनक्षेत्र मालागढीदेखि अधेरी खोलासम्म फैलिएको छ । थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, नेशिङ, करुम्राङ, कटुन्जे, डाँडागाउँलगायत गाउँ वनसँग प्रत्यक्ष रूपमा जोडिएको वन प्राविधिकहरूले जनाएका छन् ।

  • खाल्डोमा डुबेर दुई किशोरको मृत्यु

    खाल्डोमा डुबेर दुई किशोरको मृत्यु

    चितवन, १५ चैतः नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका– १६ का किशोरद्वय समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो ।
    उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौँ, १५ चैतः देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीको, सोनमा गाउँपालिका–५ खैरबनी गाउँमा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही गाउँपालिका–४ खेस्राहाका १९ वर्षीय रामजीवन साहको मृत्यु भएको हो ।

    यसैगरी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेकोे जिपको ठक्करबाट सोही स्थानकी ५५ वर्षीया तुलसी थापाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीमा काठमाडौँबाट हेटौँडातर्फ गइरहेको जिप उदयपुरको त्रियुगा नगरपालिका–११ सङ्गमचोक निवासी ८६ वर्षीय गोरे राईको ठक्करबाट मृत्यु भएको छ ।

    समाचारकक्षले आज प्रकाशन गरेको समाचार बुलेटिनअनुसार सिरहाको धनगढीमाई नगरपालिका–६ मा मुसर्नियाबाट दहीपुरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पैदलयात्री सोही स्थानकी उर्मिलादेवी महतो साँझ मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँको रिसिङ गाउँपालिका–३ का २१ वर्षीय टोनबहादुर आलेमगरको मृत्यु भएको छ ।

  • आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, १५ चैतः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मशाखाले जनाएको छ ।

    देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा महाशाखाले अनुरोध गरेको छ ।

  • भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    काठमाडौँ, १५ चैतः सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ ।

    उक्त सिफरिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाइनेछ ।

    जेनजी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकको न्याय, पुनःस्थापना र राज्यप्रतिको विश्वास पुनस्थापना गर्न एकीकृत पहल गर्ने उल्लेख छ । उक्त पहलअन्तर्गत सहिद परिवार तथा घाइतेको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनःस्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न एक सय दिनभित्र योग्यताअनुसारको सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको ‘प्याकेज’ घोषणा गरिने कार्यसूचीमा उल्लेख छ ।

  • एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

    एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस

    काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउसम्बन्धी पछिल्लो घट्नाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गत भदौ २५ गते नै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको स्मरण गराए ।


    यसैगरी भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन’ आग्रह गरेको कांग्रेसले जनाएको छ । कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहरहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

    यही चैत ६ देखि ८ गतेसम्म बसेको कांग्रेसको बैठकले गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो । साथै कांग्रेसले भदौ २३ मा भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः आग्रह गरेको जनाएको छ ।

    कांग्रेसले सरकारले ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने, तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ भन्ने निर्णय गर्नु र पक्राउ गर्नुले भदौ २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको भनी टिप्पणी गरेको छ ।

    यसैगरी कांग्रेसले भदौ २३ र २४ का घटनालाई निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुपर्ने माग गर्दै त्यसमा आफ्नो साथ रहने समेत जनाएको छ । “दुवै दिनको घटनामा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ, त्यसमा हाम्रो साथ रहन्छ । तर, त्यो कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानुनी प्रक्रियाबमोजिम हुनुपर्छ । यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुनसक्छ, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ”, विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच कांग्रेस नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिका नाममा छुट्टै विज्ञप्ति जारी गरी पक्राउ प्रकरणप्रति आपत्ति प्रकट गरेका छन् । उनले संवैधानिक, कानुनी र राजनीतिक प्रतिवाद गरिने उल्लेख गरेका छन् । यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’ भएको बताएको छ ।

    तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज एक विज्ञप्ति जारी गरी यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नाका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको उल्लेख गरेका छन् ।